कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

नजिक प्रस्टै, टाढा धमिलो

आाखामा लाग्ने रोग मायोपियाबाट सहरी क्षेत्रका २५ प्रतिशत स्कुले विद्यार्थी प्रभावित 
‘टाढाको वस्तु राम्ररी देख्न सक्ने क्षमता नभएका व्यक्तिको संख्यामा तीव्र गतिले वृद्घि भइरहेको छ । भविष्यमा नेपाल पनि यो रोगबाट अछुतो रहनेछैन, यहाँको बहुसंख्यक जनसंख्या बिस्तारै मायोपियाको सिकार हुनेछ ।’
अतुल मिश्र

काठमाडौँ — घरबाहिर खेलिने परम्परागत खेलहरूको ठाउँ केही वर्षयता कम्प्युटर, मोबाइल, टेलिभिजन लगायतले लिँदै आएका छन् । यी सामग्रीप्रति बालबालिकाको लगाव झन्झन् विस्तार हुने क्रममा छ र यसको तात्कालिक असर देखिन थालेको छ ।

नजिक प्रस्टै, टाढा धमिलो

हाम्रो मुलुकको सहरी क्षेत्रका स्कुले विद्यार्थीमध्ये २५ प्रतिशतजति आँखाको समस्यामा पर्न थालेका छन् । छेउछाउका वस्तु प्रस्ट

देख्ने र टाढाका वस्तु अस्पष्ट वा घुर्मैलो देख्ने समस्याले तिनलाई गाँज्दै लगेको छ ।

चिकित्सकीय भाषामा ‘मायोपिया’ भनिने यो अवस्था एक दशकअघिसम्म १२ प्रतिशत सहरी स्कुले विद्यार्थीमा भेटिएको जनाउँदै तिलगंगा आँखा प्रतिष्ठानको बाल नेत्र रोग विभागकी प्रमुख डा. सृजना अधिकारी भन्छिन्, ‘स्कुले बालबालिकामा मायोपिया बढदो छ । अचेल काठमाडौँ उपत्यकाका स्कुले विद्यार्थीमध्ये करिब २५ प्रतिशत यो समस्यामा परेको पाइएको छ ।’

बीपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्रका निर्देशक डा.आनन्दकुमार शर्माको अनुभव पनि डा. अधिकारीको भन्दा फरक छैन । उनी भनछन्, ‘विभिन्न कारणले गर्दा हाम्रो मुलुकमा पहिलेको दाँजोमा हाल बालबालिकामा मायोपियाको समस्या साच्चै बढिरहेको छ ।’

तीन महिनाजति अगाडि सुनसरीका २५ हजार विद्यार्थीका आँखा जाँच गर्दा निजी स्कुलका बालबालिकामध्ये १५ प्रतिशतमा मायोपिया पाइएको नेपाल नेत्र ज्योति संघका कार्यकारी निर्देशक शैलेश मिश्र बताउँछन् । उनका अनुसार, १२ वर्षअघि काठमाडौंका स्कुले विद्यार्थीमा अध्ययन गर्दा १८ प्रतिशतमा मायोपिया भेटिएको थियो ।

अन्य कारणबाहेक मोबाइल, ग्याजेट, कम्प्युटर, स्क्रिनलगायत घरभित्र खेल्ने, नजिकको काममा बढी समय दिने गतिविधिमा बढोत्तरीले गर्दासमेत हाम्रो मुलुकमा बालबालिकामा मायोपिया बढदो रहेको डा. डीएन साह बताउँछन्, जो ३४ वर्षदेखि आँखा उपचारका क्षेत्रमा कार्यरत छन् ।

केही अध्ययनमा उल्लेख भए अनुसार, उज्यालो कम भएको कक्षाकोठामा बस्ने बालबालिकामा मायोपिया उपयुक्त प्रकाश भएको कक्षाकोठामा बस्ने बालबालिकाका तुलनामा बढी पाइएको छ । बालबालिकालाई फोन वा स्क्रिनबाट टाढा राखेर, घरबाहिर

खेलकुदका लागि प्रोत्साहित गरेर यो समस्यामा केही हदसम्म नियन्त्रण पाउन सकिन्छ ।

तर, बालबालिकामा मायोपियाको समस्या बढ्दै जानु हाम्रो मुलुकको मात्र जनस्वास्थ्य समस्या हैन । यो समस्या विश्वभरि नै बढ्दो छ ।

