कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गणितको विज्ञान

गणितबारे ठूलो भ्रम छ । विद्यालय तहमा सामान्य जोड, घटाउ र गुणन जाने पुग्छ, त्योभन्दा बढ्दा जान्न चाहनेका लागि गणितको ऐच्छिक अध्यापन गराइनुपर्छ भन्ने तर्क उठ्‍ने गरेका छन् । अहिले त क्यालकुलेटरको व्यापकताले ती जोड, घटाउ पनि व्यक्तिले जान्नु नपर्ने स्थिति आइसकेको छ !
राम लोहनी

शारीरिक तन्दुरुस्तीका लागि जस्तै संज्ञानात्मक समृद्धि र बौद्धिक क्षमता अभिवृद्धिका लागि पनि ‘पौष्टिक तत्त्व’ चाहिन्छ । संज्ञानात्मक तन्दुरुस्तीको लागि आवश्यक पौष्टिक तत्त्वलाई मुख्यतः तीन कोटीमा विभाजन गर्न सकिन्छ– तथ्य एवम् सूचना, तर्क तथा विश्लेषण र अभिव्यक्ति ।

यिनीहरूले क्रमशः निवेश (इनपुट), प्रशोधन (प्रोसेसिङ) र पैदावन (आउटपुट) को प्रतिनिधित्व गर्छन् । हरेक व्यक्तिका लागि ज्ञानको पहिलो खुड्किलो बाह्य संसारका वस्तु र घटनाको अनुभव हो । वस्तु र घटनालाई चिन्ने, वर्गीकरण गर्ने, समानता र फरकपनको आधारमा तिनीहरूलाई संगठित गर्ने प्रक्रियासँगै बालबालिकाको ज्ञान आर्जन सुरु हुन्छ । यो क्रममा बालबालिकाले सामान्य संज्ञानात्मक सीपको प्रयोग गर्छन् । प्रारम्भमा प्रयोग हुने यो सीपको प्रारूप जन्मजात आर्जित हुन्छ भन्ने मान्यता छ । कतिसम्म भने भोक, प्यासजस्तै जान्ने, बुझ्ने प्रयास पनि एक प्रकारको प्राकृतिक संवेग नै ठानिन्छ र जिन–संरचनामै अभिलिखित हुन्छ भन्ने विश्वास गरिन्छ ।


बाह्य संसारसँगको अन्तरक्रिया बढ्दै गएअनुसार तथ्यहरूको संग्रह पनि बढ्दै जान्छ । तथ्यहरूको गठजोडबाट जुन अर्थपूर्ण संरचना बन्छ, त्यो ज्ञान हो । एक्लो तथ्य, एक्लो सूचना मस्तिष्कमा घटित हुने विद्युत्–रासायनिक प्रतिक्रियाबाहेक केही पनि होइन । मानव मस्तिष्कले तथ्य र सूचनालाई संगठित गरेर दीर्घ स्मरणमा राख्ने असाधारण क्षमता राख्छ । सामान्य दृष्टिमा यो प्रक्रिया स्नायुरसायनको विद्युतीय र रासायनिक गतिविधिले गर्ने टंकण (इन्कोडिङ) मात्र हो । टंकित सूचना र संगठित अवस्थामा तिनीहरूको संज्ञानात्मक आयामको व्याख्या, वर्णन आजको दर्शनशास्त्र र स्नायुविज्ञानको चुनौती हो ।


तथ्यहरूको संगठन र व्यवस्थापनमा हाम्रो बौद्धिक क्षमता जति प्रबल र सिर्जनात्मक हुन्छन्, हाम्रा ज्ञान पनि त्यसै अनुपातमा समृद्ध हुँदै जान्छन् । बुद्धिको प्रबलता र सिर्जनात्मकता हाम्रो मस्तिष्कको तर्क गर्ने, विश्लेषण गर्ने र निष्कर्ष निकाल्न सक्ने क्षमतामा परिलक्षित हुन्छ । यो क्षमतालाई प्रतीक (सिम्बोल) हरूले मध्यस्थता गरिरहेका हुन्छन् । समानता तथा फरक छुट्याउन सक्ने, वस्तुको परिमाणमा भएको घटबढलाई अनुभूत गर्न सक्ने, आकार प्रकारको भेद ठम्याउन सक्नेजस्ता आधारभूत संज्ञानात्मक क्षमता जन्मजात नै हुन्छन् । स्वाभाविक ठानिएका यस्ता संज्ञानात्मक क्षमताबाट अगाडि बढेर मानव मस्तिष्कले यथार्थलाई प्रतीकमार्फत ग्रहण गर्न सक्ने विशिष्ट क्षमता पनि आर्जन गरेको छ । यो नै गणितीय क्षमताको जग हो । भाषा पनि त्यही प्रकृतिको विषय हो । शब्दले वस्तु र अवधारणाको एकाइलाई प्रतीकात्मक रूपले प्रतिनिधित्व गरेको हुन्छ । जब शब्दहरू मिलेर वाक्य र एउटा अर्थपूर्ण अभिव्यक्ति निर्माण हुन्छ, त्यो अर्को तहको प्रतीकात्मक सिर्जना हो । प्रतीकहरूले यथार्थ र कल्पनालाई संकेत मात्र गर्दैनन्, यिनीहरूको स्वतन्त्र सत्ता पनि हुन्छ । प्रतीकको यही डोमेन नै भाषा र गणितको कार्यक्षेत्र हो । तर, गणित भाषाजस्तो स्वतः आर्जन हुने क्षमता भने होइन । गणितीय संज्ञानको प्रारम्भिक अवस्थालाई सुधार्न र समृद्ध पार्न निश्चित प्रकारको तालिम र अभ्यासको आवश्यकता पर्छ । यो तालिम र अभ्यास गणित शिक्षण हो । हाम्रा केटाकेटीहरूलाई कस्तो खालको गणित शिक्षण चाहिन्छ भन्ने कुरा हामी हाम्रा केटाकेटीको बौद्धिक क्षमता न्यूनतम रूपमा कस्तो होस् भन्ने चाहन्छौँ, त्यसैमा निर्भर रहन्छ ।

