गीत खाने, गीतै लाउने- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गीत खाने, गीतै लाउने

मगरको रैथाने गीत जोंमारे पनि हो । फागुन महिनाका रात रोल्पा जोंमारेमय हुन्छ । भाबाङलगायत केही गाउँमा हिउपी गाउने चलन थियो, जुन अहिले लोपप्रायः छ ।
नवीन विभास

‘कोक्करे को कोलोलो ऽऽऽ !’
भाले बासेपछि जेई उठ्छिन् । चिचिले सनाई बजाउँदै जेईलाई पछ्याउँछु । पिठ्युँमा बोक्छिन् । चाखी नार्छिन् । चाँखी संगीतमा पिठो होइन, गीत पिँध्छिन् ।
चाँखी धुन गाँसिएको जेई गीत लोरी सुनेजसरी निदाउँछु ।


चाखी पिसिसक्दा चुङचुङ्ङे फ्वाजु आउँछन्, ‘अँ काइँली फुबू ! जाने होइन पानी भर्न ?’ लगत्तै सेला धमिनी फुबू, भालकुटेनी नाना पनि गाग्रो पिँधमा बचेको पानी र खोलामा पानी भर्ने नाल्चे रित्तो गाग्रोसँग ठोकिँदाको धुनसहित पुग्छन् । बर्कोलाई जेई मादलको बर्ता बनाउँछिन् । मलाई मादल । बर्को बर्ता गलामा भिर्छिन् ।

रित्तो गाग्रोमा बचेको पानी कोल्च्याङकोल्च्याङ र गाग्रोमा नाल्चे ठोकिँदाको कट्याङकुटुङ टाङटुङे तालमा पानी भर्ने झाँक्रीखोला पुग्छौँ । करिब आधा घण्टा तेर्पाएतेर्पाए बाटो भएर झाँक्रीखोला पुग्दा झुलामा झुलेजसरी निदाउँछु । पानी लिएर फर्केपछि खाजा भुट्छिन्, खोर्ल्याङखोर्ल्याङ सांगीतिक लयमा । भुटेको तीन–चार घान मकैमा एक घान भट्ट मिसाउँछिन् । गादामा खाजा राखेर कहिले सोत्तर लिन राङ्ङे बोक्छिन्, खर्सुको घाँस काट्न कहिले घुर्रे र बर्रे बोक्छिन् । कहिले कुख्रागर्खने लाग्छिन् । कहिले डल्लुगैरा ।
ती घना जंगलमा सुरु हुन्छ— दाउरा काटेको टाक्कटुक्क, घाँस काटेको सार्रसुर्र र सोत्तर सोरेको सारमसोरम सांगीतिक धुन । जेई गला कुनै बेला हलिसाले गाँस्छ त कुनै बेला जेई गलाले सिङरिना गला ।


साँझपख स्यान्गोरीबाट आउने बतासमा बतासिँदै बाबैले गुनगुनाउने ‘साइली जी’ सँगै निदाउँछु ।
मेरा ‘बच्पन’ दिन जेई र बाबैले गाएका गीतसँग चल्छ । मेरा ‘बाला’ रात जेई र बाबैले लाएका गीतसँगै ढल्छ ।
यो म सानो छँदाको कुरा हो ।


न्वारानमा सबभन्दा ज्येष्ठ आमा सामेल हुन्छिन् । ठूलो थालमा पस्केको भातमा पकाएको भालेको साप्रासम्मको खुट्टा उभ्याउँछन् । खुट्टा हातमा लिएर नङले ‘माया पात’ घरी दायाँ कानतिर त घरी बायाँ कानतिर लगेर कोर्दै गीतिलयमा बाँच्छन् । एकखाले गीतिलय । मगर बस्ती मेलापात गीत तालमै गर्छ । धानखेतमा गीत रोप्छ । चाँखी र घट्ट पिस्दा गीत गाउँछ । हाट जाँदा गाउँछ । ठकान बस्दा गीतमै माया लाउँछ । गीतमै घरबार जोड्छ ।


जन्म र बिहेमा मात्र होइन, मगर घाटयात्रा पनि गीतकै तालमा हुन्छ । जुन शोकगीत ‘सय साउन’ बराबर हुन्छ । लाग्छ, दुनियाँमा योभन्दा विरही गीत अरू सायदै होलान् ! सास फेर्न छाडेपछि घरमा र घाट लग्दा पनि गाउँछन् । ‘ठाट रुवाउने’ भन्दै मृतक सुतेको ठाउँमा साँझपख गाउँछन् । छिमेकी भेला हुन्छन्, रातमा । भन्छन्, ठाट सुत्ने ।

