पहाडमा टुकटुके अटो

अधिकांश जिल्लाका सदरमुकाम र गाउँसम्म गुड्ने तीनचक्के अटोले सहर र ग्रामीण समाजको गति बढाउनुका साथै सिर्जना गर्‍यो स्थानीय तहमा रोजगारीका अवसर
कान्तिपुर टिम

काठमाडौँ — कुश्मा–८ का चन्द्रदत्त जैसी १८ वर्षको उमेरमा छिमेकी चन्द्रबहादुर पौडेलको पछि लागेर कामको खोजीमा भारत पसेका थिए । बटौली झरेर गोरखपुर हुँदै मुम्बई पुगेका उनको ऊर्जाशील उमेर गुवाहाटीमा बित्यो । २३ वर्षको उमेरमा घर फर्केर उनले बिहे त गरे तर परिवार पवर्तमै छाडेर उनी उतै नोकरीका लागि दौडिए । गुवाहाटीकै कमाइले घर जोडे, छोराछोरी हुर्काए । तर उनको मन गाउँमै थियो ।

पहाडमा टुकटुके अटो

२०७२ वैशाखको भूकम्पका बेला घर आएका जैसीलाई स्थानीयले भने, ‘कति भारतमा पसिना बगाउँछस् ? यहाँ सहकारी खुल्दै छ । काम दिम्ला, नजा ।’ गाउँमा चुवा कृषि सहकारी संस्था खुल्यो । त्यसले डेरी चलाउन थाल्यो । चन्द्रले काम पाए, संकलित दूध कुश्मा र पातीचौर लगेर बेच्ने । अरूका भाडाको गाडीमा दूध ओसारेर फाइदा नहुने देखेपछि उनले अटोरिक्सा किन्ने सोचे । किनकि भारतमा अटो चलाएको अनुभव उनीसँग थियो । उनले वीरगन्ज पुगेर ६ लाख ७२ हजारमा अटो खरिदे । पर्वत बजारकै यो पहिलो अटो थियो ।

तीनपांग्रे खुरुरु कुदेको देख्दा स्थानीय अचम्म मानेजसरी हेर्थे । जैसीले केही वर्ष अटोमै दूध ओसारे । सहकारीमा संकलन हुने दूधको परिमाण बढ्न थालेपछि उनको अटोको क्षमताले भ्याएन । त्यसपछि उनले सहकारीको काम छाडेर अटोमा यात्रु ओसार्न थाले । तर निजी नम्बर प्लेट भएकाले उनलाई बारम्बार ट्राफिकले रोक्थे । २०७७ मा उनले अटोलाई कालो प्लेटमा रूपान्तरण गरे । अहिले कुश्मा बजारमा मात्रै ८ अटो सञ्चालनमा छन् । सानो लगानीमा अटोले आवतजावत सजिलो बनााएका छन्, कमाइका लागि पनि परदेशकै मुख ताक्न बाध्य जैसी जस्तालाई गाउँघरमै रोजगारी पनि दिएको छ ।

बोलीचालीमा विक्रम टेम्पो भनिने डिजेलबाट कर्कश आवाज निकाल्दै कुद्ने तीनपांग्रेको विस्थापनपछि सुरु भएको अटो अर्थात् पेट्रोल र बिजुलीबाट चल्ने तीनपांग्रे देशका सबैजसो भूभागमा देखिन थालेको छ । कतै अटो, कतै टुकटक त कतै सिटी सफारी भनिने तीनपांग्रेले स्थानीय क्षेत्रमा रोजगारी त सिर्जना गरेको छ नै, सामान्य नागरिकको यात्रालाई पनि सहज बनाउँदै स्थानीय जनजीवनमा गति थपेको छ । अटोले बजार छेउछाउका कच्ची सडक भएका मधेस, पहाड र हिमालका बस्तीलाई स्थानीय बजार र सदरमुकामसँग मात्रै जोडिरहेको छैन, स्थानीयलाई आयआर्जनका बाटोहरू पहिल्याउन, कृषि उत्पादन बजारसम्म पुर्‍याउन र दुख/बिमारमा अस्पतालसम्म पुग्न पनि सघाइरहेको छ ।

