बदलिँदो व्यवस्था

जीडीपीआरको चर्चा यति धेरै किन पनि हुन्छ भने यसको जरिवाना एकदमै कडा पारिएको छ । डीडीपीआरको प्रावधानअनुसार कुनै कम्पनीले आफ्ना प्रयोगकर्ताको तथ्यांक सुरक्षित राख्न नसके वा हेलचेक्र्याइँ गरे उसको विश्वव्यापी कारोबारको ४ प्रतिशत रकमसम्म जरिवाना गराउन सकिने प्रावधान छ ।
हेलो शुक्रबार

काठमाडौँ — यस्ता कम्पनीहरू अहिले चल्तीमा छन् जो एउटा देशमा दर्ता हुन्छन् तर उनीहरूको सेवाको कुनै सीमा हुँदैन ।

यस्ता कम्पनीका नाम लिँदा फेसबुक, गुगल, अमेजनको नाम अग्रपंक्तिमा आउँछ । एउटा देशमा दर्ता हुने, त्यहाँको नियम पालना गर्ने र आफ्ना सेवाले धेरै देशमा प्रभावित पार्ने भएकाले यस्ता कम्पनीले गएको दशक धेरै आरोह अवरोह खेप्नुपर्‍यो । सबैजसो देशमा उनीहरूका लागि सुहाउँदो कानुन नै थिएन । कुनै देशले नियमन गर्ने कानुन बनाए, उनीहरू भन्थे–हामी फलानो देशमा दर्ता छौं र त्यहाँको कानुन माने पुग्छ ।


फरक प्रकृतिका भएकाले यस्ता कम्पनी एउटा देशबाहेक अन्यमा नियमनमा बाँधिएका थिएनन् । तर अब समय फेरिएको छ । धेरै देशले यस्ता खालका कम्पनीलाई नियमन गर्ने कानुन निर्माण गरेका छन् र आफ्नो देशमा सेवा दिने भए त्यसलाई मान्नुपर्ने बाध्यकारी प्रावधान बनाएका छन् ।


यसैको पछिल्लो उदाहरण युरोपियन युनियनले लागू गरेको जेनेरल डाटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर) हो । युरोपका सबै देशमा लागू हुने गरी निर्माण गरिएको यो नियमन २०१६ मा पास भए पनि वर्ष मे महिनामा लागू भएको थियो ।


यही नियमनका कारण फेसबुक, गुगल, अमेजनजस्ता कम्पनीहरूले आफ्ना उपभोक्ता वा प्रयोगकर्तालाई उनीहरूको के–के तथ्यांक आफूले राखेको छु र के कामका लागि प्रयोग गर्दैछु भनेर जानकारी दिनुपर्ने थिति बसेको छ ।


यस्ता कम्पनीले प्रयोगकर्ताको तथ्यांक राख्ने र त्यसलाई नाफा वा व्यवसायका लागि प्रयोग गरी आम्दानी गर्ने गरेको तथ्यहरू बाहिरिन थालेको धेरै पछि यस्तो कानुन बनेको र लागू भएको हो ।


जीडीपीआरको प्रभाव पनि विस्तारै देखिन थालेको छ । फ्रान्सले यसै साता मात्रै गुगललाई करिब ४४ मिलियन डलर अर्थात् करिब ५ अर्ब रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ ।


गुगलले आफ्ना प्रयोगकर्ताबारेको जानकारी वा तथ्यांक संग्रह गर्दा उनीहरूसँग अनुमति नलिने गरेको र यसको प्रयोग पारदर्शी नभएको उजुरी परेपछि फ्रान्सेली निकायले जरिवानाको निर्णय गरेको हो । गुगलविरुद्ध अघिल्लो वर्ष जीडीपीआर लागू हुनेबित्तिकै उजुरी परेको थियो ।


यही नियमअन्तर्गत गुगलले यसअघि पनि कारबाही भोगिसकेको छ । गुगलले निर्माण गरेको एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गर्ने मोबाइल निर्मातालाई कम्पनीले आफ्ना ५ वटा एप राख्नैपर्ने बाध्यकारी नियम बनाएको भन्दै युरोपियन युनियनले त्यो बाध्यकारी नियम हटाउन निर्देशन दिएको थियो । यो निर्णयको प्रभाव अहिले बजारमा रहेका स्मार्टफोनमा देखिएका छन् ।


