कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

‘ए आमा ! जाम भन्यो मलाई, पल्टने लाहुरेले’

स्याङ्जाका एकनारायण भण्डारीले २४ वर्षमा करिब सात सय गीत लेखिसकेका छन् । यो अवधिमा गीत–संगीतको दुनियाँ रिलवाला क्यासेटबाट रिल र टिकटकमा पुगिसकेको छ । अहिले कुनै पनि गीत हिट हुन युट्युब, टिकटक, रिल र सर्ट्स आवश्यक भएको छ । उनी भन्छन्, ‘भोलि कस्तो प्रविधि आउने हो, थाहा छैन ।’
विमल खतिवडा

काठमाडौँ — जब कुनै गीत दर्शक–श्रोताले अत्यधिक रुचाउँछन्, तब त्यो गीतका गायक–गायिका चर्चाको शिखरमा पुग्छन् । गीतको भिडियोमा देखापर्ने मोडलको अनुहार सबैले चिन्छन् । तर, शब्द–शब्द जोडेर त्यसलाई गीतको रूप दिने गीतकार भने सधैंजसो ओझेलमै पर्छन् । एउटा गीत हिट हुन जति गायक–गायिकाको भूमिका हुन्छ, गीतकारको त्योभन्दा कम हुँदैन । तर, तिनै गीतकार दर्शक–श्रोतामाझ भने अपरिचित नै रहिरहन्छन् । त्यसको एउटा उदाहरण हुन् गीतकार एकनारायण भण्डारी । 

‘ए आमा ! जाम भन्यो मलाई, पल्टने लाहुरेले’

स्याङ्जाको पकवादीस्थित गेझामा जन्मिएका भण्डारीले रचना गरेका कैयौं लोकदोहोरी, आधुनिक र फिल्मी गीत निकै चर्चित छन् । तीमध्ये अधिकांश कसै न कसैका मनपर्ने गीतको सूचीमा छन् । कतिपय आममानिसको जिब्रोमा झुन्डिइरहेका हुन्छन् । तर तिनै गीत मन पराउने अनि सुन्दै र गाउँदै हिँड्नेहरू अधिकांशलाई भने उनको अनुहार थाहा छैन । बाटोघाटोमा कतै ठोक्किए पनि चिन्दैनन् उनलाई ।

भण्डारीले ‘मुरलीको धुन’ एल्बमको ‘देउरालीमा हावा चल्यो...’ गीतबाट आफ्नो नामको अगाडि गीतकार लेख्न पाएका हुन् । लोकदोहोरी गायक बुद्धिसागर बस्यालले २०५७ सालमा गाएको गीत हो यो । त्यसयता उनी निरन्तर गीत लेखनमा सक्रिय छन् । अनि, परिचय थपिएको पनि छ उनको संगीतकारका रूपमा । ‘देउरालीमा हावा चल्यो...’ पछि उनकै रचनामा बस्यालले ‘डाँफे नाचेर, फूल कहाँ फुल्छ र हाँगै भाँचेर...’ गाए, उतिबेलाको निकै हिट गीत । त्यही गीतका कारण उनको नाम क्यासेट (एल्बम) मा अटाएको थियो । जसका कारण गाउँमा उनको चर्चा भयो ।

