ढुंगामा लेखिएको मान्छेको कथा- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढुंगामा लेखिएको मान्छेको कथा

‘होमो स्यापियन्स असम्भवप्रायः संयोगहरूको शृंखलाले जन्माएको र यो विशाल बह्माण्डको सारै तुच्छ अस्तित्व हो । इतिहासप्रतिको यस्तो हेराइले कसैलाई निकै निराश बनाउन पनि सक्छ । तर, यही कुरो मलाई उल्लासपूर्ण लाग्छ । मेरो स्वतन्त्रता र नैतिक दायित्वको स्रोत पनि यही हो ।’
‘क्याम्ब्रियन युगमा जीवन अलिकति मात्रै भिन्न कोणबाट आरम्भ भएदिएको भए पनि हामी हुने थिएनौं र त्यो उल्कापिण्डको परिभ्रमण कक्ष थोरै वरपर भइदिएको भए मान्छेलगायत ठूला स्तनधारी हुने थिएनन् । पृथ्वीमा अझै डाइनोसर नै हुने थियो ।’
विकास बस्नेत

काठमाडौँ — ६ अगस्ट १९४५ का दिन एकाबिहानै टिनियान टापुको रनवेबाट अमेरिकी वायु सेनाको खरानी रङको बमवर्षक विमान उड्यो । तर, विमानले बम वा अन्य कुनै पनि प्रकारको हतियार भने बोकेको थिएन । केवल १२ जना निहत्था मानिस बोकेर उडेको त्यस विमानले दिएको एक संकेत नै करिब एक घण्टा पछाडि लाखभन्दा बढी सर्वसाधारणको मृत्युको कारण बन्यो ।

३० मिनेटपछि ८२ नम्बर कल साइन भएको र गोलो घेराभित्र टेलफिनमा अंग्रेजी अक्षर ‘आर’ लेखिएको अर्को विमान पनि त्यही रनवेबाट उड्यो । त्यस विमान अमेरिकी वायुसेनाका कर्णेल पाउल डब्लू टिब्बेट्सले उडाएका थिए । त्यस जहाजमा भने बम थियो, भयंकर शक्तिशाली बम । त्यस दिनसम्म मान्छेले बनाएको सबैभन्दा घातक हतियार ।

कर्णेलका साथमा उनका १२ जना सहयोगी पनि उक्त विमानमा थिए । बम बर्साउन सम्भावित ४ स्थान टार्गेटको रूपमा तोकिएको थियो । ४ मध्ये कुनै एक छान्ने जिम्मा तात्कालिक परिस्थितिको आधारमा उनैको थियो । जहाज आकाशमा बत्तिनेबित्तिकै वायु सेना प्रमुख टी ह्यान्डीको प्रस्ट आदेश आयो– ‘...मौसमको अनुकूलता हेरेर यो विशेष बम कोकुरा, निगाता, हिरोसिमा र नागासाकीमध्ये कुनै एक टार्गेटमा खसाउनू ।’

बिहान ७ः४२ मा जहाज प्रशान्त महासागरमाथि २६ हजार फिटको उचाइमा थियो । आफूभन्दा आधा घण्टाअघि उडेको स्काउट जहाजले मौसमसम्बन्धी जानकारी दियो । पहिलो टार्गेट बादलले ढाकेको रहेछ, दोस्रोमा भिजिविलिटी कम रहेछ । एउटामा चाहिँ बिहानै झलमल घाम लागिरहेको रहेछ ।

उताबाट कोडेड मेसेज आयो– ‘क्लाउड ओभर लेस देन थ्री टेन्थ । एडभाइस– बम्ब प्राइमरी !’

बम्ब प्राइमरी भनेर हिरोसिमा सहरलाई तोकिएको थियो । मौसमको आकस्मिक फेरबदलको संयोगले हिरोसिमाका लाखभन्दा बढी सर्वसाधरण एकै चिहान भए । एकाबिहानै झलमल घाम लाग्नु सधैँ सुखद हुँदैन । यही सफा मौसमको सानो संयोगले लाखौं मानिसले ज्यान गुमाए, हजारौं परिवार तहसनहस भयो, एउटा समाज धूलिसात भयो, एउटा मुलुकले घुँडा टेक्यो र समग्र विश्वको राजनीतिक रूपरेखा परिवर्तन गरिदियो ।

बम बर्साउने सेड्युल मात्रै आधा घण्टा वरपर भइदिएको भए सायद नतिजा अर्कै हुने थियो । दुर्भाग्यको सिकार अर्कै सहर र मान्छेको अर्कै समूह हुने थियो । यो वा यस्ता असंख्य र्‍यान्डम घटना, आकस्मिक संयोगलाई आस्तिकहरू ईश्वरको चाहना भन्छन्, भाग्यवादीहरू भावीको लेखान्त भन्लान् तर प्राकृतिक नियममै रहेर हुने घटनाका केही डिटेल संयोगको परिधिभित्र पर्छन् । बह्माण्डको आरम्भदेखि बुद्धिमान जीवको उद्विकाससम्म बिल्कुलै असम्भवप्रायः संयोगहरूको लामो शृंखला जोडिएको छ ।

