टरेन्टिनोको हलिउड

हलिउडका 'मास्टर ब्लास्टर' क्विन्टन टरेन्टिनो आफ्नो जीवनमा जम्मा १० वटा मात्रै फिल्म बनाउने घोषणा गरिसकेका छन् । उनको नवौं फिल्म ॅवन्स अपन अ टाइम इन हलिउड’ कस्तो छ त ?
हेलो शुक्रबार

एउटा टीभी स्टार छ, आफ्नो करिअरको शिखरबाट ओर्लिंदै गरेको  ।

एक जमानामा घरघरमा लोकप्रिय टीभी कार्यक्रमको यो स्टारको स्थिति अहिले निकै खस्किइसकेको छ । ६ महिना इटालीका ‘वेस्टर्न’ मा अभिनय गरेकी इटालीकी श्रीमतीसमेत लिएर आएको रिक डाल्टन । लस एन्जलसको सेलिब्रिटी थुम्कोमा रहेको यसको घरमा एक रात ठूलो घटना हुन्छ ।


अर्को छ अमेरिकी सेनाको पूर्वसिपाही । केही युद्धमा समेत भाग लिएको यो ‘वार भेट्रान’ को अहिलेको काम हो, रिक डाल्टन (लियोनार्डो डिक्याप्रियो) को स्टन्टम्यान । फिल्म स्टारले पर्दामा अनेक डरलाग्दा स्टन्ट गरेको देखिए पनि खासमा त्यो तिनले गरेका हुँदैनन् । उनीहरूकै जस्तै रूप, रंग र लुगा लगाएर स्टन्टम्यानले गर्छन् । रिकको स्टन्ट डबल छ, क्लिफ बुथ (ब्राड पिट) ।


तेस्रो पात्र छे, फिल्म अभिनेत्री । भर्खरै फिल्म करिअरमा उक्लिँदै गरेकी, विश्व प्रसिद्ध निर्देशक रोमन पलन्सकीसँग बिहे गरेकी । आफ्नो
सुन्दरता र अभिनयका लागि हलिउडमा नाम कमाउँदै गरेकी गर्भवती स्यारोन टेट (मार्गो रोबी) संयोगले स्टार रिकको छिमेकी हुन आउँछे ।
हलिउडका ‘मास्टर ब्लास्टर’ क्विन्टन टरेन्टिनोको नवौं फिल्म ‘वन्स अपन अ टाइम इन हलिउड’ का ती मुख्य पात्र हुन् यी । ‘पल्प फिक्सन’, ‘किल बिल’, ‘ज्यांगो अनचेन्ड’, ‘इन्ग्लोरियस बास्टर्ड’ जस्ता फिल्मका निर्देशक क्विन्टनले जीवनभरिमा जम्मा १० वटामात्र फिल्म बनाउने घोषणा गरेका छन् । अब उनले एउटामात्र फिल्म बनाउनेछन् ।


‘वन्स अपन अ टाइम इन हलिउड’ लाई क्विन्टनले हलिउडलाई लेखेको प्रेमपत्र भनिएको छ । लस एन्जलसमै हुर्केबढेका क्विन्टनले सन् १९६९ को दुई दिनमाथि यो कथा आफैंले लेखेका हुन् । ‘नाइफ इन अ वाटर’ बनाएर विदेशी भाषाको ओस्कर मनोनीत भएपछि हलिउड सरेका पोलन्सकी फिल्म बनाएर बेलायत गएका बेला उनको टोलमा हमला हुन्छ । यही छ कथाको ट्विस्ट । ‘म्यानसन फ्यामिली’ का रूपमा कुख्यात एउटा समूह थियो । हिप्पी र अपराधीको मिश्रणजस्तो यो समूहले केही सेलिब्रिटीहरूमाथि हमला गरेको थियो । यिनको अड्डामा क्लिफको एउटा सिंगै सिक्वेन्स छ । जो फिल्मको हिंस्रक क्लाइमेक्ससँग जोडिन आइपुग्छ ।


