कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साढे ९ लाख नपाएपछि उपतलाल चौधरीले छोडे उखु खेती

रीना मोक्तान

काठमाडौँ — दुई वर्षअगाडि उपतलाल चौधरी काठमाडौं आएका थिए । त्यतिबेला उनले अन्नपूर्ण चिनी मिल मालिकलाई भेटेर उखुको बक्यौता रकम मागे । एकाउन्टेनसँग पनि कुरा राखे । मिल मालिकले पैसा खातामै पठाइदिने आश्वासन दिएपछि घर फर्केका थिए उनी । तर, तोकेको समयसम्म पनि उनको खातामा पैसा चढेन । 'भोलि दिन्छु, पर्सि दिन्छु मात्र भने तर अहिलेसम्म पैसा हालेको छैन,' उपतलाल सुनाउँछन् ।  

साढे ९ लाख नपाएपछि उपतलाल चौधरीले छोडे उखु खेती

पैसा पाउने आसमै दुई वर्ष बित्यो । गत वर्ष उखु किसानहरुले काठमाडौं आएर आन्दोलन गरे । तर, उपतलाललाई लागेको थियो 'मिल मालिकसँग भेटेरै आएको छु खातामा पैसा हाल्देलान् नि !' गत वर्ष आन्दोलनमा आएका केही किसानका खातामा पैसा राख्यो मिल मालिकहरुले । तर, उपतलालको खाता खाली नै रह्यो । आन्दोलन नगरी पैसा नपाउने ठानेपछि यो पटकको उखु आन्दोलनमा सर्लाही रामनगरबाट उपतलाल पनि सहभागी छन् ।

'यसपाली त जसरी पनि पैसा लानुपर्‍यो भन्ने सोचेर आएँ । मैले कृषि विकास बैंकबाट ऋण लिएको छु । महिना/महिनामा ब्याज तिर्नुपर्छ । महामारीले गर्दा ८ महिना कति दु:ख भयो त्यो त सबैलाई थाहै होला,' उनी भन्छन्,'अब जबसम्म हाम्रो पैसा खातामा हाल्दैन तबसम्म आन्दोलन गर्न छोड्दैनौं ।'

समयमै उखुको पैसा नपाउँदा २ बिघा जमिन धितो राखेर १० लाख ऋण लिएका थिए उनले । अहिले बैंकको ब्याज तिर्नसमेत गाह्रो परेको उनी सुनाउँछन् । 'हाम्रो पहिला नै योजना हुन्छ । खेतीबाट यति पैसा आउँछ यता खर्च गर्ने भनेर । तर उखुबाट पैसा नआएपछि काम बिग्रन थाल्यो । त्यसैले ऋण लिएँ, 'सुनाए,'जसोतसो ब्याज तिर्दैछु ।'

उनले अन्नपूर्ण चिनी मिलबाट ७ लाख ५० हजार र श्रीराम सुगर मिल्सबाट २ लाख रुपैयाँ पाउन बाँकी छ । चार वर्षदेखिको पैसा भुक्तानी नभएपछि परिवार चलाउन हम्मेहम्मे पर्‍यो उपतलाललाई । उनका एक छोरा काठमाडौंमा पढ्छन् । एकजना भैरहवामा । छोरी गाउँमै पढ्दैछिन् । चिनी मिलले समयमै पैसा नदिँदा बालबच्चाका पढाइ र घरको खर्च जुटाउनै गाह्रो परेको बताउँछन् उपतलाल ।

छ दिनदेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत उनी भन्छन्,'सरकारले वास्तविक किसानको पैसा मिलाइदिनु पर्ने हो । तर मतलब नै छैन सरकारलाई हाम्रो ।'

काठमाडौं आउन साहुसँग १० हजार ऋण लिएका उनलाई त्यसकै ब्याजको चिन्ताले पनि सताउन थालेको छ । मिलले पैसा किन नदिएको जस्तो लाग्छ ? भन्ने प्रश्न गर्दा उनले जवाफमा भने, 'म त सरकारलाई दोषी देख्छु । हामी कति दु:ख गरेर उखु लगाउँछौं । उखु नगदे बाली भनेर हामीले उखु लगायौं । उखुमा बढी पैसा आउँछ रे भनेर हामीले लगायौं । तर मिल मालिकले त हामीलाई बर्बाद नै गर्‍यो । सरकारले भन्यो भने त उद्योगीले पैसा दिनुपर्छ नि !'

