कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

म बेपत्ता !

महेशविक्रम शाह

म एक दिन बेपत्ता भएँ । बेपत्ता हुनुको कुनै खास कारण छैन । कुनै समस्याले गाँजेर पनि बेपत्ता भएको होइन । रहरले पनि होइन । न कुनै त्यस्तो बाध्यता नै पर्‍यो, बेपत्ता हुनुपर्ने । मान्छे भएर जन्मे, हुर्कें । तर, मान्छे भएर बाँच्न सकस भयो मलाई । मान्छे भएर बाँच्न के गरिनँ र मैले ? सबथोक गरें । तर, अफसोस म मान्छेजस्तो मात्र देखिएँ । मान्छे नै बन्न सकिनँ ।

म बेपत्ता !

मान्छेहरूको भीडमा मेरो कुनै निश्चित बेग्लै आकृति देखिएन । मेरो अनुहारलाई मान्छेहरूले नै खोसिदिए । आफूलाई चिन्न पनि गाह्रो भयो । अनुहारविहीन मलाई रावणका जस्ता दस अनुहार भएका मान्छेको भीडले किच्न थाल्यो । ती कुरूप अनुहारको घेरामा ऐंठन भयो मलाई । बस् हराएको आफ्नो अनुहार खोज्न म बेपत्ता भएँ ।


प्रायः मान्छेहरू बेपत्ता भएको मान्छेका बारेमा कुरा गर्दैनन् । कुरा गर्नेहरू पनि वास्तविक कुरा गर्दैनन् । काल्पनिक कुरा गर्छन् । आ–आफ्ना दृष्टिकोण, विचार, कल्पना र अनुमानका भरमा बेपत्ता हुने व्यक्तिको अवस्थाबारे तर्क, कुतर्क प्रस्तुत गर्छन् । सहानुभूति व्यक्त गर्छन् । ‘....बिचरा जे भए नि ऊ राम्रै मान्छे थियो । बेपत्तै हुनुपर्ने त होइन । के पीर परेछ ? अरूले नै बेपत्ता गरिदिएका हुन् कि... !’ बेपत्ता हुनेप्रति मान्छेहरूले खासै वास्ता गरेको पनि देखिँदैन । मान्छेहरू बेपत्ता भएको मान्छेप्रति भन्दा उसले छोडेर गएको परिवारजनप्रति बढी सद्भावपूर्ण हुन्छन् । तिनीहरूको पीडाप्रति संवेदनशील बन्छन् । र, अचम्मको कुरा कहिलेकाहीँ अपवादस्वरूप आम मान्छेहरूका हृदयमा बेपत्ता हुनेप्रति पनि करुणाको भाव जाग्छ । ‘...बिचरा कहाँ होला ? के गरिरहेको होला ? कति दुःख–हन्डर खायो होला ?’ आदि । तर, कसलाई के थाहा ? बेपत्ता हुने मान्छेको पनि आफ्नै मनमौजी दुनियाँ हुन्छ । राजा पनि आफैं... रंक पनि आफैं ।


मलाई बेपत्ता हुन मन लागेर म बेपत्ता भएँ । म बेपत्ता भएर कसैलाई पीर लाग्यो होला ! मेरो उपस्थितिप्रति निरपेक्ष व्यक्तिहरूलाई पनि मेरो अनुपस्थिति प्रीतकर नलाग्न सक्छ । मैले दुःख पाउने भएँ भनेर दुःख लाग्न सक्छ । कोही खुसी पनि भए होलान् । म बेपत्ता भएर को दुःखी भयो ? को खुसी भयो ? यो मेरो सरोकारको विषय होइन । मेरो सरोकार मसँग मात्र छ । यी परिवार र समाजका साङ्लाहरूलाई छिनालेर मैले पाएको यो स्वतन्त्रता मेरा लागि आह्लादकारी छ । यहाँ कसैका चिरपरिचित अनुहारहरू छैनन् । मैले चिन्ने मेरो आफ्नो अनुहार मात्र छ । आफैँलाई बेपत्ता बनाएर मैले पाएको मेरो नयाँ परिचय मेरा लागि रोमाञ्चक छ । कसैले सोच्नसम्म सक्दैन मेरो बेपत्तापन मलाई कति प्यारो छ !


