९० सालको भुइँचालोअघि ‘दिव्योपदेश’ कहाँ थियो ?

मार्टिन चौतारीसँग सम्बद्ध इतिहासकार तथा अध्येता प्रत्यूष वन्त ‘समाज अध्ययन’ र ‘सिन्हास’ जर्नलका एकजना सम्पादक हुन्  । उनको लेखन, सम्पादन र सहसम्पादनमा मिडिया, समाज र इतिहाससँग सम्बन्धित थुप्रै पुस्तक प्रकाशित छन्  ।

९० सालको भुइँचालोअघि ‘दिव्योपदेश’ कहाँ थियो ?

नेपाली राष्ट्रवादको इतिहासमा विद्यावारिधि गरेका वन्तसँग पृथ्वीनारायण शाहको नायक–निर्माणसम्बन्धी सेरोफेरोमा सङ्गीत र दीपक सापकोटाले गरेको संवाद :

नेपाली समाज व्यक्तिपूजा र नायकपूजामा बढी रमाएको देखिन्छ । त्यस्तै नायकमध्ये पृथ्वीनारायण शाहको सबैभन्दा बढी चर्चा हुन्छ ? शाह इतिहासको कुन विन्दुदेखि आमपंक्तिमा स्थापित गरिए ?
हो, हाम्रो समाजमा नायक पूजा छ नै । यसबारे धेरैले लेखिसकेका, बोलिसकेका छन् । मैलेचाहिँ प्राज्ञिक अनुसन्धान वा पीएचडी गर्दा मेरो मनमा खेलेको एउटा साधारण प्रश्नलाई लिएको थिएँ । त्यो प्रश्न थियो— मेरो हजुरबाले स्कुल पढ्न त पाउनुभएन तर, उहाँ हुर्किंदा पनि उहाँले मजस्तै पृथ्वीनारायण शाह, भानुभक्त आचार्यको नाम सुन्दै र त्यसबारे कथा पढ्दै हुर्कनुभयो कि भएन ? म आफ्नो पीएचडीको काममा त्यही प्रश्नको उत्तर खोज्न लागें । म महेन्द्रको पालामा जन्मेको मान्छे हुँ । त्यतिबेला मैले पढेको स्कुलको किताबमा नेपालको इतिहास र नेपाली के हो भन्ने कथा कसरी आइपुगे भन्ने प्रश्नको उत्खनन गरेको हुँ । उत्खनन गर्दा दुईवटा कुरा एकदम टाँस्सिएर आएको देखियो । मेरो अध्ययनको निचोड यो हो— पृथ्वीनारायण शाह र भानुभक्त सँगै गाँस्सिएर आएका छन् । यो मैले पहिले पनि लेखे/बोलेको कुरा हो । त्यो म दोहोर्‍याउन चाहन्नँ ।

भानुभक्त र पृथ्वीनारायणको नायकत्व स्थापनाको आरम्भ सुरुमा नेपालबाहिरबाट भएको देखिन्छ । नेपालबाहिर बनारस, दार्जिलिङ, प्रवासमा बस्न गएका वा बस्न बाध्य पारिएका व्यक्तिलाई नेपाली जाति र पहिचानको खाँचो थियो । बनारसमा मोतीरामको कालमा र त्यसको लगभग ३०–३५ वर्षपछि दार्जिलिङमा सन् १९२३/२४ को हाराहारीमा नेपाली जातिको पहिचान खोज्ने क्रममा सुरुमा भानुभक्तलाई हिरो बनाइयो । त्यसपछि इतिहासकार सूर्यविक्रम ज्ञवालीले १५ वर्षको दौरानमा पाँचवटा किताब लेख्नुभयो । पहिलो द्रव्य शाहबारे, दोस्रो राम शाहबारे, तेस्रो पृथ्वीनारायण शाहबारे, चौथो बलभद्रबारे र पाँचौं अमरसिंह थापाबारे ।

