कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यात्रा : ‘अब्जेक्ट’ टु ‘सब्जेक्ट’

सरिता तिवारी

द सेकेन्ड सेक्स !
‘सेक्स’ शब्दको सार्वजनिक उच्चारणसम्म गर्न पनि डराउँथें । भाषाको शाब्दिक अर्थ मात्रै बुझ्ने हुस्सु तर म मात्रै रहेनछु, पछि थाहा पाएँ । त्यस्तो बेला यस्तो विस्फोटक शब्द भएको किताब लेख्ने लेखकबारे झनै उदेकको धारणा सुनेकी हुँ सुरुमै । लेखक नै थिए ती जो उनलाई— छाडा, अराजक, नारी–मुक्ति आन्दोलनविरोधी, ‘तथाकथित’ नारीवादी... मार्क्सवादविरोधी आदि भन्थे ।

यात्रा : ‘अब्जेक्ट’ टु ‘सब्जेक्ट’

तिनलाई लेखक के भन्नु ! चिन्तनको दारिद्र्य र पूर्वाग्रहको जालोले पुरिएका दुःखी मनुष्य थिए ती । तर, म तिनैको संगतमा थिएँ । धन्न त्यो संगतदेखि समयमै उछिट्टिने संजोगहरू जुरे र म ‘विचरा’ को अलिकति भए पनि उद्धार हुन सम्भव भयो ।

पोखरा बस्थें त्यतिखेर । पहिलोपल्ट यिनको नाम त्यहीँ सुनें । कविता लेख्न खुबै रौसिने ! दिनकै चार पाँचोटा कविता लेख्दिने उद्दामको ऊर्जा थियो । लेखेपछि पायक मिल्दो, आफूले जाने–चिनेको सुनाउने ठाउँ थियो मासिक ‘समता काव्य सन्ध्या’ । महिना दिनसम्ममा कविताहरू उरुङ लागेका हुन्थे । कुन सुनाऊँ ? आफूले लेखेका हरेक कविता ‘खतरा’ लाग्ने कम्ता मीठो हुन्थेन त्यो भ्रम ! बल्लतल्ल छाँटेर कविहरूको अघिल्तिर एउटा मात्रै कविता सुनाउँदा पनि ‘बाफ रे’ लाग्थ्यो । किनभने कार्यक्रमको अन्त्यमा कुनै अग्रज कविले कविताको समीक्षा गर्ने चलन थियो । स्थापित कविहरूका कविताको मोडेल हेर्दै कविता फुराउने ढंग सिकिरहेको फुच्चे मान्छे म । प्रायः प्रशंसा पाउँथें । त्यसले दिने हौसलाले ज्यान प्वाँख हुन्थ्यो ।

त्यस्तै कुनै एक साँझ एक पाका कविले मन्चबाट भने, ‘हामीलाई विश्वास छ, हाम्रै बीचबाट पारिजात जन्मिनेछन् । तसलिमा नसरिन जन्मिनेछन् । सिमोन द बुभा जन्मिने छन्... !’ मुटु ढक्क फुल्यो । कत्रा कत्रा मान्छेका नाम ! सुन्दै जीउमा काँडा उम्रिने ! डर लाग्ने !

अघिल्ला दुई मैले पहिल्यै सुनेका र अलि–अलि पढिसकेका लेखकका नाम थिए । तेस्रो नामबारे मलाई केही थाहापत्तो थिएन । थाहा पाउन अहिलेजस्तो इन्टरनेट र गुगल सर्चको सुविधा पनि थिएन । न त ठ्याक्कै त्यही सामग्री भेटिने किताब पाइन्थे कतै । वा पाइने नै भए पनि त्यस्ता ठाउँसम्म मेरो पहुँच थिएन । त्यतिबेला मैले अधिकांशतः पढ्ने ठाउँ पीएन क्याम्पस परिसरभित्रको क्षेत्रीय पुस्तकालय थियो । अब्बल र पठनीय किताबहरू वर्षौंसम्म गायब हुने नियतिले ग्रस्त अरू धेरै पुस्तकालयजस्तै थियो यो पनि । त्यसैले जब खास कुरा जान्नु र बुझ्नु छ, आफ्नै प्रयासले जुगाड गर्नुपर्ने हुन्थ्यो ।