अरूका लागि म बाँचिदिनुपर्ने । खाइदिनुपर्ने, लगाइदिनुपर्ने । पढिदिनुपर्ने । अरू खुसी भए हाँसिदिनुपर्ने । अरू दुःखी भए रोइदिनुपर्ने । सबैले सोचेजस्तो, खोजेजस्तो असल मान्छे बन्नुपर्ने । छोराछोरीका लागि सम्पत्ति जोडिदिनुपर्ने । आमाबाबुका लागि ठूलो मान्छे बनेर नाम कमाउनुपर्ने । यी सब कुरा बाहियात लाग्यो मलाई । म एक स्वतन्त्र ब्यक्ति होइन । बँधुवा हुँ । जति गर्नुपर्ने काम छन् अरूलाई रिझाउन, चित्त बुझाउन गर्नुपर्ने ! आफ्नो एक मुठी सासमाथि पनि अरूको नियन्त्रण !


अनि त मलाई आफैंले आफैंलाई बेपत्ता गरिदिन मन लाग्यो । आफैंबाट आफैंलाई हराइदिन मन लाग्यो । बेपत्ता भएर त्यो दुनियाँमा बाँच्न मन लाग्यो, जहाँ मेरो अस्तित्व हुनु र नहुनुमा कोही कसैलाई पनि फरक नपरोस् । जहाँ मेरो अस्तित्व निरपेक्ष बनोस् । मैले हाँस्नु र डाँको छोडेर रुनुमा कसैलाई कुनै मतलव नहोस् । म बौलाहाझैं अट्टहास गर्दै हाँसूँ वा बच्चाजस्तै भुइँमा लडीबुडी गर्दै कोकोहोलो गरूँ, मेरो अट्टहास र रोदनमा कसैको चासो र जिज्ञासा नहोस् । हो, म मेरो यही भावनाले वशीभूत भएर बेपत्ता भएँ ।


घर छोडेर हिँडेपछि मेरो कुनै तोकिएको गन्तव्य थिएन । मेरा अगाडि सिंगो धर्ती थियो । र, माथि खुला आकाश । मलाई कसैको आदेशमा चल्नु थिएन । न त कसैको आग्रहमा रोकिनु । न मलाई कसैले रोक्ला भन्ने पीर थियो न त कसैको आग्रहले मेरा पाइलाहरू अन्तै मोडिएलान् भन्ने सकस नै थियो । ओहो यो कस्तो अनुभूति थियो ? मानौं म भर्खर सांसारिक वस्त्र त्यागेर गेरुवस्त्रमा लपेटिएको कमण्डलुधारी जोगी बनेको थिएँ । सबै आडम्बरहरूका वस्त्रबाट मुक्त एक फकिर !


मन लागुन्जेल हिँडें म । हिँडिरहें । जीवनमा पहिलोपटक निस्फिक्री भएर कतै गइरहेको थिएँ म । भन्नेहरू भन्छन्, निरुद्देश्य मान्छे कहाँ जान सक्छ ? जो मान्छेले कहिल्यै निरुद्देश्य हिँड्ने कोसिस नै गरेको छैन, उसले कसरी जान्न सक्छ निरुद्देश्य हिँड्नु आफैंमा एक महान् उद्देश्य हो ! निरुद्देश्य कुनै सीमितता हुँदैन । त्यहाँ असंख्य विकल्प हुन्छन् । ती स्वतन्त्र विकल्पको खोजीमा नै मैले आफैं बेपत्ता हुनुको शिल्प भेट्टाएँ ।