मेरो अध्ययनले के भन्छ भने सुरुमा उहाँलाई भानुभक्तकै चस्को छिरेको हो । उहाँ बनारसमा जन्मेर हुर्केको भए तापनि, २० वर्षको भइसक्दासम्म उहाँले पढेको नेपालीको रामायणलाई भानुभक्तले उल्था गरेको रामायण भनेर नचिनी ‘सात–काण्ड रामायण’ का रूपमा पढ्दै हुनुहुन्थ्यो । र, उहाँ सन् १८९८ मा जन्मेको र त्यसको २० वर्षपछि मात्रै कसैले उहाँलाई यो रामायण भानुभक्तले उल्था गरेको रामायण हो र ती भानुभक्तमाथि मोतीरामले सन् १८९१ तिरै जीवनी लेखिसकेका थिए भनिदिए । त्यसपछि थाहा पाएर भानुभक्तलाई पुनः खोज्न थालेका हुन् । मैले त्यसलाई रिडिस्कभरी भनेको छु । डिस्कभरी मोतीरामले गरे, रिडिस्कभरी ज्ञवालीले । दार्जिलिङमा जब धरणीधर, सूर्यविक्रम र पारसमणिले २३/२४ मा साहित्य सम्मेलनमार्फतको काम बढाउनुहुन्छ, सुरुमा जातिको पहिचान बढाउन साहित्यकै काम अगाडि ल्याइन्छ । वीरहरूको इतिहास लेख्नुपर्छ भन्ने लागेर सूर्यविक्रम ज्ञवालीले पृथ्वीनारायण शाहबारे लेख्नुहुन्छ ।

म सानो छँदा र हुर्किंदा पृथ्वीनारायण शाहले यो राज्य एकीकरण गरे भन्ने कथा पढें । नेपालीको मानसपटलमा पृथ्वीनारायण शाहकै पालादेखि पृथ्वीनारायणको वीरगाथा चल्थ्यो भन्ठानेर नै हामीले त्यसलाई पढ्यौं । अनुसन्धानको क्रममा चाहिँ त्यो होइन भन्ने थाहा भयो । सुरुमा अघि मैले हजुरबाको पुस्ताको उदाहरण दिएँ । सूर्यविक्रमले पृथ्वीनारायण शाहबारे लेखेको किताब सन् १९३५ मा छापिएको हो, आजभन्दा ८५ वर्षपहिले । सूर्यविक्रम बित्नुभएपछि नेपाली इतिहासकारमध्ये सबैभन्दा ठूला इतिहासकार भन्न मिल्ने (विशेषगरेर नेपालको मध्यकाल र त्यसअघिको इतिहास लेख्ने) धनवज्र बज्राचार्यले सूर्यविक्रमको स्मृतिग्रन्थमा लेखेको एउटा स्मृतिलेखमा भन्नुभएको छ, जब सूर्यविक्रमका किताब हामीले पढ्न थाल्यौं, त्यसपछि मात्र काठमान्डुमा पृथ्वीनारायण शाहबारे हामीलाई थाहा हुन थाल्यो र साथसाथै पृथ्वीनारायण शाहबाहेक आधुनिक नेपालका कुराहरू हामीलाई बढी थाहा हुन थाल्यो ।

हाम्रा हजुरबा स्कुल जान पाउनुभएन, पाउनुभएको भए सन् १९२० मा पृथ्वीनारायण शाहबारे उहाँले केही पनि पढ्नुहुन्थेन । त्यसको ५० वर्षपछि स्कुल पुगेको मैले र मेरो पुस्ताले चाहिँ पृथ्वीनारायण शाहलाई एकदमै अर्ग्यानिक फिगरको रूपमा पढ्यौं । मानौं पृथ्वीनारायण शाहको पालादेखि नै उनको ‘न्यारेटिभ’ स्थापित थियो भनेजसरी पढ्यौं । मेरो अनुसन्धानले के भन्यो भने, सूर्यविक्रमको किताब प्रकाशित भएदेखि त्यसको ४ दशकभित्रै (विसं १९९० पछिको ४० वर्षमा) पृथ्वीनारायण शाहलाई नायक बनाउने व्यापक काम भयो । शाह मात्र होइन, बलभद्र, अमरसिंह, भानुभक्त, यी सबैलाई नायक बनाइयो । यति छोटो समयमा, २० औं शताब्दीको ३/४ दशकभित्र यी सारा हिरो बनाइएको हो । हामीलाई लागिरह्यो, यिनीहरू सधैं हामीसँगै थिए । तर, थिएनन् । धनवज्रजीले भनेको कुरा हामीले होइन कसरी भन्ने ? यी नायक हुन्, तर २० औं शताब्दीमा बनाइएका ।