आजबट सेउरे(भूतजस्तो) भइस्, हुँ ऽऽऽ
सम्झेपानी गएस्, हुँ ऽऽऽ
सम्झेपानी खाएस्, हुँ ऽऽऽ
तेरो ज्हान परिवार सप्पैलई सम्झेस्, हुँ ऽऽऽ
बिर्सेपानी गएस्, हुँ ऽऽऽ
बिर्सेपानी खाएस्, हुँ ऽऽऽ
तेरो कुलकुलामी, जहान परिवार र इष्टमित्र सप्पैलई बिर्सेस्, हुँ ऽऽऽ ।

रोल्पा जंकोटकी ६५ वर्षीया खिमकुमारी पुनले सुनाएको यो शोकगीत गाउँमा सकिएका छन् । गाउने जति बाटो लागेपछि गाउँबाट गीतबिनै मगर घाट जान थालेका छन् । पैसरी नाच गुरु र अगुवालाई घाट लग्दा झ्याली, मादल, दौरी, झ्याली, पैजन धुन पनि मलामी थपिन्छन् । शोकगीतलाई रुकुम मैकोटतिर लाह्वैसिने, रोल्पा उवामा बाटो खुलाउने र मेरो गाउँ जैपामा अह्राउने भन्छन् भने पूर्वी रुकुमकै तकसेरातिर क्यारमा ।


अनुसन्धाता कृष्णप्रसाद पौड्यालका अनुसार अल्पसंख्यक आदिवासी बोटे मर्दा शोकगीत अनिवार्य छ । तर, नयाँ पुस्ताले सिकेको छैन । महाश्वेता देवीको कथावाल कल्पना लाज्मीले निर्देशन गरेको रुदाली फिल्मले घरानावाल मर्दा रुने रुदाली ‘हायर’ गर्ने संस्कृति नै देखाएको छ ।


पहिलो र दोस्रो विश्वयुद्धमा पनि मगर बस्ती युवाविहीन हुन्छ । राज्यको मूलधारबाट पाखा पार्न र आफ्नो सत्ता जोगाउन राणा सरकारले मगरलाई बेचेर ‘लाहुरे संस्कृति’ बसाल्छ । जुन संस्कृति आँधीले अहिलेसम्म पनि मगर बस्ती लम्पसार सुतेकै छ ।
लाहुरे संस्कृति नियतिले मगर गोर्खा राइफल्स, आसाम राइफल्स मात्र छैनन्, दलाई लामाको पनि सिपाही छन् । सिंगापुर पुलिस र बेलायती लाहुरे छन् । ब्रुनाईमा गार्ड छन् । राणा शासकले मगर बेचबिखन थालेपछि सुरु भएको लाहुरयात्रा ‘समाजवाद र समृद्धि’ वाल केपी ओली सरकारसम्म जारी छ ।


मगर रगत र पसिना बेलायती साम्राज्य फैलाउन र जोगाउन उत्तिकै बगेको छ । इराक, अफगानिस्तान भिजेको छ । कश्मीरमा भर्खरै गोर्खाका अर्जुन थापामगरले रगत बगाएका छन् । लाहुरिन बचेका मगर कालापार अर्थात् भारतमा ‘गोर्खे बाँदर’ छन् । कालापार तन्केर अहिले अरब र मलेसिया पुगेको छ । पृथ्वीनारायणले गोर्खा विस्तारमा जसरी माओवादी विस्तारमा पुष्पकमल दाहालले मगर रगत र पसिना ‘हदै’ प्रयोग गरेका छन् । ‘जनयुद्ध’ मा सहभागी, मारिने र अंगभंग मगर संख्या सबभन्दा बढी छ । भोट—बर्मेली परिवारको मगर भाषामा बाह्र मगराती भाषा (ढुँट), अठार मगराती भाषा (खाम/पाङ) र काइके भाषा गरी तीन भेद छन् । भाषा र संस्कृतिसँगसँगै जोडिएर हिँड्छन् भने संस्कृतिसँग गीत ।

