गंगालालमा मुटुको मुख्य धमनीको जटिल शल्यक्रिया

अतुल मिश्र

काठमाडौँ — सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ‘टोटल एओर्टिक आर्च रिप्लेसमेन्ट’, भनिने मुख्य धमनीको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । डा.रविन्द्र तिमलाको नेतृत्वमा गरिएको उक्त शल्यक्रिया नवलपरासीकी ६० वर्षीया एक महिलामा गरिएको हो ।

यस्ता शल्यक्रियापछि बाँचेर घर फर्किने मुलुकमै उनी पहिलो बनेकी छन् । शल्यक्रिया गरेकी महिलाको अवस्था राम्रो रहेको उल्लेख गर्दै डा. तिमलाले भने–‘सम्भवत: उनी आगामी मंगलबार वा बुधबार घर फर्किने छिन् ।’


शल्यक्रियाअन्तर्गत ती महिलाको मुटुबाट निस्किने मुख्य धमनीको पहिलो र उपल्लो भाग फेरिएको हो । उनको धमनी फुलेर ६.५ सेन्टिमिटर पुगेकोले भविष्यमा फुटन सक्ने जोखिम कम गर्न शल्यक्रिया गरिएको हो । धमनीको उपल्लो भागमा मस्तिष्कमा जाने रक्तनलीहरु समेत हुनाले यो शल्यक्रिया जटिल प्रकृतिको मानिन्छ । शल्यक्रिया गर्दा मस्तिष्क र शरीरको अन्य भागमा जाने रक्त सञ्चारलाई छुट्याएर रक्तनलीहरु एक/एक गरेर छुट्याउँदै नयाँ रक्तनलीसँग जोडिएको डा.तिमलाले बताए ।


अनियन्त्रित उच्च रक्तचाप, वंशानुगत रोगलगायत विभिन्न कारणले मुटुबाट निस्किने मुख्य धमनी फुल्न सक्छ । सामान्य रुपमा २.५ सेन्टिमिटरको मोटाइ हुने उक्त नली फुलेर ६ सेन्टिमिटर पुगेपछि चर्किने वा फुट्ने सम्भावना हुन्छ । यसरी चर्कंदा वा फुट्दा तुरुन्त मृत्यु हुन सक्छ भने आकस्मिक शल्यक्रिया गर्दा समेत मृत्यु हुने जोखिम उच्च हुन्छ ।


यसैले मुख्य धमनी धेरै फुल्नु अगावै शल्यक्रिया गर्नु सुरक्षित रहेको औल्याउँदै डा.तिमला भन्छन् –‘एक पटक फुलेपछि फुल्ने क्रम नरोकिनाले नियमित औषधि सेवन र स्वास्थ्य परीक्षण सँगै आवश्यकताअनुसार शल्यक्रिया गराउनु पर्छ ।’

प्रकाशित : माघ ५, २०७५ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्

ओलीको टिप्पणी- 'नेकपा होइन, चस्मा खुइलिएको'

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले पार्टी सुदृढ ढंगले अगाडि बढिरहेको दाबी गरेका छन् । नेकपा खुइलिएको आलोचना भइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफ्नो दृष्टिकोण बदल्न आग्रह गरे ।

पार्टी कार्यालय धुम्बाराहीमा शनिबार एक कार्यक्रमबीच कांग्रेस नेता तीर्थराज भुसाललाई पार्टी प्रवेश गराएपछि ओलीले नबुझ्नेले सिध्द्धिन लागेको टिप्पणी गरेको बताए । ‘केहीले भनेका छन्, नेकपा खुइलियो रे’, ओलीले सांकेतिक रुपमा भने, ‘चस्मामा फोहोर लागेको छ अनि आज मौसम सफा रहेन भन्न सुहाउँछ । चस्मा सफा गर्न आग्रह गर्न चाहन्छु म ।’

नेकपा देश, जनताको निम्ति दृढता, सक्रियताका साथ अगाडि बढ्ने उनको भनाइ थियो । देश विकास र समृद्धिका लागि निष्ठापूर्वक अघि बढ्न उनले पार्टीपंक्तिलाई आग्रह गरे । भने, ‘नेकपाको अरु अभिष्टा छैन, देश र जनताका लागि काम गरौं । जनताका लागि सुशासन ल्याउँ, विकासमा जाउँ ।’

आफूले हरेक दिन कदम अगाडि भनेझैं सरकारले सुक्खाबन्दरगाह शिलान्यासलगायत हरेक दिन नयाँ गरिरहेको प्रधानमन्त्रीले बताए । ‘हामी विकासको बाटोमा अगाडि बढ्छौं । हरेक दिन नयाँ–नयाँ काम गर्ने सरकार र पार्टीको संकल्प हो ।’

संविधानले व्यवस्था गरेबमोजिम संघ, प्रदेश, स्थानीय तह व्यवस्थापन र कानुन संशोधन, निर्माणमा लागेकोले यसअघि सोचेजत्ति विकास गति नदेखिएको सत्य भन्दै अब विकासले ‘असाधारण गति’ लिने प्रधानमन्त्रीको दाबी थियो । उनले देशलाई सुशासन र विकासमा लैजान आफ्नो साधान, स्रोत, शक्ति, सामथ्र्य त्यता लगाउने स्पष्ट पारे । उनले सरकारको कामकारबाही र पार्टी एकताको कामलाई सँगसँगै लैजाने बताए ।

प्रकाशित : माघ ५, २०७५ १८:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×