संगीत चिकित्सा- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संगीत चिकित्सा

उच्च रक्तचाप, मधुमेह, उदासी रोग (डिप्रेसन), एन्जाइटी न्युरोसिस, इमोसनल ट्रमा, स्पिरिचुअल ट्रमा, माइस्थेनिया ग्रेविस, मल्टिपल स्केलोरोसिस, क्रोनिक फटिक सिन्ड्रोम, फाइब्रोमाएल्जियालगायतका थुप्रै शारीरिक समस्यामा प्रभावकारी
अतुल मिश्र

काठमाडौँ — गीतसंगीतले तपाईंलाई रोगबाट निको हुन मात्र मद्दत गर्दैन । यसले स्वस्थ रहनसमेत सघाउँछ । विशेषज्ञहरूका अनुसार संगीतको विभिन्न रागरागिनहरू इन्फ्रा र अल्ट्रासोनिक ध्वनिहरूले आफूमा समाहित तीव्रता, मधुरता र कर्कशताका कारण फरकफरक प्रकारको परिणाम प्रस्तुत गर्छ ।

‘राति सुत्ने बेलामा राग दरबारी सुन्नुभयो भने निद्रा राम्रो आउँछ, तनाव हट्छ, राग जौनपुरीले एसिडिटी (अम्लता) व्यवस्थित गर्छ, राग कल्याणीले मुटुको स्याहार गर्छ,’ राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अध्यक्ष डा.ऋषिराम कोइरालाका अनुसार संगीतले न्युरोन इलेक्ट्रिक इम्पल्स शरीरको विभिन्न भागमा पठाएर मस्तिष्कलाई सक्रिय गर्छ ।


संगीतको प्रभाव मनुष्यको केन्द्रीय स्नायु प्रणालीमा पर्छ । संगीतको माध्यमले जुन ध्वनि तरंग उत्पन्न हुन्छ त्यो स्नायु प्रवाहमा उपयुक्त प्रभाव पार्दै सक्रियता बढाउँछ र विकृत चिन्तनलाई रोकेर मनोविकारलाई हटाउँछ ।


यसले स्नायु प्रणालीको ‘एक्स्ट्रासेलिल्युर मेट्रिक्स’ मा प्रवाह उत्पन्न गर्छ । राग, संगीत, सिंङ्गिङ बलले प्रवाह नदीजस्तै शरीरमा बग्छ ।


‘जहाँनिर अवरोध छ, त्यहाँ खुल्छ र समाधान दिन्छ, अचम्म छ यसको प्रभाव,’ कोइरालाले विभिन्न अन्तर्राष्ट्रिय अध्ययन, अनुसन्धानअनुसार संगीत चिकित्सा उच्च रक्तचाप, मधुमेह, उदासी रोग (डिप्रेसन), एन्जाइटी न्युरोसिस, इमोसनल ट्रमा, स्पिरिचुअल ट्रमा, माइस्थेनिया ग्रेविस, मल्टिपल स्केलोरोसिस, क्रोनिक फटिक सिन्ड्रोम, फाइब्रोमाएल्जियालगायतका थुप्रै शारीरिक समस्यामा प्रभावकारी देखिएको बताउँछन् ।


चिकित्सा इतिहासमा उल्लेख भएअनुसार प्राचीन मिश्रमा संगीतद्वारा मानसिक अस्वस्थताको उपचार गरिन्थ्यो ।


यसैले होला, चरक ऋषिद्वारा लेखिएको चरक संहिताको ‘सिद्घिस्थान’ को छैटौं अध्यायमा संगीतको चिकित्सकीय प्रभाव वर्णन गरिएको छ ।


आयुर्वेदको अनुसार दोष एवं धातुको सन्तुलन बिग्रिने स्थितिमा नै शरीरमा रोग उत्पन्न हुन्छ । कुनै पनि चिकित्सा पद्घतिले यसैलाई सन्तुलित गर्छ । संगीत यसमा बढी उपयोगी छ ।


संगीत हाम्रो प्राचीन उपचार विधिको मौलिक अंग रहे पनि हालको दिनमा बिर्सिएको उपयोगी उपचार पद्घति हो । हालसम्म नेपाललगायत विभिन्न मुलुकका करिब २ हजार ५ सय जनालाई संगीत चिकित्सा दिएको दाबी गर्ने डा. कोइरालाका अनुसार मानिसभित्र रहेका सात वटा चक्रहरूमा रागले फरकफरक प्रभाव पार्छ ।