नेपाललाई कृषि प्रधान देश भने तापनि किसानहरुलाई सरकारले कुनै सेवासुविधा नदिएको उपतलालको गुनासो छ । किसानले समयमै मल पाउँदैनन् । भारतबाट मल ल्याउँदा नेपाल र भारततर्फको भन्सारमा निकै समस्या झेल्नुपर्छ । चोरी गरेर मल ल्याएको झैंको व्यवहार खेप्नुपर्छ किसानले । त्यसैले उपतलाललाई लाग्छ यो सरकार किसानको होइन । 'किसानको सरकार भएको भए हामी किसान सर्लाहीबाट काठमाडौंको यो चिसोमा आएर किन आन्दोलन गर्नुपर्थ्‍यो । हामीलाई भन्ने मात्र किसान हो । न समयमा हामीले बिउ पाएका छौं न उखुको भुक्तानी,' आक्रोशित हुँदै भने, 'हामीले उब्जाएको धान कहाँ बेच्ने त्यसको पनि ठाउँ छैन । हामी बेच्न जनकपुर, वीरगन्ज जानुपर्छ । मुखले मात्र भन्ने होइन । यो सरकारले किसानको केही गरेको छैन । किसानलाई मार्ने काम गरेको छ यो सरकारले ।'

सरकारले यो पटक उधारो सम्झौता नगर्ला भन्ने आस राखेका छन् उपतलालले । यसपाली आफूले पाउनुपर्ने ९ लाख ५० हजार रकम पाएपछि मात्र सर्लाही फर्कने उनको योजना छ । 'मिल मालिकले पैसा नदिएर त सरकार कहाँ आएको छु । सरकारलाई गुहार्दैछु, हाम्रो पैसा दिलाइदिनुस् । अब त पैसा लिएर नै जान्छु । जबसम्म नगदी सम्झौता हुँदैन हामी जाँदैनौं,' उनले भने ।

उपतलालले उखु खेती गरेको १३ वर्ष भयो । तर, चिनी मिल मालिकले समयमै पैसा नदिनाले उनले यो पेसा नै छोडेका छन् । पोहोर सालदेखि नै आफूले उखु खेती छोडेको उनले सुनाए । 'अब खाली धान, गहुँमात्र लगाउने । उखुबाली नलगाउने । अरु बाली त काटेर घरमा ल्याउन मिल्छ । तर उखुबाली कहाँ राख्ने । त्यो राख्ने ठाउँ त हुँदैन । त्यो त सुकेर खत्तम हुन्छ । त्यो त कारखानालाई दिनुपर्छ । त्यसैले मैले उखु उब्जाउन छोडिदिएँ,' उनले भने ।

धान/गहुँ बेचेर परिवार पाल्ने सोचेर उनले उखु खेती छोडेका हुन् ।

काठमाडौंमा आन्दोलनरत उपतलालको अहिलेको दैनिकी फेरिएको छ । दिनभर आन्दोलन गरेर उनी रात बिताउन कलंकी पुग्छन् । त्यहाँ टिनले बनाएको फर्निचर कारखानाको कुनामा एउटा कोठा छ । छेउमा सानो भान्सा छ । सुत्ने कोठामा एउटा पलङ छ । त्यही पलङमा भाइहरुसँग कोचिएर सुत्छन् उपतलाल । बिहानको खाना खाएर आन्दोलन पुग्छन् अनि रातमा फेरि फर्कन्छन् ।

अब त भाइहरुसँग बस्न पनि लाज लाग्न थालिसक्यो उनलाई । 'पाँच दिनदेखि यहीँ बसिरहेको छु । यहाँ बस्न लाज लाग्न थालिसक्यो । भाइहरु आफै कामदारहरु हुन्,' उनले भने ,'कहिलेकाहीँ तरकारी लिएर जान्छु । ऋण गरेर ल्याएको पैसा सकिन लाग्यो । तराईंमा बस्ने मान्छेलाई यता धेरै चिसो लाग्छ । बिहान शीत तपतप चुहिन्छ यहाँ ।'

प्रकाशित : पुस ३, २०७७ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?