यो अन्त्य होइन निस्सीम !

राजकुमार बानियाँ

लगभग भूतपूर्व विधा भइसक्यो नाटक । भूतपूर्व नमान्ने हो भने पनि दुर्लभ त भयो नै । नाटकघरमा प्रायः कथा, उपन्यास वा इतिहासका नाट्य रूपान्तरण या विदेशी नाटकका अनुवाद नै मञ्चन भइरहेका देखिन्छन् । बक्स अफिसजस्तै टिकटमा चलिरहेका नाटकघर र रंगकर्मीको फैलावट हौस्याउने खालको भए पनि उपन्यासको उफानमा नाटक लेखनको स्थिति ‘ड्रामाटिक आइरोनी’ जस्तो छ ।

मदन पुरस्कारको खाता पल्टाउँदा नाटक विधामा २०४२ मा ‘वैकुण्ठ एक्सप्रेस’ का लागि मोहनराज शर्माले पाएको इतिहास छ । २०५५ मा केशवप्रसाद उपाध्याय नाट्य समालोचना ‘दुःखान्त नाटकको सृजना परम्परा’ का लागि पनि मदन पुरस्कार विजेता बनेका छन् । त्यसै गरी, कुनै बेलाको प्रतिष्ठित साझा पुरस्कार बालकृष्ण समले ‘भीमसेनको अन्त्य’ (२०२९) र अशेष मल्लले ‘सडकदेखि सडकसम्म’ (२०४१) का लागि पाएका छन् ।


यसका भुक्तभोगी घिमिरे युवराज आफ्नै कथा, पात्र र परिवेशका नाटक लेख्न साहित्यकारहरूलाई घचघच्याइरहने रंगकर्मी हुन् । उनी निर्देशन नाटक ‘कोमा : अ पोलिटिकल सेक्स’, ‘बाथटब’, ‘सखी’ र ‘आँधीको मनोरम नृत्य’ चलनचल्तीको भाषामा ‘सुपर–डुपर’ नै भए । उनको लेखन र निर्देशन रहेको ‘आँधीको मनोरम नृत्य’ शिल्पी थिएटरमा २५ दिनमा २५ पटक मञ्चन भयो । र, त्यो नाटकलाई उनले पुस्तकका रूपमा ल्याएका छन् ।


अनौपचारिक जानकारीमा यस वर्ष जम्मा दुई नाटक आए, कुमार नगरकोटीको ‘बाथटब’ र घिमिरे युवराज ‘आँधीको मनोरम नृत्य’ । नाटक किन लेखिँदैनन्, त्यसको अलग्गै विमर्श हुन सक्छ । घिमिरेकृत नाटक प्रतीकात्मक छ । किशोरजन्य उमेर आफैँमा आँधी समान वेगवान हुन्छ । त्यो आँधी बेलैमा महत्त्व बुझ्न सके मनोरम हुन्छ, बुझिएन भने त्यसले विध्वंसको रूप पनि लिन सक्छ ।


आँधी–नृत्य देखाउन नाटककारले दर्शकलाई जादुमयी बस हुँदै कक्षाकोठासम्म पुर्‍याएका छन् । त्यो कति मनोरम छ, कति हार्दिक छ र कति सिर्जनशील छ ? दर्शकले सहजै थाहा पाउँछन् । जब बालसंसारमा कथित पाकाहरूको प्रवेश हुन्छ अनि गडबडी सुरु हुन्छ । अहो कति धेरै विभेद र हस्तक्षेप ! अर्ती र उपदेशको बाढी ! भन्न मन लाग्छ, ‘नो रुल एनी मोर प्लिज’ ।


‘आँधीको मनोरम नृत्य’ मूलतः समस्या नाटक हो । आजका किशोरकिशोरी आफ्नो ऊहापोह सुन्ने र बुझ्ने ठाउँ नभएर छटपटिएका छन् । तिनको जीवनमा आउने मनोवैज्ञानिक त्रासदीलाई अभिव्यञ्जना गरेको छ । तिनको मौन स्वरलाई परिवार, समाज र विद्यालयसमक्ष पुर्‍याउने चेष्टा पनि गरेको छ । अक्षरहरूले थिचिरहेको कसैले सुनिदियोस् भन्ने पुकारा पनि छ ।


किशोरकिशोरी उन्मुक्त हुन चाहन्छन् । उनीहरूका स्वतन्त्र धारणा छन् । सही र गलतको परख गर्छन् । अभिभावक, विद्यालय र समाजले आलोकाँचो ठानिदिन्छ । कहिलेकाहीँ आफैँसँग पनि मनोवैज्ञानिक टक्कर हुन्छ । तर, अभिभावकलाई तिनको पीडा सुन्ने समय छैन । अधिकांश अभिभावक सोच्छन्, महँगो विद्यालयमा भर्ना गर्दैमा सबै जिम्मेवारी सकियो । कतिसम्म भने बोली फुटाउने दायित्व पनि विद्यालयलाई नै सुम्पिन्छन् ।


बेलाबेलामा विद्यालय पनि गएर आफ्ना छोराछोरीबारे बुझ्ने आवश्यकता पनि ठान्दैनन् । अभिभावकलाई त राम्रो रिजल्ट चाहिएको छ, बस् । अभिभावकलाई अगाडि राखेर विद्यार्थी हुर्मत लिन पाए ढुक्क हुन्छन् विद्यालय । किताबको भारी बोकाउने अनि पाठ घोकाउने धन्दा मात्रै छ उनीहरूको । सही मानेमा शिक्षा र संस्कार दिन असफल । र, दुवै पक्ष दोषी विद्यार्थीलाई बनाएर पानीमाथिको ओभानो बन्न चाहन्छन् ।


नाटकले सामान्य सरकारी कर्मचारी झकेन्द्रको सानो परिवारको कथा बोलेको छ । परिवारमा उसकी आमा, पत्नी रूपा, छोरी निस्सीम र छोरा ज्याक छन् । सहरी जीवनको घन्चमन्च र भागदौडमा झकेन्द्रले छोराछोरीलाई उतिसारो समय दिन सकेको छैन । अझ ऊ कर्मचारी साथीहरूको साँझको जमघटमै ज्यादा भुल्छ ।


उसकी जेहेनदार १६ वर्षीया छोरी निस्सीमले घरमै आएका कुण्ठित पाहुनाबाट यौनहिंसा बेहोरेकी छ । सहपाठी गोविन्दसँग उसको बसाउठी छ । पेटभित्र असामायिक रूपमा कुनै भ्रूण चलमलाइरहेको छ । ठूलो आँधीबेरीमा फसेकी बिचरी निस्सीमको ‘सुसाइड नोट’ जस्तो चिठीमा परिवार, विद्यालय र समाजको अनुहार उदांगो हुन्छ । हामीभित्र रहेका पूर्वाग्रही धारणाबाट कति प्रताडित रहेछ नयाँ पुस्ता ?


