कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अटोले बढाएको समाजको गति 

वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई स्वदेशमा अडिने मेसो 
देशका अधिकांश जिल्लाका सदरमुकाम र गाउँसम्म गुड्ने तीनचक्कै अटोले सहर र ग्रामीण समाजको गति मात्रै बढाइदिएको छैन, स्थानीय तहमा रोजगारी पनि सिर्जना गरेको छ । जसको फाइदा वैदेशिक रोजगारीबाट फर्किएकाहरूले धेरै उठाइरहेका छन् । 
कान्तिपुर टिम

काठमाडौँ — देशैभर गुडिरहेका अटोहरू निम्न र मध्यम आय भएका आम नेपालीका निम्ति यात्राको सजिलो माध्यम मात्रै बनिरहेका छैनन्, यस्ता अटोले स्थानिय तहमा रोजगारीको अवसर पनि सिर्जना गरिरहेका छन् । यस्तो रोजगारीले वैदेशिक रोजगारीबाट फर्केका सयौं नेपालीलाई स्वदेशमै पसिना बगाउने अवसर दिलाइरहेको छ । 

अटोले बढाएको समाजको गति 

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका अर्जुन गुरुङले वैदेशिक रोजगारीको क्रममा पाँच वर्ष मलेसियामा बिताए । नौ महिनाअघि उनले साढे ६ लाख रुपैयाँ किस्ता तिर्ने गरी अटो किनेपछि उनले प्रवासको कमाई सम्झिनु परेको छैन् । मलेशियामा पसिना बगाउन भन्दा आफ्नै गाउँघरमा अटो गुडाउनुको आनन्दले उनी खुसी त छन् नै, परिवारसँगै समय बिताउन पाउनुलाई उनले ठूलै उपलब्धि मानिरहेका छन् ।

पाँचदेखि सात लाख रुपैयाँ लगानीमा किन्न सकिने अटो एकाध लाख बुझाएपछि किस्ताबन्दीमै पाइन्छ । त्यसैले पनि वैदेशिक रोजगारीबाट फर्केकाहरूमा यसप्रति आर्कषण देखिन्छ । मधेशका जिल्लाहरुमा भने खाडी र मलेसियाको रोजगारीबाट फर्केकाहरूको अलवा भारतको दिल्ली, मुम्बई जस्ता सहरमा एकाध वर्षको कमाइ बचाएर फर्केकाहरूले पनि अटो चलाएरै जीविकोपार्जन गरिरहेको देखिन्छ । विगत दुई दशक भारतको मुम्बईमा अर्काको अटो चलाउँदै आएका सर्लाही कविलासी नगरपालिका–२ पिपरियाका उपेन्द्र साह पाँच वर्षयता गाउँघरमै अटो गुडाइरहेका छन् । उनले गाउँघरकै मान्छे ओर्सानुको आनन्द बाँड्दै भने, ‘अटोबाट आम्दानी पनि रामै भएको छ । समाजमा आपत् विपद्का बेला सेवा दिन पाउँदा खुसी पनि मिलेको छ ।’

पहाडमा टुकटुके अटो

मधेशमा मात्र होइन सुदूरपश्चिममा पनि रोजगारीका क्रममा कैयौं वर्ष भारतमा बिताएकाहरू अहिले अटो गुडाएर गाउँघरमै रोकिएका उदाहरण भेटिन्छन् । अछामको तुर्माखाँद गाउँपालिका –३ भैरवस्थानका ३४ वर्षीया चन्द्रबहादुर बुढाले कैयौं वर्ष रोजगारीका क्रममा भारतका विभिन्न सहरमा भौँतारिए । चार वर्षअघि पहिलो पटक सदरमुकाम मंगलसेनमा अटो गुडाउँदा उनलाई धेरैले शंकाका साथ भनेका थिए, ‘यसले गरिखाला र ?’ तर सबैको शंकालाई गलत सावित गर्दै चन्द्रले हिजोआज अटोकै कमाइले ४ छोराछोरीसहितको परिवार सजिलै पालिरहेका छन् । १२ लाख ८० हजारमा २ वटा अटोमा लगानी गरेका उनी अहिले मासिक ४५ हजारसम्म कमाउँछन् । हिजोआज उनकै सिको गरेझैं गरेर अछामको मंगलसेन, साँफेबगर, जयगढ, कमलबजार, विनायकलगायतका क्षेत्रमा दर्जनौं अटो सञ्चालनमा छन् ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकास्थित कुशहवा गाउँ हुँदै जाँदै टेम्पो । तस्बिर: मनोज पौडेल/कान्तिपुर