तस्बिरहरू : दीपक केसी/कान्तिपुर

भण्डारी सानै छँदादेखि नै गीत–संगीतमा रुचि राख्थे । हजुरआमाले तीजको गीत गुनगुनाउने र हजुरबाले सबेरै उठेर संस्कृतका श्लोकलाई गीतिलयमा वाचन गर्दै पूजापाठ गर्नु हुन्थ्यो । यो दृश्य र आवाजले उनको ध्यान सधैं खिच्थ्यो । पूजाआजामा गाउँघरमा रोइला गीत गाएर नाच्ने–गाउने चलन हुन्थ्यो । ‘तर, म अलि लजालु स्वभावको थिएँ,’ भण्डारीले भने, ‘अरू गीत गाएकै ठाउँमा नाच्थे । म त लाजले घर पछाडि गएर नाच्थें ।’ अहिले भने उनको घर गल्याङ नगरपालिका–९ सम्पासमा छ । ‘त्यो बेला मलाई दोहोरीमा गायक–गायिकाले तुरुन्तै प्रश्नको उत्तर गीतमा कसरी दिन सक्छन् भन्ने लाग्थ्यो,’ उनी भन्छन्, ‘त्यसैले बाटोमा हिँड्दा पनि आफैं केटा–केटी दुवै बनेर दोहोरी गाउँदै त्यसको जवाफ फर्काउन सिक्थें ।’ लोकदोहोरी र आधुनिक गीतमा मात्र होइन, फिल्ममा सफल गीतकारका रूपमा ब्रान्ड बनाउन निकै संघर्ष गरेका छन् भण्डारीले ।

‘हाम्रो घरभन्दा तल टल्के दाइको आरन थियो । दाइले दिनभर रेडियो बजाउनु हुन्थ्यो । रेडियो सुनेर बमबहादुर कार्कीको नयाँ गीत आयो, अब प्रेमराजा महतले कस्तो गीत ल्याउनु हुन्छ, दुई जनाको प्रतिस्पर्धा छ भन्दै रेडियोमा बजेका गीतबारे सुनाउनु हुन्थ्यो,’ उनी पुराना कुरा सम्झन्छन्, ‘दाइको एउटा हात कमजोर थियो । उहाँलाई सघाउँदै म रेडियोमा बज्ने गीत सुन्ने गर्थें ।’ टल्के दाइलाई रेडियोमा सुनेकाले लोकदोहोरी कलाकारबारे धेरै थाहा थियो । ‘उहाँले पोखरा जाँदा प्रेमराजा महतलाई टाढाबाट देखें भनेर मलाई सुनाउनु हुन्थ्यो,’ उनी भन्छन्, ‘मलाई पनि सबैले चिन्ने मान्छे बन्न पाए टल्के दाइले झैं धेरैले प्रशंसा गर्छन् भन्ने लाग्थ्यो ।’

स्नातक पढ्न काठमाडौं आएपछि उनी गीत–संगीतको नशामा भुल्न थाले । उनलाई त्यो बेला एकदमै मनपर्ने संगीतकार थिए, सुरेश अधिकारी । अधिकारीसँग भेट गराइदिने काम बस्यालले नै गरिदिए । बस्यालसँग भने गाउँमै आयोजित एक सांस्कृतिक कार्यक्रममा भेट भएको थियो भण्डारीको । त्यहाँ उनले कविता सुनाएका थिए । उनको रचना क्षमता देखेर बस्यालले केही गीत आफ्ना एल्बममा राखेर गाए । जुन दर्शकले रुचाए पनि ।

‘मलाई आधुनिक र फिल्मको गीत लेख्न मन थियो । अधिकारी दाइसँग भेटेपछि हौसला दिनुभयो,’ उनले भने । पछि उनको अधिकारीसँगको सम्पर्क बढ्यो । ‘अधिकारी दाइले भनेपछि ‘धड्कन’ फिल्मका लागि ‘मेरो मनैको फूल टिपी...’ गीत लेखें,’ उनले भने, ‘फिल्ममा लेखेको मेरो पहिलो गीत थियो, जुन सुपरहिट भयो ।’ त्यही फिल्ममा गीत लेखेबापत उनले पहिलो पटक पारिश्रमिक पनि पाए ५ सय रुपैयाँ । ‘पारिश्रमिक पाएपछि एकदमै खुसी भए । त्यो मेरा लागि पाँच लाख बराबर नै थियो,’ उनी भन्छन् ।

