२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

विषादीको निर्बाध बिक्रीमा नियन्त्रण न नियमन !

सहजै अर्डर र प्राप्त गर्न सकिने हुँदा विष सेवन गरेर हुने आत्महत्याका घटनामा आएन कमी
प्रतिबन्ध नै लगाउन सकिन्न भने पनि ठूलो मात्रामा एकै व्यक्तिलाई नदिने र सम्पूर्ण विवरण लिएर मात्रै दिने व्यवस्था गर्नुपर्छ, अनलाइनमार्फत त दिनै नमिल्ने बनाउन जरुरी छ : डा. किशोर खनाल, सघन रोग उपचार विशेषज्ञ
स्वरूप आचार्य

काठमाडौँ — कृषिमा प्रयोग हुने विषादी सेवन गरेपछि गत साता दुई जनालाई ललितपुरको मेडिसिटी अस्पतालको आईसीयूमा नै भर्ना गर्नुपर्‍यो । हेटौंडाका युवक उपचारपछि डिस्चार्ज भइसकेका छन् भने भक्तपुरकी युवतीको अवस्था अझै गम्भीर छ । युवतीले विष कसरी प्राप्त गरिन् भन्ने नखुले पनि ती युवकले एक अनलाइन प्लेटफर्मबाट खरिद गरेको पाइएको छ ।

विषादीको निर्बाध बिक्रीमा नियन्त्रण न नियमन !

विषादी बिक्रीवितरणलाई सरकारले नियन्त्रण गरेको भने पनि विष सेवन गरेर हुने आत्महत्या वा आत्महत्या प्रयासमा भने कमी आउन नसकेको यी दुई घटनाले देखाउँछन् ।

नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्ला केही वर्षयता नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दो छ । त्यसमा पनि विष सेवन गरेर आत्महत्या गर्नेको संख्या यसको २० प्रतिशतसम्म रहेको तथ्यांकले देखाउँछ । पाँच वर्षको तथ्यांक हेर्ने हो भने विषादी सेवन गरेर मृत्यु हुनेको संख्या घट्दै गए पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । २०७५/७६ मा विष सेवन गरेर मृत्यु हुनेको संख्या १ हजार ३ सय ३६ रहेकामा त्यसपछिका तीन वर्षमा क्रमशः १ हजार १ सय ४६, १ हजार २ सय ८६ र १ हजार ४० हुँदै २०७९/८० मा ९ सय ३२ जना रहेको प्रहरीको तथ्यांक छ । त्यस्तै चालु आर्थिक वर्षको गत फागुनसम्ममा ५ सय ९३ जनाको विषादी सेवनबाट ज्यान गइसकेको छ ।

नेपालभित्र कुनै पनि प्रकारका विषादीको आयात तथा बिक्री गर्न कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रबाट अनिवार्य स्वीकृति लिनुपर्छ । विषादी दुरुपयोग नहोस् भनेर केन्द्रले नियमन गर्न खोजे पनि विषादी सेवन गरेर आत्महत्या गर्नेको संख्यामा भने तुलनात्मक रूपमा नियन्त्रण हुन सकेको देखिन्न । अझ विषादी सेवन गरेर आत्महत्या गर्ने वा प्रयास गर्नेको संख्या ग्रामीण क्षेत्रको तुलनामा काठमाडौं उपत्यकाभित्रै बढी देखिएको छ । यसो हुनुमा विषादीको खुलेआम बिक्री वितरण मुख्य कारक मान्न सकिन्छ । त्यसमा पनि विभिन्न अनलाइन पोर्टलमार्फत यस्ता विषादी सहजै अर्डर र प्राप्त गर्न सकिने भएकाले यसको नियमन तथा नियन्त्रण कठिन बन्दै गएको छ । समयमै यसको रोकथाम गरिएन भने गम्भीर दुर्घटना निम्तिन सक्ने जोखिम पनि उत्तिकै रहेको सरोकारवालाहरू औंल्याउँछन् ।

केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेलका अनुसार अति विषाक्त मानिएको विषादी अनलाइनमा सहज रूपमा बिक्री गरिनु गैरकानुनी मात्रै होइन, दण्डनीय अपराध पनि हो । ‘अनलाइनबाट विषादी बिक्री भइरहेको छ भन्ने हामीलाई थाहा थिएन । यस्तो गर्न पाइँदैन,’ उनले भने, ‘हामी यस विषयमा तत्काल अनुगमन गरेर कारबाही गर्छौं ।’

