एउटा कविताको सामर्थ्य- कोसेली - कान्तिपुर समाचार

एउटा कविताको सामर्थ्य

दिवंगत पाकिस्तानी कवि र चिन्तक फैज अहमद फैजद्वारा आजभन्दा ४१ वर्षपहिले रचित ‘हम देखेंगे’ नामक कविताले अहिले भारतीय उपमहाद्वीपभरि नै चर्चा–परिचर्चाको जुन उफान ल्याएको छ, त्यसलाई अभूतपूर्व मान्नुपर्छ ।
हरि अधिकारी

आज भारतमा एक बेहतरिन उर्दू नज्म अथवा उर्दू भाषामा लेखिएको एक बहुतै सुन्दर कविताको चर्चा चुलिएको छ  । कुनै एउटा नज्म अथवा कविता यसरी व्यापक चर्चामा आएको दृष्टान्त विरलै पाइन्छ  ।

तर, यसपटक आधुनिक उर्दू कविताका सम्भवतः सबैभन्दा प्रभावशाली हस्ताक्षर, दिवंगत पाकिस्तानी कवि र चिन्तक फैज अहमद फैजद्वारा आजभन्दा ४१ वर्षपहिले रचित ‘हम देखेंगे’ नामक कविताले भारतीय उपमहाद्वीपभरि नै चर्चा–परिचर्चाको जुन उफान ल्याएको छ, त्यसलाई अभूतपूर्व मान्नुपर्छ । फैजको यो उत्कृष्ट नज्मलाई यस रूपमा चर्चित बनाउनेहरूले जानी–जानी हो वा अज्ञानताले हो, यसको जुन प्रकारको भाष्य गर्ने प्रयास गरेका छन् त्यो भने सरासर गलत देखिन्छ ।
मार्क्सवादी कवि फैज अहमद फैजले यो कविता सन् १९८० को दशकको एक विशेष कालखण्डमा इस्लामिक गणतन्त्र पाकिस्तानमा लादिएको सैनिक शासनको प्रतिरोध गर्नाका खातिर लेखेका थिए । सैनिक शासनले फैजका सबै प्रकारका रचनाहरूमाथि पूर्ण प्रतिबन्ध लगाएकाले यो कविता उनको जीवनकालमा पाकिस्तानमा त्यति धेरै पाठकसम्म पुग्न सकेको थिएन । अहिले, कवि फैजको देहान्त भएको झन्डै ३७ वर्षपछि उनको यो कविता पाकिस्तानसँग अनवरत रूपमा द्वन्द्वरत रहेको छिमेकी देश भारतमा सैनिक शासनको भन्दा अलि बेग्लै किसिमको अधिनायकवादी सत्तासँग संघर्ष गरिरहेका आम जनताका लागि एउटा ठूलो प्रेरणाको स्रोत बन्नुलाई एउटा सुखद आश्चर्यको विषय हो भन्न सकिन्छ ।

महान् साहित्यिक सिर्जनाहरू देश, राजनीति, भाषा र संस्कृतिका सीमारेखाहरूमा बाँधिएर रहँदैनन् भन्ने पुष्टि फैजका कालजयी रचनाहरूले बलियोसँग गरेका छन् । उनका प्रायः सबै रचना पाकिस्तानभन्दा उत्तर भारतको विशाल पाठक समुदायमा प्रिय छन् । त्यसैले, संसदीय बहुमतको बलमा अन्धधार्मिक, उग्रहिन्दुत्ववादी र मुस्लिमप्रति चरम् असहिष्णु शासन लाद्न खोजिरहेको भारतीय जनता पार्टीको सरकारले लागू गर्न खोजेको विभेदकारी नागरिकता ऐनको विरोधमा उत्रिएका भारतीय युवाहरूले ‘हम देखेंगे’ का अमर शब्दहरूमा आफ्नो हृदयको आवाज मिसाउन खोजेको हुनुपर्छ ।

