प्रतिष्ठाको विषय (?)

विवाहेत्तर यौनसम्बन्ध र विवाह फरक विषय हो । तर, विवाहेत्तर यौनसम्बन्धको सन्दर्भमा पनि समाजले निर्धारण गरेको मापदण्ड पुरुष र महिलालाई फरकफरक छ ।
सम्झना वाग्ले भट्टराई

हालै काठमाडौँको एउटा चल्तीको कफी सपमा थिएँ । कफीको बिलको पछाडिपट्टि केही ठूला अंग्रेजी अक्षरमा ‘एस ई एक्स’ लेखिएको थियो । बिलको पछाडि यस्तो देखेपछि अनौठो लाग्यो र नियालेर हेरेँ । कुनै आफूलाई रचनात्मक दाबी गर्ने कम्पनीको उत्पादनको विज्ञापन रहेछ ।

ठूला अंग्रेजी अक्षरको तलपट्टि तिनले लक्षित गर्ने पूरा शब्दहरू राखिएको रहेछ : ‘एस माने सिम्पल’, ‘ई माने इलिजेन्ट’, र ‘एक्स माने एक्स्ट्राअर्डिनरी’ अर्थात् सरल, सुरुचिपूर्ण र असाधारण । उत्पादन राम्रो भए तिनका गुणबारे व्याख्या गर्न यी शब्दहरू आफैँमा प्रभावशाली लाग्छन् । तर, किन यसलाई प्रस्तुत गर्न ‘सेक्स’ शब्दको प्रयोग आवश्यक होला ?


त्यसै दिन ठमेलमा हिँड्दै गर्दा कुनै रेस्टुरेन्टको अगाडि ठूला अंग्रजी अक्षरमा लेखिएको ‘एस ई एक्स’ देखेँ । अलि नजिक गएर हेरेको ‘फुड इज एक्सेप्सनल’ लेखिएको रहेछ । तर, यस लेखाइमा पनि अन्य अक्षर सामान्य राखिएका तर ‘इज’को ‘एस’ र ‘एक्सेप्सनल’को ‘ई’ र ‘एक्स’लाई ठूलो र चम्किलो अक्षरमा राखिएको छ, ताकि अन्य अक्षर नदेखिउन् र ‘सेक्स’मा मात्र आँखामा परोस् जसरी । ‘खाना अतुलनीय मीठो छ’ भन्न पनि ‘एस ई एक्स’ को प्रयोग गर्नुपर्ने कुन मनोविज्ञानको प्रभाव होला ? सोचेरै हैरान भएँ ।


त्यसो त यौनजन्य विषयलाई जोडेर वस्तुको विज्ञापन गर्ने चलन विश्वमै नौलो होइन । सन् १८७१ मा पर्ल सुर्तीको खोलमा नग्न महिला शरीरको तस्बिर प्रयोगलाई विज्ञापनमा नग्नताको पहिलो प्रयोग मानिएको छ । त्यसपछि बिस्तारै चुरोट तथा मदिराका विज्ञापनमा नग्नताको प्रयोग गरिएका उदाहरण छन् । अहिले त यस्ता अभ्यास व्यापक प्रचलनमा छन् । यस लेखको सुरुआतमा उल्लिखित प्रसंगहरू त्यसकै उदाहरण हुन् । तर, यसपछाडिको मनोविज्ञान भने अध्ययन तथा विश्लेषणको विषय पक्कै हो ।


के विज्ञापनमा नग्नता वा यौनजन्य सामग्रीले वस्तुको व्यापारमा सकारात्मक प्रभाव पार्छ त ? यसबारे पश्चिमा तथा भारतलगायतका मुलुकमा प्रशस्त शोध–अध्ययन भएका छन् । यस लेख लेख्ने क्रममा मैले यसै विषयसँग सम्बन्धित विगत दस वर्षमा गरिएका दर्जनभन्दा बढी अध्ययन प्रतिवेदन तथा अनुसन्धानमूलक लेख अध्ययन गरेकी थिएँ । तीमध्ये अधिकांश अध्ययनको निचोड विज्ञापनमा यौनजन्य सामग्रीको प्रयोगले उत्पादनको बजार बढाएको नतिजा छैनन् तर यसले बजारमा उत्पादनको उपस्थिति भने देखाउने गर्छ । केही अध्ययनका निष्कर्षले यस्ता विज्ञापनले अमेरिकी उपभोक्तामा सकारात्मक प्रभाव परेको देखिए पनि युरोप तथा एसियाका बजारमा नकारात्मक प्रभाव परेको देखाएका छन् । यसै विषयमा सन् २०१६ मा भारतीय उपभोक्तबीच गरिएको सर्वेक्षणमा बहुसंख्यक ‘महिलाले यस्ता विज्ञापनले आफूलाई होच्याएको महसुस गरेका र पुरुषले यी विज्ञापनलाई ठट्टाको विषयको रूपमा लिने तर वस्तु खरिदमा यस्ता विज्ञापनले प्रभाव नपार्ने’ बताएका थिए । नेपालको सन्दर्भमा यससम्बन्धी अध्ययन भएको सामग्री मैले भेटिन ।


