कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेकअप दुनियाँमा ऐश्वर्नाको फरक काम

चलचित्र ‘प्रेमगीत ३’ मा हिरोको टाउको काटेर हातमा झुन्ड्याइएको दृश्य रहेछ । यसका लागि उनले उक्त चलचित्रका अभिनेता प्रदीप खड्काकै जस्तै देखिने कृत्रिम टाउको बनाइदिइन् । अभिनेता सुनील थापाको जस्तै देखिने नक्कली टाउको पनि तयार पारेकी छन् ।
रीना मोक्तान

काठमाडौँ — विज्ञान विषयमा ‘प्रोजेक्ट’ बनाउन सानैदेखि माहिर थिइन् ऐश्वर्ना मुडभरी । स्कुल–कलेज पढ्दा विज्ञानका प्रदर्शनीमा सधैं टप हुन्थिन् । उनले युनिभर्सल कलेजमा जीवविज्ञान पढिन् । ज्वालामुखी विस्फोट, स्पाइडर रोबर्ट, वाटर फाउन्टेनलगायत सामग्री आफैंले बनाएर प्रदर्शनीमा देखाउँथिन् ।

मेकअप दुनियाँमा ऐश्वर्नाको फरक काम

यो सिर्जनशील स्वभाव देखेर आमाबुबा उनलाई ‘वैज्ञानिक बन्नू’ भन्थे । तर उनले आफ्नो बाटो तय गरिसकेकी थिइनन् । १२ कक्षा सक्नासाथ केएनकेबाट मनोविज्ञानमा स्नातक गरिन् । स्नातक सक्नासाथ साथीको लहलहैमा ‘ब्युटी मेकअप’ सिक्न थालिन् । ‘एस्थेट मेकअप एकेडेमी’मा ब्युटीसँगै एस्थेटिक मेकअपको ६ महिने कोर्स लिइन् । मेकअपमा रुचि बढ्दै गएपछि यतैतिर ढल्किइन् ।

एस्थेटिक मेकअपअन्तर्गत टाउकोमा तालु बनाउने, घाउ–चोट देखाउने मेकअप सिकिन् । त्यहीँ उनले ‘प्रोस्थेटिक मेकअप’बारे जानिन् । उनको सिर्जनशीलता देखेर मेकअप देखेर सिकाउने प्रशिक्षकहरू उनलाई ‘प्रोस्थेटिक मेकअप’ सिक्न हौसला दिन्थे । एक वर्षअघि उनले अमेरिकाको सिनेमा मेकअप स्कुलमा ‘प्रोस्थेटिक मेकअप’को अनलाइन कक्षा पढिन् ।

‘प्रोस्थेटिक भनेको साइन्टिफिक किसिमको मेकअप हो । तपाईंको अनुहार डुब्लिकेट बनाउनु पर्‍यो, भूत बनाउनु पर्‍यो, कुनै क्यारेक्टर दिनुपर्‍यो भने यसको प्रयोग गरिन्छ,’ उनले भनिन्, ‘मैले एस्थेटिक मेकअप गर्दागर्दै प्रोस्थेटिकको अभ्यास गर्न थालेको थिएँ । मैले गरेका सिर्जना अमेरिका पठाइएपछि शिक्षकहरूले मन पराउनुभयो । अनि मलाई सिनेमा मेकअपमा छनोट गर्नुभयो ।’

उनले त्यहाँ एकवर्षे कोर्स गरिन् । परिवार उनलाई ‘इनोभेसन’ पढ्न सुझाइरहन्थे । परिवारलाई प्रोस्थेटिक मेकअपमा पनि इनोभेसन हुने भन्दै सम्झाइन् । ‘प्रोस्थेटिक भनेको पनि इनोभेसन हो । विधा मिल्न गयो, त्यसैले प्रोस्थेटिक पढें,’ उनी सुनाउँछिन् ।

ऐश्वर्नाले अमेरिकाको मेकअप कक्षा लिँदै गर्दा हलमा बलिउड फिल्म ‘सन्जु’ प्रदर्शनरत थियो । फिल्ममा अभिनेता रणवीर कपुरलाई सञ्जय दत्तजस्तो देखाउन ‘प्रोस्थेटिक मेकअप’कै सहारा लिइएको थियो । बलिउड फिल्म ‘पा’मा अमिताभ बच्चन, राबतामा राजकुमार राओ ‘प्रोस्थेटिक मेकअप’कै कारण फरक ‘लुक्स’मा देखिए । कुनै खास पात्रलाई देखाउन यस किसिमको मेकअप हलिउडले त वर्षौंदेखि गर्दै आइरहेकै छ ।