गणितलाई जीवनसँग जोडियो भने गणितीय समीकरणले पनि कविता वा आख्यानका उद्धरणले जस्तै आनन्दित तुल्याउन सक्छन् ।

तथ्यको जानकारी उपलब्ध गराउने मुख्य विषय हुन्— सामाजिक शिक्षा र विज्ञान । सामाजिक शिक्षाले परिवार, समाज, राष्ट्र र विश्वजस्ता मानवीय संरचनाहरूको जानकारी गराउँछ । विज्ञानले प्राकृतिक जगत्को विविध आयामहरूको जानकारी गराउँछ । यी जानकारीहरू कुन तहका विद्यार्थीहरूलाई कति र कुन प्रकारको चाहिन्छ भन्ने कुरा उनीहरूमा विकास हुँदै गएको बौद्धिक तह र ग्रहण तथा विश्लेषण गर्न सक्ने क्षमताले निर्धारण गर्छ । किनभने तर्क र विश्लेषणबिना सूचनाहरू संगठित हुँदैनन् र बिनासंगठन तिनीहरू अर्थहीन हुन्छन् । सूचीकृत तथ्य ज्ञान होइन, यो त केवल सूचीपत्र मात्र हो, क्याटलग मात्र हो । जबसम्म हामी बच्चालाई विश्लेषण गर्न, तर्क गर्न, मूल्यांकन गर्न र निष्कर्ष निकाल्न प्रेरित गर्दैनौँ, तबसम्म हाम्रा शिक्षण सिर्जनात्मक हुँदैनन् । गणित शिक्षणले बच्चाहरूमा आलोचनात्मक चेत र सिर्जनात्मक सीपको विकास गर्न मद्दत गर्छ । त्यसकारण शिक्षकहरू स्वयम् पनि गणितको यो उद्देश्यसँग परिचित हुनु आवश्यक छ । जबसम्म बच्चाहरू आफूले सिकेको कुरालाई नयाँ सन्दर्भमा उपयोग गर्न जान्दैनन्, उनीहरूको सिकाइ पूर्ण भएको ठहरिँदैन । विद्यार्थीको गणितीय मेधालाई उत्प्रेरित गरेर सिर्जनात्मक तुल्याउन सक्ने शिक्षा नै सही शिक्षा हो । तथ्यहरू रटेको विद्यार्थी र पुस्तकालयमा थन्‍किएको किताब दुवै उस्तै हुन् । कार्यक्षेत्रमा दुवै उपयोगी हुँदैनन् ।


शिक्षाको तेस्रो आधारभूत तत्त्व अभिव्यक्ति हो । भाषाको आर्जन हुँदा व्यक्तिले व्याकरण, शब्दानुशान र ध्वनि उच्चारणको ज्ञान मात्र प्राप्त गरेको हुन्छ । सामान्य सञ्चार र संवादका लागि अनौपचारिक परिवेशमा आर्जित यो भाषिक ज्ञान नै पर्याप्त हुन्छ । तर, अभिव्यक्तिमा शैलीगत वैशिष्ट्यता र कलात्मक विविधता स्वतः आर्जन हुँदैनन् । यो सीप भाषाको शिक्षणबाट प्राप्त हुन्छ । चित्रकला, संगीतजस्ता अभिव्यक्तिका अन्य विशिष्ट माध्यम पनि हुन सक्छन् । तर, ती विशिष्टीकृत प्रतिभा हुन्, जुन सबैमा अपेक्षा गर्न सकिँदैन । विद्यार्थीहरूलाई विभिन्न साहित्यिक सिर्जना पढाउनुको उद्देश्य उनीहरू भाषाका विविध शैली र अभिव्यक्तिको ढाँचासँग परिचित होऊन् भनेर हो । अभिव्यक्ति सीपअन्तर्गत शब्दचयन, शब्दको उचित प्रयोग, व्याकरणिक शुद्धता, प्रचलित हिज्जेको अनुसरण र तर्कसंगत संकथन निर्माण पर्छन् ।


सूचना र तथ्यको सीमा हुँदैन । नयाँ तथ्य पत्ता लगाउनु र उपलब्ध तथ्यहरूलाई वैकल्पिक संयोजन गरेर नयाँ अर्थ आविष्कार गर्नुमा मौलिकता प्रतिविम्बित हुन्छ । हामीले दिने शिक्षाले हाम्रा केटाकेटीहरूलाई यो दिशातर्फ उन्मुख गराउन सक्नुपर्छ । भौतिक विज्ञानमा मात्र होइन, समाज र इतिहासजस्ता समाजविज्ञानमा पनि तथ्यहरू अलगथलग र छरिएका हुन्छन् । तथ्यहरूको तर्कसंगत संयोजनले एउटा न्यारेसन खडा गर्छ । तथ्यहरूको घटबढ वा अदलाबदलीले न्यारटिभमा पनि परिवर्तन ल्याउँछ । हरेक तर्कसंगत न्यारटिभ वैकल्पिक सत्य हुन् । वैकल्पिक सत्यको सिर्जना गर्न सक्ने क्षमता गणितीय क्षमता हो । विज्ञानमा नयाँ तथ्य र वास्तविकताको अनुमान तथा प्रक्षेपण गणितीय सूत्रहरूबाटै सम्भव हुन्छ । गणितका सूत्रहरू अभिव्यक्तिका ढाँचा हुन् ।


