खुर्सानीको पिरो-कथा !

घनश्याम खड्का

नेपालमा पिरो, अलिअलि पिरो र ज्यादै पिरो गरी सबै खालका १५ थरी खुर्सानी पाइन्छन् । सबभन्दा पिरो डल्ले भनिने अकबरे हो । साह्रै पिरो हुने हुनाले मानिसहरू यसलाई ज्यानमारा पनि भन्छन् । त्यसभन्दा पनि साह्रै पिरो सानो काँटीको खुर्सानी हुन्छ, त्यसलाई मान्छेहरू जिरे खुर्सानी भन्ने गर्छन् । तर, त्यसभन्दा पनि पिरो खुर्सानी नेपालमा छ । दैनिक–जीवनमा जोडिएको नवै द्वारमा कम्पन पैदा गर्ने खुर्सानीबारे एक आलेख :

नवै द्वारमा कम्पन पैदा गर्ने कुनै खानेकुरा छ भने त्यो के होला ? उत्तर आइहालेन भने पनि धेरै घोत्लिरहनु पर्दैन । बरु, एउटा पिरो खुर्सानी टोक्नुस्, अनि त्यसको तीव्र प्रतिसंवेदन–स्मृति सम्प्रजन्यका साथ महसुस गर्नुस् ।


प्रस्टै छ— तपाईंको जिब्रो पोल्नेछ, दुवै आँखा टिलपिल हुनेछन्, नाक रसाउन थाल्नेछ । जिनिस बढी नै पिरो छ भने अलिक ख्याल गर्नुहोला, कान रनक्क तातेजस्तो पाउनुहुनेछ । भोलिपल्ट शौचादि कर्मका क्षण मूलाधार चक्रछेउमा त्यस्तै एक तीव्र जलन अनुभव हुनेछ । दुई आँखा, दुई कान, दुई नासिका, खटप्वालजस्तो एक मुख र एक शौचद्वार गरी आठ स्थानमा त खुर्सानीको प्रभाव अब प्रस्ट भइहाल्यो । धेरैलाई थाहै छ, बाँकी एक हो यो चराचर सृष्टिको द्वार । तर, त्यहाँ खुर्सानीको प्रभाव के पर्छ भन्नेचाहिँ धेरैलाई थाहा नहुन सक्छ ।


पोषणविद्हरू भन्छन्, खुर्सानीले रतिरागलाई मात्रै उकास्दैन, क्रियाशक्ति पनि बढाउँछ । खानपानबारे लेखिएको प्रसिद्ध पुस्तक ‘द ग्रेट अमेरिकन डिटक्स डाइट’ की लेखिका अलेक्जेड्रा ज्यामिसन आफ्नो परामर्शमा आउनेहरूलाई खुर्सानीको यस फाइदाबारे पनि बताउँछिन् । उनले हालै लिभिडो (कामशक्ति) बढाउने प्राकृतिक खाने कुराका बारेमा लेखेको एक आलेखमा खुर्सानीलाई पनि समावेश गरेकी छन् ।


खुर्सानीमा पाइने पिरो तत्त्व क्याप्सिसिनले कामशक्ति बढाउँछ भन्ने मत त जीवशास्त्रीहरूको पनि छ । समागमका लागि कामाङ्गमा रक्तप्रवाह ज्यादा हुनुपर्छ । खुर्सानीले रक्त प्रवाहमा सुधार ल्याउन मद्दत गर्ने हुँदा त्यसको प्रत्यक्ष फाइदा रतिक्रीडाको क्षमतामा पनि पुग्न जाने उनीहरूको निचोड अनुसन्धानसिद्ध छ ।


यति बुझिसकेपछि अब प्रस्टै भयो, शरीरका सबै द्वारमा उत्तिकै असर पार्न सक्ने खुर्सानीजत्तिको प्रचलित खाने कुरा अर्को छैन । प्रायः सबैतिर खाइने यो खुर्सानी मान्छेको मुखमा नियमित पर्न थालेको १० हजार वर्षजति भएको अनुमान वैज्ञानिकहरूको छ । हाम्रा वनस्पतिशास्त्री डा. तीर्थबहादुर श्रेष्ठलाई मन पर्ने धेरै वनस्पतिमध्ये एउटा हो— खुर्सानी ।


‘किन पनि मलाई यो राम्रो लाग्छ भने म एसिडिटीका कारण अचेल मुख बार्न थाल्नुअघिसम्म खुर्सानी स्वाद मानेर खाने गर्थें,’ उनी भन्छन्, ‘खुर्सानी मेरा लागि पुराना दिनको सम्झना गराउने वनस्पति पनि हो ।’काठमाडौंको महाबौद्धमा जन्मेका श्रेष्ठका बाबु अँगेनामा खुर्सानी पोलेर स्वादले खाने गर्थे । त्यही उपक्रममा खुर्सानी खान थालेका रहेछन् उनले पनि ।


डेढ दुई दशकअघिसम्म भदौको महिना भक्तपुर, काठमाडांैं र ललितपुरका पुराना नेवारी बस्तीका झ्याल–झ्यालमा मालाझैं झुन्ड्याएर राखिएका राता खुर्सानीका माछीकाँडे लहर थपक्कसँग बसेका छन् उनको सम्झनामा । तिनताक खुर्सानी सुकाउने त्यस दृश्यले उपत्यकावासीहरू स्वतः बुझ्थे, अब वर्षा समाप्त भयो र शरद लाग्ने बेला भयो ।


‘मौसम सम्झाउने खुब गज्जबको कृषिकर्म थियो त्यो,’ श्रेष्ठ भन्छन्, ‘अब त उपत्यकामा न खुर्सानी फल्ने बारीहरू छन्, न त्यसलाई झुन्ड्याउने पुराना झ्यालहरू नै ।’वनस्पतिशास्त्रको अध्ययन गर्दाताका खुर्सानीबारे गरेको अनुसन्धान र भदौरे झरीमा पोलेको मकैसँग होस् वा चिरेको काँक्रासँग, उपत्यकाका खुर्सानीको लेप लगाएर मुखभरि रसहरू उत्पादन गर्दै खान्थे तीर्थ ।


उनका अनुसार नेपालमा पिरो, अलिअलि पिरो र ज्यादै पिरो गरी सबै खालका १५ थरी खुर्सानी पाइन्छन् । त्यसमध्ये धेरैलाई के लाग्छ भने, सबभन्दा पिरो डल्ले भनिने अकबरे हो । साह्रै, पिरो हुने हुनाले मानिसहरू यसलाई ज्यानमारा पनि भन्छन् । त्यसभन्दा पनि साह्रै पिरो सानो काँटीको खुर्सानी हुन्छ, त्यसलाई मान्छेहरू जिरे खुर्सानी भन्ने गर्छन् । तर, त्यसभन्दा पनि पिरो खुर्सानी नेपालमा छ भन्छन् श्रेष्ठ ।


‘खाँदबारीतिर जातिविधी पिरो हुने खुर्सानी पाइन्छ, एउटै खुर्सानीले सिंगै राँगाको मासुलाई पिरो पार्न पुग्छ,’ उनी भन्छन्, ‘त्यसैले स्थानीयहरू त्यस खुर्सानीलाई राँगे खुर्सानी भन्ने गर्छन् ।’वनस्पतिशास्त्रको चस्माले खुर्सानीको बारेमा अध्ययन गर्दै जाँदा श्रेष्ठले रोचक इतिहास पनि भेट्न पुगेका रहेछन् ।