बाह्र मगराती मगर म्युजिक
धनकुटासहित कोसी क्षेत्रका पूर्वी नेपालमा मौलिक मगर गीत र नाच छ । जसको नाउँ हो, हुर्रा । पूर्वबाट पश्चिम हान्निदै धादिङ, गोर्खा, लमजुङ, तनहुँ, स्याङ्जा आदि भेग पुगेपछि सुनिन्छ, सोरठी । गाइन्छ, ख्याली ।
नेपाल मगर सांस्कृतिक संघका संस्थापक अध्यक्ष खर्कबहादुर बुढामगरका अनुसार तनहुँको रिसिङघिरिङमा सिर्जेको मगर गीत नै कौडा हो । जुन गीत र नाच नेपालभित्र र बाहिर हुने सांस्कृतिक कार्यक्रममा सबभन्दा बढी प्रदर्शन हुन्छ ।
पाल्पा पुगे सुनिन्छ, सोरठी र ख्याली । गण्डक क्षेत्रका मगर समाजमा घाटु घन्किन्छ ।

अठार मगराती म्युजिक
मूलतः राप्ती क्षेत्रमा अठार मगराती भाषा खाम/पाङ बाहुल्य छ । बसाइँसराइले भने राप्तीको पश्चिम दाङ, भेरीको बाँके र सुर्खेतका केही स्थानमा बाह्र मगराती भाषा (ढुँट) पनि बोल्छन् । यी भेगमा सबभन्दा बढी पैसरी नाच र गीत चल्तीमा छ । खर्कका अनुसार पैसरीमा १० प्रतिशत गीत हुन्छ, बाँकी नाच । रापतीका रोल्पा, रुकुम, सल्यान, दाङलगायत सुर्खेत, जाजरकोटमा पनि पैसरी प्रचलित छ । प्यूठान र दाङमा सोरठी अन्य समुदायमा पनि सरेको छ ।


मगरको अर्को रैथाने गीत हो, जोंमारे । रोल्पाका फागुन महिनाका रात जोंमारेमय हुन्छ । रोल्पाको भाबाङलगायत केही गाउँमा हिउपी गाउँछन् । जुन अहिले लोपप्रायः छ । रोल्पा र रुकुमका मगर समाजमा भूमेमा गाउँछन् । नाच्छन् । जसलाई नोकोबाङे, बलपूजा पनि भन्छन् । रापती भेगका वनपाखामा साहिली जी, साइली बरै, लालै, स्यानीमाय, ठारी भाका, उत्रा, फाँक, ख्याली आदि गीत गुन्जिन्छन् ।


उत्रा डाँडावारिपारि हुँदा गाउने प्रश्नोत्तर गीत हो । सल्यानतिर ओठे जवाफ नामक गीत पनि गाउँछन् । अर्को मगर गीत हो, फाँक । कतिपय ठाउँमा पैसरी नाचेपछि फाँक गाउँछन् । बनगार क्षेत्रमा सिर्जित टप्पा पनि मगर गाउँछन् । नाच्छन् । रुकुम, सल्यान, दाङ, जाजरकोट, सुर्खेतमा प्रचलित सिङारु पनि मगर गाउँछन् । नाच्छन् । माओवादी ‘जनयुद्ध’ पछि पैसरी, सिङारु, सोरठी र सरङ्ङे महिला पनि नाच्न/गाउन थालेका छन् । म्याग्दी, बागलुङतिर गाउँछन्— सालैजो, यानीमाया, सुनीमाया, मारुनी, नचरी ।
खाम भेगमा मगर म्युजिक मात्र छ । गीत गेडा खस/नेपालीमा फल्छ । कसरी यस्तो भयो ? खोजको विषय छ ।

तराली मगर म्युजिक
कर्णाली डोल्पाका तराली मगरले रुङ पर्वमा गाउने गीत हो, बालु । पुस–माघमा झन्डै एक महिनामा आउने रुङमा बालु गाउँछन् । अनुसन्धाता जगबहादुर बुढामगरका अनुसार घाम अस्ताएपछि गाउँको चौरमा बसेर बालु गाउँछन् ।


राजा महेन्द्र उदाएपछि सुरु हुन्छ, नेपाली ‘सुगम’ संगीत । सरकारी मलजल पनि थपिएपछि हलक्क हल्कन्छ । रेडियो नेपाल र नेपाल टेलिभिजनले टेको लाउँदै ‘सुगम’ भनिने आधुनिक गीतले सहर कब्जा गर्छ । अरुण थापाको गलाबाट उही सुगम संगीत सुसेलिन्छ । विश्वव्यापी बीबीसी सर्भेमा सातौँ नम्बरमा पर्छ, ‘ऋतुहरूमा तिमी ...।’