म कहाँ जान लागेको हुँ, मलाई नै थाहा थिएन । बेपत्ता हुँदा कुनै तयारी गरेको थिइनँ । जस्तो थिएँ, त्यस्तै हिँडेको थिएँ । मेरो शरीरमा एक जोर वस्त्र थियो । खुट्टामा जुत्ता । नांगो शरीरलाई नांगिन नदिने वस्त्रलाई पनि च्यातेर फालूँजस्तो लाग्यो । जुत्तालाई समेत पर उछिट्याउन मन लाग्यो । जुन समाजलाई त्यागेर म हिँडेको थिएँ, त्यो समाजको अवशेषका रूपमा यो वस्त्र मेरो शरीरमा झुन्डिरहेको थियो । एक मनले त लुगालाई परित्याग गरेर नांगै दौडूँजस्तो लाग्यो । तर, म शिवरात्रिमा पशुपतिमा भेटिने नागाबाबाझैं निर्लज्ज भइसकेको थिइनँ । मान्छेका केही अवगुण ममा अझै विद्यमान थिए । लाज भन्ने वस्तुले मलाई निरुपाय बनाइरहेको थियो । तर, म मान्छेका यी दुर्गुणहरूबाट समेत भाग्न चाहन्थें । बेपत्ता हुन चाहन्थें ।


बाटोछेउका रूखका हाँगाहाँगाहरूमा चराहरू चिरबिरचिरबिर गरिरहेका थिए । म पनि चराजस्तै भइदिए कति जाती हुन्थ्यो ? चराका शरीरमा प्वाँखहरू छन् । मेरो शरीरमा प्वाँखहरू किन छैनन् ? मेरो शरीरमा पनि प्वाँखहरू पलाएको भए म कति स्वतन्त्र हुन्थें ! वस्त्रका बोक्राहरूले कमसेकम मेरो देहयष्टिलाई विरूप र प्रदूषित बनाउने त थिएनन् ।


थकाइ लाग्यो, चौरमा मन लागुन्जेल पल्टिएँ । कतै जान अबेर हुनेवाला थिएन । कसैले कति चौरमा सुतेको हो भनेर भन्नेवाला पनि थिएन । नजिकै नदी सुसाइरहेको थियो । नदीको कञ्चन पानीमा गोडा डुबाएर नदीका छालमा मुख जोत्दै धीत मरुन्जेल पानी खाएँ । नदीलाई हेरें । नदीको वेग देखेर नदी बन्न मन लाग्यो । अर्को मनले भन्यो ‘नदीले मेरा आकांक्षाका सीमाहरू भेट्न सक्दैन । नदी त एकतर्फी बग्छ । तर म चौतर्फी फैलिन चाहन्छु । म नदीमा अटाउन सक्दिनँ ।’ नदीमा चोबलेका गोडाहरूबाट पानी तर्काउँदै म फेरि बाटैबाटो सुसेल्दै हिँड्न थालें ।


पहाड आयो । पहाडतिर हेर्दै मैले सोचेँ— यसलाई पनि त बेपत्ता हुन मनलाग्दो हो, कति यौटै ठाउँमा कुँजिएर बसोस् ! पहाडलाई छेको बनाएर कहिले घाम बेपत्ता हुन्छ । पहाडलाई ढाल बनाएर कहिले मेघ बेपत्ता हुन्छ । पहाडलाई फेरो लाउँदै बादलका स्वरूपहरू परिवर्तन हुन्छन् । पहाडलाई साक्षी राख्दै हुस्सु र कुहिरोका फूलहरू पत्र–पत्रमा बिखरिँदै अकासिन्छन् । तर, पहाड फलामका सिक्रीले जकडिएको ज्यानमाराजस्तो अविचल, अस्थिर मुद्रामा जहाँको तहीँ ठिंग उभिएको उभियै ! उफ् ! मलाई पहाड हुन मन लागेन । यो धर्तीलाई पहाडजस्तो बोझ बन्न मन लागेन । बरु म बर्सिदिन्छु मेघ बनेर बादललाई रित्याउँदै । र, माटोभित्र हराउँछु । हुस्सुजस्तो जमिनबाट उठ्दै पहाडभन्दा माथिमाथि आकाशमा बिलाउँछु । म मान्छे कणकणमा टुक्रिन चाहन्छु । म मान्छे कणकणमा विभक्त भएर बेपत्ता हुन चाहन्छु ।


