निडर- कोसेली - कान्तिपुर समाचार

निडर

अभय श्रेष्ठ

१. ‘बहिनी, आज एक रातलाई बास पाइएला ?’ सुसेलीजस्तो यो सुरिलो स्वर उसलाई कताकता सुनिरहेजस्तो लाग्यो  । कसको स्वर हो ? अहो, यो त उसकै श्रीमान्को जस्तो स्वर थियो, जुन उसले सुन्न नपाएको वर्षौं भइसकेको थियो  ।

तर, उसलाई ‘बहिनी’ भनेको कसोकसो नसुहाएझैँ लाग्यो । यसो ठम्याएर हेरी । निलो जिन्स प्यान्ट, रातो ज्याकेट र गोल्डस्टार जुत्ता लगाएको यो मान्छे अलि ठूलो काँटीको छ । उसको श्रीमान् उत्तिसको रूखजस्तै सुरिलो र हल्का काँटीको थियो । उसको अलमल देखेर त्यो मान्छे हाँस्यो । निलो ट्र्याक–सुट लगाएका जुम्ल्याहाजस्ता देखिने दुइटी केटी पनि हाँसे । होइन, हाँसो पनि उसकै श्रीमान्को जस्तो छ ! तरुनी आइमाई भएर परपुरुषलाई क्वारक्वार्ती हेर्नु पनि भएन । तर, उसलाई त्यो मान्छे हाँसेको हेर्न मन लाग्यो । उसको श्रीमान्को अगाडिका दुइटा कोदालीपाते दाँतको दायाँबायाँका दुई दाँत थोरै अगाडि आएका थिए । त्यसमा गज्जबको हिस्सी थियो ।


‘बहिनी त टोलाउन थाल्नुभयो । हामीले आज एक रातलाई बास मागेको । भोलि बिहानै हिँड्नु छ । दुई दिनदेखि पानीबाहेक केई खान पाका छैनौं । बहिनीले एक रातलाई बास र अलिकति गाँस दिनुभयो भने ठूलो गुन मान्नेछौँ ।’


पानीबाहेक केही खान नपाएको सुन्दा एक्कासि उसलाई छातीमा चसक्क बिझेजस्तो भयो । नजानिँदो पाराले करुणा पलाएर आयो । कठै, के पाउँला भनेर यी भोकभोकै हिँडेका होलान् ? यस्तो लहलह यौवनका केटीहरू किन यो मान्छेको पछि लागेका होलान् ?


‘आउनुस्,’ सँघारबाटै उसले बोलाई । होचो ढोकाबाट निहुरिँदै उनीहरू भित्र छिरे । भर्‍याङमुनि झोला बिसाए । मझेरीमा उसले खोस्टाका दुइटा चकटी र एउटा मुढा राखिदिई ।


‘कमरेड आजाद, तपाईंको कम्मर सारै दुख्या छ, मुढामा बस्नुस्’, दुईमध्ये अलि दुब्ली केटीले लोग्नेमान्छेलाई भनी ।


‘कम्मर त मेरोभन्दा बढी तपैँहर्कै दुख्या होला,’ उसले भन्यो, ‘त्यत्रो हिँडेर आउनुभो । तपैँहरूमध्ये एक जना बस्नुस् !’ तिनीहरूले आफ्नोभन्दा अर्काको दुःखाइलाई महत्त्व दिएको देख्दा उसलाई फेरि श्रीमान्को याद आयो । श्रीमान् बिहान, बेलुकी पूरै दुई घण्टा हिँडेर स्कुल पढाउन पुग्थ्यो । अनि हरेक बिहान जाँगर चलाएर बारीमा कुटो, कोदालो चलाउँथ्यो । त्यति गरेर पनि खाना बनाउने बेला उसलाई सोध्थ्यो, ‘तिमीलाई थकाइ लाग्यो कि ?’


