कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टिकटकमा समाचार

आर्थिक रूपमा पारम्परिक स्वरूपमै केन्द्रित सञ्चार क्षेत्रको आम्दानी सुक्दै छ । विज्ञापन घट्दै छ । तर चीनको अनुभवमा भन्ने हो भने जुन सञ्चार क्षेत्रले आधुनिक स्वरूपलाई अँगालेको छ, त्यसको आम्दानी अझ बढेको छ ।

 
हालै चीनको एक सहरमा लगातार पानी पर्दा बाढीको समस्या देखियो  ।

टिकटकमा समाचार

त्यस क्रममा केही मानवीय क्षति भए र तत्काल उद्धारको आवश्यकता पनि पर्‍यो । एक युवक खुबै मन लगाएर उद्धारमा सहभागी भए । उनी लामै समय खटिए । जति बेला सबै काम सकियो, उनले एकाएक अनुभव गरे, भोकको । त्यहीं कतै गएर उनले केही खाए । उनले खाइरहेको त्यही दृश्य चीनमा ठूलो रुचिको समाचार बन्यो, धेरैले त्यसलाई दोहोर्‍याएर हेरे ।


सहरका धेरै चिनियाँ अचेल अपार्टमेन्टमा बस्ने गर्छन् । उनीहरूको जीवनले त्यहीअनुसारको एक विशेष स्वरूप लिएको छ । त्यसैक्रममा एउटा तल्लाको अपार्टमेन्टको बार्दलीबाट गमला खसेर त्यसको मुनि रहेको अपार्टमेन्टमा फोहोर भयो । त्यही पनि ठूलै रुचिको समाचार बन्यो । आजभोलि विश्व सञ्चार क्षेत्रमा लगातार परिवर्तन भइरहेको छ । प्रविधिको नवीनतम विकास र परिवर्तनले सञ्चार क्षेत्रका पुराना सोच साँच्चै ‘पुराना’ हुन थालेका छन् ।


यसै क्रममा अचेल ‘न्यु मिडिया’ अथवा सिधै ‘मोजो’ भन्ने शब्दावली प्रयोग हुन थालेका छन् । यी शब्दावली र प्रवृत्तिबाट चीनमात्र कसरी अछुतो रहन सक्छ र ? केही दिन अगाडि मात्र चिनियाँ दक्षिण–पश्चिमी प्रान्त सिचुवानको चौथो ठूलो सहर यिपिनमा जाने मौका प्राप्त भएको थियो र अवसर थियो, चीनमा ‘न्यु मिडिया’ को स्थितिबारे कार्यक्रम । त्यही क्रममा बुझियो, चीनमा अचेल समाचारको एउटा बलियो माध्यम हुन थालेको छ, टिकटक ।
हाम्रोतिर पनि टिकटक खुबै लोकप्रिय छ । पूरा एसिया र अमेरिकामै पनि यो उत्तिकै लोकप्रिय छ । टिकटक आईओएस र एन्ड्रोइडमा आधारित त्यस्तो सोसल मिडियाको एप हो, जसमा प्रायः छोटा भिडियो राखिन्छन् । यी सबै विशेषतः गीत अथवा ठट््यौली हुने गर्छन् । यसको समयसीमा हुने गर्छ, बढीमा १५ सेकेन्ड । यो १५ सेकेन्डमा के नै भन्न र गर्न सकिन्छ होला र ? यस्तै लाग्दो हो, तर यसैमा धेरै गर्न र भन्न सकिन्छ ।


यत्तिकै समयमा समाचार भन्न सकिन्छ, देखाउन सकिन्छ । फरक के भने यी समाचार पक्कै परम्परागतभन्दा केही फरक छन् । टिकटकमा दिइने समाचार बढी आम मानिसले रुचि राख्ने विषय नै हुँदोरहेछ । अझ विशेषतः सामाजिक रूपमा सन्तुष्टि दिने खाल्को । सुरुमै दिइएका समाचारका यी उदाहरण टिकटकमै उपलब्ध भएका हुन् । उद्धारमा सहभागी त्यस युवकले भोक मेट्न खाएको दृश्यले धैरे चिनियाँलाई खुसी बनाएको रहेछ । हाम्रोतिर टिकटकले बढी विकृति ल्याएको आरोप छ । अझ यसलाई समयको बर्बादी भन्ने पनि छन् । यसको ठीक सदुपयोग गर्ने हो भने यो उत्तिकै काइदाको पनि छ । पारम्परिक सञ्चार क्षेत्रमा आएको पछिल्लो परिवर्तनले अरूतिर जस्तै चीनमा पनि एकखाले अन्योल छ, विशेषतः पत्रकारमाझ नै । वास्तवमै अब मिडिया के हो त ? यसमै बहस हुन थालेको छ । तर सबै एउटा तथ्यमा के सहमत छन् भने यो परिवर्तनलाई आत्मसात् नगरी सुख छैन ।


चीनमा पछिल्लो समय देखिएको एउटा परिवर्तन यस्तो पनि रह्यो । अचेल रिपोर्टर समाचारका लागि सिधै बाहिर घटनास्थलमै जानुपर्छ भन्ने रहेन । अब रिपोर्टरको काम भनेको खास क्षेत्रका खास आम मानिसको सामाजिक सञ्जाललाई हेरिरहने र त्यसैबाट आवश्यक सूचना प्राप्त गर्ने पनि भएको छ । हामी यिपिनमै रहँदा मध्यम खालको भूकम्प गएको थियो र त्यसले तुरुन्तै समाचारको स्वरूप लियो । त्यो पनि टिकटकमै । अनि स्थानीयले सामाजिक सञ्जालमा पोस्ट गरेअनुसारै । यिपिन बसाइकै क्रममा त्यहाँको नगरपालिकाले चलाइरहेको टीभी स्टेसनमा जाने अवसर पनि प्राप्त भयो । त्यस टेलिभिजन स्टेसनको एउटा ब्युरो यस्तो थियो, जसले त्यस संस्थाले उत्पादन गरेको सामग्रीलाई आकर्षक बनाएर टिकटक र अरू सामाजिक सञ्जालका लागि प्रयोग गर्थ्यो । त्यो ब्युरो रहेको कोठामा केही युवा व्यस्त देखिन्थे, जसको व्यवहार र प्रवृत्ति हल्का फरक देखिन्थ्यो र तिनले पक्कै पनि चीनको नयाँ र युवा पुस्ताको प्रतिनिधित्व गरिरहेको थियो ।


सबैभन्दा महत्त्वपूर्ण प्रश्न यसरी पारम्परिक सञ्चार क्षेत्र नयाँ र आधुनिक स्वरूपमा प्रवेश गर्दै गर्दा त्यसले संस्थाको आम्दानी र आर्थिक स्रोतमा के कस्तो प्रभाव पारेको छ त ? भन्ने गरिन्छ, अब आर्थिक रूपमा पारम्परिक स्वरूपमै केन्द्रित सञ्चार क्षेत्रको आम्दानी सुक्दै छ । अझ भनौं विज्ञापन घट्दै छ । तर चीनको अनुभवमा भन्ने हो भने जुन सञ्चार क्षेत्रले आधुनिक स्वरूपलाई अँगालेको छ, त्यसको आम्दानी अझ बढेको छ । त्यसको राम्रो उदाहरण, सीसीटीभी नै हो । अचेल सीसीटीभी टिकटकमा खुबै व्यस्त छ, समाचार पस्कनलाई ।

twitter : @himeshratna

प्रकाशित : भाद्र १३, २०७६ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?