कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माओसँग आमने–सामने

२ डिसेम्बर १९६० का दिन निरञ्जनगोविन्द वैद्य बेइजिङ पुगेका थिए । बेइजिङमा उनले माओसँग भेटे । उक्त भेटको स्मरण गर्दै वैद्यले लेखेका छन्(, ‘डिसेम्बरको महिना, पेकिङ हिउँले ढपक्क छोपेको थियो । हिमपातले सहर पूरै सेतो देखिएको थियो । यो सहरमा माओ भेटेपछि मेरो मुटुको चाल अचानक बढ्न थाल्यो ।’
शिशिर वैद्य

काठमाडौँ — थुप्रै पुस्तकले भरिएको भण्डारजस्तो देखिने एउटा बेनाम पुस्तकालय । अव्यवस्थित र छरपस्ट पुस्तकहरू । केही पुस्तक र्‍याकमा ठडिएका छन् तर पुस्तक क्रम, संकेत चिह्न केही छैनन् । अघिल्लो दिन देखेका पुस्तक हराइरहेका छन् । पुराना पुस्तकका गाता च्यातिन थालेका छन् ।

माओसँग आमने–सामने

पत्रिकाका अक्षर खुइलिरहेका छन् । कति पुस्तकका बाइन्डिङ खुस्किएर दुई–तीन टुक्रा भएका छन् । तिनै छरपस्ट पुस्तकको भीडमा भेटिएको थियो— बाले लेखेको एउटा सानो पुस्तिका । शीर्षक थियो, ‘विश्व–क्रान्तिका महान् शिक्षक अध्यक्ष माओ : आमने–सामने’, लेखक– निरञ्जनगोविन्द वैद्य । सन् १९८४ मा पटनाबाट प्रकाशित जनपक्षीय पत्रिका ‘संस्कृति और कथान्तर’ ले छापेको थियो, चिनिया क्रान्तिका महानायक माओत्से तुङसँग बाले भेटेको संस्मरण । त्यही साल छापिएको रहेछ, त्यो सानो पुस्तिका ।

सन् १९६०, ७ नोभेम्बरका दिन बा मस्को पुगेका थिए, सोभियत संघको ट्रेड युनियनको निमन्त्रणामा । सोभियत ट्रेड युनियन कंग्रेसको दुई हप्ताको आतिथ्यपछि उत्तर कोरिया हुँदै अखिल चीन ट्रेड युनियन फेडेरेसनको निमन्त्रणामा उनी चीन पुगे । जीवनको अविस्मरणीय भ्रमणमा उनले विश्वका विशिष्ट नेताहरूसँग भेट्न पाए । तीमध्ये थिए— चिनियाँ क्रान्तिका महानायक माओत्से तुङ र उत्तर कोरियाका सुप्रिम कमान्डर किम इल सुङ । तत्कालीन जननिर्वाचित सरकारले उनलाई यो भ्रमणमा जान रोक्ने व्यापक प्रयास गरेको थियो । बा बेला–बेला सुनाउनुहुन्थ्यो हामीलाई यसबारे । ‘वैद्यलाई पासपोर्ट नदिनू,’ ठाडो आदेश थियो सरकारको । स्मृतितिर पस्दै बा भन्थे, ‘अनेक ढोका चहारेपछि बल्ल फुकुवा भएको थियो पासपोर्ट ।’


तर त्यही साल र त्यही महिना पार्टी–महासचिव केशरजंग रायमाझी, कमर शाह, हिक्मतसिंह भण्डारी, कृष्णराज वर्मा र शम्भुराम श्रेष्ठ सम्मिलित प्रतिनिधिमण्डल सोभियत संघको भ्रमणमा थियो । नोभेम्बर महिनाको पहिलो सातादेखि मस्कोमा सुरु हुने विश्वका ८१ राष्ट्रका कम्युनिस्ट तथा मजदुर पार्टीको सम्मेलनमा सहभागी हुन सो प्रतिनिधिमण्डल मस्को पुगेको थियो । यसअघि सन् १९६० अक्टोबर महिनाको अन्तिम साता नेपाल कम्युनिस्ट पार्टीको नाममा सोभियत संघको कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटिले सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा पठाएको थियो । आमन्त्रणबारे निर्णय गर्न पार्टीको केन्द्रीय कमिटीको बैठक बसेर महासचिव रायमाझीको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय भएको थियो ।


२ डिसेम्बर १९६० मा बा बेइजिङ विमानस्थल ओर्लिए । ओर्लिएलगत्तै उनले फेडेरेसनका साथीहरूलाई माओसँग भेट्ने इच्छा व्यक्त गरेका थिए । ‘चीन पुगेर अध्यक्ष माओसँग भेट्न पाइएन भने त मेरो भ्रमण असफलजस्तै हुन्छ नि,’ फेडेरेसनका साथीसामु ढिपी कसेका थिए उनले । तर, फेडेरेसनका साथीहरू कसैलाई पनि अध्यक्ष माओ कहाँ छन् भन्ने अत्तोपत्तो थिएन । तर, उनीहरूले सम्बन्धित अधिकारीसम्म बाको हार्दिक इच्छा पुर्‍याउने आश्वासन दिए ।


