पृथ्वीको अटोबायोग्राफी र भ्यागुताको हर्ट अट्याक- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पृथ्वीको अटोबायोग्राफी र भ्यागुताको हर्ट अट्याक

रमेश भुसाल

काठमाडौंबाट उडेको फ्लाई दुबईको जहाज साम्यवादी परेछ  । सबै इकोनोमी क्लास  ।किनेर मदिरा वा खाना खान पाइने । यसलाई समाजवादी भन्नुपर्ला । जे भने पनि के फरक पर्छ र, आखिरमा संसार सालाखाला पुँजीवादी नै छ । वाद फरक छ व्यहोरा उस्तै । पुँजीवादको मियो गाढेर संसारभरि दाईं गरेको अमेरिका हिंडेको । तिनीहरूले पुँजीवादसँगै ज्ञानवादलाइ पनि अगाडि सारे ।

जहाँ सके त्यहाँ पैसा सोहोरे अनि ज्ञान आर्जन गर्ने किल्लाहरू खडा गरे । सेनाका क्याम्पजस्तै ज्ञानका क्याम्प बनाए, विश्वविद्यालय । अझै पनि तिनैको राइँदाइँ छ विश्व ज्ञान जगत्‌मा ।

अघिल्लोपटक उतै किनेको किताब मार्सिया जोर्नरुडले लेखेको ‘रिडिङ द रक्स, द अटोबायोग्राफी अफ द अर्थ’ सिध्याउने विचार छ, त्यो पनि २४ घण्टा उड्दाउड्दै । दुई महिनाअघिको उतैको यात्रामा इलिजावेथ कोलवर्टले लेखेको ‘द सिक्स्थ इक्स्टिङ्टन एन अन्नचुरल हिस्ट्री’ पढेको थिएँ । यी दुवै किताव पृथ्वीको इतिहास बुझाउने शब्दमाला हुन् । निकै मिहिनेत गरेर उनिएका । उड्दै पृथ्वीलाई पढ्नु, घरीघरी जहाजको झ्यालबाट चियाएर हेर्नु, अनि देखिन्छ त्यही पृथ्वीको कथा जसले हामीलाई सहेको छ । घरी अँध्यारो रात त घरी सुनौलो बिहानी एउटै यात्रामा देख्न पाइन्छ, पृथ्वी वारपार गर्दा । यति सहनशील कुनै ग्रह छैन तर यसले मानिसले गरेका ज्यादती कहिलेसम्म सहेर बस्ला ?

वैज्ञानिकहरू कराइरहेछन्— धेरै भो, अति भए खति हुन्छ । पैसा मात्रै होइन, प्रकृति पनि हेर, तर हामीलाई फुर्सद छैन किनभने हामी अनेक वादका गीत गाउने र त्यसैमा दुनियाँ नचाउनेमा माहिर भइसक्यौँ । पृथ्वीमा दुईवटा वाद थिए । मानवतावाद र प्रकृतिवाद अरू सबै उपवादहरू हुन् । तर, अहिले उपचाहिँ मुख्य भएका छन् र मुख्यचाहिँ उप । कम्तीमा मलाई त्यस्तो लाग्छ ।

जहाज उड्छ । अँध्यारो झन्झन् गाढा । घामलाई जहाजले भेट्टाउन सक्दैन । घाम अघिअघि, जहाज पछिपछि, पश्चिमको यात्रा । हाम्रै श्रमले बनेका खाडीका मुलुकमध्येको एक हो दुबई । भारत, पाकिस्तान, इरान हुँदै जहाज दुबई पुग्दै छ । आफैँले एउटा जीपीएस लिएर हिँडेको छु । घरीघरी जीपीएसले स्याटलाइट नट फाउन्ड भन्ने मेसेज दिन्छ । म के नै गर्न सक्छु र ! स्याटलाइट भेट्टाउने काम उसको हो, म चाहेर पनि सक्दिनँ ।

मार्सिया पृथ्वीको इतिहास पढ्न सक्ने मानिस हुन्, अर्थात् भूगर्भविद् । सबैले पृथ्वीलाई कहाँ पढ्दिन सक्छन् ? पृथ्वीको सुन्दरता भनेकै के हो भने यसले हरेक वस्तुलाई पुनः प्रयोग गर्छ । आज हाम्रो शरीरमा भएका हाइड्रोजन, अक्सिजन र कार्बनका हरेक अणुहरू छोटो अवधिका लागि आइपुगेका हुन् । यी फेरि फर्केर तिनै चट्टान वा अन्य प्रयोजनका लागि जानेछन् । हरेक वस्तु कालान्तरमा फेरिने छ । चलायमान पृथ्वी त्यसै भएको होइन तर समय बदलिएको छ । प्राकृतिक रूपमा जति ढुंगा, गिट्टी, बालुवा नदीहरूले बगाएर एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउँछन् त्योभन्दा बढी त मानिसले आफ्नो प्रयोजनका लागि असारपसार गर्छन् अहिले । गएको दुई सय वर्षमा पृथ्वीको सरदर तापक्रम एक डिग्रीभन्दा बढी भइसक्यो । हिमाल पग्लने दर बढ्दो छ, समुद्रको सतह उकालिएको छ । पृथ्वीले आफ्नो सन्तुलन आफैँले कायम गर्ने कानुन बनाएको छ । तर, मानिसले बिगारेको यो कानुनलाई उसले मान्छ वा मान्दैन, त्यो उसैलाई थाहा छ । विगतका केही वर्षमा भएका विपद्का घटनाले केही संकेत गर्छन्, पृथ्वी रिसाइरहेको छ ।

अठारौँ शताब्दीको अन्त्यतिर बेलायती नागरिक जेम्स ह्युटनले भूगर्भविज्ञानलाई अर्कै मोडमा उतारिदिएका थिए— मार्सिया लेख्छिन् । ह्युटनले पुरानो पृथ्वीको भग्नावशेष अहिलेको पृथ्वीको चट्टानहरूमा भेटिन्छ भनिदिए । उनले थपे, ‘जुन चट्टानमा हामी आज बसोबास गरिरहेका छौँ, त्यो कुनै बेला पानीमुनि थियो ।’ त्योभन्दा अगाडि पृथ्वीको जलवायु स्थिर थियो र त्यसले निरन्तर तर एकैनासको परिवर्तन ल्याउँदै यहाँसम्मको यात्रा गरेको हो भन्ने मत बलियो थियो । ह्युटन सन् १७९७ मा मरे, जुन बेला चार्ल्स डार्बिन जन्मेका पनि थिएनन्, जसले जीव उत्पत्तिबारे सबैभन्दा विश्वसनीय सिद्धान्त प्रस्तुत गरेका थिए । ह्युटनपछि चार्ल्स लियल नामका भूगर्भशास्त्रीले तहल्का पिटे । उनले एकैनासले पृथ्वी चलिरहेको थियो र छ भन्ने सिद्धान्त स्थापित गराउने प्रयास गरे, जुन वास्तवमा सही थिएन ।

