कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

योगमायाको इतिहासमाथि अन्याय

प्रणेता

योगमाया–उपन्यासमा योगमाया आसामबाट फर्केर आफ्‍नै जन्मथलो भोजपुर आइपुगेको प्रसंग आउँछ । आसाममा हुँदा त्यस्तो के भयो जसले एउटी गृहस्थ नारी विद्रोही सन्त बनेर गाउँ फर्किन ? प्रश्न उठ्नु स्वाभाविक छ ।

योगमायाको इतिहासमाथि अन्याय

यहाँनेर योगमायाकै मुखबाट उपन्यासकारले परस्परविरोधी कुरा बोल्न लगाएकी छन् । उनका घरमा अनेक साधु–सन्त, भेष बदलेका जागरण र स्वतन्त्रताका पक्षधरहरू बास बस्न आउँछन् । अत्याचार, कुरीति र अन्धविश्वासको विरुद्ध लड्न प्रेरित गर्छन् ।


वैधव्यको वर्णाश्रम परम्पराविरुद्ध विद्रोह गरेको भनेर उनको साहसको प्रशंसा पनि गर्छन् । अत्याचार सहने होइन, भिड्ने हो पनि भन्छन् । योगमाया आफैं विभिन्न गोप्य सभा र भाषणमा सहभागी हुन पनि पुग्छिन् । अंग्रेजविरोधी स्वतन्त्रता संग्राम चलिरहेको भारत, त्यसमाथि विभिन्न बौद्धिक तथा राजनीतिक आन्दोलनका लागि सन् १९३०–४० को दशकमा चर्चित पश्चिम बंगाल । त्यसैले योगमायाले वैधव्य त्याग गरेर बिहे गर्ने हिम्मत गरेको सुन्दा प्रसंसा गर्नेहरू आइपुगे होलान् भन्न सकिन्छ ।


तर, यी तमाम विद्रोहकारी विचार बोक्ने मान्छेले उनलाई गृहस्थ त्याग गरेर अत्याचार र कुरीतिको विरुद्ध एउटा लामो यात्रामा निस्कन प्रेरित गर्दैनन् । त्यसरी प्रेरित गर्ने पात्र हुन्छ कुनै पुराणवाचक पण्डित । पण्डितले त्यस्तो के उत्पातको विचार दिन्छ त योगमायालाई ? उसले भन्छ— परस्त्री र परपुरुष गमन गर्नाले भविष्यमा नर्कको यातना भोग्नुपर्छ । त्यत्रा क्रान्तिकारी कुराले दिएका अनेक ऊर्जाले काम गर्दैन तर पण्डितको यही भनाइले एक झट्कामा सबै काम गर्छ । त्यसपछि प्रायश्चित गरेर पाप पखाल्नका निम्ति योगमाया घरबार छाड्ने निर्णयमा पुग्छिन् ।


यत्रो विरोधाभास उपन्यासकार नीलम कार्की ‘निहारिका’ ले किन चित्रण गरिन् ? ऐतिहासिक पात्रलाई आख्यानको विषय बनाउँदा लेखकले सहारा लिने इतिहासकै पुस्तक हुन् । आख्यानकारले थप अध्ययन गर्न पनि सक्छन्, तर त्यसले छुट्टै मिहिनेत र समय माग गर्छ । निहारिकाले पण्डितको मुखबाट बोल्न लगाएको संवादचाहिँ इतिहासकार जनकलाल शर्माको पुस्तक ‘जोसमनी सन्तपरम्परा र साहित्य’ भित्रको ‘शक्तिमाई’ शीर्षक लेखबाट लिइएको हो । यही प्रसंग ज्ञानमणि नेपालको ‘नेपालनिरूपण’ भित्र ‘सन्त कवयित्री शक्तिमाता योगमाया’ शीर्षक लेखमा पनि भेटिन्छ ।


दुवै इतिहासकारले योगमायाले बिहे गरेको प्रसंगलाई बिटुलिएको अर्थमा व्याख्या गरेका छन् । बालविधवा करार गरिएकी योगमायाले कथित् ‘विधवा धर्म’ पालन गर्नुपर्थ्यो भन्ने आग्रह दुवैको छ । शर्मा लेख्छन्, ‘तारुण्यको जोसमा होस समाल्न सकिनन् र गाउँको डोटेल जैसीसित भागेर आसाम पुगिन् ।’ शर्माको यो भनाइले योगमायालाई बिग्रेर बिहे गरेकी मान्छ । नेपालले त झनै हेप्ने भाषामा लेखेका छन्, ‘पतिता तिरस्कृता बन्दै मुगलान पसी फूलबारी कमानमा पुगी पुनः एक डोटेल बाहुनसँग बसिन् ।’ उनीहरूका लागि योगमायाले प्रेम र विवाह गर्नु नै एक अपराध थियो । त्यसैले पापको प्रायश्चित्त जरुरी भयो ।


