१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

यो अन्त्य होइन निस्सीम !

राजकुमार बानियाँ

लगभग भूतपूर्व विधा भइसक्यो नाटक । भूतपूर्व नमान्ने हो भने पनि दुर्लभ त भयो नै । नाटकघरमा प्रायः कथा, उपन्यास वा इतिहासका नाट्य रूपान्तरण या विदेशी नाटकका अनुवाद नै मञ्चन भइरहेका देखिन्छन् । बक्स अफिसजस्तै टिकटमा चलिरहेका नाटकघर र रंगकर्मीको फैलावट हौस्याउने खालको भए पनि उपन्यासको उफानमा नाटक लेखनको स्थिति ‘ड्रामाटिक आइरोनी’ जस्तो छ ।

यो अन्त्य होइन निस्सीम !

मदन पुरस्कारको खाता पल्टाउँदा नाटक विधामा २०४२ मा ‘वैकुण्ठ एक्सप्रेस’ का लागि मोहनराज शर्माले पाएको इतिहास छ । २०५५ मा केशवप्रसाद उपाध्याय नाट्य समालोचना ‘दुःखान्त नाटकको सृजना परम्परा’ का लागि पनि मदन पुरस्कार विजेता बनेका छन् । त्यसै गरी, कुनै बेलाको प्रतिष्ठित साझा पुरस्कार बालकृष्ण समले ‘भीमसेनको अन्त्य’ (२०२९) र अशेष मल्लले ‘सडकदेखि सडकसम्म’ (२०४१) का लागि पाएका छन् ।


यसका भुक्तभोगी घिमिरे युवराज आफ्नै कथा, पात्र र परिवेशका नाटक लेख्न साहित्यकारहरूलाई घचघच्याइरहने रंगकर्मी हुन् । उनी निर्देशन नाटक ‘कोमा : अ पोलिटिकल सेक्स’, ‘बाथटब’, ‘सखी’ र ‘आँधीको मनोरम नृत्य’ चलनचल्तीको भाषामा ‘सुपर–डुपर’ नै भए । उनको लेखन र निर्देशन रहेको ‘आँधीको मनोरम नृत्य’ शिल्पी थिएटरमा २५ दिनमा २५ पटक मञ्चन भयो । र, त्यो नाटकलाई उनले पुस्तकका रूपमा ल्याएका छन् ।


अनौपचारिक जानकारीमा यस वर्ष जम्मा दुई नाटक आए, कुमार नगरकोटीको ‘बाथटब’ र घिमिरे युवराज ‘आँधीको मनोरम नृत्य’ । नाटक किन लेखिँदैनन्, त्यसको अलग्गै विमर्श हुन सक्छ । घिमिरेकृत नाटक प्रतीकात्मक छ । किशोरजन्य उमेर आफैँमा आँधी समान वेगवान हुन्छ । त्यो आँधी बेलैमा महत्त्व बुझ्न सके मनोरम हुन्छ, बुझिएन भने त्यसले विध्वंसको रूप पनि लिन सक्छ ।


आँधी–नृत्य देखाउन नाटककारले दर्शकलाई जादुमयी बस हुँदै कक्षाकोठासम्म पुर्‍याएका छन् । त्यो कति मनोरम छ, कति हार्दिक छ र कति सिर्जनशील छ ? दर्शकले सहजै थाहा पाउँछन् । जब बालसंसारमा कथित पाकाहरूको प्रवेश हुन्छ अनि गडबडी सुरु हुन्छ । अहो कति धेरै विभेद र हस्तक्षेप ! अर्ती र उपदेशको बाढी ! भन्न मन लाग्छ, ‘नो रुल एनी मोर प्लिज’ ।


