कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खान्डो अर्थात् ‘चिमाल फूल’

कुन्साङ

यो कथा हुम्लाको खगाल गाउँको हो । दुई लोग्ने भएकी एक सासू र बुहारी खान्डोको । हो, बुहारीको नाम खान्डो थियो ।

खान्डो अर्थात् ‘चिमाल फूल’

ऊ मर्न चाहन्थी । मर्न नसकेको कुराले उसलाई निकै पीडा दिन्थ्यो । एकपटक भीरबाट हामफालेर पनि बाँचेकी थिई । दुईपटक कर्णाली नदीसम्म पुगेर फर्किएकी थिई । जानैपर्ने ठाउँ कतै थिएन । भेट्नैपर्ने कोही आफ्ना थिएनन् । आफ्ना ठानेका ‘आफ्ना’ हरूले भर्खरै बेघर बनाइदिएका थिए । दूध खाँदै गरेको दुईवर्षे छोरोलाई काखबाट खोसेर लगेका थिए उनीहरूले । विछोडको यो पीडालाई झन् ठूलो बनाइदिएको थियो— गानिएको स्तनले ।
उसलाई संसार शून्य लागिरहेको थियो । मौनताको चीत्कार कत्ति भयानक हुँदोरहेछ, उसले त्यो दिन थाहा पाई ।

आमा–बुवा ऊ सानै छँदा बिते । बूढा बाजे–बजैले हुर्काए । अलि ठूली भएपछि बाजेबजैले खोजेकै घरमा बिहे भयो । उसले पनि नाइँनास्ती गरिनँ । अहिलेसम्म जुत्ता त आफूले रोज्न पाएकी थिइनँ, लोग्ने रोज्नु त झन् परको कुरा थियो । गाउँकै धनीमध्येको परिवारमा पुगी । दुई ससुरा, तीन छोरा र सासूसमेत ६ जना थिए परिवारमा ।

प्रायः शान्त हुन्थ्यो त्यो घर । तर, सधैं शान्त रहन सकेन । सुरु–सुरुमा झगडा पनि मसिनो स्वरमा हुन्थ्यो । भित्र जत्तिसुकै झगडा भए पनि दुनियाँका अगाडि उनीहरू यस्तो व्यवहार गर्थे, मानौं घरभित्र केही भएकै छैन । शान्त घरको शान्त झगडा बिस्तारै होहल्ला, कोलाहलमा बदलिन थाल्यो । घरझगडाको खास कारण थियो— दुई जना देवरले भाउजू नस्विकार्नु । सासू–ससुरा घर बाँड्न चाहँदैनथे । हुन पनि धेरै पहिलेदेखि घर बाँडिएको थिएन । सासूका दुई लोग्ने थिए । खान्डोको लोग्ने कुङ्गा पनि भाइहरूसँग मिलेर बस्न चाहन्थ्यो । तर, कुङ्गाको दुई भाइलाई भाउजू मन परेन । अब जसरी हुन्छ भत्किन लागेको घर जोगाउनु थियो । घर बाँड्ने चाहना कसैको थिएन ।

साँझ कामबाट लखतरन भएर घर फर्केकी बुहारीसँग कचकच गरिरहन्थी सासू । खान्डोलाई बानी परिसकेको थियो, कचकच सुन्ने । दुईटा कान हुनुको फाइदा उसले भरपूर उठाएकी थिई ।

खान्डो निराश थिई । सासूको कचकच, देवर–ससुराको रूखो व्यवहारले दिक्क थिई । सहने बानी नै परिसकेको थियो । लोग्ने कुङ्गाको व्यवहारमा पनि बिस्तारै परिवर्तन आउँदै थियो । सधैं छ्याङ पिएर आउनु, घरमा पस्नेबित्तिकै खान्डोलाई लात्ती उज्याउनु, कपाल तानेर घिर्सानु कुङ्गाको दैनिकी बनिसकेको थियो । खान्डो बस् रोइरहन्थी । उसलाई सान्त्वना दिने कोही थिएनन् ।

यातनाले खाण्डो दुब्लाउँदै गई । शरीरभरि नीला डाम थिए । अनुहारमा चाया–पोतो । ऊ अब एउटा च्यातो (बुख्याँचा) जस्तै देखिन्थी । छातीका करङ प्रस्टै देखिन्थे । हड्डी र छाला मात्रै बाँकी थिए शरीरमा । उसको पीडाबारे सबै जान्दथे । तर, सबै मौन थिए ।

यसैबीच खान्डो गर्भवती भई । आमा बन्ने कुराले खान्डोको उदास अनुहारमा अलिकति चमक भरिएको थियो । सोचेकी थिई, बच्चा जन्मिएपछि सबै ठीक होला । तर, त्यस्तो केही भएन । खान्डोको दुःख कसैगरी कम भएन । आफ्नाले एक्लो बनाए । तर, दुःख साथै रह्यो ।

उसले त्यसपछि पटकपटक मर्ने कोसिस गरी । छोराको मायाले मृत्युको मुखबाट फर्काउँथ्यो । परिवार चाहन्थे— खान्डो घर छोडेर आफैं बाटो लागोस् । तर, ऊ तमाम यातना सहेरै बसी । जत्ति गर्दा पनि घर नछोडेपछि उसलाई अनेक आरोप लगाएर घरबाट निकालियो ।