नुवाकोट

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा डिजेलबाट चल्ने २ हजार ९६ र पेट्रोलबाट चल्ने २ हजार १ सय ८४ अटो भारतबाट नेपाल भित्रिएको छ । यही अवधिमा चीनबाट विद्युतीय तीनपांग्र्रे ६ हजार ७ सय ४० वटा भित्रिएको देखिन्छ । यो संख्याले नेपालमा कति ठूलो संख्यामा तीनपांग्रे सवारीको आयात कति ठूलो संख्यामा भइरहेको छ भन्ने देखाउँछ ।

यातायात व्यवस्था कार्यालयका अनुसार प्रदेश १ मा मात्रै ६८ हजार ३ सय ७८ अटो र ३६ हजार ६ सय ६७ सिटी सफारी भनिने ई–रिक्सा दर्ता भएको छ । दर्ता भएका यी साधनमध्ये आधाभन्दा धेरै मोरङ, सुनसरी र झापामा गुड्छन् । वाग्मती प्रदेशको उपत्यका बाहिरका १० मध्ये ८ वटा जिल्लामा करिब ८ हजार ५ सयवटा अटो सञ्चालनमा छन् । जसमध्ये सबैभन्दा धेरै अर्थात् ८ हजारभन्दा बढी अटोले चितवन र मकवानपुरलाई चलायमान बनाएका छन् । चितवनका अटो डिलर सञ्चालक होमनाथ पौडेलका अनुसार चितवनभर अहिले चार हजारको हाराहारीमा अटो छन्, तीमध्ये २५ सय जति त भरतपुरमै गुड्छन् । एउटा अटोले औसतमा २५ सयको कारोबार गर्दा पनि भरतपुरमा मात्रै दैनिक अटोको कारोबार ६ लाखभन्दा धेरै हुन आउँछ । यो संख्याले अटोले कति धेरैलाई गतिशील बनाइरहेको छ भन्ने मात्रै देखाउँदैन, यातायात अर्थतन्त्रमा यसको हिस्सा कत्रो छ भन्ने पनि देखाउँछ ।

मकवानपुरमा अटोको संख्या ४ हजार नाघिसक्यो । रुटको गाडी नचल्ने ठाउँमा पनि पुग्ने, यात्रु थोरै भए पनि चल्ने भएकाले अरू गाडीमा भन्दा अटोमा आकर्षण छ । मधेस प्रदेशका सबैजसो जिल्लामा यातायातको सबैभन्दा चल्तीको साधन अटो भएको छ । केही वर्षअघिसम्म वीरगन्ज, जनकपुर, सिमरा, चपुर र लहान जस्ता बजारमा मान्छेले असिनपसिन भएर तानिरहेका रिक्साहरू अहिले देख्न मुस्किलै पर्छ । थोरै लगानीमा अटो किन्न सकिने र त्यसैका भरमा सजिलै गुजारा धान्न सकिने भएकाले अटोको संख्या बढ्दै गएको हो । पर्सामा १ हजार ६ सय ई–रिक्सा र ७ सय अटोरिक्सा छन् । जनकपुरमा मात्रै १५ सयभन्दा बढी अटोरिक्सा छन् ।

सप्तरी जिल्लामा करिब ८ सय अटो र विद्युतीय रिक्सा गुड्छन् । थोरै लगानीमा चल्ने यस्ता साधनले रोजगारी त सिर्जना गराएका छन् अर्कोतर्फ गाउँ र सहरलाई जोड्ने काम पनि गरिरहेका छन् । राजमार्ग वा सहायक मार्ग भएर मात्रै गुड्ने सार्वजनिक सवारीप्रतिको निर्भरता घटाउन पनि अटोहरू सहायक भइरहेका छन् । महोत्तरीमा ६ सयभन्दा बढी अटो गुड्छन् । बर्दिबासमा मात्रै ४ सय अटो गुड्छन् । जसमध्ये ६० वटा त विद्युतीय नै छन् ।