नरेन्द्र मोदी सरकारले लागू गर्न खोजेको विवादास्पद नागरिकता संशोधन ऐन २०१९ को विरोधमा उत्रिएका भारतभरिका ५ दर्जनभन्दा बढी विश्वविद्यालयका छात्रहरूमध्ये इन्डियन इन्स्टिच्युट अफ् टेक्नोलजी (आईआईटी) कानपुर, यूपीका विद्यार्थीहरूले विरोध प्रदर्शनका क्रममा फैज अहमद फैजको त्यही ‘हम देखेंगे’ शीर्षकको गीति–कवितालाई आफ्नो मनको कुरा राख्ने माध्यम बनाएका छन् । उनीहरूले विरोध प्रदर्शनका क्रममा त्यस कविताको सस्वर पाठ गर्दै त्यसमा कविले व्यक्त गरेको फौजी अधिनायकवादको क्रूर पञ्जाबाट सर्वसाधारण पाकिस्तानी नागरिकको मुक्तिको कामनासँग आजको भारतका अल्पसंख्यक समुदायले भोग्नुपरिरहेको विभेदजन्य पीडालाई जोड्न खोजेका छन् ।

आईआईटी कानपुरसँग सम्बन्धित अधिकारीहरूले भने आन्दोलनकारी विद्यार्थीहरूले फैजको त्यस महान् कवितालाई आफ्नो मनको भावना मुखरित गर्ने माध्यम बनाउन खोजेको कुरालाई नकारात्मक रूपमा लिएका छन् । कुनै पनि उत्कृष्ट कविताको सीमातीत सौन्दर्य र सामर्थ्यबारे बिल्कुलै बेखबर ती रूढाग्रहीहरू त्यो कवितालाई हिन्दुविरोधी भएको आरोप लगाउँदै प्रदर्शनका क्रममा त्यसको पाठ गर्न र त्यसलाई उद्धृत गर्न प्रतिबन्ध लगाउनुपर्ने माग गरी स्थानीय प्रशासनमा उजुरी दिन पुगेका थिए । कुनै पनि मुसलमानको नाम जोडिनेबित्तिकै त्यसमा देशद्रोह देख्ने दृष्टिदोषग्रसित उत्तर प्रदेशको योगी आदित्यनाथ नेतृत्वको सरकारअन्तर्गतको कानपुर जिल्लाधिकारी कार्यालयले त्यस उजुरीमाथि तुरुन्तै सुनुवाइ गर्दै फैजको त्यस कालजयी कविताका बारेमा अध्ययन गरी प्रतिवेदन पेस गर्न ३ सदस्यीय कथित विज्ञ टोली गठन गरेको छ । अहिलेसम्म विज्ञ टोलीले प्रतिवेदन दिएको समाचार भने आएको छैन । आधुनिक उर्दू कविताका शीर्षस्थ हस्ताक्षर फैज अहमद फैज (सन् १९११–१९८४) को त्यो चर्चित कविताको एक टुक्रा यस्तो छ :

हम देखेंगे
लाजिम है कि हम भी देखेंगे
वह दिन जिसका वादा है
हम देखेंगे
जो लौह–ए–अजल में लिखा है
हम देखेंगे
लाजिम है कि हम भी देखेंगे ।

पाकिस्तान पिपल्स् पार्टीका नेता तथा लोकप्रिय प्रधानमन्त्री जुल्फिकार अली भुट्टोलाई षड्यन्त्र गरेर फाँसी दिलाई सत्ता हत्याएका जनरल जियाले आफ्नो स्थिति बलियो हुनेबित्तिकै फैज र इकबालहरूको मुलुक पाकिस्तानलाई फौजी निरंकुशता र इस्लामिक उग्रवाद मिलेर बन्ने क्रूर अधिनायकवादको अँध्यारो सुरुङभित्र हुलिदिएका थिए । त्यहाँ लोकतन्त्र, स्वतन्त्र प्रेस, अभिव्यक्तिको स्वतन्त्रता, मानवअधिकार र कवि–लेखक–कलाकारहरूलाई चाहिने सिर्जनात्मक परिवेशको नाम–निशान नै मेटिदिइएको थियो ।