‘आँधीको मनोरम नृत्य’ किशोरकिशोरी दृष्टिबिन्दुबाट लेखिएको भिन्न नाटक हो । यसले अभिभावक र छोराछोरीबीचको डरलाग्दो दूरी देखाएको छ । आधुनिकताको आँधीमा किशोरकिशोरी कहाँ छन् ? अभिभावक र विद्यालयलाई थाहापत्तै छैन । निस्सीम वा संगीताले बेहोरेको समय सबैजसो किशोरकिशोरीसित मिल्दोजुल्दो छ ।


नयाँ पुस्तालाई समाजका पुरातन पर्खाल अमान्य छ । तर, यसले केही सामाजिक जटिलता खडा गरेको तथ्य वास्तविक हो । किशोरकिशोरीलाई आफ्नो स्पन्दन सुन्ने असल साथीमात्र नभएर अभिभावक पनि चाहिएको छ । नाटकमा समाजको साँघुरो चेतनामाथि संगीताको मार्मिक प्रहार छ, ‘के एउटी केटीको मन मिल्ने केटा साथी हुन सक्दैन ?’


सामाजिक यथार्थमाथि भरपूर ‘डार्क कमेडी’ छ नाटकमा । प्रविधिको दुरुपयोगदेखि भ्रष्ट कर्मचारीतन्त्रको मनोदशासम्म व्यंग्य गरेको छ । संगीत नाटक यस नाटकको अभिन्न पक्ष हो । यसलाई पनि संगीत नाटक भने हुन्छ । कतिपय संवाद हृदयस्पर्शी छन् । काव्यात्मक भावहरूले भरिएका संवादले नाटकलाई प्रभावोत्पादक बनाएको छ । छुद्रता र कृत्रिमता छाडेर यसले नाटकमा मौलिक बाटो अँगालेको छ । प्रकृति र जीवन अनुकरणको श्रेष्ठ रूप हो, नाटक । यसको विशेषता नै अभिनयात्मक हुनु हो । नाटकको अस्तित्व नै रंगमञ्चमा छ । ‘आँधीको मनोरम नृत्य’ मञ्चित नाटक भएकाले थप टिप्पणी गरिरहनु परेन ।


आफ्नो उद्देश्यअनुरूप यसले दर्शकदीर्घामा सघन प्रभाव छाड्छ । आरोहण गुरुकुलको प्रशिक्षण, कोपनहेगनको ‘कमेडिया डेलार्ते’ को शिक्षा साथै २० वर्षे थिएटर अनुभव लिएका घिमिरे युवराजले खँदिलो सामग्री पस्केका छन् । नेपाली समाजका शैक्षिक, राजनीतिक, आर्थिक र मनोवैज्ञानिक समस्या एकै ठाउँमा प्रस्तुत गरिएको छ, नाटकमा । धेरै विषय एकै ठाउँमा गुजुल्टिएकाले छरितोपनको आभास हुन्न । पात्रहरूको त जन्ती नै देखिन्छ । यति भीडभाड आवश्यक नभए पनि यसले स्थुल भौतिक धरातलमा मानवीय भावनाको सूक्ष्म अभिव्यक्ति दिन सकेको छ । नाट्यशिल्पका हिसाबले घिमिरे युवराजमा खासै गडबडी देखिँदैन । ‘सर्रियल’ बाट ‘रियल’ नाटकमा उनको छलाङ कमजोर छैन ।


हरेक नयाँ पुस्तासित अथाह सम्भावना हुन्छ । पुस्तान्तरणका कारण त्यो सत्य अधिकांश अभिभावकले आत्मसात गर्न सकेका छैनन् । ग्रिसेली नाटक वर्गीकरणमा यो दुःखान्त नाटक नै भए पनि यसले एउटा गुरुमन्त्र दिएको छ, ‘ट्राई टु बी अग्ली ।’ (कुरूप हुने कोसिस गर ।) यसले नाटकको सौन्दर्यशास्त्रीय ‘क्लिन सेभ’ परिभाषालाई समेत भत्काइदिएको छ । विद्यार्थीकै जस्तो मिक्सट भाषा छ । मनको द्वन्द्व प्रस्तुत गर्न सक्नु यस नाटकको सामर्थ्य हो । निस्सीमको कारुणिक क्षण आइपुग्दा जुरुक्क उठेर सम्झाउन मन लाग्छ, ‘यो अन्त्य होइन निस्सीम !’


‘आँधीको मनोरम नृत्य’

लेखक : घिमिरे युवराज

प्रकाशक : शिल्पी कला समूह

पृष्ठ : १२०

मूल्य : २५०/– प्रकाशित : फाल्गुन १०, २०७६ १३:१८

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तिमी सकिँदैनौ यार !

अविनाश श्रेष्ठ

जीवन, तिमी अविदितको यात्रामा हिँडेको पनि तीस वर्ष नाघिसकेछ । अहिले भएका भए तिमी साठी–एकसठ्ठीका हुने थियौ । कुन्नि कस्ता देखिने थियौ ? कृतिहरू कतिवटा पुग्थे ? तिमी हुनुले नेपालको राजनीति, साहित्य र समाजमा के–कति फरक पर्थ्यो वा पर्दैनथ्यो ?

अर्थोक होस् नहोस्— मलाई एउटा कुरोमा भने पूरापूरा विश्वास छ, तिमी भइदिएको भए एउटा भरोसा गर्न सकिने मित्र रहिरहन्थ्यो मेरा लागि । भाउजू संगीता र दुई अबोध छोरीहरू ऋचा र ऋतुको जिन्दगीका हरफहरू पनि सायद अर्कैअर्कै रङहरूले लेखिँदै जाने थिए ।

तिम्रोबारेमा एउटा संस्मरण लेख्ने निधो मनमनै गरें । र, एक दिन लेख्न भनी बसें । त्यसपछि साँच्चिकै झस्कें म । जिन्दगीको कुदाकुद, भागाभाग र आफू बाँच्ने, परिवार बँचाउने संघर्षमा मैले तिमीलाई धेरै पछाडिको कुनै अँध्यारो कुइनेटोमा, बिर्साइको अन्ध मोडमा छोडेर बेपत्तासँग एक्लै आफू मात्रै अगाडि लम्कँदै गएछु । कति स्वार्थी बनेछु म । यी बितेका वर्षहरूमा यदाकदा तिम्रा कविताहरूलाई सुमसुम्याएँ हुँला, पढेर स्वाद लिए हुँला, आफू सम्पादक भएको कुनै सामूहिक कविता संकलनमा तिम्रा कविताहरू संगृहीत पनि गरें हुँला तर सत्य भन्छु, तिमीलाई गहिरिएर वा चुर्लुम्मै डुबेर मैले सम्झनामा उतारेको सम्झना छैन म आफैंलाई ।

