कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आसभिलमा स्यान्डवर्ग

संसारमै कविता मरिसकेको हो कि ? कविता बिक्री नै हुन छाड्यो कि ? एलेन गिन्सवर्गको ॅहाउल’ खोजेको कतै पाइएन ।
शैलेन्द्र साकार

२० जुलाई २०१९ ।
भोलि छोरीको जन्मदिन । अमेरिकामा अरू चाडभन्दा आफ्नो जन्मदिनलाई विशेष दिनका रूपमा मनाइने चलन छ । तर, अघिल्लो दिनको रातको १२ बजेपछि मात्र जन्मदिनको रूपमा मान्ने विश्वव्यापी चलन भएकाले आजको दिन कतै गएर बिताऔं भन्ने सल्लाह भयो ।

आसभिलमा स्यान्डवर्ग

धेरै दिनदेखि जानुपर्ला भनेर थाती राखेको एउटै ठाउँ सबैको मनमा थियो– आसभिल । नर्थ क्यारोलिनाको सार्लेट कन्कर्डबाट त्यहाँ जान आफ्नो गाडीमा दुई घण्टा जति लाग्ने र फर्कंदा पनि त्यति नै लाग्ने । हो, त्यहाँ जाने र फर्कंदा चढ्न पाइने चिम्नी पहाड पनि हेर्ने निर्णय भयो । बाटैमा पर्ने लुरे नदीको भंगालो, प्राकृतिक सा–साना चट्टानहरू र सफा नीलो पोखरी पनि हेर्ने भनेर जीपीएसले देखाएको बाटोबाट दक्षिणपूर्वतिर लागिहाल्यौं । हल्का ब्रेकफास्ट गरेर हिँडेकाले लन्चका लागि हामी म्याकडोनाल्डको भर परेका छौं । आ–आफ्नो रुचिअनुसारको खाना खान्छौं । मलाई भने माछाको परिकार र रोटी मनपर्छ यस्तो यात्रामा ।

बाटोमा एक ठाउँ ठूलो अक्षरले सुम्याकरको नाम देखेर मलाई पुरानो कुराको सम्झना भयो । बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति अख्तियार गरेर नेपाल फर्केका बेला २०३२/३३ सालतिर मलाई फर्कायो त्यो नामले । सानो पुँजीबाट सानै रूपमा उद्योग सञ्चालन गरेमा देशलाई आत्मनिर्भर, सबल र धनी बनाउन सकिन्छ भन्थे बीपी त्यो बेला । उदाहरणको रूपमा उनले फिलिपिन्सको नाम लिएको मलाई सम्झना हुन्छ । त्यो ‘सानो नै सुन्दर हुन्छ’ (स्मल इज ब्युटिफुल) का सिद्धान्तकारको रूपमा उनले इजरायलका अर्थशास्त्री सुम्याकरको नाम लिएका थिए । उनको पुस्तकको हिन्दी अनुवादसमेत कतै खोजेर प्रदीप कोइरालाले मलाई पढ्न भनेर दिएका थिए । शशांकका दाजु पनि कृषि विकास बैंकमा कम्प्युटर सल्लाहकारका रूपमा काम गर्थे त्यो बेला । म त त्यहाँको जागिरे नै थिएँ । हामी दिनभरजस्तो आर्थिक, राजनीतिक गफ गरेर समय बिताउँथ्यौं । आसभिल जान भनेर हिँडेको पहिलो घण्टामै सुम्याकरले यति कुरा सम्झयो । बीपीको मृत्युपछि त्यो नाम मेरो अवचेतनामा बास बसेको रहेछ । बीपीको मृत्यु (२०३९) पछि त कसैले पनि ती महान् सिद्धान्तकारको नाम लिएको मलाई थाहा छैन ।

गर्मीले थिल्थिलो बनाएको शरीरलाई बाटोमा परेको एकझर पानीले निकै शान्ति दियो । पूरै प्राकृतिक वातावरण छ पहाडी बाटो । तर, लड्ने डर कतै छैन । २ लेनको बाटो भए पनि बीचमा पहेंलो रङको रेखा तानेर जाने र आउने बाटो मज्जाले छुट्टिएको । दुवैतिर ठूलाठूला रूखहरूको जंगल । कतै अनौठो, अकल्पनीय ठाउँतिरको यात्राजस्तो लागिरहने । स्वात्तै ओरालो र त्यस्तैत्यस्तै उकालो पनि ।

