‘पापीहरुले मेरी छोरीको बलात्कार गरे, पञ्‍चायतले हत्या’ - फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘पापीहरुले मेरी छोरीको बलात्कार गरे, पञ्‍चायतले हत्या’ 

बलात्कार उजुरी गर्न नदिइएपछि आत्महत्या गरेकी किशोरीकी आमा भन्छिन्, ‘पञ्चहरुले सभामा मजाक उडाएका कारण छोरीले पासो लगाइन् ।’ 
अवधेशकुमार झा

ललितपुर (सप्तरी) — सप्तरी जिल्लाको डाकनेशवरी नगरपालिका वडा नं ७ ललितपुरकी रधियादेवी मण्डल सोमबार ब्रतमा थिइन् । ब्रत बसेका कारणले उनले खेतको आली काट्न आफ्नी छोरीलाई पठाइन् । आमाले अह्राएपछि साहिली छोरी १७ वर्षिया संगीताकुमारी मण्डल खेतको काम गर्न घरबाट निस्किइन् । 

बिहान ६ बजे घरबाट गएकी संगीता ९ बजेतिर घर फर्किइन् । ‘हिलै हिलो भएर आएकी थिई । कसैसँग पानीको निहुँमा झगडा परेछ किजस्तो लाग्यो । खासै वास्ता गरिनँ,’ बिहीबार दिउसो आफ्नै घरमा आमा रधियादेविले भनिन्, ‘एकछिनपछि उसैले मलाई बलात्कार गरे भनेर भनी ।’

बिहीबार उनको घरमा पुग्दा आफन्तहरुको भिडभाड थियो । सबैको अनुहारमा दु:ख र आक्रोश थियो । संगीताका भाई, रधियादेवीका कान्छा छोरा दिदीको क्रिया बसेका थिए । सामूहिक बलात्कारमा परेकी संगीताले त्यसै राति आफ्नै घरको दलिनमा झुन्डिएर आत्महत्या गरेकी थिइन् । रधियादेवी भन्छिन्, ‘पापीहरुले मेरी छोरीको बलात्कार गरे, आत्महत्या गर्ने गाउँका पञ्चहरुले बनाए । पञ्चहरु पनि यसमा उत्तिकै दोषी छन् । मेरी छोरीले आत्महत्या गरेकी होइन, उसलाई बाध्य बनाइएको हो । उनीहरुले त्यसरी बेइज्जत नगरेको र पुलिसमा उजुरी गर्न दिएको भए ऊ मर्ने थिइन ।’

रधियादेवीले त्यसदिनको घटनाक्रम बताइन्, ‘सोमबार ऊ खेतबाट फर्किएको केहीबेरमै हाम्रो आँगनमा मान्छेको भिड लाग्न थाल्यो । मान्छेहरुले अनेक कुरा गर्न थालेका थिए । दिउसो गाउँको स्कुल नजिकको सार्वजनिक भवनमा पञ्चायती बसेछ । सुरुमा मलाई र छोरीलाई त्यहाँ बोलाइएन । छोरी खेतबाट आएदेखि नै विक्षिप्त थिई । चार–पाँचजना केटाहरुले उसको सामूहिक बलात्कार गरेका थिए । उसले ती सबैलाई चिन्छे । मलाई नाम पनि बताएकी थिइ ।’

१२–१३ वर्षअघि भारतको पञ्जाब गएका रधियादेवीका पति फर्केर आएका छैनन् । रधियादेवीले छोरीसँग सल्लाह गरिन्– भोलि गएर प्रहरीमा बलात्कारीविरुद्ध उजुरी दिने ।

तर, दिउँसो रधियादेवीलाई पञ्चहरुले पञ्चायतमा बोलाए । ‘मलाई गाउँको कुरा गाउँमै मिलाउनुपर्छ भनेर पुलिसमा उजुरी नगर्न भने । मैले त्यो निर्णय नमान्ने र पुलिसमा उजुरी दिने बताएँ । त्यसपछि घरमा विक्षिप्त भएर बसेकी मेरी छोरीलाई पञ्चायतमा बोलाइयो,’ उनले सुनाइन्, ‘म नुहाउन गएको बेला छोरीलाई पञ्चायतमा लगेछन् ।’