तिम्राबारेमा केही न केही लेख्ने मनमनै अठोट गरेपछि भने तिमीलाई निकै सम्झिरहेको छु । बितेका पन्ध्र–बीस दिन तिमीलाई फेरि खोज्न र खोतल्नमै बितेका छन् । तिमीसितको पहिलो भेट र चिनजान अनि तिमीसित सक्रिय साथित्व र आत्मीयता प्रगाढ बन्दै गएका ती रमाइला दिनहरूका दसी–प्रमाण खोज्न पुराना डायरीका पानाहरू उधिनें । स्मृतिहरूलाई खोतलखातल पारिरहें । जे जति फेला पारें, सम्झिन सकें— ती यादहरूलाई छोटकरीमा बयान गर्ने प्रयास गरेको छु । तर यी सुसंबद्ध र सिलसिलेवार भने छैनन् । तिमीले बनाउने गरेका ‘कोलाज चित्र’ मा अखबारका कटिङ्स, फोटोग्राफ्स, चुरोटका बट्टा, मयूरपंख र यस्तै अन्य जिनिसहरूलाई असंबद्ध ढंगबाट टाँसेर रङ र कुचीको समेत प्रयोग गरेर तिमीबाट जुन एउटा नौलो अर्थ र संरचना बोकेको कृति विनिर्मित हुने गर्थ्यो, अहिले म तिम्रा तिनै ‘कोलाज चित्र’लाई सम्झिरहेको छु अनि तिनैको सिको गर्दै असम्बद्ध ढंगबाट आफ्ना यादलाई शब्दबद्ध गर्न जुटेको छु ।
000
तिमी मनिर आयौ र भन्यौ, ‘अविनाशजी, म जीवन आचार्य ।’ हामीले हात मिलाउँदै एकअर्कालाई हेर्‍यौं गहिरिएर । तिम्रो सबैभन्दा पहिलो कुरो जसले मलाई भित्र कतै सुमसुम्याएर आश्वस्त तुल्याए— ती थिए तिम्रा झर्लक्क परेका ठूल्ठूला दुई आँखा । ती आँखा मानौं मलाई जोखिरहेका थिए— मित्रताका निम्ति यो उपयुक्त पात्र हो होइन ? एकैछिनको कुराकानीपछि हामी दुवै पुराना परिचितझैं बनेका थियौं ।

कुरै कुरामा मैले भनेको थिएँ, ‘म भोलि पोखरा जाँदै छु, जीवनजी । अनि उतैबाट नौतुनवा–गोरखपुर हुँदै बनारस पुग्नेछु । केही पुस्तक छपाउनु छ । एउटा वार्षिक पत्रिका पनि । बरु पत्रिकाका लागि तपाईंको एउटा कविता पाउन पाए मलाई खुसी लाग्ने थियो ।’

तिमीले भन्यौ, ‘कविता त एउटै छैन । भएजतिका कविता जोरजाम गरेर भर्खरै एउटा कवितासंग्रह प्रकाशित भएको छ । यहीं नजिकै मेरो डेरा छ । हिँड्नोस् जाऊँ । मेरो कवितासंग्रह पनि दिउँला, डेरा पनि हेर्नुहोला ।’
तिम्रो बोलीमा कुन्नि के थियो— तिमीसित हिँड्न म तत्काल राजी भएँ ।
विसं २०४१ को कुरो हो यो ।
काठमाडौंमा म बिल्कुलै नयाँ थिएँ ती दिनहरूमा । धेरैजसो बाटाघाटा र ठाउँहरू बिराना थिए मेरा लागि । तर मलाई अझ पनि टड्कारो सम्झना छ— त्यस दिन तिमीले मलाई रामशाहपथ, सिंहदरबारअगाडिबाट हिँडाउँदै थापाथली पुर्‍याएका थियौ । अनि थापाथलीको वाग्मती पुल तरेर हामी कुपण्डोलतिर मोडिएका थियौं । अर्थात् ती दिनहरूमा तिमी कुपण्डोलमा डेरा गरी बस्थ्यौ । (सिंहदरबार पर्खालसँगैको डेराघरमा सायद पछि सरेका थियौ ।) मलाई अझै रिमरिम सम्झना छ, त्यस दिनको— दुब्ली–पातली तर हिसी परेको भद्र मुहार भएकी संगीता भाउजूसित तिमीले त्यहीं चिनजान गराएका थियौ । भाउजूको काखमा थिइन् कलिली छोरी ऋचा ।

अहिले त्यो तिमीसित परिचय भएको पहिलो दिन सम्झँदा सबैभन्दा बढी कुन कुरोले मलाई विभोर तुल्याइरहेको छ भने पहिलो भेटमै निसंकोच उदात्तताका साथ तिमीले आफ्नो डेराघरमा, आफ्नो बासस्थानमा लगेका थियौ मलाई । आफ्नो परिवार र हैसियत चिनाएका थियौ ।

मसित आज काठमाडौं महानगरीको छत्तीस–सैंतीस वर्ष लामो (कटु) अनुभव छ हृदयभरि । यहाँ (काठमाडौं) का धेरैजसो साथी–भाइहरूको समस्या के भने उनीहरू सितिमिति कसैलाई आफ्नो घरमा त लाँदैनन्, लाँदैनन्— आफ्नो मनमा पनि प्रवेश दिन उति रुचाउँदैनन् । मनमै प्रवेश निषिद्ध गरेपछि त सक्किगो नि सामीप्यताका, निकटताका कुनै संस्मरण एकअर्काको हृदयपटमा बन्नै पाउँदैनन् । अनि कालान्तरमा संस्मरण खोतल्दा— ओल्लो छेउदेखि पल्लो किनार चहार्दा पनि संस्मरणको कच्चापदार्थ भेट्नु दुर्लभ बन्छ । तर तिमी कति सहज थियौ जीवन, आफ्नो मनमा, जीवनमा कति सहजै प्रवेश दिएका थियौ । स्वागत, सत्कार र न्यानो आफ्नोपन दिएर एकै दिनमा आफ्नो हृदयको नजिक पुर्‍याएका थियौ मलाई ।