‘एभेन्जर्स’जस्ता फिल्महरू हेर्दा ऐश्वर्ना सुरुमा त्यसभित्रका पात्रलाई भीएफएक्सद्वारा देखाइएको सोच्थिन् । तर, प्रोस्थेटिक मेकअपबारे थाहा पाएपछि उनले एभेन्जर्सका पात्र मेकअपबाट नै विविध रूपमा देखिने गरेको पत्ता लगाइन् ।

अहिले नेपाली फिल्म र म्युजिक भिडियोमा ‘प्रोस्थेटिक मेकअप’ गर्न थालिसकिन् उनले । ‘प्रेमगीत ३’ का लागि अभिनेता प्रदीप खड्काको अनुहारको मास्क बनाएकी छिन् । लकडाउनका कारण उनको त्यो काम फिल्ममा प्रयोग भइसकेको छैन । ‘फिल्ममा प्रदीपको टाउको काटेर हातमा झुन्ड्याइएको दृश्य देखाउन पर्ने रहेछ । मैले उसको टाउको बनाएँ तर सुटिङ हुन पाएको छैन । मुस्ताङ गएर सुट गर्नुपर्छ,’ उनले भनिन्, ‘अहिले प्रदीपजस्तै देखिने टाउको मसँग छ ।’ यो बनाउन उनलाई दुई साता लाग्यो । उनले अभिनेता सुनील थापाको जस्तै देखिने नक्कली टाउको पनि तयार पारेकी छिन् ।

ऐश्वर्ना इन्स्टाग्राममा आफ्नो सिर्जनाका तस्बिर र भिडियो राख्थिन् । उनको त्यही काम देखेर निर्माता सन्तोष सेनले फिल्ममा अफर गरेका थिए । आफ्नो पहिलो काम पर्दामा हेर्न उनी आतुर छिन् । तर लकडाउनले गर्दा इन्स्टामै सीमित छ । प्रदीप र सुनीलको अनुहारको मास्क उनले इन्स्टाग्राममा पनि राखेकी छिन् ।

तिनै तस्बिर देखेर उनलाई कतिपयले सोध्छन्, ‘विदेशमा हुनुहुन्छ ?’ नेपालमै रहेको जानकारी दिँदा कति त छक्क पर्छन् । धेरै फिल्मकर्मीले भविष्यमा उनीसँगै काम गर्ने प्रस्ताव पनि राखेका छन् । निर्माता सन्तोषले करिब ३ वर्षअगाडि बनाउने घोषणा गरेको फिल्म ‘दीपेन्द्र सरकार’मा पनि काम गर्ने तयारी भइरहेको ऐश्वर्ना बताउँछिन् । ‘खासमा मलाई सन्तोष सेनले दीपेन्द्र सरकारमा काम गर्न अफर गर्नुभएको थियो तर उहाँले मेरो काम देख्नुभयो, प्रेगगीत–३ मा काम गर्न पाएँ,’ उनले भनिन्, ‘अब दीपेन्द्र सरकारमा पनि काम गर्छु । त्यसमा मैले प्रदीपलाई दीपेन्द्र सरकार बनाउनुपर्छ ।’

‘प्रोस्थेटिक मेकअप’मा रसायनको धेरै प्रयोग हुन्छ । सिलिकन, लेटेक्स, स्पिरिटलगायत सामग्री विदेशबाट मगाउनुपर्ने भएकाले यस किसिमको मेकअप खर्चिलो हुने र पारिश्रमिक पनि महँगो पर्ने ऐश्वर्ना बताउँछिन् । प्रदीप र सुनीलको टाउकोको मास्क बनाएको पारिश्रमिक ४ लाख रुपैयाँ लिएको उनको भनाइ छ ।

उनी विदेशबाट आउने साथीहरूलाई आवश्यक सामग्रीहरू मगाइरहेकी हुन्छिन् । नेपाली फिल्म क्षेत्रमा ‘प्रोस्थेटिक मेकअप’को राम्रो स्कोप देखेकी छन् ऐश्वर्नाले । ‘एक्सन दृश्यमा काटेको देखाउन पर्‍यो । हरर फिल्ममा भूत देखाउनु पर्‍यो, त्यहाँ त मेरो आवश्यकता देख्छु म । निर्देशकले आधा मानिस आधा मयूर, आधा छेपारो आधा मानिसको शरीरको पात्र कल्पना गर्न सक्ला । म निर्देशकले जस्तो सोच्छ त्यही बनाइदिन सक्छु,’ उनले भनिन्, ‘मैले थ्यानोस बनाएको छु । बाहुबलीमा टाउको काटेको दृश्य देखाइएको छ । मैले पनि त्यस्तै बनाएको छु ।’

