हाड मक्किने समस्या बढ्दो

वृद्ध अवस्थाका पुरुष तथा महिनावारी सुकेका सहरिया महिलाहरु बढी पीडित रहेका अध्ययनले देखाएको छ
अतुल मिश्र

काठमाडौँ — विशेषज्ञका अनुसार मुलुकमा हाड मक्किने समस्या ‘अस्टियोपोरोसिस’ बढ्दो छ । यस रोग बूढापाका र अझ खासगरी महिलाहरूमा हाड भाँच्चिने समस्याकै रूपमा देखा परिरहेको छ । 

बदलिँदो समयमा हाम्रो खानपान, जीवशैली, शारीरिक सक्रियता, घाममा बस्ने समयावधिमा आइरहेको परिवर्तनको परिणाम नै विभिन्न शारीरिकसँगै हाडको स्वास्थ्यमा समेत समस्या परिरहेको छ । महिलाहरूमा रजोनिवृत्तिपछि अस्टियोपोरोसिस हुने थप जोखिम बढी भए पनि मुलुकमा पुरुषहरूसमेत यस समस्याले ग्रस्त छन् । ‘हाड मक्किने समस्या महिलामा बढी देखिए पनि पुरुषहरूलाई समेत छ । बाजेहरू ढाड कुप्रो भएर जचाउन आउने गरेका छन्,’ हाड रोग विशेषज्ञ डा. शैलज रञ्जितकार भन्छन्, ‘बूढापाकाका नितम्ब (हिप) लगायतका हाड भाँच्चिनुको मुख्य कारण अस्टियोपोरोसिस नै हुने गरेको छ ।’

हाड जीवित तन्तु हो । हाम्रो सम्पूर्ण जीवन अवधिमा पुरानो हाडको ठाउँमा नयाँ हाड आइरहेको हुन्छ । युवावस्थामा हाड बलियो भए पनि करिब ३५ वर्षपछि हाड जति कमजोर हुन्छ त्यति नयाँ हाडबन्दैन र विस्तारै अस्टियोपोरोसिसले आफ्नो फन्दामा पार्दै लैजान्छ । यो रोग लाग्दा हाडको बाहिरी सतह पूर्ण स्वस्थ जस्तो देखिए पनि हाडको भित्री भाग भित्रभित्रै खोक्रो भइसकेको हुन्छ । यो समस्याले हामीलाई मात्र गाँजेको छैन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार अस्टियोपोरोसिस विश्वव्यापी समस्याको रूपमा मुटु रोगपछि दोस्रो स्थानमा छ ।

डब्लूएचओको एउटा अनुसन्धान अध्ययनअनुसार, विश्वभर हरेक तीनमध्ये एक महिला र आठमध्ये एक जना पुरुष अस्टियोपोरोसिसले पीडित छन् । नेपाल, भारतजस्ता मुलुकमा महिनावारी सुकेका ६० देखि ७० प्रतिशत महिलाहरूमा अस्टियोपोरोसिसको समस्यारहेको चेन्नई, भारतका इन्स्टिच्युट फर स्पेसल अर्थोपेडिक्सका निर्देशक एवं वरिष्ठ हाड रोग विशेषज्ञ डा. एल प्रकाश बताउँछन् ।

रजोनिवृत्तिपछि हाडको सघनतामा कमी आउँदा यसले मेरुदण्ड, नितम्ब, नाडी भाँच्चिएर महिलालाई अक्षम बनाउने जोखिम बढ्छ । खराब जीवनशैली, व्यायाममा कमी, घामको प्रकाशसँग न्यून सम्पर्क, प्रोसेस्ड खाद्य पदार्थको उपयोग, आहारमा सलाद, हरियो तरकारी, फलफूलको कमी, उचित रूपमा प्रोटिनको सेवन नगर्नाले अस्टियोपोरोसिसको समस्या झन् बढ्छ ।