गणितको बारेमा ठूलो भ्रम व्याप्त छ । गणित भनेको पाठ्यपुस्तकमा अभ्यासका लागि दिइएका समस्याहरू हल गरेर उत्तर निकाल्नु मात्र हो भन्ने बुझाइले जरो गाडेको छ । विशेषगरेर विद्यालय तहका पाठ्यपुस्तकमा पाइने यस्ता अधिकांश समस्या हाम्रा दैनिक जीवनसँग जोडिएका विरलै भेटिन्छन् । अभ्यास गर्न सुझाइएका यी अमूर्त समस्याहरू हाम्रा जीवनसँग कहाँ जोडिन्छन् भन्ने पत्तो नपाउँदा ती अभ्यासहरू निरर्थक लाग्नु अस्वाभाविक पनि होइन । तोकिएका समस्या समाधानको अभ्यास गर्दा मस्तिष्कले पाएको तालिम र आर्जित सीप नै गणितको उद्देश्य हो भन्ने प्रष्ट हुन नसकेको भान हुन्छ । ज्ञानको रिक्तताले भ्रम पैदा हुन्छ । विद्वान्हरूले नै बीजगणित र ज्यामितिका साध्यहरूको उपयोगिताबारे बारम्बार प्रश्न उठाएको सुनिन्छ । फलानो सूत्र मैले कहाँ प्रयोग गर्न पाउँछु, फलानो साध्य नजान्दा मेरो जीवनमा के फरक पार्थ्यो भन्नेजस्ता प्रश्नहरूको उचित सम्वोधन नहुँदासम्म सामान्य जीवनमा गणितको आवश्यकतामाथि प्रश्न उठिरहन्छ । कतिसम्म भने विद्यालय तहमा सामान्य जोड, घटाउ र गुणन जाने पुग्छ, त्योभन्दा बढ्दा जान्न चाहनेका लागि गणितको ऐच्छिक अध्यापन गराइनुपर्छ भन्ने खालका तर्क पनि उठ्ने गरेका छन् । अहिले त क्यालकुलेटरको व्यापकताले ती जोड, घटाउ पनि व्यक्तिले जान्नु नपर्ने स्थिति आइसकेको छ !


सत्रौं शताब्दीपछि समाजविज्ञानको अध्ययनमा आमूल परिवर्तन आयो । त्यो कसरी र किन सम्भव भयो भनेर सामान्य व्यक्तिले सोच्ने विषय पनि होइन । यसको जस जान्छ, सत्रौं शताब्दीको अन्त्यतिर न्युटन र लाइब्निजले छुट्टाछुट्टै विकास गरेको क्याल्कुलसलाई । क्याल्कुलसको आविष्कार हुनुअघि गतिशील वस्तुलाई यथाअवस्थामा अध्ययन गर्न सकिएको थिएन । तिनीहरूलाई स्थिर मानेर वा स्थिर अवस्थामा मात्र बुझ्न सकिन्थ्यो । क्यालकुलसको आविष्कारले भौतिक विज्ञानलाई मात्र रूपान्तरण गरेन, किनभने संसारमा भौतिक वस्तुभन्दा पनि मान्छेसँग सम्बन्धित हरेक कुरा गतिशील थिए र त्यसलाई बुझ्नु न थियो । गतिशील वस्तु र अवधारणाहरूको परिवर्तनको व्यहोरा बुझ्न क्यालकुलसले ठूलो मद्दत पुर्‍यायो ।


त्यस्तै त्रिकोणमितिको कुरा गर्दा कतिपय विद्वान्हरू पनि ‘साइन’, ‘कस’ जस्ता सिम्बोलहरूप्रति नाक खुम्च्याउँछन् । ‘साइन’, ‘कस’ केही होइनन्, त्रिभुजका भुजाहरूको अनुपातलाई दिइएको नाम मात्र हो । त्रिकोणमिति भनेको त्रिभुजको नापसँग सम्बन्धित हो भनेर बुझ्नेबित्तिकै यसको उपयोगिता प्रस्ट हुन्छ । त्रिकोणमितिको विकास हजारौं वर्ष पुराना सभ्यताहरूमा भएका थिए । घर निर्माण गर्दा गारोको सुर मिल्नुपर्छ, गारो ‘बटम’ मा हुनुपर्छ, भर्‍याङको झुकाव मिलेको हुनुपर्छ भन्नेजस्ता आधारभूत कुरा त्रिकोणमितिका विषय हुन् । पहाडको उचाइ, ग्रह–नक्षत्रका गतिविधि, समुद्रमा उठ्ने ज्वार, जमिनको नाप सबै कुरा त्रिकोणमितिका विषय हुन् । संसारको इतिहासले भन्छ, यस्ता सामान्य कुराको अध्ययनबाट गुज्रेको मानव समुदाय नै सभ्यतामा अगाडि बढ्न सके ।


