प्रतिनिधिसभा प्रत्यक्षमा २२५ महिला प्रतिस्पर्धामा- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभा प्रत्यक्षमा २२५ महिला प्रतिस्पर्धामा

१६५ निर्वाचन क्षेत्रका २ हजार ४ सय १२ उम्मेदवारमध्ये ९ प्रतिशत मात्रै महिला, काठमाडौं उपत्यकामै ५५ जना
बबिता शर्मा, मधु शाही

काठमाडौँ — प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमा २ हजार ४ सय १२ उम्मेदवारमध्ये २ सय २५ महिला प्रत्यक्ष उम्मेदवार छन् । यो जम्मा ९ प्रतिशत हो । राजधानीका १५ क्षेत्रमा ३ सय ६० उम्मेदवारमध्ये ५५ जना महिला छन्– दलका २९, स्वतन्त्र २६ । राजधानीका कुल प्रतिनिधिसभा उम्मेदवारमध्ये १५ प्रतिशत महिला छन् ।

प्रतिस्पर्धामा पूर्वसभामुख, मन्त्री र युवासमेत भएका छन् । काठमाडौं–२ मा तीन महिला उम्मेदवार चर्चामा छन् । माओवादीबाट पूर्वसभामुख ओनसरी घर्ती, राप्रपाका कुन्तीदेवी पोखरेल (उपाध्याय) र राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमबीच तीव्र प्रतिस्पर्धा छ । तीन महिला उम्मेदवारको मुख्य प्रतिस्पर्धा एमाले उम्मेदवार मणिराम फुयालसँग छ ।

रोल्पा घर भएकी घर्तीलाई ‘टुरिस्ट’ उम्मेदवारको आरोप प्रतिस्पर्धीले लगाएका छन् । तर, उनले विकास गर्न सबै भूगोल समान भएको बताएकी छन् । ‘काम गर्ने व्यक्तिलाई भूगोलले छेक्दैन, उम्मेदवार भइसकेपछि काठमाडौं–२ पनि उत्तिकै प्यारो छ,’ उनले भनिन् । उनले मुख्यतः सांसदको काम नीति, नियम र कानुन बनाउने भए पनि जनताको विकासप्रतिको तीव्र आकांक्षा पूरा गर्न सांसदले भूमिका खेल्न सक्नुपर्ने बताइन् ।

राप्रपाकी केन्द्रीय सदस्य पोखरेलको उद्यमी र समाजसेवा पृष्ठभूमि छ । उनी पहिलो पटक संसद्मा पुग्ने जर्मको गर्दै छिन् । बाहिरबाट आएका नेताले राजनीतिलाई व्यवसाय बनाएको आरोप लगाउँदै उनले राजनीतिमार्फत जनताको सेवा गर्ने दाबा गरेकी छन् । ‘टुरिस्ट नेताले यो क्षेत्रलाई रुकुम–रोल्पा बनाए,’ उनी भन्छिन्, ‘बाटो छैन, पानी छैन । यो देखेर आफ्नो ठाउँ आफैं बनाउन उठ्नुपरेको हो ।’ उनको निर्वाचन क्षेत्रमा पार्टी र स्वतन्त्र गरी ३० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । उनले प्रतिस्पर्धीमा विकासका दरिला एजेन्डा नभएको बताइन् । गैससकी महासचिव, जागरण महिला सशक्तीकरण अभियानकर्ता र गार्मेन्ट उद्योग व्यवसायीसमेत रहेकी कुन्तीदेवीले समाज विकासका सबै पक्षमा आफू योग्य रहेको बताइन् ।

स्वतन्त्र पार्टीकी उम्मेदवार गौतमले प्रमुख दलविरुद्ध चुनौती दिएकी छन् । युवाका योजना, सपना र देशप्रतिको दायित्वबोधसहितका मुद्दा उनले मतदातामाझ राख्दै आएकी छन् । उनलाई चुनावी घरदैलो अभियानमा सघाउने पुस्ता पनि युवा नै छन् । त्यसमा पनि कला क्षेत्रका सेलेब्रिटीले उनलाई साथ दिएका छन् । कार्कीले आफ्नो निर्वाचन क्षेत्रका अरू प्रतिस्पर्धीभन्दा भिन्न मत राख्छिन् । उनी पुरानो शैलीमा जनतालाई ‘यो ल्याइदिन्छु र त्यो ल्याइदिन्छु’ भनी झूटो आश्वासन दिएर मत नमागेको बताउँछिन् ।

