कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

ट्रेकिङ गाइड हुँदै वाइल्डलाइफ फोटोग्राफर

चराकै फोटो खिच्ने क्रममा २०१६ मा काठमाडौंको रानीबारीमा धवल अर्जुनलाई देखेको रेकर्ड प्रताप गुरुङका नाममा छ, सन् १९८५ मा पहिलो र दोस्रो पटक विदेशी नागरिकले देखेको उक्त दुर्लभ चरा ३१ वर्षपछि तेस्रो पटक गुरुङले क्यामरामा कैद गरेका थिए
मनोज पौडेल

कपिलवस्तु — भरिया हुँदै ट्रेकिङ गाइड बनेका प्रताप गुरुङ अहिले मुलुककै उत्कृष्ट वाइल्डलाइफ फोटोग्राफरमा गनिन्छन् । धादिङको नीलकण्ठ नगरपालिका–११, ग्याम्रुङ घर भएका उनी अहिले काठमाडौंको सोह्रखुट्टे नजिकै नयाँबजारमा बस्छन् । उनका आँखा जति तेजिला छन्, कान पनि उस्तै चनाखा छन् । सुँघ्ने शक्ति पनि अद्भुत छ । परपरसम्मका गतिविधि आँखा र कानले सजिलै खुट्याउँछन् ।

ट्रेकिङ गाइड हुँदै वाइल्डलाइफ फोटोग्राफर

बाघको दिसापिसाबको गन्धबाट उसको आवतजावत हुने ठाउँ पत्तो पाउँछन् । कानमा ठोक्किने वन्यजन्तुको कोकिलकण्ठे आवाजले चरा पहिचान गर्न सक्छन् । उनी तराईका फाँटदेखि हिमालको चुचुरोसम्म पुगेका छन् । सन् २०११ बाट वर्ल्ड वाचिङ गर्दागर्दै चरा, प्रकृति र वन्यजन्तुसँग रमाउन थालेका उनी आफ्नो क्षमता, लगाव र आत्मविश्वासले वाइल्डलाइफ फोटोग्राफरमा उजेलिएको बताउँछन् ।

११ वर्षसम्म निकोनका ४ किसिमका क्यामरा चलाउँदा एउटा पनि बाघको फोटो खिच्न नपाएका उनले सोनी ब्रान्ड चलाएको ७ दिनमै बाघको फोटो खिच्न पाउँदा आफूलाई निकै भाग्यमानी ठानेको सुनाए । ‘त्यही भएर मलाई त सोनी ब्रान्डले फेबर गरिरहेजस्तो लाग्छ,’ उनले भने, ‘अहिले सोनी ब्रान्डलाई असाध्यै माया गर्छु ।’


२०२२ को डिसेम्बरमा नयाँ क्यामरा सोनी ए सेभेन फोर आर किनेर बाघको फोटो खिच्न चितवनको माडी गएको उनले बताए । ‘बिहान ८ बजे घरबाट निस्किएँ । दुई घण्टा हिँडेर रिउ खोला नजिक सुकेभारमा लुकेर बसें । त्यहाँ पुगेको ५ मिनेट पनि भएको थिएन, झोलाबाट क्यामरा झिक्दै थियौं, बाघ खोलाको माझ आइपुग्यो,’ उनले त्यस दिनको वयान गर्दै भने, ‘यसरी पहिलो दिनमै गजबले बाघ साइटिङ भयो । बाघको राम्रै तस्बिर खिच्न पाउँदा दंग परें ।’ बाघ पानीमा रमाएको र हिँडेको तस्बिर आँखैअघि खिच्न पाउँदा निक्कै उत्साहित भएको पनि उनले सुनाए । त्यतिबेला आफूले करिब ४ सय सट त्यस बाघको लिएको उनले बताए । ६० मिटरको दूरीबाट खिचेका सय बढी उत्कृष्ट सट छन् । उनले डेढ वर्षयता उही सोनी ब्रान्डको क्यामेरा चलाइरहेका छन् । अहिले उनी सोनीको ए सेभन आर चलाउँछन् । त्यसमा लाग्ने २००–६०० जुम लेन्स प्रयोग गर्छन् ।


गत वर्ष फेरि माडीमै पोथी बाघको तस्बिर खिच्न सफल भए । ‘पाहुनालाई बाघ देखाउने उद्देश्य थियो,’ उनले भने, ‘पाहुनालाई खिच्न भनेको त उनी हेर्दाहेर्दै आनन्दित भएर खिच्न भुलेछन् ।’ झन्डै ४ मिनेट बाघ त्यहाँ बसेको उनले सुनाए । ‘त्यसबीचमै मैले २० सट फोटो खिचें,’ उनले भने । बाघमात्र नभएर उनले तराईको लो ल्यान्डदेखि हाइल्यान्डसम्मका २५ थरी वन्यजन्तुका तस्बिर क्यामेरामा कैद गरेका छन् । गैंडा, कृष्णसार, चित्तल, बाह्रसिंगा र जरायोदेखि पहाड र हिमालमा पाइने कस्तूरी, नाउर, घोरल, झारल र रेडपान्डालगायतका उत्कृष्ट वन्यजन्तुका फोटो पनि खिचेका छन् । उनले गत वर्ष मुस्ताङमा हिमालको मनमोहक वन्यजन्तु हिउँचितुवालाई गजबले क्यामेरामा कैद गरेको सुनाए ।