व्यक्तिगत जीवनका स–साना संयोगले हाम्रो जीवन जेलिएको हुन्छ । लिखित इतिहासमा खासगरी युद्धहरूमा आइलाग्ने यस्ता संयोगले संसारको राजनीतिक मानचित्र बदलिदिएका छन् । तर, खगोलीय तहमा हुने यस्ता केही आकस्मिक र दुर्लभ संयोगले भने यस धरतीको जीवनको गोरेटो बदलिदिएको छ ।

अक्सफोर्ड विश्वविद्यालयका खोजकर्ता एन्ड्र्यु इ. सिन्डर र समूहले ‘एस्ट्रोबायोलोजी’ जर्नलको पछिल्लो अंकमा यस्तै असंख्य र दुर्लभ संयोगको लामो शृंखलाबाट गुज्रिएर जसरी पृथ्वीमा बुद्धिमान–जीवन सम्भव हुन भयो, यस्तो शृखंला यो ब्रह्माण्डमा अन्त जुर्नु दुर्लभ हुने तर्क गरेका छन् । रिसर्च भन्छ– जसरी महाविस्फोटदेखि पृथ्वीको उत्पत्तिसम्म, अजैविक पदार्थबाट जीवनको आरम्भ, प्रजननका लागि यौन र बहुकोषीय जीवदेखि बुद्धिमानी जीवको उद्विकाससम्मका ‘इभोलुसनरी ट्रान्जिसन’ भए यी सबै संयोगले जुरेका हुन् ।’

लिखित इतिहासभन्दा निकै पुराना यस्ता दुर्लभ घटनाको दसी प्रमाण जीवाश्माविद् र भूगर्भशास्त्रीहरूले बेलाबखत चट्टानमा खिपिएको पृथ्वीको इतिहास ‘डिकोड’ गरेर प्रकाशमा ल्याउँछन् । यहाँ चर्चा यस्तै खगोलीय तहमा घटेको एक महासंयोगको गर्न लागिएको छ, जसको जगमा आजको यो दुनियाँ उभिएको छ ।

लुइस अल्भारेज र वाल्टर अल्भारेज, भौगर्भिक युगको दुई कालखण्ड छुट्याउने गुब्बियोको पत्रे चट्टानको छेउमा । तस्बिर– बर्कले ल्याब आर्काइभ

मध्यइटालीको मध्यकालीन सहर गुब्बियोभन्दा केही पर चुनढुङ्गाले बनेको पहाडको गल्छी छ । यही गल्छी काटेर खनिएको नागबेली हाइवेले कुनै समय समुद्रको पिँधमा रहेको चुनढुङ्गाको पत्रे चट्टानको अग्लो तह बाहिर एक्सपोज गरिदिएको छ । सन् १९७० को दशकमा त्यही बाटो भएर हिँडेका भूगर्भशास्त्री वाल्टर अल्भारेजको नजर त्यस चट्टानको एउटा तहमा पर्‍यो । उनका अनुभवी आँखाले उक्त चट्टानको त्यस तहमा रोचक ढाँचा ख्याल गरे । पत्रेचट्टानको लामो तहमध्ये एक पत्रको रङ सेतो र ठीक माथिको अर्को तह रातो थियो । अझ छेउमा गएर हेर्दा यी दुई फरक रङका चट्टानको पत्रको बीचमा खरानी रङको अर्को तह देखियो ।

त्यस यात्राको संयोगले नै ६.६ करोड वर्षअगाडि पृथ्वीमा भएको सबैभन्दा दुर्लभ, आकस्मिक र प्रलयकारी घटनाको इतिहास उजागर भयो । चट्टानमा कोरिएको पृथ्वीको पाल्सी इतिहास पढ्न खप्पिस अल्भारेजले हाम्रो अस्तित्वको आधारमा रहेको अर्को भयंकर संयोगको घटनालाई जोडिदिएका थिए । उनले त्यस दिन र घटना उजागर गरे, जुन दिन र घटनापछि यो धरतीको जीवमण्डल सदाका लागि बदलिएको थियो ।

भूगर्भविद्हरू पत्रेचट्टानमा पाइने जीवाश्माको आधारमा पत्रहरूको सापेक्षित समयकाल विभाजन गर्छन् । यस्ता जीवाश्मालाई इन्डेक्स फोसिल भनिन्छ । कुनै निश्चित प्रजातिहरूको जीवाश्मा रहेको चट्टानको आधारमा पृथ्वीको भौगर्भिक इतिहासलाई विभिन्न युग, अवधि र कालखण्डमा विभाजन गर्छन् । गुब्बियोको पत्रेचट्टान पुरानो समुद्रको सतहमा लामो समयक्रममा थुपारेको बालुवा, माटो, चुनको लेदो जम्मा भएर बनेको थियो । कालान्तरमा त्यही सतह बढेर इटालियन प्रायद्वीप बनेको हो । त्यसैले यसमा एककोषिय सामुद्रिक जीव फोरामेनिफेराको पर्याप्त जीवाश्मा थियो । छोटकरीमा फोराम भनिने यिनीहरूको शरीर मरेपछि समुद्रको सतहमा पुग्छ र बिस्तारै पुरिन थाल्छ । पछि यो चुनढुङ्गामा मिल्न पुग्छ । कालान्तरमा यो पत्रेचट्टानको रूपमा चुनढुङ्गामा सूक्ष्म जीवाश्माको रूपमा रहन्छ । विभिन्न कालखण्डमा विभिन्न आकार र प्रजातिका फोरामहरू अस्तित्वमा रहेकाले तिनको जीवाश्माको यही आकार र प्रजातिको आधारमा जीवाश्मा भेटिएको चट्टानको समयकाल पत्ता लगाइन्छ ।