कार्यक्रम सकिएर निस्कने बेला कुनै ‘स्वयम्घोषित’ प्रगतिशील लेखक महोदयलाई सोध्दी भएँ, सिमोन द बुभा चिन्नुहुन्छ ? – अँ ! ओहो ! लौ गज्जब । यी सज्जनबाट ज्ञानदानको कृपा बर्सिने निश्चित थियो । किनभने अरू केही विषयमा पनि यिनी मेरो ज्ञानका ‘अजस्र स्रोत’ रहिसकेका थिए ।

त्यसपछि महोदय भट्याउन थाले र म पूरै आज्ञाकारी मुद्रामा सुन्न । सिमोनबारे माथि पेस गरिएका विशेषण दिने व्यक्ति उनै थिए । तिनले अर्तीको लयमा के–के कारणले अराजकता बेठीक कुरा हो र नारीवाद एनजीओको मात्रै मुद्दा हो भनेर पनि अर्थ्याए । सिमोन कम्युनिस्टविरोधी हुन् पनि भने । यी तिनै व्यक्ति थिए, जसले पछि कुनै एक प्रसंगमा भने, ‘...हेर्नुस् बैनी जत्ति जे भने पनि विद्या भण्डारीलाई आफ्ना पतिको पाइन्ट धुँदा जुन आत्मीयता र आनन्द ‘फिल’ हुन्थ्यो त्यस्तो अनुभूति चुनाव जितेर सांसद, मन्त्री जेसुकै भए पनि हुन सक्दैन !’ फरक–फरक समयमा तिनले भनेका यी दुइटा कुराले मलाई तिरिमिरी झ्याईं बनायो ।

तैट, सोच ! त्यसपछि न यिनी मेरा ज्ञानका स्रोत रहे न मैले आफूलाई यिनको आसपास नै पुग्न दिएँ । प्रसंगवश, कुनै दिन एक युवा लेखकसँग सोधें, ‘दाइ सिमोन द बुभाको किताब छ तपाईंसँग ?’ तिनले छ भनेनन् । नभएरै होला । तर, ‘भव्य’ जानकारी भने दिए— फ्रान्सकी अस्तित्ववादी, नारीवादी विचारक । नारीवादको बाइबल भनिने प्रख्यात किताब ‘द सेकेन्ड सेक्स’ की आँटिली लेखक । विवाह, सन्तान, वैध सम्बन्ध सबै कुरालाई चुनौती दिने अद्भुत महिला । बिहे गरिनन् तर कुनै लेखकसँग आजीवन सम्बन्धमा बसिन् । आदि ।

यिनको व्यक्तित्वका तिलस्मी आख्यान सुन्दा औडाहा छुट्थ्यो तर कतैबाट किताबको जुगाड भएन । यस्तो लेखकको किताब पढ्ने म कहिले हुँला भन्दाभन्दै जिन्दगीको अन्ध–कालीन एक दशक बित्यो । भनेको रहेछ, ‘सेकेन्ड सेक्स’ अर्थात् दोस्रो लिंग ! प्राथमिक होइन त्यसको परिपूरक । कर्ता (सब्जेक्ट) होइन कर्ताद्वारा चलायमान वस्तु (अब्जेक्ट) । बुभा भन्छिन्, ‘अब्जेक्ट’ ले जबजब ‘सब्जेक्ट’ बन्ने कोसिस गर्छे, उसले हिंसा र दमनको सिकार हुनुपर्छ । शारीरिक, मानसिक, बौद्धिक सबै स्तरको हिंसा ! सबै स्तरको दमन ! संघर्ष र कोलाहलको बीचबाट पनि जब नारीहरू परम्परालाई पछाडि छोड्दै, आफू जकडिएका सीमा तोड्दै निस्कन्छन्, कर्ता या सब्जेक्ट बन्ने बाटो खुल्दै जान्छ । यसरी पुरुषलाई मूल र महिलालाई अर्को (अन्य) मान्ने भाष्यमाथि प्रश्न गर्ने सिलसिलामा महिनौंका अनुसन्धान, अध्ययन र निष्कर्षको एकमुष्ठ उत्पादन थियो, ‘द सेकेन्ड सेक्स’ । संसारमै पहिलोपल्ट कुनै (महिला) लेखकले विलक्षण आँट र जोखिम उठाएर गरेको युगान्तकारी कार्य । ऐतिहासिक, भौतिक, दार्शनिक, जैविक दृष्टिले सर्वाधिक वैज्ञानिकता र विश्वसनीयताका साथ गरेको उद्घोष !