मठमन्दिरमा उपयोग गरिँदै आएको गीतसंगीत, भजनकीर्तनले विभिन्न शारीरिक समस्यासँगै उदासी रोगलाई हटाउनमा प्रभावकारी रहेको उनी औंल्याउँछन् । आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायका अनुसार मुलुकमा सरकारी आयुर्वेद स्वास्थ्य संरचनामा हालसम्म संगीत चिकित्सा सेवा सुरु नगरिए पनि सहायक चिकित्साको रूपमा यसलाई उपयोग गर्न सकिने बताउँछन् ।

प्राचीन कालमा उपयोग गरिए पनि वर्तमान समयका लागि संगीत चिकित्सा मुलुकका लागि नयाँ धारणा नै रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका डा. विनोद घिमिरे भन्छन्, ‘हाल बिहेवारी संस्कृतिमा संगीतको उपयोग गरिए स्वास्थ्य समस्याका लागि खासै गरिँदैन ।’ अहिले विभिन्न रोगहरूमा ‘राग’ को प्रयोग हुन थालेको जनाउँदै डा. घिमिरे भन्छन्, ‘आयुर्वेदमा संगीतलाई समेत चिकित्साको रूपमा उपयोग गरिएको छ ।’


शल्यक्रियापछि आनन्द भैरवी रागको उपयोग गर्दा दुखाइ नाशक औषधि (एनाल्जेसिक) को उपयोगमा ५० प्रतिशतले कमी आएको अनुसन्धानहरूले देखाएको उल्लेख गर्दै डा. घिमिरेले संगीत इन्डोरफिनको मात्रा बढाउनुको साथै कार्टिसोलको मात्रामा कमी ल्याउने बताउँछन् । लयबद्घ रूपमा गरिएको मन्त्रोच्चारणसमेत संगीत चिकित्साजस्तै प्रभावकारी देखिएको छ । संस्कृतको श्लोक, मन्त्र, धार्मिक गीत आदिले सकारात्मक ऊर्जा बढाउनुका साथै मनलाई स्थिर, मस्तिष्कलाई सन्तुलित राख्ने गरेको भनिन्छ ।


प्रभावशाली व्यक्तिहरूमा संगीत चिकित्साको उपयोग गरिएको वर्णनसमेत इतिहासमा छ । सन् १९४४ मा महात्मा गान्धी अस्वस्थ हुँदा त्यस ताकाका संगीतज्ञ मनहर बर्बेले संगीत द्वारा उनलाई स्वस्थ पारेको जनाउँदै आयुर्वेदाचार्य डा.सुमन खनाल भन्छन्, ‘छिमेकी मुलुक भारतको बंगाल राज्यका प्रसिद्घ शास्त्रीय संगीतज्ञ पं.ओमकारनाथ ठाकुरले सन् १९३३ मा आफ्नो युरोप यात्राको समय इटलीको तत्कालीन शासक मुसोलिनीको इन्सोम्निया (अल्प निद्रा) को समस्यालाई ‘राग पुरिया’ द्वारा उपचार गरेका थिए ।’


संगीत चिकित्सासँगै सम्पूर्ण शरीरको मसाज, टाउकोको मसाज, शिरोधारालगायतका विभिन्न आयुर्वेदिक प्रक्रियाहरू थप प्रभावकारी देखिएको छ । डा. कोइरालाका अनुसार संगीत चिकित्सा दक्ष विशेषज्ञबाटै लिनु प्रभावकारी हुन्छ ।


सामान्य स्वस्थ व्यक्तिले आफूलाई जुन संगीतमा डुब्दा अत्यन्त आनन्द आउँछ त्यस्तै संगीत सुन्नुपर्छ । यसरी संगीत सुन्दा आँखा बन्द गरेर संगीतको तरंगमै आफूलाई बगाउँदा यसको अधिकतम फाइदा पाउन सकिन्छ ।


के हो संगीत चिकित्सा ?

यो यस्तो चिकित्सा हो जसमा मानसिक र शारीरिक रोगलाई संगीतको तीव्र, मध्यम र मन्द स्वर, तरंगद्वारा ठीक पार्ने प्रयास गरिन्छ । यो चिकित्साको उपयोग सामान्यत: बिरामीको रोगसँग जोडिएको औषधिमुलोसँगै छिटो आराम दिनका लागि गरिन्छ ।


प्राकृतिक संगीत

एकाग्रता बढाउनका लागि प्राकृतिक स्वर लहरी सुन्नु फाइदाजनक मानिन्छ । समुद्रको छालको स्वर, पानी पर्नुको स्वर, पानीको बहावको स्वर, चराचुरुंगीको स्वरलगायतका रिदममा रहेको प्राकृतिक स्वर लहरी सुनेर व्यक्ति विशेषले आफ्नो एकाग्रता बढाउन सक्ने डा. कोइराला बताउँछन् ।