महोत्तरीको बर्दिवास–३ का रेशम आलेमगर ५ वर्षअघिसम्म वैदेशिक रोजगारीमा कुवेतमा थिए । उनी गाउँ फर्किंदा भर्खर मात्र एकाध अटो गुड्न थालेका थिए । थोरै लगानीमा विदेशकै जस्तो कमाइ गर्न सकिने भएपछि उनले कुवेत जाने योजना त्यागे । त्यसयता निरन्तर अटो गुडाइरहेका रेशम परिवारसँगै बसेर कमाइ गर्ने मेलो जुरोकोमा खुसी छन् । गाउँ–टोलका मान्छेले फोन गरेर उनलाई बोलाउँछन् । उनले सुनाए, ‘खोज्ने बित्तिकै उपलब्ध हुने सस्तो सवारी र सजिलो सवारी भनेर अहिले धेरैले अटो नै खोज्छन् ।’

पर्साको बहुदरमाई नगरपालिका–३ नगरदाहा निवासी जाकिर मियाँ ७ वर्षको वैदेशिक रोजगारीपछि दुई महिने छुट्टीमा गत वर्ष गाउँ फर्केका थिए । छुट्टी सकेर फर्किने बेला उनलाई परिवारका सदस्यले गाउँमै बसेर केही गर्न दबाब दिए । सामान्य साक्षर मियाँलाई विदेशमा गरेको सिलाइकटाइबाहेक अरु काममा अनुभव थिएन् । लेबर काम गर्ने उनको इच्छा थिएन । छिमेकी गाउँमा बस्ने उनका एक साथीले विगत एक वर्षदेखि गाउँबाट सदरमुकाम वीरगन्जसम्म अटो रिक्सा चलाउन सुरु गरेका थिए । साथीकै सल्लाह सुनेर उनले एक सातासम्म साथीकै अटो चलाउन सिके । प्रवासको कमाइले अटो किनेर चलाउन थाले । खर्च कटाएर दिनको करिब एक हजारदेखि पन्ध्र सय रुपैयाँसम्म बचत गर्ने गरेका उनले सुनाए, ‘परिवारसँगै बसेर यति कमाइ गर्नु राम्रै हो ।’

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकास्थित शिवभारी गाउँमा टेम्पो । तस्बिर: मनोज पौडेल/कान्तिपुर

पाँच वर्ष कतार बसेर पनि सोचेजस्तो कमाइ नभएको तितो अनुभव बोकेर पूर्वी चितवनको वाघमाराका भिखुराम महतो घर फर्केका थिए । आफले बचाएको केही लाखमा थप रकम थपथाप पारेर उनले तीन वर्षअघि अटो किने । हिजोआज उनी गाउँदेखि २५ किलोमिटरपरको सदरमुकाम भरतपुरतिर बाक्लै भेटिन्छन् । यात्रु बोकेर गाउँ–सहर गरिराख्ने रोजको दैनिकीबाट उनलाई कतारको कमाइले भन्दा खुसी मिलेको छ । उनी भन्छन्, ‘कमाइको हिसाब गर्ने हो भने कतारको र यताको बराबर हो । तर आफ्नै घरमा बसेर कमाउनु राम्रो हो नि ।’