‘आँधीको मनोरम नृत्य’ मूलतः समस्या नाटक हो । आजका किशोरकिशोरी आफ्नो ऊहापोह सुन्ने र बुझ्ने ठाउँ नभएर छटपटिएका छन् । तिनको जीवनमा आउने मनोवैज्ञानिक त्रासदीलाई अभिव्यञ्जना गरेको छ । तिनको मौन स्वरलाई परिवार, समाज र विद्यालयसमक्ष पुर्‍याउने चेष्टा पनि गरेको छ । अक्षरहरूले थिचिरहेको कसैले सुनिदियोस् भन्ने पुकारा पनि छ ।


किशोरकिशोरी उन्मुक्त हुन चाहन्छन् । उनीहरूका स्वतन्त्र धारणा छन् । सही र गलतको परख गर्छन् । अभिभावक, विद्यालय र समाजले आलोकाँचो ठानिदिन्छ । कहिलेकाहीँ आफैँसँग पनि मनोवैज्ञानिक टक्कर हुन्छ । तर, अभिभावकलाई तिनको पीडा सुन्ने समय छैन । अधिकांश अभिभावक सोच्छन्, महँगो विद्यालयमा भर्ना गर्दैमा सबै जिम्मेवारी सकियो । कतिसम्म भने बोली फुटाउने दायित्व पनि विद्यालयलाई नै सुम्पिन्छन् ।


बेलाबेलामा विद्यालय पनि गएर आफ्ना छोराछोरीबारे बुझ्ने आवश्यकता पनि ठान्दैनन् । अभिभावकलाई त राम्रो रिजल्ट चाहिएको छ, बस् । अभिभावकलाई अगाडि राखेर विद्यार्थी हुर्मत लिन पाए ढुक्क हुन्छन् विद्यालय । किताबको भारी बोकाउने अनि पाठ घोकाउने धन्दा मात्रै छ उनीहरूको । सही मानेमा शिक्षा र संस्कार दिन असफल । र, दुवै पक्ष दोषी विद्यार्थीलाई बनाएर पानीमाथिको ओभानो बन्न चाहन्छन् ।


नाटकले सामान्य सरकारी कर्मचारी झकेन्द्रको सानो परिवारको कथा बोलेको छ । परिवारमा उसकी आमा, पत्नी रूपा, छोरी निस्सीम र छोरा ज्याक छन् । सहरी जीवनको घन्चमन्च र भागदौडमा झकेन्द्रले छोराछोरीलाई उतिसारो समय दिन सकेको छैन । अझ ऊ कर्मचारी साथीहरूको साँझको जमघटमै ज्यादा भुल्छ ।


उसकी जेहेनदार १६ वर्षीया छोरी निस्सीमले घरमै आएका कुण्ठित पाहुनाबाट यौनहिंसा बेहोरेकी छ । सहपाठी गोविन्दसँग उसको बसाउठी छ । पेटभित्र असामायिक रूपमा कुनै भ्रूण चलमलाइरहेको छ । ठूलो आँधीबेरीमा फसेकी बिचरी निस्सीमको ‘सुसाइड नोट’ जस्तो चिठीमा परिवार, विद्यालय र समाजको अनुहार उदांगो हुन्छ । हामीभित्र रहेका पूर्वाग्रही धारणाबाट कति प्रताडित रहेछ नयाँ पुस्ता ?


‘आँधीको मनोरम नृत्य’ किशोरकिशोरी दृष्टिबिन्दुबाट लेखिएको भिन्न नाटक हो । यसले अभिभावक र छोराछोरीबीचको डरलाग्दो दूरी देखाएको छ । आधुनिकताको आँधीमा किशोरकिशोरी कहाँ छन् ? अभिभावक र विद्यालयलाई थाहापत्तै छैन । निस्सीम वा संगीताले बेहोरेको समय सबैजसो किशोरकिशोरीसित मिल्दोजुल्दो छ ।


नयाँ पुस्तालाई समाजका पुरातन पर्खाल अमान्य छ । तर, यसले केही सामाजिक जटिलता खडा गरेको तथ्य वास्तविक हो । किशोरकिशोरीलाई आफ्नो स्पन्दन सुन्ने असल साथीमात्र नभएर अभिभावक पनि चाहिएको छ । नाटकमा समाजको साँघुरो चेतनामाथि संगीताको मार्मिक प्रहार छ, ‘के एउटी केटीको मन मिल्ने केटा साथी हुन सक्दैन ?’