त्यसपछि म काठमाडौंको रस–माधुर्यमा भिज्दै गएँ । काठमाडौंको रङमा रंगिँदै जान थालें । तिमीसित पनि यदाकदा कार्यक्रमहरूमा भेट भइरहन्थ्यो । तिमी खुल्दै जाँदै थियौ मसित । म तिमीसित खुल्ने क्रम जारी थियो । यसैबीच त्रिभुवन विश्वविद्यालयको सहायक डिनको कार्यालय, कीर्तिपुरमा कार्यरत कवि–कथाकार विधान आचार्य र ल क्याम्पस, भृकुटीमण्डपमा प्राध्यापन गर्ने कवि राजेन्द्र शलभसित पनि निकट हुने अवसर मलाई जुरेको थियो । तिनताक विधानजी र शलभको सक्रियतामा ‘गोष्ठी, नेपाल’ नामक संस्थाले कुनै न कुनै कार्यक्रम निरन्तरजसो आयोजना गरिरहेको हुन्थ्यो । ती कार्यक्रमहरूमा म नबिराई उपस्थित भइरहन्थें । ‘गोष्ठी, नेपाल’ का त्यस्ता कार्यक्रमहरूमा तिम्रो पनि सक्रिय सहभागिता हुने गरेको देख्थें । त्यो विसं २०४१–०४२ तिरको समय थियो । ‘गोष्ठी, नेपाल’ का केही कार्यक्रमहरूमा सहभागी भएपछि तिमी र गोविन्द गिरी प्रेरणा पनि त्यस संस्थामा आबद्ध रहेको थाहा भएको थियो मलाई ।

‘सिर्जनशील साहित्य समाज’ (सिसास) र ‘साहित्यिक पत्रकार संघ, नेपाल’ त्यस कालखण्डका काठमाडौंमा साहित्यिक कार्यक्रमहरू निरन्तर आयोजना गरिरहने ठूला संस्था थिए । तर विधान, शलभ, गोविन्द गिरी र तिमी सम्मिलित ‘गोष्ठी, नेपाल’ पनि निकै सक्रिय थियो ती दिनहरूमा । झापाबाट काठमाडौं कविता सुनाउन आएका नौ जना कविहरूको सम्मानमा रात्रिभोजको आयोजना, कवि गगन विरहीको कवितासंग्रह ‘उही घाम, उही जून’ को विमोचन समारोह, मदन पुरस्कार विजेता मोहनराज शर्माको अभिनन्दन, विराटनगरबाट राजधानी आएका एक जोडी साहित्यिक दम्पतीको स्वागतमा गरिएको कार्यक्रम आदि मैले अहिले सम्झन सकेका ‘गोष्ठी, नेपाल’ ले विसं २०४१–०४२ तिर आयोजना गरेका महत्त्वपूर्ण कार्यक्रमहरू थिए । यिनै कार्यक्रमहरूकै सेरोफेरोमा तिम्रो र मेरो मित्रता झ्यांगिँदै जान थालेको थियो जीवन ।
000
तिमीलाई डेरा देखाउने हतारो थियो । आफू चिनिने हतारो थियो । आफ्नो परिवार चिनाउने हतारो थियो । आफ्नो काम (संसारलाई) चिनाउने हतारो थियो । तिमी सबथोक छिटछिटो गरिरहेका थियौ जीवन । ‘तपाईं’ बाट ‘तिमी’ मा झर्न तिमीले तीन महिना पनि पर्खेनौ । एक दिन भन्यौ, ‘केको तपाईं–तपाईंको फर्म्यालिटी यार ! ‘तिमी’ भनौं एकअर्कालाई । आत्मीयता बढ्छ । मनको अझ नजिक–नजिक भइन्छ ।’ यसरी हामी दुवै तीन महिनामै ‘तिमी’ भयौ एकअर्काका लागि ।

अरूले दस वर्ष लगाएर बाँचेको तिमी एक वर्ष, एक महिना, अझ एक दिनमा संक्षेपीकरण गर्न उद्यत थियो । मानौं भोलि नै संसार सकिने पो हो कि जस्तो जल्दीबाजी । सबै कामकुरो हतारमा सक्ने–सिध्याउने उखरमाउलो । नभन्दै तिम्रा दिनहरू छिटछिटो सकिँदै थिए । त्यसको संकेत तिम्रो शरीरले तिमीलाई दिन थालिसकेको थियो ।
तिमी छिटछिटो खोच्याउँदै मेरो डेरामा भित्रिन्थ्यौ । ओछ्यानमा सँगै बस्न आइपुग्थ्यौ । मेरो हात लगेर आफ्नो करङको दायाँपट्टि टाँस्थ्यौ र बेपर्बाह हाँस्दै बोल्थ्यौ, ‘ल हेर यार, मेरो मुटुले कसरी बुर्कुसी मार्दै छ ।’ म भने तिम्रो करङनिर हात टँसाउँदा बेपत्तासित अत्तालिन्थें । त्यहाँ करङको हाड नै थिएन सायद । पातलो छालालाई मुटुको ढुकढुकी र उफ्राइले घोच्न आएजस्तो मुटुको असामान्य चाल प्रस्ट थाहा पाइने । साह्रै अत्यासलाग्दो हुन्थ्यो तिम्रो दायाँ करङलाई हत्केलाले छोएको त्यो क्षण । तिमी भने मुटुको चाल असामान्य भएको दिन त्यसरी नै मेरो हात समातेर आफ्नो छातीको बायाँतिर छुन कर गर्थ्यौ । म ती क्षणहरू सम्झँदा आज पनि भयभीत बनी अतालिन्छु । तर ती दिनहरूमा तिमी भने आफ्नो आसन्न मृत्युसित ठट्टा गर्दै जिस्किरहेको जस्तो लाग्थ्यो । तिमी आफ्नो मृत्युको डर अरूका आँखामा उकासिएको देख्थ्यौ र नाथे मृत्युको अवमानना गर्दै झन्–झन् उद्दण्ड बन्दै जाँदै छौ जस्तो लाग्थ्यो मलाई ती दिनहरूमा ।

सायद त्यो तिम्रो तीव्र रोष र अप्रसन्नताको अभिव्यक्ति थियो— आफ्नो निर्माता प्रकृति (परमेश्वर) का विरुद्ध ।
अप्रसन्नता, आक्रोश र गुनासो पनि किन नहोस् त प्रकृतिसित !
प्रकृतिले त तिमीलाई दोहोर्‍याएर दण्ड दिएकी थिइन्— जन्मजात रोगी मुटु थमाएर, अनि एउटा खुट्टो लुलो लंगडो बनाएर ।
पोलियोग्रस्त बायाँ खुट्टोको कारण तिम्रो हिँडाइ पनि असामान्य थियो । तर पनि तिमी जोधाहा थियौ । दह्रो थियौ, बेपर्बाह थियौ— संसार, समाज र प्रकृतिलाई बूढीऔंला देखाउँदै । मानौं भनिरहेका छौ, ‘ईऽऽऽस तेरो दण्ड ! ईऽऽऽस मलाई दुर्बल देखाउने तेरो निम्छरो षड्यन्त्र !’

