गर्भवतीले के गर्ने ?- स्वास्थ्य - कान्तिपुर समाचार

गर्भवतीले के गर्ने ?

लकडाउन कहिले खुल्ने पनि टुंगो छैन । त्यसैले मिल्छ भने यस्तो माहोलमा गर्भ नराख्न नै सुझाव दिन्छु । गर्भधारण गर्नै हुन्न भनेको त हैन, तर रिस्क ज्यादा हुन्छ । त्यसैले केही समय कुर्दा राम्रो ।
डा. अरूणा पाेखरेल

कोरोना भाइरस हामी सबैको लागि नयाँ हो । त्यसैले गर्भावस्थामा यसको प्रभाव कस्तो हुन्छ, यकिनका साथ भन्न सकिन्न । रिसर्च भइरहेका छन् । तर विगतका महामारीपश्चात् गरिएका अध्ययनमा चाहिँ समय अगाडि बच्चा जन्मिएको पाइएको छ । सोही कारण त्यस्तो हुन नदिन गर्भवती र उनको परिवार अहिले सचेत हुन जरुरी छ । भाइरसबाट बच्न हातले नाक, आँखा, मुख नछुने र साबुनपानीले हातधुनेजस्ता सुरक्षित विधि अपनाउनु परिहाल्यो ।

गर्भावस्थाका तीन चरण हुन्छन् । प्रत्येक चरण तीन–तीन महिनाको हुन्छ ।

भाइरसको इन्फेक्सनले गर्भ खेर जाने वा समय नपुगी जन्मने डर त हुन्छ नै तर यसकै आधारमा अहिले नवगर्भवतीहरूलाई बच्चा नराख्नु वा फाल्नु भन्न सकिन्न । भोलि आइपर्न सक्ने कठिनाइबारे परामर्शचाहिँ दिनुपर्छ । पहिलो १२ हप्तामा फलिक एसिड चक्की खाइरहनुपर्छ । गर्भ रहनासाथ स्वास्थ्य परीक्षणका लागि अस्पताल गइहाल्नु पर्दैन । तर रगत जाने, पेट दुख्ने वा अन्य समस्या देखियो भने अस्पताल गएर भिडियो एक्सरे गर्दा ढुक्क हुन्छ । बच्चा पाठेघरभित्र बसेको छ/छैन, बच्चाको धड्कन कस्तो छ, थाहा पाइन्छ । सामान्यतया यो आठदेखि १२ हप्ताभित्र गरिन्छ । समस्या देखिएन भने भिडियो एक्सरे गर्नैपर्छ भन्ने छैन ।

घरमै बसेर पौष्टिक आहार खानुपर्छ । खुसी हुनुपर्छ । चिन्ता लिनु हुन्न । भिटामिन सीले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । त्यसैले किवी, एभोकाडो, कागती, अमला खानुपर्छ । गर्भावस्थाको पहिलो तीन महिना संवेदनशील र महत्त्वपूर्ण हुन्छ । यो अवधिमा पेटभित्रको बच्चा राम्रो छ भने बाँकी अवधिमा पनि राम्रै हुन्छ भनेर आशा गर्न सकिन्छ, शतप्रतिशत यस्तै हुन्छ भन्ने चाहिँ होइन ।

दोस्रो चरणमा भने एक पटक भिडियो एक्सरे गर्नुपर्छ, १८ देखि २० हप्तासम्म । यो बेला बच्चा अंगभंग भए/नभएको थाहा पाइन्छ । त्यसैले घर नजिकै एक्सरे गर्ने ठाउँ छ, संक्रमणको प्रभाव त्यति देखिएको छैन भने जाँदा राम्रो हुन्छ । पहिलेको गर्भमा केही समस्या देखिएको थियो भने त्यसलाई दोहोरिन नदिन सोहीअनुरूपको परामर्श र पूर्वतयारी गर्नुपर्छ । सबैले एउटै तरिका अपनाउने भन्दा गर्भवती महिलाले आफूलाई कस्तो भइरहेको छ, सोहीअनुसार चिकित्सकसँग परामर्श लिने कुरा हो । अहिले अत्यावश्यक नभएसम्म अस्पताल जानु बेस हुन्न । बरु नजिकैको स्वास्थ्यचौकी जाने वा चिकित्सकसँग फोनमा सल्लाह लिनुपर्छ । तर रगत देखापर्‍यो, सेतो पानी बग्यो, बेस्सरी पेट दुख्यो भने अस्पताल जानैपर्छ । यस्तो बेला गुगल गरेर जान्न खोज्दा द्विविधा बढाइन्छ ।