पोखरेलका अनुसार नेपालमा उपलब्ध विभिन्न विषादीमध्ये अल्मुनियम फोसफाइड र अर्ग्यानोफोस्फेटयुक्त विषादी सेवन गर्नेहरूको संख्या उल्लेख्य छ । सरकारले २०७६ मा अल्मुनियम फोसफाइडको ३ ग्रामको चक्की बिक्रीमा प्रतिबन्ध नै लगाएको थियो । ‘त्यसबेला चिकित्सा शिक्षा अध्ययन गरिरहेका एक विद्यार्थीले उक्त विषादी सेवन गरेर आत्महत्या गरेका कारण यसलाई प्रतिबन्ध गर्नुपर्छ भन्ने आवाज उठेको थियो,’ पोखरेलले भने, ‘पछि महाराजगन्जका चिकित्सक डा. राकेश घिमिरेलगायतको अध्ययनले पनि उक्त विषादी दुरुपयोग भइरहेको प्रमाणित गरेको थियो । त्यसपछि सरकारले प्रतिबन्ध नै लगायो ।’

उनका अनुसार सरकारले प्रतिबन्धको दुई वर्षपछि उक्त विषादी बजारमा बेच्न नपाइने भए पनि खुला नाका लगायत कारणले यदाकदा बजारमा भेटिने भने गरेको छ । ‘पहिला त विषादी बिक्री गर्न हामीले तालिम दिन्छौं । त्यसपछि परीक्षा लिन्छौं । त्यसमा उत्तीर्ण भएर प्रमाणपत्र प्राप्त गरेपछि फेरि केन्द्रबाट इजाजतपत्र लिनुपर्छ अनि मात्रै विषादी बेच्न पाइन्छ,’ उनले भने, ‘तर, अहिलेसम्म विभिन्न व्यावहारिक कठिनाइका कारण विज्ञको सिफारिसबिना विषादी बेच्न नपाउने व्यवस्था भने लागू गर्न सकिरहेका छैनौं । बीचमा एकपटक प्रयास नभएको होइन । व्यावहारिक भएन । अनि बन्द गरियो ।’

पोखरेलका अनुसार जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ ले विषादीको बिक्रीलाई केही हदसम्म नियन्त्रित र व्यवस्थित गर्ने प्रयास गरेको छ । यसलाई थप व्यवस्थित रूपमा लागू गर्न केही समयमा नै नियमावली पनि जारी गरेर लागू गर्ने अन्तिम तयारी भइरहेको छ । ‘विषादीको दुरुपयोग रोक्न हाम्रो मात्रै एकल प्रयासले हुँदैन । यसमा सरोकारवाला समुदायको पनि सहयोग आवश्यक पर्छ,’ उनले भने, ‘अब प्रदेश र स्थानीयस्तरमा पनि केन्द्रको पहुँच बढ्दै गएको अवस्थामा केही सहज हुने देखिन्छ ।’

केन्द्रको अघिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भने नेपालमा विषादीको आयात दोब्बर भएको छ । सन् २०१७/१८ मा करिब ६ लाख ३२ हजार किलोग्राम विषादी आयात भएकामा २०२१/२२ मा यो संख्या बढेर ११ लाख ३५ हजार किलोग्राम पुगेको छ । नेपालमा विषादीको खपत बढेसँगै यसको दुरुपयोग हुने जोखिममा पनि उल्लेख्य वृद्धि भएको छ । तर, कृषिप्रधान मुलुक भएकै कारणले कृषि क्षेत्रको उत्पादनलाई बढाउन अत्यावश्यक मानिएको विषादीको बिक्रीलाई व्यावहारिक कठिनाइका कारण बिक्रीमा केही खुकुलोपना ल्याउँदा यसले दुर्घटना पनि बढाएको छ ।

विषादी प्रयोगबाट हुने मृत्युलाई नियन्त्रण गर्न केही वर्षयता लागिरहेका त्रिवि शिक्षण अस्पतालका औषधि विज्ञानका उपप्राध्यापक डा. राकेश घिमिरेका अनुसार सन् २०२२/२३ मा ६ हजार ९ सय ९३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा देखिन्छ भने २०२१/२२ मा ६ हजार ८ सय ३० जनाले आत्महत्या गरेका थिए । आत्महत्या गर्नेमा करिब २० प्रतिशतले विषादी सेवन गरेको पाइएको छ । विषादी सेवन गरेका कारण मृत्यु हुनेको मात्रै नभएर समयमै उपचार पाएका कारण बाँच्नेहरूको संख्या पनि ठूलो छ । तर, त्यसको औपचारिक तथ्यांक प्राप्त गर्न भने निकै कठिन छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को जर्नलमा प्रकाशित एक लेखअनुसार बनेपास्थित शिर मोमोरियल अस्पतालमा २०१७ देखि २०२० सम्ममा आल्मुनियम फोस्फाइड सेवन गरेर आत्महत्या गरेका वा गर्ने कोसिस गरेका २५ जना उपचारका लागि आएका थिए, जसमध्ये २० प्रतिशतको उपचारका लागि ल्याउँदा बाटोमा नै मृत्यु भएको थियो भने ६४ प्रतिशतको उपचारका क्रममा मृत्यु भएको हो ।