तिमी विचलित थिएनौ जीवन । त्यति हुँदा पनि तिमीलाई कहिल्यै कुण्ठित देखिनँ । धरमरिएको देखिनँ । सधैं सिंहको हिँडाइ । सिंहको चाल । तर तिमी आफ्नो शरीरको प्राकृतिक कमी र त्यसले कुनै पनि समय निम्त्याउन सक्ने दुष्परिणामबारे अञ्जान भने थिएनौ । बरु थियौ सचेत र तम्तयार त्यस आसन्न ‘अलच्छिन’ लाई सामना गर्न ।
तिम्रो आवाजमा भएको त्यो स्थिरता र त्यो ठहराव अनि एक किसिमको घोर्लेपन भनौं कि भालेपन भनौं वा भनौं दर्बिलो दबंगपन— आज पनि मेरा कानले बिर्सन सकेका छैनन् । तिम्रो बोल्ने शैली र आवाजमा भएको त्यो कालजयी स्थिरता अनि ओजिलोपनले मलाई सिलगडीका मेरा पैंतालीसौं वर्ष पुराना कवि–कथाकार मित्र ज्ञानेन्द्र खतिवडाको उस्तैउस्तै झल्को दिने घोर्ले भाले आवाजको सम्झना भइरहन्छ ।
000
कवि केदारमान व्यथितलाई विसं २०४३ मा बनारसको गौदौलिया चोकस्थित एउटा धर्मशालामा भेट्न जाँदा मसित उहाँको पहिलो प्रश्न थियो, ‘तपाईंले...तपाईंको जीवन आचार्यलाई भेटेको छ ? नयाँ कवि हो । एकदमै प्रखर छ ऊ...तपाईंको । अहिलेको दह्रोखरो कवि उही हो । नेपाली साहित्यको...तपाईंको प्रतिनिधि पात्र भनिदिँदा पनि हुन्छ उसलाई ।’

‘कति गहिरो प्रभाव र छाप छाडेछौ यार तिमीले बूढा पञ्च केदारमान व्यथितमाथि । उनी त तिम्रा प्रवक्ता बनेर पो बोलिरहेका थिए ।’ बनारसबाट फर्केपछि एक दिन ठट्टा गर्दै तिमीलाई सुनाएँ । तिमीले व्यथितलाई बाल नदिएझैं मेरो कुरोको प्रत्युत्तरमा हाँस्दै भनेका थियौ, ‘अँ, अरूले पनि सुनाउँछन् । बूढालाई मैले तलब दिएर राखेजत्तिकै भएको छ यार ।’

तर साथीहरू तिम्रो र कवि व्यथितको निकटतालाई विपर्यास–बिब्ल्याँटो सम्बन्ध मान्थे र तिमीलाई उडाउनु उडाउँथे । कहाँ प्रजातन्त्रको प्रखर समर्थक जीवन आचार्य ? अनि कहाँ मक्किँदै गइरहेको क्रूर पञ्चायती व्यवस्थाका पृष्ठपोषक केदारमान व्यथित !!

साथीहरू तिमीलाई व्यथितको नाम लिएर खिप्नु खिप्थे । (तिम्रै प्यारो शब्द सापटी लिए है जीवन ।) अनि तिमी असहाय–निरूपाय बनेर बटारिन्थ्यौ । खिस्रिकिन्थ्यौ । मुख अँध्यारो पार्थ्यौ । कहिलेकतै भने खिप्नेहरूमाथि नै झम्टिँदै जाइलाग्थ्यौ, ‘मलाई व्यथितको राजनीतिले भात खान दिएको छैन बुझ्यौ । व्यथितजीभित्रको प्रौढ, क्रान्तिसचेत कविलाई मैले मान्न किन नहुने ?’
000
२०४४ सालको अन्त्यतिर एमएको पढाइ सकेर कान्ति ब्यायज होस्टल, कीर्तिपुरबाट म बागबजार डेरा सरें । ती दिनहरूमा म नाटक र टेलिफिल्मको दुनियाँमा स्पेस बनाउन संघर्ष गर्दै थिएँ । तिमी भने आफ्नै निजी कामको चाँजोपाँजो मिलाउने तरखरमा एकोहोरिएका थियौ । सायद त्यही छेक हुनुपर्छ तिम्रो कान्छो भाइ टंक तिमीलाई सघाउन काठमाडौं आई तिमीसित बस्न थालेको पनि ।

२०४५ साल भर्खरै थालिएको थियो ।
तिमी ‘डिजाइन राइटर’ स्थापनाका लागि उपयुक्त थलोको खोजीमा थियौ । मेरै डेराछेउमा एउटा घर फेलापर्‍यो । एक–दुई दिनभित्रै ‘डिजाइन राइटर’ त्यस घरमा सारेका थियौ तिमीले । र, ध्रुव तन्डुकारको घरको त्यही दोस्रो तला नै तिम्रो अन्तिम समयसम्मको सक्रिय कर्मथलो बन्न पुग्यो । ‘डिजाइन राइटर’, जसका झ्यालहरू बागबजारको मुख्य सडकतिर खोलिन्थे तर प्रवेश गर्न भने पछाडिपट्टिको बाटो र भर्‍याङ प्रयोग गर्नुपर्थ्यो ।

‘डिजाइन राइटर’ तिम्रो वर्कसप मात्र थिएन, त्यो त त्यसबेलाका भरभराउँदा कवि–लेखक, पत्रकार, कलाकार र कलाप्रेमीहरूको जमघट हुने थलोमा परिणत हुँदै गएको थियो । त्यहाँ दिउँसोतिर जाँदा भीडभाड हुने गरेको देख्थें । आज सम्झँदा ‘डिजाइन राइटर’ को त्यो भीड साँच्चिकै लोभलाग्दो थियो । त्यहाँ सशरीर उपस्थित हुने गर्थे— केदारमान व्यथित, ईश्वरवल्लभ, किशोर नेपाल, शिव अधिकारी, विष्णु विभु घिमिरे, सीता पाण्डे, शैलेश आचार्य, राजेन्द्र शलभ, विधान आचार्य, रमण घिमिरे, रविन नेपाली, सुनील पोखरेल, सरोज खनाल अनि कहिलेकतै सूर्यमाला र निशा शर्मा आदि आदि । (नामको यो सूची धेरै तन्काउन सकिन्छ । मैले माथि केही प्रतिनिधि नाम मात्र दिन खोजेको हुँ ।)