पृथ्वीमा समयक्रममा उथलपुथल भएको थियो भन्ने कुरा उनी मान्दैनथे । यो मान्यता हट्न झन्डै १५० वर्ष लाग्यो, जुनबेला सन् १९८० मा वैज्ञानिकहरूले पुष्टि गरे कि पृथ्वीलाई झन्डै साढे ६ करोड वर्षअघि १० किलोमिटर फराकिलो मेटेरोइटले हान्यो, जसको गति ३० किलोमिटर प्रतिसेकेन्ड थियो अर्थात् अहिलेको जेट विमानभन्दा एक सय ५० गुणा धेरै । त्यसैका कारण वायुमण्डल धूलाम्मे भयो र घामको किरण छेकियो । पृथ्वी निकै चिसियो । त्यसैबेला डायनोसरलगायत पृथ्वीमा रहेका लगभग ७० प्रतिशत जीवजन्तु र वनस्पतिहरू लोप भए ।

अँ साँच्चै पृथ्वीको इतिहास केमा लेखिएको हुन्छ ? मेरो दिमागमा यो प्रश्न पहिला आएको थिएन । किताबहरूले प्रश्न गर्न सिकाउँछन् अनि केही उत्तर पनि दिन्छन् । मार्सिया भन्छिन्, वास्तवमा यो पृथ्वीको इतिहास ढुंगाहरूमा लेखिएको हुन्छ, चट्टानहरूमा लेखिएको हुन्छ । जसले ढुंगा पढ्न जान्दछन्, तिनले पृथ्वीको इतिहास बुझ्छन् । तैपनि ढुंगा अपमानित छन् ।

ढुंगाजस्तो मन भएको मान्छे, ढुंगो बोल्दैन भन्ने आरोप लगाइन्छ । अंग्रेजहरू पनि त्यस्तै भन्छन्— स्टोन् कोल्ड, स्टोन् डेड, स्टोन् साइलेन्स् । ढुंगा मृत्युको पर्याय बनेको छ । तर, पृथ्वीका बारे ढुंगालेजत्ति कसैले लेखेर राखेको छैन, उसले जति कसैले बोल्न सक्दैन । ढुंगाले जति घामपानी कसले खाएको छ ? ढुंगा त पृथ्वीको डायरी हो । ढुंगा कहिल्यै पूजनीय भएन सायद । भलै ढुंगाका देवता बनाएर हाम्रो यो भूभागमा त्यसले सम्मान पाएको छ । तर, पुजिएको ढुंगा भएर होइन, त्यसलाई कुनै आकृतिमा ढालेपछिको अवस्थालाई हो ।

मेरो दिमागमा पशुपतिनाथ आइपुग्छन्, खै किन हो ? आखिरमा त्यो पशुपतिनाथको लिंग पनि ढुंगाकै हो । तर, कसैले त्यहाँ हेर्दा ढुंगा देख्दैन । देख्छ त केवल कहिल्यै नेदेखका शिवको लिंग । उनको लिंग साँच्चै छाला–मासुको हुँदो हो त के अहिलेसम्म रहन्थ्यो ? आखिरमा शिवजीको लिंगको इतिहास त्यो पशुपतिको ढुंगामा छ । क्याबात ! यदि त्यो लिंग बनेको ढुंगो जहाँबाट ल्याइएको हो, त्यो त्यहीँ नै रहेको भए सायद कतै घर छाइएको हुन्थ्यो वा बाटो बनाउन पो प्रयोग हुन्थ्यो कि ! धर्मविरोधी नभन्नुहोला । बुद्धको मूर्ति पनि ढुंगै हो वा जिससको ।

जहाज हल्लियो पाइलटले घण्टी बजाए । आवाज आयो— सिटवेल्ट लगाउ, ट्वाइलेट प्रयोग नगर । नहल्लिने जहाज कहाँ हुन्छ र ? तर, चराहरू उड्दा त जहाजजस्तै हल्लेको देखिँदैन । हुन त म चरा चढेको पनि छैन नि ! नगरेको कुरा किन दाबी गरिरहनु !

४ अर्ब वर्ष पहिलादेखि समुद्रको पिंधमा वा ज्वालामुखीको खरानीमा पृथ्वीले आफ्नो दैनिकी ढुंगारूपी जर्नलमा लेखेको छ र त आज थाहा भयो पृथ्वीको उमेर । कति उमेरको भयो पृथ्वी ! साढे चार अर्ब ! मेरा बाबै ! मानिसले जंगली युगबाट कृषियुग सुरु गरेको १० हजार वर्ष पनि भएको छैन । कत्रो फुर्ती छ !

पृथ्वी एउटा मात्रै जीव भएको ग्रह हो, जसको एउटै कारण छ । यसले विगतका साढे चार अर्ब बर्षमा आफूलाई सधैँ सम्हालेर राखेको छ । हिउँ नै हिउँ भएका बेला पनि यो आत्तिएन । आगो नै आगो भएका बेला पनि यसले गति छाडेन । भोलि के हुन्छ कसैलाई थाहा छैन । तर, यो स्थिर छ यसले धेरै भए मिलाउँछ, थोरैभए पुर्‍याउँछ । पृथ्वीमा विचित्रको सन्तुलन कायम गर्न सक्ने क्षमता छ । पृथ्विकी बहिनी भनिने भेनस अर्थात् शुक्रग्रह समयक्रममा झन्झन् तात्तिँदै गइन् । यसको भाइ मार्स अर्थात् मंगल झन्झन् चिसो हुँदै गइरहेको छ । तर, हाम्रो पृथ्वीले आफूलाई न त निरन्तर तताउँदै गएको छ न चिस्याउँदै । स्थिर तापक्रम बनाइदिएको छ र त यहाँ जीवन छ । मान्छेहरूले बरु गत सय वर्षमा यसको तापक्रम बढाइदिए । यही जहाज चढेर मैले पनि त्यो तताउने कामलाई सहयोग गरिरहेको छु । सात अर्ब मानिसले केही न केही गरेका छन् र पृथ्वीलाई असह्यै भइसक्यो । कसले बुझ्ने, केही बोले विकासविरोधी भन्छन् । पुँजीवादी दुनियाँको कथा नै बेग्लै छ ।