मलाई पहाड चढ्न मन लागेन । तल झरें । म फेरि हिँड्न थालें । स–साना थुम्काहरू देखिए । समथर जमिन आयो । जंगल आयो । जंगल देखेर मोहित भएँ म । किनकिन मलाई जंगल रहस्यमय लाग्छ !


जंगल आफैं हराउँदैन तर जंगलमा सबै चीज हराउँछ । जंगल आफै शून्य होइन तर जंगलभित्र महान् शून्यता छ । म जंगलभित्र पसें । मान्छेहरूको कोलाहलबाट पृथक् ! समुदायका मूल्य मान्यताहरूको बोझबाट मुक्त ! कसैका जिम्मेवारी र कसैका दायित्वबाट उन्मुक्त ! केही छजस्तो पनि, केही छैनजस्तो पनि । जंगलको गहिराइभित्र छिर्दै गएँ । मन एकतमासको भयो । जुन शून्यताको खोजीमा हराएको थिएँ म, जंगल महाशून्य लाग्यो । यो निःशब्दताले मेरो मन बेचैन भयो । मलाई जंगल आदिम मानव समाजजस्तो लाग्यो । रूखहरू मानौं ठिंग ऊभिएका आदिमानव । थरीथरीका रूखहरू, थरीथरीका मान्छेहरू । बोलिरहेका छैनन् तर साउती गरिरहेका छन् । मलाई जंगली जनावरसँग नभई रूखहरूसँग डर लाग्न थाल्यो । जुन मान्छेहरूबाट भागेर म जंगल पसेको थिएँ, यहाँ मान्छेहरू रूख बनेर मलाई वरिपरिबाट घेर्ने प्रयत्न गरिरहेका थिए । बेतोडले अघि आएको दिशातर्फ कुदें म । म सँगसँगै रूखहरू पनि कुद्न थाले । जंगलबाट भागेर कुन बेला म बाटोमा निस्केँ र जमिनमा पछारिएँ मलाई केही याद छैन ।


म उठें । फेरि हिँड्न थालें । यी नदीनाला, पहाड र जंगलबाट मलाई मोहभंग भएको थियो । बेपत्ता हुनुको यो अर्थ होइन कि म मर्न चाहन्थें । म मात्र बेपत्ता हुन चाहन्थें । उन्मुक्ति चाहन्थें । पिंजराबाट सुगा फुर्र उडेजस्तो । जलहारीको जालबाट माछो फुत्त फुत्केजस्तो । तर, प्राकृतिक दृश्यले मान्छेको बेपत्तापनका भावहरूलाई अल्झाउँदो रहेछ । प्रकृतिको सान्निध्यमा आफू मान्छे हुनुको परिचय झन् प्रखर बन्दोरहेछ । जुन परिचयबाट म वाक्कदिक्क भएर भागें, प्राकृतिक दृश्यहरूमा मेरो त्यो परिचय घामका परावर्तित किरणहरूले कोरेको तस्बिरझैं स्पष्ट र पारदर्शी हुँदोरहेछ । अन्ततः प्रकृतिबाट भागेँ म । मलाई बोध भयो, मान्छेलाई बेपत्ता हुन मान्छेहरूकै भीडमा सहज हुने रहेछ । मान्छेबाट भागेर बेपत्ता हुन नसकिने रहेछ । म फेरि मान्छेहरूकै बस्तीतिर सोझिएँ ।