थोरै लगानीमै किन्न सकिने र थोरै मेहनत गरे पनि दैनिक एक हजारको हाराहारीमा बचत गर्न सकिने भएकाले धेरैको रोजाइमा अटो परेको देखिन्छ । धादिङको नीलकण्ठ नगरपालिका–७ पिपलछापका अंकबहादुर आले मगर साउदी अरब र कतारमा गरेर दस वर्ष गुजारे । पछिल्ला तीन वर्षयता भने उनी धादिङबेसी र आसपासका क्षेत्रमा अटो चलाएर ६ जनाको परिवार धान्दै आइरहेका छन् ।

इलामको चिया बगानमा अटो ।

अंकबहादुर बिहानै अटो लिएर घरबाट निस्कन्छन्, मध्यान्ह नहुँदै खाना खान घर फर्किन्छन् । अनि केही बेर सुस्ताएर फेरि कुदिहाल्छन् । कहिलेकाहीँ रातिको समयमा पनि कसैलाई दु:ख बिमार परेर उनी कमाइ पनि हुने सेवा पनि हुने भनेर अटो निकाल्न तयारै देखिन्छन् । दैनिक १५ सयदेखि दुई हजारसम्म कमाइ गर्ने उनी यात्रु मात्रै बोक्दैनन्, मल, कुखुराको दाना, चामललगायतका सामान बोकेर पनि घर घर पुग्छन् । उनले सुनाए, ‘स्थानीयले सुविधा पाए, मैले कमाइ । उनीहरु सेवा पाएकाले खुसी, म काम पाएकाले ।’

कतारमा ५ वर्ष बिताएर फर्केका तनहुँको व्यास नगरपालिका–१ का आइत विक भनेजस्तो कमाइ नभएको दु:ख र बिग्रिन थालेको स्वास्थ्य लिएर २०६९ मा स्वदेश फर्केका थिए । एक वर्ष घरमै बसेका उनी कमाइको खोजीमा २०७० मा चिवतन पुगे । केही वर्ष चितवनमा विद्युत्बाट चल्ने अटो रिक्सा चलाएका उनी त्यसपछि तनहुँ नै फर्के । दमौलीमा पहिलो पटक ई–रिक्सा चलाएका आइत हिजोआज दमौली अटो चालक समितिका अध्यक्ष छन् । उनले जिल्लाको दमौली, खैरेनी, भिमाद, शुक्लागण्डकी, देवघाट, आँबुखैरेनी, डुम्रे क्षेत्रमा गरी करिब एक सय अटो गुड्ने र तीमध्ये कैयौं वैदेशिक रोजगारीबाट फर्केकाहरू रहेको बताए ।

नियमनको खाँचो

देशैभर अटोले स्थानीय बजारहरूलाई गतिशील बनाउन मद्दत गरे पनि अटो सञ्चालन र नियमनमा भने राज्य संयन्त्रको भूमिका प्रभावकारी देखिन्न । एकाध जिल्लामा स्थानीय तहले अटो सञ्चालनको कार्यविधि बनाएरै भाडादरदेखि रुटसमेत नियमन गरिरहे पनि यस्तो उदाहरण सबैतिर छैन । नियमनको अभावमा अटो चालकबीच अस्वस्थ प्रतिस्पर्धा मात्रै हुर्किरहेको छैन, यात्रुहरू ठगीमा पर्ने र दुर्घटना हुने घटनामा पनि उत्तिकै छन् । कतिपय जिल्लामा चालक अनुमतिपत्र नभएकाहरूले नै अटो हुइँक्याउँदा यात्रुको सुरक्षा चिन्ता थपिएको छ ।