उम्मेदवारको काम जनताको समस्या सुन्ने र सदनमा पुगेपछि त्यसको कार्यान्वयनका लागि नीति बनाउन पहल गर्ने भएको उनको बुझाइ छ । सांसदले नेतृत्व कम र ठेक्का प्रवृत्ति बढी गरेको उनको भनाइ छ । ‘हामीले वर्षौंदेखि खानेपानी ल्याइदिन्छौं भन्दै भोट मागेका नेता देख्यौं,’ उनले भनिन्, ‘खासमा त्यो ठेकेदारको काम हो, नेताको होइन । जनता र देशको हित हुने नीति बनाउन पुराना नेता आएनन्, मैले त्यो पुष्टि गर्नु छ ।’

काठमाडौं–५ मा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेसका प्रदीप पौडेलसँग स्वतन्त्र उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) प्रतिस्पर्धा गर्दै छिन् । विवेकशील साझा पार्टीबाट ०७४ मा काठमाडौं महानगरको प्रमुखमा प्रतिस्पर्धा गरेर चर्चा कमाएकी न्यौपाने यसपटक प्रतिनिधिसभामा उम्मेदवार बनेकी हुन् । उनले भनेकी छन्, ‘नैतिकता मानवताको कोटी हो, अबको आशा सेलरोटी हो ।’ आफू सेलरोटी व्यवसायीसमेत भएकी उनको चुनाव चिह्न पनि सेलरोटी हो । २१ वर्षको उमेरमा महानगर प्रमुखमा प्रतिस्पर्धा गर्दा उनले २३ हजार ४ सय ३९ मत प्राप्त गरेर तेस्रो भएकी थिइन् ।

काठमाडौं–७ मा माओवादी केन्द्रकी ३६ वर्षीया मानुषी यमी भट्टराई उम्मेदवार छिन् । उनी आफू लैंगिक रूपमा महिला भए पनि घरदैलोमा मतदातामाझ पुग्दा युवाको काँधले देश सम्हाल्नुपर्ने भाव पाएको बताइन् । घरदैलोका क्रममा मतदाताले नयाँ कार्यशैलीको खोजी गरिरहेको उनले बताइन् । ‘मतदाताले मलाई उम्मेदवारका रूपमा मात्रै हेरेका छैन, छोरीचेली भन्दै माया गरेका छन्,’ उनले भनिन्, ‘विश्वास छ, उहाँहरूको मायाले सदनसम्म पुर्‍याउँछ ।’ उनका बुबा बाबुराम भट्टराई र आमा हिसिला यमीको विरासत लिँदै यस पटक उम्मेदवार भएकी छन् । उनका बुबा र आमा दुवै यस पटक उम्मेदवार छैनन् ।

काठमाडौं–९ मा माओवादीकी कल्पना धमला र जसपाकी शर्मिला सुवाल (डंगोल) महिला उम्मेदवार छन् । दुवैले एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठसँग प्रतिस्पर्धा गर्दै छन् । धमला आफूसँग प्रतिस्पर्धा गर्ने कुनै पनि उम्मेदवार नरहेको दाबी गर्छिन् । महिलाभन्दा पनि सक्षम उम्मेदवार भन्न रुचाउने धमलाले क्षमताका आधारमा जित हुने बताइन् ।

धमलाका अनुसार काठमाडौं–९ मल्लकालीनसँगै आधुनिक सभ्यतासमेत बोकेको क्षेत्र छ । यहाँ यिनै सभ्यता जोगाउँदै ऐतिहासिक सहर बनाउने उनको लक्ष्य छ । त्यस्तै, वाग्मती नदीलाई सफा बनाउने, सामुदायिक विद्यालयलाई बुढानीलकण्ठजस्तो नमुना स्कुल बनाउने, अत्याधुनिक मोबाइल अस्पताल बनाएर टोलटोलमा स्वास्थ्य सेवा पुर्‍याउनेलगायत योजना उनले अघि सारेकी छन् । उनका प्रतिस्पर्धीले पनि आफूले जित्ने दाबी गरेका छन् ।