‘लाउरेको रेलीमाइ फेसनै राम्रो ...’ वाल मास्टर मित्रसेन थापाको गीत, संगीत र गलाले रेडियोमा घन्केपछि संगीत साथ दिन राम थापा आउँछन् । थापालाई पछ्याउँछन्, राजकुमार बगर, कुमार थापाहरूले । लोकगीतमा मित्रसेन पछ्याउँदै धनकुमारी थापा, तारा थापा, कविता आलेहरू आउँछन् । खर्कबहादुर तथा लीलावती बुढामगर, खड्ग गर्बुजामगर, शिवा आले, कृष्ण थापा, कृष्ण
पुनहरू थपिन्छन् ।

मित्रसेन गला गाँस्न अरुण थापा पुग्छन् । तारा थापा, जगदीश समाल, त्रिलोक राना, वेदु सारु, हेमन्त राना, गीता थापा, रवि थापाहरू थपिन्छन् । मित्रसेन गीत लेखनमा शिवशंकर थापा आउँछन् । थापापछि सुरेन्द्र राना, बुँद राना, राजेन्द्र सारा, करुण थापा, भावेश भुमरी, वसन्त वित्यासी थापा, टीकाराम उदासीहरू देखापर्छन् । यसरी लोक र ‘सुगम’ वाल मगर ‘पल्टन’ खडा हुन्छ । खस/नेपाली भाषामा साधनारत संगीतसाधकबाहेक मातृभाषा ढुँट र खाम/पाङ भाषामै लेख्ने, संगीत हाल्ने र गाउने मगर पनि छन् ।
‘लालगला’ वाल अर्को पल्टन खडा हुन्छ । जसमा छन्, पूर्ण घर्तीमगर, चिरन पुन, नीलिमा पुन, मालबहादुर बुढामगर ‘महेश आरोही’, डम्बर बुढा ‘विप्लव’, कुलमान बुढामगर, झन्कार बुढामगरहरूको प्लाटुन । ‘जनयुद्ध’ कालीन मगर सांस्कृतिक प्लाटुनले त मगर भाषामै गीत पार्छ । गाउँछ । नाच्छ । देशभित्र वा बाहिर हुने महोत्सवमा कौडा हुन्छ नै । माओवादी सांस्कृतिक कार्यक्रममा पनि सायदै छुटेको थियो कौडा ।


गाउँदागाउँदै मगर पिरती गाँस्छन् । गाएरै घरबार जोड्छन् । गीतमै सवालजवाफ गर्छन् । गर्छन्, तर्कविर्तक । सायद यसैले त छैनन्, मगर गीत ‘स्लो मोसन’ का ? ‘रसैसँग बस्ने रसैसँग गाउने हो । यसरी गलाको कला देखाउने हो,’ लोकगायक खर्कबहादुर बुढामगर भन्छन्, ‘क्लासिकलमा विलम्बित लय भन्छ । विलम्बित गतिमा कलात्मक संगीत खुबी भएकाले गाउँछन् । खास कला त्यस बेला देखिन्छ ।’गीतमा तर्क हुन्छ । प्रश्न हुन्छ । जवाफ दिन समय चाहिन्छ । ‘जवाफी फायर गर्न समय त चाहियो नि,’ खर्क तर्क छ ।
स्लो मोसनको हुनु मगर ‘नेचर’ सँग पनि जोड्न सकिन्छ । ‘रसीबसी मेलैसित काम गर्ने’ र ‘पक्का’ काम गर्ने मगर नेचर हो ।
रोल्पातिर गाइने ‘स्यानीमाय’ बाहेक सायद सबै मगर गीत ‘स्लो मोसन’ का छन् । लेखक हेमन्त विवश सुनाउँछन्, ‘आदिवासी जनजातिका गीत मात्र होइन, कर्णाली र सुदूरपश्चिमका खसआर्यन देउडा र अन्य गीत पनि ‘स्लो मोसन’ कै छन् ।’


भन्छन्, गीतको जन्म नै श्रमबाट भएको हो । र, पहिलो गीति सर्जक सर्जक मजदुर हुन् । सायद यसैले होला, श्रमप्रेमी आदिवासी मगर नसानसामै रगतको मारीखोला बग्छ । मगर जीवन गीतले थालेको देखिन्छ भने गीतैले बिट मारेको । मगरको आफ्नो भन्नु यही म्युजिक न छ । मगर रगत, पसिना र बलिदान त स्वदेशी/विदेशी शासक नाममा नामसारी छ । स्वदेशी विद्रोही अर्थात् माओवादी नाममा पनि ।