समाजवादी नेता र प्रधानमन्त्री जुल्फिकार भुट्टोका निकट मित्र रहेका कम्युनिस्ट कवि फैजमाथि जर्नेल जियाको फौजी सत्ताको वक्रदृष्टि पर्नु स्वाभाविक नै थियो । देशभित्र उनका रचनाहरू छापिने वा पढिने सम्भावना बिल्कुलै थिएन । त्यसैले कालान्तरमा मानवीय मुक्तिको शाश्वत मन्त्रजस्तै बन्न पुगेको ‘हम देखेंगे’ पनि यसको रचना भएको केही वर्षसम्म पाकिस्तानी पाठकहरूसम्म पुग्नै पाएको थिएन भन्दा पनि हुन्छ । लगातारको मानसिक उत्पीडनबाट दिक्क भएर लेबनानमा निर्वासित जीवन बिताइरहेका कवि फैज जीवनको अन्तिम समयतिर स्वदेश फर्केर लाहौरमा बस्न थालेका थिए । सन् १९८४ को नोभेम्बर महिनामा उनको त्यसै सहरमा निधन भएको थियो ।

अहिले चर्चाको शिखरमा रहेको यो महान् कविताको पहिलो तर अत्यन्तै प्रभावशाली सार्वजनिक प्रस्तुति भने कविको मृत्यु भएको करिब १५ महिनापछि, सन् १९८६ को फेब्रुअरी महिनामा भएको थियो । लाहौरको अल हम्जा रंगशालामा कवि फैज अहमद फैजको जन्मजयन्ती मनाउन आयोजित एक कार्यक्रममा सुविख्यात पाकिस्तानी गजल गायिका इकबाल बानोले सैनिक तानाशाह जिया–उल–हकले फैजका कविताहरूमाथि लगाएको प्रतिबन्धलाई दृढतापूर्वक तोड्दै सुफियाना शैलीमा लेखिएको यो क्रान्तिकारी गीति–कविता गाएकी थिइन् । त्यस दिन इकबाल बानोले फैजको कवितामाथि लगाइएको प्रतिबन्ध मात्र होइन, जर्नेल जियाले पाकिस्तानी महिलाहरूले कालो साडी लगाउन नपाउने भनी जारी गरेको फतवाको पनि दृढ अवज्ञा गरिदिएकी थिइन् । गायिका बानो त्यस दिन अल हम्जा रंगशालामा कालो साडीमा सजिएर पुगेकी थिइन् ।

त्यस दिन अल हम्जा रंगशालामा उपस्थित करिब ५० हजार पाकिस्तानी जनताका लागि इकबाल बानोले कन्सर्टमा आउँदा लगाएको कालो साडी र उनले गाएको फैजको ‘हम देखेंगे’ शीर्षकको नज्म एक अलौकिक आनन्दको अनुभूति बनेको थियो । सैनिक प्रशासनका प्रहरी र गुमास्ताहरूको त होस नै उडेको थियो त्यतिबेला । मोहतरमा इकबाल बानो सुफी गायकको तन्मयताका साथ ‘सब ताज उछाले जाएंगे’, ‘सब तख्त गिराए जाएंगे’ गाइरहेकी थिइन् उता रंगशालामा जम्मा भएको सम्पूर्ण श्रोतावृन्द भने लगातार इन्कलाब जिन्दावादको तुमुल आवाज निकालिरहेको थियो । विष्मित र चकित सरकारी गुमास्ताहरूले केही समयपछि रंगशालाको बिजुली काटिदिएर त्यो अद्भुत कार्यक्रममाथि जसोतसो व्यवधान त पुर्‍याएका थिए तर त्यतिबेलासम्म उनीहरूको हकमा ढिलो भइसकेको थियो । रंगशालामा बत्ती निभाउनुभन्दा पहिले नै इकबाल बानोले गाएको फैजको नज्म रेकर्ड गरिसकिएको थियो र त्यसको केही दिनपछि नै त्यस रेकर्डका कैयौं प्रतिहरू गोप्य रूपमा हिन्दुस्तान, बंगलादेश र नेपालका राजधानी सहरहरूमा पुर्‍याइसकिएका थिए ।

महान् उर्दू कवि फैज अहमद फैजको जन्म ब्रिटिस भारतको पन्जाब प्रान्तको नरोवाल जिल्लाको एउटा सम्पन्न पन्जाबी जाट परिवारमा सन् १९११ को फेब्रुअरी १३ का दिन भएको थियो । सन्तानको शिक्षा–दीक्षाप्रति जागरुक परिवारमा जन्मेका उनले प्राथमिक तहदेखि नै मुलुकका उत्कृष्ट शैक्षिक प्रतिष्ठानहरूमा पढ्ने अवसर पाएका थिए । अरेबिक र अंग्रेजी साहित्यमा डबल एमए गरेका उनी पाकिस्तानका श्रेष्ठतम् प्राज्ञिक व्यक्तित्वहरूमध्ये एक मानिन्थे ।

