कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दीपाश्री भन्छिन्, 'आफन्त र शुभचिन्तकको माया, साथ र हौसलाले फेरि उठें'

काठमाडौँ — अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले आफ्नो जन्मदिनको दिन आफूले तीन गल्ती गरेको बताएकी छिन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै उनले पछिल्लो समय एक अन्तरवार्ताले ल्याएको विवादबारे बोलिन् ।

दीपाश्री भन्छिन्, 'आफन्त र शुभचिन्तकको माया, साथ र हौसलाले फेरि उठें'

बिना तयारी अन्तर्वार्तामा गएर अभिनेता राजेश हमालबारे दिएको अभिव्यक्तिलाई लिएर उनले माफी पनि मागिन् । दीपाश्रीका कुरा उनकै शब्दमा :

हुन त यी कुराहरु नगरे पनि हुन्छ होला अब । तर पनि मलाई पछिल्ला दिनहरुले के सम्झायो भने समस्याबाट भाग्नुभन्दा समस्यालाई व्यवस्थापन गर्नु ठूलो कुरा हो । त्यो अनुभव भएर फेसबुकमा आएको छु ।

मेरो २९/३० वर्षको यात्रामा आधी समय त पीडादायी नै भयो । तर जब २०६० सालमा 'तितोसत्य' आयो, त्यसपछि दर्शकको साथ र मायाले मैले पछाडि फर्केर हेर्नु परेन । 'तितोसत्य'को ६ सय भाग, ६/७ वटा चलचित्र, छक्का पञ्जाको १, २, ३ सिरिजले त हामीलाई एकपछि अर्को सफल्ता दिलायो । यसका लागि दर्शकहरुसँग म आभार व्यक्त गर्छु । नतमस्तक छु ।

काममा सफलता त पाएँ, मैले तर व्यक्तित्व विकासका कुरामा मेरा अझै कमजोरी रहेछ । जस्तै मिडियामा कसरी फेस हुने, कसरी सरल हुने, मिडियामा बोल्दाखेरी चलाखीपूर्ण तरिकाले कसरी उत्तर दिने, यी कुरामा मेरा अझै कमजोरी रहेछन् । मैले त्यो अनुभव गरें । यो कुराले पनि मलाई एउटा राम्रै शिक्षा दियो । एउटा ठूलो आँधीबेरी आउँदाखेरी एउटा रुखमा भएको कुहिएका फलहरु जसरी झर्छन्, त्यसैगरी ममा भएको कमीकमजोरी पनि झर्‍यो ।

हजुरहरुलाई फेरि त्यो घट्नामा लान चाहन्छु एकछिन । त्यो अन्तर्वार्तामा मैले तीनवटा गल्ती गरें ।

पहिलो गल्ती– मलाई प्रकाश दाइले फोन गर्नुभयो । अन्तर्वार्तामा बोलाउनु भयो । मैले दीपकजीलाई म अन्तर्वार्तामा जाँदैछु भनें । तयारीसहित अन्तर्वार्तामा जानु भनेर उहाँले भन्नुभयो । तर दीपकजीको कुरालाई मैले बेवास्ता गरें । टिका लगाएको दाईले फोन गर्नु भएको हो, त्यहाँ दाजु र बहिनीको सम्बन्ध छ भनेर अन्तर्वार्तामा गएँ । बिना तयारी अन्तर्वार्तामा जानु मेरो पहिलो गल्ती थियो ।

मलाई लगातार यस्ता आरोप लाग्ने, घोचिला, पेचिला प्रश्नहरुले गर्दाखेरी मैले मेरो आवेगलाई सम्हाल्न सकिनँ । र मेरो बडी ल्याङ्वेजमा समस्या आयो । त्यो मेरो दोस्रो गल्ती ।