किताबमा भनिएको छ, ‘स्त्री जन्मिन्न, बनाइन्छे । इतिहासले, साहित्य–जीवविज्ञान–मनोविश्लेषण आदि जम्मैका परम्पराले स्त्रीत्वका असंगत मिथकहरू बुन्दै–बुन्दै आएका छन् । त्यसको चाबीले नै स्त्रीत्वको मापदण्ड निर्माण गर्छ ।’
स्त्रीत्वका निर्धारित सर्तअनुकूल हुनु नै स्त्री हुनु हो भन्ने निर्मित सत्यलाई फड्किएर स्त्रीको विपुल र स्वतन्त्र मानवीय अस्तित्वको खोजी बुभाको निजी र लेखकीय दुवै व्यक्तित्वको साझा गुण हो । छिरोलिएको टुक्राटुक्रा र अपरिचयको, अनस्तित्वको बिरानो वस्तुसदृश अधीनस्थ (अन्य) स्थितिबाट–एउटा पूर्ण मानवको । एकतित्र र सग्लो परिचयको । (महिला) व्यक्ति स्वयम्ले छनोट गरेको नैसर्गिक (मूल) जिन्दगीतर्फको यात्रा बुभाले तय गरेको विचारको यात्रा थियो । वरणको यात्रा पनि यही थियो ।

उनले भनिन्, शरीर वस्तु होइन स्थिति हो । उनले स्त्रीको शान्तिप्रिय, सहनशील, पराधीन र तल्लो दर्जाको परम्परित स्थितिको खण्डनमा तमाम मिथकीय र जीवशास्त्रीय झूटहरूका विरुद्ध प्रामाणिक भाषामा बोलिन् । त्यति मात्रै होइन, नारी मुक्तिको प्रश्नमा कम्युनिस्ट शासनपद्धतिका कपटविरुद्ध हाकाहाकी चुनौती दिएर भनिन्, तिमीहरू पनि झूटा हौ !
बीसौं शताब्दीको मध्यान्तरपछि संसारले धमाका सुन्ने गरी प्रकट भएकी यी दबङ् लेखकलाई कम्युनिस्ट साहित्य र समीक्षाले किन दुत्कार्थ्यो भन्ने कुराको चुरो यहीं छ । मेरा ती सज्जनले कुनै बेला मलाई सिमोन किन म्युनिस्टविरोधी हुन् भनेर सिकाए भन्ने कुराको पोयो पनि यहीँनेर खुल्छ । उनले तत्कालीन सोभियत रुसको उदाहरण दिएर किटेरै भनेकी छन्— महिलाको मुक्ति समाजवादमा पनि सम्भव रहेनछ । लेनिनकालमा बनेका महिलामैत्री कानुन उल्ट्याएर मातृत्व र परिवार रक्षाका नाममा जसरी निषेधका कानुन ल्याइए, त्यसले महिलालाई पुरुष कमरेडका कफी–सर्भरभन्दा बढी नबनाएको उनको भनाइ अहिले नेपाली कम्युनिस्ट आन्दोलनमै पनि चरितार्थ भइरहेको छ ।

धेरैजसो ‘कम्युनिस्ट’ लेखकहरूलाई सिमोन किन बिझाउँछिन् भन्ने कुरा हिजो–आज आएर म थाहा पाउँदै छु । दुराग्रहको वमन गर्न कोष्ठकभित्र जे–जे शब्द राखेर चिनाइए पनि सिमोन नारी–मुक्ति आन्दोलनकी सानदार नाम हुन्, जो जीवनका पछिल्ला दशकमा फ्रान्सेली महिला मुक्ति संगठनकी अध्यक्षसमेत थिइन् । आजीवन ‘लेफ्ट’ धारामा प्रवाहित यिनी संसारभरका ‘लेफ्ट–विङ्’ बाटै लखेटिइन् । उनको जन्मथलो फ्रान्स र उनका वैचारिक मित्रगण समाजवादी देशमा भन्दा पुँजीवादी अमेरिकामा उनी ज्यादा पढिइन् । यसलाई विडम्बना भन्ने कि संयोग ?