पाँचथरको फिदिममा सञ्चालनमा आएका अटो ।

प्रदेश १ को यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको यातायात व्यवस्था महाशाखा प्रमुख भीम गौतमका अनुसार तीनपांग्रे टेम्पो चालकले लिखित र ट्रायल पास गरेर लाइसेन्स लिने गरेको देखिए पनि तीनपांग्रे विद्युतीय सवारी साधनका चालकहरूले भने विभिन्न कारणले सवारी चालक अनुमतिपत्र नलिइरहेको बताए । गौतमले पेट्रोलबाट गुड्ने अटो र विद्युत्बाट गुड्ने अटोरिक्साका धेरैजसो चालकहरू निरक्षर र अर्ध साक्षर रहेकाले पनि उनीहरू लिखित परीक्षामा सामेल हुन अन्कनाइरहेको बताए । उनको अनुसार सिटी सफारीको व्यवस्थापन गर्न ०७६ असोज ५ मा जारी भएको प्रदेश सवारी तथा यातायात ऐनअनुसार सबै जिम्मा स्थानीय तहलाई दिने भनेर ०६९ देखि यातायात व्यवस्था कार्यालयमा दर्ता नगर्ने भनिएको थियो । उनले भने, ‘स्थानीय तहहरूले यातायातसम्बन्धी कानुन बनाइनसकेकाले समस्या झन् जटिल बन्दै गएको छ ।’

केही जिल्लामा भने अटो चालक संगठित भएका देखिन्छन् । स्थानीय प्रशासनले अटो सञ्चालनको अनुमति नदिने वा निश्चित रुट कायम गरिदिने जस्ता निर्णयविरुद्ध संगठित अटो चालकहरूले आन्दोलन नै गर्ने गरेको उदाहरण पनि छन् । स्याङ्जामा राजमार्गमा अटो गुड्न नदिने प्रशासनको निर्णयविरुद्ध अटो व्यवसायीले समिति नै गठन गरी आन्दोलन गरे । त्यसपछि भने प्रशासन पछि हट्न बाध्य भयो ।

२०७५ असोजको दोस्रो साता चितवनको भरतपुरमा अटो चालक आन्दोलित नै भए । कारण थियो, भरतपुर महानगरपालिकाले मुख्य राजमार्गमा अटो गुड्न प्रतिबन्ध लगाउने निर्णय । यसअघि पनि महानगरमा संगठित अटो चालक आन्दोलित भएर राजमार्ग नै अवरुद्ध पार्ने काम गरेका थिए । २०७५ साउनमा अटो चालकको आन्दोलनमा त प्रहरीले गोली नै चलाएको थियो । जसमा एक अटो चालक घाइतेसमेत भएका थिए । राजमार्ग क्रस गर्न दिने क्रसिङ प्वाइन्टहरूको संख्या १४ बाट बढाएर १८ पुऱ्याएपछि आन्दोलन स्थगित भएको थियो ।

देशैभर संगठित अटो चालक र प्रशासन वा ट्राफिकबीच बेला बखत विभिन्न विषयमा द्वन्द्व निम्तिएको देखिन्छ । स्पष्ट सरकारी नीतिको अभावमा अटो चालक र प्रशासनबीच द्वन्द्व देखिएको हो । मोरङमा राष्ट्रिय राजमार्ग र सहरी क्षेत्रमा ट्रफिक व्यवस्थापनका लागि घाँडो हुँदै गएपछि दर्ता रोक्ने ट्राफिक प्रहरीले विभिन्न प्रयास जारी राखेको देखिन्छ । मोरङ ट्राफिकका सई शिवकुमार शर्मा तीनपांग्रेले यात्रालाई सहज बनाए पनि यसले ट्राफिक जाम र दुर्घटना बढाएको बताउँछन् ।

स्याङ्जाका जिल्ला ट्राफिक प्रहरी प्रमुख मीनबहादुर कुँवरका अनुसार अटो सञ्चालनका लागि सम्बन्धित पालिकाबाटै अनुमति दिइएको छ । ‘पहिलोपटक पुतलीबजारले नियम बनायो । पछि अन्य पालिकाले पनि बनाउन थाले,’ उनले भने, ‘रुट परमिट पनि पालिकाबाटै दिइएको छ र भाडादर पनि तोकिएको छ ।’

