कुन कुनामा थन्क्याऊँ सम्झना ? 

शैलेन्द्र साकार

१२ वर्षपहिले अमेरिकाबाट फर्कने बेला मैले एउटा गीत लेखेको थिएँ । छिन्नलता पुरस्कार गुठीमा विगत ३० वर्षभन्दा पहिलेदेखि नै कार्यसमितिमा कैयौंपल्ट निर्णायक भएर बस्ने अवसर मिले पनि गीत रचनामा मेरो त्यति रुचि रहेन । गीतकार किरण खरेल र राजेन्द्र थापाका गीतहरू मन पर्थे, रुचाउँथें त्यति हो ।

नगेन्द्र थापाको ‘मेरो गीत कसैले सुने भने, यहाँको चुपचापले सुनोस्’ भन्नेजस्ता गहिरा कवितात्मक संवेदनशीलता मन पर्थ्यो र त्यस्तै लेख्न सके लेखुँला भन्ने थियो तर कहिल्यै गम्भीरतापूर्वक सोचेको थिइनँ । अमेरिकामै पढेर कम्प्युटर सूचना प्रविधिमा मास्टर्स गर्दा नेपालीतर्फको प्रथम भएर मेरो जेठो छोरा अनुरक्त प्रधान श्रेष्ठ ओमाहा, नेव्रास्कामै राम्रो काम गर्दै थियो त्यसबेला । आफ्नै गाडी र घर हुनु कुनै ठूलो कुरा थिएन । तर, स्थायी जागिरसहित राम्रो आम्दानी गरेको र नियमित कर तिरेको प्रमाणपत्र चाहिन्छ नै, त्यति जोर्न पनि । उसैले कर गरेर मैले त्यहाँ बसुन्जेल १० वटा जति गीत पनि लेखें । ती आज छैनन् र मलाई कुनै गीत कण्ठ आउँदैन पनि । गीत सम्झनुको एउटा सानो कारण छ ।


मेरी नातिनीहरू जन्मले नै अमेरिकाको नागरिक भएकाले छोरा र उनीहरूलाई लक्षित गर्दै त्यसबेला एउटा गीत लेखेर त्यहीँ छाडेर आएको थिएँ । शब्दमा लय नहाली सुन्दा गीतले बोकेको भाव यस्तो थियो, ‘म त अब आफ्नो देश जाँदै छु । र, तिमीहरू यो बिरानो देशमा छौ । जसलाई तिमीहरूले आफ्नो जन्मभूमि पनि मानेका छौ । म फर्केर आफ्नो देश गए पनि यो हावा, यो जंगल यो पार्क र यो चिसो ऋतु त सधैं तिमीहरूसँग यहीँ रहनेछ । मैले यो धर्ती नै छाडे पनि यिनीहरूले यो धर्ती कहिल्यै छाड्ने छैनन् । म रहुँला/नरहुँला यो हावा रहिरहनेछ, मैले टेकेको सुनसान बाटो रहिरहनेछ । म रहूँ/नरहूँ यो आकाश रहिरहनेछ ।’ अन्त्यमा यही गीतलाई सुन्दर लय हाल्दै, गुन्गुनाउँदै मेरो छोराले बिरानो मुलुक अमेरिकामा आत्महत्या गरेछ । आफ्नो घर र कार्यालयको बीच एउटा सानो खोला र पुरानो–पुरानो खालको ओत लाग्नेजस्तो ठाउँमा आफ्नो प्राणलाई रिभल्भरले उडाएछ । आफू चढेर आइरहेको ठूलो गाडी र मोबाइललाई अलि बाहिरै एकलासमा छाडेर उसले आफू जन्मेको देश, हुर्केको माटो, आमाबाबु र साथीभाइलाई ‘अलबिदा’ भनेछ । ‘सुसाइड नोट’ (जसलाई मैले आजसम्म पढ्न सकेको छैन) कम्प्युटरमा दिउसै पठाएर अचुक गोलीको प्रहार गरेछ कन्चटमा । सबै कुरा भेटियो यथावत् । गीत पनि भेटियो । मोटर, मोबाइल पनि । उसको शरीर पनि । खालि प्राणभेट्टाउन सकिएन ।


सुन्दर अनुहार अलिकति पनि नबिग्रिएको, खालि बिग्रिएको थियो समय र हाम्रो सुन्दर भविष्य । हाम्रो आशा र हाम्रो सपना रित्तिएको थियो, अरू सबै थोक उस्तै थियो, त्यहाँ पनि यहाँ पनि । हो त्यही देश, हो त्यही प्रदेश कोलोराडो । सबैलाई भेट्न आठ वर्षपछि म फेरि त्यता लाग्दै छु । हुर्किसकेका दुई नातिनी आयुषा र एस्पेन अनि बुहारी आश्रुनाको उस्तै अनुहार सम्झँदै म त्यता लाग्दै छु । मेरो मनभित्र एउटा यस्तो आँधी चलिरहेछ, जो बाहिरबाट अदृश्य छ, मानौं कुनै नफुटेको ज्वालामुखी । बाहिरबाट झट्ट हेर्दा उस्तै छु । उसरी नै समयमा एयरपोर्ट पुगिरहेछु, समयमा ‘चेक इन’ गराउन खोजिरहेछु । सायद भित्रको समयले बाहिर पनि गडबड गरिरहेछ । पुग्नुपर्ने समयभन्दा झन्डै–झन्डै आधा घण्टा ढिलो पुगेछु एयरपोर्ट । प्लेनभित्र चढ्नुपर्‍यो, केही हेर्दै नहेरी नर्थ क्यारोलाइनाको सार्लेट एयरपोर्टबाट । सुटकेस पछि पठाइदिन्छु भन्यो म्यानेजरले । हामीले मान्यौं ।