मुस्ताङको भी गाउँबाट लोमान्थाङ जाने क्रममा बीचको जंगलमा करिब ४ हजार २ सय मिटर उचाइमा हिउँचितुवा देखेको उनले बताए । ‘पाहुनालाई ट्रेकिङ लिएर गएको थिएँ,’ उनले भने, ‘स्वास्थ्यमा समस्या आएपछि उनी आत्तिन थाले ।’ त्यही बेला एक्कासि हिउँचितुवा देखियो । ‘सय मिटरको दूरीमै थियो,’ उनले भने, ‘तर, पाहुनाको हेरचाह गर्दा गर्दै हिउँचितुवा हराउने हो कि भन्ने भयो । उसको मनमोहकता र सुन्दरताले म पनि लठ्ठिएँ । हेर्न त मनभरि हेरें तर फोटो भने थोरै मात्र खिच्न पाएँ ।’

उनले समुद्र सतहको ९० मिटरदेखि ५ हजार १ सय मिटर उचाइमा पाइने चराका तस्बिर पनि खिचेका छन् । ‘नेपालमा अहिलेसम्म ५ सय ९२ किसिमका चरा देखेको छु,’ उनले भने, ‘५ सय १० वटाको फोटो नै खिचेको छु ।’ नेपालमा अहिले ८ सय ९४ प्रजातिका चरा पाइने अभिलेख छ । सगरमाथा जाने बाटो गोक्यो ताल नजिक कोङमा हिउकुखुरा, रविन लेकचरी र हिमाली लेकचरीको तस्बिर पनि आफूले खिचेको उनले बताए ।


चराकै फोटो खिच्ने क्रममा सन् २०१६ मा काठमाडौंको रानीबारीमा धवल अर्जुनलाई देखेको रेकर्ड उनका नाममा छ । सन् १९८५ मा पहिलो र दोस्रो पटक विदेशी नागरिकले देखेको उक्त चरा ३१ वर्षपछि तेस्रो पटक उनले देखेर तस्बिर खिचेका थिए । वनजंगल, पाखापखेरा, देउराली भन्ज्याङ र पाटनका क्षेत्र निकै रोमाञ्चित लाग्ने उनी बताउँछन् । ‘चरा र वन्यजन्तुको तस्बिर खिच्दै हिँड्छु,’ उनले भने, ‘साथीभाइले राम्रो तस्बिर खिच्यौ भन्दा मन त्यसै आनन्द र गदगद हुन्छ ।’ सन् २०१३ देखि फोटो खिच्न थालेका उनी १२ वर्षमा अनुभवी वाइल्डलाइफ फोटोग्राफर बनेका छन् । डाँफे, चिलिमे, मयूर, तिलहरी र स्वर्गचरीका मनमोहक र आकर्षक फोटो खिच्न पाउँदा उनी निकै आनन्दित पनि हुन्छन् ।

सुरुमा आफूले भरिया बनेर काम गरेको उनले बताए । ‘हिमालका बेस क्याम्स आसपास रमाउन जानेका लागि ४०/५० किलोको भारी बोक्दै हिँड्थें,’ उनले भने, ‘सन् १९९४ देखि १९९८ सम्म ५ वर्ष भरियाको काम गरें । त्यसपछि २००२ मा ट्रेकिङ गाइडको लाइसेन्स लिएको हुँ ।’ अहिले उनी मुलुकभरि पहाड र हिमालमा ट्रेकिङ गाइडका रूपमा काम गर्छन् । वाइल्डलाइफ फोटोग्राफी निकै खर्चिलो सोख भएको उनी सुनाउँछन् । ‘त्यही भएर ट्रेकिङ गाइडबाट जीविकोपार्जन गर्दै फोटोग्राफीमा रमाइरहेको छु,’ उनले भने, ‘घरखर्च पनि चलेको छ । सीप र क्षमता तिखारिएर फोटोग्राफी अझ उत्कृष्ट भएजस्तो लाग्छ ।’ उनी ल्यान्डस्क्याप फोटोग्राफीमा पनि उत्तिकै रमाउने गरेका छन् । आफूले सगरमाथा, अन्नपूर्ण, माछापुछ्रे र धवलागिरि लगायत हिमालको ल्याण्डस्क्याप फोटोग्राफी गरेको उनले बताए ।


सन् २०१४ तिर तीन लाख रुपैयाँ बराबरको ग्याजेटबाट फोटोग्राफी सुरु गरेका उनी अहिले साढे ८ लाखको ग्याजेट प्रयोग गर्छन् । ट्रेकिङ गाइडकै पेसाबाट हुने कमाइले उनी ग्याजेट अपग्रेट गर्दै आएको बताउँछन् । विक्की लभ वर्ड, अठोट नेपाल र गच्छामि मिडिया ग्रुपले आयोजना गरेका वाइल्डलाइफ फोटोग्राफी प्रतियोगितामा उनी सम्मानित र पुरस्कृत भइसकेका छन् ।




प्रकाशित : जेष्ठ २७, २०८१ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x