यौन स्वाभाविक हुँदाहुँदै पनि किन यति धेरै चासोको विषय बन्यो ? हाम्रो समाजमा किन यो रहस्य तर अतिरञ्जित बन्यो, बनाइयो ? यसको पृष्ठभूमिमा कस्तो मनोविज्ञानले भूमिका खेलेको होला ? कस्तो सामाजिक पृष्ठभूमिले यसलाई मलजल गरेको होला ?


यौनजन्य विषयलाई रहस्य बनाएर विज्ञापनको रूपमा प्रयोग हुनु एउटा पक्ष हो भने यौनकै व्यापार अर्को पक्ष हो । त्यसो त देहव्यापार वा आम रूपमा भनिने बेश्यावृत्तिलाई मानव सभ्यताकै सबैभन्दा पुरानो व्यवसाय/व्यापार भन्ने गरेको पनि यदाकदा पढ्न/सुन्न पाइन्छ तर यसको विश्वस्त प्रमाण भने पाइँदैन । तर, कतिपयले यौन व्यापारका विस्तारको जिम्मेवार पुँजीवाद हो भन्ने पनि गर्छन् । यस तर्कका पछाडि केही तथ्य हेरौँ । विभिन्न कानुनी अवरोधका बाबजुद आर्थिक गतिविधिका केन्दमा अहिले पनि देहव्यापार फस्टाउँदो छ । त्यस्तै यौनजन्य विषयलाई केन्द्रमा राखेर मौलाएको अर्को व्यवसाय ‘पोर्नोग्राफी’ पनि झनै व्यापक हुँदै गएको छ । आम रूपमा प्रयोग गरिने शब्द ‘पोर्नोग्राफी’ को सुरुआती प्रयोग ग्रीक भाषाको ‘पोर्नी (देहव्यापारी) बारे लेखिएको’ भन्ने रहेछ । ‘पोर्नोग्राफी’ को शब्द व्युत्पत्ति तथा प्रविधि विकासको आजको स्तरले पनि यौन भिडियोका आधार र बजार बढाएको हुन सक्छ ।


अठारौँ शताब्दीमा पेरिसमा छपाइ हुने ‘फ्रेन्च पोस्टकार्ड’ (युवतीहरूका अर्धनग्न, नग्न तस्बिरहरू प्रयोग गरिएका हुन्थे) लाई नग्नताको सुरुआती व्यवसायको रूपमा लिने गरिन्छ । बीसौँ शताब्दीको मध्यतिर ‘प्लेब्वाय’ जस्ता पत्रिकाको प्रकाशन सुरु भएपछि यस्ता व्यवसाय झनै विस्तार हुँदै गए । भिडियोग्राफीको विकासले यौन चलचित्रलाई व्यावसायिक रूप दिन थाल्यो । भीसीडी तथा डीभीडीमार्फत यौन चलचित्र विश्व बजारमा फैलिए । नेपालका भित्री गल्लीहरूमा पनि यस्ता चलचित्रको प्रदर्शन हुने र हेर्न गएका संस्मरणजन्य आलेख पढ्न पाइन्छ ।