एक्कासि उसलाई त्यो मान्छे अर्थात् कमरेड आजादको कम्मरमा घसीघसी तेल लगाइदिऊँझैँ, जीउभरि मालिस गरिदिऊँझैँ लाग्यो । आजाद हाँसिरहेको थियो । त्यो हाँसेको उसले चोरेर हेरी । त्यसले ओठ फुकाएको कति राम्रो ! तर, त्यसका दाँत राम्ररी देख्न पाइन ।
उसले भित्तामा ठड्याइएको परालको ठूल्ठूला आँख्ला भएका सुकुल फिँजाइदिई ।


‘लौ, यसमै पल्टेर कम्मरलाई आराम दिनुस् ।’


‘भइहाल्यो नि बहिनी, किन दुःख गर्नुभएको ?’


‘एक छिन उत्तानो परेर, हातखुट्टा फालेर पल्टनुस्’, उसले रामवाण सुझाई, ‘एकै छिनमा कम्मर दुखेको निको हुन्छ ।’ आजाद अप्ठेरो नमानी पसारो पर्‍यो । केटीहरू हाँस्न थाले । आजादले उनीहरूलाई पनि उसैगरी पल्टेर आराम गर्न इसारा गर्‍यो । सरम मान्दै उनीहरूले नाइँ भनिरहे ।


ऊ धूवाँ पुतपुताइरहेको चुलामा दाउरा ठोस्न थाली । आगोको झिल्का माथितिर उड्यो । अनि बाँसको ढुंग्राले फुकी । आगो बल्यो । अँगेनामा सिलाबरको डेक्ची बसाली । त्यसमा पानी राखी । चिया, नुन र चिनी राखी । तख्ताबाट झिकेर अदुवा पखाली । सिलौटोमा थिचेर चियामा राखी । पानी स्वाइँयँ गर्‍यो । एकै छिनमा उम्लनै थाल्यो ।


तख्ताबाट गिलास निकाली र चिया खन्याउन थाली । छिनभरमै आजाद घुर्न थालेको थियो । थकित हुँदा उसको श्रीमान् पनि यसैगरी बोल्दाबोल्दै, ठट्टा गर्दागर्दै घुर्न थाल्थ्यो । अनि ऊ श्रीमान्सँग रिसाउँथी । अहिले भने आजादसँग उसलाई पटक्कै रिस उठेन । बरु त्यसलाई पुर्लुङ्ग पल्टाइदिएर जिस्किरहुँझैँ लाग्यो ।


केटीहरूले आजादलाई उठाए । ऊ हाँसी । आजाद पनि हाँस्यो । पातलो ओठ खोलेर खिसिक्क हाँस्ने तरिका पनि ठ्याक्कै उसको श्रीमान्को जस्तै थियो ।


‘लौ, बहिनी त डाक्टरै हुनुहुँदोरहेछ । मलाई त सन्चो भइहाल्यो,’ आङ तन्काउँदै आजादले भन्यो । उसले पहिला आजादलाई नै चियाको गिलास थमाई । आजादको हातसँग उसको हात जुध्यो । त्यसको मनतातो हातको स्पर्श सुमधुर थियो । उसले दुइटी केटीलाई चिया दिन झन्डै बिर्सेकी !


‘अनि, बहिनीको घरमा त कोही देखिनुहुन्न ! श्रीमान्, केटाकेटी, सासू, ससुरा खोइ त ?’ आजादले प्रश्नको मुहान यसरी खोल्यो कि उसको बोलीमा ताल्चा लाग्यो । मझेरीभरि मसानतुल्य सन्नाटा फैलियो । तीनै जना पाहुना चियासमेत पिउन छाडेर आफैं यो वेदनामय सन्नाटामा सहभागी भए । एक्कासि उसलाई छाती पिटीपिटी रोऊँझैँ लाग्यो ।