जब अल्भारेजले गुब्बियो पहाडको चट्टानमा रहेको फोरामको जीवाश्मा नियालेर अध्ययन गरे, त्यसमा अनौठो ढाँचा देखे । तल्लो तहको सेतो रंगको पत्रेचट्टानमा फोराम जीवाश्माको आकार ठूलो थियो । र, त्यसमा थुप्रै प्रजातिगत विविधता थियो । माथिल्लो रातो रङको पत्रेचट्टानमा चाहिँ फोरामेनिफेरको जीवाश्मा निकै थोरै थियो । र, त्यसमा न्यून विविधता थियो । यो दुवै पत्रको बीच/साँधमा रहेको खरानी रङको पत्रमा कुनै पनि जीवाश्मा देखिएन । अल्भारेजलाई लाग्यो– यो दुई तहको पत्रेचट्टान बन्न लाग्ने समयको यति छोटो अवधिलाई ध्यान दिने हो भने माथिल्लो तहको पत्रेचट्टान बन्नुअघि फोरामको थुप्रै प्रजाति नष्ट भएको हुनुपर्छ र यत्रो विनाशकारी घटना हुनेगरी पक्कै कुने ठूलै प्रलय आएको हुनुपर्छ ।

एक हजार किलोमिटर टाढा स्पेनको दक्षिण–पूर्वी तटमा एकदशकअघि नै डच भूगर्भशास्त्री जान स्मिटले पत्रेचट्टानमा यस्तै ढाँचा देखेका थिए । स्मिटले उतिबेला नै त्यो चट्टान भौगर्भिक इतिहासको मध्ययुग अर्थात् सरिसृपको युगको अन्त्य र स्तनधारी युगको आरम्भको साँधसिमाना हो भन्ने पत्ता लगाएका थिए । अर्थात् अल्भारेजले फेला पारेको पत्रेचट्टानको निर्माण अवधिमा फोरामको मात्रै विनाश भएको थिएन । संयोगले अल्भारेजले फेला पारेको फोरामको विनाश–अवधि भौगोलिक कालखण्डको क्रिटासियस अवधिको अन्त्य (६.५ करोड वर्ष) अर्थात् डाइनोसर पतनको समयकालसँग मिलेको थियो । अल्भारेजले फेला पारेको पत्रेचट्टानको तल्लो तह निर्माणको त्यो युगमा पृथ्वीको जल, थल र आकाशमा समेत डाइनोसरको रजगज थियो । त्यसको ठीक माथिल्लो रातो पत्र स्तनधारी जीवको युगको आरम्भ थियो । बीचमा रहेको जीवाश्मारहित खरानी रङको पत्र त्यस दिनको थियो, जुन दिन पृथ्वीमा कुनै ठूलो विनाशकारी घटना भएको थियो ।

यो साँधको पत्रेचट्टान निर्माणको समय डाइनोसर मात्रै होइन त्यसबेला अस्तित्वमा रहेका करिब तीन चौथाइ प्रजाति लोप भएका थिए । अल्भारेज, स्मिट र उनका सहयोगीसामु तेर्सिएको एउटै रहस्यमयी प्रश्न थियो– आखिर त्यो सूक्ष्म फोरामदेखि डाइनोसरसम्म नामेट पार्ने त्यस्तो कुन घटना पृथ्वीमा भएको थियो ?

दुई फरक पत्रेचट्टानको बीचमा साँधमा रहेको खैरो पत्रको रासायनिक विश्लेषण गर्दा यसमा इरिडियमको ठूलो मात्रा देखियो । यो तत्त्व पृथ्वीमा निकै दुर्लभ हुन्छ । तर, केही छुद्रग्रह र पुच्छ्रेताराहरूमा इरिडियम पर्याप्त पाइन्छ । उनीहरूका आँखा अन्तरिक्षतर्फ सोझियो । त्यस साँधमा फेलापरेको इरिडियमको अध्ययनपछि उनको समूह एउटा निष्कर्षमा पुग्यो– त्यस विनाशका लागि ६.६ करोड वर्षअघि पृथ्वीमा छुद्र ग्रह ठोक्किएको हुनुपर्छ । कोपेनहेगेन, डेनमार्क र न्युजिल्यान्डमा एक्सपोज भएका त्यस कालखण्डका साँधमा रहेका पत्रेचट्टानमा समेत इरिडियमको अनुपात विश्लेषण गरियो । म्यानहटन प्रोजेक्टका नायक तथा नोबेल पुरस्कार विजेतासमेत रहेका वाल्टर अल्भारेजका पिता लुइस अल्भारेजले त्यो अनुपातमा इरिडियम छर्ने गरी आउने उल्कापिण्डको आकार हिसाब गरे । उनका अनुसार, यसको आकार कम्तीमा १० किलोमिटर चौडा हुनुपर्छ ।