पृथ्वीनारायण शाहले दिएको व्याख्यान भनेर प्रचारित ‘दिव्योपदेश’ नामक लिखतबारे पनि सन्देह छ । लोकसाहित्य र लोकस्मृतिका कुनै तथ्यहरूले त्यो लिखत उनकै हो भनेर पुष्टि गर्छन् त ?
यो मलाई थाहा छैन । लोकसाहित्यको अनुसन्धान मैले गरेको छैन । २०औं शताब्दीको सुरुको समयलाई ध्यान राखी लोकसाहित्यमा पृथ्वीनारायण शाहबारे कति अनुसन्धान भए भन्ने विषयमा मलाई थाहा छैन । कसैले लेखेको हुन सक्छ, त्यो मैले देखेको छैन । पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ बारे पत्रपत्रिकामा प्रायः चर्चा चलिरहन्छ । १९९० सालको भुइँचालोअघि ‘दिव्योपदेश’ लाई रिफर गर्दै लेखिएको कुनै पनि अर्को चीज खासै देखा पर्दैन । यसले विभिन्न किसिमका कौतूहल जन्माउँछ । पृथ्वीनारायण शाहले ‘दिव्योपदेश’ एकै स्थानमा बसेर भनेनन् ।

यो पनि मानौं, विभिन्न कालमा उनले भनेका कुरालाई कसैले लिखित सामग्रीको रूपमा राख्यो । तर, ९० सालको भुइँचालोसम्म किन यो (दिव्योपदेश) कतै उल्लेख भएन वा प्रकाशमा आएन ? यसको उत्तर खोज्नुपर्छ । यो किन भएन, मलाई थाहा छैन । तर, यसले मेरो अघिको निष्कर्षलाई नै सघाउँछ । सन् १९३४ अर्थात् विसं १९९० मा भुइँचालो जान्छ, त्यसपछि बाबुराम आचार्यले एउटा किताबको एपेन्डिक्समा लेख्नुहुन्छ— फलानो–फलानो बस्नेतको भुइँचालोले भत्काएको घरमा ‘दिव्योपदेश’ भेटियो । र, त्यो टेक्स्ट सूर्यविक्रम ज्ञवालीलाई १९३५ को पृथ्वीनारायण शाहबारे जीवनी–किताब लेख्न उहाँले उपलब्ध गराउनुहुन्छ । नेपालबाट सारेर यहाँबाट उता पठाइएको भनिएको छ । यो चाखलाग्दो प्रसंग हो । त्यो टेक्स्टमा पृथ्वीनारायण शाहलाई शंका नगरौं तर यति लामो समयसम्म हराएर १९३४/३५ तिरै किन निस्कियो ? यसबारे थप अनुसन्धान हुन बाँकी छ ।

पृथ्वीनारायण शाहले आफैँ राखेका शिलालेख, ताम्रलेख भेटिएको चर्चा हुँदैन । उनको शेखपछि भेटिएका भनिएका (अनेकपटक उतारिएका) कागजपत्रलाई उनका भन्ने गरिएको छ । यो कति वस्तुगत र विश्वसनीय छ ?
म त्यो समयमा (पृथ्वीनारायण शाह बाँचेको वर्षहरूबारे) रिसर्च गरेको मान्छे होइन, मेरो रिसर्च २०औं शताब्दीमा हो । त्यसकारण यसको ठोस उत्तर मलाई थाहा छैन । उहाँकै कालमा भेटिएका कागजपत्र, चिठीपत्र वा उहाँकै जीवनीबारे अध्ययन गरेका दिनेशराज पन्तलगायतलाई यी प्रश्न सोध्नुपर्ने हुन्छ ।

इतिहासकारहरूले पृथ्वीनारायण शाहलाई शक्तिशाली, पराक्रमी, शूरवीर, साहसी भनेको पाइन्छ । एउटा व्यक्ति पराक्रमी वा साहसी हुँदैमा राष्ट्र निर्माण हुन्छ कि तत्कालीन ऐतिहासिक परिस्थितिको भूमिका पनि महत्त्वपूर्ण हुन्छ ?
पृथ्वीनारायण शाहबारे पपुलर डिस्कोर्समा भएको र उनलाई नायक बनाउनेहरूको कुरा एक ठाउँमा भयो । हामीले चाहिँ प्राज्ञिकले भनेका कुरा सोच्नुपर्छ होला । सुरुमा नेपालको इतिहास विधामा काम गर्ने बलियो परम्परा नभइसकेको अवस्थामा उनको व्यक्तित्वबारे बढी ठाउँ दिएर केही लेखियो होला । सूर्यविक्रमकै किताब उदाहरण हुन सक्छ । सन् १९७० को अन्त्यसम्म भने २/३ कुरा प्रस्ट भइसकेको थियो । उनी ती गुणले सम्पन्न थिए । उनलाई केही गर्नुपर्छ भन्ने भइसकेको थियो । तर, त्यसको स्रोत के हो र किन सफल भए भन्नेमा २/३ वटा तर्क मानिसले अगाडि सारेका छन् ।