‘चीनसँग युद्धमा हारेपछि नेपालले बर्सेनि भोटलाई तिरोको रूपमा केही मुरी खुर्सानी तिर्ने गरेको रहेछ,’ उनी भन्छन्, ‘यसबाट नेपाल खुर्सानी फल्ने देश हो भन्ने त प्रस्ट हुन्छ नै, चिनियाँहरू पनि खुर्सानीमा विशेष चासो राख्छन् भन्ने पनि खुल्न आउँछ ।’



खुर्सानी नेपालमा फल्ने भए पनि यसको उत्पत्ति भने दक्षिण अमेरिकी देश मेक्सिकोमा भएको हो । मेक्सिको र त्यस महाद्विपका मानिसको जिब्रालाई कम्तीमा १० हजार वर्षदेखि नै खुर्सानीले रन्थन्याउन थालिसकेको देखिन्छ । कोलम्बसले अमेरिका पत्ता लगाउँदा काउली, गोलभेंडालगायतका थुप्रै तरकारी र वनस्पतिसँगै खुर्सानी पनि संसारमा ल्याए र बाँकी संसारमा यो फैलियो । त्यस उपक्रममा संसारभर स्थानीयकरण पनि हुँदै गर्दा अनेकथरी खुर्सानीहरूको विकास हुँदै गएको तथ्य हाम्रा वनस्पतिविद् श्रेष्ठको शोधले देखाएको छ । खुर्सानीबारे भएको एक अध्ययनअनुसार, युरोप र उत्तरी अमेरिकामा सबभन्दा कम खुर्सानीको खपत हुन्छ भने दक्षिण अमेरिका, एसिया र अफ्रिकामा सबभन्दा बढी खुर्सानी खानेहरू बसोबास गर्छन् ।


खानेकुरा जति धेरै भए पनि स्वादका हिसाबले ती जम्मा ६ थरी छन्, गुलियो, नुनिलो, अमिलो, पिरो, तितो र टर्रो । संसारमा सबभन्दा धेरै मानिसले खाने भनेको गुलियो हो, किनभने यो मिठो हुन्छ र खाँदा कसैले आँसु बगाउनु पर्दैन । फेरि, गुलियो स्वादका स्रोत पनि असंख्य छन् । त्यस्तै अमिलो, पिरो र टर्रो स्वादका स्रोत पनि उत्तिकै छन् । नुन वनस्पतिजन्य पदार्थ नभई खनिज भएको हुनाले यसको विविधीकरण हुने भएन । तर, वनस्पतिबाट मिल्ने पिरो स्वाद भने खुर्सानीमा मात्रै पाइन्छ । यस्तो लाग्छ, खुर्सानीले ब्रह्माजीसँगै पेटेन्ट राइट लिएको छ पिरोको ।


हुन त, झट्ट खाँदा पिरपिरो लाग्ने चाउरिएको सानो गेडो पनि छ, जसलाई हामी मरीच भन्छौं । तर, त्यसमा क्याप्सिसिन पाइन्न जो खुर्सानीमा हुन्छ । मरीचमा त पेपराइन भन्ने पदार्थ भेटिन्छ, जसले गर्दा जिब्रामा राख्नेबित्तिकै पिरोजस्तो अनुभव हुने काम गराउँछ । मरीचमा सबै दानामा समान रूपले पेपराइन पाइने हुँदा यो फल साम्यवादीजस्तो भने पनि हुन्छ । खुर्सानीचाहिँ पुँजीवादी चरित्रको छ । पुँजीवादी अर्थव्यवस्थामा मानिस कुनै व्यापक धनी, कोही मध्यम र कोहीचाहिँ निर्धन भएजस्तै खुर्सानीमा पनि कुनैमा अचाक्ली क्याप्सिसिन, कुनैमा ठीकै र कुनै हुँदै नभएको तन्नमसमेत हुन्छन् । क्यारोलिना रिपर सबभन्दा बढी क्याप्सिसिन अर्थात् पिरोपन भएको खुर्सानी हो ।


डा. श्रेष्ठले सानोमा देख्ने गरेको उपत्यकाका ठिक्कका पिरो लाम्चा खुर्सानीचाहिँ मध्यम वर्गका पर्न आउँदा हुन् । त्यस हिसाबले हेर्दा भेडे खुर्सानीचाहिँ हरितन्नम सर्वहाराजस्तो छ । सर्वहारासँग जसरी सम्पत्तिको नाममा कौडी पनि हुँदैन, यो मोरो भेडे खुर्सानीसँग पनि एक जात क्याप्सिसिन छैन ।


तर रमाइलो के भने, सर्वहाराहरू बिल गेट्स मार्काका सबभन्दा पिरो खुर्सानी खान रुचाउँचन्, जसरी गरिबहरू सम्भ्रान्त जीवनको सपना देखेर थाक्दैनन् । अनि सम्भ्रान्तहरूचाहिँ हत्तपत्त चिल्लो पिरो भोजन ग्रहण गर्देनन् । उनीहरूको रोजाइमा सलाद पर्छ, जसमा त्यो खुर्सानीको जातमा क्याप्सिसिनका हिसाबले हरितन्नम भेडे खुर्सानी हमेसा पर्छ, जसरी धनीहरू सरल हुन मिहिनेत गरेजस्तो गर्छन् !


मेक्सिकोमा उत्पत्ति भए पनि मानवीय क्रिया–व्यापारका दौरान लगभग सबै देशमा अचेल उम्रिन्छ र पृथ्वीको हरेक तेस्रो मान्छे दैनिक खुर्सानी खाने गर्छ भन्ने रमाइलो तथ्याङ्कका साथ सन् २०१० को १४ सेप्टेम्बरका दिन बेलायती पत्रिका ‘द गार्जियन’ ले डेभलप्मेन्टल साइकोलोजिस्ट जासोन गोल्ड म्यानको एक आलेख छापेको थियो ।


उनको खोज रमाइलो छ । उनी भन्छन्, मनुष्य जातिमा प्राणाघात गर्ने एक वृत्ति हुन्छ । हात्ती, गोही, कछुवा, चरा, सर्प, मृग आदि कुनै प्राणीले पनि जानाजान आफूलाई हानि हुने काम गर्दैनन् । तर मान्छे, क्यान्सर हुन्छ भन्ने थाहा पाईपाई चुरोट तान्छ, रक्सी पिउँछ र गहना लगाउने नाममा नाक–कान प्वाल पार्छ । समग्रमा आफूलाई दुःख दिएर रमाउने एक अनौठो र घातक बानी मनुष्य जातिमा बाहेक अर्कोमा पाइँदैन । मनोविद् जासोन खुर्सानी खानुलाई पनि मान्छेको यही अनौठो वृत्तिलाई कारण मान्छन् ।


‘खुर्सानीमा त्यस्तो रहरलाग्दो कुरो के छ ?’ उनको प्रश्न छ, ‘खाएपछि ज्यानै जालाजस्तो हुन्छ, र पनि मानिसहरू खान्छन्, किन त ?’किनभने, प्राणाघात गर्ने उही वृत्तिले यहाँ काम गरेको छ । बालबालिकाहरू सरल चित्तका हुन्छन् । उनीहरूमा जीवनको नैसर्गिक मोह हुन्छ र वृत्तिगत हिसाले अरुचिकर खाना उनीहरू खाँदैनन् ।