सन् १९९० पछि त इन्टरनेटको विस्तारले ‘पोर्न भिडियो’ लाई विश्वभर फैलाएको छ । पछिल्लो समय यस्ता सामग्रीको अर्थतन्त्रबारे पनि टीकाटिप्प्णी हुने गरेको छ । सन् २००१ को मेमा न्युयोर्क टाइम्स म्यागेजिनमा ‘पोर्न व्यवसायजस्तो अर्को कुनै व्यवसाय छैन’ भन्ने आलेख प्रकाशन भएको थियो । उक्त आलेखका अनुसार, त्यस समयमा पार्नोग्राफीको वार्षिक कारोबार १० देखि १४ बिलियन अमेरिकी डलर हुने उल्लेख रहेछ । सन् २०१९ मा आइपुग्दा यस व्यवसायले विश्वभर वार्षिक ९७ बिलियन अमेरिकी डलर कारोबार गर्ने गरेको पढ्न पाइन्छ । यौनजन्य भिडियोहरूको एक अग्रणी वेबसाइट ‘पोर्नहब’ को सन् २०१९ को प्रतिवेदनअनुसार, गत वर्ष मात्र यो वेबसाइट ४२ अर्बपटक हेरियो । यस हिसाबले विश्वभरबाट दैनिक एघार करोड पचास लाखपटक यी साइट खोलिने रहेछन् । त्यस्तै यस वर्ष मात्र यस साइटमा ६८ लाखभन्दा बढी यौनजन्य भिडियो अपलोड भएको उक्त प्रतिवेदनमा उल्लेख छ । अन्य साइटका पनि यस्ता तथ्यांक जोड्ने हो भने यौनजन्य भिडियामा हामीले गर्ने समय तथा पैसाको लगानी भयावह देखिन आउँछ । प्रतिवेदनमा शीर्षस्थानमा पर्न नसके पनि यसको सानो ठूलो हिस्सा नेपालले अवश्य बेहोरेको छँदै छ । स्मरण रहोस, बलात्कारलगायत यौनहिंसा बढेको भनी नेपाल सरकारले यस्ता वेबसाइटहरूमा प्रतिबन्ध लगाएको छ । यो तथ्य पनि बिर्सनुहुन्न कि प्रतिबन्ध लागेका यस्ता विषयहरू भूमिगत शैलीमा झनै चलायमान हुने गर्छन् र यसका लागि प्रशस्त चोर बाटाहरू नभएका होइनन् ।


सभ्यताको विकास क्रममा यस्ता विविध पक्ष हुन्छन् नै । हरेक उत्पादनसँगै त्यसका सहउत्पादनहरू पनि आएका हुन्छन् । यौनजन्य विषयको बढ्दो व्यवसायीकरणले लैंगिक प्रभाव कस्तो पारेको छ त ?


यौनको सन्दर्भमा हाम्रो समाज तुलनात्मक रूपमा उदार हुँदै गएको मानिन्छ । तर, त्यो उदारता महिला र पुरुषका लागि उस्तै छ त ? कतिपय सन्दर्भमा असामाजिक प्रयोग बढ्दै गएको एक सामाजिक सञ्जालमा कुनै उट्पटाङ नामको आईडीबाट लेखिएको थियो ‘नेपालमा लोग्ने मरेपछि स्वास्नी सती जाने प्रथा अन्त्य भयो । यो लोग्ने विदेश गएपछि स्वास्नी परपुरुषसँग लाग्ने प्रथाचाहिँ कहिले अन्त्य होला है ?’


त्यसो त सामाजिक सञ्जाल सार्वजनिक भित्तो हो, जसले जे पनि लेखेका हुन सक्छन् । जे नै लेखिए पनि त्यसले समाजको मनोविज्ञान प्रतिविम्बित भने गरेको हुन्छ । यस स्टाटसले पनि हाम्रो समाजको एक सोचको प्रतिनिधित्व अवश्य गर्छ । वैदेशिक रोजगारीले ल्याएको विकृतिमध्ये यौन विचलन र त्यसले ल्याएको पारिवारिक बिखण्डनलाई देखाउने गरिन्छ । तथ्यगत रूपमा यो यथार्थ पनि हो । तर, यौन विचलन र पारिवारिक विखण्डनमा आरोप भने मूलतः महिलालाई लगाउने गरिन्छ । यो आरोपमा भने तथ्यगत सत्यता छैन । २०७६ साउन २१ मा ‘नेपाल’ साप्ताहिकमा छापिएको कैलाश राईको ‘बदलिँदो दाम्पत्य’ शीर्षक लेखमा वैदेशिक रोजगारी र त्यसैले पारिवारिक विखण्डनमा पारेको प्रभावबारे विश्लेषण गरिएको छ । उक्त लेखमा उनले वैदेशिक रोजगारमा गएका ८ हजार ९ सय ३३ घरपरिवारमा श्रीमती विदेश गएकामा ३६ प्रतिशत श्रीमान् र श्रीमान् विदेश गएकामा दुई प्रतिशत श्रीमतीले दोस्रो विवाह गरेका तथ्यांक प्रस्तुत गरेकी छन् ।


विवाहेत्तर यौनसम्बन्ध र विवाह फरक विषय हो । तर, विवाहेत्तर यौनसम्बन्धको सन्दर्भमा पनि समाजले निर्धारण गरेको मापदण्ड पुरुष र महिलालाई फरकफरक छ । विवाहेत्तर यौनसम्बन्धमा महिलालाई लाञ्छना लगाइने तर पुरुषलाई छुट दिने प्रचलन छ । यौनसम्वन्ध जैविक आवश्यकता हो, यसमा महिला वा पुरुष भनेर विभेद गर्नु नपर्ने हो । तर, एउटै प्रकृत्तिको आवश्यकता र कर्ममा पुरुषलाई छुट र महिलालाई आरोपित गर्नुमा सामाजिक मनोविज्ञानमा खोट देखिन्छ ।