कुनै कम्पनीले मोबाइल उत्पादन गर्दा एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गर्दा गुगलका एपहरू राख्नैपर्ने बाध्यकारी नियम अब छैन । गुगलले भने मोबाइल निर्मातालाई अपरेटिङ सिस्टम प्रयोगका लागि नि:शुल्क दिइएको भन्दै आफ्नो ५ वटा एपहरू नि:शुल्क राख्नुपर्ने नियम जायज भन्दै आएको छ ।


जीडीपीआर लागू भएपछि गाह्रो परेको कम्पनी गुगल मात्रै होइन । सबैभन्दा ठूलो सोसल नेटवर्किङ साइट फेसबुकले पनि जीडीपीआर लागू हुनुअघि नै अघिल्लो वर्षदेखि आफ्नो तथ्यांक संग्रह गर्ने नीतिमा व्यापक फेरबदल गरेको छ । सबैभन्दा ठूलो उपलब्धि भनेको प्रयोगकर्ताले आफ्नो कुन तथ्यांक फेसबुकसँग छ भन्ने डाउनलोड गरी हेर्न सक्छन् ।


यस्ता जानकारी कम्प्युटरमा संग्रह गर्न सक्ने गरी प्रयोगकर्तालाई उपलब्ध गराउनुपर्ने प्रावधान जीडीपीआरमा छ । तर, अमेजन, एप्पलजस्ता कम्पनीले पनि जीडीपीआरमा भएका प्रावधान पूर्णत: पालना नगरेको भन्दै उजुरी परेको छ । विशेषगरी इन्टरनेटमा गोपनीयताका लागि वकालत गर्ने समूहहरूले यस्ता कम्पनीविरुद्ध उजुरी हालेका छन् । उनीहरूले प्रयोगकर्तालाई उनीहरूको के–के तथ्यांक संग्रह गरिएको छ भन्ने पूर्ण रूपमा जानकारी नगराएको आरोप उजुरीमा छ ।


जीडीपीआरको चर्चा यति धेरै किन पनि हुन्छ भने यसको जरिवाना एकदमै कडा पारिएको छ । जीडीपीआरको प्रावधानअनुसार कुनै कम्पनीले आफ्ना प्रयोगकर्ताको तथ्यांक सुरक्षित राख्न नसके वा हेलचेक्र्याइँ गरे उसको विश्वव्यापी कारोबारको ४ प्रतिशत रकमसम्म जरिवाना गराउन सकिने प्रावधान छ । जीडीपीआर कार्यान्वयनमा आएपछि विश्वका अरू देशले पनि यस्तै खालका कानुन निर्माण गर्न थालेका छन् जसले आफ्ना देशमा दर्ता नभए पनि सेवा प्रवाह गर्ने कम्पनीहरूलाई नियम मान्न बाध्य पारेको छ ।

hellosukrabar@gmail.com

प्रकाशित : माघ ११, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्

गोपी अर्थात् विपिन

नवीन र यथार्थपरक चरित्रमा रमाउने विपिन नयाँ फिल्म गोपीमा गाईपालक कृषक बनेका छन् । यो चरित्र र फिल्ममा विपिन कसरी जोडिए ?
गोकर्ण गौतम

काठमाडौँ — एकै बसाइमा स्क्रिप्ट पढिसक्न हम्मेहम्मे पर्छ, विपिन कार्कीलाई । कति त पढ्दा–पढ्दै बीचमै छोडिदिन्छन् ।