अल्भारेज, स्मिट र उनका सहयोगीले सन् १९८० मा छुद्रग्रह ठक्कर र क्रिटेसियस युगको विनाशको सम्भावित परिदृश्य अगाडि सारे । त्यो प्रस्ताव र्‍याडिकल थियो । कुनै आकस्मिक र र्‍यान्डम संयोगले जीवनको मोड नै बदल्न सक्छ भन्ने कसैले पत्याउन चाहेन । भूगर्भशास्त्रमा ‘क्याटस्ट्रपिफजम’ अर्थात् भौगर्भिग परिवर्तन कुनै प्रलयले हुँदैन बरु यसको नियमित तर सूक्ष्म गति हुन्छ । र, प्रजातिको विनाश अनि नयाँ प्रजातिको उद्विकासको गति पनि उस्तै धीमा हुन्छ भन्ने जड विश्वास रहेको समयमा यो प्रस्ताव बिल्कुलै अनौठो थियो । त्यसमाथि उक्त छुद्रग्रह ठोक्किएर बनेको ठूलो क्रेटर पृथ्वीमा कहाँ छ, अत्तोपत्तो थिएन ।

पछिल्ला वर्षमा त्यस कालखण्डका थुप्रै पत्रेचट्टान अन्य ठाउँमा पनि फेला परे । अन्त्यमा सन् १९९१ मा मेक्सिको युकातान प्रायद्वीपमा रहेको चिक्सुलुब गाउँमा उक्त ठक्करले पारेको १०० माइल क्रेटर फेला पर्‍यो । त्यसपछिका दिनमा यसका थप प्रमाण जुटे र साढे ६ करोड वर्षअघिको त्यो विनाशकारी घटनाका निर्विवाद तथ्य र कारणहरू स्थापित भए ।

त्यस दिन बिहान डाइनोसरको नियमित दिनचर्या सुरु हुन लागेको थियो । केही समयअघिदेखि आकाशमा सानो मधुरो पिण्ड देखिन थालेको थियो । त्यो पिण्डको आकार दिनदिनै बढ्दै जान थालेको थियो । त्यसलाई ध्यान दिएर के हुन लागेको होला भनेर सोच्न सक्ने जीवको जन्म भएको थिएन । युग नै सरिसृपहरूको थियो । सरिसृपहरूले ढाकेर बाँकी रहेको सीमान्तकृत स्थानमा सीमित हाम्रा स्तनधारी पुर्खाको आकार नै मुसाको भन्दा ठूलो थिएन । ती पनि दिनभर दुलामा पसेर राति आहारा खोज्दै जेनतेन जीवन धान्दै थिए । प्रजातीकरणमार्फत आफ्नो वंशमा नयाँ प्रजातिको हाँगा बढाउने कुनै संकेत थिएन ।

अनि त्यो भयानक कयामत (प्रलय) को दिन आयो । बाटो बिराएर पृथ्वीतिर हान्निएको कुनै उल्कापिण्ड वा कुनै छुद्रग्रह त्यस दिन मेक्सिकोको युकातान प्रायद्वीपमा बजारियो । करिब १० किलोमिटर व्यास भएको (सगरमाथामा जत्रै चाक्लो चट्टान) पिण्ड ३० किलोमिटर प्रतिघण्टाको दरमा हान्निँदै आएर पृथ्वीमा जोतियो । यसले लगभग ४० किलोमिटर क्षेत्र सोहोर्‍यो । सतह मात्रै होइन पृथ्वीको म्यान्टलसम्मै दर्फर्‍याउने गरी २५ माइल गहिरो खाल्डो बनायो । एक अर्ब आणविक बमले उत्सर्जन गर्ने ऊर्जा त्यो ठक्करले पैदा गर्‍यो ।

ठक्करको प्रभावले युकातान सेल्फ भास्सियो । त्यसले पैदा गरेको २ सय मिटर अग्लो त्यो सुनामी मेक्सिको गल्फ र क्यारिबियनतिर हान्नियो । ठक्कर लागेको स्थानबाट उछिट्टिएको तातो पग्लेको चट्टान चारैतिर फैलियो । हज्जारौं माइल प्रतिघण्टाको दरले उछिट्टिएको तातो चट्टान उत्तरी अमेरिकाका धेरै ठाउँमा बर्सियो । ठक्करको केन्द्रविन्दुमा भने कार्बनडाइअक्साइड, पानी र सल्फरको बाफ, चट्टान र अन्य पदार्थ २५ हजारप्रति माइलको गतिमा उछिट्टिएर पूरै वायुमण्डल मात्रै ढाकेन त्यसको परिधिसमेत नाघेर अन्तरिक्षमा पुग्यो । त्यसपछि घण्टौंसम्म रातो र तातो उल्कापिण्ड निरन्तर झरेसरि पूरै पृथ्वीभर बर्सियो ।

‘ग्राउन्ड जिरो’ बाट उछिट्टिएको पदार्थ पुनः बर्सिएर पृथ्वीको प्रत्येक वर्गमिटरमा कम्तीमा १० किलोग्रामका दरले छरिन पुग्यो । तत्कालै वायुमण्डलको तापक्रम ४ सयदेखि ६ सय डिग्रीसम्म पुग्यो । उछिट्टिएर बर्सिएको तातो चट्टानले संसारभरको जंगलमा डढेलो लाग्यो ।