ढुंगो कति महत्त्वपूर्ण छ भन्ने बुझ्न एक छिन पश्चिम अस्ट्रेलियाको ज्याक हिल्स पहाडतिर जाऊँ । त्यहाँको एउटा ढुंगाले पृथ्वीको उमेर पत्ता लगाइदियो । बलौटे ढुंगाभित्रको जिर्कनले बताइदियो पृथ्वीको उमेर । त्यसले अर्बौं वर्षको घामपानीको कथा बताइदियो । पृथ्वीलाई कहिले अचाक्ली ज्वरो आएको थियो भने कहिले कठ्यांग्रिएको थियो । तर, कहिल्यै पनि पृथ्वीको जलवायु उसको काबुबाहिर गएन । वास्तवमा पृथ्वी स–साना प्रणालीहरूको बृहत् रूप हो, जहाँ ढुंगा, माटो, हावा र जीवहरू सहभागी हुन्छन्, मार्सिया लेख्छिन् । ‘हेर्दा लाग्छ, मैले गरेको सानो कुराले कहाँ यत्रो पृथ्वीलाई असर पर्छ र ? वास्वतमा पर्छ किनभने स–साना कुरा मिलेर ठूलो हुने हो’, योचाहिँ मैले लेखेको ।

जहाज खाडीमा टेक्छ । हप्प गर्मी नै छ । चिसो भएकाले लगाएको कपडा फुकालौंजस्तो लागिरहेछ । बसले आधा घण्टाजति घुमाएर इमिरेट्सको जहाज चढ्ने ठाउँ पुर्‍याउँछ । पाना पल्टिरहन्छन् । भर्खरै अर्को किताब पढिसिध्याएको थिएँ, इलिजावेथ कोलवर्टले लेखेको ‘द सिक्थ इक्स्टिङ्न एन अनन्याचुरल हिस्ट्री’ । दुई महिनाअघि म पूर्वतिरबाट अमेरिका गएको थिएँ, प्रशान्त महासागर काटेर । अहिले पश्चिमतिरबाट एटलान्टिक महासागर काटियो । पृथ्वीको फन्को मारेको पनि धेरैपटक भयो ।

एलिजावेथको किताबको मुख्य प्रश्न छ, यति लामो यात्रा गरेर आएको पृथ्वीमा अर्को ठूलो उथलपुथल कहिले होला ? कि केही संकेत मिलिसक्यो ? उनको किताब एउटा डरलाग्दो तर सत्य कथाबाट सुरु हुन्छ । यही शताब्दीको सुरुतिर मध्यअमेरिकाको पानामा नामक देशको इलभालडी एन्टोन सहर आसपासबाट विषालु सुनौला भ्यागुताहरू एकाएक हराए । त्यो एउटा विषालु भ्यागुताको विषले झन्डै एक हजार मुसा मार्ने क्षमता राख्छन् ।

सन् २००४ मा हजारौं भ्यागुताका लास छरपस्ट देखिन थाल्यो । अमेरिका र पानामाका केही वैज्ञानिकले अनुमान लगाए, अब यो धेरै दिन रहनेवाला छैन । उनीहरूले केही दर्जन भ्यागुता धेरै समय लगाएर खोजे र उनीहरूका लागि होटल खोले । त्यसलाई फ्रग्स् होटल नामकरण गरियो र ती भ्यागुतालाई त्यहाँ ल्याएर पालियो । वैज्ञानिकले लेख छापे— के हामी छैटौं सामूहिक जीव लोपको नजिकै छौं ? योभन्दा अगाडि अहिलेसम्म थाहा भएअनुसार ५ पटक जीवजन्तुहरूको सामूहिक लोप भएको थियो । पहिलो २५ करोड वर्षअघि भएको मानिन्छ, जुन बेला जीवहरू जमिनमा बसिसकेका पनि थिएनन् । त्योबेला पृथ्वीमा रहेका ती जीव लगभग सबै मरेका थिए रे । यसलाई लोप इतिहासको सबैभन्दा डरलाग्दो समय मान्छन् वैज्ञानिकहरू । त्यसपछि तीनवटा त्यस्ता घटना भए । आज हामीले धेरै चर्चा गर्ने गरेको लोप घटनाचाहिँ डाइनोसरको हो, जुन पाँचौं थियो ।

वैज्ञानिकले भन्दै थिए, जुन गतिमा भ्यागुताहरू पानामामा मरिरहेका थिए, यसले अर्को त्यस्तै ठूलो जीवहरूको लोपको संकेत गर्छ, छैटौं लोप । भ्यागुताजस्ता उभयचर प्राणीको उत्पत्ति २० करोड वर्षपहिला नै भएको थियो, जुन बेला पृथ्वी एउटा मात्रै ढिक्को थियो । त्यसपछि मात्रै यो विभिन्न महादेशमा छुट्टिन सुरु भएको बताइन्छ । अमेरिकादेखि अस्ट्रेलियासम्म, पानामादेखि इक्वेडरसम्म विभिन्न प्रजातिका भ्यागुता हराइरहेका समाचार आइरहेका थिए गएको ३० वर्षमा । तर, पानामामा भने एकाएक भ्यागुता हराए । हाम्रै अगाडि यही काठमाडौं सहरमा घर–टोल आसपासमा के–के हराए हामीलाई चासो छैन । अघिल्लो महिना पनौतीको कुशादेवी जाँदा एक जना कृषक भन्दै थिए, आजकल जुका हराए । किन होला भन्ने प्रश्नमा उनको अनुमान थियो, रासायनिक मलको प्रयोगजस्तो लाग्छ । मैले विज्ञहरूलाई सोधेको छैन ।

भ्यागुतातिर लागौँ । किन ती भ्यागुता मरे भन्ने कुरा पत्ता लागिरहेको थिएन । विज्ञानले प्रश्न गराउँछ अनि उत्तर खोज्न लाग्छन् वैज्ञानिकहरू । कत्रो मिहिनेत पर्छ, ज्ञानको उत्पादन गर्न । हामी तिनीहरूको ज्ञानको रस चुस्नेहरूलाई सामान्य लाग्छ ।