अस्पतालमा २४ सै घण्टा संगीत

छिमेकी राष्ट्र भारतको झारखण्ड राज्यस्थित जमशेदपुर सदर अस्पतालमा रोगीको उपचार औषधिले मात्र नभएर संगीतले समेत गरिन्छ । अस्पतालमा २४ सै घण्टा मधुरो आवाजमा इन्स्ट्रुमेन्टल संगीत बज्छ, यसलाई राति सुत्ने बेला केही समयका लागि मात्र बन्द गरिन्छ ।


अस्पतालको शल्यक्रिया कक्ष (अपरेसन थिएटर) मा बिरामी र डाक्टर तनावमुक्त, खुसियालीपूर्ण माहोलमा रहून् भनेर म्युजिक सिस्टम लगाइएको छ । शल्यक्रिया हुँदै गर्दासमेत संगीत बजिरहेको हुन्छ । अस्पतालमा म्युजिक थेरापीसमेत गरिन्छ ।


यो अस्पतालमा रातमा केही समय छोडेर बाँकी समय म्युजिक सिस्टममा विभिन्न संगीत, धुन आदि बजिरहेको हुन्छ । शल्यक्रिया कक्षबाहेक लेवर रुम (प्रसूति कक्ष) मा समेत म्युजिक सिस्टमको व्यवस्था छ । लेवर रुममा आउने महिला तनावमा रहने भएकाले उनीहरूको टेन्सन संगीतद्वारा कम गरिन्छ ।


‘भारतको नारायण हृदयालयमा जारी रहने सफ्ट म्युजिक सबैले सुन्ने गरेका छन्,’ डा. घिमिरे भन्छन्, ‘भारतलगायत विश्वका केही अस्पतालहरूमा संगीत बजाउने चलन छ ।’


संगीतले धेरै स्वास्थ्य फायदा : एनआईएच

अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) का अनुसार संगीतले धेरै स्वास्थ्य फाइदा हुन सक्छ तर यो सबैका लागि सहयोगी नहुन पनि सक्छ । हाल वैज्ञानिकहरू संगीत र मस्तिष्कबारे अधिकतम जान्ने प्रयासमा छन् ।


‘जब तपाईं संगीतलाइ सुन्नुहुन्छ वा बनाउनुहुन्छ, यसले तपाईं कसरी सोच्नुहुन्छ, अनुभव गर्नुहुन्छ र अगाडि बढ्नुहुन्छ आदिलाई प्रभावित गर्छ,’ एनआईएचको संगीत र स्वास्थ्यसम्बन्धी पहलको सहनेतृत्व गर्ने न्युरोसाइन्टिस्ट डा. रोवर्ट फिंकेलस्टिन भन्छन्, ‘आजकाल अत्याधुनिक प्रविधिले अनुसन्धानकर्तालाई मस्तिष्क कसरी काम गर्छ, यसको कुन भाग संगीतसँग प्रतिक्रिया जनाउँछ र कसरी संगीतले केही खास रोगको लक्षण र अवस्थालाई कम गर्न सघाउन सक्ने आदिबारे बढी जान्न सहयोग गरिरहेको छ ।’


‘स्वास्थ्य स्याहार प्रदान गर्नेहरूका लागि यो पहिचान गर्नु र बुझ्नु महत्त्वपूर्ण कुरा हो कि कतिखेर संगीत उपयोगी हुँदैन र हानिकारक हुन सक्छ,’ डा. फिंकेलस्टिन भन्छिन्, ‘र यो एउटा क्षेत्र हो, जहाँ म्युजिक थेरापिस्ट सहयोगी हुन सक्छ ।’


संगीतलाई समेत शारीरिक व्यायाम वा हामीले उपयोग गर्ने खाद्यपदार्थजस्तै सोच्नुपर्ने नर्थ वेस्टर्न युनिभर्सिटीका न्युरो साइन्टिस्ट डा. निना क्राउस बताउँछिन् ।


उनका अनुसार अधिकतम स्वास्थ्य फाइदा उठाउन संगीतलाई जीवनको नियमित दिनचर्या बनाउनुपर्छ । जीवनमा संगीतलाई समेत जोड्नु कहिले पनि ढिलो भएको मानिँदैन ।