‘धड्कन’ फिल्मको गीतले सांगीतिक क्षेत्रमा राम्रै गीतकारका रूपमा उभ्याइदियो भण्डारीलाई । ‘अहिले पनि यो गीत मन पराउनेहरू भेट्ने गर्छु,’ उनले भने, ‘धेरैले गीत राम्रो भनेर तारिफ गर्दा खुसी लाग्छ ।’ अधिकारीले उनलाई गायक हेमन्त शर्मासँग पनि भेट गराइदिए । शर्माको ‘लोकप्रिय’ एल्बममा तीन वटा गीत लेखे उनले ‘ती गीत उहाँले क्यासेटको ‘बी’ साइडमा राख्नु भएछ । गीत राम्रै थिए तर कम चले,’ उनले भने, ‘पछि फेरि अर्को एल्बमका लागि गीत लेख्दा एक नम्बरमा राख्नुभयो ।’ एल्बमका एक र दुई नम्बरमा अटाए उनले लेखेका ‘मूल हौ भने रसाइदेऊ...’ र ‘आउँदै गर मालती...’ । दुवै गीत निकै चले । ‘एउटै एल्बममा आधुनिक गीत ६/७ वटा हुन्थे, बीचमा हुने गीतको ख्याल दर्शक–श्रोताले कमै गर्थे,’ उनी भन्छन्, ‘एक र दुई नम्बरमा राखेका गीत प्रायः दर्शक–श्रोताले सुन्ने गर्थे ।

त्यसपछि उनको गीत लेख्ने सक्रियता झन् बढ्यो । ‘फिल्ममा गीत लेख्नेको नाम हराउँदा भने दुःख लाग्ने गरेको उनको गुनासो छ । ०६२ सालमा विन्दावासिनी म्युजिक कम्पनीको एल्बम ‘सुवास’ मा उनकै शब्द र संगीतमा ‘म ढलें...’ र ‘आमाले घाँस काट्दै गर्दा...’ गीत आए । ‘म ढलें...’ स्वरूपराज आचार्य र ‘आमाले घाँस काट्दै गर्दा...’ गीतमा शिशिर योगीको स्वर छ । यी दुवै गीत राम्रै चले । त्यो बेलासम्म काठमाडौं बस्ने र पढ्ने खर्च लिन घर जाने गर्थे उनी । त्यही क्रममा भण्डारीका मामाका छोराहरू मधुसुदन र सुशील अर्यालसँग भेट भयो । ‘आफैंले लगानी गरेर एल्बम निकाल्न पाए रोयल्टी आउने र कमाइ राम्रो हुने बताए उनले । ‘लगानी गर्ने पैसा छैन भनेपछि उहाँहरू खोजिदिन इच्छुक देखिनुभयो ।’

त्यसपछि उनले आफ्नो रचना र भाकामा ‘छमछम पाउजुले...’ ल्याए । जुन गीत बुद्धिसागर बस्याल र सिन्धु मल्लले गाए । ‘गीत राम्रो चल्यो, गीतबाट आएको पैसाले ऋण तिरें, ५/६ महिनाका लागि खाने, बस्ने, पढ्ने पैसा पनि जम्मा भयो,’ उनी भन्छन्, ‘थोरै पैसा बैंक ब्यालेन्स पनि गरें ।’ तर पनि यो क्षेत्रमा भविष्य छ/छैन भन्ने चिन्ताले सताउन भने छाडेन । ‘गीत–संगीतमा काम गर्न तीव्र इच्छा छ तर यसले जीवन चल्दैन भन्ने भयो ,’ उनले भने, ‘अग्रजहरूको अवस्था पनि बुझें । त्यसपछि म्युजिक कम्पनी खोलेर आफ्ना गीत आफैं निकाल्ने निर्णयमा पुगें ।’