अन्य ठाउँमा पनि भ्यागुता मरिरहेकाले त्यसबारे चासो बढिरहेको थियो । वासिङ्टन डीसीको राष्ट्रिय चिडियाखानामा सुरिनामबाट ल्याइएका एक किसिमका भ्यागुतालाई ट्याङ्कीमा राखिएको थियो । तर, ती भ्यागुता भकाभक मर्न थालेका थिए । एक दिन पशु प्याथोलोजिस्टले मरेको भ्यागुतालाई माइक्रोस्कपमा राखेर हेर्दा त छालामा चिट्रिड्स नामको फंगस रहेको पत्ता लगाए । यो फंगस रूखका टुप्पादेखि जमिनमुनिसम्म पाइने भए पनि यही प्रजातिको चाहिँ त्योभन्दा अघि कतै देखिएको थिएन । यसलाई बाट्राको चाइट्रिइयम नामकरण गरियो अर्थात् ग्रीक भाषामा बाट्राकोस भनेको भ्यागुता हुन्छ । ती फंगसलाई कल्चर गरेर स्वस्थ भ्यागुतामा प्रयोग गरियो, त्यसो गरेको तीन साताभित्रै भ्यागुताहरू मर्न थाले । वास्तवमा त्यो फंगसले भ्यागुताको छालाबाट इलेक्ट्रोलाइटलाई छिर्न नदिँदारहेछन्, जसका कारण भ्यागुता मरे । उनीहरूले यसलाई भ्यागुतामा हुने हृदयाघात भन्ने गरेका छन् ।

विश्व साम्राज्य बनाउन हिँडेको बेलायती भूमि काटेर जहाज घण्टौँ लामो समुद्री यात्रामा निस्कियो । एटलान्टिक महासागर । दुईतले जहाजमा के छैन, सबैथोक छ । विश्वकै सबैभन्दा ठूलो जहाजमा माथिल्लो तलामा पैसा धेरै तिर्नेहरू बसेका छन् । भर्‍याङमा डोरी बाँधेर इकोनमी क्लासका मानिसलाई प्रवेश निषेध गरिएको छ । टाइटानिक फिल्मको याद आउँछ । जसले बढी पैसा तिर्छ, उसैले विशेष सुविधा पाउँछ । यो त पुँजीवादको नियम नै हो ।


भ्यागुतातिरै फर्कौं । पानामाका भ्यागुतालाई पनि त्यस्तै भएको हुनुपर्छ । फंगसले डामे ती भ्यागुतालाई पनि । ती पनि हृदयाघातले मरे । तर, भ्यागुता होटलका भ्यागुता जंगल कहिले फर्किन्छन् थाहा छैन । लोप भएका सुनौला भ्यागुताको वंश धानेर यो होटलमा बसेका भ्यागुताले के फेरि त्यस्तै संख्या बनाउलान् वा जंगलमा छाडिएपछि ती पनि त्यसैगरी मरेर सखापै होलान् ? यसबारे वैज्ञानिकहरू अनभिज्ञ छन् । त्यसैले वैज्ञानिकहरू भ्यागुतालाई जंगलमा लगेर छाड्न हिच्किचाइरहेका छन् ।

आखिरमा विज्ञानले जे गरे पनि, मानिसले चमत्कारै गरे पनि प्रकृति दाहिना भएन भने कसैको केही लाग्दैन । कुनै दिन मानिसहरू भकाभक मर्न थाले भने र कारण थाहा नपाई सबै जनसंख्या सिद्धियो भने के होला ? त्यो हुनै नसक्ने कुरा त होइन । ती सुनौला भ्यागुताको होटल खोल्न त मानिसले सके तर मानिसहरूका लागि कसले होटल खोलिदिन्छ ?

२४ घण्टामा विश्वको राजधानी भनिने अमेरिकाको वासिङ्टन डीसी पुगिन्छ । जहाज नभएको भए के म यो भूमिमा आउन सक्थेँ होला ? कफी पिएर एउटा कुनोबाट हिँडेको मानिस अर्को बिहानको कफी पिउन पृथ्वीको पल्लो कुनामा पुग्न सक्ने बनायो विज्ञानले । सबैभन्दा भाग्यमानी पुस्ता हौँ हामी । तर, अभागी पनि । पृथ्वीलाई विज्ञानले चमत्कार त दियो, सँगसँगै बोझ पनि बोकायो । मानिसले पृथ्वीको जलवायुचक्रमा परिवर्तन ल्याउनेसम्मको फेरबदल गरिदिएका छन्, त्यो पनि गत दुई सय वर्षमै, जुन हजारौँ वा लाखौँ भौगर्भिक वर्षमा हुनेगर्थ्यो, त्यही अहिले सय वर्षमै हुन थालिसक्यो ।

पृथ्वी अजिबको छ । एकदम मिहिन तरिकाले बनाइएको प्रयोगशालाजस्तो । अड्कलेर राखेको अक्सिजन, उस्तै कार्बनडाइअक्साइड । मार्सिया लेख्छिन्, ‘पृथ्वीको डायरी लेख्ने तीन ढुंगारूपी कलमहरू छन् । तिनीहरूलाई चिन्न–बुझ्न सके पृथ्वी बुझिन्छ । पृथ्वीको जलवायु कस्तो थियो, कता पानी थियो, कता जमिन वा यस्तै बुझ्न मन लागे सेडिमन्टरी चट्टान वा ढुंगा खोज्नुपर्छ । यी चट्टान वा ढुंगा समुद्रको पिंध वा जमिनको बाहिरी भागमा हुन्छन् र स–साना कणहरू जम्मा हुँदै बन्छन् । जस्तो बलौटे ढुंगा वा चुनढुंगा । अर्को हो इग्नियस् चट्टान, जुन जमिनभित्रका तहमा भेटिन्छन्, जसले पृथ्वी लामो समयसम्म कस्तो रासायनिक चक्रबाट गुज्रियो भनेर रासायनिक इतिहास राखेर बस्छन् । र, अर्काचाहिँ फिरन्ते चट्टान हुन्छन्, जसलाई मेटामर्फिक रक भन्छन् । यिनीहरू सेडिमेन्टरी वा इग्नियस दुवै हुन सक्छन् र कुनै एक वातावरणबाट यात्रा गर्दै अर्कै वातावरणमा पुग्छन् ।’

जाबो ढुंगाको बारेमा यत्रो चर्चा र चासो के जरुरी छ ! पक्कै पनि छ । ढुंगा र चट्टान धेरै भएको देशका नागरिक हामी । हामीले कति बुझ्यौँ, ढुंगालाई या सधैँ भञ्ज्याङमा भगवान् बनाएर मात्रै राख्यौ वा मन्दिरमा कुँदेर मात्रै । हिमालय पर्वतमा अवस्थित हाम्रो देशमा आज विश्वचर्चित ढुंगा वा चट्टान प्रयोगशाला हुनुपर्थ्यो तर देश त राजनीतिक प्रयोगशाला पो बनिरहेको छ । ढुंगा, माटो, नदीको के वास्ता ! हुन त टोनी हागनले भनिदिएका थिए, पूरै नेपाल नै भौगर्भिक प्रयोगशाला हो । हामी मख्ख पर्‍यौं, त्यसपछि केही गरेनौं ।