तेस्रो गल्ती मेरो प्रमुख गल्ती थियो । मिडियामा कुटनीतिक चलाखी मैले देखाउन सकिनँ । म एउटा कलाकार भएर अर्को एउटा पूरानो कलाकारबारे टिप्पणी गर्न पुगें । त्यो मेरो ठूलो भूल हो । मलाई त्यो भूल अनुभव भयो । त्यसपछि अन्तर्वार्ता प्रसारण भयो । दीपकजीले फोन गरेर 'तिमीले अन्तर्वार्ता राम्रो दिएनौं, शब्द चयन राम्रो भएन, मलाई मन परेन तिम्रो अन्तर्वार्ता' भन्नुभयो । मलाई एकछिन त चिसो भयो । त्यसपछि मैले युट्युबमा कमेन्टहरु हेरें । एकदम गाली आइरहेको थियो । म आत्तिएँ । प्रकाश दाइलाई फोन गरें । 'एकदम नराम्रो गाली आयो, म शब्द चयनमा चुकें कृपया केही गर्नु' भनें ।

'उहाँले कलाकारलाई गाली र ताली आइहाल्छ नि, नडराउ' भन्नु भयो । होइन दाइ मेरो नियत त्यो थिएन भने । म उहाँलाई दोष पनि दिन्नँ । मेरो नै गल्ती थियो भनेर चुप बसें । दिनानुदिन मलाई एकपछि अर्को गाली गलौज आयो । तिरस्कारका शब्दहरु आयो (भक्कानिँदै) ।

सरी (दुई हात जोड्दै) । हुन त यो गालीकै कुरा गर्नुपर्दाखेरी भाग्य भनौं या दुर्भाग्य, सफलतासँगै यो गाली हाम्रो भाग्यमै टाँसेरै आएको रहेछ । यो घट्ना हुनुभन्दा अगाडि पनि हाम्रो फिल्मको गीत रिलिज हुँदा पनि हामीले गाली नै खान्थ्यौं । ट्रेलर रिलिज हुँदा पनि हामीले गाली नै खान्थ्यौं । तेरो फिल्म फ्लप भइहालोस्, डिस्लाइकका कुराहरु । हामीले धेरै कुराहरु सहँदै आएका थियौं । गाली हामीलाई बानी नै परिसकेको थियो ।

तर यो घट्नामा दीपकजीले 'तैंले गल्ती गरिस्, तैंले राजेश हमालको विषयमा राम्रो अभिव्यक्ति दिइनस्' भनिराख्दा पनि मेरो साथी दीपकजीलाई नै महानायक बनाइयो । ट्रोल बनाइयो । मैलेभन्दा धेरै गाली खानुभयो उहाँले । उहाँले त गाली खाइरहनु नै भएको थियो । मेरो टिमलाई समेत आक्रमण भयो मेरो कारणले । मेरो टिममा नै संकट आउनपुग्यो । मलाई एकदमै आत्माग्लानी भयो । तर केही छैन, मेरा धेरै शुभचिन्तकहरु मेरा आफन्तहरुले दिनु भएको माया, साथ र हौसलाले आज म फेरि उठें ।

आज संयोगले मेरो जन्मदिन । यो जन्मदिनमा म केही प्रण गर्न चाहन्छु । अबदेखि कहिल्यै पनि यस्तो गल्तीहरु दोहोर्‍याउदिनँ । व्यक्तित्व विकासमा पनि आफ्नो समय खर्चन्छु । दर्शकले यति धेरै माया दिनुभएको छ । दर्शकका लागि राम्रो फिल्म बनाउने कोसिस गर्छु । तर यति भनिराख्दा मैले के छुटाउदिन भने, फ्यानहरु राजेश दाइको फ्यान र मेरा फ्यान भन्ने हुँदैन । सबै कलाकारको फ्यानहरु नै हुनुहुन्छ, म उहाँहरुलाई के आग्रह गर्न चाहन्छु भने मेरो अभिव्यक्तिले यहाँहरुको मन दुखेको छ, कृपया आफ्नै दिदीबहिनी सम्झेर माफी दिनु होला ।

प्रकाशित : भाद्र ७, २०७७ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?