चिसो दाउराको धूवाँले उसको पीरको आँसु थपिदियो । कुर्ताको फेरले पुछ्न अप्ठेरो भयो । थुक निल्दै आँसु र सिँगान फाल्न बाहिर निस्किई । धारामा हातमुख सफा गरेर भित्र छिरी । अब ऊ भात बसाल्ने तरखर गर्न थाली । पहिला कसौँडी भिजाई । त्यसको पिँध रातो माटोले पोती । अनि त्यसमा खरानी दलेर चुलामाथि बसाली । चामल र पानी त पहिल्यै हालिसकेकी थिई । दुइटी केटीले आलु र मूला पखालेर काट्न सघाए । आजाद लसुनको बिजुला खोसल्न थाल्यो ।

२.
खुसी आफूसग रहुन्जेल मान्छेले चिन्न सक्दैन । गुमिसकेपछि यो कति अमूल्य थियो भन्ने बल्ल थाहा पाउँछ । कुनै विद्वान्ले भनेको यो कुरा उसको जीवनमा ठ्याक्कै लागू भयो । पढे–लेखेको, गाउँको प्रतिष्ठित शिक्षक, जाँडरक्सी नछुने, जुवातास नखेल्ने, कसैको चित्त दुखाएर नबोल्ने श्रीमान्को आत्मसम्मानमा चोट पुर्‍याउने काम उसले खुबै गरी । श्रीमान्ले सोझो मुखले बोल्दा ऊ झर्केर जबाफ दिन्थी । कुनै कारणबिना महिनौँसम्म नबोलेर बस्थी । अहिले उसलाई आफ्ना श्रीमान्को गुण र आफ्नो चोथाले स्वभाव सम्झेर आफ्नै टाउको भित्तामा ठोकूँझैँ लाग्छ ।


उसको श्रीमान्को अपहरण भएको दिन बिहान सूर्यग्रहण थियो । श्रीमान्ले भनेको थियो, ‘आज सूर्यग्रहण छ ।’


‘भए मैले के गर्ने त ?’ उसले टिम्मुर्किंदै प्रतिप्रश्न गरेकी थिई ।


‘चाँडै भात पकाएर खाने, म स्कुल जाने, तिमी घरमै आराम गरेर बस्ने ।’


‘यो मान्छे त खानै नपाएर मरेको रहेछ,’ धारे हात लगाउँदै उसले भनेकी थिई ।


त्यसपछि चित्त कुँडाएर खानै नखाई श्रीमान् स्कुल गएको थियो । दोस्रो पिरियड पढाइरहँदा दुई जना युवकले उसलाई बाहिर बोलाए । बाहिर अरू दुई जना थिए । तिनीहरूले उसको हात पछाडि फर्काएर टनटनी बाँधिदिए । विद्यार्थी र शिक्षकले तिनीहरूलाई घेरा हाले । एउटा केटोले रिभल्भर निकाल्यो र आकाशतिर फायर गर्‍यो । कुखुराको चल्लाझैँ दच्किएर सबै जना स्कुलको कुनामा लुक्न पुगे । त्यसपछि खेतको आली र कान्ला उकाल्दै उसलाई लिएर पूर्वतिर जंगलमा लगे । विद्यार्थी, शिक्षक र सारा गाउँले उसको सज्जनता र न्यायप्रियताको गुण गाएर थाक्दैनथे । त्यस्तो मान्छेलाई हात बाँधेर जंगलतिर लगेको घटनाले पूरै गाउँ शोकसन्तप्त थियो । के उसको श्रीमान्ले माओवादीविरुद्ध सुराक गरेको थियो ? कि भित्रभित्रै जनयुद्धमा संलग्न थियो र माओवादीले गद्दार घोषणा गरेको थियो ? त्यस्तो कुनै कुरा कसैलाई थाहा थिएन ।


त्यसयता दस वर्ष बित्यो, उसको श्रीमान्को कुनै पत्तो छैन । कोही भन्छन्, माओवादीले छपक्कै काटिदिए । कोही भन्छन्, पल्लो गाउँमा सेनासँग भिडन्तका क्रममा ऊ पनि मारियो । गाउँकै एउटा केटाको कुरा पत्याउने हो भने वरिपरिका गाउँले भेला पारेर अपहरण गरेको पाँचौँ दिन ऊसहित अन्य दुई जनालाई कालो कपडाले मुख छोपेर रूखमा बाँधी बन्दुकधारीहरूले गोली ठोकिदिए रे । रे, रे, रे, रे । मात्रै रे । देखिजान्या कसैले होइन । न सरकारले, न विद्रोहीले उसको हत्याको सूचना दिएको छ । अनि यस्तो कुरा लासै नदेखी कसरी पत्याउनु ?


