कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'फ्लुटमास्टर' बन्‍ने तिलस्मी चाहना

'बाँसुरी बजाउँदा जुङ्गा आउँछ', धेरैले तिलस्मीललाई बाँसुरी सिक्दै गर्दा यो उखान सुनाए । तर उनी यो उखानमा असमानता भेट्छिन् । उनलाई बाँसुरी पुरुषले मात्र बजाउनुपर्छ भन्ने लाग्दैन ।
रीना मोक्तान

काठमाडौँ — बाँसुरीवादकहरुमा विख्यात नाम हो, पण्डित हरिप्रसाद चौरसिया । अधिकांश बाँसुरीवादकको चाहना हुन्छ उनीसँग भेट्ने, सिक्ने अनि उनको अगाडि प्रस्तुति दिने । भक्तपुरकी तिलस्मी प्रजापतिले ३ वर्ष अगाडि हरिप्रसादका अगाडि बाँसुरी बजाउने मौका पाइन् ।

'फ्लुटमास्टर' बन्‍ने तिलस्मी चाहना

नेपाल म्युजिक सेन्टरको निम्तोमा बाँसुरीवादक चौरसियालाई ३ वर्षअघि नेपाल आएका थिए । उनको स्वागतमा विभिन्न ठाउँमा प्रस्तुति राखिएको थियो ।

चौरसिया भक्तपुरको पुरानो ठिमी पुग्दा तिलस्मीले करिब आधा घण्टा बाँसुरी बजाइन् । उनका लागि त्यो जीवनकै अविस्मरणीय क्षण थियो । 'उहाँको अगाडि ३० मिनेटको एकल प्रस्तुति दिन पाएको थिएँ । त्यो मेरो जीवनको सबैभन्दा बिर्सनै नसिकने क्षण हो । उहाँको अगाडि बाँसुरी बजाउन पाउनु सौभाग्यको कुरा हो,' उनले सुनाइन्, 'मेरो प्रस्तुतिपछि उहाँ एकदम खुसी हुनु भएको थियो । अझै अभ्यास गर्दै जानु भनेर मलाई हौस्याउनुभयो ।'

खासमा तिलस्मी त्यो बेला चौरसियाका शिष्य सुनिल श्रेष्ठसँग बाँसुरी सिक्दै थिइन् । सुनिलसँग बाँसुरी सिक्दै गर्दा उनले चौरसियालाई आफ्नो 'आइडल' बनाइसकेकी थिइन् । 'मैले उहाँलाई मेरो गुरु बनाएको थिएँ,' उनी सुनाउँछिन् । आफूले गुरु मानेको व्यक्ति नेपाल आउने खबरले उनी निकै उत्साहित थिइन् । गुरु नेपाल आएको सुन्नासाथ सुनिलसँग उनी हरिप्रसादकहाँ पुगेकी थिइन् ।

हरिप्रसादले नेपालमा २० दिनभन्दा बढी कक्षाहरु पनि लिए । उनको कक्षा लिन नेपालका अधिकांश बाँसुरीवादक पुगेका थिए । अम्रिता उप्रेती, नगेन्द्र राई, बुद्ध लामालगायतका बाँसुरीवादकहरु उपस्थित थिए । चौरसियाले भारतको वृन्दावन गुरुकुलमा सिकाए जसरी नै यता कक्षाहरु लिएका सम्झन्छिन् तिलस्मी । 'सबैलाई पालै–पालो सिकाउनुहुन्थ्यो गुरुले । त्यतिबेला उहाँको हातबाट प्रमाणपत्र पनि पाएकी थिएँ । मलाई उहाँजस्तै बन्न मन छ,' तिलस्मीले सुनाउँछिन् ।

बाँसुरी सिक्न थालेको २ वर्षमै तिलस्मीले आफ्नो 'आइडल'सँग भेट्न पाइन् ।

सानैदेखि तिलस्मीको रुचि थियो संगीतमा । पढाइमा लगनशील तिलस्मी बाँसुरीको धुन सुन्ने बित्तिकै मन्त्रमुग्ध हुन्थिन् । कक्षा ७ मा पढ्दै गर्दा उनको टोलमै बाँसुरी खल: बनाउने तयारी चल्दै थियो । उनकी आमाले उनलाई पनि उक्त समूहमा राखिदिइन् । त्यतिबेला १४ वर्षकी तिलस्मी त्योबेला एसओएसमा पढ्थिन् । विद्यालय सकिनासाथ साँझको ६ बजे उनी खल:मा बाँसुरी सिक्न जान्थिन् । सुरुका कक्षाहरुमा रिङ्गटा लाग्ने, हात दुख्ने हुन्थ्यो । उनी त्यो सब भुलेर बाँसुरीको मिठो धुन निकाल्न अभ्यास गर्दै गइन् । एक वर्ष जति खलबाट बाँसुरी सिकिन् र जात्राहरुमा बजाउन पनि थालिन् ।