कलेजमा पढ्दा ताका नै मार्क्सवादी विचारधारासँग जोडिएका फैज आजीवन पाकिस्तान कम्युनिस्ट पार्टीका प्रखरतम् बौद्धिक अनुहार रहे । तर मूल रूपमा उनी एक क्रान्तिकारी कवि थिए । प्रोफेसर, दैनिक पत्रिकाको सम्पादक, सरकारी अधिकारी, प्रधानमन्त्रीका सहयोगी, जुनसुकै हैसियतमा काम गर्दा पनि उनले आम जनताको मुक्तिको परिकल्पनालाई नै आफ्नो चिन्ता र चिन्तनको आधार बनाएका थिए । आफ्नो सैद्धान्तिक र नैतिक अडानका कारण फैजले आफ्नो जीवनको लामो समय निर्वासनमा बिताउनुपरेको थियो ।

फैजका नक्श–ए–फरियादी, दस्त–ए–सबह र जिन्दाँ–नामा शीर्षकका ३ कवितासंग्रहसहित १ दर्जन कृति प्रकाशित छन् । उनलाई सन् १९६२ मा तत्कालीन सोभियत संघको सर्वोच्च नागरिक पुरस्कार लेनिन पिस प्राइज र पाकिस्तानको सर्वोच्च नागरिक सम्मान निशान–ए–इम्तियाज (मरणोपरान्त १९९०) बाट पुरस्कृत गरिएको थियो । भनिन्छ, सन् १९८४ मा उनको निधन नभएको भए त्यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार उनलाई दिइने कुरा लगभग तय भएको थियो ।

उर्दू कविता ‘हम देखेंगे’ को भावानुवाद

हामी हेर्नेर्छौं
जरुरी छ त्यसैले हामी पनि हेर्नेर्छौं
सृष्टिको प्रारम्भमै तय गरिएको त्यो अवश्यम्भावी दिन
जसका बारेमा दिइएको थियो हामीलाई वचन
त्यसलाई हामी हेर्नेर्छौं ।

जब अन्याय र अत्याचारको यो पहाड
सिमलको भुवाझैं उडेर बेपत्ता हुनेछ
हामी दबाइएका प्रजाहरूको पैतालामुनिको जमिन
ढङढङ ढङढङ गरी हल्लिन थाल्नेछ
जब यी शासकहरूको शिरमाथि
हुनेछ चट्याङको भीषण आघात,
हामी हेर्नेछौँं
जरुरी छ त्यसैले हामी पनि हेर्नेछौँ
हामी हेर्नेछौँ ।

जब भगवान्को पवित्र आश्रमबाट
यी सबै मूर्तिहरूलाई हटाइनेछ
तब हामी दीनहीन अकिञ्चन सर्वहाराहरूलाई
दरबारको उच्चासनमा राखिनेछ
त्यतिबेला झिकिनेछन् धेरैका शिरबाट श्रीपेच
भत्काइनेछन् बलिया ठानिएका सिंहासनहरू अनेक
अनि हामी हेर्नेछौँ
जरुरी छ त्यसैले हामी पनि हेर्नेछौँ
हामी हेर्नेछौँ ।

त्यतिबेला बाँकी रहनेछ केबल ईश्वरको नाम
त्यो ईश्वर जो हराएको छ र उपस्थित पनि छ
जो दृश्यमान् छ र छ अदृश्य पनि
त्यतिबेला उठ्नेछ नारा अहम् ब्रह्मास्मिको
त्यो अहम् म हुनेछु र तिमी पनि हुनेछौ
त्यतिबेला गर्नेछन् शासन ईश्वरका सन्तानहरूले
ती शासकमध्ये एउटा हुनेछु म र अर्को हुनेछौ तिमी ।

हामी हेर्नेछौँ
जरुरी छ त्यसैले हामी पनि हेर्नेछौँ
हामी हेर्नेछौँ ।
(फैजले ‘हम देखेंगे’ कविता सन् १९७९ मा जर्नेल जिया–उल–हकको फौजी तानाशाहीको विरोधमा लेखेका थिए ।)

