कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'सेकेन्ड ह्यान्ड' कपडाको फस्टाउँदो व्यापार

बुनु थारु

काठमाडौँ — छोटो भएका तथा पूराना कपडा तपाईं के गर्नुहुन्छ? उपहारमा आएका तर मन नपरेका कपडा मन मारेरै लगाउनुहुन्छ कि दराजमा थन्क्याइदिनुहुन्छ ? तर यस्ता प्रयोग भइसकेका कपडाबाट पनि नयाँ उद्यम सुरु गर्न सकिन्छ है भन्ने सिकाएकी छन् २६ वर्षीया सिल्भिना प्रधानले ।

'सेकेन्ड ह्यान्ड' कपडाको फस्टाउँदो व्यापार

काठमाडौं धोबिघाटकी सिल्भिना चार्टर्ड एकाउन्ट विषयको अन्तिम वर्षकी विद्यार्थी हुन् । सिएको अन्तिम इन्टर्नसीप सिध्याएपछि उनी घरै बस्न थालिन् । घरमा बस्दा समयको सदुपयोग कसरी गर्न सकिन्छ भनेर सोच्ने गर्थिन् ।

एक दिन उनी कोठाका सामान मिलाउँदै थिइन् । सामान मिलाउँदा उनीसँग यति धेरै प्रयोग नहुने लुगा रहेछन, ती कुनै ठीक हुँदैनथे त कुनै उनलाई मन पर्देन थियो । सिल्भिना भन्छिन्, ‘मेरो बहिनीले यो लुगा त इन्स्ष्टाग्रामको माध्यमबाट बेच्न सकिन्छ होेला भनेर सल्लाह दिइन्, त्यसपछि मेरो सोच यसप्रति आएको हो ।’

विदेशमा बस्ने दिदीले बेलाबेलामा उनलाई लुगा पठाइदिने गर्नाले उनीसँग धेरै किसिमका लुगाहरु थिए । सिल्भिना आफै पनि सेकेन्ड ह्यान्ड लुगा लगाउँथिन् । दिदीले विदेशमा हुने सेकेन्ड ह्यान्ड काउन्टरबाट किनेर उनलाई लुगा पठाइदिने गर्थिन् ।

सिल्भिनाका अनुसार धेरैले सकेन्ड ह्यान्ड लुगा पनि किन्न र बेच्न पाउँछ र भनेर छक्क पर्थे । ‘तर सेकेन्ड ह्यान्ड लुगा लगाउनु भनेको नराम्रो होइन,’ उनी भन्छिन्, ‘तपाईं आफैं हेर्नुस् अहिले थ्रिफ्ट कल्चर बढेको देखिन्छ । यो त सामान्य भइसक्यो ।’ थाहा नपाइकन यो संस्कृति चलिराखेको उनको भनाइ छ ।

सेकेन्ड ह्यान्ड भन्ने बित्तिकै अरुले लगाएको लुगा भनेर अलि नाक खुच्याउने बानी छ तर बाहिर विदेश जाँदा यो अरु नयाँ व्यवसाय जस्तै एकदमै राम्रो छ र धेरैले प्रयोग गर्छन् ।

सन् २०१९को अगस्टमा पहिलो पटक इन्स्टाग्राममा ‘टाइडिंग अप’ नामक अकाउन्ट खोलेर उनले लुगाको फोटो पोस्ट गरिन् । ४ दिनसम्म त कसैले उनलाई मेसेज नै गरेनन् । त्यसपछि भने एउटा मेसेज आयो सामान मनपरेको भनेर । उनले पुरानो तर प्रयोगमा नआएको पर्स पोस्ट गरेकी थिइन् ।

‘पहिलो पटक सामान बुकिङ भएको बेला औधि खुसी भएको थिएँ,’ सिल्भिना हौसिँदै सुनाउँछिन्, ‘रोचक त के भयो भने त्यही दिन थप ३ जनाले अरु लुगा पनि मनपरेको भनेर सम्पर्क गर्न खोजे । त्यो दिन म खुसीले चिच्याएको थिएँ ।’

सिल्भिनाका परिवारमा सबैले उनको यो व्यवसायलाई साथ दिएका छन् । सुरुमा त यो काम गर्दा परिवार त्यति खुुसी थिएनन् किनकि यो व्यवसाय धेरै सिर्जनात्मक काम होइन यसमा लेबर वर्क बढी हुन्छ तर म सजिलै गिभअप गर्ने वाला थिइन् उनी दृढ सुनिइन् ।