कलेज पढ्दाकी एक साथीसँग अस्ति भर्खर लामो कुराकानी भयो । प्रेम बिहे गरेकी उसको वैवाहिक जीवन अहिले तनावपूर्ण छ । दुई छोरा छन्, सात र चार वर्षका । श्रीमान् सरकारी जागिरे छन् । ऊ पनि निजी बैंकमा काम गर्छे । बिहे गरेको झन्डै १० वर्षपछि उसले अनौठो र दिक्कलाग्दो सत्य थाहा पाई रे ! उसका श्रीमान्ले श्रीमतीको नाममा फेसबुक खोलेका रहेछन् तर उसैलाई थाहा नदिई । साथीको आफ्नै पनि फेसबुक अकाउन्ट छ । अधिकांश साथी उसको नामका दुवै अकाउन्टमा साथी रहेछन् । धेरैलाई उसले दुई अकाउन्ट खोलेकी लाग्दो रहेछ । तर, ऊ भने आफ्नै दोहोरो अकाउन्टबारे बेखबर रहिछे ।


हुने रहेछ के भने श्रीमान्‌ले उसको नाममा खोलेर आफैँले चलाउने गरेका फेसबुक म्यासेन्जरबाट विशेष गरी पुरुष साथीहरूसँग उट्पटाङ र छाडा कुरा गर्ने रहेछन् । जब उसले यस हर्कतबारे सोधी श्रीमान्ले सहज उत्तर दिए रे, ‘तेरो चरित्र जाँचेको ।’


ए बाबा ऊ नक्कली आवरणमा श्रीमतीको नाममा अश्लील कुरा गर्छ र भन्छ ‘तेरो चरित्र जाँचेको ।’ साथी भन्छे, ‘मेरो चरित्र जाँचेको भने पनि खासमा उसको प्रदूषित मनको विकारयुक्त उत्पादन हो यो । उसको यौनलगायतका चरित्रसँग म त भलिभाँती परिचित छु नि ।’ यस कथाका अन्य विद्रूप पाटाहरू प्रशस्त छन् । तर, यस लेखमा उठाउन खोजेको कुरा भने यौनजस्तो प्राकृतिक कुरालाई पनि चरित्रको मापदण्ड बनाउने कस्तो सामाजिक मनोविज्ञान हो ? त्यो पनि महिला पुरुषलाई छुट्टाछुट्टै मापदण्ड ?


अर्को एउटा प्रसंग सम्झन्छु । एउटा शनिबार आफन्त दिदीको परिवारसँग घुम्न गएका थियौँ । एकअर्काका मोबाइलबाट केही फोटाहरू खिचियो । पछि ती दिदीको छोराको मोबाइलमा फोटोहरू हेर्दै थिएँ, केही अरू फोटाहरू पनि हेरेँ । साथीहरूसँग घुम्न गएको रहेछ कतै । केटाहरू, केटीहरू दुवै थिए । फोटोमा उसँगै भएकी केटीको फोटोलाई औल्याउँदै ऊसँग जिस्किएँ, ‘तेरो गर्लफ्रेन्ड हो बाबु यो ?’


उसले अपेक्षा नै नगरेको उत्तर दियो, ‘यस्ती केटीलाई को गर्लफ्रेन्ड बनाउँछ ?’

‘किन नि, मान्छे राम्री छ त ?’

‘अनुहार मात्र त्यस्तो हो, हामीसँगै क्लास बंक गर्छे, चुरोट खान्छे ।’

‘तँ पनि त्यस्तै गर्दोरहेछस् त !’

‘केटा मान्छेको कुरा अर्कै हो, केटी भएपछि आफ्नो ठाउँमा बस्नुपर्छ नि !’