त्यस प्रलयको केन्द्रबाट सयौं किलोमिटरको परिधिभित्र जीवन पूरै नामेट भयो । ठक्कर लागेको केही घण्टामै मेक्सिको र अमेरिका वनस्पति र जनावरविहीन मरुभूमि बन्यो । अघिल्लो दिनसम्म जीवनले ढाकेका क्षेत्र भोलिपल्ट धूवाँ र धूलोको कुहिरोभित्र लुकेको नरक बन्यो । युकातानभन्दा दूरदराजमा मात्रै यसको प्रभाव तुलनात्मक रूपमा अलि कम थियो । मेक्सिको खाडीमा उठेको सुनामी युरोप, अफ्रिका र एसिया पुग्न सकेन । तर, यो त प्रलयको आरम्भ मात्रै थियो । यसको दुस्प्रभावको शृंखला त भर्खर आरम्भ मात्रै भएको थियो ।

प्रलयको केही दिनपछि यसको तात्कालिक प्रभाव मत्थर भयो । डढेलो कम भयो । तर, आकाशमा उडेको धूलो र धूवाँले पृथ्वी पूरै अन्धकार भयो । आकाशमा ढाकिएको धूलो र धूवाँ थिग्रिएर पृथ्वीमा खस्न महिनौँ लाग्यो । त्यसपछि पृथ्वीमा फेरि घाम फर्कियो । तर, तापक्रमले अर्को उत्कर्ष टेक्यो । पानीको बाफ र कार्बनडाइअक्साइडजस्ता हरित ग्यासले वायुमण्डल ढाकेको थियो । घामको ताप पृथ्वीमा त आयो तर सतहमा ठोक्किएर बाहिर जाने तापलाई हरित ग्यासले रोक्यो ।

त्यस प्रलयलाई सप्रमाण दुनियाँसामु ल्याउने भूगर्भशास्त्री वैज्ञानिक वाल्टर अल्भारेज आफ्नो किताब ‘टी रेक्स एन्ड द क्रेटर अफ डुम’ मा लेख्छन्, ‘सुरुमा दुनियाँ अन्धकार र हिउँझैँ ठण्डा बन्यो, त्यसपछि अम्लिय वर्षा र धूवाँले विषाक्त बनेको आगोको भट्टी बन्यो ।’

त्यस प्रलयले निम्त्याएको भौतिक क्षति मत्थर भएको सयौं वर्षपछि पृथ्वीको जीवमण्डल बिल्कुल पहिलेजस्तो रहेन । यो सदाका लागि बदलियो । प्रभाव स्थानको आधारमा ७८ प्रतिशत प्राणी र वनस्पति नामेट भए । तिनका पूरै समूह र प्रजातिसमेत फेरि कहिल्यै नफर्किने गरी लोप भए ।

पृथ्वीमा आकार र प्रभावको हिसाबले यो उल्कापिण्डको ठक्कर पछिल्लो ५४ करोड वर्षकै सबैभन्दा ठूलो हो । अर्थात् यो अवधिमा बनेको यही स्तरको क्रेटर पृथ्वीमा फेला परेको छ । यस हिसाबले ५४ करोड वर्षमा एकपटक हुन सक्ने यो एक महादुर्लभ घटना हो । यो संयोगको पनि महासंयोग हो । सम्भाव्यताका अन्य फ्याक्टर हेर्दा यस्तो लाग्छ– यो घटना नहुन पनि त सक्थ्यो ।

अधिकांश यस्ता छुद्रग्रह वा आकाशीय पिण्डहरू मंगल र वृहस्पतिको बीचमा रहेर पृथ्वीको परिक्रमा गर्छन् । यसलाई ‘एस्टेरोइड बेल्ट’ भन्छन् । अधिकांश पुच्छ्रेताराहरूले सूर्यलाई भ्रमण गर्ने कक्ष भने पुड्के ग्रह यमभन्दा पनि बाहिर हुन्छ । तर, कहिलेकाहीं वृहस्पतिको गुरुत्वाकर्षणले छुद्रग्रहको कक्षलाई र नजिकैको कुनै ताराले पुच्छ्रेताराको परिभ्रमण कक्षमा सानोतिनो विचलन ल्याउन सक्छ । यो विचलनले उक्त छुद्रग्रह, कुनै आकाशीय पिण्ड वा पुच्छ्रेताराको परिभ्रमण कक्ष र पृथ्वीले सूर्यलाई परिभ्रमण गर्ने कक्षमा एक अर्काको बाटो काट्न सक्छन् । लगभग ९९ प्रतिशत छुद्रग्रह र एक तिहाइ पुच्छ्रेतारा सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको परिभ्रमण कक्षमा कहिल्यै आउँदैनन् । यस्तोमा ती पृथ्वीमा ठोक्किन आइपुग्ने सम्भावना लगभग शून्य हुन्छ । बेलाबखत देखिने उल्का वर्षा यस्तै स–साना चट्टानका टुक्राहरू पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि घर्षण भएर बल्न पुग्छन् । वयस्क मान्छेको मुठ्ठीभन्दा साना ती चट्टानका टुक्रा बाटैमा जलेर सकिन्छन् भने अलि ठूला टुक्रा पूरै जल्न पाउँदैनन् । ती कुनै अनुसन्धाताको हातमा पर्छन् वा संग्रहालयमा सजिन्छन् ।