तराईका समथर फाँटदेखि पहाडका घुमाउरो मोडसम्म कहाँ भेटिँदैनन् अटो । पूर्वी पहाडको सोलखुम्बुमा तीन वर्षअघिसम्म एकाध अटो मात्रै देखिन्थे । अहिले संख्या सय वटाको हाराहारीमा पुगिसकेको छ । सल्लेरीसम्म सडक कालोपत्र भएसँगै अटोको संख्या बढ्न थालेको हो । सदरमुकामदेखि ६० किलोमिटर दूरीको सोताङ बजारदेखि मुक्ली, बासा, नेचासल्यानमा पनि अटो चलेका छन् । सल्लेरीबाट फाप्लु विमानस्थल र अस्पताल जान अटोले खुबै सजिलो बनाइरहेको सल्लेरीका लाक्पा शेर्पाले बताए । ‘हजार/पन्ध्र सयमा अटो रिजर्भ गरेर जान सकिन्छ, गाडी रिजर्भ गर्दा कम्तीमा ८–१० हजार खर्च हुन्थ्यो,’ उनले भने ।

सहकारी वा बैंकले सजिलै कर्जा दिने भएकाले र थोरै लगानीमा पनि आत्मनिर्भर हुने भएकाले पनि अटो सबैको पहुँचमा पुगेको छ । ताप्लेजुङको फुङलिङ–८ दोखुका अरुन पालुङ्वा २२ महिना मलेसियाको रोजगारी गरेर घर फर्के । केही समय मोरङमा दाजुको घरमा बसे । पैसा जुटाएर अटो किने । केही समय मोरङमा अटो गुडाएपछि उनी फुङलिङ उक्लिए । तर जिल्लामै पहिलो अटो भएकाले उनले निकै सास्ती खेपे । अहिले उनकै कारण फुङलिङमा अटोका लागि सजिलो भएको छ ।

दिक्तेल

कोसीका पहाडी जिल्ला भोजपुरमा ५० र ओखलढुंगामा १२ वटा अटो गुड्छन् । उच्च हिमाली भेगसमेत रहेको दोलखाका माथिल्ला बस्तीमा पनि रंगबिरंगी अटोहरू गुडिरहेको देख्न सकिन्छ । कतिसम्म भने स्थानीय पर्यटक हिउँदमा ३ हजार मिटरमाथि कालिञ्चोकमा समेत अटो लिएरै पुग्छन् । शिक्षकबाट सेवानिवृत्त मैनापोखरीका टीकाप्रसाद घिमिरेले पहिलोपटक जिल्लामा अटो ल्याएका थिए । जिरी, नाम्दु क्षेत्रमा मात्रै अहिले १० भन्दा बढी अटो छन् भने जिल्लाभरमा २० वटा गुड्छन् ।

कर्णालीका जिल्लामा पनि अटोले जनजीवन चलायमान बनाएको छ । यातायात व्यवस्था कार्यालय सुर्खेतका अनुसार हुम्ला र डोल्पाबाहेक कर्णालीका सबै जिल्लामा अटो पुगेको छ । प्रदेशभर १ हजार ४ सय ५६ वटा अटो सञ्चालनमा छन् । सुर्खेतमा मात्रै ६ सय २३ वटा छन् । कर्णालीमा विद्युतीय अटो भने ४७ वटा मात्र दर्ता भएको छ । उता गण्डकी प्रदेशका ११ जिल्लामध्ये म्याग्दी, मुस्ताङ, मनाङ, गोरखा र कास्कीबाहेकका ६ जिल्लामा करिब १६ सय अटो गुड्छन् । अधिकांश पेट्रोलबाट चल्ने छन् । तनहुँमा एक सय गुड्छन् भने स्याङ्जामा २ सय ७० र बागलुङमा ४० वटा छन् ।