संसारका एक से एक दार्शनिकहरू जन्मेको देशमा जन्मिइन् सिमोन द बुभा । प्रबोधन र प्रयोगको उद्गमभूमिमा जन्मिइन् । फ्रान्सेली क्रान्ति, पेरिस कम्युनदेखि अनेक वाद र संवादले विश्वलाई वैचारिक नेतृत्व गरिरहेको देशमा जन्मिइन् । स्वतन्त्रता र समानताको जाग्रत सपना वायुझैं स्वस्फूर्त उनीभित्र सास भएर पस्यो । विचार र धारणाहरूको निर्बन्ध ‘डाइलेक्टिक्स’ उनी उभिएको माटोमै उपलब्ध थियो । त्यसैको सुगन्धमा मुक्त पन्छीझैं विभोर भएर बाँचिन् उनी सम्झौताहीन आफ्नै सर्तको जिन्दगी ।

सन् १९०८ जनवरी ९ को जन्म । धनाढ्य परिवारमा जन्मिए पनि दिनानुदिन खस्कँदो आर्थिक अवस्थाले पुर्ख्यौली ध्वाँस व्यवस्थापन गरिरहनुपर्ने उनको परिवार विस्तारै टाट हुँदै थियो । बा र आमा पटक्कै नमिल्ने । बाआमाबीचको अन्तहीन घर्षणमय सम्बन्धले दिएको एक्लोपन र कल्पनाशीलताले आफूलाई ‘बौद्धिक’ बन्ने मार्गतिर सोझ्याएको बयान उनले ‘मेमायर्स अफ ड्युटिफुल डटर’ मा गरेकी छन् ।

व्यक्ति आफू आफैं बन्दैन । व्यक्ति स्वयम्भू होइन । उसका विचार र बाटो भौतिक परिस्थितिले निर्माण गर्छन् । तर, त्यसको गतिशीलता र रूपान्तरणको सर्त भने ब्यक्तिको हातमा हुन्छ । उनको किशोरकालको भयावह एकान्त र विचलनका साथी किताब मात्रै थिए । उनले यति पढिन्, यति पढिन् कि त्यो देखेर परिवारका मान्छेहरू आत्तिन्थे । उनको निरन्तर मुखर गतिशीलताका सारथि तिनै किताबहरूले निर्माण गरेका विचार थिए । किताबमाथिको उनको लगनले हेगेल, लाइबनित्जजस्ता दार्शनिकको गहिरो प्रभाव मात्रै दिएन, जिन ज्याक मर्ली, सार्त्र, क्लाउड लेवी स्ट्रसजस्ता उम्दा विचारकको मित्र पनि बनायो ।

सिमोन पितृसत्ताका तमाम यान्त्रिकीलाई हाकाहाकी चुनौती दिएर उन्मुक्त बाँचेकी साहसी व्यक्ति हुन् विवाह, प्रेम, यौनसम्बन्ध, गर्भपतनजस्ता मान्यतामाथि प्रहार गरेर उनले अन्य वा अब्जेक्ट हुनुको नियतिबाट आफूलाई अलग्गै राखिन् । आफ्नै मर्जीले प्रेम गरिन् र छुट्टिइन् तर हरेक प्रेम र शारीरिक सम्बन्धमाथि बकाइदा गौरव मात्रै गरिनन् आफ्ना उपन्यास र संस्मरणमा पनि तिनको जीवन्त अभिलेख पनि राखिदिइन् ।