‘त्यसैले कुनै बालबालिका पिरो खान मन पराउँदैनन्,’ जासोन भन्छन्, ‘तर पछि, बाबुआमाले खाएको देखेपछि, समाजका अरू गतिविधिमा अभ्यस्त हुँदै जाँदा हुर्कंने क्रममा त्यही बालक पछि खुर्सानी खाने बानी बसाल्न पुग्छ ।’ खुर्सानी खानेहरूको आनीबानी नियाल्यो भने उनको तर्क उचितै जँच्न आउँछ । उदाहरणका लागि १२ कक्षाकी छात्रा प्रशंसा उप्रेतीकै कुरा गरौं न ! उनकी आमा खुब खुर्सानी खान्थिन्, जसलाई उनले सानैदेखि देख्दै आएकी थिइन् ।


‘सात वर्षजत्तिकी भएपछि मैले पनि खुर्सानी टोकें, पछि अलिअलि गर्दै बानी पर्‍यो’ हेटौंडा बसमाडीकी १८ वर्षीया उनी भन्छिन्, ‘कलेज जाने बेलासम्म त म दिनमै तीन–चारवटा खाने भएँ ।’ बिहान–बेलुका भातसँग मात्रै होइन, दिउँसो खाजाका रूपमा चटपटेमा हालेर अति खुर्सानी खाने गर्नाले उनको आन्द्रामा घाउ भएछ, जसलाई डाक्टरी भाषामा अल्सर भनिन्छ । हाल उनलाई डाक्टरले खुर्सानी खान प्रतिबन्ध लगाएका छन् । ‘तर, मलाई खुर्सानीबिना भात खाएजस्तै लाग्दैन,’ उनी भन्छिन्, ‘के गर्नु, खाएपछि पेट बिग्रन्छ भनेपछि खान पनि भएन !’


हुँदैन भन्दाभन्दै पनि कहिलेकाहीँ त उनी खुर्सानी हाइहाल्छिन् । पेट पोल्न पूरै निको भएपछि पहिलेजस्तो नभए पनि थोरै खुर्सानी खानाका साथ अवश्य खाने विचारमा उनी छन् । नवद्वारै प्रकम्पित पार्ने खुर्सानी खान यस्तो जिद्दी प्रतिज्ञा गर्न मस्तिष्कको कुन तन्तुले उस्काउँछ त ?


यसबारे पनि मनोविद्हरूको रोचक खोजबिन छ । पीडालाई कम गराउने खास किसिमको जीव रसायन छ, जसलाई अंग्रेजीहरूले इन्डोर्फिन नाम दिएका छन् । शरीरमा पीडा हुँदा र तनावले घेर्दा जीवनरक्षाका लागि मस्तिष्कबाट निस्पत्ति हुने यो रसायन निस्केपछि पीडा कम भएजस्तो अनुभव हुन्छ । शारीरिक व्यायाम गर्दा र सहवासका क्षण आनन्द हुने यही जीव रसायन निस्कनाले हो । स्नायुशास्त्रका अनुसार, खुर्सानी खाएपछि जीब्रोमा हुने अतिशय जलनलाई मस्तिष्कले ठूलो शारीरिक कष्ट आएछ क्यार भन्ने ठान्न पुग्छ र तुरुन्त इन्डोर्फिन छाडिदिन्छ । पिरो घट्दै गएपछि पहिलेभन्दा मन रमाएजस्तो हुन पुग्छ र अवचेतन मनमा खुर्सानीको माग बढ्दै जान्छ, त्यसैले पिरो भए पनि आँसु निकाल्दै खुर्सानी खाइरहनाको कारण यही हो । यो भनेको, हामी बिमारी पर्दा परिवारजन र मित्रमण्डलीले बढी माया प्रदर्शन गरेजस्तो हो । बिरामी पर्दा मात्रै बाबुआमाको ध्यान पाउने छोराछोरी र पतिको माया पाउने पत्नीहरू बिरामी नै नभए पनि भएजस्तो गरी ढाँट्ने बानीको सिकार हुन पुग्छन् । खुर्सानीका सम्बन्धमा पनि पछि करिब–करिब त्यस्तै हुन पुग्छ । मस्तिष्कले जलन अनुभव गरेपछि इन्डोर्फिन दिने हुनाले हामी खुर्सानीको सहाराले जिब्रामा दिनहुँ कृत्रिम आगलागी गराउँछौं र अलिकति इन्डोर्फिन निकाल्न लगाएर केही राहत अनुभव गर्छौं ।


बिनाव्यायाम र सहबास इन्डोर्फिन निस्पत्ति गराउने यो रणनीतिको संसारका हरेकजसो देशमा सेलिब्रिटीहरूका साथमा ठूलठूला स्पर्धासमेत हुने गरेको छ, जहाँ प्रतियोगीहरूले कम परिमाणदेखि ठूलो सर्वाधिक परिमाणसम्मको खुर्सानीहरू खान्छन् । खुर्सानीको पिरोपन नाप्ने एक विशेष एकाइ छ, जसलाई स्केभिल हिट युनिट (एसएचयु) भन्ने गरिन्छ । सात सयसम्म एसएचयू भएको खुर्सानी निरपेक्ष गरिबीको रेखामुनि परेको मान्छेजस्तै पिरोपनका हिसाबले तन्नम मानिन्छ । ७ सय देखि ३ हजार हिट युनिटको खुर्सानी कामचलाउ खर्च धानिरहेको निम्न मध्यम वर्गको मान्छेजस्तो हो, जोसँग पिरो पनि भए–भएजस्तो मात्र हुन्छ नजानिँदो पारामा । त्यस्तै, ३ देखि २५ हजार हिट युटिनको खुर्सानी मध्यम वर्गको मान्छेजस्तो हो, जोसँग पिरोपन पनि मध्यमस्तरमै हुन्छ । उच्च मध्यम वर्गको मान्छे भएजस्तै उच्च मध्यम वर्गको खुर्सानी पनि छ, जसको हिट युनिट २५ देखि ७० हजारसम्म हुन्छ । यी खुर्सानी प्रशस्त पिरा मानिन्छन् । हाम्रा डल्ले, जिरे र ज्यानमारा खुर्सानी यसै वर्गमा पर्छन् । त्यसभन्दा माथिल्लो उच्च पिरो वर्गको खुर्सानी हालसम्म एउटै मात्रै जातको मात्रै पाइएको छ, क्यारोलिना रिपर ।


विश्वभरका युवाहरुमाझ हालकी लोकप्रिय अमेरिकी गायिका बिली आइलिस गत वर्ष एक टेलिभिजन कार्यक्रम ‘हट वान्स’ मा क्यारोलाइना रिपर नामको खुर्सानी खाएपछि झन्डै बेहोस भइन् । पीडा सहन नसकेपछि छटपटीपूर्ण उनको भावभंगिमा ।


सबभन्दा कम पिरो क्यारोलाइना पनि ८० हजार हिट युनिटको हुन्छ भने हालसम्म पाइएको सबभन्दा पिरोचाहिँ ३२ लाख हिट युनिटको छ । यो खुर्सानी मुखमा परेपछि पिरो खाने बानी नपरेको मान्छे तुरुन्त लडीबुडी गर्दै छटपटाउन र चिच्याउन थाल्छ । गिनिज बुकले सन् २०१३ मा संसारकै पिरो खुर्सानी भनेर अभिलेख राखेको क्यारोलिनाको सस खाने एक टेलिभिजन कार्यक्रममा गएको वर्ष अमेरिकी गायिका बिली आइलिस पीडाले छटपटाएको दृश्य सामाजिक सञ्जालहरूमा भाइरल हुन पुगेको थियो । पकौडाजस्तो खाने कुरामा एक थोपो क्यारोलिना रिपरको सस हालेर खाएको केही क्षणपछि नै आइलिसको सर्वथा हँसिलो मुहारमा गहिरो छटपटिको अभिव्यक्ति देखिन थालेको युटुब भिडियो हालसम्म ३ करोडभन्दा बढीले हेरेका छन् र यस्तो संख्या बढ्दो छ । सुन्दरी क्यारोलिना छटपटाएको दृश्यले लोकप्रियता बटुलेपछि यस्ता प्रतियोगिताहरू धेरै हुन थालेका छन् र खुर्सानी मुखमा हाल्नेबित्तिकै छटपटाएका सयौं भिडियोहरू युटुबमा भ्युअर्सबटुल्दै छन् ।