रधियादेवीका अनुसार पञ्चायतमा संगीतालाई पञ्चहरुले प्रश्न गरे । ‘बारम्बार बलात्कारको घटना सुनाउन लगाएछन् । कसरी बलात्कार भयो भनेर सोधेछन् । उसलाई बेइज्जत गरेछन् । उसको कुरालाई हाँसोमा उडाएछन्,’ उनले दुखी हुँदै सुनाइन्, ‘बलात्कारमाथि पञ्चहरुले दिएको पीडा उसले सहन सकिन ।’

सुनुवाईपछि स्थानीयले पञ्चले ५५ हजार रुपैयाँ लिएर गाउँमै मिल्नुपर्ने फैसला सुनाए । ‘हामीले पैसा लिँदैनौं, उजुरी दिन्छौं भन्दा हामीलाई पञ्चायतको निर्णय नमाने गाउँबाट बहिष्कार गर्छौं भनेर धम्की दिए,’ उनले भनिन् । पञ्चायतको दबाब नमानी आमाछोरी घरतर्फ आउँदा टोलकै केही महिलाहरुले अपशब्द समेत प्रयोग गरेको उनले सुनाइन् ।

रधियादेवी र उनका छोरा । तस्बिर : अवधेशकुमार झा/कान्तिपुर

‘सयौंजनाको बीचमा पञ्चहरुले मेरी छोरीलाई बेइज्जत गरे,’ रधियादेवीले भनिन्, ‘पञ्चहरुको निर्णयका कारण न्याय पाउने आश उसले देखिन र घरको दलानमा पासो लगाएर आत्महत्या गरी । झुण्डिएको भएपनि ती पञ्चहरु मेरी छोरीको हत्यारा हुन् ।’ उनलाई लाग्छ, ‘छोरीले आत्महत्या गर्नुमा बलात्कारीको भन्दा पञ्चको भूमिका पनि कम छैन । प्रहरीमा नजान भनेर उनीहरुले पटकपटक धम्क्याए ।’

‘रातपरेपछि हामी घरमा थियौ, संगीता दलानमा थिइन्,’ रधियादेवीले भनिन्, ‘कति बेला आँखा लाग्यो सुतें । छोरीले बाहिरवाट घरको ढोका लगाई सलको पासो लगाएर दलानमा झुण्डिइछ ।’

राति १०–११ बजे निद्रा खुल्दा उनले छोरीलाई देखिनन् । ‘ढोका खोल्न खोजें, बाहिरवाट लागेको थियो, झ्यालबाट हेर्दा संगीता दलानमा झुडिएकी थिइन्,’ उनले भनिन्, ‘हल्ला गरेपछि छिमेकी आएर ढोका खोले । जिउदै छ सोचेर पासो काटी तल झार्दा उसको प्रण गइसकेको थियो ।’

शुक्रबारदेखि मलमास पर्ने भएकाले बिहीबार नै छोरीको कर्महरु गरिएको सुनाउँदै उनले माग गरिन्, ‘सरकार मेरी छोरीको हत्यारालाई कडा कारबाही होस् ।’

यो घटनामा तीनजना पञ्चहरुलाई प्रहरीले पक्राउ गरेपछि बलात्कारीहरु पक्राउ परेका छैनन् । ‘मुख्य अपराधीहरुलाई अझै पक्राउ गरिएको छैन,’ असन्तुष्टि पोख्दै रधियादेवीले भनिन्, ‘प्रहरीले ती अपराधीहरुलाई छिटो पक्रियोस् ।’

जेनतेन मजदु गरेर उनले जेठा छोरालाई कमाउनका लागि बिदेश पठाएकी छन् । जेठी छोरीको ५ वर्षअघि बिहे गरिन् । संगीताबाहेक एक छोरी र छोरा घरमा छन् । ‘गरिबको जीवन जसोतसो चलिरहेको थियो, पापीहरुले हेर्न सकेनन्,’ उनले भनिन्, ‘आफ्नै खेतबारीमा जाँदा पनि छोरीचेली बलात्कृत हुनुपर्ने ? अनि पञ्चहरुले नगदमा मिलाउन खोज्ने ? यही हो न्याय ?’

प्रकाशित : आश्विन १, २०७७ २२:००
प्रतिक्रिया
पठाउनुहोस्

वामदेव अब मन्त्री बन्लान् ?