ज्यामितिको विकास नाप प्रणालीको प्रयोजनका लागि मात्र थिएन । यो चिन्तन प्रक्रियाकै हिस्सा थियो । ज्यामितिमा हामी केही आधारभूत तथ्यलाई स्विकारेर अघि बढ्छौं । हामीले स्विकारेका कुरा प्रमाणित वस्तुगत तथ्य हुन पनि सक्छन्, तत्कालको उपयोगको लागि स्विकारिएका सत्य पनि हुन सक्छन् । स्थापित मान्यता वा स्वीकृत अवधारणामा नयाँ सत्य र तथ्यहरूको संयोजन गर्दै जाँदा पैदा हुने अर्को नयाँ सत्य नै ‘साध्य’ हुन् । साध्य अर्थात् थिअरमले नयाँ सत्यको ढोका उघार्छ ।


स्थापित सत्य, स्थापित एवम् स्वीकृत सत्यले निर्देशित गरेको सत्य र तर्कसंगत अनुमानको सहायताबाट नयाँनयाँ सिद्धान्तहरू आविष्कार हुन्छन् । जीवन र जगत्को व्याख्या सिद्धान्तले नै गर्ने हुन् । सिद्धान्तहरू तात्कालिक सत्य हुन् । अर्को सत्यले विस्थापित नहुन्जेल त्यही ‘सत्य’ नै सत्य ठहर्छ । विज्ञानको विकासको मेरुदण्ड यही हो । यस अर्थमा ज्यामितिका अवधारणाहरूको ज्ञानले ज्यामितीय निष्कर्ष मात्र नदिएर संसारलाई हेर्ने दृष्टिकोण प्रदान गरिराखेको हुन्छ । उदाहरणका लागि बह्माण्डको चर्तुआयामिक ज्यामितिलाई मानव मस्तिष्कले साक्षात्कार गर्न त सक्दैन, तर गणितीय समीकरणमा त्यसलाई प्रस्ट पार्न सकिन्छ । विद्यालयीय पाठ्यपुस्तकमा गराइने अभ्यासहरू उपकरण मात्र हुन्, साधन मात्र हुन् । साध्यलाई लक्ष्य ठान्ने हो भने साधनको प्रशिक्षण जरुरी हुन्छ । मस्तिष्कको क्षमता अभिवृद्धि गर्न उपकरणको सोधन त हुनैपर्छ ।


अंकगणित संख्याको गणित हो, बीजगणित संकेतको । अंक र संख्या परिमाण निश्चित भएका एकाइ हुन् । अंक र संख्याका प्रकृति, व्यहोरा र सत्ताको पनि छुट्टै गणितीय विमर्श हुन्छ । हाम्रा जीवन र जगत्मा पनि मूल्य प्रस्ट नभएका धेरै राशि (भेरिएबल) हुन्छन् । यिनीहरू पनि ‘संख्या’ नै हुन् । चरराशिहरू अन्तरसम्बन्धित हुन्छन् र परिस्थितिअनुसार तिनीहरूको मूल्य फरकफरक हुन्छन् । राशिहरू मिलेर समीकरण निर्माण गर्छन् । वाक्यजस्तै समीकरण पनि अर्थपूर्ण हुन्छन् र वस्तुगत यथार्थको प्रतिनिधित्व गर्छन् । निश्चित नियम र प्रक्रियाको अधिनमा रहेर समीकरण हल गर्ने र राशिहरूको मूल्य पत्ता लगाउने प्रयास गरिन्छ । समीकरणको यो सुन्दरतासँग साक्षात्कार नहुँदा यसको महत्त्व पनि ओझेलमा पर्न सक्छ ।


यसकारण, गणितलाई जीवनोपयोगी बनाउनु पहिलो आवश्यकता हो । गणितले वास्तविक जीवनका समस्या समाधान गर्न सहयोग गर्छ भन्ने तथ्यपरक शिक्षण गर्न सकियो भने गणितको आवश्यकता प्रस्ट हुन्छ । अमूर्त सूत्र र सिद्धान्तले नीरसता आउनु स्वाभाविक हो । यसका लागि पाठ्यपुस्तकहरूमा समस्यापरक अभ्यासको परिमाण बढाउनु जरुरी छ । किनभने आजका मानिस पाइलापाइलामा गणितीय समस्यासँग जुधिरहनुपरेको छ । सूचना र कम्प्युटरको युगमा यी साधन चलाउन जान्नुसँगै यसको सामान्य कार्यप्रणालीसँग पनि परिचित हुनुले बेग्लै महत्त्व राख्छ । विद्यालय तहको शिक्षा समाप्त गरेको व्यक्तिले आयआर्जन, कर, सेयर कारोबार र खरिद–बिक्रीको लेखाजोखा राख्न जानेको हुनुपर्छ । समय र लगानीको चुस्त उपयोगबाट अधिकतम प्रतिफल कसरी प्राप्त गर्न सकिन्छ भन्ने विश्लेषण गर्न जान्नुपर्छ । आफूले अपनाएको कारोबारसँग सम्बन्धित सामान्य जटिलतालाई हल गर्न खोज्ने र विज्ञहरूले गरेको हलबाट अर्थ खुट्याउन सक्ने हुनु जरुरी छ । सामाजिक जीवनलाई गतिशील तुल्याउने अवधारणाहरू र तिनका सम्बन्धको सामान्य व्याख्या गर्न सक्ने हुनुपर्छ । निर्माण र प्रविधिसँग जोडिएका उपकरणहरूको कार्यप्रणाली पनि बुझेको हुनुपर्छ । गणितलाई जीवनसँग जोडियो भने गणितीय समीकरणले पनि कविता वा आख्यानका उद्धरणले जस्तै आनन्दित तुल्याउन सक्छन् ।