लमजुङमा अटोको सेवा बेंसीसहरसँगै खुदी, गाउँसहर, बिम्दाबेंसी, दिहीथोक, चिसापानीसम्म फैलिसकेको छ । अटोचालक सुन्दरमणि पौडेल मासिक ३० देखि ४० हजारसम्म कमाइ हुने बताउँछन् । भन्छन्, ‘अटो हाँक्दा परिवारमात्रै नभई जिन्दगीकै गाडी हाँकेजस्तो अनुभव भएको छ ।’

नवलपरासीको कावासोतीमा अटोहरूले रात्रिकालीन सेवा पनि दिन्छन् । चालक अर्जुन काफ्ले भन्छन्, ‘हिँडडुल गरिराख्ने सबैले कुनै न कुनै अटोचालकको नम्बर राखेकै हुन्छन् । फोन गरेर बोलाएपछि मध्यरात नै भए पनि घरघरै पुगेर सेवा दिइन्छ ।’ अटोको विस्तारले ग्रामीण उत्पादन बजारसम्म ल्याउन र बजारबाट सामानहरू ढुवानी गर्न पनि सहज बनाएको छ । सिरहाका उत्तरी गाउँहरू रेगना, आरिदमार, वरदमार, भसुवा, भमरे, नागबेली, धाब्रे, रुम्जाटार, सोलुढुंगामा रुटका चारपांग्रे गाडी गुड्दैनन् । यो रुटमा पनि अटोले स्थानीयको यातायातको साधनको काम गरेको छ । स्थानीय उत्पादन बजारसम्म लगेर बेच्ने मेलो पनि फस्टाएको छ । बरदमारका ओम थापाले भने, ‘डेढ घण्टा पैदल लहान बजार पुग्नु पर्थ्यो, टेम्पोले धेरै सजिलो बनाएको छ ।’ तीनपांग्रे गाउँमै पुगेपछि बजारबाट सरसामान ओसारपसारमा समेत सहज भएको धनगढी–गडमे कच्ची सडक खण्डका स्थानीय प्रमोद मगरले सुनाए । ‘हाम्रा कृषि उपज बजार पुर्‍याएर दुई–चार पैसा आम्दानी गर्न पाएका छौं । सबैभन्दा ठूलो यातायात सुविधा रहेछ, बिरामी पर्दासमेत उपचारका लागि समयमै अस्पताल पुर्‍याउन पाएका छौं,’ उनले भने ।

अटो महिला आत्मनिर्भरताको संवाहक पनि बनिरहेको छ । जस्तो कि, सिन्धुली सदरमुकाममा मात्रै यतिखेर २ सय ५० अटो गुड्छन् । जसमा २५ जना चालक महिला छन् । जिल्लाको अटो चालकहरूको संस्था भद्रकाली अटो यातायात प्रालिको अध्यक्ष रेखा गौतम छिन् । कमलामाई–२ भद्रकालीकी गौतम बिहानैदेखि अटोमा व्यस्त हुन्छिन् । ६ वर्ष अगाडि ५ लाख १५ हजारमा अटो किन्दा उनलाई धेरैले पैसा डुबाएको ठानेका थिए । अरूले जे कुरा काटे पनि उनले अटो किनेको ६ महिनामै बैंक ऋण चुक्ता गरेर नाफा सुरु गरिन् । सदरमुकाम सिन्धुलीमाढी वरपर कुदी हिँड्ने रेखा अब अटोको कमाइकै भरमा घडेरी किन्ने सोचमा पुगेकी छन् । आफ्नो कमाइबाट सन्तुष्ट देखिने उनले भनिन्, ‘काम सानो ठूलो हुँदैन, सोचाइ मात्र फरक हो ।’