ऊ भर्खर १७/१८ वर्षको, देशको राजधानी सहरमा जन्मे, हुर्केको युवा हो । थाहा छैन उसको जस्तै सोच राख्ने अहिलेका युवा कति छन् । सामाजिक मनोविज्ञान निर्माण प्रक्रिया उस्तै छ भने त्यसले उत्पादन गर्ने सोच पनि त उस्तै होलान् ।


र अन्त्यमा, यौन प्राकृतिक विषय हो भने किन बन्यो/बनाइयो महिलाको हकमा मात्र सामाजिक प्रतिष्ठाको विषय ? त्यही समाज, जसले बजारमा महिलाको नग्नतालाई विज्ञापनको वस्तु बनाउँछ, व्यापारको वस्तु बनाउँछ र घरमा आएर त्यसैलाई इज्जत र प्रतिष्ठाको विषय बनाउँछ भने भन्नैपर्ने हुन्छ— पितृसत्ताले बहुसंख्यक पुरुषलाई दोहोरो चरित्रका यौनविकृत व्यक्ति बनाएको छ । त्यसै विकृत मानसिकतालाई पुँजीवादले मलजल गरेको छ र केही पुरुष त्यसैको आडमा मैमक्त बनेका छन् ।

पत्याउनुहुन्न (?) त्यही मानसिकता त हो जसले खानाको स्वादको विज्ञापनमा पनि यौनको अपरिहार्यता देख्छ ।


(नोट : समाजवाद वा साम्यवाद शब्दमा मात्र सुनेकाले सम्पूर्ण अपजसको जिम्मेवारी पुँजीवादलाई मात्र थोपर्नुपरेको व्यहोरा जानकारी गराउँछु ।) प्रकाशित : फाल्गुन १०, २०७६ १३:०६

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

छाता

लक्ष्मी माली

म तिम्रो शिरमाथि

जब हात फैलाउँछु
तिमीलाई घामपानी
गर्मी र शीतबाट
जोगाइरहेको हुन्छु
माया नै मायाले
सिँचिरहेको हुन्छु

जब म
हुरी आँधिबेहरी र
उष्णताबाट प्रताडित हुन्छु
झरी र तुषारोबाट कक्रिन्छु
अनि म
झर्किन्छु, रिसाउँछु, चिच्याउँछु

मेरो झर्काइबाट
मेरो रिसबाट भाग्न
जब तिमीले
मलाई बन्द गर्छौ
मलाई मिल्काइदिन्छौ
तब तिमी मेरो ममता
अनि
सद्भावबाट पनि बन्चित हुन्छौ
समय सधैँ हाम्रो अनुकूल हुँदैन पुताः
यति बुझि राख !
रेशमी कपडाको सप्कोले
घामपानी छेकेर छेकिन्न
हुरीको कुरै छोडौं
अलिकति वेगिलो हावा मात्र चले पनि
रेशमी कपडाको सप्को उडिहाल्छ
अनुकूल वातावरण हुँदा मात्र हो
मुलायम रेशमी सप्कोले
रोमाञ्चित बनाउने
मन्दमन्द हावासँग
पार ताप्दै रमाउन साथ दिने

जब समय तिम्रो प्रतिकूल हुन्छ
सायद त्यतिबेला
तिमीलाई मेरो सम्झना आउला

वरपरको प्रहारहरु थाम्न
दर्केझरीबाट जोगिन
चर्को घाम छेक्न
रेशमी मुलायम सप्कोले सक्दैन भन्ने कुरा
जब थाहा पाउँछौं तिमीले
तब महसुस गरौला मलाई
त्यस बेला सायद
म त बिलाइसकेको पनि हुन्छु
मेरो प्रिय कवि गोविन्द वर्तमानले
भने जस्तै–
‘जब म सकिन्छु
मेरो रिस पनि मसँगै सकिन्छ
मेरो आक्रोश पनि सकिन्छ
मेरो अनुराग पनि सकिन्छ ।’
त्यस्तै
जब तिमीले मलाई
अपहेलना गर्छौ
म मिल्किएको बुझ्छु
जब तिमीले मलाई
अनावश्यक ठान्छौ
अपमान गर्छौ
म सिद्धिएको बुझ्छु

जब म सिद्धिन्छु नि
मेरो रिस मात्र सिद्धिँदैन
मेरो सम्मानको चाहना मात्र सिद्धिँदैन
पुता :
मसँगै तिम्रो बलियो सहारा अनि
तिम्रो ढाल पनि सिद्धिन्छ ।

त्यसैले होसमा आउ
म त छाता हुँ नि
मलाई ससम्मान फैलाऊ
तिम्रो शिरमाथि राख
मलाई ओढ
म हरदम तिमीलाई
छहारी दिइरहेको हुन्छु

तिमीलाई शीतलता दिइरहेको हुन्छु ।
म हुँदाहुँदै
तिम्रो शिरमाथि
कुनै दुष्ट चराले पनि
बिस्ट्याउने आँट गर्न सक्दैन
बुझ म त
छाता हुँ है छाता ।

प्रकाशित : फाल्गुन १०, २०७६ १२:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×