‘मुख कसैले देख्या होइन, कपडा हेर्दा मेरै बूढो हो भन्थे । तर, त्यतिको भरमा कसरी पत्याउनु ? मन त मान्दै मान्दैन,’ लामो सास तान्दै उसले भनी, ‘यत्रो वर्षसम्म नआउँदा मरिसक्योजस्तो पनि लाग्छ । तर भित्री मनमा एक दिन मेरो बूढो पक्कै फर्कन्छजस्तो लाग्छ ।’
‘धैर्य गर्नुस् बहिनी, तपाईंको श्रीमान् अवश्य फर्कनुहुन्छ ।’


‘तपैँले देख्नुभको छ र ? कसरी भन्नुहुन्छ ?’


‘होइन, बाँचेको भए अवश्य फर्कनुहुन्छ भन्न खोजेको । किनभने आन्दोलनकारी दल र विद्रोहीबीच युद्ध बिसाउने सहमति भइसकेको छ ।’


भात अघि नै पाकिसकेको थियो । आलु र मुलाको झोलिलो तरकारी भकभकी उम्लँदा बिर्कोलाई धक्का दिइरहेको थियो । उसले सिलौटामा नुन, खुर्सानी र टिम्मुर पिँधेर अचार बनाई । अनि तिनटा सिलाबरको थाल फिँजाएर भात पस्कन थाली ।


‘बूढो हराएको छ महिनापछि काखे नानीलाई निमोनिया भयो । बल्ल डेढ वर्ष भएकी थिई । सदरमुकाम पुग्नै दुई दिन हिँड्नुपर्ने,’ पाहुनालाई थाल सारिदिँदै उसले भनी, ‘भोलिपल्ट अस्पताल लान्छु भन्दाभन्दै अघिल्लो राति नै बिती ।’


उसले आँखा पुछी । तीनै जना पाहुनाबीच सन्नाटा यसरी फैलियो, तिनले सुपुसुपु भात निलेको आवाज
प्रस्टै सुनियो ।


‘दुःख पनि कति सुनाउनु, छोरोको पीरैपीरले दुई वर्षभित्र सासू–ससुरा पालैपालो बितिगए,’ आँखीझ्यालबाट बाहिरतिर औँल्याउदै उसले भनी, ‘त्यसपछि बुढीभन्ज्याङको यो


धसिङ्गारे पहाडजस्तै म एक्ली छु । यही घर अघिल्तिरको बारी जसोतसो खनी, खोस्री गर्छु । बाँकी सबै खेतबारी
बाँझै छन् ।’

३.
आजादलाई उसले मझेरीमै ओछ्यान लगाइदिई । अनि केटीहरूलाई माथि कोठामा जाऊँ भनी । केटीहरूले बिहान चाँडै हिँड्नुपर्ने भएकाले मझेरीमै सुत्न जिद्दी गरे । आजादलाई त उसले आफ्नै डस्ना, सिरक दिएकी थिई । बाँकी अब एउटा रग, आफ्नै दोलाईं र तन्नाबाहेक केही थिएन । केटीहरूलाई उसले त्यही ओछ्याइदिई । तिनीहरू आफ्नै झोलाको सिरानी बनाएर सुते । अनि माथि डस्ना र सिरकबिनाको खाटमा ऊ गुन्द्रीमाथि गुडुल्को परेर सुती ।