एनआईएचका अनुसार काममा जाने बेला वा व्यायाम गर्दाताका दिनहुँ संगीत सुन्नुस् । यस्तै खाना पकाउँदा वा डिनर गर्दा गीत गाउनुस्, नाच्नुस् । सकेसम्म संगीतको एउटा वाद्ययन्त्र बजाउनुपर्छ । संगीत सिक्नुपर्छ वा साथीहरूसँग सांगीतिक प्रक्रियामा जोड्नुपर्छ । आफ्नो रुचिअनुसार संगीत, नाटक वा अन्य सामुदायिक सांगीतिक गतिविधिमा भाग लिनुको साथै आफ्ना बच्चालाई संगीत सुन्न, गाउन, वाद्ययन्त्र बजाउन प्रोत्साहित गर्नुपर्छ । आफूलाई अनुकूल संगीत चिकित्साबारे चिकित्सकलाई सोध्नुपर्छ ।


रोगमा रागको प्रभावकारिता

राग अहिर भैरव :उच्च रक्तचाप, अनिद्रा, अपच, अर्थराएटिस

राग भीम पलासी :एग्जाइटी, उच्च रक्तचाप

राग भैरवी :सकारात्मक ऊर्जाको सञ्चार गराउन, क्षयरोग, खोकी, साइनस आदि कफदोष र अर्थराइटिसमा प्रभावकारी

राग मिया मल्हार : शरीरबाट नकारात्मक ऊर्जा निकाल्न

राग बागेश्री :उदासी रोग, अनिद्रा

राग काफी :अनिद्रा

राग कांशी :कान्हडा–रुघाखोकी, रक्तचाप

राग मल्हार :मानसिक अस्थिरता, अति आवेग, क्रोध, अस्थमा

राग दुर्गा :कमजोरी

राग पुररिया तोडी : अत्यन्त तनाव, मानसिक अशान्ति, रिस राग यमन, हंसध्वनि, मारु बिहाग– क्यान्सर

राग मालकौस : अनिद्रा, ज्वरो

राग बिन्द्राबनी सारंग : उदासी रोग

राग दीपक :पेटसम्बन्धी बिकार, अम्लता, अपच, पत्थरी, एनोरेक्सिया, पत्थरी

राग आसावरी : आत्मविश्वासमा वृद्घि, रक्त बिकार हटाउन

राग हिंडोल : पिठिउँ दुखाइ, स्पोनडिलाइटिस, स्मरणशक्तिमा वृद्घि, ध्यान केन्द्रित गर्न सहयोगी, रक्तचाप

प्रकाशित : माघ ५, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्

चिसो कट्टुले मृगौलाको पत्थरी

कान्तिपुर संवाददाता

काठमाडौँ — महिलाहरू आफ्ना भित्री वस्त्रलाई लिएर निकै संवेदनशील हुन्छन् । कतिपय महिलाले लाजका कारण पनि भित्री कट्टु धोएर घाम लाग्ने खुल्ला ठाउँमा सुकाउन हच्किन्छन् ।

कट्टुलाई प्रत्यक्ष घाममा नसुकाई लगाउँदा भने विभिन्न शारीरिक समस्या निम्तिने जोखिम बढी हुने अध्ययनले देखाएको छ । हिउँद याममा त यो समस्या झनै बढी देखिने गर्छ ।

भित्री लुगाको सरसफाइमा ध्यान नदिनाले पिसाबसम्बन्धी संक्रमण (युरिनरी ट्रयाक इन्फेक्सन) को जोखिम समेत रहन्छ । ब्याक्टेरियाबाट फैलिने यो रोगबाट जोगिन भित्री वस्त्रलाई राम्ररी धोएर घाममा सुकाउनुपर्छ ।

नत्र यसै कारण महिलालाई योनिमा हुने संक्रमणबाट पाठेघरको कुनै पनि रोग लाग्न सक्छ । धेरै पटक त यस्ता संक्रमण सन्तान उत्पादन क्षमतालाई समेत प्रभावित गर्न सक्छ । राम्ररी घाममा नसुकाइएको भित्री लुगाले दाद आउने, चिलाउने आदि समस्यासमेत देखिन सक्छ ।

लुगाफाटोमा लवण रहेकै अवस्थामा उपयोग गर्दा छालाको संक्रमणसमेत देखिने सम्भावना धेरै हुन्छ । यौनांग छेउछाउको छाला धेरै कमलो हुने भएकाले त्यहाँ छालाको संक्रमण अन्य ठाउँको दाँजोमा छिटो हुन्छ । यसैले छालाको संक्रमणको मुख्य कारणमध्ये एउटा सरसफाइको कमीलाई समेत मानिएको छ ।

यतिसम्म कि भित्री वस्त्रले मृगौलाको रोगसम्म निम्त्याउँछ । स्मरण रहोस्, ब्याक्टेरियाद्वारा उत्पन्न संक्रमणले मृगौलाको पत्थरी पनि हुन सक्छ ।

प्रकाशित : माघ ५, २०७५ ०९:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×