आजका विद्यार्थीलाई विद्यालय शिक्षाको समाप्तिसँगै सूचना र तथ्यको भरिया मात्र बन्ने जोखिमबाट मुक्त गर्नु जरुरी छ । तथ्यहरूको सम्बन्ध र कार्यप्रणालीमा प्रस्ट व्यक्ति नै अभिव्यक्तिमा पनि प्रस्ट हुन सक्छ । आधुनिक गणित धेरै नै अमूर्त भइसकेको साँचो हो । साथसाथै गणित जीवन निर्वाहसँग जोडिएका समस्या समाधान गर्ने बौद्धिक उपकरणको ज्ञान तथा जीवन र जगत्लाई बुझ्ने आँखीझ्याल पनि हो । स्वतन्त्र विषयको रूपमा गणितको छुट्टै पठनपाठन स्वाभाविक हो । उच्चशिक्षामा यो भइरहेकै पनि छ । तर, यसो भन्दैमा अन्य विषय छनोट गर्ने विद्यार्थीले गणित पढ्नै नपर्ने, माध्यमिक तहसम्मको गणितले पुग्छ भन्ने ठान्नु पनि सही निष्कर्ष होइन । गणितले हरेक विषयको अध्ययनलाई समृद्ध तुल्याउँछ, विद्यार्थीलाई कुशल र सिर्जनशील बन्न प्रेरित गर्छ भन्ने तथ्यलाई ध्यान दिनु जरुरी छ । त्यसैले माध्यमिक तहसम्म सामान्य गणित र उच्चमाध्यमिक तहमा ऐच्छिक गणितको अलावा विषयअनुसार प्रायोगिक (एप्लिकेबल) गणितको शिक्षण हुनु आवश्यक छ । प्रायोगित गणितअन्तर्गत आलोचनात्मक चिन्तन, विषयसँग सम्बन्धित गणितीय अवधारणा र समस्या समाधानका गणितीय उपाय र अनुसन्धात्मक रणनीतिजस्ता पाठ्यवस्तु समावेश गर्न सकिन्छ । प्रकाशित : फाल्गुन १०, २०७६ ०९:३४

प्रतिक्रिया
पठाउनुहोस्

उथलपुथलको इतिवृत्त

संकटको वर्तमान अवस्थाले भविष्यमा उथलपुथल निम्त्याउन सक्‍ने सम्भावनातर्फ डायमन्डले ‘अपहिभल’ पुस्तकमा चासो व्यक्त गरेका छन् ।
राम लोहनी

डायमन्ड र उनका कृतिज्यारिड डायमन्डका किताबहरू अन्तर्राष्ट्रिय ‘बेस्ट सेलर’ मा पर्छन्  । सामान्य शरीरविज्ञानमा विज्ञता हासिल गरेका डायमन्ड बिस्तारै विकासवादतिर आकर्षित भए  ।

पछिल्लो समय डायमन्डको चासो भूगोल, समाज र मानव सभ्यताको अध्ययनमा आइपुगेको छ । भर्खरै प्रकाशित डायमन्डको कृति हो— ‘अपहिभल’ अर्थात् ‘उथलपुथल’ । डायमन्डले अघिल्ला किताबमा प्रस्तुत गरेको विचारकै निरन्तरता हो यो किताब पनि । यसमा डायमन्ड राज्यमाथि आइपरेको संकट (क्राइसिस) लाई त्यहाँका सरकार र जनताले सम्बोधन गर्ने रणनीतिको विश्लेषण गर्छन् । उनका अनुसार, राज्यले बेहोर्ने संकट व्यक्तिको निजी जिन्दगीमा आइपर्ने संकटकै अर्को रूप हो ।

संकट अवसर पनि हो रूपान्तर हुने र अग्रगामी छलाङ मार्ने । उचित प्रकारले संकटको व्यवस्थापन गर्ने व्यक्ति सफल भएजस्तै राष्ट्रिय संकटलाई बुद्धिमत्तापूर्ण तरिकाले सम्हाल्ने राज्य पनि सफल हुन्छ र समृद्धिको बाटोमा अगाडि बढ्छ भन्ने तर्कलाई डाइमन्डले जोड दिएका छन् ।

संकटको इतिवृत्त
डायमन्ड संकटका तीन प्रकारका स्रोतको चर्चा गर्छन्— बाह्य, आन्तरिक र ऐतिहासिक । बाह्य मुलुकले गरेको आक्रमण वा नाकाबन्दी वा यस्तै कारण बाह्य कारण हुन् । मुलुकभित्रको गृहयुद्ध, राजनीतिक द्वन्द्व आदि आन्तरिक कारण हुन् । एकपछि अर्को गर्दै घट्दै गएका घटनाहरूले पैदा गरेको सञ्चित दबाबको बिस्फोटबाट पनि संकट निम्तिन्छ । डायमन्ड यस्तो संकटलाई ऐतिहासिक कारणबाट पैदा भएको संकट मान्छन् ।