आजाद सायद निदाइसकेको थियो । केटीहरू गुनगुन गरिरहेका थिए । सिरक थिएन । त्यसमाथि मन त कवाज खेल्ने टुँडिखेल नै भइरहेको थियो । यस्तोमा कसरी लागोस् निद्रा ! ननिदाई एक घण्टा बित्यो । दुई, तीन, चार र पाँच घण्टा पनि छर्लंग बित्यो ।
ननिदाई त्यसै सुतिरहनुभन्दा पाहुनालाई खाजा बनाइदिनुपर्‍यो भनेर उठी । तिनको निद्रा नखलबलियोस् भनेर बिरालाको चालले भर्‍याङको खुड्किला चाल्दै मझेरीमा ओर्ली । भर्‍याङमुनि नै आजाद शान्तिपूर्वक निदाइरहेको थियो । केटीहरू भने झोलाको सिरानी छाडेर एउटी पूर्व र अर्को पश्चिमतिर टाउको पारेर असरल्ल सुतिरहेका थिए ।


उसले बिस्तारै ढोकाको चुकुल खोली । चर्पी गएर फर्कंदा तीनै जना जाने तर्खर गरिरहेका थिए ।


‘लौ त बहिनी, अब हामी जान्छौँ । तपैंलाई धेरैधेरै धन्यवाद छ । बरु, पैसा कति दिनुपर्ला ?’ कर गर्दा पनि पाहुनासँग पैसा लिन उसले मानिन । आजादले नमस्कार मुद्रामा हात जोड्यो । एक्कासि उसलाई घाँटीमा केही अड्केजस्तो, पाएको केही अमूल्य वस्तु फेरि हराएजस्तो लाग्यो । उसले आजादको जोडिएको हात च्याप्प समाती । आजाद मुसुक्क हाँस्यो । बल्ल दाँत राम्ररी देखियो । त्यसका दाँतमा पनि उसको श्रीमान्को जस्तै गजबको हिसी थियो ।


‘यतै बस्नुस् न, किन जानुहुन्छ ?’ अहो, उसको मुखबाट यो निस्कियो !


‘हजुर ? के भन्नुभयो ?’ आजादले हात छुटाउँदै भन्यो ।


‘चिया खाएर जानुस् । म खाजा बनाइदिन्छु, लिएर जानुहोला,’ उसले आफूलाई सच्याई ।


‘तपैँले जे गर्नुभयो, त्यही लाख भो बहिनी ! लौ त राम्ररी बस्नुस् । फेरि फेरि बाटो पर्दा अवश्य छिरौँला ।’


बाहिर अँध्यारोमा तीनटा छाया निस्किए र छिनभरमै गायब भए । अब यो मध्यरातमा के गर्नु थियो र ! आग्लो लगाएर ऊ आजाद सुतेको ओछ्यानमै सुती ।

४.
बिउँझँदा माघे तुसारो गलाएर घाम आँगनमा ओर्लिसकेको थियो । उत्तरतिर जुगल हिमाल सुनझैँ झलमल्ल चम्किरहेको थियो । तलतिर ठूलो हल्लाखल्ला सुनियो । मानिसहरू दगुर्दै बारीको पाटातिर ओर्लिरहेका थिए । ऊ पनि तिनकै पछाडि दगुरी । सुक्खा बारीको बकैनाको लहरै तिनटा रूखमा दायाँबायाँ दुई युवती र बीचमा एउटा लोग्नेमान्छे बाँधिएका थिए । तीनै जनाका शिर लत्रिसकेको थिए ।


को थिए तिनीहरू ? हरे, यिनीहरू गए राति उसकै मझेरीमा बास बसेका लडाकु थिए । उसको छाती गह्रौं भयो । एउटा सिपाही बन्दुकको कुन्दाले तिनीहरूको पेटमा घोचिरहेको थियो, जहाँबाट पानीको मूल फुटेझैँ रगत ओर्लिरहेको थियो । सेनाले तिनको हातको डोरी फुकाए र बारीमा सुताए ।