ठूलै विनाश निम्त्याउने आकारको छुद्रग्रह सौर्यमण्डल जन्मको केही कालसम्म नियमितझैं थियो । चन्द्रमाको दाग/क्रेटर यही कालमा नियमित ठक्करबाट निर्माण भएको हो । तर, बिस्तारै यस्ता ठूला पिण्डहरू छेउछाउका ग्रहहरूमा समाहित भइसकेका छन् । यस्तोमा बाटो बिराएर पृथ्वीमा आउँदा पनि धरतीसँग ठोक्किन यो बृहत् शून्यतामा पृथ्वी निकै सानो टार्गेट हो । पृथ्वीजत्रै आकार भएको शुक्र ग्रह साँझमा सानो चम्किलो थोप्लो मात्रै देखिन्छ । यस्तोमा छुद्रग्रह वा अन्य आकाशीय पिण्डहरू पृथ्वीजत्रो सानो नीलो थोप्लोतर्फ नै सोझिएर आउनु र त्यसैमा ठोक्किनु हामीले बोध गर्न सक्नेभन्दा दुर्लभ संयोग हो ।

यस्तो भइहाले पनि पृथ्वीको कुन स्थानमा ठोक्किन्छ भन्ने संयोगले विनाशको स्तर प्रभावित हुन्छ । यो छुद्रग्रह बजारिएको स्थान युकातान प्रायद्वीप पृथ्वीमा तुलनात्मक रूपमा पर्याप्त कार्बन र सल्फर भएको ठाउँ हो । त्यसैले ठक्करलगत्तै सिर्जित ऊर्जाले सतहको सल्फरलाई कालो धूवाँको रूपमा परिणत गर्‍यो, जसले आकाश ढाकेर दिउँसै रात पर्‍यो । भूगर्भविद्का अनुसार, यो तहको विनाश हुनेगरी कार्बन र सल्फर भएको स्थान पृथ्वीको सतहको कुल १३ प्रतिशत भागमा मात्रै छ । ठ्याक्कै यही स्थानमा उक्त पिण्ड ठोक्किनु पनि अर्को संयोग थियो ।

प्रतिघण्टा एक हजार माइलको दरले आफ्नो अक्षमा घुमेको पृथ्वीसँग ठोक्किन आइपुगेको उक्त पिण्ड आधा घण्टाअगाडि आएको भए आन्ध्र महासागरमा र आधा घण्टापछाडि आएको भए प्रशान्त महासागरमा खस्ने थियो । ३० वारपारको मिनेटको यो संयोग जुरेको भए अझै पृथ्वीमा डाइनोसरकै प्रजातिको हालीमुहाली हुने थियो । पृथ्वीमा जीवनको इतिहास ‘रिबुट’ हुने थिएन ।

यही अद्भुत संयोगले पृथ्वीमा जीवनको नयाँ गोरेटो कोरियो । इभोलुसनरी बायोलोजिस्ट सियन बी. क्यारोल भन्छन्, ‘त्यो घटना त्यस युगका केही भाग्यमानी ठहरिएका प्राणी र वनस्पतिलाई भेला पारेर धरतीमा रहेको जीवनको खेलमा रिसेट बटन थिचेझैं भयो । १० करोड वर्ष रजगज गरेको डाइनोसर लोप भयो । त्यस प्रलयको एक संयोगले धरतीमा पछि आएका जीव, वनस्पति र सारा दुनियाँ नै अघिल्लो दुनियाँका भन्दा बिल्कुल पृथक् भए ।’

त्यस प्रलयमा कुनै प्राणी बाँच्नु र कुनै निमिट्यान्न हुनु पनि नितान्त संयोग थियो । यो आकस्मिक आपत् त्यसबेलाका कुनै पनि प्राणीको अनुभव र क्षमताबाहिरको विषय थियो । करोडौं वर्षको उद्विकासको इतिहास बोकेर लगभग स्थिर बनेको जीवनशैली र शारीरिक बनोटले यो तहको संकट झेल्ने अनुमान गरेकै थिएन । दुनियाँ ढाकेर ‘फुड चेन’ को उपल्लो तहमा रहनेगरी भीमकाय शरीरको विकास गरेको डाइनोसरका लागि भने यही शरीर र हाइरार्की नै दुर्भाग्य भइदियो । बरु स–साना शरीर लिएर डाइनोसरले छाडेको सीमान्त स्थानमा रातको समयमा लुकीलुकी आहारा खोज्ने र दुलोभित्र बस्ने केही स्तनधारीका लागि आफ्नो शरीर र जीवनशैली त्यस प्रलयमा बाँच्न सक्ने संयोग बनिदियो ।

कछुवा, गोहीजस्ता जलचर वा आंशिक जलचर, जमिनभित्र दुलोमा बस्ने पन्छी, सर्प र केही स्तनधारीलाई तुलनात्मक रूपमा कम क्षति भयो । हिट पल्सबाट जोगिन त्यो जीवनशैलीले सहयोग गर्‍यो । सानो शरीरको ऊर्जा खपत कम हुने कारण आहाराको जोहो गर्न सहज भयो । सानो शरीरको प्रजनन् दर छिटो हुनाले जमिन तङ्ग्रिएपछि यिनै स–साना प्राणीले खाली जमिन र आकाश भर्न थाले । अहिलेका हरेक प्रजाति त्यही प्रलयमा संयोगले बाँचेका केही पुर्खाका सन्तति हुन् ।