हिँड्दाहिँड्दा थकाइले चुर भएँ । कसैको करकापले हिँडेको थिइनँ । आफ्नै इच्छाले बाटाहरूको लम्बाइ नापेको थिएँ । दिमागमा यो सोच आउनु नै गज्जबको अनुभूति थियो । आफ्ना गोडाहरूतिर हेर्दै मज्जाले हाँसें म । धित मरुञ्जेल हिँड्न पाएकोमा मेरा गोडाहरू पनि दंग थिए ।


मलाई गाडी चढ्न मन लाग्यो । परबाट एउटा बस हुत्तिँदै यतैतिर आउँदै थियो ।

‘कहाँ जाने हो ?’ सोध्यो कन्डक्टरले ।


‘यो कहाँसम्म जाने हो ?’ सोधेँ मैले ।


‘बोर्डरसम्म ।’


‘म पनि त्यैं जाने हो ।’ मेरो जवाफ सुनेर किच्च हाँस्यो ऊ । मनमनै सोच्यो होला, ‘सधैं यस्तै सज्जनहरूले बसको यात्रा गरिदिऊन् ।’
मैले बसको खुला ढोकाको डन्डी समातें । हावाको तीव्र झोंकाले मेरो कपाल हल्लाइरहेको थियो । मेरो टाउकोमा उम्रेका हजारौं लामा रौंहरू मन्दिरका ध्वजापताकाहरूझैं आकाशतर्फ मुख फर्काएर फरफराइरहेका थिए । सोचें, ‘ए कपाल तैँले पनि आज खुला हावासँगै बत्तिन पाइस् ।’ शक्ति हुँदो हो त यी कपालका रौंहरू पनि शिरबाट आफ्ना जरा उखेल्दै मबाट बेपत्ता हुँदा हुन् ।
‘भित्र सिटमा बस्नुस् न । खस्नुहोला,’ कन्डक्टर बोल्यो ।


म फिस्स हाँसें । म बसबाट खसे पनि नखसे पनि कसैलाई कुनै असर पर्ने थिएन । न त म खसें भने केही गुमाउनेवाला थिएँ । बस् खसेको भए सायद स्वतन्त्रताको यात्रा यहीं टुंगिन्थ्यो । यो अपरिचित बसको अपरिचित मान्छेलाई पनि मेरो स्वतन्त्रता पचिरहेको छैन । मेरो स्वतन्त्रतामा ऊ आफ्नो जीवनको असुरक्षा बोध गरिरहेको छ । अरूको स्वतन्त्रतामाथि घात गरेर मात्र मान्छेले आफूलाई सुरक्षित ठान्छ ।


बोर्डरको बजारमा बस रोकियो । म बसबाट ओर्लें । सबै जना लाखापाखा लागे । म भने ठिंग उभिएर टोलाइरहें । मलाई कुनै निश्चित तोकिएको ठाउँमा जानु थिएन । यता जाऊँ, उता नजाऊँ भनेर अवरोध पु‌र्‍याउने दुष्ट मान्छेहरू पनि कोही थिएनन् । जहाँ मन लाग्यो त्यहीं जान सक्थें । केही सोचेपछि म सडकको किनारैकिनार दक्षिणतर्फ हान्निएँ । म होटलमा पुगें । होटलको मालिक आफ्ना मैला हातहरूले नोट गन्दै थियो ।


‘मलाई काम चाहियो,’ मैले भनें ।


‘के काम गर्छौ ?’ उसले सोध्यो ।


‘जे काम पनि गर्छु ।’


‘भाँडा माझ्छौ ?’


