कमसल खानाले कलिलैमा मोटोपना

अतुल मिश्र

काठमाडौँ — मुलुकमा ५ देखि १९ वर्षका बालबालिका र किशोरकिशोरीमा हुने मोटोपना पछिल्ला ४० वर्षमा २९ गुणाले बढेको छ । यो समस्या कमसल खानाले गर्दा बढेको हो । ‘विश्वका बालबालिकाको अवस्था २०१९– बालबालिका, खाना र पोषण’ सम्बन्धी युनिसेफले मंगलबार जारी गरेको प्रतिवेदनमा कमसल खानाले विश्वभरकै बालबालिकाको स्वास्थ्यलाई बिगारिरहेको निष्कर्ष छ । 

नेपालमा ५ देखि १९ वर्ष उमेर समूहका १३ जनामध्ये १ जनामा मोटोपनाको समस्या छ । प्रतिवेदनअनुसार बढी तौल र मोटोपना आर्थिक अवस्था र घरको खाद्य सुरक्षासँगै बढ्ने गर्दछ । सम्पन्न र सहरियाहरूमा मोटोपना हुने सम्भावना बढी रहेको छ । नेपालमा करिब ३६ हजार बालबालिका मोटापनाको समस्या छ ।

एकातर्फ मुलुकमा मोटोपना बढ्दै गएको छ भने अर्कोतर्फ अझै ११ लाख बालबालिका कुपोषणले गर्दा पुड्का छन् । अझ करिब २ लाख ९० हजार बालबालिका ख्याउटे हुनुका साथै १३ लाख बालबालिकामा भिटामिन ‘ए’, आइरनजस्ता आवश्यक पोषक तत्त्वको कमी रहेको प्रतिवेदनले औंल्याएको छ ।

मुलुकमा ६ महिनादेखि २ वर्षसम्मका करिब ४५ प्रतिशत बालबालिकाले मात्र ८ खालका खाना समूहमध्ये कम्तीमा ५ समूहको खाना खाइरहेको प्रतिवेदनमा छ । यो उमेर समूहका धेरैजसो बालबालिकाले अन्न र गेडागुडी खाने गरेका छन् । अण्डा वा माछा वा मासु खानेको संख्या एक तिहाइ मात्र छ । मुलुकका ३८ प्रतिशत बालबालिकाले ६ महिनादेखि २ वर्षको समयमा कुनै फलफूल वा तरकारी खान पाउँदैनन् ।

नेपालमा बालबालिकाको खानपानबारे गरिएको एउटा अध्ययनसमेत उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । यसअनुसार २ वर्षमुनिका बालबालिकाले औसत रूपमा एक चौथाइ बिस्कुट, तयारी चाउचाउ र पेय पदार्थबाट मात्र प्राप्त गरिरहेका छन् । यसले गर्दा आवश्यक भिटामिन र खनिज पदार्थको सेवनमा कमी भएको छ । यस्ता खाजा र पेय पदार्थ खाने बालबालिका आफ्नो साथीभन्दा सानो रहेको समेत अध्ययनमा उल्लेख छ । प्रतिवेदनअनुसार हाल न्यून उत्पादन मूल्य, लामो समयसम्म उपयोग गर्न सकिने र उच्च खुद्रा मूल्यका कारण ‘अल्ट्रा प्रोसेस्ड’, खाना अत्यधिक लाभदायक व्यवसाय भएको छ । यसले गर्दा यस्तो खाद्य पदार्थ सर्वव्यापी भएको छ । यस्ता खाद्य पदार्थ सब्जी, फलफूल, माछाको विकल्प नभएको समेत अध्ययनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार अल्ट्रा प्रोसेस्ड खाद्य पदार्थ चिल्लो, चिनी र नुन बढी भएका तर फाइवर र सूक्ष्म पोषक तत्त्व कम भएका बर्गर, नुगट, कुकिज र मीठो पेय पदार्थ जस्ता हुन् । तर यस्ता अल्ट्रा प्रोसेस्ड खाद्य पदार्थलाई त्याग्न सजिलो छैन । यस्ता खाद्य पदार्थ मध्यम खपतका लागि डिजाइन गरिएको होइन ।

बोसो, चिनी, नुन र अन्य स्वाद उच्च स्तरको भएका थुप्रै अल्ट्रा प्रोसेस्ड खाद्य पदार्थ स्वादिष्ट हुन्छन् । बजारमा प्रशस्त उपलब्ध यस्ता खाद्य पदार्थले ताजा र न्यूनतम प्रशोधित खाद्य पदार्थलाई विस्थापित गरिरहेका छन् । हुर्कने क्रममा रहेका बालबालिकाका लागि अस्वास्थ्यकर खानेकुराको उपयोग चिन्ताजनक रहेको औंल्याउँदै प्रतिवेदनमा अनुपयुक्त बजारीकरण र विज्ञापनले सहरसँगै ग्रामीण क्षेत्रमा समेत तयारी खानेकुरा र अत्यधिक गुलियो पेय पदार्थलगायतका प्रशोधित खानेकुराको खपत बढिरहेको उल्लेख छ ।