रूपन्देहीको तिलोत्तमा–६ की स्थानीय इन्द्रकला श्रेष्ठ कोरोना महामारीअघि हाटबजारमा तरकारी पसल चलाउँथिन् । घरघरै डुलाएर तरकारी बेच्न भनेर विद्युतीय अटो किनिन् । अहिले उनी बिहान–बेलुका तरकारीको कारोबार गर्छिन्, दिउँसो यात्रुहरू ओसार्छिन् । उनी भन्छिन्, ‘रहर र बाध्यताले आँट दियो । त्यही आँटले अटो सिके । अहिले यसैले पालिरहेको छ ।’ महिला अटोचालकहरूका उपस्थिति सदरमुकाम र प्रादेशिक सहरमा मात्रै सीमित छैन । जिल्लामा फैलिँदै गरेका साना बजारहरूमा गुड्ने अटो पनि महिलाहरूले नै हाँकिरहेको देख्न सकिन्छ । बर्दियाको राजापुरमा मात्रै ५ अटोचालक महिला छन् ।

काँकडभिट्टाकी ५८ वर्षीया लीलाकुमारी अटोले जीवनको रंग बदलिएको अनुभव सुनाउँछिन् । पतिको निधनपछि उनले धेरै वर्ष एकल महिलाको संघर्षपूर्ण जीवन बिताइन् । दोस्रो बिहेपछि उनलाई अप्ठ्यारा दिनहरू सकिएझैं लागेको थियो । तर तीन वर्षपछि पति बेपत्ता भए । पहिलो पतितर्फका छोराछोरीको अपहेलना र आर्थिक संघर्षका दिनमा उनले आफ्नै कमाइको बाटो रोजिन् । एक स्थानीय सहकारीले ५० हजार ऋण पत्याएपछि उनले सरसापट गरेर १ लाख १० हजारमा सेकेन्ड ह्यान्ड सिटी रिक्सा किनिन् । कहिल्यै साइकलसम्म नचलाएकी उनले रिक्सा चलाउन सिकिन् । ‘सिटीको कमाइले नै पुरानो ऋण, सहकारीको किस्ता पनि तिर्दै छु,’ उनी भन्छिन्, ‘हातमुख जोर्न अहिले गाह्रो छैन ।’

सिरहाको लहान–१ सिंगराहीकी २७ वर्षीया सुनीता महतोको कथा पनि लीलाको जस्तै छ । २०६८ मा रौतहटको बबहरी गाउँका सन्तकुमार महतोसँग बिहे गरेकी सुनीताले धेरै वर्ष घरेलु हिंसा भोगिन् । पतिले छाडेपछि उनी दुई छोरीसहित माइतमा बस्न थालिन् । सहकारीबाट केही ऋण र जग्गा बेचेर उनले ३ लाखमा सिटी रिक्सा किनिन् । दैनिक १५ सयदेखि २ हजार कमाइले सुनीताको आत्मबल मात्रै बढाएको छैन, दुःखका दिन अब गए भन्ने खुसी पनि मिलेको छ । धरानमा अहिले एक हजारभन्दा बढी अटो छन् । ३ हजार हाराहारी अटो रहेको कैलालीमा धनगढीमा मात्रै नभएर पहाडी क्षेत्रका चुरे र मोहन्याल गाउँपालिकाबाहेक ११ वटै स्थानीय तहमा चलेका छन् । धनगढीमा सञ्चालित अटोमा चालक संख्या २० प्रतिशत महिलाको हिस्सा छ ।

कपिलवस्तु–१ सडवाका मोती यादव आनो अटोमा यात्रुमात्रै ओसार्दैनन् । उनको अटो कहिले बिरामी बोक्ने एम्बुलेन्स जस्तो हुन्छ त कहिले मालवाहक सवारी जस्तो । बिरामीदेखि स्थानीयले उत्पादन गरेको तरकारीसम्म ओसार्ने उनले आफूले रातदिन जुनसुकै समयमा पनि सेवा दिन तयारी हालतमा बस्ने गरेका सुनाए । भने, ‘सुतेको बेलामा पनि मेरो मोबाइल हातैमा हुन्छ । कसैले बोलाइहाले कुदिहाल्छु । आम्दानी पनि हुन्छ, सेवा पनि ।’ यही अटोका भरमा ६ जनाको परिवार पालिरहेका मोतीले सन्तोषजनक कमाइ हुने भएकाले आफू आरामले सुत्न सकेको सन्तुष्टि साटे ।