८ वर्ष छोरा नभई दिनहरू गुज्रिरहे अमेरिका र नेपालमा । कतै डुल्न जान पनि मन नलाग्ने, बोल्दा–बोल्दै रुवाइ आउने । हाँसो नै बिर्सिएजस्तो अभिशापग्रस्त मानिसजस्तो । कि पशुजस्तो, जो कहिल्यै पनि हाँस्दैन । ८ वर्षअघि हामी बसेको फोर्ट कलिन्सबाट डेन्भर आउन मोटरमा पनि झन्डै १ घण्टा लाग्ने । बाहिरको हुस्सु, कुहिरो र हिउँले पटक्कै घुम्न, फिर्न, नदिने । बुट लगाएर पाँच–छ इन्ची हिउँमाथि गर्‍याम–गर्‍याम हिँड्नुपर्ने । कुनै फौजी सिपाही लडाइँमा हिँडेझैं । मलाई भने त्यस्तो जाडो, हुस्सु र हिउँमा पनि बिहान एक घण्टा हिँड्नुपर्ने । अहिले सम्झँदा अब त सक्दिनँ होलाजस्तो लागिरहेछ । त्यस्तै पर्‍यो भने पछि हट्न पनि भएन । अझै सकिन्छ होला त्यस्तो गज्याङमज्याङ हिउँमा हिँड्न । तर, यसपालि भने गर्मीमा जान लागेको छु । पुरानो मृत घर फोर्टकलिन्स होइन, थोर्नटर्न । र, त्यो घर होइन, अर्कै घर । त्यो घर त बेचेर बुहारी र नातिनीहरू थोर्नटर्नमा नयाँ घर किनेर सरेछन् । पहिला पनि यस्तो बेला त्यहीँ बस्ने नीलम श्रेष्ठले सहयोग गर्थिन्, सायद अहिले पनि उनैले यो घर मिलाइदिइन् । ११ वर्ष र ५ वर्ष मात्रै पुगेका नातिनीहरूलाई छाडेर नेपाल फर्केको म फेरि उनीहरूलाई भेट्न उत्सुक र अधीर छु ।


यस्तो भयो

यहाँ सार्लेटबाट बिहान ६ बजे नै उड्ने प्लेन समातेर डेन्भर ओर्लेर त्यहाँबाट आधा घण्टा जति पर रहेको थोर्नटर्न पुग्नु छ, जहाँ आजकल उनीहरू बस्छन् । ई–टिकटमा डेन्भर पुग्ने समय लेखिएको छ ७ बजे बिहान तर प्लेनलाई समयावधि लाग्ने रहेछ साढे तीन घण्टा जेटमा । काठमाडौंबाट हङकङ गएजति । डेन्भर कोलोराडो राज्यको राजधानी हो । त्यहाँको समय यहाँ नर्थक्यारोलाइना र न्युयोर्कको भन्दा ३ घण्टा ढिलो रहेछ । यहाँको हिसाबअनुसार, त पुगिने रहेछ झन्डै बिहानको १० बजे तर लेखिएको छ ७ बजे । हुन पनि त्यो ठाउँको त ७ बजे नै पुग्ने रहेछौं हामी । एउटै देशमा राज्य हेरी विविध समयको ख्याल गर्नुपर्छ यो देशमा । नातिनीहरू बसेको घर भने डेन्भरबाट त्यति टाढा होइन । त्यहाँको डाउनटाउन पुग्न मोटरमा झन्डै १५ मिनेट मात्र लाग्ने रहेछ ।


बिहानै ६ बजे उड्ने फ्रन्टियरको जहाज समात्न अलि अप्ठ्यारै भयो हामीलाई । बिहानको ४ बजे नै उठ्ने र ब्रेकफास्ट खाएर दौडिहाल्ने भनेको, श्रीमती र छोरीको उठाइ अलि ढिलो भएकाले हस्याङफस्याङ गर्दै ढिलो भएछ सार्लेट विमानस्थल पुग्न । ग्राहकको लाइनमा बस्दाबस्दै ६ बज्न लागिसक्यो । कतिखेर पासपोर्ट, ई–टिकट देखाउनु ? सामान कतिखेर जाँच्न लगाउनु र कतिखेर जहाजभित्र बस्नु ? यस्तो सकसमा छोरीले एउटा उपाय सुझाई, ‘तपाईंहरू सीधै चेकिङमा जानुहोस् र त्यहाँबाट प्लेनभित्र छिर्ने ढोका खोजेर बसिहाल्नुहोस्, समय छैन । यो सुटकेस जँचाउने र त्यसलाई तपाईंहरूको प्लेनसम्म पुर्‍याउने जिम्मा मेरो ।’ हुन पनि हामी आफैं लागेर प्लेनभित्र ६ बजेभित्र पस्न असम्भव नै देखियो । हामी (श्रीमती र म) दौडेर भित्र लाग्यौं । तर, जहाजका कर्मचारीले सुटकेसको मालिक अगाडि नभई हामी सामान जाँच गरेर भित्र पठाउन सक्दैनौं भनेछ । प्लेन उड्ने बेला भयो भनेर घोषणा गरिसक्यो, हाम्रो सामानको अत्तोपत्तो छैन । छोरी अनुभवी भएकाले नडराई उसले जहाजको म्यानेजरसँग कुरा गरिछ र सामान १/२ दिनपछि डेन्भर पुर्‍याउने सर्तमा हामीलाई उड्न दिइएछ । कुनै पनि सामानबिना हामी दुई अरू थुप्रै यात्रीका साथ डेन्भर जान उड्यौं । बाक्लो हुस्सु छ तर डर छैन, यहाँ नजिकै कुनै ठूलो पहाड छैन । बादलमाथि पुग्यो जेट डेन्भर पुग्न । मनमा विचित्र भावनाहरूको ज्वारभाटा चल्न थाल्छ । बादलमा झ्वास्स–झ्वास्स आफ्नै मृत छोरा ङिच्च हाँसेर हामीलाई स्वागत गर्न दौडेर विमानस्थलतिर आइरहेको दृश्य झलझली आइरहन्छ । विमानस्थल आइरहने र गइरहने छोराको व्यस्त दिनचर्या सम्झेर आज पनि ऊ त्यसरी नै हस्याङफस्याङ गर्दै ठूलो र आरामदायी गाडीमा दौडिरहेको दृश्यले धेरै बेरसम्म आक्रमण गरिरहन्छ । अनि झल्यास्स ब्युँझन्छु– ए त अब ऊ छैन ! उसले त आत्महत्या गरिसक्यो भन्ने सम्झेर मन निचोरिन्छ । आँसु पनि आउन छाडिसक्यो, सुकिसक्यो रुँदारुँदै । जीवनको उत्तरार्द्धमा पर्न आएको यो भवितव्यलाई कसरी व्यवस्थित गर्दै लैजाने, केही नबुझेर ट्वाल्ल परिरहन्छु अझै । यो परदेशमा रोए पनि कसले वास्ता गर्छ र ? कसले बुझ्छ र यो पीडा ?सायद आफूलाई बचाउने एक मात्र उपाय नै कागजमा आफूलाई पोखिरहनु हो । सायद यसैले जोन एफ केनेडीले एकपल्ट भनेका थिए— सम्पूर्ण राजनीतिज्ञहरूले एक दिन कवितामा रोएर प्रायश्चित्त गर्नुपर्नेछ ।