२०६४ सालमा उनले सितारा म्युजिक कम्पनी खोले । आफ्नै कम्पनीबाट विमलराज क्षत्री र विष्णु माझीको स्वरमा ‘सुपारी चाम्रो...’ ल्याए । गीत लोकप्रिय भयो । ‘त्यही गीतपछि मलाई काठमाडौंमा टिक्न गाह्रो भएन,’ उनले भने, ‘आफ्ना गीत आफैं निकाल्दै गएँ ।’ आफ्नै कम्पनीबाट आफैंले रचेको जगदीश समालको स्वरमा ‘आओ यादहरू...’ सार्वजनिक गरे उनले । ‘अध्याय’ एल्बममा रहेको भण्डारीकै शब्द र संगीतमा अञ्जु पन्तले गाएका ‘तिर्खा लायो पानी खाएँ ...’, ‘मलाई बाँसुरीले रुवायो...’, ‘अँधेरीजस्तै जुन...’ ले तहल्का मच्चाए । त्यही एल्बमको स्वरूपराज आचार्यको स्वरको ‘जोडेको नाता तोडेर गयौ...,’ ले पनि बजार खायो । एउटै एल्बमका चार/पाँच वटा गीत हिट भए । त्यसपछि उनले ‘अध्याय २’ ल्याए । एल्बमका ‘मलाई जसले पनि किन रुवाउँछ...’, ‘मरुभूमिमा पानी खोज्ने..’, ‘छातीभरि भाला रोपी...’ गीतले पनि बजार तताए ।

उनको रचना रहेको प्रमोद खरेलको स्वरमा ‘मेरो आँखामा आँसु सुहाउँछ...’ गीतले पनि राम्रै चर्चा पायो । उनको रचनामा प्रमोदले गाएको ‘यो कुरा गोप्य...’ गीत बालबालिकादेखि युवा पुस्तासम्मले रुचाए । जुन गीतको युट्युबमा भ्युज ८ करोड २१ लाखभन्दा बढी छ । भण्डारीका रचनामा विश्व नेपालीको स्वर रहेको ‘मीठो साह्रै मीठो...’, सञ्जीव पराजुलीको स्वर रहेको ‘नाई मलाई थाहा छैन...’ गीतले पनि राम्रै बजार पिटे । ‘नाई मलाई थाहा छैन...’ को भ्युज ७ करोड ६४ लाखभन्दा बढी छ । पछिल्लो समय उनको शब्दमा हेमन्त शर्मा र अस्मिता अधिकारीको स्वरमा ‘निरजाले...’ गीतले राम्रै चर्चा पाएको छ । युट्युबमा यो गीत २ करोड १४ लाखभन्दा बढीले हेरिसकेका छन् ।

लोकदोहोरीतर्फ उनकै शब्द र संगीतमा विभिन्न गायक–गायिकाले स्वर दिएका ‘लालुपाते नुग्यो भुइँतिर...’, ‘फूलमा माहुरी डुल्ने बेलामा...’, ‘जिम्माल बाको आँगनीमा...’, ‘रातो पछ्यौरी...’, ‘बटौलीको बस...’, ‘छिपछिपे पानीमा लेउ...’, ‘पाउजुको छमछम...’ गीतले पनि राम्रै चर्चा बटुले । उनकै शब्द र संगीत रहेको ‘बुट्टे रुमाल...,’ गीत २ करोड ३१ लाख पटक हेरिसकिएको छ युट्युबमा । जसमा स्वर विमलराज क्षत्री र अञ्जु पन्तको छ । आधुनिक र लोकदोहोरीमा मात्र होइन, नेपाली फिल्ममा पनि उनले रचेका गीत चर्चित छन् । ‘देवरबाबु’ को ‘क्यारम मायाले...’, ‘नाई नभन्नु ल–३’ को ‘कम्मरमाथि पटुकी...’, ‘ए मेरो हजुर–३’ को ‘जिन्दगी नै भन्दिन...’, ‘ऐंचोपैंचो’ को ‘काले केटाले...,’ ‘हिम्मतवाली’ को ‘खासै राम्रो नाच्न त जान्दिन...’, ‘मिसन पैसा’ को ‘ढलढल जोवन...,’ ‘महाजात्रा’ को ‘हाम्रो जोडी क्या राम्रो...’ गीत उनैका सिर्जना हुन् ।