आक्कझुक्कल ‘नेपथ्य’ ले आदिवासी म्युजिकमा ‘बजार’ बालेर बजार निस्कन्छ । शासक संस्कृतिसँग सांस्कृतिक भूमण्डलीकरण ‘खपुटा’ भएपछि आदिवासी मगर म्युजिकको के कुरा ! बनसाङ्लाले घरसाङ्ला खेदेजसरी रैथाने गीतसंगीत अर्थात् नेपाली सुगन्ध बोकेका गीत वनपाखामै बिलाएका छन् । शासक खलकीय बाहुन बालन, रोइला या चुड्का भजन, संगिनीले पनि ‘हावा’ खाएको बेला कर्णाली र सुदूरपश्चिमका देउडा र रैथाने आदिवासी गीत ‘हवा’ का के हब्बा !
गीतै खाने गीतै लाउने मगर, गीत गलाबाट नै सास फेर्ने आदिवासी मगर गीत नभए कसरी बाँच्लान् ? आफ्नो भन्नु मगर म्युजिक पनि नरहे मगरको के हाल होला ? कस्तो होला, म्युजिकबिनाको
मगर ? म्युजिकबिना पनि मगर मगर नै रहला त ?
@NabinBibhas

प्रकाशित : माघ ११, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्

किन मासियो सुन्तला बगान ? 

वार्षिक १० लाख रूपैयाँसम्म आम्दानी गरेका कृषक बगान मासिएपछि आम्दानीविहीन बनेका छन् ।
विप्लव भट्टराई

(इलाम) — पकेट क्षेत्र’ मै सुन्तलाका बगान मासिँदै गएको छ ।  ‘सिट्रस ग्रिनिङ’ रोगका कारण रोङको सलकपुर, इलाम नगरपालिकाको सुम्वेक, माइजोगमाईको नाम्सालिङ, सोयाङलगायत क्षेत्रका बगान मासिदै गएका हुन् । कडा परिश्रम गरि मनग्ये आम्दानी हुने सुन्तलको बगान रोगले सखाप हुन थालेपछि स्थानीय कृषक चिन्तित बनेका छन् ।

सलकपुर र जिर्मलेका दुई सय भन्दा बढी सुन्तलाका बगान रोगका कारण सखाप भएका छन् । यस गाउँमा सुन्तलाका दुई सय ५० बगान थिए । अहिले २० बगान मात्रै बाँकी छ । प्राविधिकहरुले सुन्तलामा सिट्रस ग्रिनिङ रोग लागेर बगान मासिँदै बताए छन् । केही कृषकले मासिँदै गएको बगानको विकल्पमा नयाँ बिरुवा समेत हुर्काउँदै थालेका छन् । तर धेरै बगान मासिएर आम्दानीबिहिन बनेका कृषकमा भने निराशा बढी छ । ‘बार्षिक दश लाख रुपैयाँसम्म आम्दानी गर्ने कृषक अहिले रित्तो हात भएका छन्,’ सुम्वेकका टोम याखाले भने, ‘सिङ्गो गाउँमै सुन्तला मासिएपछि वैकल्पिक खेतीको खोजीमा धेरै स्थानीय लागेका छन् ।’

कुनै बेला सुन्तलाको आम्दानीले नै घरव्यवहार धान्दै आएका माइजोगमाई ६ प्याङका खेमराज नेपाल अहिले सुन्तला चाख्न बजार नै पुग्नुपर्ने बताउँछन् । लेकाली गाउँहरूका बासिन्दा उनकोमा सुन्तला किन्नकै लागि घटौं धाएर पुग्ने गरेको उनी सम्झन्छन् । ‘डढेलो नै लागे जस्तो गरि बगान मासिएर गएपछि अहिले अलैची, अदुवा र अम्लिसोलाई विकल्प बनाएको छु ।’ कृषकस्तरमा प्राविधिक ज्ञान नहुनु र समयमा रोग पहिचान गरी निदानको उपाय नगर्दा ठूला बगानहरू पनि नाङ्गिँदै गएका छन् ।

मलखाद, सिँचाइ, मल्चिङलगायत बगान व्यवस्थापनमा पहिलो प्राथमिकता दिनुपर्ने विज्ञको भनाई छ । ‘सुन्तलमा जिल्लाभर देखिएको प्रमुख समस्या सिट्रस ग्रिनिङ हो,’ कृषि अधिकृत रविकिरण अधिकारीले भने, ‘यसले टुप्पादेखि बोट सुकाउँदै जान्छ र उत्पादन घट्छ । पुराना विरुवालाई हटाएर नयाँ बिरुवा रोप्नु नै यसको समाधान हो ।’ जरामै समस्या भएर आउने रोगले पनि उत्तिकै समस्या छ । प्राविधिकका अनुसार तापक्रम बढेसँगै यसअघिका क्षेत्रभन्दा माथिल्लो तहमा सुन्तला खेती हुन थालेको छ ।