जीवनमा कहिल्यै नभएको घटना भयो यसपटक अमेरिकामा । मित्र यादव जोशी मलाई भेट्न आए । के खाने ? महँगो अचाक्ली छ अमेरिकामा, कम्तीमा हाम्रा लागि । ‘जाडोमा सुप खाऊँ यसै पनि थकाली भान्छाघर नजिक छैन,’ मैले भनें ।

हामी भियतनामी नुडल सुप खान पस्यौँ डीसीको चाइना टाउन नजिकै । फो गा भनेको चिकेन नुडल । अर्डर गर्‍यौं । छेउमा एकजोडी काला जातिका मानिस गफ गरिरहेका थिए । न हामीले उनीहरूलाई हेर्‍यौं, न उनीहरूले हामीलाई । फो गा मीठो भयो त्यो चिसोमा । ती त्यो जोडी हामीभन्दा पहिल्यै उठेर गए ।

‘बिल पाऊँ न’, मैले भने, त्यो जोडी उठेको केही बेरपछि । मंगोलियन अनुहारका ती वेटर आए र भने, ‘सर द लेडी नेक्स्ट टु योर टेबल पेड योर बिल ।’ ‘कसरी, कसैले हामीले खाएको तिर्न सक्छ बिनाजानकारी ? मलाई किन भनेनौ ?’ उनले जवाफ फर्काए, ‘उनले तपाईंहरूको बिल तिरेको कुरा तपाईंहरूलाई थाहा नहोस् भनेर भन्न चाहन्न भनिन् ।’ ‘यो के भो ? पुँजीवादको किल्लामा फ्री डिनर ?’

प्रश्न अनेक आए मनमा । किन ती काली महिलाले हाम्रो बिल तिरिदिइन् हँ ? के तिनलाई थाहा थियो— हामी गरिब मुलुकबाट आएका हौं ? आजसम्म कसैले यस्तो गरेको थिएन । खै, सायद ऊ आफ्नो प्रेमीसँग खुसी भई । उनीहरूले विवाह बन्धनमा बाँधिने निर्णय गरे वा कुनै चिठ्ठा पर्‍यो, भगवान् जाने । पहिलोपटक पुँजीवादको किल्लामा फ्री डिनर खाइयो ।

वैज्ञानिकलाई पृथ्वीको उमेर पत्ता लगाउन बरु सजिलो भयो होला तर म बुबुरोलाई त्यो फ्री डिनरको कारण पत्ता लगाउन असम्भव नै छ । कहाँ खोज्न जाऊँ तिनीहरूलाई ! मैले सोधेँ, ‘इमेल वा फोन छ ?’ बेटरले उत्तर फर्काए, ‘छैन ।’

रातभरि सोचिरहें, कसले तिर्‍यो मेरो खानाको पैसा ? तर, उत्तर छैन । दुईतले जहाज फर्केर फेरि पूर्व हानिन्छ । बाटो तलमाथि वा पूर्वपश्चिम पर्ला तर गन्तव्य निश्चित छ । जाँदा अँध्यारै अँध्यारो थियो, आउँदा उज्यालै उज्यालो । जाँदा दिन हरायो, आउँदा रात हरायो । जहाज उड्दै गर्दा म त्यो विशाल वासिङ्टनमा त्यो जोडीको घर खोज्छु, जसले मेरो खानाको बिल तिरिदियो, जसरी वैज्ञानिकहरू पृथ्वीको उमेर खोज्दै थिए कुनै ढुंगामा ।

प्रकाशित : पुस २६, २०७६ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्

उसको खप्परमा गिदी छ

किशोर नेपाल

दीपक न्युयोर्कजस्तो संसारको राजधानीका रूपमा कहलिएको ठूलो शहरमा ‘उबर’ चलाउँछ भन्दैमा उसलाई ग्रेहाउण्ड बस अड्डाको लोकेसन पनि थाहा होला भनेर कसरी सोच्नु ? फोन गरेर बोलाउने मानिस आएर कारमा नबसेसम्म दीपकले कुनै पनि लोकेसनबारे सचेत हुनु आवश्यक थिएन  । साँच्चै, न्युयोर्क जगमग र जीवन्त शहर हो  ।

ट्विनटावर विनाशको पीडा मानिसको मनमा अझै बिझिरहेकै छ होला । आउँदा दिनमा पनि त्यो पीडा बल्झिइरहनेछ । तर, अहिलेसम्म कसैले पनि छाती खोलेर त्यो पीडाको प्रदर्शन गरेको देखिएको छैन । शहरका एफएमहरूमा अधिकांश स्टिभी वन्डरको गीत बज्ने गर्छ— आई जस्ट कल्ड टु से आई लभ यू । मानिसहरू यही गीत रुचाउँछन् । त्यही बजाउँछन् ।


ट्विनटावर ध्वस्त भएको पीडा न्युयोर्क राज्य सरकारले अथवा केन्द्रीय सरकारले मानिसको मनमा रोपेको थिएन । साँच्चै, ट्विनटावर ध्वस्त भयो । विकल्पमा त नभनौं, अर्को टावर बनिसक्यो । सत्य हो, ट्विनटावरको विकल्प छैन । ट्विनटावरको विकल्प त ट्विनटावर नै हो । जबसम्म ट्विनटावर बनेको थिएन, एम्पायर स्टेट बिल्डिङ थियो न्युयोर्क शहरको उचाइ । ट्विनटावर बन्यो । त्यसले एम्पायर स्टेट बिल्डिङको उचाइलाई जित्यो । तर, ट्विनटावर एम्पायर स्टेट बिल्डिङको विकल्प बन्न सकेन ।

उच र नीचको कुरा यस्तै हो । संसारमा को ठूलो हो र को सानो ? मानिस होस् या वस्तु ! न्युयोर्कमा जन्मेका लरेन्स मनसान्टो फर्लङ्गेटी आफ्नो कविता संग्रह ‘ए कन्भे आइल्यान्ड अफ द माइन्ड’ को दस लाख प्रति बिकेपछि पनि सुशान्त रहे । जति बेला उनी तन्नेरी थिए— मलाई राम्रो सम्झना छ, उनका कविता कवि शैलेन्द्र साकारले र मैले सँगै पढेका थियौं झोंछेको पवमा ‘ऐला’ पिउँदै । अहिले त पहिलेको झोंछेजस्तो पनि छैन झोंछे । हट लेमन हनी भएको छ । साकार पनि अहिले अमेरिकाको नर्थ क्यारोलिनातिर हल्लिँदै छ । एउटा पारिवारिक त्रासदीपछि ऊ रुन पनि सकेको थिएन र हाँस्न पनि । तर, समयान्तरमा उसले आफूलाई सम्हाल्यो । भुइँचालोपछि त अब वसन्तपुरको अवतार पनि बदलिएको छ । लरेन्स काठमाडौं आए कि आएनन् ? त्यो मलाई थाहा भएन । यो लरेन्सको कुरा भयो । यसबारे साकारलाई बढी थाहा होला । साथी–भाइहरूका बीचमा हंग्री र एंग्री जेनरेसनको कुरा उही बुझ्थ्यो ।