जेट कोलोराडोको अन्तर्राष्ट्रिय विमानस्थल डेन्भरमा ओर्लन लागिसकेछ । डेन्भरमा त भर्खर बिहानको ७ बज्नै लागेछ । प्लेन, मोटर देख्दै डराउने हाम्री ठूली नातिनी आफ्नो ठूलो गाडीमा हामीलाई लिन आएकी रहिछ । नेपाली ठ्याम्मै नबुझ्ने भएकाले मलाई अलिक समय लाग्यो, हामी कुन तलामा कतापट्टि छौं भनेर उनलाई सम्झाउन । हाम्रो आश्चर्यलाई थोरै पनि महत्त्व नदिई एकदम प्रोफेसनल पाराले उसले गाडी हाँकी । २३/२४ हजार घरको बीच रहेछ, त्यो घर अहिले । यो घरमा त हामी आएकै थिएनौं । केही पनि सामान नलिई आएका छौं हामी समयमा विमानस्थल नपुगेकाले । नयाँ साबुन, पेस्ट, ब्रुस र घरमा बस्दा लाउने लुगासमेत किन्नुपर्नेछ हामीले । चियासम्म नपिई आएका छौं हामी । बुहारीकी आमा मतलब हाम्री सम्धिनी पनि यही बेला आएकी रहिछन् । हामीलाई धेरै सजिलो भयो खान बस्न । बुहारी त्यही दिन कतै हुने दौडमा भाग लिन गएकीले आउन अलि ढिलो भयो । निकै पछि आइन् हाम्रो खानपिनपछि, यही हो अमेरिकन जीवनशैली । घर पहिलाको पोर्टकलिन्सको घरभन्दा अलि सानो भए पनि निकै सफा, सुन्दर र चिटिक्क परेको । गर्मी नै रहेछ थोर्नटर्न । १०/१५ दिन मज्जैसँग नातिनीहरू र बुहारीसँग बिताउने सुर छ हाम्रो । भेटघाट गर्ने र सम्बन्धको पुनर्ताजगी गर्ने भित्री इच्छा छ हाम्रो । उनीहरूलाई नेपाल आऊ भन्ने पनि आन्तरिक इच्छा छ हाम्रो । २/४ दिनमै मनोविश्लेषणमा डाक्टर बन्न जेठी नातिनी बोल्डर विश्वविद्यालय जान लागेकी रहिछ । भेट्नै गाह्रो ।


सन् १८७७ मा खुलेको रहेछ— कोलोराडो विश्वविद्यालय । त्यहीँ बस्ने, खाने सुविधासमेत पाएर नातिनी जान लागेकी रहिछ । बिट कवि एलेन गिन्सवर्ग र एन वाल्डमेनले स्थापना गरेको ज्याक केरुक स्कुल अफ डिसइम्बोडिट पोइटिक्स एट बोल्डरस् नरोपा विश्वविद्यालयले यस वर्षको गर्मीका लागि धेरै कार्यक्रम राखेको रहेछ । कोलोराडोमा मनाइने ‘सेक्सपियर उत्सव’ त स्वाभाविकै लाग्छ तर ‘हनुमान उत्सव’ भन्ने कार्यक्रम देखेर हामीलाई छक्क लाग्यो । हुन त बोल्डर म पहिला पनि आएकै हुँ । संखुवासभाका बिजनेसम्यान नारायण श्रेष्ठका भाइ धर्म श्रेष्ठको घर पनि यहाँ छ । तर, बोल्डरका विविध विशेषताहरूसित म त्यति परिचित थिइनँ । ‘हनुमान उत्सव’ मा विश्वप्रसिद्ध योगगुरुहरूबाट विद्यार्थी र सहभागीहरूलाई प्रशिक्षण दिइने रहेछ । त्यहाँ पूर्वीय संगीत र अनुभवका बारे व्याख्यान दिने कार्यक्रम पनि राखिएको पाइयो । यस्तै ‘नरोपा गर्मी–लेखन कार्यक्रम’ चार साताको रहेछ । यो कार्यक्रममा अमेरिकाका चर्चित लेखकहरूलाई बोलाएर विशेष सम्मान गरिने रहेछ । उनीहरूलाई वक्तव्य पनि दिन लगाइने कार्यक्रम रहेछ । उनीहरूसँग साक्षात्कार गर्ने मौका खुला राखिएको पनि पाइयो । त्यहाँको २९ सौं सडकमा ठूलो चित्रकला प्रदर्शनी देखियो । अगस्त महिनाभरि यस्तैयस्तै कार्यक्रम भए पनि सेप्टेम्बरमा अझ विशेष आकर्षक कार्यक्रमहरूको आयोजना गरिएको पाइयो । फेसन सोको कार्यक्रम पनि रमाइलो लाग्यो । यही महिनामा यहाँ मनाइएको ‘जयपुर साहित्यिक महोत्सव’ को कार्यक्रमको विशेष चर्चा जताततै थियो । अक्टोबरमा युवा पिँढीलाई मनपर्ने अन्य थुप्रै कार्यक्रम छन् भन्ने कुरा पनि चाल पाइयो । हामी दिनभर बोल्डर घुम्यौं । केही राम्रा पुस्तक पसलहरूमा घुमेर दिनभर बिताउने मेरो इच्छा असल साथीको अभावमा थाती नै रह्यो ।