रोल्पा नगरपालिका–२ का कुलप्रसाद खड्काको मोबाइल दिउँसोभन्दा राति धेरै व्यस्त हुन्छ । कसैले फोन गरेर अटो बोलाइहाले उनी कुदिहाल्छन् । ९ वर्ष कुवेत बसेर फर्केपछि अटो कुदाउन थालेका उनलाई अटोकै कारण आफू घरपरिवारसँग बस्न पाएको खुसी साट्छन् । रोल्पा अस्पतालको छेवैमा घर भएका कुलका धेरैजसो यात्रु अस्पताल आउने बिरामी र डिस्चार्ज भएका बिरामी हुन्छन् । बिरामी ओसार्न कोटगाउँदेखि माडीचौरसम्म पुग्ने उनले भने, ‘एम्बुलेन्सले भन्दा बढी बिरामी मेरै अटोले बोकेको होला ।’ भन्नेबित्तिकै कुद्ने भएकाले एम्बुलेन्सभन्दा आफूलाई धेरैले खोज्ने गरेको उनले बताए । अटो कुदाएरै दैनिक ५ सयदेखि एक हजार रुपैयाँ बचत गर्ने उनले यही कमाइको भरमा २ छोरा र एक छोरीको पढाइ खर्च धान्न सकेको बताए ।

अटोले निम्न र मध्यम आय भएकालाई आउजाउ सजिलो त पारेकै छ, स्थानीय तहमा रोजगारीको अवसर पनि सिर्जना गरेको छ । यस्तो रोजगारीले परदेशबाट काम गरेर फर्केका सयौंलाई स्वदेशमै पसिना बगाउने अवसर दिलाएको छ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका अर्जुन गुरुङ वैदेशिक रोजगारीमा पाँच वर्ष मलेसिया बसे । घर फर्किएर साढे ६ लाख रुपैयाँ किस्ता तिर्ने गरी अटो किने । पाँचदेखि सात लाख रुपैयाँ लगानीमा किन्न सकिने अटो एकाध लाख बुझाएपछि किस्ताबन्दीमै पाइने भएकाले पनि वैदेशिक रोजगारीबाट फर्केकाहरूमा यसप्रति आकर्षण देखिन्छ । मधेसका जिल्लामा भने खाडी र मलेसियाको रोजगारीबाट फर्केकाहरूको अलवा भारतको दिल्ली, मुम्बई जस्ता सहरमा एकाध वर्षको कमाइ बचाएर फर्केकाहरूले पनि अटो चलाएरै जीविकोपार्जन गरिरहेको देखिन्छ । विगत दुई दशक मुम्बईमा अर्काको अटो चलाउँदै आएका सर्लाही कविलासी–२ पिपरियाका उपेन्द्र साह घर आए । पाँच वर्षयता गाउँघरमै अटो गुडाइरहेका छन् । मधेसमा मात्र होइन सुदूरपश्चिममा पनि रोजगारीका क्रममा कैयन् वर्ष भारतमा बिताएकाहरू अहिले अटो गुडाएर गाउँघरमै रोकिएका भेटिन्छन् ।

देशैभरि अटोले स्थानीय बजारहरूलाई गतिशील बनाउन मद्दत गरे पनि नियमनमा राज्य संयन्त्रको भूमिका प्रभावकारी देखिन्न । एकाध जिल्लामा स्थानीय तहले अटो सञ्चालनको कार्यविधि बनाएरै भाडादरदेखि रुटसमेत नियमन गरिरहे पनि यस्तो उदाहरण सबैतिर छैन । नियमनको अभावमा अटोहरूबीच अस्वस्थ प्रतिस्पर्धा मात्रै छैन, यात्रु ठगीमा पर्ने र दुर्घटनाका जोखिम पनि उत्तिकै छन् । प्रदेश १ को यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको यातायात व्यवस्था महाशाखा प्रमुख भीम गौतम सुरक्षित यात्राका लागि नियमन जरुरी भइसकेको बताउँछन् ।

प्रकाशित : श्रावण ८, २०७९ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?