इतिहासकार महेशचन्द्र रेग्मीले भन्नुभएको छ— गोरखा गरिब राज्य थियो, अरू धेरै राज्यहरूजस्तै त्यो राज्य हाँक्ने मानिसलाई पनि आफ्नो राज्य धनी भएको हेर्ने रुचि थियो । राज्यविस्तार गर्दा आफ्नो जीवनस्तर पनि सुध्रिन्छ, राज्य पनि ठूलो हुन्छ, अनि ठूलो राज्यको ठूलो शासक बन्छु भन्ने विचार उनमा (पृथ्वीनारायणमा) आयो होला । यस्तो विचार गर्ने उनीभन्दा अघि अरू पनि पक्कै थिए होला । उनी नै पहिलो मानिस भन्न मिल्दैन । यत्ति हो कि, उनले राज्यविस्तारको काम गरे । रेग्मी र लुडविग स्टिलरले के भन्नुभएको छ भने कब्जा गरेको भूमिबाटै जागिर दिएर सेनालाई थेग्ने उपाय उनले निकाले र प्रयोगमा ल्याए । पृथ्वीनारायण राजा हुँदाको सुरुको अवस्था र सुगौली सन्धि गर्नुअघिको अवस्थामा आकारका हिसाबले गोरखा अधिराज्य ५ सय गुणा ठूलो थियो । यो १८/१९औं शताब्दीको दक्षिण एसियाको इतिहासमै ठूलो प्रक्रिया हो । यो प्रक्रिया सफल बनाउन पृथ्वीनारायणले जति काम सुरु गरे, त्यसमा उनको भिजन थियो, उनी राम्रा म्यानेजर थिए भनेर स्विकार्नु त पर्छ तर सँगसँगै पञ्चायतकालका पाठ्यपुस्तकहरूमा भनिएजस्तै मात्रै थिएनन् ।

पृथ्वीनारायणबारे सन् १९६४ मा गरेको पीएचडीमा डा. एलएस बराल (साहित्यमा ईश्वर बराल) ले लेखेका छन् : उनी अति चलाख मान्छे थिए । उनी आफूले जित्नुपर्ने राज्यसँग कुन सर्तमा उनीहरूलाई जित्ने वा राज्यलाई कसरी मिलाउने भन्नेमा छलफल गर्न अति जान्ने मानिस थिए । चलाख मात्रै थिएनन्, षड्यन्त्र पनि गर्न जान्दथे । आवश्यक परेको बेला संसारमा उपलब्ध सम्पूर्ण रणनीति प्रयोग गरेर सबैलाई वशमा लिन सक्थे । आफ्नो शत्रुको कमजोरी र शक्ति बुझेर कमजोरीमाथि टेकेर फाइदा लिन उनी जे पनि गर्न तयार हुन्थे, कसैलाई दिएको वाचा पनि उल्लंघन गर्न तयार हुन्थे भन्छन् बराल । उनको प्रक्रियासँगै व्यक्तिगत खुबी पनि राज्य विस्तारको लागि महत्त्वपूर्ण भएको बरालले लेखेका छन् । यी खुबी हामीले ‘महेन्द्रमाला’ किताबमा पढेजस्ता राम्रैराम्रा खुबी मात्रै थिएनन् भन्न खोजेको हुँ मैले ।

उनलाई लोकतान्त्रिक युगमा पनि ‘एकीकरणकर्ता’, ‘एकताका प्रतीक’ विशेषण र ‘बडामहाराजाधिराज’ उपाधि दिनु कत्तिको उपयुक्त हो ?
उनलाई नायक बनाउन सन् १९३० पछि जे काम भयो, यो त्यसैको उपज हो । सन् १९३५ मा सूर्यविक्रमको किताब निस्कियो । त्यसका टेक्स्टहरू परिमार्जित हुँदै मैले पढेकोमा मात्र होइन, म पछिको पुस्ता तपाईंहरूले पढेको पाठ्यपुस्तकसम्म उनको गुणगान आइपुग्यो । मैले सानोमा पढेको थिएँ— पृथ्वीनारायणले भूभाग एकीकरण गरे, भानुभक्तको रामायणले भावनात्मक एकीकरण गर्‍यो । उनले सुरु गरेको र सुगौली सन्धिसम्म पुग्दा त्यो आकार ५ सय गुणा ठूलो हुनु भूभाग जोड्नु नै हो ।