अस्टियोपोरोसिसबाट बच्न र यसको उपचार दुवैका लागि व्यायाम अत्यन्त आवश्यक मानिन्छ । हाडको जुन ठाउँमा बारम्बार दवाव र तनाव पर्छ त्यो क्षेत्रमा क्याल्सियम र मिनरल बढी निर्माण हुन्छ, जसलेहाडलाई बलियो वनाउँछ । यसैले तौल सहन सक्ने व्यायाम, घुम्नु, दौडनु, भर्‍याङ चढ्नु आदि कार्यले हाडलाई क्षति हुनबाट जोगाउँछ ।

अध्ययनहरूमा के पाइएको छ भने, व्यायाम गर्नाले मांसपेसी तन्कने भई हाडको घनत्व बढ्छ । त्यसैगरी, दिनहुँ आधा घन्टाका लागि तौल उठाउने व्यायामसहित मध्यम गतिको शारीरिक व्यायाम स्वास्थ्यका लागि फायदाकारी हुन्छ । डा. एल प्रकाशका अनुसार, भारतीय उपमहाद्वीपमा ‘अस्टियोपोरोसिस’ बढ्नुको कारण आनुवांशिक (जेनेटिक) र जीवनशैली परिवर्तन हुनु हो । उनका अनुसार, अस्टियोपोरोसिबाट बच्न मुख्य रूपमा महिनावारी सुकेका महिलासँगै पुरुषहरूले समेत दिनहुँ औषधि खानुको सट्टा एक घन्टा घामको प्रकाशमा बिताउने, योगलगायतका व्यायाम गर्दै सक्रिय जीवन बिताउने, फलफूल, गेडागुडी, उच्च क्याल्सियम भएको खाद्य पदार्थ, प्रोटिन भएको आहार खानुपर्छ ।

सामान्यत: यसको लक्षण स्पष्ट हुँदैन । तर शरीरमा निरन्तर थकाइ, हात खुट्टामा दुखाइ, कम्मर दुखाइ, स-सानो चोटपटकमा हाड भाँच्चिनु, काम गर्ने इच्छा नहुनु, कुप्रिनु, हातले समात्ने क्षमतामा कमीजस्ता लक्षण देखिए तुरुन्त चिकित्सकीय सल्लाह लिनुपर्छ ।
यदि तपाईंलाइ पिठ्युँ जोर्नीको हाड दुखाइजस्तो समस्या देखिए हाडजोर्नी विशेषज्ञसँग जचाउनुपर्छ । यस्तो स्थितिमा बीएमडी, डेक्सा, भिटामिन डी -३ को स्तरसमेत जचाउनु फाइदाजनक हुन्छ । ‘आवश्यक पर्दा विशेषज्ञसँग उपचार गराउनुपर्छ । यसका लागि केही आधुनिक औषधि छ,’ उनी भन्छन् ।

महिनावारी सुकेको ५ देखि ७ वर्षमा महिलाहरूको हाडको घनत्वमा २० प्रतिशत कमी आउने औंल्याउँदै डा. रञ्जितकार पहिलो केही वर्षसम्म महिलाहरूमा औसत हाडको क्षति तीन प्रतिशत र त्यसपछि बर्सेनि एक प्रतिशतसम्म देखिने बताउँछन् ।

मुलुकमा अस्टियोपोरोसिसका रोगीको कुनै आधिकारिक तथ्यांक नरहेको औंल्याउँदै नेपाल प्रहरी अस्पतालका हाड रोग विशेषज्ञ डा. गोपेश ठाकुर भन्छन्, ‘पुरुषमा ५० वर्षको उमेरमा ८ देखि १० प्रतिशतलाई यो समस्या हुन सक्छ भने यही उमेरका ३० प्रतिसत महिलासम्ममा यो समस्या देखिने सम्भावना बढी हुन्छ ।’ ठाकुर महिनावारी सुकेपछि महिला र ५० वर्ष नाघेपछि पुरुषले एकपटक आफ्नो हाडको सघनताको परीक्षण गराउनुपर्नेमा जोड दिन्छन् ।