१ महिनामै उनीसँग भएका लुगाहरु जम्मै बिक्यो ।अब के बेच्ने होला भनेर दोधारमा परिन् । धेरै ग्राहकहरुले उनको यो कामलाई मनपराइरहेका थिए र मेसेज पनि आइरहेका थिए हाम्रो सामान पनि बेचिदिनुस् । उनले यस्ता थ्रिफ्ट स्टोर अरु पनि देखेको थिइन् तर उनी अरुभन्दा पृथक् देखिन चाहन्थिन् र राम्रो सेवा दिन चाहन्थिन् । त्यसपछि उनले आफ्नो कामलाई थप व्यावसायिक बनाउने विचार गरिन् र नाम जुराइन् ‘दोहोरन नेपाल’ । अर्थात् दोहोरिएको पहिरन ।

लुगा बेच्न प्रस्तुतिमा ध्यानमा दिन्छु
सुरुवाती दिनमा उनलाई यो सानो उद्यमशीलताले कस्तो पिकअप लेला भन्ने चिन्ता भइरहन्थ्यो तर बिस्तारै उनका सामानहरु मनपराइन थालियो । इन्स्टाग्रामहरुमा फलोअरहरु पनि बढ्दै गएका छन् । भन्छिन् ‘विगत ३-४ महिनादेखि राम्रो ग्रो हुँदै गएको पाएको छु।’

नेपालमा अरु थ्रिफ्ट स्टोरभन्दा दोहोरन नेपाल किन बढी रुचाइएको होला भन्ने प्रश्नमा उनी भन्छिन्, ‘आफ्नो सामान बेच्न कसरी आकर्षक बनाउने भनेर सोच्नुपर्छ । ‘हाउ यु डिस्प्ले द प्रोडक्ट’ त्यसमा भर पर्छ । म प्रस्तुतिमा निकै ध्यान दिन्छु । सामान्य प्रोडक्टलाई पनि राम्रो तरिकाले प्रस्तुत गर्न सक्यो भने मान्छेको आँखा जान्छ ।’

सिल्भिनालाई लाग्थ्यो राम्ररी एंगल एंगल मिलाएर क्लियर फोटो खिच्यो भने बेच्न राखिएको लुगा हेर्नेछन् । लुगाको साइज र लुगासम्बन्धी अरु जानकारी पनि दिनुपर्ने रहेछ भनेर बिस्तारै बुझ्दै गएको उनी बताउँछिन् ।

बोटबिरुवा अनि कलाप्रेमी हुन् सिल्भिना । उनी इन्स्टाग्राममा लुुगाको फोटो पोस्ट गर्दा ब्याकग्राउन्डमा फोकस गर्छिन् छेउमा हुन्छ कुनै बाटेबिरुवा जसले थप आकर्षक देखियोस् । उनले लुगाहरु इन्स्टाग्रामको स्टोरीमा हरेक लुगाको फोटोसहित एउटा क्लोज सट भिडियो पनि पोस्ट गर्छिन् । लुगाहरु मिलाउने खिच्ने सबै उनी एक्लै भ्याउँछिन् ।

सिल्भिना हाँस्दै सुनाउँछिन्, ‘मैले अहिलेसम्म लगानी गरेको भनेको एउटा आइफोन, ट्राइपोड र लोगोसहितको प्याकेजिङमा मात्र होला ।’

दोहोरन नेपालले प्रयोग भइसकेका हरेक लुगा क्वालिटी चेक गरेर मात्र राख्ने गरेको सिल्भिनाको भनाइ छ । ‘एकदम पूराना कपडा बेच्न राखिँदैन । हरेक फोटोमा ब्राण्ड, क्वालिटी, साइजको कुरा लेखिएको हुन्छ र सबै लुगाहरु सफा तरिकाले धोएको हुन्छ । ’लुगाहरु लन्ड्रीमा धुन, आइरन गर्न र प्याकेजिंगमा समय लाग्छ । उनले दोहोरन नेपालाको लोगोसहितको झोला पनि बनाएकी छिन् ।

लुगाको मूल्य तोक्ने कुरामा बजारको भाउ हेरेर अनि सामान चेक गरेर सेलरको अुनसार राख्ने सिल्भिना बताउँछिन् । उनका १०० भन्दा बढी बिक्रेता रहेका छन् जसले सामानहरु जुटाउँछन् । हरेक बिक्रेतालाई फर्म दिइन्छ र लुगाको कोडहरु दिइन्छ । एकदमै राम्रो अवस्थाको लुगाहरुको वास्तविक मूल्यको ६० देखि ७० प्रतिशतदेखि मूल्य सुरु गर्ने र ठीकै छ भने प्रतिशत घटाउँदै गएर मूल्य तोकिन्छ र बजारभाउ कति छ त्यसमा पनि भर पर्छ । बिक्रेतालाई ६० प्रतिशत दिइन्छ भने ४० प्रतिशत दोहोरने नेपालले लिन्छ ।