यसरी पश्चिमा मुलुकमा पिरोपनका कारण प्रसिद्धि पनि बटुल्न प्रयोग हुन थालेको खुर्सानीको हामीकहाँ भने केही (अन्ध) विश्वाससँग जोडिएका सांस्कृतिक व्यवहारमा सयौं वर्षदेखि प्रयोग हुँदै आएको छ । प्रेत भगाउन भनेर खुर्सानीको धूप हाल्ने चलन यहाँले देख्नुभएकै होला । ट्रक चालकहरूलाई स्टेरिङनजिक कागती र खुर्सानी झुन्ड्याएर हिँड्न कसले सिकाएको होला ? आँखा नलागोस् भनेर गाउँमा किसानहरू दही छिमेकीलाई दिनुपर्दा एउटा रातो खुर्सानी हाल्न बिर्संदैनथे उहिले–उहिले ।बिस्तारै खुर्सानीसँग जोडिएका यी सांस्कृतिक व्यवहारहरू हराउँदै जान थाले पनि खुर्सानी खाने बानी भने कहिल्यै हराउने छैन । आखिर, इन्डोफिर्न कसलाई चाहिँदैन ? प्रकाशित : फाल्गुन १०, २०७६ १२:५३

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कुन कुनामा थन्क्याऊँ सम्झना ? 

शैलेन्द्र साकार

१२ वर्षपहिले अमेरिकाबाट फर्कने बेला मैले एउटा गीत लेखेको थिएँ । छिन्नलता पुरस्कार गुठीमा विगत ३० वर्षभन्दा पहिलेदेखि नै कार्यसमितिमा कैयौंपल्ट निर्णायक भएर बस्ने अवसर मिले पनि गीत रचनामा मेरो त्यति रुचि रहेन । गीतकार किरण खरेल र राजेन्द्र थापाका गीतहरू मन पर्थे, रुचाउँथें त्यति हो ।

नगेन्द्र थापाको ‘मेरो गीत कसैले सुने भने, यहाँको चुपचापले सुनोस्’ भन्नेजस्ता गहिरा कवितात्मक संवेदनशीलता मन पर्थ्यो र त्यस्तै लेख्न सके लेखुँला भन्ने थियो तर कहिल्यै गम्भीरतापूर्वक सोचेको थिइनँ । अमेरिकामै पढेर कम्प्युटर सूचना प्रविधिमा मास्टर्स गर्दा नेपालीतर्फको प्रथम भएर मेरो जेठो छोरा अनुरक्त प्रधान श्रेष्ठ ओमाहा, नेव्रास्कामै राम्रो काम गर्दै थियो त्यसबेला । आफ्नै गाडी र घर हुनु कुनै ठूलो कुरा थिएन । तर, स्थायी जागिरसहित राम्रो आम्दानी गरेको र नियमित कर तिरेको प्रमाणपत्र चाहिन्छ नै, त्यति जोर्न पनि । उसैले कर गरेर मैले त्यहाँ बसुन्जेल १० वटा जति गीत पनि लेखें । ती आज छैनन् र मलाई कुनै गीत कण्ठ आउँदैन पनि । गीत सम्झनुको एउटा सानो कारण छ ।

मेरी नातिनीहरू जन्मले नै अमेरिकाको नागरिक भएकाले छोरा र उनीहरूलाई लक्षित गर्दै त्यसबेला एउटा गीत लेखेर त्यहीँ छाडेर आएको थिएँ । शब्दमा लय नहाली सुन्दा गीतले बोकेको भाव यस्तो थियो, ‘म त अब आफ्नो देश जाँदै छु । र, तिमीहरू यो बिरानो देशमा छौ । जसलाई तिमीहरूले आफ्नो जन्मभूमि पनि मानेका छौ । म फर्केर आफ्नो देश गए पनि यो हावा, यो जंगल यो पार्क र यो चिसो ऋतु त सधैं तिमीहरूसँग यहीँ रहनेछ । मैले यो धर्ती नै छाडे पनि यिनीहरूले यो धर्ती कहिल्यै छाड्ने छैनन् । म रहुँला/नरहुँला यो हावा रहिरहनेछ, मैले टेकेको सुनसान बाटो रहिरहनेछ । म रहूँ/नरहूँ यो आकाश रहिरहनेछ ।’ अन्त्यमा यही गीतलाई सुन्दर लय हाल्दै, गुन्गुनाउँदै मेरो छोराले बिरानो मुलुक अमेरिकामा आत्महत्या गरेछ । आफ्नो घर र कार्यालयको बीच एउटा सानो खोला र पुरानो–पुरानो खालको ओत लाग्नेजस्तो ठाउँमा आफ्नो प्राणलाई रिभल्भरले उडाएछ । आफू चढेर आइरहेको ठूलो गाडी र मोबाइललाई अलि बाहिरै एकलासमा छाडेर उसले आफू जन्मेको देश, हुर्केको माटो, आमाबाबु र साथीभाइलाई ‘अलबिदा’ भनेछ । ‘सुसाइड नोट’ (जसलाई मैले आजसम्म पढ्न सकेको छैन) कम्प्युटरमा दिउसै पठाएर अचुक गोलीको प्रहार गरेछ कन्चटमा । सबै कुरा भेटियो यथावत् । गीत पनि भेटियो । मोटर, मोबाइल पनि । उसको शरीर पनि । खालि प्राणभेट्टाउन सकिएन ।

सुन्दर अनुहार अलिकति पनि नबिग्रिएको, खालि बिग्रिएको थियो समय र हाम्रो सुन्दर भविष्य । हाम्रो आशा र हाम्रो सपना रित्तिएको थियो, अरू सबै थोक उस्तै थियो, त्यहाँ पनि यहाँ पनि । हो त्यही देश, हो त्यही प्रदेश कोलोराडो । सबैलाई भेट्न आठ वर्षपछि म फेरि त्यता लाग्दै छु । हुर्किसकेका दुई नातिनी आयुषा र एस्पेन अनि बुहारी आश्रुनाको उस्तै अनुहार सम्झँदै म त्यता लाग्दै छु । मेरो मनभित्र एउटा यस्तो आँधी चलिरहेछ, जो बाहिरबाट अदृश्य छ, मानौं कुनै नफुटेको ज्वालामुखी । बाहिरबाट झट्ट हेर्दा उस्तै छु । उसरी नै समयमा एयरपोर्ट पुगिरहेछु, समयमा ‘चेक इन’ गराउन खोजिरहेछु । सायद भित्रको समयले बाहिर पनि गडबड गरिरहेछ । पुग्नुपर्ने समयभन्दा झन्डै–झन्डै आधा घण्टा ढिलो पुगेछु एयरपोर्ट । प्लेनभित्र चढ्नुपर्‍यो, केही हेर्दै नहेरी नर्थ क्यारोलाइनाको सार्लेट एयरपोर्टबाट । सुटकेस पछि पठाइदिन्छु भन्यो म्यानेजरले । हामीले मान्यौं ।