फेडेरेसनको कार्यक्रम एक हप्ता चल्यो । त्यसपछि चिनियाँ क्रान्तिमा ऐतिहासिक महत्त्व बोक्ने सहरहरू घुमघाम । भ्रमण अन्तिम प्रहरमा थियो । उनी ट्रेड युनियनका अध्यक्ष र वन विभागका मजदुर युनियनका अध्यक्षसँग बसेर कुराकानी गरिरहेका थिए । फोनमा कसैले ट्रेड युनियन अध्यक्षलाई तुरुन्त आउनू भन्ने सन्देश दिए । त्यसको केही क्षणपछि फोनको घण्टी फेरि बज्यो ।


सँगै रहेका उपाध्यक्षले फोन उठाए । फोनमा कुरा गरिसकेपछि उपाध्यक्षले हर्षित मुद्रामा भने, ‘हाम्रो केन्द्रीय समितिका एक प्रमुख नेताले तपाईंसँग भेट्ने चाहना गर्नुभएको छ, जाऊँ ।’ कसलाई भेट्न जाने भन्ने जानकारीबिनै उपस्थित सबै त्यहाँबाट हिँडेका थिए । माओसँगको आफ्नो भेटबारे स्मरण गर्दै बाले लेखेका छन्(, ‘डिसेम्बरको महिना, पेकिङ हिउँले ढपक्क छोपेको थियो । हिमपातले सहर पूरै सेतो देखिएको थियो । हाम्रो गाडी बिस्तारै एक विशाल क्याम्पभित्र प्रवेश गर्‍यो ।


एउटा प्राचीन पाराको अजंगको ढोकाअगाडि पुगेर गाडी रोकियो । ढोका अघिल्तिर दुई सुरक्षाकर्मी देवदारको वृक्षझैं हलचलबिना उभिइरहेका थिए । हामी एक भव्य हलमा प्रवेश गर्‍र्यौं । हलको वातावरण चकमन्न थियो तर सुन्दरता वर्णन गरिसाध्यै थिएन । केही क्षण पहिले हामीसँग छुट्टिएका ट्रेड युनियनका अध्यक्ष हलको एकछेउमा थिए । उनी देखेर म दंग परें । मलाई हेरेर मुस्कुराउँदै उनले कुर्सीमा बस्न संकेत गरे ।


दुई–तीन मिनेटपछि एक जना कमरेडले आएर मेरो कानमा सुटुक्क भने— अध्यक्ष माओ आउँदै हुनुहुन्छ । ती शब्द सुन्नेबित्तिकै मेरो मनमस्तिष्क रोमाञ्चित भयो । शरीरमा एक प्रकारको कम्पन महसुस भयो । हंसले काम नगरेजस्तो भयो । हलको पूर्वतर्फको कोठाबाट प्रवेश गर्दै गरेका अध्यक्ष माओलाई देखेर मेरो मुटुको चाल अचानक बढ्न थाल्यो । हँसिलो मुहार, हृष्टपुष्ट शरीर, अग्लो कद । अध्यक्ष माओसँग भेट्ने उत्कट चाहनाले मूर्तरूप पाइरहँदा म भने मूर्तितुल्य बनेको थिएँ । माओ नजिक आइपुगेर हात मिलाउँदै मलाई हेरेर मुस्कुराइरहँदा मेरो शरीर, मुटुदेखि नै चिसो बनेको थियो । मस्तिष्क शून्य बनेको थियो । शून्यतामा हराएको त्यो क्षणमा मैले अध्यक्ष माओसँग मिलाउँदै गरेको हात छोड्नै बिर्सेछु । मलाई सँगैको कुर्सीमा बस्न आग्रह गर्दै माओ कुर्सीमा बसे ।’


सोभियत संघमा ट्रेड युनियन कंग्रेसको सम्मेलनमा भाग लिएर चीन पुगेका बासँग माओको पहिलो प्रश्न थियो— सोभियत संघ भ्रमणको सफलताका विषयमा । नेपालका मजदुर–किसान र अन्य श्रमजीवी जनताबारे माओ निकै जिज्ञासु भएर प्रश्न गरिरहेका थिए भने बा एक असल कार्यकर्ताका रूपमा जवाफ दिइरहेका थिए । वार्ताकै दौरान माओले अचानक उनलाई सोधे, ‘तपाईंले चीनमा के–के देख्नुभयो, अनि कस्तो लाग्यो चीन यहाँलाई ?’ बाको जवाफ थियो, ‘चीन एक विशाल देश हो, चार–पाँच दिनको भ्रमणमा सबै कुरा हेर्न र बुझ्न सम्भव कहाँ छ र ? तर, म जहाँ जहाँ पुगें, चीनको प्रगति देखेर निकै प्रभावित भएको छु ।’