भारत, चन्डीगढस्थित पोस्ट ग्र्याजुएट इन्स्टिच्युट (पीजीआई), एन्डोक्राइनोलोजी विभागको एउटा अनुसन्धान अनुसार, अस्टियोपोरोसिस भएपछि बिरामीको मृत्युदर धेरै बढ्छ । यस अध्ययनमा दुई सय ६४ अस्टियोपोरोसिसका बिरामीलाई संलग्न गरिएको थियो । यसमा के देखियो भने ठूला अस्पतालमा आउने अस्टियोपोरोसिसका करिब ८० प्रतिशत बिरामीमा नितम्बको हाड भाँच्चिएको थियो । हाड भाँच्चिएको एक वर्षभित्र यी सबै बिरामीमध्ये २० प्रतिशत रोगीको मृत्यु भएको थियो भने ६० प्रतिशत बिरामी जीवनभरका लागि परनिर्भर भएका थिए ।

अध्ययनअनुसार, अस्टियोपोरोसिसका ८० प्रतिशत बिरामीको नितम्बको हड्डी भाँच्चिएको थियो भने सबैको घरभित्रै हाड भाँच्चिएको थियो । यस्तै, सबैजसोको हाड भाँच्चिने घटना रातिको समय बाथरुम जाने क्रममा भएको थियो । विज्ञका अनुसार, रजोनिवृत्तिले गर्दा महिलाहरूमा ‘एस्ट्रोजन’, हार्मोनको स्तरमा कमी आउँछ जसले गर्दा हाड कमजोर हुन थाल्छ । यही हार्मोनले महिलालाई मुटु रोगको समस्याबाट समेत बचाउँछ । पुरुषमा समेत एन्ड्रोजन हार्मोनको कमीले यो रोगहुन सक्छ ।

‘नेपाली महिलाहरूमा हाड कमजोर हुने समस्या धेरै देखिनुको कारण उनीहरू घरपरिवारको जिम्मेवारीसँगै आफ्नो खानपान र स्वास्थ्यको स्याहार नगर्नु हो,’ मेनोपोज सोसाइटी अफ नेपालकी अध्यक्ष एवं वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा. अचला वैद्य भन्छिन् । महिनावारी सुकेकी महिलाको हाडको स्वास्थ्य राम्रो राख्नु एउटा चुनौती जस्तै रहेको औंल्याउँदै उनी भन्छिन्, ‘हाडको स्वास्थ्यमा ध्यान नदिने भएकोले ६० वर्षपछि महिलाहरूलाई बढी हाड भाँच्चिने समस्या देखिने गरेको छ ।’ तर हाड मक्किने समस्या महिनावारी सुकेका ग्रामीण महिलाको दाँजोमा सहरिया महिलाहरूमा बढी देखिएको छ ।

‘ग्रामीण महिला घाममा बस्छन्, शारीरिक सक्रियता बढी हुन्छ । काम बढी गर्छन् । स्वस्थकर खानपान बढी भएकाले उनीहरूमा हाड मक्किने समस्या सहरिया महिलाको दाँजोमा कम देखिएको छ,’ डा. वैद्य भन्छिन् । उनका अनुसार, महिलाहरूले महिनावारी सुक्नुभन्दा अगावै आफ्नो हाडको स्वास्थ्यबारे चिकित्सकीय सल्लाह लिनु र हाडलाई बलियो बनाउने खानपान, जीवनशैली अपनाउनु फाइदाजनक हुन्छ ।

हाड मक्किने समस्याबाट जोगाउन च्याउ, मासु, ब्रोकाउली, दूध र दूधजन्य उत्पादनलगायतका हाडलाई बलियो बनाउने क्याल्सियम र प्रोटिनयुक्त खाद्य पदार्थ सेवन गर्नुपर्छ । अत्यधिक मदिरा सेवन र धूमपानले समेत हाडलाई कमजोर बनाउँछ । विज्ञका अनुसार, मेडिटेरेनियन मुलुकको आहार हाडलाई बलियो बनाउन उपयुक्त मानिन्छ । यसअन्तर्गत फल, सागसब्जी, अन्न, आलु, जैतुनको तेल, माछा, कम मात्रामा सन्तृप्त बोसो, दुग्ध उत्पादन र रातो मासु आदि पर्छन् । यो खानाले मांसपेसी र हाड बलियो बनाउन प्रभावकारी मानिन्छ । यस्ता आहारले अस्टियोस्पोरोसिसको जोखिम कम गर्नुको साथै हार्मोनको सन्तुलन कायम राख्नसमेत सघाउँछ ।

