कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेर जान्छन् निःशुल्क औषधि

निःशुल्क स्वास्थ्य सेवा पाइने शहरी स्वास्थ्य केन्द्रमा विरामी कमै पुग्छन् । कतिपय औषधी खपत नभै म्याद सकिएर जाने स्वास्थ्यकर्मी बताउँछन् ।
फातिमा बानु

काठमाडौँ — महानगरपालिकाअन्तर्गतका सहरी स्वास्थ्य केन्द्रबारे जनचेतना नहुँदा निःशुल्क पाइने औषधि खेर जाने गरेका छन् । काठमाडौं महानगरपालिकाभित्र हाल २७ वटा सहरी स्वास्थ्य केन्द्र छन् जहाँ कम्तीमा ४४ र बढीमा १ सय थरि निःशुल्क औषधि र आधारभूत स्वास्थ्य उपचार सेवा पाइन्छ ।

खेर जान्छन् निःशुल्क औषधि

निःशुल्क स्वास्थ्य सेवा पाइने यस्ता केन्द्रमा न्यून रूपमा मात्रै बिरामी छिर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।


४४ थरी औषधि निःशुल्क औषधि उपलब्ध नयाँ बानेश्वरस्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा मुस्लिकले दैनिक १२ बिरामी आउँछन् । क्लिनिकका जनस्वास्थ्य अधिकृत गौतमराज बज्राचार्यका अनुसार यहाँ क्षयरोगको नियमित औषधि सेवन गर्ने बिरामी मात्रै बढी आउँछन् ।


सिटामोल, एन्टिबायोटिक, परिवार नियोजनका सामग्रीबाहेक अन्य औषधि कम मात्रामा मात्रै उपयोग हुन्छ । उनी भन्छन्, ‘अहिले त प्रेसर सुगरका औषधि पनि निःशुल्क औषधिमा समेटिएका छन् । घरैपिच्छे यो रोगका बिरामी छन् भन्छन् । बाहिर महँगो तिरेर खान्छन्, यहाँ निःशुल्क पाइने औषधि ‘डेट एक्सपायर’ भएर खेर जान्छ ।’


गर्भवती जाँच, खोप, झाडापखाला र निमोनियालगायत आठ थरी स्वास्थ्य सेवा पाइने यस केन्द्रबारे जनचेतनाको कमी हुँदा प्रभावकारी हुन नसकेको महानगरको सहरी स्वास्थ्य तथा खाद्यपदार्थ महाशाखाका निर्देशक नरेन्द्र बज्राचार्यले बताए । उनले भने, ‘विशेषगरी मजदुर, सुकुम्बासी र गरिब मात्रै यहाँको सेवा दिन आउँछन्, तीमध्ये पनि धेरैलाई यसबारे थाहा छैन ।’ निजी अस्पतालमा महँगो पर्ने खोप पनि यहाँ निःशुल्क पाइने उनले बताए ।


२५ वर्षदेखि सञ्चालनमा आएका सहरी स्वास्थ्य केन्द्रप्रति सर्वसाधारणको आकर्षण बढ्न सकेको छैन । स्वास्थ्य नियमावली अनुसार १३७ थरी औषधि निःशुल्क पाइने भनिए तापनि सबै औषधि केन्द्रमा उपलब्ध छैनन् । भौतिक पूर्वाधारको कमीका कारण यस्ता केन्द्र वडा, कार्यालय, स्थानीय तहका सामुदायिक भवन र क्लबका साँघुरा कोठाबाट सञ्चालन हुँदै आइरहेका छन् ।


थोरै स्वास्थ्य केन्द्रमा मात्रै बेडसहितको सेवा छ । सबै केन्द्रमा आवश्यक अनमी, अहेब, जनस्वास्थ्य अधिकृतजस्ता कर्मचारी पनि पुग्दो मात्रामा छैनन् । वार्षिक ६ करोड ९० लाख बजेट छुट्याइने यस्ता स्वास्थ्य केन्द्रको प्रचारप्रसार हुनुपर्छ । प्रचारप्रसार हुन नसक्दा एकातिर बिरामीले निःशुल्क पाइने औषधि किनेर खाइरहेका छन् भने अर्कातिर खपत हुन नसक्दा औषधि खेर गइरहेका छन् ।


महाराजगन्जस्थित वडा ३ सहरी स्वास्थ्य केन्द्रमा सुगर र उच्चरक्तचापका औषधिको बढी माग छ । मागअनुसार औषधि नपुग्ने केन्द्रकी इन्चार्ज सिर्जना पाठकले बताइन् । उनले भनिन्, ‘दमरोगका औषधि म्याद सकिएर खेर जान्छन् । परिवार नियोजनका सामग्रीका लागि बढी जान्छन् ।’ केन्द्रसम्बन्धी जनचेतना बढाएर निःशुल्क औषधि खेर जानबाट जोगाउनुपर्ने उनको भनाइ छ । पाँच जनशक्तिको दरबन्दी भएको यो केन्द्र दुई कर्मचारीको भरमा चलिरहेको छ । आफ्नै भवन नहुँदा दैनिक ४५ बिरामी आउने यो केन्द्र भाडाको घरबाट चलिरहेको छ ।


संघीय संरचनामा सरकारी प्राथमिक स्वास्थ्य केन्द्र पनि सहरी स्वास्थ्य केन्द्रमै गाभिने भनिएको छ । हालसम्म काठमाडौंका सबै प्राथमिक स्वास्थ्य केन्द्र यसमा मिसिन सकेका छैनन् । एउटै खाले सेवा दिने यस्ता केन्द्र गाभिन सके सेवा प्रभावकारी हुने निर्देशक बज्राचार्यले बताए । उनले भने, ‘सहरी स्वास्थ्य केन्द्रको महत्त्वबारे धेरैले बुझेका छैनन् । अस्पताल र क्लिनिक छ्याप्छ्याप्ति भएको ठाउँमा यस्तो केन्द्र नचाहिने तर्क बेकार हो ।’


आधारभूत स्वास्थ्य उपचार सेवा विस्तारका लागि महाशाखाले काठमाडौं महानगरपालिकामा ११ वटा स्वास्थ्य प्रवर्द्धन केन्द्र खोल्ने तयारी गरिरहेको छ । यस्ता केन्द्रमा डाक्टरसहित ल्याब, भिडियो एक्सरे लगायत सेवा निःशुल्क प्रदान गर्ने निर्देशक बज्राचार्यले जानकारी दिए । उनले भने, ‘हाम्रो तर्फबाट सबै तयारी भइसक्यो । सरकारको अनुमतिपत्र मात्रै कुरिरहेका छौं ।’ यस्ता केन्द्र सञ्चालनका लागि महाशाखाले २ करोड ८० लाख बजेट छुट्याएको उनले बताए ।

प्रकाशित : चैत्र १७, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?