निर्देशक दीपेन्द्र लामाले गोपीको स्क्रिप्ट मेल गर्दा मध्यरात भएको थियो । ल्यापटप खोलेर विपिनले जब पढ्न थाले, छोड्नै मन लागेनछ । बिहान दुई बज्यो, स्क्रिप्ट सकियो । विपिन सम्झन्छन्, ‘स्क्रिप्ट पढ्दा म विपिन कार्की भएर पढ्दिनँ । मनलाई छोडिदिन्छु । गोपीको स्क्रिप्ट पढ्दा मेरो मनले बीचमै छोड्नै मानेन ।’ गाईपालक कृषकको चरित्र र उसको कथाले विपिनलाई मोहित बनाएछ । कथाको क्यानभास सानो तर मन छुने । भोलिपल्ट बिहानै निर्देशक दीपेन्द्रलाई म्यासेज गरे, ‘स्क्रिप्टमा मैले आफूलाई पाएँ । खेल्न तयार छु ।’

विपिनको यो जवाफले दीपेन्द्रलाई ठूलो अर्थ राख्थ्यो त्यतिबेला । चार महिना अगावै अनुबन्ध भएका हिरो खगेन्द्र लामिछानेले सुटिङ सुरु हुनुभन्दा एक साताअघि ‘धोका’ दिएका थिए, फिल्म छोडेर । त्यसैले त्यति छोटो समयमा विपिनजस्तो प्रतिभाशाली अभिनेता पाउनु निर्देशकमात्र होइन, फिल्म युनिटकै लागि खुस खबर थियो । दीपेन्द्र नढाँटी भन्छन्, ‘गोपीका लागि विपिन पहिलो रोजाइ थिएनन् तर सुटिङ सुरु भएपछि उनको ठाउँमा अरू कोही भए पात्रलाई नै अन्याय हुनेरहेछ भन्ने लाग्यो ।’ निर्देशनका हिसाबले यो दीपेन्द्रको दोस्रो फिल्म हो । अनि, विपिनसँगको सहकार्यचाहिँ पहिलो । फिल्म १८ माघमा प्रदर्शन हुँदै छ । अहिले दुवै एकै स्वरमा भन्छन्, ‘हामीलाई काम गर्न एकदमै सहज भयो ।’ दीपेन्द्र त विपिनको प्रशंसा गरेर थाक्दैनन् । उनकै शब्दमा, विपिनजति चरित्रमा बस्ने, लचिलो र कुरा बुझ्ने अभिनेता भेट्न मुस्किल छ ।

अहिले हामीकहाँ दुईकोटिका फिल्मको ‘आतंक’ छ । पहिलो, कमेडी । जसमा कथा, पात्र र कथा वाचनलाई पूरै बेवास्ता गरिएको हुन्छ, जबर्जस्ती हँसाउने ध्याउन्न हुन्छ । दोस्रो, रोमान्टिक लभस्टोरी । जसमा सुकिलामुकिला हिरो–हिरोइन हुन्छन्, विदेशका आकर्षक दृश्यमा छायाँकन गरिएका गीत हुन्छन्, हल्काफुल्का हास्य र रोनाधोना पनि हुन्छ तर कथा र प्रस्तुतिचाहिँ बासी । अर्थात् आवरण झकिझकाउ हुन्छ, आत्मा कमजोर । हलमा दर्शकको खडेरी लाग्नुमा यस्ता नीरस फिल्मको भूमिका ज्यादा छ । तर गोपीले ट्रेलरमार्फत अलग भएको छनक दियो । मुख्य कुरा, गाई पाल्ने कृषकको कथा परम्परागत र बजारु आँखाबाट हेर्दा ‘नबिक्ने’ र ‘नन–ग्ल्यामर’ भइहाल्यो । त्यसमाथि न यसमा रोटेपिङ घुम्नेवाला लोकगीत छ, न तिघ्रा देखाएर नाचिने आइटम । न चकलेटी हिरो, न विदेशी सिन । निर्देशक दीपेन्द्र भन्छन्, ‘बजारको मागलाई सम्बोधन गर्नेभन्दा मौलिक कथा भन्ने प्रयास गरिएको छ ।’ यस्तै ‘फिल्मी मसला’ नभएकै कारण गोपीले निर्माता पाउनै धौधौ परेको थियो । गोपी बन्नुको कथा आफैंमा रोचक छ ।