मामाले बाँसुरीमै करियर बनाउन उत्साह दिए । आमा बुवाको साथ त पहिलेदेखि छँदै थियो । परिवारको साथ सहयोगले नै उनले आफ्नो करियर यो क्षेत्रमा देख्न थालेकी हुन् । त्यसपछि भने उनले चौरसियाका शिष्य सुनिलसँग क्लासिकल बाँसुरी सिकिन् । क्लासिकल बाँसुरी सिकेको १ वर्षमै 'किरातेश्वर संगीत आश्रम'ले आयोजना गरेको 'बाल शास्त्रीय संगीत प्रतियोगितामा'मा तिलस्मी प्रथम भइन् ।

प्रतियोगिता जितेपछि तिलस्मीले बिस्तारै बाँसुरीको प्रस्तुति दिने अवसर पाउन थालिन् । विद्यालयका कार्यक्रममा आफ्ना शिक्षक, साथीहरुलाई बाँसुरीको धुन सुनाउन थालिन् । किरातेश्वरले आयोजना गर्ने कार्यक्रमहरुमा उनको प्रस्तुति छुट्दैन थियो । सन् २०१८ मा तिलस्मी जापानको 'फुजी रक म्युजिक फेस्टिभल'मा सहभागि भएकी थिइन् । त्यहाँ पनि उनले आफ्नो बाँसुरीको प्रस्तुति दिएकी थिइन् ।

अहिले उनी पाचो टोलमा 'बाँसुरी बजाउने नानु'भनेर चर्चित छिन् । बाँसुरी नै उनको पहिचान बन्दै गएको छ । परिवार उनको यो पहिचानलाई लिएर खुसी छन् । यो क्षेत्रमा डटिरहन परिवारको साथ छ तिलस्मीसँग । 'अहिले त आमा बुवाले नै तिम्रो परिचय बाँसुरी हो, बाँसुरी बजाउन नछोड भन्नुहुन्छ ,' उनले सुनाइन् ।

'बाँसुरी बजाउँदा जुङ्गा आउँछ', धेरैले तिलस्मीललाई बाँसुरी सिक्दै गर्दा यो उखान सुनाए । तर उनी यो उखानमा असमानता भेट्छिन् । उनलाई बाँसुरी पुरुषले मात्र बजाउनुपर्छ भन्ने लाग्दैन । त्यसैले उनी बाँसुरी बजाएर यो असमानाको गलत बुझाइलाई हटाउन चाहन्छिन् । उनलाई लाग्छ, नेपालमा बाँसुरी बजाउने धेरै भए पनि थोरै मात्र दक्ष व्यक्ति छन् । त्यसैले उनी बाँसुरीमै दक्ष हुन चाहन्छिन् । 'राम्रोसँग बजाउने वादकको कमी छ जस्तो लाग्छ । बाँसुरी राम्रोसँग सिकाउन सक्ने व्यक्तिको कमी छ । त्यसैले मलाई फ्लुटमास्टर हुनुछ,' उनले भनिन् ।

१९ वर्षीया तिलस्मी अहिले यलमाया केन्द्रमा शिक्षक जीवन आलेबाट बाँसुरी सिकिरहेकी छिन् । सुनिलसँग ३ वर्ष क्लासिकल बाँसुरी सिकेपछि उनले यता कक्षा लिन थालेकी हुन् । यलमाया केन्द्रले अहिले अनलाइन कक्षा सञ्‍चालन गरेको छ । उनी अनलाइनबाटै बाँसुरीको कक्षा लिँदैछन् । बिहान ३ घण्टा दैनिक साधना गर्छिन् ।

बाँसुरीको विकास र प्रवर्द्धन गर्ने सोच छ तिलस्मीको । कोरोना महामारीअघि केही सांगीतिक समूहले उनलाई कामको अफर गरेको थियो । बिस्तारै स्टेज कार्यक्रमको प्रस्तुतिका लागि फोन गर्नेहरु बढेको थियो । तर कोभिड-१९ का कारण उनको अन्य स्टेज कार्यक्रम रद्द छन् । बिस्तारै उकालो चढ्दै गरेको करियरलाई कोरोनाले ब्रेक लगाइदिएको छ । तर पनि तिलस्मी अहिलेको समय बाँसुरी सिक्नकै लागि खर्चिरहेकी छिन् । उनलाई बाँसुरीको धुनको शक्ति थाहा छ ।

क्लासिकल बाँसुरीले आनन्द मात्र होइन एउटा 'मुड' सिर्जना गर्छ । यसले आनन्द र शान्ति दिन्छ । त्यसैले कोरोनाले तनावमा रहेका दर्शकमा उनी आफ्नो बाँसुरीको धुनले आनन्द दिन चाहन्छिन् । बाँसुरीको धुनसँगै कोरोनाले सिर्जना गरेको डर हटाउन चाहन्छिन् उनी । त्यसैले अहिले आफ्नै नामको युट्युब च्यानलबाट विभिन्न गीतको बाँसुरी कभर भर्सन सार्वजनिक गर्दै दर्शकमा त्यो 'मुड' सिर्जना गर्न प्रयासमा छिन् तिलस्मी ।

प्रकाशित : भाद्र १७, २०७७ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?