केटीहरू शान्त भइसकेका थिए । आजादचाहिँ अझै थरर्र कामिरहेको थियो । एउटा सिपाहीले त्यसको टाउकोमा तीनपल्ट जोडले दाउरोको चिर्पटले हिर्कायो । टाउको फुट्यो । रगत बग्यो । एकै छिनमा ऊ पनि शान्त भयो । एक्कासि उसलाई आफ्नो श्रीमान् फर्किआउने अन्तरहृदयको सपना यहीँ पटाक्षेप भएझैँ लाग्यो ।


क्रूरताको यो हेरिनसक्नु दृश्य देखेर अरू महिलाजसरी उसले रुने, चिच्याउने काम गरिन । बरु, त्यही घटनादेखि उसको मनबाट डर सधैँका लागि गायब भयो ।
@avayashrestha

प्रकाशित : माघ २५, २०७६ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्

‘मेरो देश कुन हो ?’

टिप्पणी
अभय श्रेष्ठ

यो ‘खोल्देऊ’ कथा पढ्दा संवेदनशील जो कोही पाठकलाई आँसु थाम्न मुस्किल पर्छ । छ्यांगै नखोलिएकोले यस कथाको अन्त्यको व्याख्या पाठकपिच्छे अलग अलग हुन सक्छ ।

शब्दमा वर्णन नगरी त्यो दृश्यले सकिनाको जिन्दगीमा के विपत् आइलागेको थियो भन्नेचाहिँ प्रस्ट पार्छ । त्यसकै लागि अश्लीलताको आरोपमा कथाकारले अदालतमा बयान दिनुपर्‍यो । तर, कथा अश्लील थिएन, बरु विपत्मा परेका युवतीको अस्मिता हरण गर्ने अश्लील समाजप्रति तिखो व्यंग्य थियो । हो, कथाकारले एक ठाउँमा केटी बेहोस भएर रेलको लिकनजिक बेहोस अवस्थामा भेटिएकी उल्लेख गरेका छन् ।

स्ट्रेचरमा रहेको उसको शरीरलाई चाहिँ लास भनेका छन् । यसले प्रश्न उठ्छ, सकिना जिउँदै थिई कि मृत ? मृत हो भने डाक्टरले उसको बाबुलाई झ्यालतिर संकेत गर्दै ‘खोल्देऊ’ भन्दा उसले कसरी सलवार खोलिदिई ? ज्युँदै थिई भने नाडी छामेर डाक्टरले किन ज्युँदो भएको संकेत गरेन ? प्रश्नजस्तो उठे पनि अन्तिम दृश्यले बलात्कृत युवतीको अन्तरमा लुकेको असीम भयलाई छताछुल्ल पार्छ ।


सआदत हसन मन्टो (१९१२ मे ११– १९५५ जनवरी १८) मुसलमान समुदायका त्यस्ता महान् कथाकार हुन्, जसका लागि मुसलमान वा हिन्दु होइन, ‘मान्छेले मानवीय उच्च गरिमासाथ बाँच्न पाउने हक’ सबैभन्दा महत्त्वपूर्ण थियो । कथामार्फत सदैव उनले यसैको पक्षधरता देखाए । खासगरी भारत विभाजनपछि त्यहाँका बासिन्दाले भोग्नुपरेको, विपत्ति, हिंसा र भयको मनोविज्ञानलाई उनले जीवन्त चित्रण गरे ।

परम्परावादी समाजले भारत स्वतन्त्रताअघि उनका तीन कथा ‘धुवाँ,’ ‘बु’ र ‘काली सलवार’ तथा भारत विभाजनपछि पाकिस्तानमा अन्य तीन कथा ‘ठन्डा गोस्त’, ‘खोल दो’ र ‘उपर निचे दरमियान’ लाई अश्लीलता प्रयोग गरेको आरोपमा मुद्दा लगायो । उनले अदालतमा प्रस्टीकरण दिनुपर्‍यो । एकपल्ट त जरिवानै तिर्नुपर्‍यो । अश्लीलताको आरोपमाथि उनको प्रस्टीकरण सधैँ एउटै हुन्थ्यो, ‘लेखकले तब मात्र कलम चलाउँछ जब उसको संवेदना घाइते हुन्छ । म अश्लील लेखक होइन, कथा लेखक हुँ ।’