८ वर्ष छोरा नभई दिनहरू गुज्रिरहे अमेरिका र नेपालमा । कतै डुल्न जान पनि मन नलाग्ने, बोल्दा–बोल्दै रुवाइ आउने । हाँसो नै बिर्सिएजस्तो अभिशापग्रस्त मानिसजस्तो । कि पशुजस्तो, जो कहिल्यै पनि हाँस्दैन । ८ वर्षअघि हामी बसेको फोर्ट कलिन्सबाट डेन्भर आउन मोटरमा पनि झन्डै १ घण्टा लाग्ने । बाहिरको हुस्सु, कुहिरो र हिउँले पटक्कै घुम्न, फिर्न, नदिने । बुट लगाएर पाँच–छ इन्ची हिउँमाथि गर्‍याम–गर्‍याम हिँड्नुपर्ने । कुनै फौजी सिपाही लडाइँमा हिँडेझैं । मलाई भने त्यस्तो जाडो, हुस्सु र हिउँमा पनि बिहान एक घण्टा हिँड्नुपर्ने । अहिले सम्झँदा अब त सक्दिनँ होलाजस्तो लागिरहेछ । त्यस्तै पर्‍यो भने पछि हट्न पनि भएन । अझै सकिन्छ होला त्यस्तो गज्याङमज्याङ हिउँमा हिँड्न । तर, यसपालि भने गर्मीमा जान लागेको छु । पुरानो मृत घर फोर्टकलिन्स होइन, थोर्नटर्न । र, त्यो घर होइन, अर्कै घर । त्यो घर त बेचेर बुहारी र नातिनीहरू थोर्नटर्नमा नयाँ घर किनेर सरेछन् । पहिला पनि यस्तो बेला त्यहीँ बस्ने नीलम श्रेष्ठले सहयोग गर्थिन्, सायद अहिले पनि उनैले यो घर मिलाइदिइन् । ११ वर्ष र ५ वर्ष मात्रै पुगेका नातिनीहरूलाई छाडेर नेपाल फर्केको म फेरि उनीहरूलाई भेट्न उत्सुक र अधीर छु ।

यस्तो भयो
यहाँ सार्लेटबाट बिहान ६ बजे नै उड्ने प्लेन समातेर डेन्भर ओर्लेर त्यहाँबाट आधा घण्टा जति पर रहेको थोर्नटर्न पुग्नु छ, जहाँ आजकल उनीहरू बस्छन् । ई–टिकटमा डेन्भर पुग्ने समय लेखिएको छ ७ बजे बिहान तर प्लेनलाई समयावधि लाग्ने रहेछ साढे तीन घण्टा जेटमा । काठमाडौंबाट हङकङ गएजति । डेन्भर कोलोराडो राज्यको राजधानी हो । त्यहाँको समय यहाँ नर्थक्यारोलाइना र न्युयोर्कको भन्दा ३ घण्टा ढिलो रहेछ । यहाँको हिसाबअनुसार, त पुगिने रहेछ झन्डै बिहानको १० बजे तर लेखिएको छ ७ बजे । हुन पनि त्यो ठाउँको त ७ बजे नै पुग्ने रहेछौं हामी । एउटै देशमा राज्य हेरी विविध समयको ख्याल गर्नुपर्छ यो देशमा । नातिनीहरू बसेको घर भने डेन्भरबाट त्यति टाढा होइन । त्यहाँको डाउनटाउन पुग्न मोटरमा झन्डै १५ मिनेट मात्र लाग्ने रहेछ ।

बिहानै ६ बजे उड्ने फ्रन्टियरको जहाज समात्न अलि अप्ठ्यारै भयो हामीलाई । बिहानको ४ बजे नै उठ्ने र ब्रेकफास्ट खाएर दौडिहाल्ने भनेको, श्रीमती र छोरीको उठाइ अलि ढिलो भएकाले हस्याङफस्याङ गर्दै ढिलो भएछ सार्लेट विमानस्थल पुग्न । ग्राहकको लाइनमा बस्दाबस्दै ६ बज्न लागिसक्यो । कतिखेर पासपोर्ट, ई–टिकट देखाउनु ? सामान कतिखेर जाँच्न लगाउनु र कतिखेर जहाजभित्र बस्नु ? यस्तो सकसमा छोरीले एउटा उपाय सुझाई, ‘तपाईंहरू सीधै चेकिङमा जानुहोस् र त्यहाँबाट प्लेनभित्र छिर्ने ढोका खोजेर बसिहाल्नुहोस्, समय छैन । यो सुटकेस जँचाउने र त्यसलाई तपाईंहरूको प्लेनसम्म पुर्‍याउने जिम्मा मेरो ।’ हुन पनि हामी आफैं लागेर प्लेनभित्र ६ बजेभित्र पस्न असम्भव नै देखियो । हामी (श्रीमती र म) दौडेर भित्र लाग्यौं । तर, जहाजका कर्मचारीले सुटकेसको मालिक अगाडि नभई हामी सामान जाँच गरेर भित्र पठाउन सक्दैनौं भनेछ । प्लेन उड्ने बेला भयो भनेर घोषणा गरिसक्यो, हाम्रो सामानको अत्तोपत्तो छैन । छोरी अनुभवी भएकाले नडराई उसले जहाजको म्यानेजरसँग कुरा गरिछ र सामान १/२ दिनपछि डेन्भर पुर्‍याउने सर्तमा हामीलाई उड्न दिइएछ । कुनै पनि सामानबिना हामी दुई अरू थुप्रै यात्रीका साथ डेन्भर जान उड्यौं । बाक्लो हुस्सु छ तर डर छैन, यहाँ नजिकै कुनै ठूलो पहाड छैन । बादलमाथि पुग्यो जेट डेन्भर पुग्न । मनमा विचित्र भावनाहरूको ज्वारभाटा चल्न थाल्छ । बादलमा झ्वास्स–झ्वास्स आफ्नै मृत छोरा ङिच्च हाँसेर हामीलाई स्वागत गर्न दौडेर विमानस्थलतिर आइरहेको दृश्य झलझली आइरहन्छ । विमानस्थल आइरहने र गइरहने छोराको व्यस्त दिनचर्या सम्झेर आज पनि ऊ त्यसरी नै हस्याङफस्याङ गर्दै ठूलो र आरामदायी गाडीमा दौडिरहेको दृश्यले धेरै बेरसम्म आक्रमण गरिरहन्छ । अनि झल्यास्स ब्युँझन्छु– ए त अब ऊ छैन ! उसले त आत्महत्या गरिसक्यो भन्ने सम्झेर मन निचोरिन्छ । आँसु पनि आउन छाडिसक्यो, सुकिसक्यो रुँदारुँदै । जीवनको उत्तरार्द्धमा पर्न आएको यो भवितव्यलाई कसरी व्यवस्थित गर्दै लैजाने, केही नबुझेर ट्वाल्ल परिरहन्छु अझै । यो परदेशमा रोए पनि कसले वास्ता गर्छ र ? कसले बुझ्छ र यो पीडा ?सायद आफूलाई बचाउने एक मात्र उपाय नै कागजमा आफूलाई पोखिरहनु हो । सायद यसैले जोन एफ केनेडीले एकपल्ट भनेका थिए— सम्पूर्ण राजनीतिज्ञहरूले एक दिन कवितामा रोएर प्रायश्चित्त गर्नुपर्नेछ ।