प्रकाशित : पुस २६, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्

आयुको आँखीझ्याल

मानिस कसरी पुरातन, अन्धविश्वासी र धर्मभीरु हुन्छ ? धर्म र पाप, स्वर्ग, नर्क देखाएर कर्मकाण्डको धन्दा र गलत आश्रमका नौटंकीले यसलाई विरूप बनाएका छन् ।
कृष्ण खनाल

मानिस दीर्घायु चाहन्छ  । जन्मिएपछि प्राणीको मृत्यु अपरिहार्य छ, कहिले र कसरी भन्ने मात्र फरक हो  ।

बाल, युवा, वृद्धत्व र मृत्यु मानव जीवनको स्वाभाविक चक्र हो । मृत्युको त कुरै छाडौं, बूढो हुन र भनिन पनि कसैलाई मन पर्दैन । बुढ्यौली लागेपछि मानिसका छाला चाउरी पर्न थाल्छन्, हड्डी मक्किन थाल्छ । शरीर शिथिल हुन्छ, कम्मर झुल्छ, छाती खुम्चिन्छ, डँडाल्नो कुप्रिन्छ । कान कम सुनिन्छ र दृष्टि पनि कमजोर हुन्छन् । आफ्नो अवस्था यस्तो हुनु कसैलाई मन पर्ने कुरा होइन । तर, मृत्युजस्तै वृद्धत्व पनि अपरिहार्य छ । अल्पायुमा हुने मृत्युबाहेक कोही पनि यसबाट मुक्त हुन पाउँदैन । शरीर स्वस्थ रहे पनि बुढ्यौली छिप्दैन, महिला हुन् वा पुरुष यो यथार्थ हो । अस्वस्थ शरीर त बुढ्यौलीमा अभिशाप नै हो ।

६५ वर्षदेखि माथिलाई वृद्धत्व मान्ने हो भने सन् २०१९ को तथ्यांकअनुसार, अहिले विश्वमा वृद्धत्वमा प्रवेश गरेका मानिसको संख्या ९ प्रतिशत छ । नेपालमा २०११ को जनगणनाअनुसार, यो संख्या ५.२७ प्रतिशत छ, हरेक वर्ष बढ्दै छ । नेपालीको सरदर उमेर अहिले ७१.७४ पुगेको अनुमान गरिन्छ । पुरुषभन्दा महिलाको जीवन दर २ प्रतिशतले माथि छ अर्थात् वृद्धत्वमा पुगेका महिला पुरुषभन्दा बढी छन् । शिक्षित र सम्पन्न परिवारमा ८० नाघेका मानिस धेरै देखिन्छन् । आयु वृद्धि राम्रो कुरा हो, मानव विकासको एउटा सूचक पनि । तर, विचारणीय कुरा के हो भने पाको उमेरका मानिस अर्थात् ज्येष्ठ नागरिक स्वस्थ्य र सुखी पनि रहुन् । वृद्धत्व आफू, परिवार, राज्यलगायत कसैका लागि पनि बोझिलो नहोस् । यो कसरी हासिल गर्न सकिन्छ ?

जैविक वृद्धत्व अपरिहार्य छ । तर, मानसिक वा बौद्धिक वृद्धत्वमाथि विजय प्राप्त गर्न सकिन्छ । यो विषयमा पूर्वीय र पश्चिमा चिन्तन एवं तदनुरूप लेखनको कमी छैन । तर, यी दुवैका सारको एकीकृत लेखन भने कमै छन् । रवीन्द्रप्रसाद प्रधानले भौतिक तथा अध्यात्म ज्ञान र विज्ञान दुवैको सन्दर्भसहित आफ्नो पुस्तक ‘वृद्धत्वविज्ञान’ मा सविस्तार विवेचना गरेका छन् । खप्तडबाबाको सत्संग र सान्निध्य पाएका प्रधानको यो पुस्तकमाथि विमर्श गर्न अध्यात्म चिन्तनको सन्दर्भ पनि आवश्यक हुन्छ ।