फिल्ममा केही वास्तविक पात्र छन् भने केही काल्पनिक । ‘चाइना टाउन’ र ‘द पियानिस्ट’ जस्ता फिल्म बनाउने पोलन्सकी यसका वास्तविक पात्र हुन् । उनकी गर्भवती पत्नी अभिनेत्री स्यारोनको सन् १९६९ को त्यो रात साँच्चिकै हत्या भएको थियो । तर, फिल्म यही घटनामाथि मात्रै आधारित छैन । फिल्मले एउटा स्टार र उसको स्टन्टम्यानको सम्बन्धलाई पनि देखाउँछ । जुन फिल्मकै अनुसार ‘साथीभन्दा अलि बढी, श्रीमतीभन्दा अलि कम’ छ । हलिउड कसरी चल्छ ? यसको शक्ति र सत्ता संरचना कस्तो हुन्छ ? त्यसबेलाका स्टारको जीवन कस्तो थियो ? यी सबै कुरा फिल्ममा छन् । टरेन्टिनोले सत्य घटनाहरूलाई लिए पनि तिनलाई काल्पनिक जसरी प्रस्तुत गरेका छन् । जस्ताको तस्तै देखाएर डकुमेन्ट्री बनाउनेतिर उनी लागेका छैनन् । फिल्मको ट्रेलर आएदेखि नै ब्रुस लीबारे चर्चा सुरु भएको थियो । फिल्ममा ब्रुस ली जम्मा एक दृश्यमा छन्, जसमा उनलाई भरमार उडाइएको छ । ब्रुस लीलाई घमण्डी त देखाइएको छ नै साथै स्टन्टम्यान क्लिफका अगाडि ब्रुस ली केही थिएनन् भन्ने पनि देखाइन्छ । जबकि संसारभर मार्सल आर्टमा ब्रुस ली धेरै ठूलो नाम हुन् ।


संसारको सबभन्दा ठूलो फिल्म उद्योग हलिउड । त्यसका सबभन्दा प्रभावशालीमध्येका एक निर्देशक र अहिलेको समयका दुई सबभन्दा ठूला सुपरस्टार । यो फिल्मको चर्चा हुनु नै थियो । २५ वर्षअघि क्यान्स फिल्म फेस्टिभलमा टरेन्टिनोको ‘पल्प फिक्सन’ प्रिमियर गरिएको थियो । १० वर्षअघि ‘इन्ग्लोरियस बास्टर्ड’ र यसपालि ‘वन्स अपन...’ । कोरियाको फिल्म ‘प्यारासाइट’ ले पाम दि ओर उडाएको फेस्टिभलमा टरेन्टिनो खाली हात फर्किए पनि यो फिल्मले भने थिएटरभरि दर्शक पायो । टरेन्टिनोलाई हलिउडमा आफैंमा एक ‘जनरा’ मानिन्छ । यो जनरा मन पराउनेका लागि ‘वन्स अपन...’ छुटाउनै नहुने खुराक हो ।

प्रकाशित : भाद्र ६, २०७६ ११:४०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

संन्यासको संघार

'लिफ्टर पोजिसनमा मेरो ठाउँ लिने खेलाडीको अभाव रहेकैले अहिलेसम्म राष्ट्रिय टोलीमा टिकिरहेको छु । तर धेरै समय रहन्न होला ।'
कुशल तिमल्सिना

 आफ्नो टिमको प्रदर्शनको सूत्रधार मात्र होइन, विपक्षीको कमजोरीमा प्रहार गर्ने मार्गनिर्देशकका रूपमा पनि भलिबल खेलमा लिफ्टर ‘मुटु’ जस्तै पोजिसन हो  ।

यही पोजिसनमा रहेर नेपाली टोलीको मेन्टरका रूपमा पछिल्लो करिब नौ वर्ष जिम्मेवारी बहन गरिरहेका खेलाडी हुन्, इम रानामगर । पाँच वर्षयता उनमा कप्तानको अतिरिक्त जिम्मेवारी पनि छ ।


नेपाली भलिबल टिमका सबैभन्दा पाका र अनुभवी खेलाडी हुन्, इम । राष्ट्रिय टोलीको महत्त्वपूर्ण सदस्य रहेका उनले करिअरको सुरुआती समयमा स्पाइकर भएर खेले । चार वर्ष नेपाली बीच भलिबलमा एकछत्र राज गरेका उनले कुहिनो र काँधको समस्या आएपछि पोजिसन परिवर्तन गरेका हुन् । वास्तवमा लिफ्टर पोजिसनमा उनले राष्ट्रियदेखि नेपाल पुलिस क्लबको टिममा महत्त्वपूर्ण योगदान दिएका छन् ।