डा. घिमिरेका अनुसार नेपालमा विषादी सेवनका कारणले हुने मृत्युलाई घटाउन अति विषाक्त मानिएका विषादीमाथि पूर्ण प्रतिबन्ध लगाउनुको विकल्प छैन । ‘कृषि उत्पादनका लागि विषादी आवश्यक पर्छ । त्यसमा दुईमत छैन । तर जुन विषादी मान्छेका लागि मात्रै नभएर माटो र पर्यावरणका लागि पनि हानिकारक हुन्छन्, त्यस्ता विषादीलाई प्रतिबन्ध नै गरेको उचित हो,’ उनले भने, ‘विषादी केका लागि र किन प्रयोग गर्ने भन्ने विषयमा कृषि वैज्ञानिकहरू बढी जिम्मेवार हुने भए पनि २००१ देखि २०१९ सम्ममा नेपालमा करिब २४ थरीका विषादीको बिक्रीमा प्रतिबन्ध लागिसकेको छ । त्यसले बाली उत्पादनमा पनि खासै ठूलो उतारचढाव देखिएको छैन ।’

केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत पोखरेलका अनुसार भने हाल व्यक्तिले सेवनपछि हुने मृत्युको प्रमुख कारक देखिएका विषादीहरू भने कृषि उपजको सुरक्षणका लागि महत्त्वपूर्ण छन् । त्यसैले यसमाथि पूर्ण प्रतिबन्ध लगाउने विषयमा भने अलि गम्भीर अध्ययन नै गर्नु आवश्यक हुन्छ । ‘हामीले व्यक्तिलाई सेवन गर्न सहज भएका कारणले दुर्घटना भइरहेको हो भनेरै ३ ग्रामको चक्कीमा प्रतिबन्ध लगाएका हौं,’ उनले भने ।

डा. घिमिरेका अनुसार चिकित्सा क्षेत्रमा भइरहेको विकासका कारण हाल विषादी सेवन गरेकालाई समयमा नै अस्पताल पुर्‍याउन सके बचाउन सकिने अवस्था छ । ‘विषादी सेवन गरेकाको जीवन जोगाउनका लागि केही महिनायता त्रिवि शिक्षण अस्पतालमा विष सूचना केन्द्र सञ्चालनमा ल्याएका छौं,’ उनले भने, ‘यस केन्द्रमा २४ सै घण्टा चिकित्सक रहनु हुन्छ ।’ उनका अनुसार आत्महत्याको सोच आएको मानिसबाट विषादी टाढा राख्न विषादीको खुद्रा बिक्रेता मात्रै नभएर घरमा भण्डारण गरेर राख्ने प्रणालीसम्मका बारेमा गम्भीर भएर सोच्न जरुरी हुन्छ । ‘विषादीको सहज पहुँच हुने स्थितिलाई केही जटिल बनाउँदा पनि त्यसले दुरुपयोग हुने अवस्थामा कमी ल्याउने देखिएको छ,’ उनले भने ।

नेपाल मेडिसिटी अस्पतालमा कार्यरत सघन रोग उपचार विशेषज्ञ डा. किशोर खनालका अनुसार अति विषाक्त मानिएका विषादीको प्रयोगलाई देशभर नै निरुत्साहित गर्नु आवश्यक छ । ‘विषादी सेवन गरेका कतिपय बिरामीलाई अथक प्रयास गर्दा पनि बचाउन सक्दैनौं । उनीहरूको परिवारको कुरा सुन्दा सहज पहुँचकै कारणले तिनीहरूले विषादी सेवन गरेको देखिन्छ,’ उनले भने, ‘यदि प्रतिबन्ध नै लगाउन सकिन्न भने पनि ठूलो मात्रामा एकै व्यक्तिलाई नदिने र सम्पूर्ण विवरण लिएर मात्रै दिने व्यवस्था गर्नुपर्छ । अनलाइनमार्फत त दिनै नमिल्ने बनाउन पनि जरुरी छ ।’

केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत पोखरेल चिकित्सकहरूको तर्क सही भएको बताउँछन् । उनका अनुसार केन्द्रकै पहलमा सरकारबाट छिट्टै नै विषादीको बिक्री वितरण तथा नियमनका लागि नियमावली जारी हुन लागेको छ । नियमावली जारी भएपछि भने अहिले बिक्रीमा देखिएका केही समस्यालाई थप सम्बोधन हुने उनको भनाइ छ ।

प्रकाशित : वैशाख २७, २०८१ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x