काठमाडौं–१० मा माओवादीकी अन्जना विशंखे एक्ली महिला प्रतिस्पर्धी हुन् । एमालेका हिमेश केसी र कांग्रेसका राजेन्द्रकुमार केसीलाई चुनौती दिन सक्षम रहेको उनी बताउँछन् । पहिलो पटक प्रत्यक्ष निर्वाचनमा सहभागी हुन पाएकी उनले विगतमा जितेका नेताले विकासको सिन्को नभाँचेको आरोप लगाएकी छन् । सिंहदरबारबाट दस किलोमिटर मात्रै परको कीर्तिपुरलगायत भूभाग नेताहरूको बेवास्ताका कारण ओझेल परेको उनको तर्क छ । यहाँको संस्कृति, सम्पदा र प्राकृतिक संरक्षणमात्रै गर्न सके विकास असम्भव नहुने उनको दृष्टिकोण छ ।

‘कीर्तिपुरका महिला अझै पनि हाकुपटासी बुनेर जीविकोपार्जन गर्नुहुन्छ,’ उनी भन्छिन्, ‘यहाँको सीपलाई उद्यमशीलतासँग जोड्ने सपना छ ।’ त्यस्तै, बिरामी पर्दा वीर अस्पताल धाउनु पर्ने बाध्यता छ । ललितपुर–३ मा माओवादीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट तोसिमा कार्की महिला उम्मेदवार छन् । भुसाल मन्त्री निवासमै बसेर चुनावी मोर्चामा सहभागी छिन् । आफ्नै निर्वाचन क्षेत्रमा पर्ने भएकाले उनले मन्त्री निवास छाडेर चुनावी तयारीमा कतै जान परेको छैन । विगतमा जनप्रतिनिधिको हैसियतमा राम्रो काम गरेकाले मतदाताले त्यसको सम्मान गर्ने उनको विश्वास छ ।

यो क्षेत्रमा दलका १३ र स्वतन्त्रबाट ७ जना छन् तर मुख्य प्रतिस्पर्धा भुसाल, एमालेका अमृत खड्का र स्वतन्त्र पार्टीकी कार्कीबीच हुने देखिन्छ । भुसालले शिक्षा, स्वास्थ्य, रोजगारी, सम्पदा संरक्षणलगायत विषयलाई

आफ्नो चुनावी एजेन्डा बनाएकी छन् । ‘अबको पाँच वर्षमा ललितपुरवासीका लागि गुणस्तरीय जीवन जिउने आधार तयार हुनेछ । त्यसका लागि पर्यटनमा आधारित अर्थतन्त्र, समतामूलक समाज र स्वच्छ पर्यावरणलाई तत्काल विशेष प्राथमिकता दिन हामी प्रतिबद्ध छौं,’ भुसालले आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेकी छन् ।

भुसालजस्तै राष्ट्रिय राजनीतिमा चर्चामा नआए पनि खड्का स्थानीय मतदातासँग परिचित र अन्तरसंवादमा छन् । भुसाल र खड्का दुवैका लागि स्वतन्त्र पार्टीकी कार्की चुनौती छिन् । उनले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीलाई चुनावी एजेन्डा बनाएकी छन् । यसबाहेक स्वतन्त्र उम्मेदवार राजाराम तन्डुकार पनि चर्चामा छन् ।

कुन पार्टीका कति ?

एमाले : ११

सुनसरी– ३ भगवती चौधरी, उदयपुर–१ मञ्जुकुमारी चौधरी, धनुषा–३ जुलीकुमारी महतो, बारा–३ ज्वालाकुमारी साह, कास्की–२ विद्या भट्टराई, स्याङ्जा–२ पद्‍मा अर्याल, बागलुङ–२ मञ्जु शर्मा, दाङ–१ शान्ता चौधरी, दाङ–३ कोमल वली, डोटी गौरीकुमारी ओली र कञ्चनपुर–३ नीरुदेवी पाल

कांग्रेस : ५

तेह्रथुम–१ सीता गुरुङ, मोरङ–२ सुजाता कोइराला, सिरहा–२ चित्रलेखा यादव, मकवानपुर–१ महालक्ष्मी उपाध्याय (डिना) र अर्घाखाँची–१ पुष्पा भुसाल (गौतम)

माओवादी : ८

काठमाडौं–१० अन्‍जना विशंखे, काठमाडौं–२ ओनसरी घर्ती, काठमाडौं–७ मानुषी यमि भट्टराई, काठमाडौं–९ कल्पना धमला, ललितपुर–३ पम्फा भुसाल, दाङ–२ रेखा शर्मा, जुम्ला गोमा गौतम (कुँवर) र कञ्चनपुर–१ बिना मगर