बाको उत्तर सुनेर माओले मुस्कुराउँदै भनेका थिए, ‘पक्कै पनि हाम्रा कामरेडहरूले तपाईंलाई राम्रो–राम्रो ठाउँ मात्रै घुमाए होलान्, त्यसैले तपाईं यसो भन्दै हुन्छ । तर, तपाईंले देखेको चीन र वास्तविक चीन फरक छ । थुप्रै कमजोरी र समस्या छन् यहाँ । चीनलाई विकसित बनाउन हामीलाई अझै निकै मिहिनेत गर्नु छ । हामी यसका लागि दृढ भएर लागिरहेका छौं ।’

000

नेपालमा प्रजातान्त्र स्थापनाका लागि भएको आन्दोलनदेखि किसान आन्दोलन, मजदुर आन्दोलन, कम्युनिस्ट पार्टी स्थापना, कम्युनिस्ट आन्दोलनलगायत विविध विषयमा माओसँग लामो छलफल चल्यो— संस्मरणमा उल्लेख छ । माओले पनि चिनियाँ क्रान्तिको उद्गमदेखि विजयसम्मका प्रमुख घटना संक्षेपमा उनलाई सुनाए । क्रान्तिलाई विजयसम्म पुर्‍याउन दुई पृथक् दुश्मनसँग जुध्नुपरेको बताउँदै माओलाई उद्धृत गर्दर् ैबाले लेखेका छन्, ‘एकातर्फ जापानी साम्राज्यवादी फौजको आक्रमण र दमन व्यापक हुँदै थियो भने अर्कोतर्फ देशभित्रै देशद्रोहीहरूको बिगबिगी बढ्दै गएको थियो ।


विदेशी फौजसँग लड्नुपर्ने अप्ठ्यारो समयमा देशभक्त कम्युनिस्ट कार्यकर्ताहरू देशद्रोहीहरूको विभिन्न जालझेलसँग जुध्न बाध्य भइरहेका थिए । एकदमै खतरनाक र जटिल अवस्थाको सामना गर्दै हामीले क्रान्तिदेखि विजयसम्मको लामो अभियान पार गर्‍यौं । यसमा चिनियाँ कम्युनिस्ट पार्टीका सबै कार्यकर्ताको असाधारण त्याग र अपूर्व बलिदान रहेको छ ।’


कुराकानीकै क्रममा बाले माओलाई भनेका थिए, ‘मार्क्स, ऐंगेल्स, लेनिन र स्तालीन हामीबीच छैनन् । तर, आज यहाँसँग भेटेर चिनियाँ क्रान्तिका विषयमा प्रत्यक्ष सुन्न पाउँदा र कुरा गर्न पाउँदा आफूलाई निकै भाग्यशाली महसुस गरिरहेको छु । कम्युनिस्ट आन्दोलनमा दृढ भएर लाग्न तपाईंसँगको भेटले मलाई अझ उक्साएको छ ।’ माओको जवाफ थियो, ‘मार्क्स, ऐंगेल्स, लेनिन र स्टालिनका म पनि एक साधारण शिष्य मात्रै हुँ । सोभियत संघसँग हाम्रा केही सैद्धान्तिक मतभेद छन्, तर ती चाँडै नै निर्मूल हुनेमा म पूर्ण आशावादी छु ।’


नेपाल कम्युनिस्ट पार्टीका जनरल सेक्रेटरीलाई आफ्नो लालसलाम सुनाइदिने आग्रहसहित माओले फेरि कुनै अवसरमा भेट्ने बताउँदै कुराकानी टुंग्याए । दुईबीचको सुमधुर छलफलले माओको व्यस्त समयको एक घण्टा खाइसकेको थियो । समय लामै बितेको संकेत गर्न बेलाबेला सहायकहरू आउँथे । तर, माओ इसाराले पख भन्थे । भेटघाट टुँग्याउँदै माओले ढोकासम्म पुर्‍याउन आएको क्षण सम्झिँदा मनमा एक प्रकारको हलचल भएको उल्लेख गरेका छन् बाले ।


सोभियत संघ र चीनको भ्रमण सकेर स्वदेश फर्कन नयाँ दिल्ली विमानस्थलमा ओर्लिंदा देशको परिस्थिति बदलिइसकेको थियो । पुस १ को घटनाले राणाहरूसँग ज्यानको बाजी थापेर ल्याएको प्रजातन्त्र फेरि राजाको हातमा पुगिसकेको थियो । कांग्रेस र कम्युनिस्ट पार्टीका थुप्र्रै साथी गिरफ्तार भएका थिए भने कोही भूमिगत भइसकेका थिए । देशमा सैनिक शासन सुरु भइसकेको थियो । भारतसँग सीमा जोडिएका क्षेत्रहरूबाट सबै पार्टीका नेता कार्यकर्ताहरू भारततर्फ पलायन भइरहेका थिए । पार्टीहरू प्रतिबन्धित गरिएको थियो । मुलुकमा गम्भीर स्थिति खडा भएको थियो ।

प्रकाशित : फाल्गुन १७, २०७६ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?