पुस्तकको पहिलो खण्डमा व्यक्तिगत संकटको चर्चा गरिएको छ । दोस्रो खण्डमा छवटा देशले बेहोरेका संकटको इतिवृत्त छ । तेस्रो खण्डमा समकालीन विश्वले बेहोरिरहेको संकट, त्यसले निम्त्याउने परिस्थिति र त्यसको सम्बोधनको उपायहरूको विश्लेषण गरिएको छ । डायमन्डले छनोट गरेका देशहरू फिनल्यान्ड, जापान, चिली, इन्डोनेसिया, जर्मनी, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिका हुन् । संयुक्त राज्य अमेरिकाको चर्चा समकालीन संकटको सन्दर्भमा गरिएको छ । फिनल्यान्ड र जापान बाह्य कारणले संकटमा परेका थिए । फिनल्यान्ड १९३९ मा तत्कालीन सोभियत संघको आक्रमण र त्यसपछिको विश्वयुद्धको चपेटामा परेको थियो ।

१८५३ मा एक अमेरिकी जहाजले आफ्नो बन्दरगाहमा जबर्जस्ती लंगर बाँधेपछि जापानको संकट सुरु भयो । संसारबाट लगभग अछुतो रहेको जापानमा अमेरिकी हस्तक्षेपले उथलपुथल नै ल्याइदियो । चिली र इन्डोनेसिया आन्तरिक राजनीतिको कारण घोर संकटमा फसेका थिए । १९७३ को सेप्टेम्बर ११ को दिन सेनाले विद्रोह गरेपछि चिली संकट प‍र्‍यो । संकटले चिलीमा अगस्टो पिनोचे नेतृत्वको निरंकुश शासनको उदय गरायो । इन्डोनेसियाको संकट १९६५ को कम्युनिस्ट विद्रोह, सात जना सेनाका जनरलको हत्या र सुहार्तोको उदयसँग जोडिएको छ । उक्त विद्रोहले इन्डोनेसियामा सुकार्नो युगको अन्त गरिदियो र चिलीमा जस्तै निरंकुशता सुरु भयो । पिनोचेको चिली र सुहार्तोको इन्डोनेसियामा विरोधी राजनीतिको नाममा लाखौं मान्छे मारिए, भ्रष्टाचार उत्कर्षमा पुग्यो, मुलुकको विकास लगभग अवरुद्ध भयो ।

जर्मनीको संकट दोस्रो विश्वयुद्धमा भएको पराजयसँगै उत्कर्षमा पुग्यो । जर्मनी तहसनहस मात्र भएन, पूर्वी र पश्चिमी गरेर दुई देशमा विभाजन पनि भयो । जर्मनी विश्वयुद्धमा होमिनुमा केही ऐतिहासिक तथ्यहरूले भूमिका खेलेको थियो । उन्नाईसौं शताब्दीसम्म जर्मनी युरोपको कमजोर राष्ट्र थियो । बिस्मार्कले जर्मनीको एकीकरण गरेपछि र १८७१ मा फ्रान्सलाई पराजित गरेपछि जर्मनी शक्तिको उदय भएको हो । फ्रान्स, स्पेन, पोर्चुगल, हल्यान्ड, बेलायतको जस्तो जर्मनीको उपनिवेश थिएन । यही क्रममा प्रथम विश्वयुद्धमार्फत जर्मनी अन्तर्राष्ट्रिय शक्ति राजनीतिमा प्रवेश गर्‍यो ।

महायुद्धमा जर्मनीको पराजय भयो । महायुद्धपछि गरिएको सन्धि र थोपरिएको आर्थिक दायित्वले हिट्लरको नश्लवादलाई प्रेरित गर्‍यो । जर्मनीको जस्तै अस्ट्रेलियाको संकटको पनि ऐतिहासिक आधार थियो । अस्ट्रेलियाको राजनीति एक प्रकारले भन्दा बेलायतको जिम्मामा थियो । पहिलो विश्वयुद्धमा अस्ट्रेलिया संलग्‍न त थिएन तर बेलायतको सहयोगको खातिर सेनाको स्वयंसेवक दस्ता भने पठाएको थियो । टर्कीको ग्यालिपोली प्रायद्वीपमा बेलायती नेतृत्वमा उत्रेको यो दस्ताको अप्रिल २५, १९१५ का दिन व्यापक संहार भयो । बेलायती सेनापतिको अस्ट्रेलियालीप्रतिको अनुत्तरदायी नेतृत्वको कारण यो संहार भएको थियो । दोस्रो विश्वयुद्धमा सुदूरपूर्व र अस्ट्रेलियाको सुरक्षाको जिम्मा लिएको बेलायती जंगी जहाजलाई जापानले डुबाइदिएपछि बेलायतले अस्ट्रेलियाको सुरक्षा जिम्मा लिन सकेन । लगत्तै सिंगापुरमा बेलायती सेनाले जापानसमक्ष आत्मसमर्पण ग‍र्‍यो । यो आत्मसमर्पणमा तीन दिनअघि मात्र पुगेका दुई हजार अस्ट्रेलियाली सेना पनि प‍र्‍यो । बेलायतको छत्रछायामा बसिरहेको अस्ट्रेलियालाई आफ्नै खुट्टामा उभिनुपर्ने स्थिति आइप‍र्‍यो ।