विश्वभर नै बालबालिका, किशोरकिशोरीमा मोटोपना बढिरहेको औंल्याउँदै प्रतिवेदनमा सन् २००० देखि २०१६ सम्ममा ५ देखि १९ वर्ष उमेरका बालबालिका, किशोरकिशोरीमा यो अनुपात दोब्बर बढेको उल्लेख छ । हाल ५ देखि १९ वर्ष उमेर समूहका ५ मध्ये १ बालबालिका, किशोरकिशोरीमा मोटोपना देखिएको छ । सन् १९७५ को दाँजोमा यो उमेर समूहका बालिकामा १० गुणा र बालकमा १२ गुणा मोटोपना देखिएको हो ।

विश्वमा हाल ५ वर्षमुनिका ३ जनामध्ये १ बालबालिका धेरै कम वा अधिक पोषणको सिकार भएका छन । अझ ६ महिनादेखि २ वर्ष उमेर समूहका ३ मध्ये दुई बालबालिकालाई शरीर र मस्तिष्कको विकासका लागि चाहिने उपयुक्त खाना खुवाइँदैन । यसले गर्दा उनीहरूको मस्तिष्क विकास, सिकाइ र प्रतिरक्षा प्रणालीमा नकारात्मक प्रभाव पार्छ । उनीहरूमा संक्रमण बढ्नुका साथै कतिपय अवस्थामा मृत्युसमेत हुने जोखिम रहन्छ ।

रिपोर्ट भन्छ –

नेपालमा करिब ३६ हजार बालबालिकामा मोटोपना
११ लाख बालबालिकाकुपोषणले गर्दा पुड्का
करिब २ लाख ९० हजारबालबालिका ख्याउटे
१३ लाखमा भिटामिन 'ए’, आइरनलगायत आवश्यक पोषक तत्त्वको कमी
३८ प्रतिशत बालबालिकाले६ महिनादेखि २ वर्षबीच फलफूलवा तरकारी खान पाउँदैनन्
प्याकेटका तयारी खानेकुराकोबढ्दो प्रयोगले नकारात्मक असर

प्रकाशित : आश्विन २९, २०७६ ०७:३२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

अलराउन्डरको अप्रत्याशित निर्णय

कुशल तिमल्सिना

काठमाडौँ — नेपाली खेलकुद वृत्त मंगलबार एकाएक तरंगित बन्यो, जब राष्ट्रिय क्रिकेट टोलीका अहिलेसम्मकै सफल कप्तान पारस खड्काले पदबाट राजीनामा घोषणा गरे । एक दशक नेपाली क्रिकेटको ‘स्वर्णयुग’ लाई नेतृत्व गरेका ३२ वर्षे अलराउन्डर पारसको यो निर्णय धेरैका लागि अप्रत्याशित थियो । १० वर्षमा नेपाली क्रिकेटले हासिल गरेको विरासतका नायक हुन् पारस ।

सन् २००९ को एसीसी ट्वान्टी–२० कपमा विनोद दासलाई प्रतिस्थापन गरी पारसलाई कप्तान बनाइयो । त्यस प्रतियोगितामा नेपालले समूह चरण पार गर्न सकेन । तर उनले कप्तानी सम्हालेको दोस्रो वर्ष सन् २०१० मा नेपालले विश्व क्रिकेट लिग डिभिजन–५ को उपाधि चुम्यो, जुन आईसीसीको आयोजनामा भएको पहिलो उपाधि थियो । २०११ मा काठमाडौंमै भएको एसीसी ट्वान्टी–२० को सेमिफाइनलमा पुगेपछि ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताका लागि नेपालको ढोका खुल्यो ।

सन् २०१२ मा डिभिजन–४ को उपाधि जितेको नेपाल त्यही वर्ष ट्वान्टी–२० विश्वकप छनोटमा सहभागी १६ टोलीमध्ये सातौं स्थानमा उक्लिन सफल भयो । सन् २०१३ नेपाली क्रिकेटका लागि सबैभन्दा सफल वर्ष रह्यो । त्यसवर्ष नेपालले बर्मुडामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–३ को उपाधि मात्र जितेन, एसीसी ट्वान्टी–२० कपको फाइनलमा पुग्यो । नामिबियामा भएको ट्वान्टी–२० विश्वकप छनोटमा तेस्रो हुँदै ऐतिहासिक रूपमा विश्वकपको यात्रा निश्चित गर्‍यो ।

२०१४ मा बंगलादेशमा भएको ट्वान्टी–२० विश्वकपमा नेपालले अफगानिस्तान र हङकङलाई पराजित गरेर सानदार प्रदर्शन गर्‍यो । तर घरेलु टोलीसँगको हारले समूह चरणबाटै बाहिरिनुपर्‍यो ।विश्वकप प्रतियोगितासम्मको यो यात्रा नै नेपाली क्रिकेटको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो ।

