लामो भिडियोको बाढी

हेलो शुक्रबार

 ट्युबमा सब्स्क्राइब गरेको च्यानलमा अपलोड भएका नयाँ भिडियो हुन् वा ट्रेन्डिङमा देखिने भिडियो  । यी सबैमा एउटा समानता पाइन्छ– भिडियोको लम्बाइ  ।

अचेल युट्युबमा अपलोड हुने अधिकांश भिडियो लामो हुन थालेका छन् । गैरव्यावसायिक रूपमा युट्युबमा अपलोड हुने भिडियोहरू लम्बाइका हिसाबले छोटो हुन सक्लान् तर युट्युबमा चर्चित रहेका क्रिएटरहरूको च्यानलबाट अपलोड हुने भिडियोको लम्बाइ भने निकै लामो बन्न थालेका छन् ।


युट्युबको नीतिका कारण पनि कन्टेन्ट क्रिएटरहरूले लामो भिडियो बनाउन थालेको विज्ञहरूको निष्कर्ष छ । युट्युबको नीतिअनुसार लामो भिडियोमा बढी विज्ञापन राख्न पाइन्छ र कन्टेन्ट निर्माताले लामो भिडियो अपलोड गर्नुको अर्थ उसले बढी विज्ञापन राख्न पाउने अवसर पनि हो । यस्तै कारणले अधिकांश कन्टेन्ट निर्माताले आफ्नो भिडियोलाई सकेसम्म लामो बनाउन थालेका छन् ।हालै पिउ रिसर्च सेन्टरले गरेको एक अध्ययनअनुसार युट्युबमा बढी चर्चित रहेका २ लाख ५० हजार च्यानलमा अपलोड भएका भिडियोको औसत लम्बाइ १३ देखि १४ मिनेट छ । केही वर्ष अघिसम्म यस्ता च्यानलको औसत लम्बाइ १० मिनेटभन्दा कम हुन्थ्यो । अचेल अपलोड हुने अधिकांश भिडियोको लम्बाइ कम्तीमा पनि १० मिनेट देखिन्छ ।


पछिल्ला समय युट्युबमा अपलोड हुने गरेको कुकिङ, मेकअपजस्ता ट्युटोरियलहरू पनि लामो लामो हुन थालेका छन् । विस्तृत रूपमा जान्न चाहने प्रयोगकर्ताका लागि यस्ता भिडियो रुचिकर लागे पनि अनावश्यक लामो भिडियो अधिकांशका लागि भने बोरिङ लाग्न सक्छ । भ्लगरहरूले समेत आफ्नो भ्लगको लम्बाइ कम्तीमा १ घण्टाको बनाउन थालेका छन् । युट्युबमा बढ्दै गएको भिडियोको लम्बाइ केही प्रयोगकर्ताका लागि विस्तृतमा हेर्ने अवसर भए पनि मनोरञ्जनको चाह राख्नेका लागि रुचिकर नहुन सक्छ ।


युट्युबलाई कुन भिडियो कति हेर्‍यो भन्दा पनि आफ्नो प्लेटफर्ममा मानिस कति बढी सक्रिय रहेकोसँग मात्रै सरोकार रहेकाले यसप्रति कम्पनीको ध्यान नगएको विज्ञहरूको बुझाइ छ । भिडियो सामग्रीमा केन्द्रित हुँदै गएको फेसबुकले पनि युट्युबकै बाटो तय गर्ने सम्भावना छ । युट्युबले जस्तै फेसबुकले पनि भिडियो सामग्री निर्माताहरूलाई पैसा दिन थालेको छ । आफ्नो प्लेटफर्ममा भिडियो राखेबापत विज्ञापनको पैसा दिने त छँदै छ, कम्पनीले चर्चित व्यक्तिहरूलाई भिडियो निर्माणका लागि ‘सिड मनी’ उपलब्ध गराउँदै आएको छ । फेसबुकमा राम्रा–राम्रा भिडियो अपलोड होऊन् र मानिसहरू भिडियोका लागि अन्त नजाऊन् भन्ने कम्पनीको स्वार्थ हो ।


युट्युबमा लामो भिडियो अपलोड हुने क्रम बढ्दै गर्दा प्रयोगकर्ताहरूको रुचि भने छोटो भिडियोतर्फ गएको देखिन्छ । छोटो भिडियो अपलोडको सुविधा दिने टिकटकमा प्रयोगकर्ताको सक्रियता बढ्दो छ । सन् २०१८ मा मात्रै टिकटक एप ६६ करोड पटक डाउनलोड भएको थियो । २०१८ को डिसेम्बरमा मात्रै साढे ७ करोड प्रयोगकर्ताले टिकटक सुरु गरेका थिए । सन् २०१७ मा जम्मा १३ करोड प्रयोगकर्ता रहेको टिकटकले एक वर्षमा ५ गुणा बढी लोकप्रियता पायो । छोटो भिडियो अपलोड गर्ने सुविधा भए पनि प्रयोगकर्ता सबैभन्दा बढी रहने रेकर्ड टिकटककै नाममा छ । यसमा औसत प्रयोगकर्ता २ सय ९४ सेकेन्ड रहन्छन् । गत वर्ष टिकटक इन्स्टाग्राम र युट्युबलाई जित्दै सबैभन्दा बढी डाउनलोड हुने एपको चौथो स्थानमा थियो ।

hellosukrabar@gmail.com

प्रकाशित : श्रावण १७, २०७६ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्

उद्धारका हिरो

किताब च्यापेर स्कुल जाने उमेरमै भारी बोकेर खुम्बुतिर उक्लिएका लाक्पा नोर्बु शेर्पा १७ वर्षयता हिमाली क्षेत्रमा हेलिकप्टरमा झुन्डिँदै उद्धार कार्यमा सक्रिय छन् ।
कुम्भराज राई