सनस्क्रिन हानिकारक
चर्को घामबाट छालालाई कालो हुनबााट जोगाउन भन्दै धेरैजसो महिला र अचेल त पुरुषहरूसमेत दिनहुँ सनस्क्रिन लोसन लगाउने गर्छन् । तर सनस्क्रिन लोसनले गर्दा हाम्रो हाडको स्वास्थ्य नराम्ररी प्रभावित भइरहेको हुन्छ । अस्टियोपोरोसिस भएका महिला वा पुरुषले सनस्क्रिन लोसन लगाउनु हुँदैन ।

उसो त हाडको स्वास्थ्यका लागि जो सुकैले पनि सनस्क्रिन लगाउनु राम्रो मानिँदैन । ‘यसको उपयोग कहिले पनि गर्नु हुँदैन,’ डा. एल प्रकाशका अनुसार, सन स्क्रिन लोसन लगाउँदा घामको प्रकाशबाट प्राप्त हुने भिटामिन डीमध्ये करिब ९५ प्रतिशत शरीरले पाउनबाट रोकिन्छ । घामबाट जोगिन उनले छाताको उपयोग, सुतीको ओढ्नेले अनुहार छोप्नु, प्रशस्त तरल पदार्थको सेवन लगायतका सनस्क्रिनबाहेकको वैकल्पिक उपाय अपनाउनेसल्लाह दिन्छन् ।

एक स्वस्थ व्यक्तिलाई दिनहुँ करिब दुई हजार युनिट भिटामिन ‘डी’ आवश्यक हुन्छ । यो मात्रा दिनहुँ केही समय घाममा बस्नाले र दुग्ध उत्पादन, फलफूल, सागसब्जी खाँदा पूरा हुन्छ । सनस्क्रिन लगाएर घाममा निस्किनाले यसले घामसँगै भिटामिन ‘डी’ लाई समेत शरीरभित्र छिर्नबाट रोक्छ । भिटामिन ‘डी’ को कमीले मुटुको समस्या, छातीको संक्रमण, मधुमेहको खतरा बढ्छ । यसले शरीरमा मेटाबोलिक प्रणाली प्रभावित भई पछि अस्टियोपोरोसिस हुनुको कारणसमेत बन्छ ।

परीक्षण
डेक्सा (डीईएक्सए) स्क्यान- ‘डुवेल इनर्जी एक्स-रे अब्सार्पटिओमेट्री’ विशेष प्रकारको एक्स-रे हो । यो एक्स-रेको माध्यमले हाडको घनत्वलाई नापिन्छ ।

अल्ट्रासाउन्ड- अल्ट्रासाउन्डले सामान्यत: खुट्टाको कुर्कुच्चाको जाँच गरिन्छ । तर यसले अस्टियोपोरोसिसको प्रारम्भिक लक्षण थाहा पाउन सकिन्छ ।

क्वान्टिटेटिभ कम्प्युटेड टोमोग्राफी- यो चिकित्सा प्रविधिअन्तर्गत सामान्य एक्स-रे कम्प्युटेड टोमोग्राफी (सीटी) स्क्यानरको उपयोग गरेर हाडको घनत्व नापिन्छ ।

हाड जीवित तन्तुको कठोर द्रव्यमान हो । यसले हाम्रो शरीरलाई टिकाएर सुरक्षित राख्नुको साथै आन्तरिक अंगलाई चोटपटक आदिबाट जोगाउँछ । हाडले गर्दा नै हाम्रो शरीरले आकार पाउँछ । यदि हाम्रो संरचना बिनाहाड कुनै जोर्नीले हुँदो हो त हामी एउटा ढुंगाजस्तै भएर कुनै गतिविधि गर्न सक्ने थिएनौं ।