बालविधवाले उमेर पुगेपछि बिहे गर्नुलाई नै परपुरुष र परस्त्रीगमन मान्ने हो भने बालविधवा बनाउने वर्णाश्रम परम्परालाई पनि सही ठहर्‍याउनुपर्ने हुन्छ । प्रायश्चित्त नै गर्नेभए त्यही परम्परालाई कुरीति मानेर विद्रोह गर्नु किन पर्‍यो ? प्रायश्चित्त गर्ने मनसाय कुनै कारणले योगमायाको मनमा जन्मेको भए उनी हामीले चिनेकी विद्रोही योगमाया बन्न सक्थिन् ? पुरुषतन्त्रको विरुद्ध त्यत्रो धावा बोल्न सक्थिन् ? आसामबाट एउटा इरादासहित फर्केर आइसकेकी योगमायालाई उपन्यासमा त झन् कति निरीह र द्विविधाग्रस्त देखाइएको ?


राणाकालमा नेपालको पूर्वी र मध्यपहाडबाट बसाइ सरेर दार्जिलिङ, सिक्किम, आसाम, मनिपुर, बर्मा, भुटानतिर जानेको लर्को थियो । यताका साहु, सामन्तहरूको अत्याचार र शासकहरूको कोपभाजनबाट उम्कन धेरै मानिस त्यतातिर बसाइ सर्थे । अन्तरजातीय र योगमायाको जस्तो वर्णाश्रम व्यवस्था उल्लंघन गर्दै विद्रोही प्रेम गर्नेहरू पनि यताको अत्याचारबाट बच्न भागेर त्यता पुग्थे । योगमाया पनि त्यसरी नै आसाम पुगेकी थिइन् भन्न सकिन्छ ।


बारबरा निम्री अजिजको कृति ‘येअर टु अ साइलेन्ट सङ ः टु रिबेल विमेन अफ नेपाल’ मा योगमायाले आसाममा कस्तो वातावरण पाएकी हुन सक्छिन् भन्नेबारे तथ्यसंगत व्याख्या गरिएको छ । अजिजका अनुसार, योगमायालाई सन्तमार्गमा लाग्न र आफ्नै गाउँ फर्कन केले प्रेरित गर्‍यो भन्ने रहस्यको गर्भमै छ । त्यतिबेलाको दार्जिलिङमा जोसमनी सन्तहरूको गतिविधि उल्लेखनीय थियो । पश्चिम बंगाल क्षेत्र त्यतिबेला कम्युनिस्ट आन्दोलन, अंग्रेजविरोधी आन्दोलन, ब्राह्मणवादविरोधी सुधारवादी हिन्दु आन्दोलनहरू तथा बौद्धिक गतिविधिका कारणले पनि उथलपुथलकारी ठाउँ थियो । तिनै आन्दोलनहरूबाट योगमायाले धेरै कुरा सिकेको हुन सक्छ ।


यो प्रसंग उपन्यासमा नभएको होइन । तर, योगमायाको निर्माण फगत प्रायश्चित्त वा वैराग्यको परिणाम हो कि सामाजिक विद्रोहको दरिलो संकल्प ? यो प्रश्नमा आएर उपन्यासकार पुरै कन्फ्युज्ड देखिन्छिन् । शर्मा र नेपालको इतिहासलेखनको मनसाय ख्याल नगरी उनले पूरै विश्वास गरेकी छन् । नेपालका शब्दमा ‘पूर्वचरित्रमा पश्चात्ताप गर्दै उनले जोगमार्ग लिइन् ।’ किनभने उनका निम्ति पतिव्रता धर्ममा योगमाया उत्तीर्ण हुन सकेकी थिइनन् ।


अजिजले अनुसन्धानका क्रममा भेटेकी योगमायाकी चेली मनमाया भन्छिन्, ‘हजुर पोइला जानुभयो । वहाँ तेसबेला भर्खरकी केटी हुनुहुन्थ्यो तर हेर्नुस् त कति सहासी ?’ योगमायाका अनुयायीले समेत बुझेको यो सहसलाई निहारिकाले ध्यान नदिनु दुःखद कुरा हो । योगमाया जातप्रथाको समेत विरुद्ध थिइन् । अजिजसँगको भेटमा मनमायाले पनि स्थानीय राई समुदायका महिलासँग तुलना गर्दै हिन्दु महिलाहरू पितृसत्ताको चपेटामा परेर साह्रै दुःख पाएको उल्लेख गरेकी छन् । राई महिलाजस्तै स्वतन्त्र हुने उनको इच्छा छ ।


