कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

नेपालमा कोभिडको जेएन.१ सब भेरियन्ट फेला परेको छैन : स्वास्थ्य मन्त्रालय

विश्वका केही देशलगायत भारतमा पनि जेएन.१ सब भेरियन्ट फैलिएकाले सतर्क रहन मन्त्रालयको आग्रह

काठमाडौँ — विश्वका केही देशहरुमा कोभिड–१९ संक्रमणको नयाँ सब भेरियन्ट जेएन.१ बाट संक्रमित हुनेको संख्या केही बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सजग रहन आग्रह गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै आफ्नो निगरानी प्रणालीलाई पनि सचेत रहन निर्देशन दिइएको बताएको छ ।

नेपालमा कोभिडको जेएन.१ सब भेरियन्ट फेला परेको छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार हाल नेपालमा औपचारिक रुपमा ६ जनामात्रै संक्रमित छन् ।

कोभिड–१९ को विभिन्न भेरियन्टमध्ये हाल ओमिक्रोनको सब भेरियन्ट जेएन.१ विश्वका केही मुलुकमा फैलिरहेको छ । विश्व स्वास्थ्य संगठनले पनि जेएन.१ लाई ‘भेरिन्ट अफ इन्ट्रेस्ट’मा राखेको छ । अमेरिकामा हाल देखिएका कोभिड संक्रमितमध्ये करिब ४४ प्रतिशतमा जेएन.१ भेरियन्ट भेटिएको त्यहाँको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले जनाएको छ ।

सीडीसीका अनुसार डिसेम्बर महिनाको अन्तिम दुई सातामा अमेरिकामा परीक्षण गराएकामध्ये संक्रमित देखिनेको प्रतिशत ११.७ रहेको छ । तर यसले गर्दा अस्पताल भर्ना हुने संक्रमितको संख्यामा भने ठूलो परिवर्तन नभएको बताएको छ ।

यस्तै, पछिल्ला दिनमा सुदूरपश्चिमका गौरफन्टा नाका हुँदै फर्किएका नेपालीहरुमा गरिएको एन्टिजन परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ । नाकामा खटिएका स्वास्थ्यकर्मीहरुका अनुसार भारतको दिल्ली, चन्डीगढ, बैंगलुरु र हैदरावादलगायतका सहरबाट आउनेमा संक्रमण देखिएको हो ।

हाल भारतका विभिन्न राज्यमा नयाँ भेरियन्टको संक्रमण बढिरहेको छ । भारतमा संक्रमण बढ्न थालेपछि गत पुस ७ देखि गौरीफन्टा नाकामा हेल्थ डेस्क राखेर एन्टीजेन परिक्षण थालिएको छ ।

बुधबार साँझसम्म नयाँ भेरियन्टसहित भारतमा कुल सक्रिय संक्रमणको संख्या ४ हजार ४४० पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्ममा ११ वटा राज्यमा नयाँ सब–भेरियन्ट जेएन.१ का ५११ केस पुष्टि भएको छ । त्यस्तै भारतीय सञ्चारमाध्यमहरुका अनुसार बुधबार मात्र थप ६०२ जनामा संक्रमण पुष्टि भएको छ र पाँच जनाको मृत्यु भएको छ । भारतका कर्नाटक, तेलंगना, महाराष्ट्र, केरला, तमिलनाडु पञ्जाबलगायतका राज्यमा पछिल्ला दिनमा संक्रमण दर बढ्दो छ । भारतका यी राज्यहरुमा रोजगारीका लागि जाने नेपालीहरुको बाक्लो उपस्थिति छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार नेपालमा संक्रमित भएका मध्ये करिब ४० जनाको जीन स्विक्वेन्सिङ गर्दा कसैमा पनि जेएन.१ सब भेरियन्ट भने देखिएको छैन । ‘गत साता संक्रमित भएकाहरूको स्विक्वेन्सिङ गर्दा जेएन.१ भेटिएन,’ उनले भने, ‘हामीले यो साता संक्रमित भएकाहरूको नमुना पनि बिहीबार–शुक्रबार तिर पुनः सिक्वेन्सिङका लागि पठाउन लागेका छौं ।’ उनले हाल फैलिरहेको जेएन.१ सब भेरिएन्ट ओमिक्रोनकै सब भेरियन्ट भएका कारण त्यसबाट संक्रमित भएकाहरूमा गम्भीर स्वास्थ्य समस्या भने हालसम्म नदेखिएका कारण अत्तिनुपर्ने अवस्था नरहेको बताए ।

‘अत्तिहाल्नु पर्ने अवस्था अहिलेलाई छैन । तर संक्रमित हुनबाट जोगिनु राम्रो हो,’ उनले भने, ‘खोप लगाएका स्वस्थ व्यक्तिलाई नयाँ सब भेरियन्टले धेरै समस्या नगराए पनि पूर्ववतः स्वास्थ्य समस्या भएकाहरुलाई भने अप्ठेरो हुनसक्छ ।’ उनले हाल पनि पहिलेको खोपकेन्द्रहरूबाट खोप दिईरहेका कारण खोप नलगाएकाहरूलाई खोप लगाउन पनि आग्रह गरे । ‘नेपालमा करिब ९० प्रतिशतले नै खोप लगाइसकेका छन् । त्यसैले पनि हामीले अहिलेलाई सतर्क रहे पुग्छ,’ उनले भने, ‘संक्रमणबाट बच्नका लागि के गर्नुपर्छ हामीलाई थाह छ । त्यसैको पालना गर्न हामीले आग्रह गरेका हौं ।’

प्रवक्ता डा. बुढाथोकीका अनुसार अहिले चिसो बढेको र रुघाखोकीको पनि सिजन भएकाले कोभिडसँग मिल्दो–झुल्दो लक्षण देखिएकाहरूले परीक्षण गराएर सतर्कता अपनाए अरुलाई संक्रमित हुनबाट जोगाउन सजिलो हुन्छ । उनले बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु तथा सम्पूर्ण सरोकारवालाहरुमार्फत आवश्यक स्क्रीनिङ र निगरानी भइरहेको साथै कोभिड–१९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जानकारी दिए ।

‘भिडभाड हुने स्थानहरुमा मास्कको प्रयोग गर्ने, भौतिक दुरी कायम राख्ने र हातको सरसफाइमा विशेषतः ध्यान दिए कोभिड मात्रै नभए अन्य संक्रमणबाट पनि जोगिन सकिन्छ,’ उनले भने ।

प्रकाशित : पुस १८, २०८० १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×