वयस्कमा हाडको नवीकरणको एउटा निरन्तर प्रक्रिया चलिरहन्छ । जसमा हाडको सानो मात्रा टुट्छ (बोन रिजोर्पसन) र नयाँ हाडद्वारा प्रतिस्थापित हुन्छ । हाडभित्र बोनम्यारोले रक्तकोषहरू निर्माण गर्छ ।

हाम्रो शरीरका लागि हाड खनिजको एउटा आवश्यक भण्डार हो । हाडमा ९९ प्रतिशत क्याल्सियम हुन्छ र आवश्यकताअनुसार रगतमा घुलेर अंगहरूसम्म पुग्छ । क्याल्सियम फोस्फेट र क्याल्सियम कार्बोनेट, फ्लोराइड र क्लोराइडजस्ता खनिजलाई निरन्तर शरीरको अन्य भागबाट हाडमा स्थानान्तरित गरिन्छ र हार्मोन, विशेष हाडको कोष, तौल थेग्ने गतिविधिको प्रभावमा पुन: फर्काइन्छ । हाम्रो शरीरमा २ सय ६ वटा हाड हुन्छन् । हाम्रो हाडमा भएको खनिजको मात्रा यसको कडापनका लागि धेरै हदसम्म जिम्मेवार हुन्छ ।

कारण
  • शरीरमा न्यून बडी मास इन्डेक्स (बीएमआई) हुनु
  • लामो समयसम्म उच्च मात्रामा ‘कोर्टिकोस्टेरायड’ उपयोग गर्नु
  • बढी मात्रामा मदिरा सेवन वा धूमपान
  • अस्टियोपोरोसिसको पारिवारिक इतिहास
  • सुन्निनु, हार्मोनसँग सम्बन्धित परिस्थिति
  • मदिरा र धूमपानको अधिक प्रयोग

प्रकाशित : कार्तिक ९, २०७६ ०९:००
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘मदिरा सेवन नगरे पनि कलेजोमा बोसो जम्न सक्छ’ : डा.राहुल पाठक

कान्तिपुर संवाददाता

काठमाडौँ — डाक्टर साहेब म मदिरा सेवन गर्दिनँ । अनि मलाई कलेजोमा बोसो जम्ने समस्या (फ्याटी लिभर) कसरी हुन्छ र ?  जटिल अवस्थामा उपचारको लागि आउने धेरैजसो बिरामीले सोध्ने प्रश्न हो यो । उहाँहरू आफू मदिरा सेवन नगर्ने भएकाले कलेजोमा कुनै किसिमको समस्या नहुनेमा अलि बढी नै विश्वस्त देखिनुहुन्छ ।

यसमा मदिरा सेवन नगर्ने व्यक्तिमा कलेजोको समस्या नहुने सामाजिक विश्वासले समेत भरथेग गरिरहेको छ ।

हाम्रो जीवनशैलीमा आएका थुप्रै परिवर्तनले गर्दा मोटोपन र मधुमेहको समस्या सामान्य भएको छ ।

जसले गर्दा ‘नन अल्कोहलिक फ्याटी लिभिर’ अर्थात् गैरमदिराजन्यको कलेजोमा बोसो जम्ने रोगको समस्या उत्पन्न हुन्छ ।

कलेजोमा बोसो जम्ने समस्या अत्यधिक मदिरा सेवन नगर्ने व्यक्तिमा देखियो भने उक्त समस्यालार्ई ‘नन अल्कोहलिक फ्याटी लिभिर’ भनिन्छ ।

यो समस्या अत्यधिक मदिरा सेवन नगर्ने वा अत्यन्त कम मात्रामा मदिरा सेवन गर्ने व्यक्तिमा हुन सक्छ । यसको विस्तार पनि समयमा उपचार नगरेर मदिराले कलेजो बिगारेजस्तै हुन्छ ।