गाडी हाँक्नेले आफूलाई निकै सन्तुलित र संयमित राख्नुपर्ने । नजिक आउँदै गयो, आसभिल सहर । ठ्याक्कै सार्लेटको मिनी रूप । सबै चीज छ तर सानो । सानो सडक । स–साना घर चिटिक्क परेका । व्यवस्थित र सानो ट्राफिक । सडकमा हात हल्लाउँदै निस्फिक्री हिँडिरहेका बालक, वृद्ध र तरुनी तन्नेरीहरू । हूल देख्दा हामी कतै नयाँ बानेश्वरतिरै डुलिरहेका पो छौं कि जस्तो पनि लाग्ने । एउटा सानो पुस्तक पसल पनि देखियो आरडीको ह्वाइट लोटसजस्तो । भित्र पसें । एक डलरमा पाइने पुस्तकको थाकमा ‘कम्युनिस्ट मेनिफेस्टो’ पनि रहेछ । थुप्रै थाक मिलाएर राखिएका आधुनिक उपन्यास र विविध राष्ट्रबारे लेखिएका परिचयात्मक पुस्तकहरू । चीन, भियतनाम, श्रीलंका, बंगलादेश, थाइल्यान्ड, भारत, पाकिस्तानको नाम पढें तर नेपाल भनेर लेखिएको कतै देखिनँ । कविताको पुस्तक पनि कुनै देखिएन । संसारमै कविता मरिसकेको हो कि ? मान्छेले लेख्नै छाडे कि कविता ? कविता बिक्री नै हुन छाड्यो कि ? यस्तैयस्तै त्रासले छोपिरह्यो मलाई ।

आफू बढी कविता नै लेखिरहने भएकाले कविताको पुनर्मूल्यांकनको समय आइसकेको हो कि जस्तो लागिरह्यो । एलेन गिन्सवर्गको ‘हाउल’ खोजेको कतै पाइएन । सडकको छेउमा नै एउटा ‘आसभिल’ नामक पत्रिका निःशुल्क राखिएको देखें । छेउकै पसलमा बसेर कफी खाँदै त्यही हेर्न थालें । त्यसबाट केही कुरा थाहा भयो । यो सहरको बीचमा कतै ठूलो पार्क छ र त्यहाँ दिनभर गफ गरेर बस्न पाइन्छ । अमेरिकाकै बोल्डर सहरको जस्तो व्यवस्था छ यहाँ पनि । आजै शनिबार त्यो पार्कमा उभ्भिएर बिहान कविता, कथा पनि अरूलाई सुनाउन पाइने रहेछ । अलि छिटो यहाँ आएको भए अमेरिकाका नयाँ कविहरू माइकल रेनो हारेल, रे क्रिस्चियन, लिलियन चेस, क्याथरिना एल, सेरेटाका कविता र कथा सुन्न पाइने रहेछ । यहाँ आइपुग्न अलि ढिलो भएछ । अनि मलाई सडकमा उभ्भिएर चिच्याऊँजस्तो लागिरह्यो– कविता मरेको छैन । एक हूल स्त्रीहरू मस्तीसित बियर र वाइन पिउँदै एउटै लामो साइकल चलाएर सडकमा जताततै गीत गाउँदै हिँडिरहेको दृश्य पनि निकै रोचक लाग्यो । अनि रोचक लाग्यो, जताततै चित्रकला बिक्रीको सूचना र प्रचारप्रसार । कलाकार रेनेको कर्मभूमि भन्ने त थाहा थियो तर मैले तुरुन्तै पत्ता लगाएँ यो त प्रसिद्ध अमेरिकी कवि कार्ल स्यान्डलवर्गको जन्मभूमि नै रहेछ । उनी यहाँ जन्मिएका मात्र होइनन्, जीवनको अधिकांश समय पनि यहीं बिताएका रहेछन् ।

कार्ल स्यान्डवर्ग प्रसिद्ध कवि र अब्राहम लिंकनका जीवनी लेखक पनि थिए । उनी एक असल पति र असल पिता पनि थिए । उनी सधैं आफ्नी श्रीमती र छोरीहरूलाई खाना खाने बेला टेबुलमा सधैं कुनै न कुनै नयाँ रचना सुनाउँथे, गीतहरू गाउँदै । कार्ल स्यान्डवर्गजस्तो प्रतिभाशाली कवि आजपर्यन्त आसभिलमा जन्मेकै छैन । ८१ नम्बरको सडकको नाम नै कार्ल स्यान्डवर्ग सडक भनेर एउटा बाक्लो र चाक्लो ढुंगामा लेखेर राखिएको छ । उनीबारे अरू जान्नुपरे ८२८ ६९३ ४१७८ मा फोन गरेर सोधे पनि हुन्छ । उनीबारे त्यहाँ लेखिएको छ :