स्पाइकर र लिफ्टरको भूमिकाको अन्तर कस्तो रह्यो त ? पाँचौं सेन्ट्रल जोन भलिबलमा व्यस्त भएका बेला इमले भने, ‘खासमा स्पाइक पोजिसनमा खेल्नेलाई धेरैले चिन्दारहेछन् । फुटबलमा स्ट्राइकर भनेजस्तै । तर, भलिबलमा लिफ्टरको महत्त्व बुझ्नेले मात्र थाहा पाउँछन् । रिसिभ राम्रो भयो भने लिफ्टरले राम्रो बल पाउँछ, लिफ्टरले राम्रो बल दियो भने स्पाइकरले राम्रो सट प्रहार गर्न सक्छ ।’ कास्कीका इमले २०५८ सालमा वीरेन्द्र शिल्ड प्रतियोगिता खेलेका थिए । स्थानीय र क्लबस्तरमा उत्कृष्ट स्पाइकरका रूपमा चिनिन थालेपछि २०६२ सालमा नेपाल पुलिस क्लबमा अनुबन्धित भए । त्यसपछि नै हो उनको करिअरले छलाङ मारेको । पुलिस क्लबमा आबद्ध भएको अर्को वर्ष राष्ट्रिय टोलीको क्याम्पमा परेका उनलाई उमेर र अनुभवको कारण देखाउँदै अन्तिम टोलीमा छनोट गरिएन ।


त्यसपछि बीच भलिबलमा लागेका इम
नेपाल पुलिस क्लबलाई तीनपल्ट राष्ट्रिय च्याम्पियन बनाउँदा सबै संस्करणमा उत्कृष्ट खेलाडीका रूपमा दरिए । बीच भलिबलमा स्थापित उनले भलिबलको राष्ट्रिय टोलीबाट भने सन् २०१० मा बंगलादेशमा भएको ११ औं दक्षिण एसियाली खेलकुद (साग) मार्फत डेब्यु गरेका थिए ।‘राष्ट्रिय टिममा नपरेपछि प्रेम भण्डारी र मेरो जोडीले पुलिस क्लबका लागि बीच भलिबलमा धेरै सफलता दिलायौं । पछि सञ्जय अर्यालसँग पनि मैले बीच भलिबल खेलें । सबै प्रतियोगितामा म उत्कृष्ट खेलाडी बनेको छु,’ ३३ वर्षीय इमले थपे, ‘पुलिस क्लबबाट २३ औं राष्ट्रिय प्रतियोगितादेखि अहिलेसम्म खेल्दै आएको छु ।


नौ वर्षको अन्तर्राष्ट्रिय करिअरमा इमले सबै प्रतियोगितामा सहभागिता जनाएका छन् । सेन्ट्रल जोन भलिबल इतिहासमा उनी पहिलो संस्करणदेखि हालसम्म कप्तानी गरेका छन् । सन् २०१८ मा इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुद र त्यसअघि २०१६ मा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा पनि नेपाली टोलीको कप्तानी उनैले गरेका थिए । २०७१ सालयता उनी कप्तानको जिम्मेवारीमा नियमित छन् । माल्दिभ्समा भएको सेन्ट्रल जोन भलिबलको तेस्रो संस्करणमा नेपालले कांस्य पदक जितेको थियो । नेपाली भलिबलको चार दशकको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय पदक जिताउने कप्तान पनि हुन् उनी । माल्दिभ्समा भएको प्रतियोगितामा घरेलु टोलीलाई पराजित गरी नेपालले पदक जितेको हो ।


करिब दुई दशकको भलिबल करिअरको उत्तरार्द्धमा छन्, इम । त्यो कुरा उनले पनि बुझेका छन् । उनी आफ्नो पोजिसनमा आफूलाई प्रतिस्थापन गर्न सक्ने क्षमतावान् युवा खेलाडीको आगमन कुरेर बसेका छन् । ‘उमेरले पनि अब बिदा लिने समय आएजस्तो लाग्छ । तर लिफ्टर पोजिसनमा मेरो ठाउँ लिने खेलाडीको अभाव रहेकैले अहिलेसम्म राष्ट्रिय टोलीमा टिकिरहेको छु । तर धेरै समय रहन्न होला,’ कप्तान इमले संन्यासको संकेत गरे ।


यति लामो करिअरको अन्त्यका लागि उनले घरेलु कोर्टमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुदलाई उपयुक्त विकल्प मानेका छन् । ‘नेपालमै ठूलो अन्तर्राष्ट्रिय खेलकुद हुँदै छ । मेरो चाहना एकपल्ट दक्षिण एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेर अन्तर्राष्ट्रिय करिअरलाई टुंग्याउने नै हो,’ इमले भने, ‘तर क्लबस्तरमा भने अझै केही समय खेल्न सक्छु ।’

twitter : @KushalTmalsin4

प्रकाशित : भाद्र ६, २०७६ ११:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×