१२ बुँदे संकट व्यवस्थापन
डायमन्डले संकट समाधानका १२ वटा तत्त्वहरूको चर्चा गरेका छन् । उनका अनुसार, व्यक्तिगत तथा राष्ट्रिय दुवै तहमा यी तत्त्वहरूको चरित्र लगभग उही हुन्छ । ती तत्त्वहरू यसप्रकार छन् :

१. संकटमा परेको स्वीकारोक्ति । व्यक्तिको हकमा यो स्वीकारोक्तिको घोषणा सजिलो हुन्छ । तर, राष्ट्रको हकमा जनता र सरकारको सहमति हुनुपर्ने हुँदा प्रक्रिया केही फरक भए पनि स्वीकारोक्तिचाहिँ हुनैपर्छ । संकटमा परेको स्वीकार गरेपछि मात्र समाधानका उपायबारे प्रयास हुन सक्छ ।
२. व्यक्ति वा राज्य दुवैले संकटबाट मुक्त गर्ने दायित्व आफ्नै भएको स्विकार्नु जरुरी हुन्छ । जुनसुकै कारणले संकटमा परेको भए पनि संकटको भोक्ता आफैँ भएको हुँदा त्यसबाट मुक्त हुन पहिलो प्रयास आफैँले गर्नुपर्छ, अरूले होइन ।
३. संकटसँग जोडिएको वास्तविक समस्याको पहिचान अर्को आवश्यकता हो । संकट भनेको समस्याहरूको गुजुल्टो हो । गुजुल्टोमा बेरिएर रहेका समस्याको पहिचान भएपछि मात्र समाधानका प्रयास कामयाबी हुन सक्छ ।
४. समस्याको प्रबलताको पहिचान । समस्याको पहिचान भएपछि त्यो कत्तिको प्रबल छ भन्ने थाहा पाउनु जरुरी हुन्छ । समस्याको प्रबलता हेरेर व्यक्ति वा राज्यले त्यसको समाधान आफ्नो क्षमताभित्र भए/नभएको निर्क्योल गर्न र सल्लाह, सहयोगको लागि आह्वान गर्न सक्छ ।
५. अर्काको अनुभवबाट शिक्षा । त्यस्तै समस्यासँग जुधेका र त्यसबाट पार भएका व्यक्ति र राज्यले संकटमा परेका व्यक्ति र राज्यलाई मोडेलको काम गर्न सक्छ ।
६. व्यक्ति वा राष्ट्र दुबैमा दबाब थाम्‍न सक्‍ने र प्रतिकूल परिस्थिति थेग्‍न सक्‍ने ताकत अन्तर्निहित हुन्छ । त्यो उनीहरूको अहम्, आफ्नोपन र सहनशीलताको सीमा हो । अहम् र आफ्नोपनको ताकतको प्रस्ट पहिचान हुनु आवश्यक हुन्छ । यसले संकटको गुजुल्टोमा बेरिएका सहन सकिने र नसकिने समस्याहरू पर्गेल्न सजिलो तुल्याउँछ ।
७. सहनशीलताको सीमा र ताकत पहिचानका लागि इमानदार आत्ममूल्यांकन हुनु आवश्यक छ । व्यक्ति वा राज्य दुवैको सीमा हुन्छ । ताकतको वस्तुगत मूल्यांकनले आत्मविश्वासलाई दृढ बनाउँछ ।
८. इतिहासबाट शिक्षा । त्यसभन्दा अघि बेहोरेका संकटको अनुभव वर्तमान संकटमा उपयोगी हुन्छ ।
९. अर्को तत्त्व हो धैर्य । समाधान प्रयासमा अनिश्चितता, असफलता पैदा हुन सक्छ । तर, त्यसबाट हतास नभै प्रयास जारी राख्‍नुपर्छ, भाग्‍नु हुँदैन ।
१०. लचकता । हरसंकटले परिवर्तनको सम्भावनालाई बोकेको हुन्छ । त्यो एउटा अवसर पनि हो । त्यसैले सकारात्मक परिवर्तनको लागि तयार हुनु आवश्यक हुन्छ ।
११. केन्द्रीय मूल्यको पहिचान । व्यक्ति र राज्य दुवैको आफ्नोपन र निजत्वसँग सम्बन्धित केही केन्द्रीय तत्त्वहरू हुन्छन् । केन्द्रीय तत्त्वलाई सकेसम्म अक्षुण्ण राख्‍ने प्रवल चाहना हुन्छ । जोगाउनुपर्ने केन्द्रीय मूल्यसँग सम्बन्धित तत्त्वहरू पहिचान भएपछि परिधीय तत्त्वमा परिवर्तन गर्न सजिलो हुन्छ ।
१२. कुनै पनि कुरा हुनैपर्छ भन्ने आत्मदबाबबाट मुक्त भएर विवेकले देखाएको र तर्कसंकत बाटो अपनाउनुपर्छ । असंगत र आफैँले सिर्जना गरेको कृत्रिम अवरोधले बाटो अवरुद्ध मात्र गर्छ ।