‘ह्वाइल द वर्ल्ड न्यु हिम एज अ फेमस पोयट एन्ड लिंकन्स बायोग्राफर, स्यान्डवर्ग वाज अल्सो अ फादर एन्ड हसब्यान्ड हु स्याङ टु हिज वाइफ एन्ड डटर्स...।’ मलाई सारै मनपर्ने कविमध्ये एक हुन कार्ल स्यान्डवर्ग । उनको जन्मस्थल नै यसरी घुमिरहँदा मलाई गर्वको अनुभूति भयो र इतिहासमाथि हिँडिरहेको स्वैरकल्पना मनमा ब्युँझिरह्यो ।

हिँड्दाहिँड्दै एक ठाउँ देखियो– काठमाण्डू किचेन । यहाँ के–के पाइने रहेछ भनेर बुझ्दा गाई–गोरुको मासुको मोमो मात्र । अलि पर रहेको एउटा पसलले हामीलाई सोझै नजिक बोलायो, ‘चाय पानी’ लेखिएको हिन्दु खानाको पसलमा । यहाँ हामीले खाने गरेका सम्पूर्ण खानेकुरा पाइने रहेछ– सिंगडा, चप, पानीपुरी, पाऊ भाजी सप्पै अलि महँगो । यो पसलमा एउटै पनि भारतीय काम गर्दैनन् सबै अमेरिकन मात्रै काम गर्छन् । तर, बेच्छन्–भारतीय खाद्य परिकार मात्र । आफैं बनाउँदैनन् । कुनै भारतीय ‘सेफ’ पनि छैन । सबै गोरा छालाहरूले मात्र चलाएको भारतीय रेस्टुराँ । तर, कति व्यस्त भने टेबुल पाउन झन्डै १ घण्टा कम्तीमा कुर्नुपर्ने । लेखिएकै रहेछ हिन्दीमा– टेबुल पाने के लिए कुछ देर प्रतीक्षा करना पडेगा । कुर्नका लागि एउटा सुविधा भने छ– भित्रै गएर वेटरलाई आफ्नो नाम र फोन नम्बर टिपाउने । अनि आफू घुम्न जाने । टेबुल खाली भएपछि वेटरले फोनमै सूचना दिन्छ– नाउ यु मे कम । अनि आउने र सफा–सफ खाने । हामी पनि त्यसै गर्‍यौं । चिया अलि चिसोजस्तो लागे पनि अरू खानेकुरा स्वादिला थिए । वेटरहरू सुन्दरी थिए र आकर्षक ।

फर्कंदा ‘चिम्नी चट्टान’ नहेरी के फर्कनु भनेर हामी त्यता लाग्यौं । अब सुरु भयो चट्टाने पहाडको यात्रा । अलि डरडरजस्तो लाग्ने प्रशस्त ठाडो उकालो र ओरालोको मोटर यात्रा । दामनतिर उक्लेजस्तो बाटो । बीचमा एउटा सानो बजार देखियो । ऊ ‘मुग्लिङ’ भनेर मैले परिवारलाई हसाएँ । छेउमै कलकल बगिरहेको खोला त्रिशूलीजस्तो । त्यहाँबाट अझमाथि लागेपछि सुरु हुने रहेछ चिम्नी चट्टानको खास यात्रा । चढ्ने एक जनाको शुल्क लाग्ने रहेछ १७ डलर । लिफ्टबाट त्यो पार गरेपछि ५०० खुड्किला मात्र चढे हुने । काठको भर्‍याङ चढ्दै जानुपर्ने माथिमाथि पहाडसम्म ।

माथि पुग्न झन्डै ६ हजार खुट्किला रहेछन् । मोटो मान्छेलाई निकै गारो । चिम्नीजस्तो रूपको चट्टान भएर होला– नाम राखिएको चिम्नी चट्टान । नेपाली भाषामै गफ चुटिरहेको एउटा समूह भेटियो यहाँ । एउटा बूढालाई सोधें पनि, ‘तपाईं कहाँबाट ?’ उसले हाँसेरै जवाफ दियो, ‘हामी भुटानी । थुप्रै आएका छौं ।’ उनी टेनेसीबाट आएका रहेछन् । अन्तिम खुड्किलासम्म कोही पुग्न सकेजस्तो लागेन । थकान र डर पनि सँगै । चट्टान चर्कंदै गएको कल्पना आउने । माथिबाट तल हेर्दा विशाल लुरे नदीले बनाएका पोखरीहरू, भंगालाहरू जेटबाट तल हेरेजस्तो लाग्ने ।

घर फर्क्यौं बेलुकीतिर । छोरीले २/३ समूहबाट आएको जन्मदिनको केक स्वीकार गरेर ल्याउने कुरियरको रसिदमा सही गरी । राति १२ बजेर १ मिनेटमा ‘ह्याप्पी बर्थ डे’को आवाजले टोल थर्क्यो ।

प्रकाशित : पुस १९, २०७६ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?