उनका ग्राहक भनेका ‘टिन एज’देखि ३५ वर्षसम्मका हुन्छन् जो सामाजिक सञ्जाल चलाउँछन् । उनले सबै काम इन्स्टाग्रामबाट गर्ने गरेकी छिन् । उनलाई यो फेसबुुकभन्दा सजिलो लाग्ने र छिटो लाग्छ ।सबैभन्दा रुचाइएका क्याजुअल ड्रेसहरु र सारीहरु रहेको सिल्भिनाको भनाइ छ । उनलाई अब प्लस साइज र अरु भेराइटी साइजको राख्न मन छ । सिल्भिनाले लुगा मात्र होइन किचेन वेयर वा सामानको विकल्प पनि ल्याउन खोजिरहेको बताइन् ।

‘फेसन पलुटेन्ट’ कम गर्ने प्रयास
सिल्भिना भन्छिन्, ‘धेरैले मेरो काम मनपराइदिनुभएको छ ।विदेशी ग्राहकहरु पनि छन् । केही साथीहरुले पनि तिमी प्रेरणाको स्रोत भनेर भन्दिँदा एकदम खुसी लाग्छ ।’ कमाइ कत्तिको हुन्छ भन्ने प्रश्नमा उनले कमाउनको लागि यो ‘प्रयास’ नगरेको बताउँदै आफैले सानो भए पनि उद्यमशीलताकोे काम गरौं भनेर सुरु गरेको प्रस्ट पार्छिन् । उनलाई यी अवधिमा धेरै पटक यो काम छोडिदिउँ भन्ने पनि लागिरह्यो रे तर फेरि छोड्न सक्दिनन् । लकडाउन अवधिमा त उनको व्यापार ठप्पजस्तै भएको थियो । आर्थिक रुपमा राम्रो भइरहेको थिएन ।

सिल्भिना बिस्तारै नेपालमा थ्रिफ्ट कम्युनिटि बढ्दै गएको महसुस भएको बताउँछिन् । हाल सिल्भिनाले ‘हर्टबिट नेपाल’ भन्ने संस्थासँगको सहकार्यमा पूर्वमिस नेपालहरुसँग मिलेर ‘च्यारिटी थ्रिफ्ट सेल’को लागि हात अगाडी बढाएर सहयोग गरिरहेकी छन् । उनी भन्छिन्, ‘पूर्व मिसनेपालहरुले आफ्ना केही लुगा सेलमा राखेका छन् उक्त संस्थाका लागि रकम जुटाउन । आफ्नो काम यसरी सामाजिक कार्यमा पनि प्रयोग भएको देख्दा खुसी लाग्छ ।’

प्याकेजिङ तथा लन्ड्रीमा लाग्ने मिनिमम कस्ट १ देखि दुई प्रतिशत काटेर अरु सबै त्यो संस्थामा महिला उद्यमशीलतामा लागेका महिलाहरुलाई राहतको रुपमा जाने सिल्भिनाले जनाइन् । उनी भन्छिन्, ‘मैले कसैले सेकेन्ड ह्यान्ड लुगा किनुन् किनकी त्यो सस्तो छ भनेर बेच्न खोजेको होइन । सस्तो हो ठिक छ तर सस्तो छ भनेर मात्र किन्नु त्यो राम्रो होइन । मेरो विचारमा के लाग्छ भने सकेसम्म लुगाको कम प्रयोग होस्।’

भविष्यमा उनलाई आफ्नो व्यवसायकोे लागि वेबसाइट सुरु गर्न मन छ तर धेरैले इन्स्टाग्राममा नै मनपराइदिएका छन् । सानो उद्यम हो जहिल्यै पनि डर हुन्छ, हेरौँ पछि के हुन्छ ? सिल्भिनाले भन्छिन्, ‘पूराना लुगा बेच्न खोज्नुु भनेको वातावरणको लागि पनि केही गर्नुपर्छ भनेर हो । मलाई थ्रिफ्ट कल्चर अझै बढेको हेर्न मन छ ।जसले गर्दा फेसन पलुटेन्ट घटोस् ।’

प्रकाशित : आश्विन १७, २०७७ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?