‘डिजाइन राइटर’ को झ्यालबाट पारिपट्टि केही पर पश्चिम–दक्षिणतर्फ विस्तृत रूपमा अवस्थित पद्मकन्या क्याम्पस देखा पर्थ्यो । बागबजार मूल सडकमा गेरुवस्त्रधारी पद्मकन्याका छात्राहरूको घुइँचो र ओहोरदोहोरले त्यहाँको वातावरणको रौनक र शान नै बढाइदिएको अनुभूत गर्न सकिन्थ्यो । कवि दाइ ईश्वरवल्लभ डिजाइन राइटरमा प्रायः आइरहनेमध्ये पर्नुहुन्थ्यो । र, उहाँ आएपछि बागबजार मूल सडकतिर खुल्ने झ्यालमा घण्टौं उभिएर बाहिरका गतिविधिहरू नियाल्नमा तल्लीन बन्नुहुन्थ्यो । तिमी वल्लभ दाइसित कतिविधि झ्याम्मिएका थियौ भने उहाँजस्तो अन्तर्मुखी स्वभावको व्यक्तिलाई धरी कायल पार्ने कटाक्ष गर्नबाट चुक्दैनथ्यौ । तिमी ठट्टैठट्टामा कति सजिलै भनिदिन्थ्यौ, ‘वल्लभ दाजुलाई कसैले डिस्टर्ब नगर्नू । उहाँ लामो कविता लेख्न गेरु रङमा डुबेर रिसर्च गर्दै हुनुहुन्छ ।’ वल्लभ दाइ पनि के कम, तिमीलाई फर्केर फिका हाँसोसहित बोल्नुहुन्थ्यो, ‘ह्या मुला !, तिमी नै बरु मनमनै गेरु रङवालीहरूसित पिकनिक खाँदै हौला मुला ।’
त्यसपछि तिमी र वल्लभ दाइमाझ व्यंग्य–कटाक्ष–घोचपेचको जुहारी चल्थ्यो त्यहाँ केही बेर । प्रायः कुनै निष्कर्षबिना नै बीचैमा सेलाएर सकिन्थे त्यस्ता दुर्लभ दोहोरीहरू ।
000
एकाबिहानै तिमी मेरो डेराको ढोका ढकढकाउन आइपुग्थ्यौ । अनि म आश्वस्त हुन्थें— आज आइतबार नै हो । नभन्दै ‘देशान्तर साप्ताहिक’ च्यापेर निकै रमाइलो मुडमा तिमी कोठामा छिर्थ्यौ । तिम्रो स्तम्भलेख हामी दुवैले सँगसँगै पढ्थ्यौं खाटमा बसेर । अनि सोध्थ्यौ, ‘कस्तो छ यार ?’

प्रायः बिहीबार वा शुक्रबारको बिहान पनि यस्तै–यस्तै हुने गर्थ्यो । ‘देशान्तर साप्ताहिक’ मा बुझाउनुभन्दा पहिले तिम्रो सुन्दर हस्तलिपिमा लेखिएको ‘अर्थात्’ स्तम्भलेख तिमी पढेर सुनाउने गर्थ्यौ । अनि उही नांगो प्रश्न ‘कस्तो छ यार ?’
डेराघरमुनि सञ्चालित थियो घरधनी साहुको खाजाघर । त्यहाँ साहुजीका बुहारीहरू बाबा भाउजू र बिजु भाउजू एकाबिहानैदेखि ठूल्ठूला केरोसिन स्टोभहरूको चर्को भ्यारभ्यार आवाजमाझ पकाइरहेका हुन्थे— मालपुवा, सेल, आलु–चनाको तरकारी र तात्तालो मसालेदार मीठो दूधचिया । जीवन, तिमी ती मालपुवा, आलुचना र मसला चियाका एक नम्बरको पारखी थियौ । मेरो डेराबाट तिमी र म तल झर्थ्यौं र खाजाघरमा अड्डा जमाउँथ्यौं । अनि कहिलेकतै त्यहीं जम्न आइपुग्थे रमण घिमिरे भाइ, रवीन नेपाली, शिव अधिकारी, शैलेश आचार्य र केदारनाथ शर्माहरू ।
ती ‘डिजाइन राइटर’ का सक्रिय दिनहरू थिए तिम्रा । आज जुन काम कम्प्युटरले गर्छ त्यस्ता पत्रिका, ब्रोसर, पम्प्लेट आदिका ले–आउट, पेस्टिङ र डिजाइनका काम तिमीले मेनुवल्ली गर्ने गरेको सम्झँदा आज विचित्रको अनुभव हुन्छ मलाई ।

फेरि ‘अर्थात्’ कै प्रसंगमा केही थप कुरा ।
‘देशान्तर साप्ताहिक’ मा हरेक हप्ता नबिराई प्रकाशित हुने तिम्रो ‘अर्थात्’ स्तम्भआलेख निकै चर्चामा थियो । बेलाबेला विवाद निम्त्याउने कुराहरू पनि तिमीले लेख्यौ । विवाद भइरहे । तिमीले विवादलाई बूढीऔंला देखायौ । अरूले गर्नै नचाहने वा गर्न हच्किने विवादास्पद राजनीतिक मुद्दामाथि तिमीले कतै उडाउँदै टिप्पणी गर्‍र्यौ, कतै झ्वाम्म मुटुमै रोपिने खालको कटु कटाक्ष लेख्यौ, कतै तीमाथि व्यंग्यको बहुअर्थी वाण चलायौ । कहिलेकतै तिमीले पञ्चायती व्यवस्था र पञ्चायती शूरवीरहरूमाथि गरेको खरो आलोचना पढ्दा मेरो मन सिरिंग–सिरिंग हुन्थ्यो । तिमीलाई भन्थें, ‘डर लाग्दैन तिमीलाई ? शत्रुहरू तिम्रो छेउछाउमै छन् नि !’ तर तिमी रत्तीभर विचलित देखिन्नथ्यौ । मलाई भने तिम्रो लागि डर लागिरहन्थ्यो ।

‘अर्थात्’ तिमीले प्रायः घरमै लेख्ने गर्थ्यौ क्यार ! तर कहिलेकतै ‘अर्थात्’ स्तम्भ बुझाउने मिति नजिकिँदा डिजाइन राइटरमै बसेर पनि घोत्लिरहेका भेटिन्थ्यौ । त्यस्तो बेलामा पुग्दा आधा–अधुरो जे लेखिएको छ त्यो तिमी सुनाउँथ्यौ र सोध्थ्यौ, ‘यो थिममा लेख्दा कस्तो होला यार ?’

तिम्रो लेखोटको खेस्रा पढेर वा सुनेर आफ्नो सामर्थ्यअनुसार मन्तव्य दिने गर्थें । मलाई थाहा थियो तिमी यसरी नै रमण घिमिरे, रवीन नेपाली, मित्रसेन दाहाल, शलभ, विधानजीहरूलाई पनि अवसर परेका बेला ‘अर्थात्’ स्तम्भका लागि लेखिएका खेस्रा ‘देशान्तर’ मा बुझाउनुअघि सुनाएर सल्लाह सुझावको अपेक्षा राख्थ्यौ । र, अन्तिम क्षणसम्म संशोधन–परिमार्जन गरिरहन्थ्यौ आफ्नो लेखोटलाई ।

कहिलेकाहीं ‘अर्थात्’ मा लेख्नका लागि सटीक विषय वा मुद्दा नभेट्दा तिमी छटपटिइरहेका पनि फेला पर्थ्यौ । त्यस्ता क्षणमा प्याच्च भनिदिन्थें, ‘जीवन, माइन्ड नगर यार, तिम्रो कविलाई ‘अर्थात्’ ले खति गर्दै छ है ।’ तिमी तत्काल धारिलो प्रतिक्रिया प्रहार गरिहाल्थ्यौ, ‘तिमीलाई त्यस्तो लागेको हो । ‘अर्थात्’ ले कवि जीवन आचार्यलाई फराकिलो पाठक–संसारमा पुर्‍याएको छ । तिमी बुझ्दैनौ यार, भैगो छाड !’