‘माझ्छु ।’


‘तिम्रो नाम के हो ?’ साहुले सोध्यो ।


‘जुन नामले बोलाए नि हुन्छ । मेरो कुनै नाम छैन ।’
‘मान्छेको नाम नहुने पनि हुन्छ ?’ साहु चकित भयो ।


‘नाम भएर पनि के हुन्छ र साहुजी ? आखिर तपाईंलाई काम चाहिएको हो । कामभन्दा नाम महत्त्वपूर्ण होइन । काम भन्नुस् ।’ मेरो कुराबाट साहु प्रभावित देखियो ।


‘जुन दिन जे भनेर बोलाउन मन लाग्छ त्यै भन्छु । हुन्छ ?’ साहु दंग परिरहेको थियो ।
मैले शिर हल्लाएर भनें, ‘हुन्छ ।’


‘अनि घर कता पर्छ नि ?’ साहु फेरि आफ्नो पारामा फर्क्यो ।
‘तपाईंलाई म कहाँको जस्तो लाग्छ ?’ मैले भने ।


‘यसो जीउडाल, बोलीवचन हेर्दा त पूर्वतिरको लाग्छ त !’ साहुले मेरो शिरदेखि पैतालासम्म नापतौल गर्‍यो ।


‘हो हो त्यतैतिर हो ।’ म बेपत्ता भएको मान्छेको कुनै निश्चित ठेगाना हुने कुरा थिएन । मेरो जवाफले साहुलाई मक्ख बनायो ।


‘अनि जात के होला ?’ साहु फेरि बोल्यो ।


‘तपाईंलाई के लाग्छ म कुन जातको परें ?’


‘खोइ ठम्याउनै मुस्किल भो त ! चुच्चो नाक, चिम्सा आँखा, पुक्क परेका गाला, खैरो कपाल । छुट्याउनै गाह्रो भो त !’


‘तपाईं जे सोच्नुस् मेरो जात त्यही हो,’ मैले भनें ।


साहु खितखित हाँस्न थाल्यो ।


‘के कुरा गरेको साहुजी ? यी बाबु त नेवारजस्ता लाग्छन् । काठमाडौंबाट आएका हुन् कि !’ पसलभित्र बसेको एक ग्राहकले आफ्नो अनुमान पेस गर्‍यो ।


‘अब काठमाडौंबाट यो बोर्डरमा कोही मान्छे काम खोज्न आउला त ? कस्तो नचाइने कुरा गरेको नि !’ साहु बोल्यो ।


‘तपाईंहरू अन्यथा नलिनुहोला । मेरो कुनै एक जात छैन । जातै चाहियो भने पनि म सबै जातको मान्छे हुँ,’ मैले भनें ।
साहु छक्क परेर मलाई हेर्दै थियो ।


म पनि यस कुराले रोमाञ्चित थिएँ कि अब मेरो कुनै जात थिएन । अथवा भनौं मेरा सबै जात थिए । जसले जे सोच्यो मेरो त्यही जात । मेरो कुनै निश्चित ठेगाना पनि थिएन । जसले जहाँको सोचोस् मलाई के को टण्टा ! मेरो विचारमा त म जुन भूमिमा टेकिरहेको हुन्थें, मेरो खास ठेगाना त्यही थियो ।


होटल साहुले मलाई रातको खाना दियो र त्यसबापत जुठा भाँडाहरूको रास पनि दियो । मध्यरातसम्म आकाशका ताराहरू हेर्दै जुठा भाँडाहरू मस्काइरहें । यो दुनियाँमा यसरी अरूले छोडेका जुठा भाँडाहरू माझ्ने म एक्लो ब्यक्ति होइन भन्ने लाग्यो । यो मेरो रोजेको काम थियो । स्वतन्त्र मनले जुठा भाँडा माझ्दा आफ्नो जुत्तामा पालिस लगाएजस्तो आनन्द आउँदो रहेछ । मैले धोएका भाँडाहरूको टलक जूनको टहटहभन्दा कम थिएन । जूनको उज्यालो जति तिख्खर भए पनि ताराहरू चम्किन छोड्दैनन् ।


मिर्मिरेमै उठें । बाहिर सडकमा भुस्याहा कुकुरहरू स्ट्रिट फाइट गरिरहेका थिए । यी कुकुरहरू भुस्याहा कसरी भए ? कुनै घरको पाल्तु नभएकाले भुस्याहा भए । छाडा भए । मैले पनि त घर र समाजको पाल्तु बन्न अस्वीकार गरें । सायद म पनि भुस्याहा भएँ । यो संसारमा आफ्नो मनले जिन्दगी जिउन चाहने प्राणीहरू भुस्याहा नै ठहरिन्छन् सायद !