२० रोपनीबाट व्यावसायिक खेती शुरु गरेका रोङ गाउँपालिकाका किसान टंक थापा मरेको बिरुवाको स्थानमा नयाँ रोपेर भए पनि खेतीलाई निरन्तरता दिएको बताउँछन् । रोगले बगान नै सखाप बनाइदेला भन्ने डर पालेका उनले वैकल्पिक खेती पनि शुरु गरेका छन् । सुन्तलापछि एभोकाडो रोप्न शुरु गरेका उनी निरन्तरको मेहनतले रोगको प्रकोप अरुको तुलनामा कमै भएको बताए । थापाले सुन्तलाबाट मात्रै वार्षिक पाचँदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको जनाए ।

इलाम नगरपालिका–५ बरबोटेका किसान अभिनारायण पौडेलको १० रोपनीमा फैलिएको वगान अहिले ५ रोपनीमा सिमित भएको छ । पर्यटनसँग पनि जोडिएकाले सुन्तला बगान मासिँदै जाँदा असर धेरैतर्फ परेको छ । सलकपुरमा सुन्तलाको मौसममा दैनिक सयौ बंगाली पर्यटक बगानको आनन्दमा रमाउन आउँछन् ।

उनीहरूको आगमनले होटलदेखि सानातिना पसलहरू मज्जाले चल्छन् । तर यही रफ्तारमा सुन्तला मासिने क्रम रहे यो अवस्था नरहने स्थानीय कुमार मोक्तानले बताए । ठूलो संख्यामा आउने बंगाली समुदायकाहरू सुन्तला खरिद गर्नेदेखि वनभोज गर्न र सुन्तलासँग रमाउनकै लागि यहाँ आउने गरेका हुन् ।

सीमापारि सिलगुडी क्षेत्रका रेडियोमा र सामाजिक सञ्जालमा आइतबारको छुट्टी मनाउन सलकपुर जाने योजना त्यहाँका तन्नेरीहरू सार्वजनिक गर्छन् । त्यही प्रचारका कारण धेरैले सलकपुरलाई गन्तव्य बनाउने गरेका हुन् । नेपालतर्फबाट पनि सुन्तलाको खेती/प्रविधि हेर्न, खरिद गर्न र बिरुवा लैजानका लागि टाढा–टाढाबाट आउने गरेका छन् । यहाँ पुनः व्यावसायिक खेती गर्नको लागि गाउँपालिकाले किसान विशेष कार्यक्रम सुचारु गर्न लागेको वडा ६ का वडाध्यक्ष तथा पालिकाका प्रवत्ता मनिकुमार स्याङबो तामाङले बताए ।

‘२० परिवारलाई पाँच लाख रुपैयाँ विनियोजन गरेका छौ । यसबाट सुन्तलाको समस्या पहिचान गर्ने र माटो विशेषज्ञसँगको सल्लाहमा अर्ग्यानिक खेतीमा जोड दिनको लागि समिति समेत गठन गरिएको छ ’ उनले भने । गाउँपालिकाले सुन्तला जोनको कार्यक्रमसमेत माग गरेको छ ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार, वर्ष ०७४/७५ मा ३ हजार ३ सय २४ हेक्टर क्षेत्रमा सुन्तला खेती हुने गरेको छ । यसबाट ३ सय ५ टन सुन्तला उत्पादन हुने गरेको थियो । यस्तै आव २०७५/०७६ मा भने ३ हजार १ सय हेक्टर क्षेत्रफलमा सीमित भएको पाइएको छ ।

उत्पादन भने २ सय ९५ टन भएको छ । यहाँको सुन्तला तराईसहित राजधानी र भारतीय बजारमा पनि पुग्ने गरेको छ । भारतको दार्जिलिङ, सिलिगुडीसहित कोलकत्तासम्म इलाममा उत्पादित सुन्तला लोकप्रिय छ । सुन्तलाबाट इलाममा वार्षिक ११ करोड सम्म रकम भित्रिएको तथ्याङ्क छ ।

प्रकाशित : माघ ११, २०७६ ०९:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×