निर्माता मणिकर्ण केसीको भेट भयो, पत्रकार तथा पटकथाकार सामीप्यराज तिमल्सेनासँग । हिरो अनमोल केसीसँग सामीप्यराजको नजिकको सम्बन्ध छ भन्ने थाहा पाएपछि मणिकर्ण हौसिए । उनी जसरी हुन्छ, अनमोल केसीलाई लिएर फिल्म बनाउन लागिपरेका थिए । अनमोललाई ५० लाख रुपैयाँ पारिश्रमिक दिन पनि तयार थिए उनी । सामीप्यराजले त्यही बेला भनेछन्, ‘हिरोले मात्र फिल्म चल्दैन । एउटै हिरोका लागि किन त्यति धेरै पैसा तिर्नुहुन्छ ? ५० लाखमा फिल्म नै बन्ने कथा छ मसँग ।’ त्यसपछि मणिकर्णले कथा सुने, एक करोड नै लगानी गर्न तयार भए । त्यस अगाडि सामीप्यराज र निर्देशक लामाले कैयौं निर्माता भेटे तर गाईपालक किसानको कथा हो भन्ने थाहा पाउनासाथ तर्कन्थे । सामीप्यराज भन्छन्, ‘यो कतैबाट चोरचार गरिएको होइन । हाम्रै गाउँठाउँको कथा हो । हामीले इमानदार भएर पर्दामा देखाउने जमर्को गरेका छौं ।’ विपिनलाई गोपीको कथाले तान्नुको मुख्य कारण पनि त्यही नेपालीपन भएरै हो । त्यसमाथि गाईसँग विपिनको सम्बन्ध बच्चैदेखि प्रेमिल थियो ।

मोरङ बाहुनीमा जन्मे/हुर्केका विपिनलाई दूध दुहुन आउँछ । घाँस काटेका छन् । खोले पकाएका छन् । उनका बाबुआमा पनि यही काम गर्छन् । ‘म गाई, गोठ, गोबर, घाँसको गन्ध महसुस गर्न सक्छु । त्यसैले गोपीमा मैले आफूलाई पाएँ,’ विपिन भन्छन्, ‘त्यसैले अरू बेलाजस्तो चरित्रको तयारीका लागि एक–दुई महिना लागेन । स्क्रिप्ट पढेको दस दिनमै सुटिङमा जाने आँट आयो ।’ कृषकको छोरो भएर कृषकको भूमिका गर्न पाउँदा गौरवान्वित थिएँ, तर विपिन प्रचारप्रसारका क्रममा चितवन, हेटौंडा, पोखरा, बुटवलका गाई फार्ममा पुगेपछि अझ उत्साही भएका छन् । पोखराबाट विपिनले सुनाए, ‘कतिले अहिलेसम्म हलमा टेकेको छैन तर गोपीचाहिँ हेर्छु । यो त हाम्रै कथा रहेछ भन्नुभयो । यस्तो मायाले औधी खुसी दिँदोरहेछ ।’ गोपीमा विपिनसँगै वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका छ ।

व्यस्तता मात्र होइन, पारिश्रमिकका हिसाबले पनि विपिन उचाइमा छन् । यही फिल्मका लागि उनले १७ लाख रुपैयाँ लिएका थिए । प्रसादको सफलतासँगै उनको पारिश्रमिक अझ बढ्ने निश्चित छ । भलै उनी आफूलाई ‘स्टार’ होइन, तर सबैले माया गरेको कलाकार भन्न रुचाउँछन् । सामान्य र पर्दामा नआउने यथार्थपरक पात्रमै रमाइरहेका छन् । उनकै शब्दमा, हिरोज्म रोलप्रति अनुराग छैन । तर एकपटक गरेर देखाउनचाहिँ मन छ । र, अहिलेकै लागिचाहिँ ‘गोपी’ मार्काकै चरित्रमा मस्त छन्, दंग छन् । भन्छन्, ‘गोपीलाई दर्शकले मन पराउनुहुन्छ, फिल्म हिट हुन्छ भन्ने विश्वास छ । कदाचित त्यस्तो भएन भने पनि फिल्म र चरित्रप्रति सदैव गर्व गर्नेछु ।’
gokarna.gtm@gmail.com

प्रकाशित : माघ ११, २०७५ १०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×