ज्याक्सन हाइटका नेपालीहरू सामान्यतया ‘सेभेन ट्रेन’ चढेर म्यानहट्टनको गौरव मानिएको ‘टाइम्स स्क्वायर’ पुग्छन् । उति बेला काठमाडौ शहरकी पपुलर न्युज एंकर मृदुला कोइरालाको प्रसिद्ध रेस्टुराँ पनि यहीं थियो रे । सेभेन ट्रेनको अन्तिम स्टेसन यही हो । टाइम्स स्क्वायरबाट ग्रेहाउन्ड बस अड्डा पुग्न सजिलो छ । यसो भनौं, त्यो अहिले म हिँडिरहेको यसै भवनको एउटा छेउमा छ । एक छिनअगाडि दीपक र म हाम्रो देशजस्तै उल्टो दिशामा दौडिरहेका थियौं । पूरै शहर दर्के पानीमा निथ्रुक्क भिजेको थियो । दीपकलाई बस अड्डा फेला पार्न हम्मे परेको थियो । उसले पेनसिल्भानिया एभेन्युको ‘पेन स्टेसन’ अगाडि, ट्याक्सी वेमा कार रोकेर, मलाई न्युयोर्क शहरबाट बिदा गर्‍यो । पानी बेस्सरी दर्किइरहेको थियो । न्युयोर्क शहर नै डुबाउला कि जस्तो ! सामान्य आँखाले उचाई नाप्न नसकिने म्यानहट्टनका गगनचुम्बी भवनमा बस्नेहरूले के गरे होलान्, यो दर्के पानीको अनुभव ? भवनहरू पचासौं तलाका होलान् । ‘त्यति माथि पानीको वेग हुँदैन कि’ दीपकसँग बिदा हुने बेला आँखाबाट निस्केका पिलपिल आँसु पुछ्दै मेरा पाइला पेन स्टेसनभित्र लम्किए । त्यसरी अघि बढ्दाबढ्दै पनि म के–के कुराहरू सोच्दै थिएँ ! यत्तिकैमा म झन्डै लडेको । कति बेला पाइलाले समथर भुइँ छाडेर ‘स्टेप’ टेकी सकेछन् । थाहै भएन ।

अमेरिका नाम गरेको देशमा ‘जानकारी’ नहुनु भनेको मानिस आफैं द्विविधामा रहनु हो । मानौं कि द्विविधामा हुनु पनि एक प्रकारले आफैंमा अपराध हो । मलाई जानकारी चाहिएको थियो ः ग्रे हाउन्ड बस स्टपको लोकेसनको । खै, त्यो कतातिर छ ? ‘इन्स्ट्रक्सन्स’ पछ्याउँदै जाँदा, बेलाबेलामा यो स्टेसनमा आइपुग्दा, मैले यता आउँदा–जाँदा देख्ने गरेको, ‘हडसन स्टोर’ देखें । यो स्टोर मलाई रमाइलो लाग्थ्यो । बुक, न्युजपेपर्स र अनेक प्रकारका खुद्रा सामानको स्टोर, र सँगै कफी पसल । कफीको चर्को वास्नाले वातावरण महकिएको थियो । कफीको यो बास्ना, मलाई लाग्यो, निकारागुअन कफीको हो । म कफीका लागि नलोभिएको होइन । तैपनि, म त्यहाँ नरोकिईकनै पेन स्टेसनको सबभन्दा पुछारको तलामा रहेको ग्रे हाउन्ड र पिटर प्यान बसको अड्डामा पुगें । मलाई खुशी लागेको थियो । किनभने, बसमा चढ्न मैले खासै हतार गर्नुपरेको थिएन । बस गुड्ने निर्धारित समयभन्दा झन्डै बीस मिनटअघि म त्यहाँ हाजिर भएको थिएँ । मैले ‘अनलाइन’ खरिद गरेको टिकट मेरो स्मार्ट फोनमा सुरक्षित थियो । म ढुक्क थिएँ । तर, मेरो ‘ढुक्क’ भाव एक छिनका लागि मात्र वैधानिक भयो ।

त्यसपछि ढुक्क हुन पाइनँ म । भूतहरू संग्रालिन थाले मेरो दिमागमा । यस्तो भयो कि अनायास नै, मेरा पाइला बस अड्डामा रहेको इन्क्वायरी काउन्टरतिर बढे । काठमाडौंतिर भेटिने, कतारो फाल्ने चौबाटोमा बास बस्ने भनेर चर्चामा आउने, रैथाने भूतले एकाएक डोहोर्‍याएजस्तो । सबै आफ से आफ । सबै कुरा बिर्सिएर मैले काउन्टरमा बसेको मानिसलाई आफ्नो स्मार्ट फोनमा रहेको टिकट खरिदसम्बन्धी सूचना देखाएँ । म ऊसँग बोल्न चाहन्नथें । उसले मैले बोलेको अंग्रेजी बुझ्दैन भन्ने मलाई थाहा थियो । उसले मेरो मोबाइलमा डाउनलोड गरिएको टिकटतिर आँखा पनि नलगाई मलाई टिकट काउन्टरतिर जाने इसारा गर्‍यो । म टिकट काउन्टरमा पुगें । मैले काउन्टर छोड्नुभन्दा पहिले, मेरा आँखा काउन्टर क्लर्कको छातीको बायाँतिर टांगिएको नेम ट्यागमा परे— ह्यामिल्टन । मलाई त्यो मानिस कताकता मानिस नभएर हामीले आफ्नो बालककालमा घरअगाडिको चौरमा किङ (बल) खेल्दा छिनछिनमा कल्पना गर्ने गरेको भकुन्डे भूतजस्तै लाग्यो । उसको अनुहारको आकार भकुन्डोजस्तै थियो । रङ निख्खर सेतो । दाँतको रङ निख्खर कालो । त्यसमाथि ऊ कालो सुट, कालो ‘बो’ टाई र सेतो कमिजमा सजिएको थियो । गोरो अनुहारमा काला दाँत !