एकीकृत समाजवादी : १

गुल्मी–२ रामकुमारी झाँक्री

जसपा : ७

झापा–१ राधा थापा, झापा–५ ओममाया आङदेम्बे, काठमाडौं–९ शर्मिला सुवाल (डंगोल), कास्की–१ शर्मिला नेपाली मंग्राती, कास्की–२, बुद्धिकुमारी गुरुङ, तनहुँ–१ पासाङ थापामगर र पाल्पा–२ दुर्पता सोमै

स्वतन्त्र पार्टी : १२

सुनसरी–१ गोमा तामाङ, ओखलढुंगा–१ शोभा कार्की, महोत्तरी–१ खेमकुमारी भुर्तेल, रामेछाप–१ समीक्षा श्रेष्ठ, सिन्धुली–१ मेनुका ठकुरी, धादिङ–२ बसुमाया तामाङ, काठमाडौं–२ सोविता गौतम, ललितपुर–३ तोसिमा कार्की, सिन्धुपाल्चोक–२ माया गुरुङ, चितवन–३ जिता बराल, बागलुङ–२ तिला खत्री र कपिलवस्तु–१ सन्‍जुसिंह विष्‍ट

प्रकाशित : मंसिर १, २०७९ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल एयरलायन्सले भैरहवाबाट दिल्ली उडान गर्ने

सुरज कुँवर

काठमाडौँ — नेपाल वायुसेवा निगमले मंसिर १२ गतेदेखि भैरहवास्थित गौतम बुद्द अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार, पहिलो चरण अन्र्तगत नोभेम्बर २८ (मंसिर १२) मा सोमबार एउटा उडान हुने छ । त्यसपछि डिसेम्बर (मंसिर १५) पछि सातामा दुई दिन बुधबार र शुक्रबार निगमको विमानले भैरहवाबाट पनि उडान गर्ने छ ।

नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार, अहिले निगमको काठमाडौंबाट उडेको विमान दिल्ली पुगेर भैरहवा फर्किने छ । त्यहाँबाट यात्रु ओरालेर काठमाडौं फर्किने छ ।

उनका अनुसार, यात्रुको चाप बढ्दै वृद्धि भएपछि निगमले भैरहवाबाट सिधा दिल्ली उडान गर्ने जनाएको छ ।

निगमले भैरहवाबाट उडान अनुमति लिएसँगै प्राधिकरणले यसअघि जारी गरेको शितकालीन अन्तर्राष्ट्रिय उडान तालिकामा काठमाडौंबाट कटौती गरिएका निगमका दिल्ली लगायतका क्षेत्रका उडान फुकुवा गरिदिएको सहायक प्रवक्ता भूलले बताए ।

निगमलाई प्राधिकरणले भैरहवाबाट १ सय ५७ यात्रु क्षमताको एयरबस ए३२० न्यरोबडी र २ सय ७४ सिट क्षमताको एयरबस ए३३० वाइडबडीबाट उडान गर्ने अनुमती दिएको छ । उसले यात्रुको माग अनुसार यो रुटमा उडान गर्ने छ । हाल भैरहवाका लागि कुवेतको जजिरा एयरवेजको १ सय ६२ यात्रु क्षमता भएको न्यरोबडी उडाउँदै आइरहेको छ ।

निगम अघि यति एयरलायन्ससँगको चिनियाँ साझेदारीमा नेपालमा स्थापना भएको हिमालय एयरलायन्सले भैरहवाबाट कार्तिक १७ गतेदेखि मलेसिया चार्टर उडान गरीरहेको छ । मलेसियासँग नेपालले भैरहवाका लागि हवाई सम्झौता नगरेकाले उक्त रुटमा हाल चार्टरका रुपमा हिमालयले उडान गर्नुपरेको हो । तर, भारतसँगको हवाई सम्झौतामा विमानस्थलको नाम नतोकेकाले निगमले दिल्ली–भैरहवा नियमित उडान गर्ने छ ।

निगमसँगै अब भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने तीन वायुसेवा हुने भएका छन् ।

सम्बन्धित समाचारहरू :

प्रकाशित : मंसिर १, २०७९ १०:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×