त्यस प्रलय नभएको भए के हामी यो धरतीमा हुन्थ्यौं वा हुँदैनथ्यौं ? (कोरा अनुमानको विषय भए तापनि) । प्राप्त तथ्य आँकडाका आधारमा डाइनोसरले मैदान खाली गरेकाले नै स्तनधारीलगायत अन्य प्रजातिले विस्तार हुने मौका पाएका हुन् भन्ने आधार छन् ।

त्यसो त स्तनधारी जीव र डाइनोसर १० करोड वषभन्दा लामो समय साथसाथ बाँचेका थिए । डाइनोसरसँग एकैसाथ रहँदा पनि रौंले ढाकिएका स्तनधारीबाट थप प्रजातिको उद्विकास हुन सक्ने सम्भावना ‘रुल आउट’ हुँदैन । त्यसबेला तुलनात्मक रूपमा स्तनधारीहरूको शरीर सानो थियो र उनीहरू डाइनोसरले छाडेको सीमान्त परिवेशमा सीमित थिए । तर, १० करोड वर्षसम्म शरीरको आकार र जमिनमा फैलावट स्थिरप्रायः रहेका स्तनधारीको शरीरको आकार डाइनोसर लोप भएको केही हजार वर्षमै भीमकाय बन्न पुग्यो । त्यो प्रलयमा ९० प्रतिशत प्रजाति गुमाएको स्तनधारी प्राणीले कालान्तरमा डाइनोसरले छाडेका हर खाली ठाउँ भर्न पुग्यो । उसले जमिन मात्रै ढाकेन, आकाशमा (चमेरा)े देखि पानी (ह्वेल) सम्म कब्जा गर्‍यो । यही प्रलयमा बाँचेर विस्तार भएका स्तनधारीको एक समूहबाट प्राइमेट्स बन्यो र कालान्तरमा हाम्रो प्रजाति आगमनको आधार तय भयो । यो तीव्र परिवर्तनले स्तनधारीको विस्तारमा डाइनोसर नै बाधक थियो भन्ने देखाउँछ ।

त्यस प्रलयमा पंन्छीका पाँचमध्ये चार समूह पूरै नष्ट भयो । अहिले अस्तित्वमा रहेका चराहरूका १० हजारभन्दा ज्यादा प्रजाति त्यस प्रलयमा बाँचेका त्यही एक समूहका सन्तान हुन् । तर, पनि यो प्रलयपछिको युगलाई स्तनधारीको युग भनिन्छ । स्तनधारीको उद्विकास र प्रजातीकरणको व्यापकता यसले पनि प्रस्ट पार्छ ।

मूल कुरोचाहिँ, त्यस प्रलयको एक संयोग नजुरेको भए १० करोड वर्षदेखि अस्तित्वमा रहेको डाइनोसर अझै यस धरतीमा हुने थियो । स्तनधारी प्राणी फैलने थिएनन् । त्यही समूहबाट प्राइमेट्सको उद्विकास हुने थिएन । दुई खुट्टा टेकेर संसार विचरण गर्ने बुद्धिको प्रयोग गर्ने हामी हुने थिएनौं । र, यो इतिहासको महासंयोगको कथा इतिहासकै गर्तमा बिलाउने थियो ।

आफ्नो प्रसिद्ध पुस्तक ‘वन्डरपुल लाइफ ः बर्गेस सेल एन्ड द नेचर अफ हिस्ट्री’ मा इभोलुसनरी बायोलोजिस्ट स्टेफेन जे. गोउल्ड क्रेटासियस घटनाको संयोगलाई इंगित गर्दै भन्छन्, ‘बर्गेस सेल (५४ करोड वर्ष एकाएक बहुकोषीय जीवको विस्तार भएको थियो, जसलाई क्याम्ब्रियन विस्फोट भनिन्छ) र क्रिटासियस महाविनाश दुवै जीवनको इतिहासमा उत्तिकै महत्त्वपूर्ण छन् र दुवैले जीवनको इतिहासमा जोडिएको अभूतपूर्व संयोगको कथा भन्छन्– क्याम्ब्रियन युगमा जीवन अलिकति मात्रै भिन्न कोणबाट आरम्भ भएदिएको भए पनि हामी हुने थिएनौं र त्यो उल्कापिण्डको परिभ्रमण कक्ष थोरै वरपर भइदिएको भए मान्छेलगायत ठूला स्तनधारी हुने थिएनन् । पृथ्वीमा अझै डाइनोसर नै हुने थियो ।’

त्यसो भए जीवनको इतिहासमा पूर्वानुमान वा निश्चितता भन्ने केही हुन्न ? सर्वकालीन र विश्वव्यापी भौतिक नियमको परिधिभन्दा बाहिर रहेर संसारको यो स्वरूप निर्माण हुने भए दुनियाँ किन यति लयात्मक छ, किन अराजकता छैन ?