ती गज्जबसँग चम्किइरहेका थिए । ह्यामिल्टन— यो नाम मेरो मनमा गढेर बस्यो । यस्तै मानिसलाई मैले बाल्टिमोर शहरको प्रसिद्ध टाउसन मलमा पनि देखेको थिएँ । ‘नेक्स्ट’ म झस्किएँ । ‘नेक्स्ट’ पछि सामान्यतया यो समाजमा बोलिने ‘प्लिज’ शब्दको उच्चारण पनि गरेन उसले । मेरो पालो आइसकेको रहेछ । मैले झ्यालको खोपाबाट हात घुसारेर आफ्नो मोबाइलको स्क्रिन देखाएँ । तर, ‘नेक्स्ट’ ले मेरो हात स्वीकार गरेन । अलि रूखो स्वरमा भन्यो, ‘युअर आईडी ।’ मैले खल्तीबाट नेपाल सरकारले जारी गरेको, हरियो रङको, साह्रै पातलो, ‘एमआरपी’ पासपोर्ट झिकेर उसलाई दिएँ । उसले त्यसलाई ओल्टाई पल्टाई हेर्‍यो । हामीले मूल्यवान ठहर्‍याउने त्यो एमआरपी पासपोर्टलाई सामान्य कागज जति पनि मान्यता दिएन । उसले मेरो पासपोर्टलाई कम्प्युटरमा घिसार्‍यो । त्यसपछि उसका हातका औंला कम्प्युटरका किबोर्डमा चल्न थाले । एकै छिनमा कम्प्युटर प्रिन्टरले बोर्डिङ टिकट छाप्यो । ‘नेक्स्ट’ ले टिकट र पासपोर्ट मेरो हातमा राखिदियो ।

नेक्स्टसँग म मुग्ध भएको थिएँ । किनभने, उसका र मेरा बीचमा, यो अपरिचित वातावरणमा पनि, ‘व्यक्तित्वगत’ समानता भेटेको थिएँ मैले । मैले देखें, ऊ पनि, मजस्तै, कम्प्युटरको किबोर्डमा दुईवटा मात्रै औंला चलाउँथ्यो । मेरो घाँटीमा देवी भुवनेश्वरीको लकेट झुन्डिएको थियो । उसको घाँटीमा क्रसको । मैले ‘नेक्स्ट’ को छातीको बायाँतिर टाँगिएको नेम ट्याग देखें । मैले सोचेकै थिइनँ, यहाँ पनि ह्यामिल्टन नामको समानता होला भनेर । तर, नामको समानता थियो । सम्झेर म झसंग भएँ । नेक्स्टको छातीको बायाँतिर टाँगिएको नेम ट्यागमा लेखिएको थियो— ह्यामिल्टन । योचाहिँ निख्खर कालो रङको ‘ह्यामिल्टन’ थियो । दाँत अत्यधिक सेता र उत्तिकै चम्किला । नामहरूको यो मिलनले मलाई मेरो मनको साँघुरो संसारमा ठूलै गडबडी उत्पन्न हुन लागेजस्तो लाग्यो । ‘घोस्टबस्टर’ जस्ता अमेरिकी सिनेमाले उत्तेजित बनाएको मेरो मनमा भूतको संशय उत्पन्न भयो । गोरो छालामा कालो दाँत भएको ह्यामिल्टन । कालो छालामा सेतो दाँत भएको ह्यामिल्टन । ह्यामिल्टन । ह्यामिल्टन । ह्यामिल्टन । सोच्दासोच्दै म वासरुमतिर लागें । धेरैपटक मनले भन्यो, भूत होइन, भ्रम हो । तै, त्यो भ्रम भन्ने मनले पनि भूतको उपस्थितिलाई इन्कार गर्न सकेको थिएन ।

निष्णात थिए ह्यामिल्टनहरू । यो त उनीहरूको अनुहारले बताउँथ्यो । टिकट काट्ने, जाँच गर्ने, मार्क लगाउने र यात्रुको यात्रा सकिएपछि टिकटमा प्वाल पारेर त्यसलाई रद्द गर्ने । म त्यो ‘प्वाल पार्ने’ पन्चिङ मसिन कुन ‘ब्रान्ड’ को थियो त्यो ब्रान्डको नाम जान्न उत्सुक थिएँ । देशतिर त्यस्तो पन्चिङ मेसिन चाहिँदैन । देशका बसमा टिकट काट्नै पर्दैन । खलासीलाई भाडा बुझाए पुग्छ । यतातिरका बसका खलासी र उताका कन्डक्टरको हाउभाउ र लाउने–खाने कुराको कुनै तुलना नै थिएन । उताका कन्डक्टर समृद्ध थिए भने यताका खलासी समृद्धिको अनिश्चित भविष्य कुरेर बसेका थिए । एक्कासि मलाई ज्ञान भयो— यताका कन्डक्टर र उताका खलासीले लगाउने कपडा एकै भए पनि, दुवैतिरको मानसिकता एउटै थियो ।

चार बज्न दस मिनट बाँकी थियो । बस स्ट्यान्डमा मानिसहरूको चहल–पहल शुरु भयो । ठीक चार बजे आउनेवाला थियो बस । विस्तार रुँग्दै गर्दा बस आउने समय भयो । यो स्टेसनबाट बोस्टन जाने बस समयभन्दा पाँच मिनेटअगाडि आइपुग्यो । त्यो बससंगै आउनुपर्ने थियो बाल्टिमोर जाने बस । त्यो बस आइपुगेन । त्यसको सट्टा, बोस्टनको बस छुट्नेबित्तिकै, ह्यामिल्टन नम्बर तीन, बस स्ट्यान्डको परिदृश्यमा देखा पर्‍यो । उसको अनुहार देखेर मलाई लाग्यो, ऊ कुनै दुःखद समाचार सुनाउन त्यहाँ आएको छ । उसले बस यात्रुहरूको ध्यान आफूतिर तान्दै भन्यो, ‘लेडिज एन्ड जन्टलम्यान ।’ लेडिज एन्ड जन्टलम्यान’ हरू हललल्ल हाँसे । हाँसोले ह्यामिल्टनको अनुहार मसांग्रियो । उसले फेरि दोहोर्‍यायो, ‘लेडिज एन्ड जन्टलम्यान,’ यसपटक सबैका कान ठाडा भए । त्यसपछि उसले जानकारी दियो, ‘बसको ड्र्राइभर स्यामुयल हिजो अफिसका साथीहरू कसैलाई थाहै नदिई, अफिसबाट औपचारिक बिदासम्म स्वीकृत नगराई आफ्नो साथीको बिहेको जन्ती गएछ । अहिले भर्खर मात्रै उसले टेलिफोन गर्‍यो ।