पुस्तकको मुख्य सार कसरी पूर्ण आयु जिउने, आयु वृद्धिसँगै कसरी स्वस्थ र उपयोगी हुने भन्ने छ । लेखक भन्छन्, जब उमेर ढल्किन थाल्छ, मानिसलाई बुढेसकाल लाग्छ । शारीरिक र मानिसक सामर्थ्यमा कमी हुन्छ । यो स्वाभाविक प्रक्रिया हो । जन्म–उमेर अर्थात् जैविक उमेर परिवर्तन गर्न सकिन्न । तर, बुढेसकालमा पनि स्वस्थ र आरोग्य जीवन जिउन सकिन्छ । शरीर अणुहरूको झुन्ड हो । आहारविहारले शरीरका अंगमा प्रत्यक्ष प्रभाव पार्छ । मनबाट प्रवाहित हुने विचारचाहिँ तरंगहरूको समूह हो । यसले सोझै इन्द्रियलाई प्रभाव पार्छ र सोअनुसार गर्न गराउन निर्देशित गर्छ । संयमित र सन्तुलित आहारविहार र व्यायामले शरीरलाई ठीक राख्छ भने इन्द्रिय निग्रहले मनलाई स्थिर राख्छ । यी दुवैको सन्तुलनले शरीरमा तारुण्यता र आरोग्यता प्रदान गर्छ ।

बुढ्यौलीतर्फ लागेकाका लागि मात्र होइन, यो पुस्तक युवाका लागि पनि उत्तिकै उपयोगी छ । स्वास्थ्यका कुरा बुढ्यौलीमा मात्र सोचेर पुग्दैन, बाल्य र युवावस्थादेखि नै सचेत रहनुपर्छ । बुढ्यौली चाँडै आउन नदिन सन्तुलित आहारविहार, मर्यादित जीवनशैली, नियमित प्राणायाम, ध्यान, योगाभ्यास, स्वास्थ्यप्रतिको सावधानी मुख्य कुरा हुन् । यसको नियमित पालना गर्न सके युवा, प्रौढ वा वृद्धावस्थाले खासै प्रतिकूल प्रभाव पार्दैन । आरोग्य, दीर्घायु र पूर्ण जीवन जिउन सकिन्छ ।
पुस्तकमा लेखकले मानव शरीरको महत्त्व, आरोग्यता र आयुका विविध पक्षमा पूर्वीय र पश्चिमा ज्ञानको तुलनात्मक विवेचना गरेका छन् र निचोडमा कसरी उमेरको वृद्धिसँगै मानिसले आफ्नो शरीर र मन दुवैलाई सन्तुलनमा राखेर आरोग्य र तारुण्यता कायम गर्न सक्छ भन्ने विचार प्रस्तुत गरेका छन् । ६ सयभन्दा बढी पृष्ठको यो पुस्तक निश्चय पनि निकै ठूलो छ । पूरै पढ्न ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ, समय पनि लाग्छ । पहिलो खण्डमा वृद्धत्वको स्वरूपलाई ज्ञान र विज्ञानको पक्षबाट विवेचना गरिएको छ । ५३ पृष्ठ लामो यो खण्ड एक प्रकारले पुस्तकको सारांश भने पनि हुन्छ । यति मात्र पढे पनि पुग्छ । बाँकी अर्थात् दोस्रो खण्ड विस्तारित ज्ञान र सन्दर्भका लागि उपयोगी छ ।

लेखक भन्छन्— शारीरिक काम गर्न सक्ने मानिस चाँडो बूढो हुँदैन । त्यस्तै बढी उमेर भएर मानिस बूढो हुने होइन । काम गर्ने शक्तिमा आएको ह्रासका कारण मानिस बूढो हुने हो । शरीरको स्वस्थता अर्थात् आरोग्यताले मानिसको बललाई सुरक्षित राख्छ । तर, विचारणीय पक्ष के हो भने मानसिक स्वस्थताको अभावमा आरोग्यता सम्भव हुँदैन । त्यसका लागि आध्यात्मिक चिन्तन र साधना पनि चाहिन्छ । अध्यात्म चिन्तनले विचारको शुद्धीकरण गर्छ । जब विचार उत्तम हुन्छन् र सद्मार्गमा चल्न थाल्छन् शरीरमा तेज, बल, आरोग्य र ऐश्वर्य आफैं बढ्न थाल्छ । २०६७ सालमा प्रकाशित यो पुस्तक अहिले बजारमा उपलब्ध छैन । मैले पनि एक मित्रको सौजन्यमा पढ्न पाएको हुँ । छोटो र छरितो खालको पुनर्प्रकाशन अपेक्षित छ ।