शरीरमा बढी बोसो उत्पादन हुने वा आवश्यक मात्रामा खपत गर्न नसक्ने व्यक्तिको कलेजोमा बोसो जम्ने समस्या देखिन्छ । यस्तो स्थितिमा अतिरिक्त बोसो कलेजोका कोषिकामा जम्मा हुन्छन् । त्यो विस्तारै कलेजोको सिरोसिसमा परिणत हुन्छ । यसको जटिलता पनि उस्तै हुन्छ । एकपटक सिरोसिस भएपछि कुनै प्रभावकारी उपचार सम्भव छैन । यसैले सिरोसिस सुरु हुनुभन्दा अघि नै फ्याटी लिभरको पहिचान र उपचार गर्नु महत्त्वपूर्ण छ ।

नन अल्कोहलिक स्टटोहेपाटाइटिस कलेजोको सुन्नाइ र कलेजोमा बोसो जम्नाले हुने क्षति हो । यो कलेजो रोग हो । पश्चिमा जगत्मा कलेजो प्रत्यारोपण गर्ने एउटा प्रमुख कारण गैरमदिराजन्य कलेजोमा बोसो जम्ने रोग हो । कलेजोमा बोसो जम्ने रोगको समयमै जाँच र उपचार नभए विस्तारै कलेजो कडा हुँदै जान्छ । अझ लामो समयसम्म यसको रोकथाम भएन भने यो ‘सिरोसिस’ र कलेजोको क्यान्सरमा परिणत हुने सम्भावनासमेत हुन्छ ।

निरन्तर बोसो जम्दा कलेजोको आकारसमेत ठूलो हुँदै जान्छ । यसको कोषिकाहरूमा कडापनसमेत बढ्दै जान्छ । हाल विश्वभरि नै यो रोगको प्रकोप बढ्दै गएको छ । आरामदायी जीवनशैली, पश्चिमा शैलीको खानपानले गर्दा यो रोगले महामारीको रूप लिन सक्ने आंकलनसमेतगरिँदै छ ।

जंकफुड, अत्यधिक बोसोयुक्त खाना, मासु, सोडा, कोल्ड ड्रिंक र मदिरा सेवन गर्नेहरूमा कलेजोमा बोसो जम्ने समस्या बढी देखिन्छ । हालको बढ्दो सहरीकरणले गर्दा हाम्रो जीवनशैलीमा धेरै परिवर्तन आएको छ । खानपिनले गर्दाधेरैजसो व्यक्तिमा बढी तौलको समस्या देखियो, मधुमेहको प्रकोपमा वृद्घि भयो । शरीरमा बोसोको मात्रासमेत बढ्दै गयो । यही तीनवटा अवस्था नै कलेजोमा बोसो जम्ने प्रमुख कारण हुन् ।

एउटा स्वस्थ कलेजोमा अलिकति पनि बोसो जमेको हुनुहुन्न । नन अल्कोहलिक फ्याटी लिभर रोगको मुख्य जटिलता सिरोसिस हो । जो कलेजोमा ढिलो गरी पर्ने चिनो (फाइब्रोसिस) हो । सिरोसिस कलेजोमा चोटको प्रक्रियाले गर्दा हुन्छ । यसले कलेजोको सुन्नाइलाई रोक्ने प्रयास गर्छ र यसको लागि यो स्कारिङ क्षेत्र (फाइब्रोसिस) लाई उत्पन्न गर्छ । निरन्तर सुन्नाइसँग फाइब्रोसिस बढीभन्दा बढी कलेजोको तन्तु ग्रहण गर्नको लागि फैलिन्छ ।

यो रोगको मुख्य कारणमा मोटोपना, मधुमेह, हाइपरलिपिडिमिया, आनुवांशिक कारण, कुनै विशेष औषधिको नकारात्मक प्रभावसमेत हुन सक्छ । धेरैजसो व्यक्तिमा यो रोगको कुनै लक्षणसमेत देखिँदैन । धेरैजसो समय कुनै घटना विशेषले पेटको अल्ट्रासाउन्ड गराउँदा यो समस्याबारे थाहा हुन्छ । केही व्यक्तिलार्ई भने यसको लक्षणअन्तर्गत अस्वस्थताको अनुभूति, थकाइ, कमजोरी, वाकवाकी, माथिल्लो दाहिने पेटमा बेचैनी समस्यासमेत देखिने गर्छ ।