सामाजिक यथार्थमाथि भरपूर ‘डार्क कमेडी’ छ नाटकमा । प्रविधिको दुरुपयोगदेखि भ्रष्ट कर्मचारीतन्त्रको मनोदशासम्म व्यंग्य गरेको छ । संगीत नाटक यस नाटकको अभिन्न पक्ष हो । यसलाई पनि संगीत नाटक भने हुन्छ । कतिपय संवाद हृदयस्पर्शी छन् । काव्यात्मक भावहरूले भरिएका संवादले नाटकलाई प्रभावोत्पादक बनाएको छ । छुद्रता र कृत्रिमता छाडेर यसले नाटकमा मौलिक बाटो अँगालेको छ । प्रकृति र जीवन अनुकरणको श्रेष्ठ रूप हो, नाटक । यसको विशेषता नै अभिनयात्मक हुनु हो । नाटकको अस्तित्व नै रंगमञ्चमा छ । ‘आँधीको मनोरम नृत्य’ मञ्चित नाटक भएकाले थप टिप्पणी गरिरहनु परेन ।


आफ्नो उद्देश्यअनुरूप यसले दर्शकदीर्घामा सघन प्रभाव छाड्छ । आरोहण गुरुकुलको प्रशिक्षण, कोपनहेगनको ‘कमेडिया डेलार्ते’ को शिक्षा साथै २० वर्षे थिएटर अनुभव लिएका घिमिरे युवराजले खँदिलो सामग्री पस्केका छन् । नेपाली समाजका शैक्षिक, राजनीतिक, आर्थिक र मनोवैज्ञानिक समस्या एकै ठाउँमा प्रस्तुत गरिएको छ, नाटकमा । धेरै विषय एकै ठाउँमा गुजुल्टिएकाले छरितोपनको आभास हुन्न । पात्रहरूको त जन्ती नै देखिन्छ । यति भीडभाड आवश्यक नभए पनि यसले स्थुल भौतिक धरातलमा मानवीय भावनाको सूक्ष्म अभिव्यक्ति दिन सकेको छ । नाट्यशिल्पका हिसाबले घिमिरे युवराजमा खासै गडबडी देखिँदैन । ‘सर्रियल’ बाट ‘रियल’ नाटकमा उनको छलाङ कमजोर छैन ।


हरेक नयाँ पुस्तासित अथाह सम्भावना हुन्छ । पुस्तान्तरणका कारण त्यो सत्य अधिकांश अभिभावकले आत्मसात गर्न सकेका छैनन् । ग्रिसेली नाटक वर्गीकरणमा यो दुःखान्त नाटक नै भए पनि यसले एउटा गुरुमन्त्र दिएको छ, ‘ट्राई टु बी अग्ली ।’ (कुरूप हुने कोसिस गर ।) यसले नाटकको सौन्दर्यशास्त्रीय ‘क्लिन सेभ’ परिभाषालाई समेत भत्काइदिएको छ । विद्यार्थीकै जस्तो मिक्सट भाषा छ । मनको द्वन्द्व प्रस्तुत गर्न सक्नु यस नाटकको सामर्थ्य हो । निस्सीमको कारुणिक क्षण आइपुग्दा जुरुक्क उठेर सम्झाउन मन लाग्छ, ‘यो अन्त्य होइन निस्सीम !’


‘आँधीको मनोरम नृत्य’

लेखक : घिमिरे युवराज

प्रकाशक : शिल्पी कला समूह

पृष्ठ : १२०

मूल्य : २५०/–

प्रकाशित : फाल्गुन १०, २०७६ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?