विभिन्न अध्ययन अनुसन्धानको सन्दर्भ दिंदै लेखक भन्छन्— जन्मसँगै २० वर्षसम्म मानिसको शारीरिक विकास तीव्र गतिमा हुन्छ । ३० वर्षसम्म यो क्रम चलिरहन्छ । ४० वर्ष पुग्दा शरीरका सबै धातु उपधातु पूरा हुन्छन् । यो बेलामा इन्द्रियहरू सबल हुने, शारीरिक बल पर्याप्त हुने भएकाले यसलाई यौवनावस्था भनिन्छ । शरीर स्वस्थ रहे यो अवस्था ५५–६० वर्षसम्म पनि कायम रहन्छ । त्यसपछि शरीरका गुणहरू क्रमशः क्षीण हुन थाल्छन् । मांसपेशी, स्नायुहरू खुम्चिन थाल्छन्, लचकतामा कमी आउँछ । ७० पुगेपछि वीर्य कम हुन थाल्छ । ८० पछि शरीरको बल ह्रास हुन्छ । १०० वर्ष पुग्दा हात–गोडा, कर्मेन्द्रीय शिथिल हुन्छन् । शतायु मानिसको परम आयु हो । तथापि १२० वर्ष पुग्दा शरीर टिक्न सक्तैन । अपवादमा एकाध जन यसभन्दा बढी बाँचेका पनि छन् ।

लामो समय हवाई उडानमा जीवन बिताएका लेखकलाई भोग विलासको जीवन पक्कै कमी थिएन होला । खप्तड बाबाको सत्संग पाएका उनको जीवन दर्शनमा अध्यात्मको प्रभाव पनि उत्तिकै गहिरो देखिन्छ । त्यसैले पुस्तक अध्यात्म ज्ञान र भौतिक विज्ञानका स्थापित मान्यताले भरिएको छ । कतिपय मानिसलाई लाग्न सक्छ, धार्मिक निष्ठा र अध्यात्म चिन्तन भनेको भौतिक सुख त्याग्नु हो जुन छाड्न मानिस हत्तपत्त तयार हुँदैन । त्यसैले ऊ यस्ता कुराबाट पर भाग्न खोज्छ । तर, लेखक खप्तडबाबाको धर्मविज्ञानलाई उद्धृत गर्दै लेख्छन्— हिन्दु संस्कृतिमा भोगको बहिष्कार छैन । अर्थ र कामको तिरष्कार पनि छैन । तर, यो नै जीवनको लक्ष होइन । विचार विज्ञानमा खप्तडबाबा भन्छन्— जिज्ञासुले आफ्ना इन्द्रियहरूलाई वशमा राख्छ, विषयी इन्द्रियहरूका वशमा हुन्छ ।

जीवनको लक्ष्य के हो त ? धर्म र अध्यात्मका दृष्टिले मोक्ष हो भने संसारी मानिसका लागि आफूले चाहेको वा गरेको काममा उच्चतम सफलता नै उसको लक्ष्य हो । लक्ष्य हासिल गर्न ऊ बाँच्नुपर्छ अर्थात् उसले पूर्ण आयु पाउनुपर्छ । चरकसंहितालाई उद्धृत गर्दै लेखक भन्छन्— आयु भनेको शरीर, मन र आत्माको संयोग हो । शरीर यसका अंग–प्रत्यंगका साथै वातावरणीय क्रिया, प्रतिक्रिया र त्यसबाट उत्पन्न प्रभावसँग सम्बन्धित हुन्छ । मन र आत्माचाहिँ मानिसले पालन गर्ने सदाचार र अन्तःकरण अर्थात् चित्तशुद्धिसँग सम्बन्धित छ । यसका लागि भने पूर्वीय चिन्तनमा पाइने योग साधना, वेदान्त एवं अध्यात्म ज्ञानलाई पछ्याउनुपर्छ ।

