कसरी नाप्ने रक्तचाप ?

कान्तिपुर संवाददाता

काठमाडौँ — आजकाल हरेक परिवारका कुनै न कुनै सदस्यलाई रक्तचापको समस्या देखिनु सामान्य नै बनेको छ । यस्तो अवस्थामा नियमित रूपमा रक्तचाप नाप्नु अत्यावश्यक हुन्छ । त्यसका साथै स्वास्थ्य अवस्था सामान्य रहेका मानिसले समेत आफ्नो रक्तचापबारे नियमित जानकारी लिनुपर्छ । 

रक्तचाप नाप्न हरेकपटक स्वास्थ्य निकाय वा प्रशिक्षित स्वास्थ्यकर्मी नजिक जानु समय बर्बादीका साथै आर्थिक बोझसमेत बढ्छ । यसैले परिवारका केही सदस्यले रक्तचाप नाप्ने प्रक्रियाबारे वैज्ञानिक रूपले सिके परिवार मात्र नभई छरछिमेकका लागि समेत सहयोगी हुन्छ । बिरामीले स्वयं आफ्नो रक्तचापसमेत नाप्न सक्छन् भने मामुलीजस्तै देखिने प्रक्रियाले कसैको ज्यानसमेत जोगाउन सक्छन् ।

उसो सामान्य रक्तचाप कसलाई भन्ने त ? १२०/८० भन्दा कम रक्तचाप हुनु राम्रो मानिन्छ । यस्ते प्रि–हाइपरटेन्सन भने १२०–१३९ एमएम मर्करी सिस्टोलिक र ८०–८९ एमएम मर्करी डायस्टोलिकभन्दा कमलाई मानिन्छ ।

उच्च रक्तचाप अर्थात् हाइपरटेन्सनको पहिलो चरण १४०–१५९ एमएम मर्करी सिस्टोलिक र ९०–९९ एमएम मर्करी डायस्टोलिकलाई मानिन्छ । यस्तै हाइपरटेन्सनको दोस्रो चरण १६० एमएम मर्करी सिस्टोलिक र १०० एमएम मर्करी डायस्टोलिकभन्दा बढीलाई भनिन्छ ।

यी त भए रक्तचापको सामान्य वर्गीकरण । तर रक्तचाप घरमै आफैंले नाप्ने कसरी भन्ने पनि अब समस्या रहेन । रक्तचाप नाप्न आजकल बजारमा गुणस्तरीय स्वचालित मेसिनसमेत पाइन्छन् । तर तपाईंले चिकित्ससकसँग परामर्श गरेर मात्र यस्तो मेसिन किन्नुपर्छ ।

अझ तपाईंको रक्तचाप नाप्ने मेसिनलाई चिकित्सकको रक्तचाप नाप्ने मेसिनसँग तुलनासमेत गरेको हुनुपर्छ ।घरमा नापेको रक्तचापको पहिलो नाप प्रायः बढी देखाउने भएकोले ५–५ मिनेटको फरकमा ३ पटक रक्तचाप नापेर औसत निकाल्नुपर्छ ।

रक्तचापका बिरामीहरूले हरेकपटक मुटु रोग विशेषज्ञसँग भेटन जाँदा आफूले नियमित रूपमा नाप्दै गरेको रक्तचापको रेकर्डसमेत देखाउनुपर्छ । नियमित रूपमा रक्तचाप नाप्दा बिहान वा साँझ रक्तचापको औषधि खानुभन्दाअगाडि नाप्नुपर्छ ।

रक्तचाप कति–कति दिनको फरकमा नाप्ने आदिबारे चिकित्सकसँग परामर्श गर्नुपर्छ । उसो त रक्तचाप नियन्त्रणमा आएपछि दुई–तीन सातामा एकपटक नाप्नु उपयुक्त हुन्छ । तर अझैसम्म कुन बिरामीले कति दिनको फरकमा रक्तचाप नाप्नेबारे कुनै पनि अनुसन्धानले स्पष्ट गरेको छैन ।