मैले साहुको होटेल छोडें । म मान्छे भुस्याहा, कुकुर भुस्याहाको वर्गसँग एकाकार भएँ । आफ्नै वर्गको भुस्याहा मान्छेको साथ पाएपछि भुस्याहा कुकुरहरू पनि मान्छे बन्ने भ्रम पाल्दा रहेछन् । भुस्याहा कुकुरहरू ङ्यार–ङुर गरिरहेका थिए । मलाई देखेपछि सुरुमा त्रसित हुँदै पुच्छर खुट्टामुनि लुकाएर कुदे । मैले ओठ गोलो पारेर सिट्टी बजाएँ । हातले इसारा गर्दै भने, ‘यहाँ मसँग आऊ । म दुईखुट्टे भए पनि तिमीहरू चारखुट्टेसँग मिल्न सक्ने भुस्याहा हुँ ।’ कुकुरहरूले टाउको ठाडो पारेर मेरो अनुहारतिर हेर्दै परख गरे, ‘के यो साँच्चै भुस्याहा नै हो त !’


तिनीहरूले मेरो भुस्याहापनप्रति विश्वास गरे । आफ्नो पुच्छर हल्लाउँदै मेरा खुट्टाहरूमा लुटुपुटु गर्न थाले । मैले एकएक गरी तिनीहरूलाई अँगालोमा बेरें । तिनीहरूले मेरो अनुहारमा मायालु चुम्बनको वर्षा गरे । जीवनमा एकैपटक यति धेरै चुम्बन कसैले गरेको थिएन । बेपत्ता हुनुको यो एक मौलिक अनुभव थियो । कुकुरहरूसँग बात मार्दै म सडकमा हिँड्न थालें । बिस्तारै कुकुरहरू पनि छुट्दै गए । जिन्दगीमा सधैं एकनासले कसैले कसैलाई साथ दिंदो रहेनछ ।


म हिँड्दै गएँ । सीमामा पुगेपछि पुलिसले मलाई रोक्यो ।


‘कहाँ जान लागेको हो ?’


‘बेपत्ता हुन ।’


‘को बेपत्ता ? किन ? कसरी ?’


‘म आफैं बेपत्ता हुने ।’


‘तिम्रो पता के हो ?’


‘थाहा छैन ।’


‘आफ्नो पता पनि थाहा छैन ?’


‘छैन । केही थाहा छैन ।’


‘पता छैन के को बेपत्ता ?,’ पुलिस हाँस्न थाल्यो ।


पुलिसले गज्जब कुरा गरेको थियो । मेरो पता छैन । के को बेपत्ता ? पता हुने मान्छे पो बेपत्ता हुन्छ त !!


‘आईडी छ ?’


‘छैन ।’


‘नागरिकता ?’


‘त्यो पनि छैन ।’


‘शैक्षिक प्रमाणपत्र ?’


‘अहँ छैन ।’


‘पालिकाको सिफारिस ?’


‘अहँ त्यो नि छैन ।’


‘अरू कागजात ? नाम, थर, वतन खुलेको ?’


‘केही पनि छैन ।’


‘पहिला पता लिएर आउनू । त्यसपछि बेपत्ता हुनू । पता नभएर नि मान्छे कहीं बेपत्ता हुन्छ ?’


पुलिसले मलाई बोर्डर पार गर्न दिएन ।


यो देशले मेरो व्यथा किन बुझ्दैन ? मेरो पता भएको भए किन मलाई बेपत्ता हुनुपर्थ्यो ?

प्रकाशित : माघ २५, २०७६ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?