यस्ता छन् ओली र दाहालका योजना 
बबिता शर्मा

काठमाडौँ — मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भई राष्ट्रिय सभा सदस्य बनेका सत्तारुढ नेकपा उपाध्यक्ष वामदेव गौतमको भूमिकालाई लिएर आम चासो र पार्टीभित्र बहस सुरु भएको छ । तर, राष्ट्रियसभा सदस्य गौतमको अब भूमिकाबारे प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुको मत भने विभाजित छ । 

गौतम आफै चाहिँ सरकारमा गएर काम गर्ने मनस्थितिमा छन्, जुन उनले राष्ट्रिय सभा सदस्य बनाउन गत १५ भदौमा प्रधानमन्त्री ओलीलाई भेटेर आग्रह गर्दा नै सुनाएका थिए । प्रधानमन्त्री ओली महाधिवेशनको मिति तय भइसकेको र संगठन विभाग प्रमुखसमेत रहेकाले उपाध्यक्ष गौतमलाई पार्टी काममा केन्द्रित गराउने योजनामा छन् । यसका लागि सकेसम्म गौतमलाई सरकारमा सहभागी नगराउने प्रधानमन्त्री ओलीको चाहना देखिन्छ ।

निकट नेताहरुले बताएअनुसार मन्त्रिपरिषद् पुनगर्ठन गरे पनि सकेसम्म गौतमलाई आफ्नो मन्त्रिपरिषद्‌मा नलैजाने प्रधानमन्त्री ओलीको योजना छ । र यसका लागि उनले त्यहीखालको कदम चाल्ने सम्भावना छ ।

प्रधानमन्त्री ओली सकेसम्म संवैधानिक र कानुनी जटिलता देखाएर गौतमलाई पन्छाउने योजना छन् । निकट नेताहरुले समेत ओलीलाई संवैधानिक जटिलता देखाएर गौतमलाई मन्त्री नबनाउन सुझाव दिएका छन् ।

संविधानको धारा ७८ (९) मा भने प्रतिनिधिसभा निर्वाचनमा पराजित व्यक्ति प्रतिनिधिसभाको कार्यकालभर मन्त्री बन्न नसक्ने व्यवस्था छ । यसैलाई देखाएर ओली गौतमलाई पन्छाउने योजनामा छन् । तर, संविधानको धारा ७८ (१) मा संघीय संसद्को सांसद मन्त्री बन्ने व्यवस्था रहेका कारण गौतम मन्त्री बन्न सक्ने अर्को मत छ ।

संघीय संसदको सदस्य नभए पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधानअनुसार मन्त्री बनेका युवराज खतिवडाको कार्यकाल सकिनै लाग्दा गौतम आफैले ओलीलाई भेटेर राष्ट्रिय सभामा लैजान आग्रह गरेपछि ओली दबाबमा परे । आफूमाथि दबाब बढाएर गौतमलाई सदस्य बनाएकोमा ओलीको असन्तुष्टि छ । यो कारणले पनि प्रधानमन्त्री गौतमलाई मन्त्रिपरिषद्‍मा लैजान अनिच्छुक रहेको निकट स्रोतहरु बताउँछन् ।

प्रधानमन्त्री ओली गौतमलाई सरकारमा नलैजाने योजनामा रहे पनि कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेता भने गौतमलाई राम्रो मन्त्रालयसहित उपप्रधानमन्त्रीका रुपमा सरकारमा पठाउने योजनामा छन् । पद तथा गोपनियताको शपथमै पुगेका दाहाल, खनाल र नेपालले गौतमको अबको भूमिकाबारे समेत छलफल गरेका थिए ।

पार्टी स्थायी कमिटीले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनगर्ठनको बाटो खोलेको र यही विषयलाई लिएर शुक्रबार सचिवालय बैठक बस्दैछ । बैठकमा दाहाल, खनाल र नेपाल गौतमलाई मन्त्री बनाउने पक्षमा उभिने सम्भावना छ । बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनको सैद्धान्तिकबाहेक कति व्यक्ति राख्ने–हटाउने र कसलाई पठाउने सम्मको प्राविधिक पक्षमा समेत छलफलको सम्भावना रहेको सचिवालयका एक नेताले बताए । पेरिसडाँडामा बस्ने बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने/नहुनेबारे बिहीबार साँझसम्म टुंगो लागेको छैन ।