बोल्डर रहेछ, जीवन्त, चञ्चल र तेजिलो । यसको नजिकै रहेको पहाडमाथि अहिले नै झर्लाजस्तै गरेर प्रकृतिले राखेको टल्कने, विशाल छुरीजस्ता चट्टानहरूलाई नियाल्दा–नियाल्दै दिन बित्यो मेरो, पत्तै भएन । यही बेला मास्कोबाट अमेरिका आएर बोल्डरमा बस्ने एलिनालाई सम्झिरहें मैले । रसियाली खाना खुवाएकी थिइन् उनले हामीलाई, मतलब छोरा र मलाई । खुर्पानीको अचारजस्तो अमिलो र स्वादिष्ट खाना । जेठो छोराकै कार्यालय एडिपीमा त काम गर्थिन् नि उनी ! फोर्टकलिन्सबाट आधा घण्टा टाढा त थियो नि बोल्डर ! उनी मेरो छोरालाई आफ्नो घरमा बोलाइरहन्थिन् । एलिना आफ्नो घरमा रोपिएका विभिन्न रूखहरूका बोट, बिरुवा हामीलाई दिइरहन्थिन् रोप्न र घरलाई आकर्षक कसरी बनाउने भनेर सिकाइरहन्थिन् । मलाई भने त्यसमा त्यति रुचि थिएन तर छोरालाई भने त्यसमा विशेष रुचि थियो । हामीले त्यहाँबाट लगेका थुप्रै बोट, बिरुवा रोपेका पनि थियौं घरको वरिपरि । एकपल्ट एउटा पुरानो रूख उखेल्न त्यसलाई बाँधेर मोटरले तानेको दृश्य अझै आँखामा घुमिरहन्छ । तिनै दृश्यहरू बारम्बार मनको फलकमा उत्रिरहन्छन्, जो अब कतै पनि छैन ।



ती दृश्यहरू कहाँ गायब भएछन् ? रसियाली नागरिकहरू आफ्ना देशका साहित्यकारप्रति पनि निकै चाख राख्ने हुँदा रहेछन् । तिनको पढ्ने कोठामा एउटा सानो पुस्तकालय देखें । मैले त्यहाँ नै सर्वप्रथम रसियाली भाषामै छापिएको टाल्सटायको ‘वार एन्ड पिस’, ‘अन्ना करेनिना’, आन्तोन चेखभको ‘फेमस स्टोरिज्’, तुर्गनेवको ‘द फादर एन्ड सन’ (उपन्यास), गोर्कीको ‘मदर’, दोस्तोवस्कीको ‘ब्रदर्स कर्माजोभ’ र ‘क्राइम एन्ड पनिस्मेन्ट’ (उपन्यासहरू) जस्ता कृतिहरू देखेँ । आफूलाई मन पर्ने लेखकहरूका कृति उनीहरूकै मूल भाषामा मुद्रित रूपमा देख्न पाउँदा मलाई अपार आनन्द आयो । गर्वानुभूतिले मेरो आङ ढक्क फुलेको थियो । मैले ती कृतिहरू रसियाली भाषाको अज्ञानको कारण पढ्न नसके पनि निकै बेर छामेर सन्तुष्टि लिने प्रयत्न गरेको थिएँ । आफ्ना प्रिय लेखकहरू, अग्रज र आदरणीय लेखकहरू सँगै बसेको अनुभूतिसमेत मभित्र पैदा भएको थियो । १९ औं शताब्दीको मास्को मभित्र स्वैरकल्पनामा ब्युँझेको थियो । जारकालीन सोभियत संघमा निकैबेर डुबेको थिएँ । छ त त्यस्तो कुनै घर यहाँ नेपालीहरूको ? जहाँ भानुभक्त, देवकोटा, शंकर लामिछाने, भूपी शेरचन, बालकृष्ण सम, माधव घिमिरे, मोहन कोइराला, वासु शशी र मेरा पनि कृतिहरू हिफाजतपूर्वक राखिएको कुनै नेपालीको घर र यस्तै सानो पढ्ने कोठा ? अहँ मलाई त थाहा भएन । अहिलेसम्म अझ त्यसभन्दा पनि पछिका रसियाली कविहरू पुस्किन, मायोकोवस्की आदिमा मेरो रुचि थियो, तर उनीहरूका कृतिहरू भने भेट्न, देख्न पाइएन ।


अमेरिकामा पहिलोपल्ट भोगियो लोडसेडिङ, त्यही दिन राति ९ देखि १० बजेसम्म । झ्याप्प गयो । हामी सबै छक्क । यस्तो त कहिल्यै पनि भएको थिएन । बाहिर कुनै प्राकृतिक प्रकोप पो थियो कि ? तर, त्यस्तो केही देखिएन । धनुषचन्द्र गौतमका छोरी–ज्वाइँ विनोद ठाकुर र छोरीसँग भेट्ने एउटा राम्रो मौका मिल्यो । त्यो मौका जुराइदिने उनकै नातिनी आस्था ठाकुर हुन्, जो हिजो–आज आस्था पन्त भएकी छन् । २० वर्षअगाडि जस्तो देखेको थिएँ, उस्तै देखियो आज पनि उनलाई । दुब्ली पातली । धनुषचन्द्र दाइकै ज्वाइँले पुष्टि गरे, उनका ससुरालाई पहिलोपल्ट मोटरगाडी चिठ्ठामा परेको थियो । हामीले उनका अर्का ससुरा डा. ध्रुवचन्द्रको पनि कुरा गर्‍यौं । ज्वाइँ विनोदको भनाइमा डा. ध्रुवभन्दा धेरै कम मादकपदार्थ सेवन गर्ने हुन् धनुषचन्द्र । उनले आफ्नो ससुराको निकै खुलेर प्रशंसा गरे, जो मलाई उचित लाग्यो ।