घरबाट निस्किँदा उसँग जम्मा दुई चीज थिए— लिउ (ऊनीको बाक्लो कम्बल र फेरे) र सेतो थाक्प (डोरी) । अमुल्य जिन्दगीका दिव्य ९ वर्ष एउटा घरमा बिताएपछि उसले पाएका उपहार तिनै थिए । दुःख गरेरै भए पनि खान्डो आफ्नो छोरालाई आफैंसँग राख्न चाहन्थी । तर, त्यो सम्भव भएन । एकपटक बाटोमा हिँडिरहेको कुङ्गाको खुट्टा समाएर खान्डोले बिन्ती बिसाएकी थिई, ‘मात्र एकपटक छोरालाई हेर्न दिनुस् ! अन्तिमपटक दूध खुवाउन दिनुस् ।’ तर, त्यो रुवाइको कुनै अर्थ भएन ।

एक दिन खान्डो छोराको अनुहार हेर्न घर पुगी । आधा लिस्नु मात्र उक्लिएकी के थिई, सासूले लिस्नुबाट धकेलिदिई । गानिएका उनका स्तनले उसले छोरा बिर्सन सकिनँ ।

खान्डोलाई घरबाट निकालेको हप्ता दिन नबित्दै कुङ्गाले अर्को बिहे गर्‍यो । अब घर नबाँडिनेमा दाजु–भाइ, सासू–ससुरा खुसी थिए । तीन दाजु–भाइ पालैपालो काममा जान्थे । दुई दाजु–भाइ टाढा काममा जाँदा एक जना घरमै हुन्थ्यो । हिउँदमा अछामतिर पाठा लैजाने काम पनि पालैपालो हुन्थ्यो । नयाँ श्रीमती छोमुको स्वभाव खान्डोको ठीक विपरीत थियो— ऊ न कसैको एक वचन सहन्थी, न कसैको सुझाव सुन्थी । महिना दिन पनि नबित्दै सासू–ससुरा छोमुको कुरा काट्न थाले । तर, छोमुअघि एक शब्द पनि बोल्ने उनीहरूको हिम्मत थिएन । छोमु सासू–ससुरालाई कुनै मान–भाउ गर्दिनथी । घर बाँडिने डरले खान्डोलाई निकालेर छोमु भित्र्याइएको थियो । तर, घर बाँडिने नै भयो । घरमा फेरि अशान्त ! फेरि कोलाहल ! दुइटा बच्चा छोडेर छोमु घरकै कान्छो लोग्नेसँग भागी । निकै खोज्दा पनि उनीहरूको पत्तो लागेन । छोमु भागेको केही दिनपछि माइलो लोग्नेले अर्की बिहे गर्‍यो ।

घर नबाँडियोस् भनेर खान्डोलाई घरबाट निकालियो, दूध खाँदै गरेको बच्चालाई आमाबाट खोसियो । तर, त्यही घर आज चार भागमा बाँडिएको थियो— तीन छोरा र आमा–बा छुट्टाछुट्टै । जग्गा भाग लगाउँदा पनि झगडा । पाठा बाँड्दा पनि झगडा । हरचीज बाँड्दा झगडा । सासू–ससुरा–कुङ्गालाई खान्डाप्रति गरिएको व्यवहारले अब पछुतो मात्रै दिएको थियो ।

हिउँ परिरहेको थियो । अनकण्टार भिरालो, सुनसान गाउँ, जहाँ वरिपरिका अग्ला हिमाल र नाङ्गा उभिएका रूखहरू मौन थिए । लाग्थ्यो, हिमाल र रूखहरू हिउँको बर्को ओडेर चुपचाप निदाइरहेका छन्, भर्खर जन्मिएको शिशुजस्तै । सुनसान गाउँमा ठूलो कोलाहल मच्चाएर भर्खरै हिउँपहिरो गएको थियो ।

हातमा लोटा बोकेर खान्डो घरबाट निस्किनु र हिउँपहिरो जानू एकैपटक भयो । खान्डो ढोका खोलेर बाहिर निस्किँदा गाउँभन्दा अलि पर हिउँपहिरो गइरहेको उसले देखी । हिउँपहिरोले केही रूखबिरुवा, ढुंगा र मलिलो माटो पनि बगायो । त्योभन्दा कैयौं गुणा ठूलो हिउँपहिरो जीवनमै भोगिसकेकी खान्डोलाई हिउँको चर्को कोलाहलले केही फरक पारेन ।

एउटै गाउँमा भएर पनि उसले आफ्नो छोराको अनुहार हेर्न पाएकी थिइन । जीवनमा न सपना बाँकी थियो, न कुनै रहर । डर त त्योसँग हुन्छ, जसको आफ्नो सबैथोक हुन्छ । खान्डोको त केही थिएन । कोही थिएन । सपनासमेत मरिसकेको मान्ठालाई कुनै विषयले प्रभाव पार्दैन । सबै गुमिसकेको मान्ठालाई गुमाउनुपर्ने केही थिएन । चन्द्रमाको मधुरो प्रकाश पछ्याउँदै खान्डोले बाजेबजैले दुई वर्षपहिले छाडेर गएको खाली घर छोडी । आफ्नो छोरा मस्त सुतिरहेको गाउँ छोडी । मुडुलो टाउको, रातो पहिरनमा ओरालो झर्दै गरेकी उनी अर्थात् खान्डो रातो रतुक्प म्हेन्दोक (चिमाल फूल) जस्तै देखिएकी थिई ।

प्रकाशित : पुस १९, २०७६ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?