यस्तै एकपटक बिहान–बिहान तिमी पुलकित मुद्रामा डेरामा आयौ । तिम्रो हातमा ‘देशान्तर साप्ताहिक’ मा बुझाउन तयार पारेको ‘अर्थात्’ को आलेख थियो । तिमीले सुनाउँदै गयौ, विषय र शीर्षक अहिले सम्झन सकिनँ । मैले गम्भीरतापूर्वक सुनें तर प्रतिक्रिया दिइनँ । मौन बसिरहें ।
‘कस्तो लाग्यो भन त यार ?’ सधैंझैं तिम्रो उही जिज्ञासु आतुरता ।
‘खै के भनूँ यार...’
‘होइन, भन न भन...’ तिमीले ढिपी
कसिरह्यौ ।
अन्ततः मैले नबोली सुख पाइनँ । र भनिदिएँ, यसपालिको तिम्रो लेखाइ जमेको छैन । मलाई त ताइँ न तुइँको लाग्यो है जीवन !’ मेरो कुरो सुनेपछि केही नबोली तिमी जुरुक्क उठेर हिँडिहाल्यौ । मलाई लाग्यो तिमीलाई मेरो खरो प्रतिक्रिया मन परेन । दुई–तीन दिन जति म तिमीलाई खोज्न गइनँ । तिमी पनि मलाई खोज्दै अएनौ । आइतबार ‘देशान्तर’ किनेर ल्याएँ । तिम्रो आलेख यथावत् प्रकाशित भएको पाएँ । एकदुई दिनपछि तिमी मलाई भेट्न डेरामा आइपुग्यौ र बस्दै भन्यौ भूमिका नबाँधी, ‘सायद तिमीले ठीकै भनेका थियौ यार । अरूले पनि भनिरहेका छन् ‘अर्थात्’ यसपालि उति जम्न सकेन ।’
यो तिम्रो स्वभाव थियो जीवन, प्रतिक्रिया सहजतासाथ सकार्ने, मनमा मयल नराख्ने उदात्त स्वभाव !
000
तिम्रोबारेमा धेरै थोक बर्बराइसकें ।
अब तिम्रा कविताबारे आफूलाई लागेका कुरा अति संक्षेपमा भन्नेछु ।
कविता लेखनको तिम्रो अनौपचारिक शैली मलाई औधी मन पर्छ । तिमीजस्तो हक्की र पारदर्शी थियौ— तिम्रा कविता पनि त्यस्तै शूरा र दह्रा छन् । तिम्रा कविता आफूलाई भन्न मन लागेको कुरा प्वाक्क भनिहाल्छन् । तिनलाई कसैको डर–भय पटक्कै छैन । तिम्रा दुवै कविता–किताब ‘जीवनका धुनहरू’, ‘अन्तहीन शुरुवात’ र स्तम्भ–लेखको किताब ‘अर्थात्’ले तिमीलाई नेपाली साहित्यमा सधैं बँचाइराख्नेछन् । तिमीले आफ्नो जीवनको अन्तिम पछौटोतिर लेखेका कविता हुन्— ‘डायनोसर’ र ‘किस्ने’ आदि । ‘किस्ने’ कविता लेखिसकेपछि तिमी अति खुसी भएका थियौ । वैशाख ०४६ सुरुका दिनहरूमध्ये कुनै एक दिन साँझ डेरामा लगेर तिमीले यो कविता सुनाउँदा म साँच्चिकै अभिभूत बनेको थिएँ । त्यस रात तिम्रो डेरामै बस्न तिमीले मलाई कर गरेका थियौ । यसरी एउटा उत्कृष्ट कविता तिमीले लेखेको खुसियालीमा उत्सवमय बनेको थियो त्यो रात !

तिनताक ‘मधुपर्क’ को प्रधान सम्पादक कृष्णभक्त श्रेष्ठ दाइ हुनुहुन्थ्यो र उहाँकै आग्रहमा मैले ‘नेपालबाहिरका नेपाली साहित्यकार’ स्तम्भअन्तर्गत लेख्न सुरु गरेको थिएँ । मेरो स्तम्भलेख ‘मधुपर्क’ मा बुझाउन जाने दिन सल्लाह मिलाएर तिमी र म ‘गोरखापत्र संस्थान’ को अड्डा नयाँ सडक पुगेका थियौं । कृष्णभक्त दाइले कविता तिम्रै मुखबाट सुन्न चाहनुभयो । तिमीले कवितावाचन गरिसकेपछि दाइले प्रसन्न मुद्रामा भन्नुभएको सम्झन्छु, ‘कविता साँच्चिकै राम्रो छ । तर ‘किस्ने’ शीर्षकले कविताको ओजलाई धान्छजस्तो मलाई लागेन । कविताको शीर्षक फेर्न सुझाव छ कविजीलाई ।’
नभन्दै तिम्रो कविता ‘कर्मण्येवाधिकारस्ते...’ शीर्षकमा ‘मधुपर्क’ को असार २०४६ को अंकमा प्रकाशित भएर आयो । तर कत्रो विडम्बना ! आफ्नो उत्कृष्ट कविता ‘मधुपर्क’ मा प्रकाशित भएको भने तिमीले नै देख्न–पढ्न पाएनौ जीवन ।
000
बागबजारमा ‘डिजाइन राइटर’ को स्थापना गरेपछिका दिनहरूमा तिम्रो अन्तर्यलाई गहररी बुझ्ने अवसरहरू मैले पाइरहें । तिम्रो खुसी, तिम्रा वेदना, तिम्रो श्रम, तिम्रा आँसु र तिम्रा पीडाको नजिकको साक्षी बन्न नै समयले मलाई त्यहाँ बागबजारको त्यस डेरामा पुर्‍याएको रहेछ जस्तो लागिरहन्छ । ती दिनका घटनाक्रमहरूले तिमी र मलाई भावात्मक रूपमा धेरै नै नजिक बनाइदिएको थियो । फलतः तिम्रो डेरामा कतिपटक गइयो, कतिपटक खाइयो, कति रात बास बसियो— त्यसको कुनै लेखाजोखा छैन ।