जेट कोलोराडोको अन्तर्राष्ट्रिय विमानस्थल डेन्भरमा ओर्लन लागिसकेछ । डेन्भरमा त भर्खर बिहानको ७ बज्नै लागेछ । प्लेन, मोटर देख्दै डराउने हाम्री ठूली नातिनी आफ्नो ठूलो गाडीमा हामीलाई लिन आएकी रहिछ । नेपाली ठ्याम्मै नबुझ्ने भएकाले मलाई अलिक समय लाग्यो, हामी कुन तलामा कतापट्टि छौं भनेर उनलाई सम्झाउन । हाम्रो आश्चर्यलाई थोरै पनि महत्त्व नदिई एकदम प्रोफेसनल पाराले उसले गाडी हाँकी । २३/२४ हजार घरको बीच रहेछ, त्यो घर अहिले । यो घरमा त हामी आएकै थिएनौं । केही पनि सामान नलिई आएका छौं हामी समयमा विमानस्थल नपुगेकाले । नयाँ साबुन, पेस्ट, ब्रुस र घरमा बस्दा लाउने लुगासमेत किन्नुपर्नेछ हामीले । चियासम्म नपिई आएका छौं हामी । बुहारीकी आमा मतलब हाम्री सम्धिनी पनि यही बेला आएकी रहिछन् । हामीलाई धेरै सजिलो भयो खान बस्न । बुहारी त्यही दिन कतै हुने दौडमा भाग लिन गएकीले आउन अलि ढिलो भयो । निकै पछि आइन् हाम्रो खानपिनपछि, यही हो अमेरिकन जीवनशैली । घर पहिलाको पोर्टकलिन्सको घरभन्दा अलि सानो भए पनि निकै सफा, सुन्दर र चिटिक्क परेको । गर्मी नै रहेछ थोर्नटर्न । १०/१५ दिन मज्जैसँग नातिनीहरू र बुहारीसँग बिताउने सुर छ हाम्रो । भेटघाट गर्ने र सम्बन्धको पुनर्ताजगी गर्ने भित्री इच्छा छ हाम्रो । उनीहरूलाई नेपाल आऊ भन्ने पनि आन्तरिक इच्छा छ हाम्रो । २/४ दिनमै मनोविश्लेषणमा डाक्टर बन्न जेठी नातिनी बोल्डर विश्वविद्यालय जान लागेकी रहिछ । भेट्नै गाह्रो ।

सन् १८७७ मा खुलेको रहेछ— कोलोराडो विश्वविद्यालय । त्यहीँ बस्ने, खाने सुविधासमेत पाएर नातिनी जान लागेकी रहिछ । बिट कवि एलेन गिन्सवर्ग र एन वाल्डमेनले स्थापना गरेको ज्याक केरुक स्कुल अफ डिसइम्बोडिट पोइटिक्स एट बोल्डरस् नरोपा विश्वविद्यालयले यस वर्षको गर्मीका लागि धेरै कार्यक्रम राखेको रहेछ । कोलोराडोमा मनाइने ‘सेक्सपियर उत्सव’ त स्वाभाविकै लाग्छ तर ‘हनुमान उत्सव’ भन्ने कार्यक्रम देखेर हामीलाई छक्क लाग्यो । हुन त बोल्डर म पहिला पनि आएकै हुँ । संखुवासभाका बिजनेसम्यान नारायण श्रेष्ठका भाइ धर्म श्रेष्ठको घर पनि यहाँ छ । तर, बोल्डरका विविध विशेषताहरूसित म त्यति परिचित थिइनँ । ‘हनुमान उत्सव’ मा विश्वप्रसिद्ध योगगुरुहरूबाट विद्यार्थी र सहभागीहरूलाई प्रशिक्षण दिइने रहेछ । त्यहाँ पूर्वीय संगीत र अनुभवका बारे व्याख्यान दिने कार्यक्रम पनि राखिएको पाइयो । यस्तै ‘नरोपा गर्मी–लेखन कार्यक्रम’ चार साताको रहेछ । यो कार्यक्रममा अमेरिकाका चर्चित लेखकहरूलाई बोलाएर विशेष सम्मान गरिने रहेछ । उनीहरूलाई वक्तव्य पनि दिन लगाइने कार्यक्रम रहेछ । उनीहरूसँग साक्षात्कार गर्ने मौका खुला राखिएको पनि पाइयो । त्यहाँको २९ सौं सडकमा ठूलो चित्रकला प्रदर्शनी देखियो । अगस्त महिनाभरि यस्तैयस्तै कार्यक्रम भए पनि सेप्टेम्बरमा अझ विशेष आकर्षक कार्यक्रमहरूको आयोजना गरिएको पाइयो । फेसन सोको कार्यक्रम पनि रमाइलो लाग्यो । यही महिनामा यहाँ मनाइएको ‘जयपुर साहित्यिक महोत्सव’ को कार्यक्रमको विशेष चर्चा जताततै थियो । अक्टोबरमा युवा पिँढीलाई मनपर्ने अन्य थुप्रै कार्यक्रम छन् भन्ने कुरा पनि चाल पाइयो । हामी दिनभर बोल्डर घुम्यौं । केही राम्रा पुस्तक पसलहरूमा घुमेर दिनभर बिताउने मेरो इच्छा असल साथीको अभावमा थाती नै रह्यो ।

बोल्डर रहेछ, जीवन्त, चञ्चल र तेजिलो । यसको नजिकै रहेको पहाडमाथि अहिले नै झर्लाजस्तै गरेर प्रकृतिले राखेको टल्कने, विशाल छुरीजस्ता चट्टानहरूलाई नियाल्दा–नियाल्दै दिन बित्यो मेरो, पत्तै भएन । यही बेला मास्कोबाट अमेरिका आएर बोल्डरमा बस्ने एलिनालाई सम्झिरहें मैले । रसियाली खाना खुवाएकी थिइन् उनले हामीलाई, मतलब छोरा र मलाई । खुर्पानीको अचारजस्तो अमिलो र स्वादिष्ट खाना । जेठो छोराकै कार्यालय एडिपीमा त काम गर्थिन् नि उनी ! फोर्टकलिन्सबाट आधा घण्टा टाढा त थियो नि बोल्डर ! उनी मेरो छोरालाई आफ्नो घरमा बोलाइरहन्थिन् । एलिना आफ्नो घरमा रोपिएका विभिन्न रूखहरूका बोट, बिरुवा हामीलाई दिइरहन्थिन् रोप्न र घरलाई आकर्षक कसरी बनाउने भनेर सिकाइरहन्थिन् । मलाई भने त्यसमा त्यति रुचि थिएन तर छोरालाई भने त्यसमा विशेष रुचि थियो । हामीले त्यहाँबाट लगेका थुप्रै बोट, बिरुवा रोपेका पनि थियौं घरको वरिपरि । एकपल्ट एउटा पुरानो रूख उखेल्न त्यसलाई बाँधेर मोटरले तानेको दृश्य अझै आँखामा घुमिरहन्छ । तिनै दृश्यहरू बारम्बार मनको फलकमा उत्रिरहन्छन्, जो अब कतै पनि छैन ।