योगमायाका कविताहरूले नै शर्मा र नेपालको व्याख्यालाई गलत सावित गर्छन् । जुद्धशमशेरलाई पठाएको मागपत्रको पहिलो बुँदामै बालविवाह रोक्न माग गर्ने र आफ्ना कवितामार्फत पुरुषले धेरै पत्नी राख्न पाउँछ भने महिलाले किन धेरै लोग्नेसँग बिहे नगर्ने भनेर चुनौती दिने योगमायाले कथित् पतिव्रता धर्म पालन गर्न नसकेकोमा पश्चात्ताप गरिन् होला ? भोजपुरको गाउँमा भन्दा धेरै खुला वातावरण आसाममा थियो । त्यहाँ जान र बस्न त्यसैले योगमाया दम्पतीलाई सहज भयो । अब छोरीसमेत भैसकेपछि अचानक विधवापनको त्यत्रो नियास्रो कसरी लाग्न सक्छ ? त्यो पनि योगमायालाई ?


योगमायाले ‘अग्निसमाधि’ भनिने गरेको आगोमा हाम्फालेर अन्तिम धक्का दिन खोजिन् । त्यो प्रयासलाई सरकारी सैनिकले रोकिदिएपछि अरुणको उर्लंदो भेलमा बगेर प्राण आहुति दिने बाटो रोजिन् । पुरुषवादी र वर्णाश्रम व्यवस्थाको पक्षपाती इतिहासकारले योगमायाको इतिहास पनि नारीद्वेषी कलमले नै लेख्नु अनौठो होइन । पतिव्रता धर्मको कुरा ल्याएर योगमायाको निर्माण नै प्रायश्चित्तको बाटोबाट भएको मान्नु नै सबैभन्दा ठूलो नारीद्वेषी विचार हो । नेपालले त झन् योगमायाका निम्ति ‘बुढिया’, ‘जोगिनी बूढी’ जस्ता विशेषण नै प्रयोग गरेका छन् । योगमायाका अनुयायीहरू जेल परेको प्रसंगमा योगमायाकै अनुयायी प्रेमनारायणलाई ‘स्वामीजी’ सम्बोधन गर्ने नेपालले ‘आइमाइ जति तीन महिनाभित्र छुटे’ भनेर महिला अनुयायीलाई होच्याउन खोजेका छन् । योगमायालाई ‘पूर्वपातक’ भन्ने उनले बालविधवा बनाउने वर्णाश्रम व्यवस्थाप्रति असन्तोषसम्म पनि व्यक्त गरेका छैनन् ।


अजिजको भनाइमा योगमाया त्यतिबेला नारी मुक्तिको खँदिलो लडाइँ लडिरहेकी थिइन्, जतिबेला अमेरिकामा समेत नारीवादी आन्दोलन भएकै थिएन । भोजपुरको दिङ्लामै त्यतिबेला बालागुरु षडानन्दको पनि संस्कृत पाठशाला थियो । उनको संगठनले योगमायालाई भत्सर्ना गर्थ्यो । सनातन धर्मका यी अनुयायीको समर्थन गर्दै नेपाल योगमायाबोरे लेख्छन्, ‘आफूलाई एक चूकमा दश खोट लगाउने उच्च संस्कृत वर्गको अनेकौं खोट फेला पारेर खुनखोत्रो गरेर खोतलेर खोइलोपाइलो उतार्न थालिन् । राज्यका कर्णधार शासक कर्मचारी सनातनी बाहुन साहुजन सबका सब उनका लेखा आँखी बनेका थिए ।’ यो वर्णनले नेपाल स्पष्ट रूपमा योगमायालाई बालविधवा घोषित गर्ने सनातनी बाहुन, गरिब जनतालाई चक्रवर्ती ब्याज लगाउने साहुजन र अत्याचारी शासन चलाउने शासक कर्मचारीको पक्षमा छन् भन्ने बुझाउँछ ।


त्यसो हुँदैमा कुटी वा आश्रममा बस्ने कुनै धर्मगुरुसँग उनको तुलना हुन सक्दैन । उनले राणाशासनसँग आँखा जुधाउने हिम्मत गरेकी छन् । गरिब किसान र स्थानीय जनजातिलाई मिटर ब्याज लगाउने र जाली तमसुक बनाएर जग्गा हडप्ने साहु, महाजनको विरुद्ध ठूलो विद्रोह गरिन् । अजिजले लेखे झैं एक बिग्रेकी आइमाई, धर्मछाडा, जातपात नमान्ने अशुद्ध नारीको रूपमा उनको छवि बनाउने र बाँचेको मौखिक इतिहासबाट पनि उनलाई नामेट पार्ने प्रयास भने पछिसम्म पनि भैरह्यो । इतिहासका यस्तै भर्सनलाई सत्य मानेर आख्यान लेख्ने हो भने इतिहासका कति नारी फात्रमाथि अन्याय हुन्छ होला त ?

प्रकाशित : फाल्गुन ३, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?