प्रख्यात अस्तित्ववादी लेखक जाँ पल सार्त्र १९२९ देखि मृत्युपर्यन्त (१९८१ सम्म) उनका अनन्य ‘पार्टनर’ रहे । उनीहरू एकअर्काका मेन्टर, एकअर्काका पूरक रहे तर दुवैले निजी छनोटको स्वतन्त्रतालाई सम्मान पनि गरिरहे । यसबीचमा सार्त्र र सिमोन दुवै आआफ्ना प्रेमीसँग ‘लिभ इन रिलेसन’ मा पनि बसे । सार्त्रबाहेक सिमोनका दुई प्रेमी थिए— अमेरिकी लेखक नेल्सन एल्ग्रिन र फ्रान्सेली फिल्ममेकर क्लाउज लन्जम्यान । कतिपय आलोचक अहिले पनि एल्ग्रिनसँगको सम्बन्धको खुला बयान र उनलाई सिमोनले लेखेको विवादास्पद चिठीका आधारमा उनको नारीवादी अडानको धज्जी उडाउँछन् । तर, मूल कुरा कुन क्षणमा उनीभित्र परम्परित स्त्रीत्व सग्बगाएर उनलाई सम्हालिन हम्मे पर्‍यो भन्ने होइन, उनको अथक साधनाका कारण संसारले के पायो भन्ने हो ।

‘द सेकेन्ड सेक्स’ उनको खास परिचायक हो । तर, उनलाई प्रसिद्धि दिलाउने अन्य किताब र कामहरू पनि छन् । उनले अढाई दर्जन जति किताब लेखिन्, प्रायः उपन्यास र निबन्ध । तीमध्ये ‘द ब्लड अफ अदर्स’, ‘द मेन्डरिज’, ‘एथिक्स अफ एम्बिग्युटी’ लगायतको चर्चा बढी सुनिन्छ । उनका संस्मरणात्मक कृतिहरू धेरै नै विवादग्रस्त हुन पुगे । चारवटा संस्मरण कृतिमध्ये ‘द प्राइम अफ लाइफ’ सर्वाधिक आलोचित र विवादग्रस्त किताब हो । आफ्ना निजी र यौन जीवनबारे निर्धक्कसँग खुलेर बयान गर्ने उनको हक्की शैली जीवनकालका पछिल्ला किताबमा पनि कायम देखिन्छ । त्यसको उदाहरण १९७० मा लिखित वृद्धावस्थामाथिको गहिरो विश्लेषण ‘ओल्ड एज’ र फ्रान्समा गर्भपतन कानुन ल्याउन दबाबस्वरूप १९७१ मा लेखिएको ‘मेनिफेस्टो अफ थ्री फोर थ्री’ मा भेटिन्छ । सार्त्रलगायत उनका प्रियजनहरू एक–एक गर्दै उनलाई छोडेर गए । जीवनका अन्तिम वर्षहरूमा पनि लेखन पठनमा निमग्न सिमोन संसारभरका स्त्री बौद्धिकहरूका लागि गतिशील चेतना, निडर लेखन र घर्षणमय ‘बोल्ड’ जिन्दगीकी साझा गुरु हुन् । अँध्यारो समयमा, स्त्री लेखक हुनुका समस्त असुविधा र दुःखमा, स्त्री भएकैले खप्नुपर्ने छुद्र आलोचना, प्रहार र ‘बुलिइङ’ का क्षणमा सिमोन निरन्तर उज्यालो फ्याँकिरहने लाइट हाउस हुन् ।


जनवरी सिमोनको जन्ममास हो । अठहत्तर वर्षको आयु बाँचेर १९८६ अप्रिल १४ का दिन बितेकी उनी सच्चा क्रान्तिकारी, सच्चा साम्यवादी हुन् । उनले हिँडेको बाटो सजिलो त छैन तर अस्तित्वको चोटले, नाम अनाम हिंसाको डहनले, परिचयको कठोर प्रश्नले लखेटिएका संसारभरिका स्त्रीहरूले हिँड्नुपर्नेछ—वस्तु (अब्जेक्ट) देखि कर्ता (सब्जेक्ट) सम्मको त्यस्तै कठोर बाटो । सिमोन द बुभालाई विनम्र नमन !

प्रकाशित : माघ ४, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?