 सगरमाथा आरोहणका बेला आधारशिविरमा बिहानैदेखि हेलिकप्टर अवतरण र उडान भइरहेको हुन्छ  । ‘हिमालका ट्याक्सी’ भनिने हेलिकप्टरहरूको उडान र अवतरणमा लाक्पा नोर्बु शेर्पा बिहानैदेखि व्यस्त देखिन्छन्  ।

तीनवटा स्याटेलाइट सेट उनका कम्मरमै झुन्डिएका हुन्छन् । कहिले हेलिकप्टरका पाइलटसँग कहिले माथिल्ला शिविरहरूमा रहेका आरोहीहरूसँग कुराकानी भइरहेको हुन्छ । सगरमाथा र यस आसपासका अधिकांश हिमालमा कोही जोखिममा परे, बिरामी वा घाइते भए पहिले खबर उनकै सेटमा आउँछ । खुम्बु पासाङ ल्हामु गाउँपालिका– १, खरी खोलाका उनी हिमाली क्षेत्रमा कार्यरत चर्चित ‘हेलिकप्टर उद्धार विशेषज्ञ’ हुन् । उनी हरेक वर्ष आरोहणको सिजनमा सगरमाथा आधारशिविरमा करिब ७५ दिन बिताउँछन् । सत्र वर्षयता उनले आधारशिविरमा बिताएको समय जोड्ने हो भने १ हजार २ सय ७५ दिनजति हुन्छ ।


उनले सयौं मिटर लामो डोरीमा झुन्डिएर कति लास निकाले, कति घाइतेलाई उद्धार गरेर आधारशिविर ल्याए, गनेर साध्यै छैन । ‘एउटा–दुईवटा भए पो सम्झिनु,’ ३८ वर्षीय लाक्पा भन्छन्, ‘कतिपय अवस्थामा दिनमै दर्जनौंको उद्धार गरिएको छ । तथ्यांक राखिएन ।’ हिमालमा हेलिकप्टरको माध्यमबाट घाइते र मृतकको उद्धार गर्नु जोखिमपूर्ण हुन्छ । आफ्नै ज्यान जाला भन्ने डर हुन्छ । उनलाई यो पेसामात्र नभएर नशा भइसक्यो । त्यसैले आधारशिविरमा टेन्ट टाँग्न सुरु हुँदा उनी पुगिसक्छन् ।
‘उहाँ आधारशिविरमा भएपछि सबै सुरक्षित छौं जस्तो लाग्छ,’ सगरमाथा आरोही तथा पर्यटन व्यवसायी दिकी शेर्पाले भनिन्, ‘उहाँको टोलीले मेडिकल टोलीसहितको क्याम्प राख्नु हुन्छ । त्यहाँ बिरामीको उपचार गरिन्छ ।’ लाक्पा हिमालयन उद्धार संघमा आबद्ध छन्, जसमा उनी बेसक्याम्प म्यानेजर हुन् ।


लाक्पाका संघर्षका दिनहरू पनि धेरै छन् । उनले १३ वर्षको छँदै हिमाली क्षेत्रमा भारी बोक्न थालेका थिए । उनलाई २० वर्षअघि हिमालयन उद्धार संघले उनलाई संस्थामा आबद्ध गरायो । त्यस बेला माओवादी सशस्त्र द्वन्द्व चर्किएको थियो । त्यसैले सगरमाथा आधारशिविरमा औषधि लैजाँदा बाटैमा लुटिएको घटना धेरै भए । लाक्पा भने सहजै औषधि पुर्‍याउँथे । कामप्रतिको इमानदार भएकाले नै उनलाई संघले मेडिकल क्याम्पको नेतृत्व गर्ने जिम्मेवारी दियो । उनले स्विट्जरल्यान्ड, इटाली, अमेरिकामा उद्धारसम्बन्धी ‘वाइल्डरनेस फस्ट रेस्पोन्डर’ लिए । ‘लङ लाइन रेस्क्यु’ को तालिम पनि गरे, जुन कोर्स गर्ने नेपाली चार जना मात्रै छन् । उनी प्रत्येक दुई वर्षमा स्विट्जरल्यान्डमा रिफ्रेसर तालिम लिन जान्छन् । उनी हेलिकप्टर कम्पनीसँग उद्धारका लागि चौबिसै घण्टा समन्वय गर्न सक्छन् ।


सन् २०१४ को हिमपहिरो होस् या २०१५ को भूकम्प, उनले बिर्सेका छैनन् । ‘आफ्नै ज्यान जोखिममा राखेर भ्याइनभ्याई कतिलाई जीवितै उद्धार गरियो । कत्तिको लास झिकियो,’ लाक्पा भन्छन्, ‘हिमाल आफैंमा जोखिमपूर्ण क्षेत्र हो । यहाँ उद्धारका लागि तम्तयार रहनु मेरो कर्तव्य हो ।’ पैसा तिर्न नसक्ने भरिया, गाइड होस् या सरकारी सम्पर्क अधिकृत, उनले सबैको उद्धार गरेका छन् । उनी अफ सिजनमा दुई छोरा, श्रीमती र बुबाआमासहित काठमाडौंमा बस्छन् । आरोहणको मौसम सकिएपछि बेलाबेला विदेश पुग्छन्, कामकै सिलसिलामा । उनलाई सधैंका लागि युरोपका मुलुकहरूमा बस्ने निम्तो नआएको हैन । ‘आफ्नै देशमा काम गर्नुमा गर्व लाग्छ,’ उनले भने ।

प्रकाशित : श्रावण १७, २०७६ ११:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्