सुगौली सन्धि हुँदा त उनी बितिसकेका थिए । राष्ट्रवादी न्यारेटिभमा त्यही भूभाग विस्तारलाई एकीकरण भनियो । लोकतान्त्रिककालमा त्यसलाई एकीकरण भन्ने कि नभन्नेमा ठूलो विवाद जन्मेको छ । थुप्रै प्रक्रियाबाट जमिन जुटाएका कारण उनी ‘बडामहाराज’ भनिएका पनि हुन् । तर, लोकतन्त्रमा त्यसो भन्नेहरूको मात्रै स्पेस हुनुहुँदैन । राज्यले वा राज्य हाँक्नेहरूले कसैलाई नायक बनाएर एकीकरणको श्रेय दिन चाहन्छ भने पनि लोकतन्त्रमा त्यो एकीकरण मात्र थिएन, यस्ता अन्य पक्ष पनि थिए है भन्ने मान्छेहरू र उनलाई ‘बडामहाराज’ भनिहाल्नुपर्दैन भन्ने मान्छेहरूलाई पनि आमवृत्तमा ठाउँ हुनुपर्छ । यसरी ठाउँ नहुने हो भने म जन्मे–हुर्केको पञ्चायतकाल र लोकतन्त्रमा कुनै फरक हुँदैन । यो बहस निकै स्वस्थ बहस हो । पृथ्वीनारायणको आलोचना गर्दा कसैले जुत्ता हान्दैन भन्ने डरबिना यस्तो बहस गर्न सक्यौं भने मात्रै त्यो बहस स्वस्थ हुनेछ । प्राज्ञिक भनिएकै सभामा पृथ्वीनारायणबारे प्रश्न उठाउँदा पीएचडी गरेकै मान्छेले जुत्ता फुकालेर हान्न खोज्छ भने त्यो लोकतन्त्रका लागि डर हो ।

गणतन्त्रपछि पनि चन्द्रागिरिमा पृथ्वीनारायणकै सालिक बनाउने, राष्ट्रपतिले त्यसको उद्घाटन गर्ने, प्रधानमन्त्री त्यहीँ पुगेर कविता रच्ने, पुस २७ मा सरकारी निकायले प्रभातफेरी निकाल्नेजस्ता उपक्रम धुमधामसहित भइरहेका छन् नि ?
देवेन्द्रराज पाण्डेले केही साताअघि मार्टिन चौतारिकै कार्यक्रममा हाम्रो लोकतन्त्र प्राणबिनाको लोकतन्त्र हुन लाग्यो कि के हो भनेर चिन्ता उठाउनुभयो । प्राणबिनाको लोकतन्त्रमा हुने भनेको पञ्चायतले जे सिकायो, त्यही गर्ने हो । सालिक बनाउने, नायकको नाममा पार्क बनाउने, उनकै नाममा टेक्स्टबुक बनाउने, उनकै नाममा स्कुल खोल्ने, पुरस्कार थाप्ने ! नयाँ गर्न नजानेपछि गर्ने त्यही हो । लोकतन्त्रमा ती सबै गर्दागर्दै पनि लोक नै सबैभन्दा सर्वोपरि हुन्छन् भन्ने ठानेर लोकलाई प्रतिनिधित्व गर्ने अरू काम पनि गर्ने हो । पृथ्वी प्रज्ञा पुरस्कार दिनु अनौठो होइन, सँगै अरू अनुसन्धानको काम पनि हुनुपर्‍यो । हाम्रो (नागरिकको करबाट जम्मा भएको) पैसा प्रयोग गरेर हामीलाई काम लाग्ने अध्ययन–अनुसन्धानको काम पनि सँगै गरे भइहाल्यो । प्रभातफेरी गर्दै गरून्, मन नलागे नगए भैगो । त्यो पनि नभइरहँदा ज्यान लोकतन्त्र भएको तर, प्राणचाहिँ अर्कै तन्त्रको हो कि भन्ने देखिन आयो ।