समाजले कहिल्यै महत्त्व नदिएका दलित, उत्पीडित र सीमान्तकृत समुदायको दुःख, पीडा र बाध्यतालाई मन्टोका कथाले इमानदारीपूर्वक प्रकट गर्छन् । उनी तिनको मनस्थितिका अनुद्घाटित सत्य उद्घाटन गर्छन् जहाँ ठूला मनोवैज्ञानिक पनि पुग्न सकेका हुँदैनन् । ती खासमा मान्छेलाई बाँच्ने कला सिकाउने कथा हुन् । उनका अधिकांश मुख्य पात्र यातना भोगेका र विपत्मा परेका मान्छे हुन् । भौतिक स्थिति कमजोर भए पनि ती आफ्ना मानवीय आकांक्षाका बलमा कट्टरपन्थविरुद्ध अन्तिम क्षणसम्म लडिरहन्छन् ।


पन्जाबको लुधियानामा जन्मेका मन्टो सन् १९३६ मा एउटा फिल्मी पत्रिका सम्पादन गर्न बम्बई पुगेका थिए । त्यसैबेला उनले इम्पेरियल फिल्म कम्पनीका लागि पटकथा र संवाद लेख्न थाले । त्यो समय मन्टोका जिन्दगीका सबैभन्दा सुनौला दिनहरू थिए । त्यसै बेला उनका सबैजसो कथा र निबन्धका किताबहरू छापिए । सन् १९४७ अगस्ट १४, रातको १२ बजे भारत विभाजन भयो । पूरै देशमा भागदौड मच्चियो । जताततै हिन्दु र मुसलमानबीच काटामार चल्यो । उनका पत्नी र बच्चाहरू परिवारका अन्य सदस्यसँगै पाकिस्तान गए । कुनै पनि हालतमा बम्बई छाड्दिनँ भनी मन्टो जिद्दी कसेर बसिरहे ।

त्यसताक उनी बम्बे टाकिजमा काम गर्थे । कट्टरपन्थी हिन्दु समुदायले बम्बे टाकिजको मालिकलाई ‘सबै मुसलमान कर्मचारीलाई निकाल्नू, अन्यथा सारा सम्पत्ति नष्ट भएको आफ्नै आँखाले हेर्न तयार हुनू’ भनी धम्की दिए ।

मन्टोमाथि यो आदेशको असर अत्यन्त घातक भयो । उनी भत्किएको सपना र घाइते मन लिएर लाहोर गए । बम्बईमा आखिरी दिनहरूको सम्झना गर्दै उनले लेखेका छन्, ‘भारत र पाकिस्तानमध्ये मेरो देश कुन हो ? यो तय गर्नु मेरा लागि असम्भव छ । बडो निर्दयतापूर्वक जसरी रगतको खोलो बगाइँदै छ, त्यसका लागि को जिम्मेवार छ ?’ त्यही पीडाले उनी अत्यधिक रक्सी पिउन थाले ।

अहमद नदिम कासमीको शब्दमा कहानीका यी पागल जादुगरलाई अन्ततः कलेजोको क्यान्सर भयो र चेखब वा मोपासाँजस्तै ४३ वर्षको अल्पायुमा उनको मृत्यु भयो । जीवन जति छोटो भए पनि ‘टोबा टेकसिंह’, ‘ठन्डा गोस्त’, ‘दो गड्ढे’, ‘गुरमुखसिंह की वसियत’, ‘खोल दो’, ‘नंगी आवाज’, ‘सुरमा’, ‘टिटवालका कुत्ता’ लगायत आफ्ना कालजयी कथामार्फत उनी अमर छन् ।

प्रकाशित : माघ ४, २०७६ १०:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×