बेलाबेला टंक भाइलाई ‘डिजाइन राइटर’ जिम्मा लगाएर तिमी मेरो डेरामा सुटुक्क आइपुग्थ्यौ । आफ्नो साह्रो–गाह्रोहरू सुनाउँथ्यौ । कहिलेकतै दिउँसोको खाजा खान तिमी र म बागबजारका गल्लीहरू भित्रभित्रै लुक्दैछिप्दै हिँडेर रत्नपार्क गणेशथानछेउको प्रख्यात ‘रिमझिम भोजनालय’ सम्म पुगिरहेका हुन्थ्यौं भने कहिले खसीबजारतिरको दमककी आमैको खाजाघरमा जम्न पुग्थ्यौं ।

यस्तैमा चैत १६ गते (२०४५) बुधबारको त्यो दिन पनि आइपुग्यो । अस्ट्रेलियाबाट मुटुरोग विशेषज्ञ डक्टरहरूको डफ्फा वीर अस्पताल आएको जानकारी पाएर तिमी आफ्नो मुटु जँचाउन गएका थियौ । सूक्ष्मतापूर्वक जाँचेर अस्ट्रेलियाली विशेषज्ञ चिकित्सकले तिमीलाई भनेछन्, ‘तिमीसित अब पुग नपुग एक वर्षको समय छ । तुरुन्त भारत गएर मुटुको सर्जरी गराइहाल ।’

त्यस साँझ तिमी कति निरीह देखिएका थियौ । बोल्दाबोल्दै तिम्रा आँखाबाट आँसुका ढिक्का खसेका थिए । आफूलाई केही भइहाल्यो भने आफ्ना लालबालाको बिचल्ली हुने कल्पनाले एक्कै छिन तिमी कहाल्लिएर कातर बनेका थियौ । सायद खर्चको रकम जोहोको कुरो थियो । अन्य कुराहरू पनि हुँदा हुन् सायद । तर केही छिनपछि नै तिमी निस्फिक्री देखिएका थियौ । त्यस धमिलो साँझमा पर रामशाहपथको पुरातत्त्व विभागको मोडसम्म तिमीलाई पुर्‍याएर भारी मनसहित म फर्केको थिएँ ।

सबै कामकुरो सामान्य ढंगबाट चलिरहेको थियो । अनिष्टको कुनै संकेत परपरसम्मन् थिएन । तिमी सधैं नियमित तालिकाअनुसारै ‘डिजाइन राइटर’ आउने–जाने गरिरहेका थियौं ।अस्ट्रेलियाली कार्डियालजिस्टहरूको चेतावनीपछि भने तिमी दिन गनिरहेका भेटिन्थ्यौ । भन्थ्यौ, ‘अझ एघार महिना दस दिन बाँकी छ यार ! केही न केही त गरिहालिन्छ ।’ तर समय तिमीलाई अवसर दिनेभन्दा पनि झुक्याउने खेलमा लागेको तिमीले पत्तै पाउन सकेनौ ।
000
जुन दिन त्यो अविश्वसनीय अनर्थकारी घटना घट्नु थिया, त्यसको एक दिनअघि पनि तिमी काममा उसरी नै जोतिएको देखेको थिएँ । दिउँसोपख तिमीले खुस्रुक्क भनेका थियौ, ‘आज रोटी खाने मन छ यार । भरे रिमझिम भोजनालय जाने ल !’
र हामी त्यो साँझ रिमझिम गयौं ।
सामान्य ढंगले रोटी–तरकारी खायौं ।
सधैंझैं मैले तिमीलाई पुतलीसडक रामशाहपथ हुँदै पुरातत्त्व विभागछेउको बाटोबाट तिम्रो डेराघरको ढोकैसम्म पुर्‍याएर फर्कें । असामान्य केही पनि लागेको थिएन ।
सबथोक नियमित र साबिकबमोजिम नै भएझैं भान परेको थियो मलाई ।
त्यो अलच्छिना बिहानलाई म कसरी बिर्सन सक्छु !
बिहान चार बजेतिर डेराअगाडिको करिडोरमा कोही हडबडिँदै कुद्दै–दगुर्दै आएको जुत्ताको चर्को आवाजले मेरो निद्रा बिथोलिएर ब्युँझिसकेको हुन्छु । हतासिएको–अत्तालिएको आवाजमा दैलो पिट्दै कसैले रुँदै क्रन्दन गर्दै डाक्छ, ‘दाइ ! अविनाश दाइ...!’
छिटछिटो गएर दैलो उघार्छु ।
अगाडि तिम्रो कान्छो भाइ टंकलाई देख्छु— रुँदारुँदा सुन्निएका आँखा र खङ्ग्रङ्ङ परेको, उडे–उडेजस्तो, सातो गएजस्तो फुस्रो अनुहार लिएर उभिएको ।
कुनै अपशकुन, कुनै अप्रिय घटनाको आशंकाले आतंकित बन्दै काँप्छु । टंक भाइ रुँदै भन्छ, ‘दाइ ! जीवन दाइ बित्नुभयो हिजो राति ।...टिचिङ अस्पतालमा छाडेर आएको छु ।’
शिक्षण अस्पताल, महाराजगन्ज पुग्छु छिटछिटो ।
केही चिनेजानेका अनुहार पुगिसकेका देख्छु । केही आइपुग्दै होलान् । तर तिमी छैनौ ।
तिम्रो निर्जीव कक्रिएको शरीर मात्र पसारिएको छ मुर्दाघरको चिसो स्ट्रेचरमा कसैले सुनाउँछ, ‘लासको पोस्टपार्टम गरेपछि मात्रै आफन्तलाई जिम्मा दिइने रे ।’
हिजोसम्म सँगै हिँडिरहेको, सँगै हाँसिरहेको, बोलिरहेको, खाइरहेको शरीरलाई आगोले खाइरहेको बिरक्तिएर हेरिरहन्छु ।
तिम्रो देह खरानीको थुप्रोमा अनुवाद हुन्छ ।
भरे वाग्मतीले बगाउँदै खरानीलाई कताकता पुर्‍याउनेछ । साथीहरू शोकमा सुकसुकाउँदै छन्, ‘एउटा भरभराउँदो जीवनकथा सधैंलाई सक्कियो !’
आज वर्षौंवर्षपछि तटस्थ सोच्दै छु— कहाँ सक्किएका छौ र तिमी ?
म र मजस्ता धेरैको स्मृतिमा तिमी यथावत् छौ । अझैसम्म ।
अनि रहिरहनेछौ भोलि, पर्सि, वर्षौंपछिसम्म पनि । तिमी सकिने जिनिस हुँदै होइनौ जीवन । तिमी सकिँदैनौ यार !

प्रकाशित : फाल्गुन १०, २०७६ १३:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×