तिमीलाई कम्पनीले जागिरबाट निकालिदेला भन्ने डर छैन ? हामीले स्यामुयलसँग सोध्यौं । उसले केही जवाफ दिएन । वास्तवमा स्यामुयल लरतरो ड्राइभर होइन । ऊ हाम्रो ग्रेहाउन्ड संघको नेता हो ।’ यसपछि ह्यामिल्टन जसरी आएको थियो त्यसरी नै फर्कियो । अर्को बसबारे प्रश्न गर्दा यति मात्रै भन्यो, ‘व्यवस्था हुनेछ ।’

छिनको छिनमा बस स्टप खाली भयो । त्यहाँ एउटी काली महिला र उसका चार जना केटाकेटी, फिलिपिनोजस्तो देखिने एउटा बूढो र म मात्रै बाँकी रह्यौं । महिला र बूढोको अनुहार म हेरिरहेको थिएँ । उनीहरूको अनुहारमा कुनै उत्तेजना र आक्रोश थिएन । ‘अमेरिकामा पनि यस्तो हुने रहेछ’ मचाहिँ निकै उत्तेजित थिएँ । अमेरिकाजस्तो विकसित, सम्पन्न र अग्रगामी देशमा पनि एउटा ड्राइभर बिहेको भोजमा पुगेर मात्तिँदा त्यसको विकल्प नपाएर बस सेवा नै रोकिन्छ भने हाम्रो के हैसियत ! त्यहाँ अरू रुटमा चल्ने बसहरू यथावत् चलिरहेका थिए । नचलेको एउटै रुट थियो बाल्टिमोर । बाल्टिमोर रुटमा बस किन नचलेको ? स्पष्टीकरण दिइसकेको थियो ह्यामिल्टनले ।

‘अमेरिकाको न्युयोर्क शहरको मुख्य बसस्टपबाट एउटा बस बाल्टिमोर गएन । किनभने, बसको ड्राइभर स्यामुयल साथीको बिहेमा मस्त भयो,’ म सोच्दै थिएँ, ‘देशमा पुग्यो भने यो समाचार कति ठूलो हो कति । कसले पत्याउला यो समाचार ? ह्या, अमेरिकामा पनि त्यस्तो हुन्छ ? त्यत्रो सिस्टम भएको मुलुक । ल, एउटा ड्राइभर त बिहेको भोजमा गयो । विकल्पमा ड्राइभरहरू त पक्कै थिए होलान् । कस्तो हरिबिजोग !’

यो कुरा सुनिसकेपछि मैले अरू कुरा सोच्न छाडेँ । कफीको तलतल लागेकाले म नजिकैको कफी पसलतिर लागें । बसस्टपमा भेटिएकी ती काली र थसुल्ली महिला त्यही थिइन् । उनका चार सन्तान त्यही कफी पसलमा बर्गर चपाइरहेका थिए । काली महिलाचाहिँ ठूलो ‘टेक अवे’ ग्लासमा ‘स्ट्र’ बाट स्मुदी तानिरहेकी थिइन् । मैले त्यहाँ एक कप कफी किनें । त्यसपछि बसको वेटिङ हलतिरै फर्किएँ । ह्यामिल्टनले बताएको थियो, ‘व्यवस्था हुनेछ ।’ व्यवस्था भयो भने आफू छुटिएला भन्ने डर सबैलाई हुन्छ । त्यस्तो डर थिएन मलाई । बसको व्यवस्था गर्नेले हामीलाई छुटाएर पक्कै बस गुडाउने छैन ।

रातको १२ बजेसम्म बसको कुनै व्यवस्था भएन । संसारको सबैभन्दा शक्तिशाली भनिएको देशमा एउटा ड्राइभर आफनो ड्युटीमा आएन । उसले देशको सार्वभौमसत्ता सम्पन्न सरकारलाई चुनौती दियो । एउटा रेपुटेड ट्रान्सपोर्ट कम्पनीको रेपुटेसन भत्कियो । काली महिलाका दुई जना बच्चा खेल्दै थिए भने अरू दुई जना नांगो बेन्चमा निदाएका थिए । उनीहरूको तिघ्रामा लामखुट्टे भर्खर उक्लेका थिए । कालीले लामखुट्टेले टोकेको देखेकी थिइनन् । उनी एउटा मुखले चुइगम चपाउँदै थिइन् र अर्को मुखले महिला स्वतन्त्रताको खिल्ली उडाउँदै थिइन् । यो चुरोटको दोष थियो कि चुइगमको ? थाहा भएन ।
फिलिपिनी आकारको रेलको ड्राइभरजस्तो देखिने एउटा बूढो मानिस स्टेसनबाहिरको स्मोकिङ जोनमा बसेर मज्जाले चुरोट तानिरहेको थियो । त्यसपछि, रातिको साढे १ बजेतिर, दुईवटा बस सँगसँगै आए । ती दुवै बस एउटै स्टपमा रोकिए । तीमध्ये एउटा बस, ह्यामिल्टनले भनेअनुसार, कम्पनीले व्यवस्था गरेर बाल्टिमोरका लागि पठाएको थियो । यो बसमा एक जना महिला, दुई जना पुरुष र चार जना केटाकेटी थिए । हामी बसमा बस्नेबित्तिकै ड्राइभरले बस कुदाइहाल्यो । बीचबीचमा ऊ माइकबाट ‘सरी लेडिज एन्ड जेन्टिलम्यान’ भन्दै थियो । बसका सबै यात्री निदाइसकेका थिए ।

ननिदाउनेमा म एक्लै थिएँ त्यहाँ । मैले ड्राइभरको अनुहारतिर नजर लगाएँ । योचाहिं रातो वर्णको ह्यामिल्टन थियो, हेर्दै खाइलाग्दो, डम्म परेको । मैले उसको युनिफर्ममा टाँगिएको ट्यागमा हेरें । नाममा लेखिएको थियो, ‘डोनाल्ड ह्यामिल्टन ।’ म आफैंभित्र अत्तालिएँ । एक त ऊ तेज रफ्तारले बस हाँकिरहेको थियो । दोस्रो हाइवेमा उसलाई डिस्टर्ब गर्ने कुनै गाडी थिएनन् । मिर्मिरे बिहानीमा उसले बाल्टिमोरको बस स्ट्यान्डमा पुर्‍याएर बस रोक्यो । मैले उसलाई एकपटक राम्ररी हेरें, उसको अनुहार अरू तीन ह्यामिल्टनको भन्दा बेग्लै थिएन । शारीरिक रूपमा मात्र यो ह्यामिल्टन हट्टाकट्टा थियो । मलाई लाग्यो, यसको खप्परमा गिदी छ ।

प्रकाशित : पुस २६, २०७६ ११:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×