‘अहिलेसम्म लोकदोहोरी, आधुनिक, फिल्मका गरेर करिब ७ सय गीत लेखिसकेजस्तो लाग्छ,’ उनी भन्छन्, ‘पछिल्लो समय मेरो रचना र संगीत रहेको रीता थापामगरले गाएको ‘ए आमा जाम भन्यो...’ गीत पनि अहिले चर्चामा छ ।’ भण्डारीले रिलवाला क्यासेट हुँदा गीत लेख्न थाले । अहिले जमाना रिल र टिकटकमा पुगेको छ । त्यसमा गीतको टुक्का राख्दा हिट हुने स्थितिसम्म छ । ‘पहिला रिलवाला क्यासेटको एक नम्बरमा गीत राख्दा हिट हुने भन्ने हुन्थ्यो ।

त्यसपछि गीत हिट हुन भिडियो चाहिन थाल्यो । पछि ‘सीआर बीटी’ र ‘पीआर बीटी’ को जमाना आयो,’ उनी भन्छन्, ‘अहिले गीत हिट हुन युट्युब हुँदै टिकटक, रिलको जमाना सुरु भयो । भोलि कस्तो प्रविधि आउने हो, थाहा छैन ।’

त्यसो त उनले २०७४ को चुनावताका पार्टीका चुनावी गीत पनि लेखे । जुन पार्टी कार्यकर्ताले मात्र गुनगुनाएनन्, आम सर्वसाधारणमाझ पनि लोकप्रिय बने । २०७४ वैशाखमा उनको शब्द र संगीतको ‘सै पनि एमाले, मै पनि एमाले...’ निकै नै चर्चित बन्यो । गीतमा बद्री पंगेनी र प्रिया भण्डारीको स्वर छ । लगत्तै उनले नेपाली कांग्रेसका लागि आफ्नै शब्द र संगीतमा ‘रूखबाट चल्न थाल्यो हावा सरर...’ गीत तयार गरे । यसमा पनि स्वर विमलराज क्षत्री र रितु थापाले दिए । पछि फेरि उनले माओवादी केन्द्रका लागि आफ्नै शब्द र संगीतमा ‘अघि–अघि प्रचण्ड...’ गीत तयार गरे । यसमा बद्री पंगेनी र स्मिता दाहालले स्वर भरेका हुन् ।

‘म पार्टी नै भनेर कतै हिँडेको छैन, सर्जक सबैका हुन्,’ उनी भन्छन्, ‘एमाले पार्टीका लागि तयार पारेको गीत निकै हिट भयो, त्यो बेला मेरो धेरै खोजी हुन्थ्यो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत गीत राम्रो लेखिदिएकामा धन्यवाद दिनुभएको थियो ।’ राम्रो गीत लेखेबापत उनी चितवनमा सम्पन्न पार्टीको केन्द्रीय अधिवेशनमा सम्मानित पनि भए ।

गीत–संगीतमै लागेर जीवन निर्वाह गर्न सकिन्न भन्ने सोचबाट घर/गाडी जोड्ने अवस्थामा आइपुगेका छन् उनी । तर पनि संघर्ष जारी नै रहेको बताउँछन् भण्डारी । प्रायः साँझ, राति र बिहानको एकान्त वातावरणमा गीत कोर्न रुचाउने भण्डारीका केही नयाँ आधुनिक तथा फिल्मी गीत बजारमा आउने तयारीमा छन् । सुरुमा प्रशंसाका लागि गीत–संगीत क्षेत्रमा होमिएका उनी अहिले भने यही क्षेत्रमा केही नयाँ गरौं भन्नेमा छन् । मृत्युपछि पनि आफूलाई गीतसँग जोडेर सम्झिदिए पुग्ने ठान्छन् उनी । ‘मरेपछि पनि दर्शक–श्रोताले मलाई गीतकै कारण सम्झिरहुन् भन्ने लाग्छ ।’

प्रकाशित : जेष्ठ ३१, २०८१ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×