सचिवालयका ती सदस्यले गौतमको भूमिकलाई लिएर पार्टीभित्र अहिले एकमत भइनसकेको बताए । ‘पार्टीभित्र विवाद र अनेक लफडाकाबीच उहाँ (वामदेव) राष्ट्रिय सभा सदस्य बन्नुभएको छ । सरकारमा गएर काम गर्ने उहाँको इच्छा छ । तर प्रधानमन्त्री त्यत्ति सकारात्मक हुनुहुन्न,’ ती सदस्यले भने, ‘सरकारमा जाने–नजाने भन्नेमा टुंगो लाग्न पार्टी बैठक नै कुनुपर्छ । वामदेव आफै पछाडि हट्नुभएन भने यो मुद्दामा राम्रै बहस होला ।’

गौतम आफैंले पनि सांसदपछि थप जिम्मेवारी लिने संकेत गरिसकेका छन् । उनले भने शपथलगत्तै भनेका छन्, ‘राष्ट्रिय सभा सदस्य रहँदासम्म यसको गरिमा र प्रतिष्ठा गिराउने गरी कुनै पनि क्रियाकलाप गर्ने छैन, नेपालको स्वतन्त्रता, राष्ट्रियता, सार्वभौम अधिकार र नेपाली जनताप्रति सदैव वफादार भएर कर्तव्य निर्वाह गर्नेछु । नेकपाले नेपालमा समाजवाद स्थापना गर्ने संकल्प गरेको छ । त्यही संकल्पबमोजिम यहाँबाट के–कति भूमिका निर्वाह गर्न सकिन्छ, गर्नेछु ।’

सुरुमा प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन गरेमात्र राष्ट्रियसभा सदस्य बन्ने सर्त राखेका गौतम १० महिनापछि भने बिनासर्त राष्ट्रियसभा सदस्य बनेका छन् । उनी सरकारमा सहभागी हुने महत्वकांक्षासहित सांसद बनेको स्रोतहरु बताउँछन् ।

प्रधानमन्त्रीले नै गरेका थिए गौतमलाई प्रस्ताव

प्रधानमन्त्री ओलीले पार्टी सचिवालयमा आफ्नो पक्षमा बहुमत बनाउन गत कार्तिकमा नै उपाध्यक्ष गौतमलाई सरकारमा सामेल हुने गरी राष्ट्रिय सभामा लैजाने प्रस्ताव गरेका थिए । तर, गौतमले संविधान संशोधन गरेरै भए पनि आफूलाई प्रधानमन्त्री बन्नसमेत सहज हुने बाटो बनाइदिन आग्रह गरेपछि ओलीले तत्काल त्यो संभव नभएको भन्दै कास्की–२ को उपनिर्वाचनबाट चुनाव लड्न प्रस्ताव गरे ।

ओलीको प्रस्तावपछि जिल्लामै पुगेर अध्ययन गरेका गौतम चुनावी नतिजा अनुकूल नआउने सूचनापछि पछाडि हटेका थिए । गौतम २०७४ को निर्वाचनमा बर्दिया–१ बाट पराजित भएपछि उनले प्रतिनिधिसभा सदस्य बन्नका लागि धेरै प्रयास गरे । कहींबाट पनि प्रतिनिधिसभामा चुनाव लड्ने अनुकूलता नभएपछि उनलाई राष्ट्रियसभा सदस्य बनाउन नेकपाभित्र पहल भएको थियो ।

नेकपाले गौतमकै लागि संविधान संशोधनका गर्न कार्यदल नै बनाएको थियो । तर, सर्वत्रको विरोधपछि कार्यदल भंग भयो । त्यसपछि गौतम बिनासर्त राष्ट्रियसभामा जान तयार भए ।

गौतम तयार भएपछि गत फागुन १४ को सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा सिफारिसका लागि सरकारलाई आग्रह गरेको थियो । बैठक निर्णयको २ घन्टा नबित्दै प्रधानमन्त्री ओलीले निर्णय अस्वीकार गरेपछि यही विषयलाई लिएर नेकपामा लामो समय विवाद पनि भयो । तर, करिब ७ महिनापछि ओली गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्न बाध्य भए ।

प्रधानमन्त्रीले खतिवडालाई नै निरन्तरता दिन चाहे पनि गौतम आफैं र सचिवालयका बहुमत सदस्यको सुझावपछि उनी राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनीतका लागि सिफारिस गर्न सहमत भएका थिए ।

सम्बन्धित समाचार


प्रकाशित : आश्विन १, २०७७ २१:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×