रिसर्च जर्नल अप्थेल्मोलजीमा उल्लेख भएअनुसार, विश्वको आधा जनसंख्या सन् २०५० सम्म मायोपियाको सिकार हुनेछ । अनुसन्धानअनुसार, अमेरिकामा मायोपिया प्रभावितको संख्या २००० मा ९० लाख भएकामा २०५० सम्म २६ करोड हुनेछ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, टाढाको वस्तु राम्ररी देख्न सक्ने क्षमता नभएका व्यक्तिको संख्यामा तीव्र गतिले वृद्घि भइरहेको छ । ‘भविष्यमा नेपाल पनि यो रोगबाट अछुतो रहनेछैन, यहाँको बहुसंख्यक जनसंख्या बिस्तारै मायोपियाको सिकार हुनेछ,’ डा. अधिकारी भन्छिन् ।

अन्य कारणबाहेक जीवनशैलीमा परिवर्तन, पर्यावरणा, नेत्र स्वास्थ्यविपरीतका क्रियाकलाप लगायत मायोपियाको वृद्धिका लागि जिम्मेवार हुने गर्छन् ।


के हो मायोपिया ?

घामको किरण आँखाभित्र गएपछि सामान्य अवस्थामा रेटिना (आँखाको नानीपछाडिको पर्दा) मा दृश्य बन्छ । तर मायोपियाको समस्या भएकाहरूमा दृश्य रेटिनाको अगाडि बन्ने भएकाले यो स्पष्ट हुँदैन ।

यसैले मायोपियाले टाढाको वस्तुमा ध्यान केन्द्रित गर्ने क्षमतालाई प्रभावित पार्छ । गम्भीर मायोपियाले ग्रस्त व्यक्तिले केही इन्च टाढाको वस्तुलाई मात्र स्पष्ट देख्न सक्छन् भने सामान्य रूपले प्रभावित व्यक्तिले केही फिटसम्मको वस्तुलाई पनि पहिल्याउन सक्छन् ।

मायोपिया बिस्तारै वा छिटछिटै विकसित हुन सक्छ । यो सामान्यत: बाल्यकाल वा किशोरावस्थामा बढछ । यति मात्र नभई मायोपिया पारिवारिक समस्याका रूपमा समेत देखा पर्न सक्छ ।


मायोपियाको जोखिम

मायोपिया वंशानुगत समस्याका रूपमा हुने गरेको पनि पाइएको छ । आमा वा बुबामध्ये कसैलाई मायोपिया भएको भए सन्तानलाई समेत यो समस्या हुने जोखिम हुन्छ ।

आमा वा बुबा वा दुवैलाई मायोपिया भए सन्तानमा यो समस्या हुने सम्भावना धेरै बढी हुन्छ । आमा वा बुबामध्ये एकलाई मायोपिया भए सन्तान पनि यसबाट पीडित हुने सम्भावना सिद्घान्तत: ५० प्रतिशत हुने डा. साह औँल्याउँछन् ।

मायोपिया व्यक्तिविशेष आफ्ना आँखाको प्रयोग कसरी गर्छन् भन्नेमा मायोपिया निर्भर हुन्छ । धेरै बेरसम्म कम्प्युटरमा काम गर्नु, पुस्तक धेरै नजिक राखेर पढनु, लामो समयसम्म टेलिभिज हेर्नु, मोबाइल वा अन्य स्क्रिन आदिमा बढी समय व्यतीत गर्नुले मायोपियाको जोखिम बढाउँछ ।

कृत्रिम र अनुपयुक्त प्रकाशमा बढी समय बिताउनु, सूर्यको प्रकाशको सम्पर्कमा नआउनु जस्ता कारणले गर्दा पनि यसको जोखिम बढन सक्ने केही अध्ययनले संकेत गरेका छन् ।


उपचार

मायोपिया गम्भीर नभएसम्म आँखामा उपयुक्त चस्मा वा कन्टयाक्ट लेन्स लगाएर समस्याबाट मुक्ति पाउन सकिन्छ । गम्भीर अवस्थाको मायोपिया भए लेसिक सर्जरी गरिन्छ । १५ डायप्टरभन्दा माथिको मायोपिया भए अचेल क्लियर लेन्स एक्सट्राक्सनसमेत हुने गरेको छ ।

चस्माको पावर माइनस १० भन्दा मुनि तर माइनस ३ भन्दा माथि भएकाहरूले शल्यक्रिया गराउने गरेका छन् । डा. शर्माका अनुसार, १८ वर्षभन्दा सानाले लेसिक सर्जरी गराउनै हुन्न । चस्मा फयाँक्ने यो शल्यक्रिया जीवनमा एक पटक मात्र गरिने भएकाले पावर स्थिर भएपछि मात्र गर्नुपर्छ ।

उसो त १८ वर्षपछिसमेत अलिअलि पावर बढछ र करिब २५ वर्षपछि मात्र यसको क्रम रोकिन सक्छ ।


जटिलता

मायोपिया ६ डायप्टरभन्दा बढी अर्थात् प्याथोलजिकल मायोपिया भए आँखामा अन्य खराबी हुने सम्भावना पनि बढदै जान्छ । यस्तो अवस्थामा रेटिनामा डिजेनरेसन र कोर्नियामा क्रयाक भई दृष्टि घट्दै जाने सम्भावना हुन्छ । मायोपिया भए रेटिनल डिटेचमेन्ट हुने खतरा सामान्यभन्दा बढी हुन्छ । जलबिन्दु हुने सम्भावना पनि सामान्य व्यक्तिमा भन्दा बढी हुने डा. साह औंल्याउँछन् ।


रोकथाम

बालबालिकालाई मोबाइल, टयाब, टेलिभिजन वा कम्प्युटर लगायतका कुनै पनि ‘स्क्रिन’ अगाडि बसिरहन दिनु हुन्न । उनीहरूले स्क्रिनअगाडि बिताउने समय २४ घण्टामा दुई घण्टाभन्दा बढी हुनै हुँदैन ।

अझ दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई त स्क्रिनको सम्पर्कमै राख्न नहुने औंल्याउँदै डा. अधिकारी बालबालिकालाई घरबाहिर बस्ने, खेल्ने जस्ता गतिविधिमा प्रोत्साहित गर्नुपर्ने बताउँछिन् ।

केही अध्ययनका अनुसार, सूर्यको प्रकाशको कमीले मायोपिया हुने सम्भावना बढ्ने गर्छ । यो समस्या नहोस् भन्न कम्तीमा तीन घण्टा घामको उज्यालोमा बस्नु आवश्यक छ । यसो गर्ने गर्दा मायोपियालाई रोक्ने रसायन डोपामाइन बन्ने गर्छ ।

बालबालिकामा भएका विभिन्न अध्ययनले के देखाएका छन् भने, सूर्यको प्रकाशको बढी सम्पर्कमा रहने बालबालिकालाई अन्यको दाँजोमा चस्माको आवश्यकता कम हुन्छ । सम्भवत: यसको कारण सूर्यको प्रकाशबाट भिटामिन ‘डी’ प्राप्त हुनु हो । यो भिटामिनले रोग प्रतिरोधक प्रणाली बढाउनुका साथै मस्तिष्क र आँखालाई स्वस्थ रहन सघाउँछ ।

सूर्यको प्रकाशले सीधा आँखामै डोपामाइन उत्पन्न गराइदिन्छ । आँखालाई स्वस्थ राख्न डोपामाइनले महत्त्वपूर्ण भूमिका खेल्छ ।


स्कुल जानुअघि अनिवार्य दृष्टि परीक्षण

अभिभावकले आफ्ना बालबालिकालाई स्कुल भर्ना गर्नुअगावै अनिवार्य रूपमा दृष्टि परीक्षण गराउनुपर्ने सल्लाह नेत्र रोग विशेषज्ञहरू दिन्छन् ।

डा. शर्माका अनुसार, स्कुल जानुअघि एक पटक दृष्टि परीक्षण गरेपछि मायोपिया भएको पत्तो लागे त्यस्ता बालबालिकालाई ६–१५ वर्षबीच हरेक ६ महिनामा दृष्टि परीक्षण गराउनुपर्छ । १६ वर्ष कटेपछि चाहिँ त्यस्तो परीक्षण वर्षमा एक पटक मात्रै गराउँदा हुन्छ ।

१८–२० वर्ष पुगेपछि मायोपिया बढ्ने क्रम करिब ९० प्रतिशत सकिन्छ । अझ २५ वर्ष पुगेपछि ९५ प्रतिशतभन्दा बढी व्यक्तिको चस्माको पावर बढदैन ।

सामान्यत: स्कुल जानुअघि, त्यसपछि ८–९ वर्षको उमेरमा, त्यसपछि १३–१४ वर्षको उमेरमा र महिला भए १८–१९ वर्ष एवं पुरुष भए २१–२२ वर्षको उमेरमा आँखा जाँच गराउनु राम्रो मानिन्छ ।

मायोपिया धेरैजसो बाल्यकालमा सुरु हुन्छ । महिलामा १८–१९ वर्षसम्म र पुरुषमा २१–२२ वर्षसम्म यो रोग बढिरहने सम्भावना रहन्छ ।


लक्षण

  • टाढाको वस्तु धमिलो देख्नु
  • पुस्तक आँखानजिक ल्याएर पढनु
  • टेलिभिजन/फिल्म हेर्न वा कक्षाकोठामा अगाडि बस्नु
  • स्कुलको ब्ल्याक/ह्वाइट बोर्ड प्रस्ट नदेख्नु
  • परेला आवश्यकताभन्दा बढी झिम्क्याउनु
  • आँखा माडिरहनु
  • आँखामा तनाव हुुनु
  • टाउको दुख्नु
  • घरबाहिर खेल्दा थाकेको अनुभव गर्नु


[email protected]

प्रकाशित : पुस २८, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?