केपी ओलीको छैटौं जित : दोब्बरभन्दा बढी मतान्तरले विजयी- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केपी ओलीको छैटौं जित : दोब्बरभन्दा बढी मतान्तरले विजयी

अर्जुन राजवंशी, पर्वत पाेर्तेल

बिर्तामोड — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी गठबन्धनअन्तर्गत कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८५७६ मतान्तरले पराजित गर्दै संसदीय निर्वाचनमा छैटौं पटक निर्वाचित भएका हुन् ।

बुधबार सम्पन्न मत गणनामा ओलीले ५२३१९ मत पाए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अधिकारीले २३७४३ मत मात्र पाए । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले २०७४ को निर्वाचनमा पनि अधिकारीलाई नै पराजित गरि प्रतिनिधिसभामा निर्वाचित भएका थिए । झापामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संग चुनावी तालमेल गरेको थियो ।

ओली २०६४ को पहिलो संविधानसभा चुनावबाहेक २०४८ यताका सबै चुनावमा झापाबाट निर्वाचित हुँदै आएका छन् । उनी ०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा झापा क्षेत्र नं. ६ बाट निर्वाचित भएका थिए । ओली ०५६ मै झापा २ बाट समेत निर्वाचित भएका थिए ।

ओली ०६४ को संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं. ७ बाट पराजित भएका थिए । उक्त निर्वाचनमा माओवादीका विश्वदीप लिङ्देन निर्वाचित भएका थिए । ०७० मा संविधानसभाको दोस्रो निर्वाचनमा ओली झापा क्षेत्र नं. ७ बाट निर्वाचित भएका थिए । राज्य पुर्नसंरचनापछि साविकको ६ र ७ नम्बर हाल झापा ५ भएको छ । झापा ५ बाट ०७४ उनी सर्वाधिक मतकासाथ निर्वाचित भएका थिए । १ लाख ५४ हजार दुई सय ८९ मतदाता रहेको यो क्षेत्रमा १ लाख २ हजार १ सय ५० मत खसेको थियो ।

प्रकाशित : मंसिर ७, २०७९ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्

रोल्पा प्रदेश- १ (२) मा स्वतन्त्रका पुन विजयी

काशीराम डाँगी

रोल्पा — रोल्पा-१ (२) मा प्रदेशसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै स्वतन्त्रतर्फका उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार दिपेन्द्रकुमार पुनले १४ हजार ९ सय २७ मत प्राप्त गरेर विजयी भएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले गठबन्धनका साझा उम्मेदवार कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनलाई ४ हजार ५ सय २१ मतान्तरले जितेका हुन्।

अमरसिंहले १० हजार ४ सय ६ मत पाएका छन्। विजयी दिपेन्द्रले आफ्नै पार्टीको निर्णय र गठबन्धनको निर्णय विरुद्ध बागी उम्मेदवारी दिएका थिए। उनको जित प्रति प्रतिक्रिया दिँदै कांग्रेसले गठबन्धनलाई धोका भएको जनाएको छ।

उम्मेदवारी दिनुअघि दिपेन्द्रले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएका थिए। उनी पोलिट्ब्युरो सदस्य, रोल्पा इन्चार्ज र घाइते अपांग तथा द्वन्द्व पीडित समितिका केन्द्रीय इन्चार्ज पनि थिए।

तेस्रोमा एमालेका प्रेम बहादुर घर्तीले ८ हजार ८ सय ५ मत पाएका छन्। यस क्षेत्रमा राप्रपाका सेते दमाईले ४ सय ७६ र राप्रपा नेपालका केशरबहादुर पुनले २ सय ७४ मत पाएका छन्। उक्त क्षेत्रमा ३६ हजार ८ सय ६२ मत खसेकोमा बदर मत १ हजार ९ सय ७४ छ।

प्रकाशित : मंसिर ७, २०७९ १८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×