शरीर मोक्ष प्राप्तिको साधन हो, ब्रह्मको निवास्थान पनि । ब्रह्म र मोक्ष प्राप्तिका कुरालाई कुनै धर्मसँग जोडेर हेर्नु आवश्यक छैन । ब्रह्म भनेको सरल अर्थमा कहिल्यै नमासिने अस्तित्व हो, जुनबिना जीवन र जगत् सम्भव छैन । मोक्ष जीवन जिउनुको सार्थकता हो, उपलब्धिको उच्चतम विन्दु हो । यो यथार्थ धार्मिक आस्था भएका वा धर्म नमान्ने दुवैका लागि बराबर बुझाइ हो । लेखक भन्छन्— ईश्वरमा आस्था राख्ने अध्यात्मवादी साधक होस् वा सांसारिक सुख भोगमा रमाउने भौतिकवादी विषयानन्दी दुवैले स्वस्थ, निरोगी, बलिष्ठ, चेतनशील र दीर्घायु शरीर चाहन्छन् । तसर्थ अध्यात्म र भौतिक चेतना एकआर्कामा प्रतिकूल कुरा होइन । गहिराइमा पुग्ने हो भने दुवैमा एकत्व पाइन्छ । यो एकत्व बोध गर्नसके र आफ्नो जीवनलाई थोरै भए पनि तदनुकूल अभ्यास र आचरणमा ढाल्न सके मानिस सुखी, शान्त र दीर्घजीवी हुन्छ ।

धर्मबारे हाम्रो बुझाइ गलत र आंशिक छ । अझ पढे–लेखेका वौद्धिक र राजनीतिमा लागेका मानिस यसबाट बढी ग्रस्त छन् । बुझ्नुपर्ने कुरा के हो भने, कर्मकाण्डका विधि र पालना नै धर्म होइन । यो मानिसको आचरण, व्यवहार र जीवन दर्शनसँग जोडिएको छ । सत्य, अहिंसा, ब्रह्मचर्य, दया, क्षमा, दान, परोपकार, स्वाध्याय, स्वच्छ चिन्तन, पवित्रता, सन्तोष, समभाव, सद्भाव मानिसले आफनो जीवनमा नित्य पालन गर्नुपर्ने कर्म हुन् । यसको पालना नै धर्म हो । यी कुरा एउटा असल जीवनका लागि अनिवार्य मान्यता पनि ह्न् ु। यसको पालना गर्दा मानिस कसरी पुरातन, अन्धविश्वासी र धर्मभीरु हुन्छ ? धर्म र पाप, स्वर्ग र नर्क देखाएर कर्मकाण्डको धन्दा र गलत आश्रमका नौटंकीले यसलाई विरूप बनाएका छन् । धर्मलाई निहित स्वार्थसिद्धिको माध्यम बनाउनेले यसको बद्नाम गरेका छन् ।

संसारी मानिस लक्षित काम, पेसा वा व्यवसायबाट उमेरका कारण स्वभावतः निवृत्त पनि हुन्छ । उच्च पदमा पुगेका मानिसमा पदान्तर वा अवकाशपछि जैविक वृद्धत्व चाँडै आउँछ । त्यसैले उनीहरू पद छाड्न चाहँदैनन् । छाड्नैपरे पनि उनीहरू अर्को पद र सुविधाका बढी लालची हुन्छन् । वास्तवमा राजनीतिलगायत सार्वजनिक सेवामा रहेकाले आफूले वाचा गरेका सिद्धान्त, नीति र आफ्ना यथार्थ कर्मबारे सके हरेक दिन, नसके कम्तीमा साता वा महिनामा एकपटक एकान्तमा आत्मसमीक्षा गर्नु जरुरी छ । संसारलाई जति ढाँटे पनि आफूलाई कसैले ढाँट्न सक्तैन । आफ्नो कामको सबैभन्दा ठूलो साक्षी आफैं हो । यो नै अध्यात्म चिन्तनको प्रवेशद्वार हो । पदबाट निवृत्त भएपछि आफ्ना कर्म र व्यवहारको समीक्षात्मक स्मरण लेख्न वा लेखाउन सके नयाँ पुस्ताका लागि गतिलो शिक्षाको स्रोत मिल्छ, इतिहासप्रति इमानदारी स्थापित हुन्छ ।

प्रकाशित : पुस २६, २०७६ ११:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×