सन् २०१४ मै नेपाल न्युजिल्यान्डमा आयोजित एकदिवसीय विश्वकप छनोटमा सहभागी १० टोलीमध्ये नवौं भयो । फलस्वरूप डिभिजन–२ बाट रेलिगेसनमा पर्‍यो । त्यही वर्ष डिभिजन–३ मा सफलता हासिल गरी पुनः दोस्रो डिभिजनमा उक्लियो । सन् २०१५ मा नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा स्थान बनायो । यस प्रतियोगितामा सहभागिता निश्चित भएपछि नेपालले स्वतः डिभिजन–१ को मान्यता पायो ।

सन् २०१७ सम्म चलेको यस प्रतियोगितामा नेपालले ७ टोलीसँग ‘होम एन्ड अवे’का आधारमा १४ खेल खेल्यो । यस प्रतियोगितामा असफल भएपछि पुनः रेलिगेसनमा परेको थियो । २०१७ मै डिभिजन–२ को फाइनलमा पुगेर नेपालले डिभिजन–१ को यात्रा तय गर्‍यो भने एकदिवसीय विश्वकप छनोटमा पनि स्थान बनायो । सन् २०१८ मा जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमार्फत नेपालले एकदिवसीयमा मान्यता पाएको हो । यो पनि नेपाली क्रिकेटको अर्को ऐतिहासिक सफलता हो ।

२०१९ मा ट्वान्टी–२० विश्वकपको एसियाली छनोटमा सिंगापुरसँग पराजित भएपछि ग्लोबल छनोटमा पुग्न असफल भएको हो । यी सबै उतारचढावमा नेपाली क्रिकेट टोलीको नेतृत्व पारसले गरे । ट्वान्टी–२० विश्वकप खेल्न पाउनु र एकदिवसीय मान्यता पाउनुलाई करियरको सबैभन्दा ठूलो सफलता ठान्छन् उनी । भन्छन्, ‘यो यात्रामा मेरा समकालीन खेलाडी र प्रशिक्षकको सहयोग महत्त्वपूर्ण रह्यो । तीन विदेशी– रोय डायस, पुबुदु दासानायके र उमेश पटवाल तथा स्थानीय जगत टमाटा गुरुले कप्तानका रूपमा मलाई धेरै सहयोग गर्नुभयो । खेलाडीहरूको साथ पनि उस्तै रह्यो । प्रस्ट रूपमा जसरी भए पनि क्रिकेटलाई माथि पुर्‍याउने हाम्रो लक्ष्य थियो र सबैको लक्ष्यलाई एकाकार गरेरै यहाँ आइपुगेका हौं ।’

विश्व जगत्मा नेपाली क्रिकेटको मानकलाई उचो बनाउने अभियानको नेतृत्व गरेका पारसलाई कप्तानीबाट राजीनामा दिनुपर्ने दबाब तत्कालका लागि थिएन । नेपाल क्रिकेट संघ (क्यान) को हालै निर्वाचित नयाँ कार्यसमितिले पनि यसबारे निर्णय गरेको होइन । मैदानभित्र उनको रणनीति र व्यक्तिगत प्रदर्शन पनि खस्केको थिएन, बरु अझै राम्रो भइरहेको थियो । ‘म मैदानभित्र एउटा खेल हारेको दुःखमा वा एउटा खेल जितेको अवस्थामा पद छाड्ने प्रवृत्तिको मान्छे होइन । र, यो निर्णय रातारात गरिएको पनि होइन,’ मंगलबार पत्रकार सम्मेलनमा पारसले भने, ‘क्यानमा नयाँ नेतृत्व आएको छ, आईसीसीले निलम्बन फुकुवा गरेको छ र अब सबै मिलेर नयाँ सुरुआत गर्नुछ । अबका दिनमा नयाँ चुनौती स्वीकार गर्दै सबैले आआफ्नो जिम्मेवारी पूरा गर्नेछन् भन्ने आशा गर्छु ।’

१० वर्ष नेपाली क्रिकेटलाई सम्भव भएजति सबै उपलब्धि दिलाएका पारसले आफूले कप्तानी छाडे पनि क्रिकेटबाट टाढा हुन नसक्ने प्रस्ट पारे । संघको छनोटमा परेको अवस्थामा राष्ट्रका लागि सदैव तयार रहेको उनले बताए । ‘खेलाडीका रूपमा आफूलाई निरन्तरता दिन चाहन्छु, तर अहिले केही समय आराम गर्नेछु,’ उनले भने, ‘कप्तान मात्र होइन, मेन्टर, सेलेक्टर र खेलाडीका रूपमा बिताएँ । अब म खेल्छु/खेल्दिनँ भन्ने कुरा सेलेक्सन कमिटी र प्रशिक्षकको निर्णयमा भर पर्छ । राष्ट्रिय टिम हुँदै नेतृत्व गर्ने अवसर पनि पाएँ । यो एउटा अविश्वसनीय यात्रा थियो र यसको अन्त्य कुनै दिन हुनु नै थियो ।’

प्रकाशित : आश्विन २९, २०७६ ०७:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT