आगो नहुँदो हो त बाह्रै महिना जाडो भइरहने हिमालतिरको जनजीवन कस्तो हुन्थ्यो ? हिउँदका ती पाँच महिना जम्मै जमिन हिउँले टम्म ढाकिएको हुन्छ, त्यहाँ आगो नहुनु कति पीडादायक होला ? हिउँमा बस्नेका लागि आगो नै जीवन हो, जीवन नै आगो । आउनुस् एकछिन हिमाल र आगोका कथा पढौं– हुम्ला, नाम्खाकी एपी र उनको सुनाएको आगोको कथा ।
हिउँ परेपछि हिमालको चर्चा चलेजस्तै हालैहुम्लाको लिमी चर्चामा थियो । जग्गी वासुदेव (सद्गुरु) नेपालबाटै कैलाश मानसरोवरको दूरदर्शनका लागि लिमी भ्रमणमा आएका थिए (भदौ ८ गते यहाँ आइपुगेका उनी ५ दिन बसे) । त्यसैले चर्चामा थियो लिमी । सद्गुरुका लागि प्रयोग गर्न हवाईमार्गबाट मोटरसाइकल ढुवानी गरेर सिमकोट झारिएको थियो । यो लेख जग्गी वासुदेवको लिमी यात्रा र त्यसपछिका असरमाथि केन्द्रित हुनेछ । यहाँ सद्गुरुको वास्तविक नाम जग्गी वासुदेव नै प्रयोग गरिनेछ ।
चिसो बिहान ! कर्णालीबाट उठेका कुइरोहरू हतार–हतार हिमाल चढ्दै थिए । मानौं कुइरोहरू आफ्नो साम्राज्य विस्तार गर्दै छन् । आकाश हेर्दा लाग्थ्यो– बादल पनि विस्तारवादी रहेछन् ।
सेताम्ये हिमालहरूबीच बसेको छ– हुम्लाको खम्गुङ अर्थात् खगाल गाउँ । हिउँले गाउँलाई सर्लक्कै ढाकेको छ । चारैतिर हिमाल र बीचमा गाउँ । हिमालहरूमा ठक्कर खाँदै–खाँदै गाउँमा गुन्जिरहन्छ– कर्णाली नदीको सुसेली ।