यहाँ कति राम्रो घुम्ने ठाउँ ! प्रातःभ्रमणमा जति हिँडे पनि, हिँडिरहे पनि, ठाउँ आइरहने ! मानिसहरू शिष्ट र मिजासिला ! कुकुरसँग दौडनेहरू त जहाँ पनि उत्तिकै पाइहालिन्छ । तर, यहाँका तरुनीहरू ‘हाई, हेलो’ मा निकै अग्रसर । हामीलाई नयाँ देखेर होला ।

अनायास भोजपुरबाट मैले थाहा पाएसम्म पहिलोपल्ट अमेरिका आउने र अरूलाई पनि यहाँ आउन प्रोत्साहन (कि दुरुत्साहन ?) गर्ने इन्जिनियर अमित श्रेष्ठसँग पनि भेट भयो भोजमा । उनका दुई दाजुहरू र म करिब ८ वर्षअगाडि मिनेसोटा राज्यको मिनियापोलिस सहरको साकोपी नामक उपनगरमा सँगै बसेका थियौं । उनलाई पनि ती दिनहरूको झल्झली सम्झना रहेछ । त्यहाँ बस्दा उनलाई मैले दुई/तीनवटा कविता पनि सुनाएको रहेछु । उनले ‘साकोपीको फलैंचा’ छाप्नुभयो त भनेर सोधे । त्यो कविता ‘कवितामा अमेरिका’ नामक पुस्तकमा संकलित छ । उनले त्यो फेरि सुन्न चाहे । तर, म निरुत्तर भएँ । मसँग थिएन । उनले डाक्टरसँग विवाह गरेछन् र अहिले सुखपूर्वक नै थोर्नटर्नमा बसेका रहेछन् । उनीहरूले हामीलाई सफा, स्वच्छ चिनियाँहरूको पसलमा लगेर स्रिम माछा लसुनसँग र अन्य स्वादिष्ट परिकारहरू खुवाए । धेरै पुराना कुराहरू पनि भए । मेरो छोराको मिल्ने साथीमध्ये एउटा थियो ऊ । भोजपुरबारे पनि धेरै कुरा भए । उनैले मेरी फुपूका छोरा प्रमेशलाई पहिलोपल्ट अमेरिका पुर्‍याएका थिए ।


हलक्क बढेका नातिनीहरूलाई देखेर, बुहारीलाई उस्तै देखेर छोराको सम्झनाले प्रत्येक दिन झम्टिरह्यो । उनको फोटो भने कतै राखेको देखिएन घरमा । उनले काठमाडौंबाट रहर गरेर लगेको काठको बुट्टे झ्याल पनि कतै स्टोरमा थन्क्याएछन् । त्यस्तै उनले रहर गरेर आमा–बाबुको ठूलो फोटो ‘इन्लार्ज’ गरेर भित्तामा झुन्ड्याएका थिए, त्यो पनि देखिएन । त्यसले पनि स्टोरमै बास पाएछ सायद । बुहारीकी आमालाई त्यसबारे सोध्यौं पनि । उनले भनिन्— बाबुको फोटो अस्ति निकालेका थियौं तर कसैले सोझो हेर्न सकेनन् र स्टोरमै थन्क्यायौं । हामीलाई पनि धेरै वर्ष त्यस्तै भयो । समय सबभन्दा ठूलो औषधि हो भन्छन् । बिस्तारै ठीक हुँदै जाला । तर, अमेरिका र उसको नाउँ मेरो जीवनसँग अटुट रूपले जोडिएको छ । त्यसलाई कहाँ थन्क्याउने ? मनको कुन स्टोरमा त्यसलाई थन्क्याउने ? छोराको अनुहार र सम्झनालाई मनको कुन स्टोरमा थन्क्याउने ? के त्यस्तो कुनै स्टोर कोठा छ मनमा ? जसलाई कहिल्यै कुनै कुनामा पनि नदेखियोस् ? छ त्यस्तो कुनै कुना मनमा ? जसलाई फेरि कहिल्यै नदेखियोस् ?


त्यो घरमा पूरै घुमिरहँदा दुई चीजमा मेरा आँखा अडिइरहे । एउटा सुन्दर इरानी गलैंचा, जसलाई छोरा र म गएर नेव्रास्कामा नै किनेका थियौं र अर्को मासु पोल्ने अलि ठूलो खालको बार्बेक्यू, जसमा धेरैपल्ट कुखुराको मासु पोलेर हामी बाबु–छोराले कैयौंपल्ट ह्विस्कीसँग खाएका थियौं । यिनै कुराहरू— सम्झना भने पनि संस्मरण भने पनि पछ्याएर आइरहे, आइरहे । नातिनीहरूले नेपाली भाषा, संस्कृति र आचरण त ठ्याम्मै पोलेर खाइसकेछन् । नेपालीको एक शब्द पनि उच्चारण गर्न गाह्रो ! खालि ‘ह बा’ (मतलब हजुरबा) मात्र सम्झिरहेका नेपालीमा । न ढोग्न जानेका छन् न अरू केही मानमनितो । आफ्नी आमासँग पनि अंग्रेजीमा कुरा गर्ने ! बुहारी पनि कनीकुथी अंग्रेजीमै कुराकानी गर्न हौसिने ! मलाई अंग्रेजी आउने भए पनि मैले बोलेको उनीहरूले केही बुझ्लान्जस्तो लागेन । यसको अनुभव मलाई छ । खालि ‘नेपाललाई नबिर्सनू, आऊ है’ भनेकोचाहिँ बुझेजसरी टाउको हल्लाए सबैले । मेरा अमेरिकी नातिनीहरू ! जन्मसिद्ध अमेरिकी नागरिक मेरा प्रिय नातिनीहरू ! छोरा त शून्यमा शून्यजसरी विलीन भइहाल्यो । सायद प्रत्येक व्यक्तिको अन्त्य नै त्यही हो, एउटा शून्यमा अर्को शून्य थपिनु । त्यसको कुनै गणना हुँदैन ।