पहिलो ६ महिनामा शरीरलाई आराम पुगेन भने गर्भपतन हुने भय हुन्छ । तेस्रो चरणमा पुगेपछि भने हल्काफुल्का काम र हिँडडुल गर्दा हुन्छ । भारी सामान कहिल्यै बोक्नु हुन्न ।

आराम छ, पौष्टिक आहार पनि खाएको छ तर मनमा चिन्ता, डर छ भने तनावले हर्मोन सन्तुलन बिथोलिन सक्छ, जसले समय नपुगी बच्चा जन्मने डर हुन्छ । बच्चाको अंग पूर्ण विकास भएको हुन्न । बनिसकेको हुन्छ तर अपूरो । आवश्यक काम गर्न नसक्ने हुन्छ । जस्तो ः फोक्सो बनिसकेको हुन्छ तर ३५ हप्ताभन्दा पहिले बच्चा जन्मियो भने सास फेर्न गाह्रो हुन्छ । त्यसैले गर्भवती महिला चिन्ताबाट मुक्त हुनैपर्छ । मनमा आनन्द हुनुपर्छ । बच्चा पेटभित्र कम खेल्न थाल्यो जस्तो लाग्यो भने चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

यो भयो, गर्भ बसिसकेको हकमा । अब अहिलेको अवस्थामा गर्भ राख्न कतिको उपयुक्त हुन्छ, त्यसबारे कुरा गरौं ।

अहिले जति चिन्ता लिन्न भने पनि चिन्ता भइहाल्ने अवस्था छ, भोलि के होला भनेर यसै भन्ने अवस्था छैन । लकडाउन कहिले खुल्ने पनि टुंगो छैन । त्यसैले मिल्छ भने यस्तो माहोलमा गर्भ नराख्न नै सुझाव दिन्छु म । गर्भधारण गर्नै हुन्न भनेको त हैन तर रिस्क ज्यादा हुन्छ । त्यसैले केही समय कुर्दा राम्रो । अर्को महत्त्वपूर्ण कुराचाहिँ पतिपत्नीले यो समयमा परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्नुपर्छ । कतिपय ‘एक्सिडेन्टल प्रेग्नेन्सी’ भएर गर्भपतन गराउन आउनुहुन्छ, यसले आमाको स्वास्थ्यमा असर पर्न सक्छ । त्यसैले यौन सम्पर्क गर्दा सुरक्षित विधि अपनाउनु आवश्यक छ । अहिलेको समयमा गर्भवती महिलाहरू थप सुरक्षित भएर बस्नुपर्छ ।

-स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. अरुणा पोखरेलसँग गोकर्ण गौतमले गरेको कुराकानीमा आधारित

प्रकाशित : वैशाख ५, २०७७ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्

सुदूरपश्‍चिममा बढी जोखिम किन ?

अर्जुन शाह

धनगढी — सुदूरपश्चिमवासीका लागि भारत रोजगारीको प्रमुख गन्तव्य हो । जसै भारतमा संक्रमण फैलन थाल्यो, विभिन्न ठाउँमा मजदुरी गर्नेहरू अव्यवस्थित रूपमै आफ्ना गाउँठाउँ भित्रिए । न उनीहरूको स्वास्थ्य जाँच र लगातार निगरानी गरियो, न सबै क्वारेन्टाइनमा नै बसे ।

अर्कोतिर कोरोना भाइरस संक्रमितको संख्या पनि बढ्यो । स्थानीयमा संक्रमणसमेत भयो । यसर्थ सुरुदेखि नै सुदूरपश्चिममा कोरोना भाइरस (कोभिड–१९) संक्रमणले भयावह रूप लिने चिन्ता बढेको थियो ।

सीमामा लिइएको तथ्यांकअनुसार एक लाख ३० हजारभन्दा बढी भारतबाट घर फर्किए तर घर नपुगी सोझै क्वारेन्टाइनमा बस्नेको संख्या एक हजार पनि थिएन । सशस्त्र प्रहरीको सुदूरपश्चिम बाहिनीका अनुसार फागुन अन्तिम सातादेखि बुधबारसम्म सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न नाका हुँदै भारतबाट आएकाको संख्या एक लाख ३२ हजार एक सय ५९ छ । तीमध्ये लकडाउनअघिसम्म एक लाख २९ हजार पाँच सय ५६ र त्यसपछि दुई हजार दुई सय ३५ जना वैध रूपमै भित्रिएका थिए । तीन सय ६८ जना लुकीछिपी आएका छन् । प्रदेशका कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी र डडेलधुरामा भारतीय क्षेत्रबाट आउने वैध र अवैध नाकाहरू छन् ।