जीवनको निर्माण, उद्विकास वा यसको इतिहास ब्रह्माण्डको सर्वव्यापी यही नियमको परिधिभित्र हुन्छ । पदार्थ र गतिको सामान्य नियमभित्रै इतिहासको उद्घाटन हुन्छ । स्याउ कुन गतिमा कहाँ खस्छ भनेर गुरुत्वाकर्षणको नियमले भन्छ । तर, ठीक त्यही समयमा किन खस्छ र कुनै प्रेरक घटना पर्खेर, विचार पाकेर तम्तयार बसेका न्युटनकै टाउकोमा किन खस्छ ? योचाहिँ यो नियमले भन्दैन । यही हो संयोग ।

जे गोउल्ड भन्छन्, ‘होमो स्यापियन्स असम्भवप्रायः संयोगहरूको शृंखलाले जन्माएको र यो विशाल बह्माण्डको सारै तुच्छ अस्तित्व हो । इतिहासप्रतिको यस्तो हेराइले कसैलाई निकै निराश बनाउन पनि सक्छ । तर, यही कुरो मलाई उल्लासपूर्ण लाग्छ । मेरो स्वतन्त्रता र नैतिक दायित्वको स्रोत पनि यही हो ।’

फेरि हिरोसिमामै फर्कौं । हिरोसिमा विस्फोटको अघिल्लो दिन १४ वर्षीया मिचिको कामले थाकेर लखतरान परेकी थिइन् । हिरोसिमा सहरको मध्यभागमा भएको उनको स्कुल बन्द गराएर त्यहाँका विद्यार्थीलाई जापानी सेनाका लागि हतियार बनाउने फ्याक्ट्रीमा काम गर्न लगिएको थियो । सहरबाट आठ किलोमिटर टाढा रहेको फ्याक्ट्रीमा काम गर्न उनी एकाबिहानै रेल चढेर पुग्थिन् ।

अघिल्लो दिनको थकानले उनी बिहान निकै ढिला उठिन् । हतारहतार स्टेसन पुग्दा रेल धीमा गतिमा अगाडि बढ्न थालिसकेको थियो । एक मनले उनले सोचिन्– ढिला भए पनि होस, अर्को रेलमा जान्छु । फेरि के सोचेर हो कुन्नि उनी एकाएक बेजोड दौडेर रेललाई पच्छ्याउन थालिन् । केही बेरमै रेलसम्म पुगिन् । रेल चढेर उनी सहरबाहिर पुग्दा नपुग्दै हिरोसिमा ध्वस्त भयो । उनी बाँचिन् ।

यो जीवन यस्तै ठूला–साना संयोगहरूको झिनो डोरीमा उनिएर आएको हो । यति कुरो बोध गर्ने हो भने हिरोसिमामा मान्छेले देखाएको पागलपन नदोहोरिनुपर्ने हो ।

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : मंसिर २६, २०७७ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्

जनताप्रति उत्तरदायी सरकारले संसदीय समितिका निर्देशन पालना गर्नुपर्छ : सभापति श्रेष्ठ

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले सरकार जनताप्रति उत्तरदायी भएको स्पष्ट पार्नका लागि संसदीय समितिले दिएका निर्देशन पालना गर्नुपर्ने बताएकी छन् । 

राज्यव्यवस्था समितिले बुधबार दिएको निर्देशन विपरीत सरकारले बिहीबार प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेपछि श्रेष्ठको यस्तो प्रतिक्रिया आएको हो ।

सभापति श्रेष्ठले जनताप्रति उत्तरदायी हुन पनि सरकारले समितिका निदेशन पालना गर्नुपर्ने बताएकी हुन् । समितिले निर्देशन दिएपछि सरकारले आफ्ना भनाई राख्नुपर्ने भए समितिमा नै राखेर स्पष्ट पारी कार्यान्वयनमा जानुपर्ने उनको भनाइ छ ।

पूर्वसचिव मुकुन्द शर्माले भने कुनैपनि संसदीय समितिले दिएका निर्देशन सरकारले पालाना गरेको वा नगरेको भन्ने सम्बनधमा समिति आफैंले कार्यप्रगति मूल्यांकन गरी संसद् समक्ष पेश गरी छलफल गराउन सक्नुपर्ने बताए । सरकारले कुनै निर्देशन कार्यान्वयन नगरेमा समितिका सभापतिहरू विभिन्न मिडियामा कुरा उठाउने तर नियमावलीले दिएको प्रावधान अनुसार कार्यप्रगति मूल्यांकन गरेर संसद्‌मा छलफल गराउन नसक्दा समितिका निर्देशनलाई सरकारले बेवास्ता गरिरहेको उनको भनाइ छ ।

सरकारले निर्देशन पालना नगरेको भए संसदीय समिति बैठक बसेर छलफल गर्नुपर्ने शर्माले बताए ।

समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न गत बुधबार निर्देशन दिएको थियो । गृहमन्त्री रामबहादुर थापासमेत उपस्थित बैठकमा समितिले निर्देशन दिएको भएपनि सरकारले बिहीबार प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको थियो ।

समितिको बैठकमा अधिकांश सांसदहरूले गलत विधिबाट निर्णय भएको भन्दै सरकारको निर्णय स्थगित गर्नुपर्ने बताएका थिए ।

प्रकाशित : मंसिर २६, २०७७ १५:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×