कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेंगु संक्रमण अझै एक महिना

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो समय मुलुकमा डेंगुका बिरामीको संख्यामा कमी आउन थाले पनि संक्रमण भने जारी रहेको छ । एडिस एजेप्टी र एडिस एल्बोपिक्टस जातको लामखुट्टेले सार्ने डेंगु संक्रमण अझै एक महिनासम्म देखिन सक्ने विज्ञले जनाएका छन् । विज्ञहरूका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्ष मुलुकभर नै डेंगु संक्रमण फैलियो । जाडोयाममा घटे पनि पुन:आगामी मनसुन पछाडि बढ्न सक्ने विज्ञहरूले औंल्याएका छन् । 

डेंगु संक्रमण अझै एक महिना

‘पछिल्ला दिनमा बिरामीको संख्यामा कमी आए पनि निरन्तर रूपमा बिरामी आउने क्रम जारी छ,’ शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुन भन्छन् । टेकु अस्पतालमा हाल दिनहुँ ७०/८० जना डेंगुका बिरामी आउने गरेको जानकारी उनले दिए । डेंगुको संक्रमण जारी रहे पनि राजधानीलगायत मुलुकका अन्य ठाउँमा बिरामीको संख्यामा कमी आएको छ । ‘डेंगु संक्रमण रोकिएको त छैन तर पहिलाभन्दा कम भएको छ’, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी), किट जन्य रोग नियन्त्रण शाखा प्रमुख डा.प्रकाश शाह भन्छन्, ‘डेंगुका बिरामी अस्पताल आउने क्रम जारी छ ।’


विज्ञहरूको आँकलनअनुसार हाल डेंगुको संक्रमण पहिलेको दाँजोमा करिब ५० प्रतिशत कम भएको छ । पछिल्ला दिनमा डेंगुले मुलुकको कुनै पनि भागमा मृत्यु भएको रिपोर्ट प्राप्त नभएको दाबी सरकारको छ । यस पटक डेंगुको संक्रमणबाट ६ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ ।


विज्ञका अनुसार कात्तिक महिनाभर डेंगुको बिरामी देखिने क्रम जारी रहनेछ । यसपछि पनि आगामी मनसुनसम्म फाट्टफुट्ट रूपमा यस्ता बिरामी देखिने छन् । ‘आगामी वर्षको मनसुन हुनुभन्दा अगाडिसम्म डेंगु प्रकोप देखिन सक्ने सम्भावना छ,’ डा.शाह भन्छन्, ‘यसपटक त अस्वाभाविक रूपमा मनसुन अगावैदेखि डेंगुको प्रकोप देखिएको हो ।’ यसपटक मुलुकमा प्रकोपकै रूपमा डेंगु देखिएकाले साधारण ज्वरो आउँदा ज्वरो/दुखाइ कम गर्न सिटामोल उपयोग गर्न र एस्प्रिन, ब्रुफेनजस्तो औषधि सेवन नगर्न डा.पुन आग्रह गर्छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अनुसार डेंगुका लागि कुनै विशिष्ट उपचार छैन । तर छिटो रोग पत्ता लगाएर उचित चिकित्सकीय हेरचाहले मृत्युदर १ प्रतिशतभन्दा कम हुन्छ ।


डा. पुनका अनुसार डेंगुको लक्षणसहित सामान्य ज्वरो भए घरमै प्रशस्त पोसिलो झोल पदार्थ सेवन गरी आराम गर्न सकिन्छ । तर कडा र फरक प्रकारको ज्वरो आउँदा अस्पतालमा जचाएर चिकित्सकीय सल्लाह लिनुपर्छ । संख्यात्मक रूपमा कम भए पनि डेंगु संक्रमण जारी रहेकाले बच्चा, बूढापाका, दीर्घरोगी, गर्भवती, पेप्टिक अल्सर, मोटोपना भएकालाई ज्वरो देखिए विशेष ध्यान दिनुपर्नेसमेत विशेषज्ञहरूले औंल्याएका छन् ।


विज्ञहरूले लामखुट्टेको टोकाइबाट बच्ने र डेंगु सार्ने लामखुट्टेलाई खोजेर मास्ने अभियान नै रोग नियन्त्रणको सर्वोत्तम उपाय रहेको बताउँदै आएका छन् । डेंगु सार्ने एउटा लामखुट्टेले १०० देखि ३०० वटा फुल पार्छ । यी फुल ७ देखि ११ दिनमा वयस्क हुन्छ । यस्ता फुल एक वर्षभन्दा बढी समयसम्म उपयुक्त वातावरण पाए पुन:लामखुट्टेमा परिणत हुन सक्छन् । यसको एउटा खतरनाक पक्ष के हो भने, संक्रमित लामखुट्टेले पारेको फुलबाट निस्किने सबै लामखुट्टेले रोग सार्छन् ।

प्रकाशित : कार्तिक २, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?