उनले गायक नवीन के भट्टराईको नयाँ गीतमा पनि काम गरिन् । गीतमा एसिड आक्रमणमा परेकी युवती देखाउनु थियो । उनले आफ्नो कलाले त्यसलाई सम्भव बनाइहालिन् । आफ्नो मेकअप देखेर गायक नवीन सन्तुष्ट भएको उनी सुनाउँछिन् ।

ऐश्वर्नालाई ‘साइन्स फिक्सन’ फिल्ममा काम गर्ने रहर छ । साइन्स फिक्सनका पात्रहरूले आफ्नो कामको न्याय गर्ने बताउँछिन् उनी । ‘साइन्स फिक्सनमा सानो साइन्टिस्ट बच्चाले कुकुर र मानिसको डीएनए मिक्स गरेको क्यारेक्टरमा फिल्म बनाउन सकिन्छ । कथा त जुन पनि बन्न सक्छ । कल्पनाको सीमा कहाँ हुन्छ ?,’ उनी भन्छिन्, ‘नेपालमा धेरै कथाहरू छन् । हिमालयन यतीको कथामा प्रोस्थेटिक मेकअप प्रयोग गरेर फिल्म बनायो भने सायद ओस्कारमै जाला ।’

बन्ला त नेपालमा साइन्स फिक्सन फिल्म ?

उनी भन्छिन्, ‘निर्देशकले बनाउनुहोला नि त । अब त नेपाली फिल्मको स्तर बढिरहेको छ । आर्टिस्ट भएपछि त बनिहाल्छ नि । खासमा निर्देशक र आर्टिस्टको कल्पना मिल्न पर्‍यो ।’ उनको क्षमता देखिन सक्ने अर्को विधा हो– हरर । तर, आफूले अहिलेसम्म हेरेका नेपाली हरर फिल्ममा ‘भूत’ नै देखाइने नगरेको उनको भनाइ छ ।

फिल्ममा मेकअपको निकै महत्त्व देख्छिन् ऐश्वर्ना । फिल्मलाई वास्तविक देखाउन प्रोस्थेटिक मेकअपको महत्त्वपूर्ण भूमिका हुने उनको भनाइ छ । भन्छिन्, ‘फिल्म भनेकै स्क्रिप्ट, भीएफएक्स, एक्टिङ अनि प्रोस्थेटिक हो । नेपालमा प्रोस्थेटिक मेकअपकै अभाव छ । नेपाली फिल्मको मेकअप रियलिस्टिक देखिँदैन । दुर्घटना भएको छ भने रातो रङ मात्र लगाइदिएको हुन्छ । दुर्घटनामा त सिसा घोपेको हुन सक्छ । चोट लागेको हुन सक्छ ।’

कमेडी फिल्ममै पनि ‘प्रोस्थेटिक मेकअप’को आवश्यकता रहेको उनी बताउँछिन् । ‘कमेडी फिल्ममा पनि मेकअप त चाहिन्छ । जवान व्यक्तिलाई वृद्ध बनाउनुपर्छ । कि त बूढोलाई जवान,’ उनले सुनाइन्, ‘नेपाली फिल्ममा उमेरअनुसारको परिवर्तन देखाइँदैन । २० वर्षपछिको मानिसको कपाल सेतै फुलेको देखाइएको हुन्छ । कपाल मात्र सेते भएको हुँदैन नि, अनुहार चाउरी परेको हुन्छ ।’

हालै ऐश्वर्नाले भारतीय वेब सिरिजमा पनि काम गरिन् । बलिउडबाट पनि कामको अफर आइरहेको बताउँछिन् । तर, उनलाई नेपालमै ‘प्रोस्थेटिक मेकअप’ स्थापना गर्न मन छ । मेकअपको स्तर बढाएर नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सघाउन चाहन्छिन् । ‘विदेशमा बस्ने नेपालीले हेर्ने तहको फिल्म बनाउन सके मात्र पनि राम्रो,’ उनले सुनाइन् ।

प्रकाशित : मंसिर २९, २०७७ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?