अहिलेको पुस्ताले पृथ्वीनारायणको भूमिकालाई कसरी सम्झोस् वा समीक्षा गरोस् भन्ने ठान्नुहुन्छ ?
नयाँ पुस्ताले आफ्नोबारेमा आफैं सोच्ने हो । इतिहास पढ्न के प्रश्न बनाउने भनेर त्यही पुस्ताको मानिसले सोच्ने हो । कसकसलाई नायक बनाउने भन्ने आधारभूत प्रश्न हो भने सोच्नुपर्‍यो— पञ्चायतकालमा नायक बनाइएका मानिसलाई नै लोकतन्त्रमा पनि नायक बनाउने कि नबनाउने ? बनाए कति चरणसम्म ? त्यो सोच्नुपर्‍यो । कसैलाई नायक बनाउन मन पर्‍यो भने पनि अरू किसिमको न्यारेटिभलाई पनि प्रोत्साहन गर्ने मूल्य–मान्यताबारे राज्यले के गरिरहेको छ ? त्यो पनि सोच्नुपर्छ । त्यो नहुने हो भने राज्यको कोर चरित्रमा म जन्मेर हुर्केको काल र अहिलेको कालमा केही पनि फरक छैन भन्नुपर्ने हुन्छ । त्योबेला पनि पृथ्वीनारायणकै गुणगान, अहिले पनि उनको मात्रै गुणगान हुने हो भने त केही फरक भएन नि ! जसलाई पृथ्वीनारायणकै गुणगान गर्न मन छ, त्यो उनीहरूको लोकतान्त्रिक स्वतन्त्रता भयो, त्यही गरे भइहाल्यो । लोकतन्त्रमा लोकका आधारमा हामीले त्यति मात्र नगरौं भनेर तर्क गर्ने हो ।

हामी लोकतन्त्र आयो त भन्छौं । तर, आमवृत्तमा आलोचनात्मक बहस नहुनुका कारण के होलान् ?
मैले विद्यार्थीकाल अर्थात् वयस्क जीवनको सुरुका धेरै वर्ष नेपालबाहिर बिताएँ । नेपालका राजनितीमा प्रशिक्षित हुने मौकाबाट वञ्चित भएँ । कलेज नेपालमा पढिनँ । त्यसको बेफाइदा, केही शब्दहरूको कोशमा पाइने व्याख्याहरूलाई नै खास सत्य मानेर, सोचेर संसारबारे अपेक्षा बनाइँदोरहेछ । जसले पञ्चायतविरुद्ध लामो संघर्ष गरे, प्रजातन्त्रवादी वा प्रगतिशील भन्नेहरू, लोकतन्त्रपछि उनीहरूले आफ्नो मूल्यमान्यताअनुरूप समाजमा ती मूल्यमान्यता स्थापना गर्न भयंकर काम गर्छन् भन्ने सोचेर धेरै वर्ष म त्यो भ्रममा बाँचे । त्यो होइनरहेछ । हो रहेछ के भने पञ्चायतमा एकथरी शासक थिए, ती शासकलाई हटाएर उनीहरू आफू शासक हुन खोजेको मात्र रहेछ ।

एकेडेमीको लोकतान्त्रिकरणबारे चर्चा हुँदा एक जना ठूला मान्छेले बहसमा उत्तर दिए, ‘देशमा एकेडेमी हुन्छ र एकेडेमीले किताब छाप्छ ।’ अब त्यस्तो हठ राख्नेसँग बहस कसरी गर्ने ? एकेडेमी हुन्न भनेर मैले भनेको छैन, कसैले भने होलान् । हाम्रो बहस त लोकतन्त्रमा हुने एकेडेमीले राजतन्त्रमा स्थापना भएको एकेडेमीले भन्दा कसरी फरक काम गर्ने भन्नेमा केन्द्रित हुनुपर्छ । त्यस्तो बहस नहुने हो भने त्यहाँ एक सेट प्राज्ञलाई अर्को सेट प्राज्ञले रिप्लेस गर्ने कुरा मात्र आउँछ । अहिलेको लोकतन्त्रमा यी प्रश्नको स्पेस खुम्चेको हो कि भन्ने अनुभूति हुन थालेको छ । एकदमै खुम्चिसकेको छैन, एकदमै खुम्चिन दिनु पनि हुँदैन । हामी बोलिरहनुपर्छ, हामीले भनिरहनुपर्छ— लोकतन्त्रको प्राण के हो ?

प्रकाशित : पुस २६, २०७६ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?