नुवाकोटमा सञ्चालनमा रहेका अटो ।

स्याङ्जामा जस्तै पाँचथरका ८ स्थानीय तहमध्ये फिदिम नगरपालिकाले अटो दर्ता गरेर प्रक्रिया चलाउने नियम बनाएको छ । यहाँ दर्ता भएरै ४० अटो सञ्चालनमा छन् । त्यस्तै पाँचथरको फुङलिङ नगरपालिका अटो सञ्चालनसम्बन्धी २०७५ सालमा कार्यविधि नै बनाएको छ । कार्यविधिअनुसार अहिले बजार क्षेत्रभित्र एक सय रुपैयाँ भाडादर तोकिए पनि बाहिर भने दिने र लिनेको सहमति नै काफी हुन्छ । हिलिहाङ गाउँपालिकाले भने गाउँसभाबाट ऐन नै बनाएर अटो सञ्चालन कार्यविधि बनाउने तयारी थालेको छ ।

सदरमुकाम र फैलिदै गरेका साना बजारहरुमा कति अटो आवश्यक हुन भन्नेबारे सरकारी संयन्त्र पनि मौन देखिन्छ । त्यसले अस्वस्थ प्रतिस्पर्धा त बढाएको छ नै, सवारीको भीड पनि बढाएको छ । ट्राफिक कार्यालयका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले धनगढीको व्यस्त बजारमा चल्ने भएकाले अहिले अटोरिक्सा ट्राफिक व्यवस्थापनका लागि चुनौती भएको बताउँछन् ।

लमजुङको बेसीसहरमा सञ्चालनमा रहेका अटो ।

केही जिल्लामा भने अटोहरु दुर्घटनाका कारण पनि बनिरहेका छन् । मोरङमा मात्रै पछिल्ला दुई महिनामा २४ वटा अटो दुर्घटनामा परे । जसमा ४ सिकिस्त र ५२ जना घाइते भए । वैशाखयता तीन महिनामा मात्रै पर्सामा ८ वटा अटो दुर्घटनामा परे । जसमा एकजनाको ज्यान नै गयो ।

डेढ वर्षअघि धरान–१५ मा को १ ह ७८५९ नम्बरको सफारी चालक ४३ वर्षीय मानबहादुर लिम्बूले चलाएको सिटी सफारीले ठक्कर दिँदा पैदलयात्री ३५ वर्षीय किशोर विकको मृत्यु भयो । प्रहरी छानबिनमा चालक लिम्बूसँग सवारी चालक अनुमति पत्र नभए पनि प्रहरीले सवारी ज्यान मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढायो । उनी अहिले पुर्पक्षका लागि जेलमा छन् ।

केही जिल्लामा अटोहरूले भाडा बढी असुल्ने र नयाँ यात्रुलाई ठग्ने गरेको गुनासा पनि उत्तिकै सुनिन्छ । कतै भने संगठित अटो व्यवसायीहरूले आफैले भाडादर निर्धारण पनि गरिरहेको देखिन्छ । पाल्पाको तानसेन नगरपालिकाअन्तर्गत सञ्चालित अटोले कोकलदेवी टेम्पो यातायात प्रालि बनाएर संगठित भएका छन् । प्रालिका सचिव डिल्ली परियारका अनुसार यातायात व्यवस्था कार्यालय र तानसेन नगरपालिकामा दर्ता भएपछि प्रालिमा पनि यसको दर्ता हुन्छ । ‘हामीले भाडादर पनि निर्धारण गरेर सञ्चालन गरेका छौं,’ उनले भने, ‘कोही कसैलाई ठग्ने भन्ने होइन । ठगिनेहरू आफैं ठगिने हुन् ।’

प्रकाशित : श्रावण ९, २०७९ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?