डायमन्डले पुस्तकमा यी हरेक बुँदाको महत्त्व र भूमिकालाई क्रमशः चर्चा गरेका छन् । व्यक्तिगत संकटको कुरा गर्दा पटकपटक आफैँलाई उदाहरणको रूपमा उभ्याएका छन् । विद्यावारिधि अनुसन्धानमा प्रारम्भमा पाएको असफलताले निम्त्याएको मानसिक संकट, पेसागत क्षेत्र परिवर्तन गर्दाको संकट र पहिली पत्‍नीसँग सम्बन्धविच्छेद गर्दाका अनुभवलाई पाठकहरूमाझ बाँडेका छन् । उल्लिखित छवटा राष्ट्रले संकटबाट मुक्त हुन अपनाएका रणनीतिहरूलाई पनि यिनै १२ बुँदाभित्र रहेर प्रस्ट पारेका छन् । संकटले यिनीहरूलाई कहाँ पुर्‍यायो, संकट समाधानका प्रयास सही सावित भए, भएनन् भन्नेजस्ता मूल्यांकनमा पनि लेखकले पर्याप्त ध्यान दिएका छन् ।

संकटको वर्तमान अवस्था
संकटको वर्तमान अवस्थाले भविष्यमा उथलपुथल निम्त्याउन सक्‍ने सम्भावनातर्फ डायमन्डले पुस्तकको तेस्रो खण्डमा चासो व्यक्त गरेका छन् । वर्तमान संकट विशेषगरेर शक्तिशाली र धनी राष्ट्रसँग जोडिएका छन् । डायमन्ड यो मामिलामा जापान र खासगरेर संयुक्त राज्य अमेरिकालाई जोडेर चर्चा गर्छन् । वर्तमान संकट र सम्भावित भावी उथलपुथललाई पनि माथि उल्लिखित १२ बुँदाको आलोकमा हेरिएको छ । आर्थिक समृद्धिको साथमा बढ्दो ऋण, घट्दो जनसंख्या, पाका एवं वृद्धहरूको बढ्दो संख्या जापानको वर्तमान समस्या हुन् । डायमन्ड उथलपुथल आउनुअघि नै त्यसबाट बच्‍न उचित कदम चाल्नुपर्ने सुझाव दिन्छन् । पश्चिमी देशले जस्तो जापानले आप्रवासीहरूलाई कहिल्यै रुचाएन । डायमन्ड जापानले अब यो नीति त्याग्‍नुपर्ने सल्लाह दिन्छन् । जापानको भावी ऊर्जा तथा उत्पादन संकटको समाधानको लागि नवीकरणीय ऊर्जा र नवीकरणीय उत्पादनतर्फ जोड दिनुपर्ने उनको सुझाव छ ।

अमेरिकाको हकमा अमेरिकी समाज, अमेरिकी राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा संकट बिस्तारै प्रकट हुँदै गएकोतर्फ लेखकले संकेत गरेका छन् । अमेरिकाको ताकत भनेको यसको भूगोल, क्षेत्रफल, प्रविधि, प्रजातन्त्र र आर्थिक अवस्था हो । विश्वको शक्तिशाली राष्ट्र भएकाले यसका थप दायित्व पनि छन् । अमेरिकामा सामाजिक–आर्थिक गतिविधि अन्यत्रको दाँजोमा एकदमै तीव्र छ । आप्रवासको माध्यमबाट संसारभरिका क्षमतावान मानिसहरू अमेरिका पुगेका छन् । डायमन्ड यसलाई अमेरिकाको ठूलो सम्पत्ति मान्छन् ।

अमेरिकाको समस्याको रूपमा डायमन्डले राजनीतिक ध्रुवीकरण, अमेरिकी चुनाव, बढ्दो असमानता आदिलाई देखाएका छन् । कर तिरेर दर्ता गर्नुपर्ने प्रावधानले सबै अमेरिकीलाई मतदानमा सहभागी गराउन नसकेकको तर्फ डायमन्डले ध्यानाकर्षण गराएका छन् । मतदानजस्तो प्रजातान्त्रिक अभ्यासबाट ठूलो संख्याका अमेरिकीहरू वञ्चित हुनु अमेरिकी प्रजातन्त्रकै उपहास हो । अन्य देशको अनुभवबाट सिक्‍न नखोज्‍नुलाई डायमन्ड चिन्ताको विषय मान्छन् । अमेरिकासँगै सिंगो विश्व जलवायु परिवर्तन, ऊर्जा संकट र धनी र गरिबबीचको बढ्दो अन्तरको चपेटामा पर्दै गइरहेको छ । आसन्न यी संकटलाई पनि माथि चर्चा गरिएका १२ बुँदाभित्रैबाट सम्वोधन गर्न सकिने डायमन्डको दाबी रहेको छ ।

निष्कर्ष
डायमन्डको लेखनमा भाषिक सरलता पाइन्छ । गैर–आख्यान र जटिल विषयलाई सरलीकृत तुल्याउने न्यारेसन शैली डायमन्डको लेखकीय हस्ताक्षर हो । उनका किताब एउटा खास मुद्दामा केन्द्रित हुने गर्छन् । उदाहरणबाट मुद्दालाई प्रस्ट पार्ने, त्यसपछि आफ्नो प्रस्तावना प्रस्तुत गर्ने र त्यसको विस्तृत विवेचना गर्ने उनको शैलीले पाठकलाई बाँधिराख्‍ने क्षमता राख्छ ।

अप्ठेरो परिस्थितिबाट गुज्रिरहेको समकालीन विश्व राजनीति, राष्ट्रिय राजनीति र व्यक्तिगत जीवनलाई एउटै चस्माले हेर्न र बुझ्‍न खोज्‍नु यो पुस्तकको ताकत हो । डायमन्डका अघिल्ला किताबजस्तै ‘अपहिभल’ को पठन पनि आकर्षक हुने निश्चित छ ।

प्रकाशित : पुस ५, २०७६ ११:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×