सशस्त्र प्रहरीका अनुसार लकडाउनअघि दार्चुलाका सीमाबाट दुई हजार तीन सय १२, बैतडीबाट दुई हजार तीन सय १८, डडेलधुरामा २९, कैलालीका सीमा नाकाबाट ५८ हजार ९७ र कञ्चनपुरका सीमा नाकाबाट ६६ हजार नौ सय ८० जना भित्रिएका थिए । तीमध्ये फाट्टफुट्ट संख्यामा अन्य प्रदेशवासी पनि छन् ।

भारतबाट आएकामध्ये चैत १३ सम्म प्रदेशका ९ वटै जिल्लाका क्वारेन्टाइनमा बस्नेको संख्या आठ साय आठ मात्र रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको अभिलेख छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार चैत १७ को तथ्यांकअनुसार क्वारेन्टाइनमा बस्नेको संख्या बढेर दुई हजार ६ सय ६७ पुगेको थियो । ‘हालसम्म क्वारेन्टाइनमा बस्नेहरूको संख्या बढीमा साढे पाँच हजारको हाराहारीमा मात्रै छ,’ मन्त्रालयका कोरोना स्रोत व्यक्ति नरेन्द्रसिंह कार्कीले भने, ‘बुधबार ९ वटै जिल्लामा गरी यो संख्या एक हजार २७ मात्र छ ।’

‘यसरी हेर्दा भारतलगायत तेस्रो मुलुकबाट भित्रिएर क्वारेन्टाइनमा बसेकाहरूको संख्याबीच धेरै अन्तर छ,’ स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने, ‘अहिले सुदूरपश्चिमको सबैभन्दा ठूलो चुनौती नै यही हो ।’ हाल उपचाररत पाँच जना संक्रमितमध्ये कैलालीको लम्कीचुहाका युवक धनगढीको गौरीफन्टामा एक हजार बढीको भीडसँगै भित्रिएका र कञ्चनपुर वेदकोटका युवक ब्रह्मदेवको खल्ला मसेटीनजिक महाकाली तरेर कञ्चनपुरको गड्डाचौकी नाका हुँदै चैत ११ मा भारतबाट आएका थिए ।

‘लक्षण नदेखिनु ठूलो चुनौती’

दुबईबाट आएर चैत ८ मा घर पुगेका धनगढीका युवकलाई तेस्रो दिन ज्वरो आएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरियो । भर्ना भएको तेस्रो दिन उनलाई संक्रमण पुष्टि भएपछि सबैतिर हलचल मच्चियो । सुदूरपश्चिममा हालसम्म कोरोनाको संक्रमण पुष्टि भएका पाँचमध्ये स्वास्थ्यमा सामान्य समस्या आएर आफैं अस्पताल पुग्ने उनीमात्रै हुन् । अन्य चारमा भने कुनै लक्षण नदेखिएको उपचारमा संलग्न डा. निराजनदत्त शर्मा पौडेल बताउँछन् । ‘लक्षण नै नदेखिने तर कोरोना संक्रमण रहेको हुने कुरा सबैभन्दा चुनौती हो,’ उनले भने, ‘अहिले हामी सबैलाई यसैमा डर लागेको छ ।’

चिकित्सकहरूले संक्रमितमा लक्षण नदेखिनुलाई संक्रमण दर बढ्ने संकेतका रूपमा लिएका छन् । ‘पहिलो संक्रमितमा मात्र केही लक्षण देखिएको छ,’ सेती अस्पतालका अर्का वरिष्ठ फिजिसियन शेरबहादुर कमर भन्छन्, ‘अरू बिरामीमा लक्षण नदेखिनुले कोरोना संक्रमण दर बढ्न सक्ने अनुमान गर्न सकिन्छ ।’

धनगढीमा पहिलो संक्रमण देखिएका युवककी भाउजूमा संक्रमण देखिएपछि चैत १९ मा नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा पुगेको थियो । डा. पौडेल लक्षण नदेखिँदा संक्रमणको अवस्था लुकेको हुनसक्ने अनुमान गर्न सकिने बताउँछन् । ‘गाउँघरमा पुगेका र लक्षण नदेखिए पनि भित्रभित्रै यस्तै बिरामी हुने हुन् भने भयावह अवस्था हुनसक्छ,’ उनले चिन्ता जनाए ।

हेलचक्र्याइँ

भौतिक दूरी कायम गर्नु अहिलेको एक मात्र उत्तम उपाय भएको स्वास्थ्यकर्मीहरूले औंल्याउँदै आएका छन् । यही कारण सरकारले सबैतिर लकडाउनमा कडिकडाउ गरेको भए पनि सुदूरपश्चिमका विभिन्न ठाउँमा यसबीचमा लकडाउन उल्लंघन भएर मेलासमेत आयोजना भए । कतिपय शिविरबाटै भागे । बझाङको छबीस पाथिभेरा गाउँपालिका–३, काडेलमा चैतेदसैंका अवसरमा मनाइएको ‘बान्नी कि चैतली’ मेलामा स्थानीय जनप्रतिनिधिसहित सयौं व्यक्ति लकडाउन उल्लंघन गर्दै मेलामा सहभागी भए ।

कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको सुन्दरपुर क्वारेन्टाइनमा रहेका दुई जना छतबाट हाम फालेर भागे । उनीहरूलाई दोस्रो दिन प्रहरीले नियन्त्रणमा लियो । डडेलधुराको भागेश्वर गाउँपालिका–३, नानीगाडका घर भएका दुई जना डडेलधुरा अस्पतालको आइसोलेसन वार्डबाटै फरार भए । यस्तै, दार्चुलाको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र धामीका अनुसार सीमा क्षेत्रमा भारतीय क्वारेन्टाइनमा राखिएका १४ जनाको समूह महाकाली नदी तरेर चैत २५ को राति नेपाल आए ।

बढीभन्दा बढी परीक्षण जरुरी

स्वास्थ्य निर्देशनालयका अनुसार बुधबारसम्म सुदूरपश्चिममा ६ हजार ३७ जनाको कोरोना संक्रमणको जाँच गरिएको छ । हालसम्म थ्रोट स्वाब संकलन विधि (आरटी पीसीआर) बाट दुई हजार पाँच सय २८ जनाको परीक्षण गरिएको छ । यसमध्ये एक हजार ५१ जनाको रिपोर्ट आउन बाँकी छ । दु्रत परीक्षण विधि (आरडीटी) बाट सबै जिल्लामा गरी तीन हजार नौ जनाको परीक्षण भएकामा सबैको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमणका बिरामीको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार परीक्षणको दायरा बढाउनुको विकल्प छैन । ‘नदेखिने अवस्थामा पनि भित्रभित्रै फैलन सक्ने देखिएकाले बढीभन्दा बढीलाई विश्वसनीय जाँच गर्नैपर्छ,’ डा. पौडेल भन्छन्, ‘पहिलो बिरामीबाट उनकै परिवारका सदस्यलाई सरेको बिरामीमा पनि कुनै लक्षण थिएन ।’

हाल धनगढीमा दुई वटा पीसीआर मेसिनबाट परीक्षण भइरहेको छ । साथै नौ वटै जिल्लामा आरडीटी पनि सञ्चालनमा रहेको निर्देशनालयले जनाएको छ ।

वडालाई सक्रिय गराउनुपर्ने सुझाव

बाहिरबाट आएकाहरू अधिकांश क्वारेन्टाइनमा नबसेर गाउँघरमा खुलेआम घुमफिर गरिरहेकाले जोखिम बढेको छ । यो अवस्थामा वडा तहले घरघरबाट तथ्यांक लिएर बाहिरबाट आएकाको जाँच गर्नुपर्ने स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी बताउँछन् । ‘धेरै मान्छे क्वारेन्टाइनमा बसेनन् । अब विदेशबाट आएकालाई खोजी गर्न जिल्ला प्रशासन र सम्बन्धित वडाहरू सक्रिय हुनैपर्छ,’ उनले भने, ‘बढीभन्दा बढीको जाँच गर्ने हाम्रो प्रयास छ ।’

बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे वडा तहमा भारत र अन्य ठाउँबाट आएकाको लगत संकलन सुरु गरिएको बताउँछन् । ‘हामी ९४ वटै वडाबाट घरघरको लगत संकलन गर्दैछौ,’ उनले भने, ‘भारतबाट आएका र उनीहरूको परिवार भारतमा कति संख्यामा छन् र कहाँ छन् भन्ने अभिलेख पनि लिन्छौं ।’

दक्षिण नाका सिल

पछिल्लो समयमा सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका सबै जिल्लामा नाका पूर्ण रूपमा बन्द गरेको जनाएको छ । भारतसँग सीमा जोडिएको कैलालीको एक सय एक किलोमिटर क्षेत्रमा कडाइ गर्न ७२ ठाउँमा पोस्ट खडा गरेर पाँच सय बढी सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीको धनगढीस्थित ३४ नम्बर गणका गणपति एसपी कमल तिमिल्सिनाले बताए ।

प्रकाशित : वैशाख ५, २०७७ ०८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×