अध्ययन अनुभवका आधारमा म के भन्न चाहन्छु भने, रक्तचाप धेरै चाँडो–चाँडो नाप्दा अनावश्यक पीर पर्न सक्छ भने धेरै दिनको फरकमा नाप्दा रक्तचाप नियन्त्रणमा रहेको वा नरहेको थाहा नहुन सक्छ । चाँडै आत्तिने व्यक्तिलाई छिटो–छिटो रक्तचाप नाप्दा अनावश्यक चिन्ताका साथै झन् आत्तिनेसमेत हुन सक्छ ।

डा.ओममूर्ति अनिल
मुटु रोग विशेषज्ञ

यही कारणले गर्दा एउटा निश्चित समयमा रक्तचाप नाप्नु आवश्यक हुन्छ । मेरो अनुभवअनुसार जुनसुकै स्वस्थ व्यक्तिले आफ्नै घरमा वर्षमा दुई पटक अर्थात् हरेक ६ महिनामा रक्तचाप नापेर आफ्नो स्थिति थाहा पाउनुपर्छ । तर प्रिहाइपरटेनसन अर्थात् उच्च रक्तचाप हुनुभन्दा पूर्व अवस्था भएकाहरूले हरेक ३ महिनामा आफ्नो रक्तचाप परीक्षण गर्नुपर्छ ।

बोर्डरलाई हाइपरटेन्सन हुनेले हरेक महिना र रक्तचाप नियन्त्रणमा भएकोले हरेक १५ दिनमा एकपटक रक्तचाप जाँच्नुपर्छ । तर यदि तपाईंको रक्तचाप नियन्त्रणमा छैन भने हरेक सात दिनमा एकपटक रक्तचाप नाप्नुपर्छ ।

तपाईंले यदि उच्च रक्तचाप पहिलो पटक थाहा पाएर चिकित्सकीय सल्लाहअनुसार औषधि खान सुरु गर्नुभएको छ भने हरेक दुईदेखि तीन दिनमा एकपटक रक्तचाप जाँच्न नबिर्सनुस् । जुनसुकै समयमा जस्तोसुकै अवस्थामा रक्तचाप नाप्दा यसको परिणाम सही नहुन पनि सक्छ । यसैले रक्तचाप नाप्दा ठीक तरिका अपनाउनुपर्छ ।

रक्तचाप नाप्नुभन्दा करिब आधा घण्टा पहिलेदेखि सुर्ती, चिया, खाना आदि खाएको हुनु हुँदैन । रक्तचाप नाप्दा एक खुट्टा अर्को माथि (उपरखुट्टी) राख्नु हुँदैन । लुगा माथिबाट रक्तचाप नाप्नु हुँदैन भने हिँडडुल र व्यायाम गरेलगत्तै रक्तचाप नाप्नु हुँदैन । यस्तै रक्तचाप नाप्ने कोठाको वातावरण शान्त हुनुको साथै तापक्रम आरामदायी हुनुपर्छ ।

रक्तचाप नाप्दा मेचमा करिब ५ मिनेट वि श्राम गरेपछि नाप्नुपर्छ भने, नाप्ने बेलामा बिरामीसँगै नाप्ने व्यक्तिसमेत बोल्नु हुँदैन । रक्तचाप नाप्ने यन्त्रको फिता मुटुको उचाइमा राख्नुपर्छ । रक्तचाप नाप्ने हातलाई टेबलमा राख्नुपर्छ । यस्ते रक्तचाप नाप्दा हल्लिनु हुँदैन श्वाससमेत स्वाभाविक रूपमा विस्तारैलिनुपर्छ । पहिलो पटक दुवै हातमा र त्यसपछि रक्तचाप बढी भएकोहातमा नाप्नुपर्छ ।

प्रकाशित : भाद्र २१, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्

सरकारी भत्ता लिन लागूपदार्थ परीक्षण

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलिया सरकारले बेरोजगारलगायतका सरकारी सेवासुविधा दिनुअघि प्रत्येक व्यक्तिको लागूपदार्थ परीक्षण गर्ने भएको छ । यससम्बन्धी योजनालाई सरकारले संसद्बाट पारित गराएर परीक्षणका रूपमा लागू गर्ने तयारी गरेको हो । 