संसार भनेको त्यत्तिकै पूर्ण छ, पूर्णस्य पूर्णमिदाय... ! पूर्ण हराएर पूर्ण नै बाँकी रहेको विश्व । उपनिषद्मा झैं । आउनेहरू नै बढी छन् र जानेहरू गएर यो पृथ्वी खाली भएको छैन । एउटा पूर्ण मान्छे जान्छ र अर्को पूर्ण मान्छे जन्मन्छ । चलिरह्यो र चलिरहनेछ, जीवनमा । हामीहरूको जीवनमा अविस्मरणीय चोट भएर । छोराले छोरीहरूलाई किनिदिएको ठूलो पियानो पनि कतै देखिएन । सेकेन्ड ह्यान्डमा कतै बेचेछन् कि ? पृथ्वीमा धेरैपल्ट सूर्य आयो र गयो । सधैं नयाँ भएर ब्युँझियो सूर्य । धेरै वर्ष भइसकेछ । धेरै कुरा भूत भैसकेछ, विगत भैसकेछ ।


डेन्भर । ८ वर्षअगाडि सारै राम्रो, सफा र आकर्षक लागेको सहर । फेरि एकपल्ट घुम्नु नै थियो । यहाँबाट १५/२० मिनेट मात्र लाग्ने रहेछ, डेन्भर पुग्न । नयाँ बानेश्वरबाट नयाँ सडक गएजस्तो । संखुवासभाका भाइ डम्बर श्रेष्ठ, उनकी पत्नी पार्वती, हामीहरू र बुहारी एक साँझ उतै लाग्यौं । डेन्भर त्यत्तिकै उज्यालो, आकर्षक र भव्य लागे पनि पहिलेको जस्तो उज्यालो र भव्य हुँदै होइन । सडकमा मानिसहरू पनि कम हिँडिरहेका र बत्ती पनि कम नै बलेजस्तो अग्ला भवनहरूमा । मान्छेले गाउँबाट सहर बनायो । एकप्रकारले सहर आजको सभ्यताको विकसित रूपै हो । तर, गाउँमै पनि सहरमा पाइने सम्पूर्ण सुविधाहरू पुर्‍याइदिएर अमेरिकी सरकारले स–साना बजारहरू निर्माणको नयाँ आविष्कारतिर लागेको आभास पाइन्छ । सहरको व्यवस्था, पट्यार र एकनासपनबाट हैरान भएकाहरू नजिकै उस्तै सुविधासम्पन्न बस्तीहरूमा छरिन थालेका छन् । त्यस्ता बस्तीहरू सहरका घरहरूभन्दा सस्ता, छरिता र प्रशस्त जग्गाजमिनसहित पाइन्छन् अमेरिकामा । सहरको हिंसाबाट त्रस्त मानिस हरेकले हरेकलाई चिन्ने यस्ता बस्तीहरूमा रमाउन थालेका छन् । अमेरिकाजस्तो विशाल देशमा जग्गाको के कमी ? स्वस्थ र गुणस्तरसहितको जीवनको मापदण्ड निश्चित छ । त्यहीअनुसार व्यापारको नयाँ सिद्धान्तमा चलेका छन् बैंकहरू, बिमा कम्पनीहरू, घरजग्गा बेच्ने–किन्नेहरू, होटल–रेस्टुराँ र मलका मालिकहरू । सहरभरि निःशुल्क घुमाउने यात्रुबाहक ट्रलिबस मलाई सुरुमा असाध्यै मनपरेको थियो । त्यो अहिले पनि त्यस्तै छ । तर, पहिलाको जस्तो चम्किलो र भव्य भने होइन । सबैको सल्लाहले एउटा चल्तीको सडकछेउको रेस्टुराँमा पसेर वाइन पिइयो । बदाम टोकियो । रेस्टुराँमा बसिरहेका गौरांग सुन्दरीहरू आकर्षक देखिए । रमाइलो भयो भन्ने नाटक पनि गरियो ।


त्यस्तो कुन बाध्यता वा व्यवधान आइपर्‍यो, जसले गर्दा मेरो छोरा यो सांघातिक कदम चाल्न बाध्य भयो ? धेरै जना मलाई यो प्रश्न गरिरहन्छन् । अमेरिका मानसिक पीडामा यति अल्झेको छ कि कैयौं यो प्रश्न नै बेतुकका मान्छन् । अमेरिका अस्वाभाविक कृत्यलाई पनि स्वाभाविक ठान्न बाध्य बन्दै गइरहेछजस्तो लाग्छ, कहिलेकाहीँ । जीवन र मृत्युको सारै झिनो फरकमा बाँच्दै गइरहेछझैं लाग्छ धेरैपल्ट । मसँग कुनै प्रस्ट जवाफसमेत छैन ।


हो, कैयौंपल्ट उसले आफू डिप्रेसनको रोगी र अनिद्राको सिकार भएको कुरा गरेको थियो फोनमा । राम्रो डाक्टरलाई जँचाउनु भन्नेबाहेक हामीले के अरू के भन्ने ? जँचाएको र औषधि खाइरहेको कुरा गर्थ्यो । असम्भवप्रायः कैयौं रोगको उपचार गर्न मानिस अमेरिका जान हुरुक्क हुन्छन् । अमेरिका पुग्न पाए जस्तोसुकै रोगबाट पनि बाँचिन्छ भन्ठान्छन् हाम्रो देशका मानिसहरू । तर, स्वास्थ्य बिमा गरिएको अमेरिकी नागरिक भएर पनि मेरो छोरा बाँचेन । किन ? मलाई यो प्रश्नले जहिले पनि प्रश्न गरिरहन्छ । अमेरिकासँग यो भवावह पीडाको उत्तर छ ? प्रकाशित : फाल्गुन १०, २०७६ १२:००

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

विश्‍वयुद्धमा पिल्सिएको संगीतकार

गोकर्ण गौतम

सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी चिनपिङ कजाकिस्तान पुगे । राष्ट्रपतिले सम्बोधनका क्रममा दुई देशको मित्रता र चीनको वैभवशाली अर्थतन्त्रको बखान गरे । अनपेक्षित रूपमा एक चिनियाँ संगीतकर्मीको प्रसंग उप्काएर चकित पारे । ती संगीतकर्मी थिए— सियान सिंघाई ।

चीनमा सियानद्वारा सिर्जित ‘येल्लो रिभर क्यान्टाटा’, ‘सेभिङ द नेसन,’ ‘सङ्स अफ गुरिल्लाज’ जस्ता संगीत अति लोकप्रिय छन् र विशिष्ट कोटीमा दरिन्छन् । पियानो र अर्केस्टाको त वादशाह नै हुन् सियान । पश्चिमा शास्त्रीय संगीतबाट खुब प्रभावित थिए उनी । के भनिन्छ भने सियानको संगीत वा नाम नसुन्ने चिनियाँ सायदै छन् तर उनको जीवनको भयानक पछिल्लो ५ वर्षबारे चाहिं कमैलाई थाहा छ । राष्ट्रपति सीले सम्बोधनमा सियानको त्यही कालखण्ड उल्लेख गरेका गिए किनभने त्यो कजाकिस्तानसँग जोडिएको थियो ।

कजाकिस्तानबाट रुसको मस्को पुगेको केही समयपछि सन् १९४५ मा सियानको मृत्यु भएको थियो । कजाकिस्तान बसाइमा उनले ‘लिबरेसन अफ द नेसन’, ‘सेक्रेड वार’ जस्ता सिम्फोनी कम्पोज गरेका थिए । सियानबारे अहिले यत्ति भनौं ।

राष्ट्रप्रेमले ओतप्रोत सियानका संगीत मन पराउने तर उनीबारे अनविज्ञ चिनियाँमध्ये एक थिए, फिल्म निर्माता सेन जियान । राष्ट्रपतिको सियान–बखान सुनेर सेन खोज–अनुसन्धान गर्न लागे । दुई वर्षअगाडि राष्ट्रपति सीले कजाकिस्तानका समकक्षी नुरसुल्तान नज्रवयेभलाई बेइजिङस्थित द ग्रेट हल अफ पिपुलमा स्वागत गरे । शक्ति राष्ट्रका प्रमुखको औपचारिक भेटमा प्रायः नदेखिने दृश्य त्यतिबेला देखियो । उनीहरूले सँगै एउटा फिल्मको ट्रेलर हेरे । त्यो फिल्म उनै सियानबारे थियो । निर्माता थिए— सेन जियान । ५ वर्षमा तयार भएको फिल्मको नाम राखियो, ‘द कम्पोजर’ । ट्रेलर हेरेपछि दुई राष्ट्रपतिले फिल्म युनिटसँग अन्तरक्रिया गरे । चीन–कजाक सहकार्यमा बनेको पहिलो फिल्म, त्यसमाथि महान् संगीतकर्मीमार्फत दुई देशको मित्रता र गौरवगाथा देखाइएको, दुवै राष्ट्रपतिको प्रिय हुने भइहाल्यो । निर्माता जियानले फिल्मको प्रादुर्भाव बताएपछि त सी थप प्रफुल्लित भए । ‘द कम्पोजर’ को यहाँ चर्चा गर्नुको कारणचाहिँ यत्ति मात्र होइन ।

तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ओपनिङ फिल्म थियो– ‘द कम्पोजर’ । संयोग कस्तो भने त्यो दिन थियो, फागुन १– माओवादीले सशस्त्र युद्ध थालनी गरेको दिन । ‘द कम्पोजर’ मा युद्धमा फसेर आफ्नो घर फर्कन नपाएको बुबा र युद्धमा गएको बुबाको पखाईमा रहेकी छोरीको वेदना र रोदन थियो । दसवर्षे सशस्त्र द्वन्द्वमा कति नेपाली यस्तै रापमा पिल्सिए ? अझ कति नागरिक बेपत्ता छन् ? उनीहरूको आफन्तको पखाइ कहिले सकिएला ? जो बाँचे तर अंगभंग भए, आज कुन स्थितिसँग जुध्दै होलान् ? नेताहरूलाई यस्ता पात्रको पीडाले छुन छोडिसकेको छ सायद । तर, ‘द कम्पोजर’ ले ती पात्रलाई हाम्रो आँखै अगाडि ल्याइदिन्छ । त्यो भयानक युद्धको बर्बरता सम्झाएर झस्काइदिन्छ ।

मचाहिँ न सियान सिंघाईबारे जानकार थिएँ, न यो फिल्मबारे । ‘मन परे हेरौंला, नत्र बीचमै निस्कौंला’ भन्दै फिल्म हेर्न थालियो । पात्र, तिनीहरूको भोगाइ, चालढाल र लोकेसनले दोस्रो विश्वयुद्धको त्रासदीमा लगिहाल्यो । त्यसपछि त फिल्मले तानेको तान्यै । दृश्यमार्फत सिनेमाले निर्माण गर्ने असली शक्ति यस्तै हुन्छ सायद, तपाईंसँग कहिल्यै सरोकार नभएकै पात्रको पीडाले पनि मर्माहत बनाइदिने । उनीहरूको खुसीले फुरुंग बनाइदिने । ‘द कम्पोजर’ सियानको बायोपिक भने होइन, यसले उनको पूरा जीवनकथा भन्दैन । खासगरी सोभियत संघ र कजाकिस्तानको भोगाइ मात्र देखाइएको छ । तर, उनी सिद्धहस्त संगीतकर्मी हुन् भन्ने फिल्म सुरु भएको केही बेरमै भेउ पाइन्छ । उनको सकस दर्शकले अनुभूत गर्न सक्छन् । निर्देशक शेरज्यात थाहुफको कुशलताको परिणाम हो यो । उनले तत्कालीन समयलाई बडो आधिकारिक र विश्वसनीय ढंगले पेस गरेका छन् । बच्चा, वयस्क, मजदुर, संगीतसाधक, वृद्धवृद्धा हरेक उमेर र पृष्ठभूमिका चरित्र जीवन्त लाग्छन् ।

सियान सन् १९४० मा सोभियत संघ गएका थिए । उद्देश्य थियो, डकुमेन्ट्री फिल्मको संगीत कम्पोज गर्ने । उनको अनुसन्धानले पूर्णता पाएकै थिएन, जर्मनले सोभियत संघमाथि आक्रमण गर्‍यो, त्यसपछि स्वदेश फर्कर्नै पाएनन् । अनेक बाटोबाट फर्कने प्रयास गर्दागर्दै कजाकिस्तानको अल्माटीमा अलपत्र पर्छन् । गरिबीले सताउँछ । धन्न ! उनलाई कजाकका संगीतकर्मी बखित्जान बक्दमुभले सहारा दिन्छन् । बखित्जानले आफ्नो आफन्तको घरमा बस्ने बन्दोबस्त गरिदिन्छन्, त्यस घरका मुली पनि युद्धमै हराएका हुन्छन् । सानी छोरी र पत्नी मात्रै घरमा छन् । निर्देशकले यी दुई पात्रसँग सियानको सम्बन्ध केन्द्रमा राखेका छन् ताकी युद्धको त्रासदीको अन्दाज होस् । बाबुविहीन छोरी र छोरीविहीन बाबुले एकअर्कालाई अभिव्यक्त गरेको प्रेम निकै मर्मस्पर्शी छ ।

सियान बल्लतल्ल अल्माटीबाट मस्को पुग्छन् । क्षयरोग र कुपोषणले सताउँछ । तर, न उपचार गर्न पाउँछन्, न स्वदेश फर्कन । चरम कष्टबीच सन् १९४५ मा उनको मस्कोमै मुत्यु भएको थियो । ४० वर्ष पुग्दै थिए । मस्कोमा रहँदा उनले आफ्नो असली परिचय लुकाएका हुन्छन्, कतिसम्म भने सहारा दिने बखित्जानलाई समेत उनी ख्यातिप्राप्त संगीतकार हुन् भन्ने थाहै हुन्न । सियानको मृत्युपछि बल्ल वास्तविकता बाहिर आउँछ । त्यहाँको अखबारले लेखेपछि बखित्जान र सियानले आश्रय लिएको परिवारले थाहा पाउँछन् । पत्रिकामा छापिएको सियानको फोटो समातेर सानी फुच्ची रुने दृश्यले साँच्चै मथिंगल हल्लाउँछ । सन् १९३९ मा सियानले कम्युनिस्ट पार्टीको सदस्यता लिए । ३ सयभन्दा बढी संगीत कम्पोज गरे । ३५ लेख–रचना प्रकाशित छन् । संगीतबाहेक चिनियाँले उनलाई सम्मान गर्ने अर्को कारण हो, चीन–जापान युद्धमा उनको उल्लेख्य भूमिका । यो पाटोलाई चाहिं फिल्ममा खास देखाइएको छैन । यता, चीनले जापानसँग विभिन्न जित हासिल गर्छ, सियानकै संगीत बजाएर उत्सव मनाइन्छ । उता, सियान मस्को र अल्माटीमा छटपटाइरहेका हुन्छन् । अस्वस्थताको बाबजुद कारखानामा कष्टकर काम गर्नुपर्छ ।

फिल्म हेरिरहँदा लाग्छ, हामीकहाँ अहिले जति संगीतचेत छ, उतिबेला मस्को र चीनतिर योभन्दा कम थिएन । युद्धले भयभीत नागरिकलाई संगीतबाट सान्त्वना दिन र जीवनप्रति आशा जगाउन सियान आफैं लागिपर्छन् । संगीत त एउटा माध्यम हो, खासमा यो मानवताको कथा हो । अनि, देशभक्ति पनि । तर, भारतमा आजकल बनिरहेका फिल्ममा झैं अतिरञ्जित चरित्र र गाथा छैन, एकदमै प्रेमिल पात्र र विश्वसनीय भोगाइमार्फत देशप्रेम व्यक्त गरिएको छ । राष्ट्रप्रेम पोखिएका कतिपय गीतहरू सियानले कजाकिस्तानको तीनै सकसपूर्ण बसाइमा सिर्जेका थिए । चीन मात्र होइन, कजाकिस्तानमा आज पनि उनको संगीत मन पराइन्छ । उनले एउटा कम्पोजिसन त्यहाँको राष्ट्रिय हिरोप्रति समर्पित गरेका थिए । फिल्ममा चीन र कजाकका कलाकारले अभिनय गरेका छन् । सियान बनेका छन्, चिनियाँ अभिनेता हु जुन । छायांकनपछि हुले भनेका थिए, ‘सियानको भूमिका निर्वाह गरेपछि बेग्लै ऊर्जा मिल्यो । उनको त्यो समयमा भोगेको कष्टले मन छोयो ।’

कार्यकारी निर्माता इरिस वाङले सिन्ह्वालाई बताएअनुसार, पाँच वर्षको निर्माण–अवधिमा चीन, रुस, कजाकिस्तान र दक्षिण कोरियाका करिब २ हजार व्यक्ति संलग्न रहे । यो फिल्मले केही अन्तर्राष्ट्रिय फेस्टिभलमा अवार्ड जितिसकेको छ । अघिल्लो वर्ष यो फिल्मको बेइजिङ प्रिमियरले धेरैको ध्यान तान्यो । स्क्रिनिङपछि ८० वर्ष नाघेका दुई वृद्धालाई स्टेजमा बोलाइयो । दुवैको आँखा भरिएको थियो । को थिए उनीहरू अनुमान गर्नुस् त ? एक थिइन्, सियानकी छोरी नीना । अर्कीचाहिं अल्माटीमा सियान बसेको परिवारकी छोरी कल्माकस एरिसल्नोभा । फिल्म हेरेपछि आँसु पुछ्दै कल्माकसले भनेकी थिइन्, ‘सियानबाट मैले बुबाजस्तै माया पाएँ, उहाँसँग कृतघ्न छु । नीनाको बुबाबाट पाएको त्यो असिम मायाको कथा नीनालाई सुनाउन मन थियो । फिल्मबाट सुनाउन पाएँ । एकदमै खुसी छु । साँच्चै उनी मेरो पनि बुबा थिए ।’

कल्माकसले मायाको कथा सुनाइन्, चीनले आफ्नो गर्विलो इतिहास । जब चीनले सिनेमालाई ‘सफ्ट पावर’ का रूपमा अंगीकार गर्‍यो, उसले यस्तै कथाहरू रोजिरहेको छ ।

प्रकाशित : फाल्गुन १०, २०७६ ०९:५०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×