ती दृश्यहरू कहाँ गायब भएछन् ? रसियाली नागरिकहरू आफ्ना देशका साहित्यकारप्रति पनि निकै चाख राख्ने हुँदा रहेछन् । तिनको पढ्ने कोठामा एउटा सानो पुस्तकालय देखें । मैले त्यहाँ नै सर्वप्रथम रसियाली भाषामै छापिएको टाल्सटायको ‘वार एन्ड पिस’, ‘अन्ना करेनिना’, आन्तोन चेखभको ‘फेमस स्टोरिज्’, तुर्गनेवको ‘द फादर एन्ड सन’ (उपन्यास), गोर्कीको ‘मदर’, दोस्तोवस्कीको ‘ब्रदर्स कर्माजोभ’ र ‘क्राइम एन्ड पनिस्मेन्ट’ (उपन्यासहरू) जस्ता कृतिहरू देखेँ । आफूलाई मन पर्ने लेखकहरूका कृति उनीहरूकै मूल भाषामा मुद्रित रूपमा देख्न पाउँदा मलाई अपार आनन्द आयो । गर्वानुभूतिले मेरो आङ ढक्क फुलेको थियो । मैले ती कृतिहरू रसियाली भाषाको अज्ञानको कारण पढ्न नसके पनि निकै बेर छामेर सन्तुष्टि लिने प्रयत्न गरेको थिएँ । आफ्ना प्रिय लेखकहरू, अग्रज र आदरणीय लेखकहरू सँगै बसेको अनुभूतिसमेत मभित्र पैदा भएको थियो । १९ औं शताब्दीको मास्को मभित्र स्वैरकल्पनामा ब्युँझेको थियो । जारकालीन सोभियत संघमा निकैबेर डुबेको थिएँ । छ त त्यस्तो कुनै घर यहाँ नेपालीहरूको ? जहाँ भानुभक्त, देवकोटा, शंकर लामिछाने, भूपी शेरचन, बालकृष्ण सम, माधव घिमिरे, मोहन कोइराला, वासु शशी र मेरा पनि कृतिहरू हिफाजतपूर्वक राखिएको कुनै नेपालीको घर र यस्तै सानो पढ्ने कोठा ? अहँ मलाई त थाहा भएन । अहिलेसम्म अझ त्यसभन्दा पनि पछिका रसियाली कविहरू पुस्किन, मायोकोवस्की आदिमा मेरो रुचि थियो, तर उनीहरूका कृतिहरू भने भेट्न, देख्न पाइएन ।

अमेरिकामा पहिलोपल्ट भोगियो लोडसेडिङ, त्यही दिन राति ९ देखि १० बजेसम्म । झ्याप्प गयो । हामी सबै छक्क । यस्तो त कहिल्यै पनि भएको थिएन । बाहिर कुनै प्राकृतिक प्रकोप पो थियो कि ? तर, त्यस्तो केही देखिएन । धनुषचन्द्र गौतमका छोरी–ज्वाइँ विनोद ठाकुर र छोरीसँग भेट्ने एउटा राम्रो मौका मिल्यो । त्यो मौका जुराइदिने उनकै नातिनी आस्था ठाकुर हुन्, जो हिजो–आज आस्था पन्त भएकी छन् । २० वर्षअगाडि जस्तो देखेको थिएँ, उस्तै देखियो आज पनि उनलाई । दुब्ली पातली । धनुषचन्द्र दाइकै ज्वाइँले पुष्टि गरे, उनका ससुरालाई पहिलोपल्ट मोटरगाडी चिठ्ठामा परेको थियो । हामीले उनका अर्का ससुरा डा. ध्रुवचन्द्रको पनि कुरा गर्‍यौं । ज्वाइँ विनोदको भनाइमा डा. ध्रुवभन्दा धेरै कम मादकपदार्थ सेवन गर्ने हुन् धनुषचन्द्र । उनले आफ्नो ससुराको निकै खुलेर प्रशंसा गरे, जो मलाई उचित लाग्यो ।

यहाँ कति राम्रो घुम्ने ठाउँ ! प्रातःभ्रमणमा जति हिँडे पनि, हिँडिरहे पनि, ठाउँ आइरहने ! मानिसहरू शिष्ट र मिजासिला ! कुकुरसँग दौडनेहरू त जहाँ पनि उत्तिकै पाइहालिन्छ । तर, यहाँका तरुनीहरू ‘हाई, हेलो’ मा निकै अग्रसर । हामीलाई नयाँ देखेर होला ।
अनायास भोजपुरबाट मैले थाहा पाएसम्म पहिलोपल्ट अमेरिका आउने र अरूलाई पनि यहाँ आउन प्रोत्साहन (कि दुरुत्साहन ?) गर्ने इन्जिनियर अमित श्रेष्ठसँग पनि भेट भयो भोजमा । उनका दुई दाजुहरू र म करिब ८ वर्षअगाडि मिनेसोटा राज्यको मिनियापोलिस सहरको साकोपी नामक उपनगरमा सँगै बसेका थियौं । उनलाई पनि ती दिनहरूको झल्झली सम्झना रहेछ । त्यहाँ बस्दा उनलाई मैले दुई/तीनवटा कविता पनि सुनाएको रहेछु । उनले ‘साकोपीको फलैंचा’ छाप्नुभयो त भनेर सोधे । त्यो कविता ‘कवितामा अमेरिका’ नामक पुस्तकमा संकलित छ । उनले त्यो फेरि सुन्न चाहे । तर, म निरुत्तर भएँ । मसँग थिएन । उनले डाक्टरसँग विवाह गरेछन् र अहिले सुखपूर्वक नै थोर्नटर्नमा बसेका रहेछन् । उनीहरूले हामीलाई सफा, स्वच्छ चिनियाँहरूको पसलमा लगेर स्रिम माछा लसुनसँग र अन्य स्वादिष्ट परिकारहरू खुवाए । धेरै पुराना कुराहरू पनि भए । मेरो छोराको मिल्ने साथीमध्ये एउटा थियो ऊ । भोजपुरबारे पनि धेरै कुरा भए । उनैले मेरी फुपूका छोरा प्रमेशलाई पहिलोपल्ट अमेरिका पुर्‍याएका थिए ।

हलक्क बढेका नातिनीहरूलाई देखेर, बुहारीलाई उस्तै देखेर छोराको सम्झनाले प्रत्येक दिन झम्टिरह्यो । उनको फोटो भने कतै राखेको देखिएन घरमा । उनले काठमाडौंबाट रहर गरेर लगेको काठको बुट्टे झ्याल पनि कतै स्टोरमा थन्क्याएछन् । त्यस्तै उनले रहर गरेर आमा–बाबुको ठूलो फोटो ‘इन्लार्ज’ गरेर भित्तामा झुन्ड्याएका थिए, त्यो पनि देखिएन । त्यसले पनि स्टोरमै बास पाएछ सायद । बुहारीकी आमालाई त्यसबारे सोध्यौं पनि । उनले भनिन्— बाबुको फोटो अस्ति निकालेका थियौं तर कसैले सोझो हेर्न सकेनन् र स्टोरमै थन्क्यायौं । हामीलाई पनि धेरै वर्ष त्यस्तै भयो । समय सबभन्दा ठूलो औषधि हो भन्छन् । बिस्तारै ठीक हुँदै जाला । तर, अमेरिका र उसको नाउँ मेरो जीवनसँग अटुट रूपले जोडिएको छ । त्यसलाई कहाँ थन्क्याउने ? मनको कुन स्टोरमा त्यसलाई थन्क्याउने ? छोराको अनुहार र सम्झनालाई मनको कुन स्टोरमा थन्क्याउने ? के त्यस्तो कुनै स्टोर कोठा छ मनमा ? जसलाई कहिल्यै कुनै कुनामा पनि नदेखियोस् ? छ त्यस्तो कुनै कुना मनमा ? जसलाई फेरि कहिल्यै नदेखियोस् ?

त्यो घरमा पूरै घुमिरहँदा दुई चीजमा मेरा आँखा अडिइरहे । एउटा सुन्दर इरानी गलैंचा, जसलाई छोरा र म गएर नेव्रास्कामा नै किनेका थियौं र अर्को मासु पोल्ने अलि ठूलो खालको बार्बेक्यू, जसमा धेरैपल्ट कुखुराको मासु पोलेर हामी बाबु–छोराले कैयौंपल्ट ह्विस्कीसँग खाएका थियौं । यिनै कुराहरू— सम्झना भने पनि संस्मरण भने पनि पछ्याएर आइरहे, आइरहे । नातिनीहरूले नेपाली भाषा, संस्कृति र आचरण त ठ्याम्मै पोलेर खाइसकेछन् । नेपालीको एक शब्द पनि उच्चारण गर्न गाह्रो ! खालि ‘ह बा’ (मतलब हजुरबा) मात्र सम्झिरहेका नेपालीमा । न ढोग्न जानेका छन् न अरू केही मानमनितो । आफ्नी आमासँग पनि अंग्रेजीमा कुरा गर्ने ! बुहारी पनि कनीकुथी अंग्रेजीमै कुराकानी गर्न हौसिने ! मलाई अंग्रेजी आउने भए पनि मैले बोलेको उनीहरूले केही बुझ्लान्जस्तो लागेन । यसको अनुभव मलाई छ । खालि ‘नेपाललाई नबिर्सनू, आऊ है’ भनेकोचाहिँ बुझेजसरी टाउको हल्लाए सबैले । मेरा अमेरिकी नातिनीहरू ! जन्मसिद्ध अमेरिकी नागरिक मेरा प्रिय नातिनीहरू ! छोरा त शून्यमा शून्यजसरी विलीन भइहाल्यो । सायद प्रत्येक व्यक्तिको अन्त्य नै त्यही हो, एउटा शून्यमा अर्को शून्य थपिनु । त्यसको कुनै गणना हुँदैन ।

संसार भनेको त्यत्तिकै पूर्ण छ, पूर्णस्य पूर्णमिदाय... ! पूर्ण हराएर पूर्ण नै बाँकी रहेको विश्व । उपनिषद्मा झैं । आउनेहरू नै बढी छन् र जानेहरू गएर यो पृथ्वी खाली भएको छैन । एउटा पूर्ण मान्छे जान्छ र अर्को पूर्ण मान्छे जन्मन्छ । चलिरह्यो र चलिरहनेछ, जीवनमा । हामीहरूको जीवनमा अविस्मरणीय चोट भएर । छोराले छोरीहरूलाई किनिदिएको ठूलो पियानो पनि कतै देखिएन । सेकेन्ड ह्यान्डमा कतै बेचेछन् कि ? पृथ्वीमा धेरैपल्ट सूर्य आयो र गयो । सधैं नयाँ भएर ब्युँझियो सूर्य । धेरै वर्ष भइसकेछ । धेरै कुरा भूत भैसकेछ, विगत भैसकेछ ।

डेन्भर । ८ वर्षअगाडि सारै राम्रो, सफा र आकर्षक लागेको सहर । फेरि एकपल्ट घुम्नु नै थियो । यहाँबाट १५/२० मिनेट मात्र लाग्ने रहेछ, डेन्भर पुग्न । नयाँ बानेश्वरबाट नयाँ सडक गएजस्तो । संखुवासभाका भाइ डम्बर श्रेष्ठ, उनकी पत्नी पार्वती, हामीहरू र बुहारी एक साँझ उतै लाग्यौं । डेन्भर त्यत्तिकै उज्यालो, आकर्षक र भव्य लागे पनि पहिलेको जस्तो उज्यालो र भव्य हुँदै होइन । सडकमा मानिसहरू पनि कम हिँडिरहेका र बत्ती पनि कम नै बलेजस्तो अग्ला भवनहरूमा । मान्छेले गाउँबाट सहर बनायो । एकप्रकारले सहर आजको सभ्यताको विकसित रूपै हो । तर, गाउँमै पनि सहरमा पाइने सम्पूर्ण सुविधाहरू पुर्‍याइदिएर अमेरिकी सरकारले स–साना बजारहरू निर्माणको नयाँ आविष्कारतिर लागेको आभास पाइन्छ । सहरको व्यवस्था, पट्यार र एकनासपनबाट हैरान भएकाहरू नजिकै उस्तै सुविधासम्पन्न बस्तीहरूमा छरिन थालेका छन् । त्यस्ता बस्तीहरू सहरका घरहरूभन्दा सस्ता, छरिता र प्रशस्त जग्गाजमिनसहित पाइन्छन् अमेरिकामा । सहरको हिंसाबाट त्रस्त मानिस हरेकले हरेकलाई चिन्ने यस्ता बस्तीहरूमा रमाउन थालेका छन् । अमेरिकाजस्तो विशाल देशमा जग्गाको के कमी ? स्वस्थ र गुणस्तरसहितको जीवनको मापदण्ड निश्चित छ । त्यहीअनुसार व्यापारको नयाँ सिद्धान्तमा चलेका छन् बैंकहरू, बिमा कम्पनीहरू, घरजग्गा बेच्ने–किन्नेहरू, होटल–रेस्टुराँ र मलका मालिकहरू । सहरभरि निःशुल्क घुमाउने यात्रुबाहक ट्रलिबस मलाई सुरुमा असाध्यै मनपरेको थियो । त्यो अहिले पनि त्यस्तै छ । तर, पहिलाको जस्तो चम्किलो र भव्य भने होइन । सबैको सल्लाहले एउटा चल्तीको सडकछेउको रेस्टुराँमा पसेर वाइन पिइयो । बदाम टोकियो । रेस्टुराँमा बसिरहेका गौरांग सुन्दरीहरू आकर्षक देखिए । रमाइलो भयो भन्ने नाटक पनि गरियो ।

त्यस्तो कुन बाध्यता वा व्यवधान आइपर्‍यो, जसले गर्दा मेरो छोरा यो सांघातिक कदम चाल्न बाध्य भयो ? धेरै जना मलाई यो प्रश्न गरिरहन्छन् । अमेरिका मानसिक पीडामा यति अल्झेको छ कि कैयौं यो प्रश्न नै बेतुकका मान्छन् । अमेरिका अस्वाभाविक कृत्यलाई पनि स्वाभाविक ठान्न बाध्य बन्दै गइरहेछजस्तो लाग्छ, कहिलेकाहीँ । जीवन र मृत्युको सारै झिनो फरकमा बाँच्दै गइरहेछझैं लाग्छ धेरैपल्ट । मसँग कुनै प्रस्ट जवाफसमेत छैन ।

हो, कैयौंपल्ट उसले आफू डिप्रेसनको रोगी र अनिद्राको सिकार भएको कुरा गरेको थियो फोनमा । राम्रो डाक्टरलाई जँचाउनु भन्नेबाहेक हामीले के अरू के भन्ने ? जँचाएको र औषधि खाइरहेको कुरा गर्थ्यो । असम्भवप्रायः कैयौं रोगको उपचार गर्न मानिस अमेरिका जान हुरुक्क हुन्छन् । अमेरिका पुग्न पाए जस्तोसुकै रोगबाट पनि बाँचिन्छ भन्ठान्छन् हाम्रो देशका मानिसहरू । तर, स्वास्थ्य बिमा गरिएको अमेरिकी नागरिक भएर पनि मेरो छोरा बाँचेन । किन ? मलाई यो प्रश्नले जहिले पनि प्रश्न गरिरहन्छ । अमेरिकासँग यो भवावह पीडाको उत्तर छ ?

प्रकाशित : फाल्गुन १०, २०७६ १२:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×