यस प्रक्रियाअन्तर्गत गाँजा, कोकिन, हेरोइनलगायत लागूपदार्थ सेवन गरे/नगरेको परीक्षण गरिने समाचारमा जनाइएको छ । परीक्षणमा सकारात्मक पाइएकालाई निश्चित समयपछि दोस्रोपटक परीक्षण गरिने छ । तर त्यसमा समेत नतिजा सकारात्मक भेटिए उपचारका लागि चिकित्सकहाँ पठाइने छ । अस्ट्रेलियाकी सामाजिक सुरक्षामन्त्री एन रस्टनले यो कार्यक्रमले मानिसलाई लागूपदार्थको सेवनका लागि निरुत्साहित गर्ने बताइन् ।

प्रधानमन्त्री स्कट मरिसनले योजनालाई समर्थन गर्न आहृवान गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् यसको उद्देश्य सरकारी भत्ता लिन निरुत्साहित गर्ने र रोजगारका लागि प्रोत्साहन गर्ने रहेको दाबी गरे । मरिसनले जसरी सरकारी भत्ता लिने युवालाई लागूऔषध जाँच गरिन्छ, त्यस्तै जाँच सांसदहरूमा पनि गर्न आफू तयार रहेको बताए ।

तास्मानियाकी स्वतन्त्र सांसद ज्याकी ल्याम्बीले सांसदहरू पनि यस्तै जाँचका लागि तयार भए आफूले सरकारको योजना समर्थन गर्ने बताएपछि मरिसनले उक्त प्रतिक्रिया दिएका हुन् ।

अस्ट्रेलिया सरकारले बेरोजगारलगायतका अन्य विभिन्न शीर्षकमा सरकारी कोषबाट सहयोग रकम दिने गरेको छ । सरकारले न्यु स्टार्ट र युवा भत्ता पाउने व्यक्तिहरूको स्वास्थ्य अवस्थाका बारेमा अझ राम्रो जानकारी लिने उद्देश्यका साथ यो नयाँ योजना ल्याउन लागिएको बताएको छ । समाचारमाध्यमहरूका अनुसार यसअघि लागू गर्न खोजिएको यो योजना त्यति बेला विवादास्पद बनेको भए पनि स्कट मरिसन सरकारले फेरि ल्याउन लागेको हो ।

माथिल्लो सदन सिनेटबाट पारित भएपछि यो योजना अस्ट्रेलियाका विभिन्न ३ क्षेत्रमा नमुनाका रूपमा प्रयोगमा ल्याइने जनाइएको छ ।

पूर्वप्रधानमन्त्री माल्कम टर्नबुलले दुई पटकसम्म यो योजना ल्याएको भए पनि दुई पटकसम्म सिनेटमा असफल भएको थियो । दुईवर्षे योजनाअन्तर्गत ल्याउन लागिएको योजनामा करिब ५ हजार न्यु स्टार्ट र युवा भत्ता लिनेलाई समावेश गरिने सरकारको भनाइ छ । प्रस्तावित नयाँ नियमअन्तर्गत सरकारी भत्ता लिने लागूऔषध प्रयोगकर्तालाई आय व्यवस्थापन प्रणालीमा सहभागी गराइने बताइएको छ । कार्ययोजनाअनुसार सरकारले यसलाई क्विन्सल्यान्डको लोगन, न्यु साउथ वेल्सको क्यान्टबरी–ब्यांक्सटाउन र पश्चिम अस्ट्रेलियाको मन्डुरामा लागू गर्ने छ ।

विपक्षी दल लेबर तथा अर्को दल ग्रिनले भने योजनाप्रति असहमती जनाएका अस्ट्रेलियाली सञ्चारमाध्यमले जनाएका छन् । लेबरकी सामाजिक सुरक्षा छायामन्त्री लिन्डा बर्नीले यो कार्यक्रमले समाजका कमजोर मानिसलाई अझ पीडा थप्ने दाबी गरिन् । उनले लागूपदार्थ सेवन कुलत भएकाले यसलाई स्वास्थ्य समस्याका रूपमा उपचार गरिनुपर्ने भनेकी छन् । सरकारी योजनाको केही सामाजिक संस्थाले पनि विरोध गरेका छन् ।

प्रकाशित : भाद्र २१, २०७६ ०९:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्