यो समस्याको पहिचानअन्तर्गत चिकित्सकले बिरामीको रुटिन, रगत परीक्षण गराउँछन् । यसबाहेक अतिरिक्त परीक्षण हरूसमेत आवश्यक पर्न सक्छ । यसअन्तर्गत अल्ट्रासाउन्ड परीक्षण, सीटी स्क्यान, अपर ग्यास्ट्रो इन्टेस्टाइनल इन्डेस्कोपी, फाइव्रोस्क्यान मात्र नभई कलेजोको बायोप्सीसमेत गर्नुपर्ने हुन सक्छ ।

कलेजोमा बोसो जम्ने रोगको सटिक कारण अझैसम्म ज्ञात छैन । यस्तै, यसको कुनै प्रत्यक्ष उपचार पनि छैन । यसको अप्रत्यक्ष उपचार गरिन्छ । जस्तै, तौलमा कमी र निरन्तर व्यायामको सहयोगले मोटोपना घटाइन्छ । कलेजोमा बोसो जम्ने समस्या देखिएको करिब ७० प्रतिशत व्यक्तिमा मोटोपना देखिएको छ । अझ कलेजोमा बोसो जम्ने समस्या भएका करिब ७५ प्रतिशत व्यक्तिमा टाइप-२ मधुमेह देखिएको छ । कलेजोमा बोसो जमेका करिब २० देखि ८० प्रतिशत व्यक्तिको रगतमा उच्च लिपिड (बोसो) समेत देखिएको छ ।

कलेजोमा बोसो जमेकाहरूमा इन्सुलिन प्रतिरोधी (रेसिस्टेन्ट) अवस्थासमेत देखिएको छ । यो अवस्थामा शरीरले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन । तर यो आवश्यक छैन की त्यो व्यक्तिलाई मधुमेह नै भएको होस् । यो रोगको सम्भावित उपचार दीर्घकालीन, जीवनपर्यन्त पनि जारी रहन्छ । व्यक्ति विशेषमा उपचार निर्धारण गर्न कठिनसमेत हुन्छ ।

यो रोगबाट बाँच्न सकारात्मक जीवनशैली, दैनिक व्यायाम, स्वस्थकर खानपान र मुख्य रूपमा आफ्नो सही तौल कायम राख्नु आवश्यक छ । तर यो रोग विकसित नहोस्भनेर केही वर्षको अन्तरालमा अल्ट्रासाउन्ड परीक्षण एवं लिभर फङ्गसन टेस्ट गराउनु सहयोगी हुन सक्छ ।

यसको उपचारमा हाल केही नयाँ औषधिसमेत थपिएको छ । यसअन्तर्गत भिटामिन ‘ई’ र पायोग्लिटा जोन (मधुमेहको औषधि) ले केही मात्रामा सहयोग गरे तापनि यसबारे अझै विश्वसनीय प्रमाण खोज्ने प्रक्रिया जारी छ ।

हालसम्म कलेजोमा बोसो जम्ने समस्याको निवारणका लागि आफ्नो तौलमा उपयुक्त कमी ल्याउनुको साथै नियमित व्यायाम बाहेक अन्य उपाय छैन । तर सुखद कुरा के छ भने कलेजोमा बोसो जमेका धेरै व्यक्तिमा अन्य खतरनाक समस्या विकसित हुँदैन । तथापि केही व्यक्तिमा कलेजोमा बोसो जम्ने रोग समयसँगै झन् नराम्रो अवस्थामा पनि पुग्छ ।

पाठक त्रिवि शिक्षण अस्पतालका ग्यास्ट्रोइन्टरोलोजिस्ट

प्रकाशित : कार्तिक ९, २०७६ ०८:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×