छन्दका दुर्लभ नक्षत्र- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छन्दका दुर्लभ नक्षत्र

यो धरतीमा नेपालीभाषी र कविताको महिमा रहुन्जेल उनका मन्त्ररुपी कविताहरु पाठकको पठन आकाशमा टिमटिमाइ रहनेछन् र तिनले कहिले रूवाउने छन्, कहिले आनन्दको वर्षा गराउनेछन्, जिन्दगीको अर्थ पत्ता लगाउने नयाँ सोचको किरण छरिरहनेछन् ।
दीपक सापकोटा

कविवर माधव घिमिरेले लेखेका थिए– 
फूलको थुँगा बहेर गयो गंगाको पानीमा, 
कहिले भेट होला है राजै यो जिन्दगानीमा । 

पहाडमा फुलेका ‘वनफूल’ हुन्– माधव घिमिरे, जो आफ्नै कविताका पंक्तिझैं बहेर गएका छन्, उनैको कविताजस्तै– अब यो जिन्दगानीमा उनीसँगको भौतिक भेट सम्भव छैन । भर्खरै बगिगएका यी ‘फूलका थुँगा’ आफ्नै कविता र कविताका दर्शनबाट नेपाली कविताका कहिल्यै नओइलाउने फूल बनेका छन् ।


प्रकृतिप्रेमी लेखक एवं वैज्ञानिक तीर्थबहादुर श्रेष्ठले २०३६ सालदेखि २०४६ सालसम्म घिमिरेसँगै काम गरे, प्रज्ञा प्रतिष्ठानमा । भूपी शेरचन, विजयबहादुर मल्ल, लैनसिंह वाङ्देल, अमर चित्रकार, माधव घिमिरे, तीर्थबहादुर श्रेष्ठ, नयराज पन्त, बालकृष्ण पोखरेलको टिम थियो । ‘आजसम्म त्यो टिममा जिउँदा हामी दुई थियौं । अब उहाँ गएपछि म एक्लो भएको छु । मलाई एकदमै करेन्ट लागेजस्तो भएको छ,’ श्रेष्ठले भने । उनको बुझाइमा आफू बाँचेको परिवेशभन्दा बाहिरको नसा समातेर कविता लेख्ने कवि थिए घिमिरे । उनको विचारमा आफ्नो जिन्दगीको अर्बिट (ग्रहपथ) भन्दा बाहिर जाने द्वार हो कविता । अरूको जीवन देख्न कवि पनि अरूको अर्बिटमा प्रवेश गर्नु जरुरी हुन्छ । र, अरूको अर्बिटमा प्रवेश गर्न सक्ने कवि हुन् घिमिरे ।

***

घिमिरेका कविताले आफ्नै स्तम्भ बनाएका छन्– अरूका कवितालाई होच्याउन होइन, सँगसँगै हातेमालो गरेर नेपाली कविताको गरिमा कायम राख्न । उनले जानेर गरेका थिए भन्नु अतिशयोक्ति होला तर उनको काव्यपथले त्यही मार्ग लियो जसलाई नेपाली वाङ्मयले सधैं गर्वका साथ लिनुपर्ने हुन्छ । र, भन्न सकिन्छ– नेपाली कवितालाई अग्ल्याउन उनले गरेको कर्म र उनको कविताको स्कुलको संस्थापक उनै हुन् । काव्यको मर्म बुझ्नेहरू भन्छन्– उनका कविता उनकै गाउँ लमजुङको पहाडी मूलबाट रसाएका झरनाका कञ्चन पानी हुन् । बहुचर्चित ‘गौरी’ र माधव घिमिरे– दुई पदार्थलाई नेपाली कविताका पारखीले मस्तिष्कमा यसरी हुलेका छन् कि पारखीको मस्तिष्कबाट कवि र कविता कसैगरी बाहिर निस्कँदैनन् ।

‘ऋतम्भरा’ महाकाव्यमा साधनारत घिमिरे पछिल्ला केही वर्षमा अपवादबाहेकका साहित्य महोत्सव वा सार्वजनिक कार्यक्रममा देखिएनन् । उनलाई भेट्ने रुचि भएकाहरू उनको घरै पुग्थे । घरैमा गएर सम्मान दिन्थे, लिन्थे । उनको घरमा दिनहुँजसो सेल्फी खिच्ने, अन्तर्वार्ता गर्ने र फोटो सेसन गर्नेहरूको ताँती लाग्थ्यो । कहिल्यै झर्को नमानी उनी काँपेको स्वरमा काँपेकै हात हल्लाउँदै बोलिरहन्थे ।

घिमिरेको काव्य–संसार धेरै नेपालीको हृदयमा छ । घिमिरे नेपाली कविताका ‘टावरिङ पर्सन’ मध्ये एक बनिसकेका छन् । कविता–लेखनमा अब घिमिरेझैं ‘पर्सनालिटी’ बनाउने सपना कसैको हुन सक्छ । तर, त्यसको जिम्मा समयले लिन्छ । हुन पनि उचो स्थानमा पुग्न चाहनेहरू पुग्लान् तर काव्यमर्मरहित भएर ओर्लिनुपर्ने सम्भावना पनि प्रबल रहन्छ ।

कवि वैरागी काइँलाले आमजनताले आफ्नो कविका रूपमा घिमिरेलाई स्वीकार गरिसकेको बताए । ‘उहाँलाई सरकारले राष्ट्रकवि बनायो तर सबै साहित्यकार, साहित्यप्रेमी र नेपालीका प्रिय कवि हुनुभयो,’ उनले भने, ‘आफ्नो जीवनकालमै मान–सम्मान र श्रद्धा पाउने उहाँ नै हुनुहुन्थ्यो । सरलताभित्र गहनता भएको साहित्य लेखेर समृद्ध बनाउने कवि पनि उहाँ नै हो ।’ काइँलाका अनुसार समकालीन स्रष्टाका भन्दा कम लेखेका भए पनि नेपाली जनजीवन, नेपालीपनले भरिएका उनका काव्यरचना वा गीतिनाटक, फुटकर कविताका साथै प्रेमका कारुणिक कविता तथा युद्ध र युद्धजनित–विध्वंशले ध्वस्त हुन लागेको मानवतामाथि दार्शनिक ऋषिकोझैं गहिरो चिन्तन र मननले लेखिएका काव्यरचनाले उनलाई स्थान उच्च स्थान दिएको छ ।

पटक–पटक बिरामी हुँदा पनि, हात थरथर काँपिरहे पनि घिमिरेको कलम कामेको थिएन । काठमाडौं लैनचौरस्थित निवासमा परिवारसँगै बसेर उनी निरन्तर साहित्य साधनामा थिए । उनले आफ्ना कवितामा अनेक ऐतिहासिक मानिसमाथि लेखेका छन् । समीक्षकहरू त्यसलाई उनको आविष्कारझैं ठान्छन् । ‘राष्ट्रनिर्माता’ मा पृथ्वीनारायण शाह, ‘राजेश्वरी’ मा नेवार सभ्यताकी राजेश्वरी, ‘मालती मंगले’ मा कमारी मालती र कमारो मंगलेलाई स्केच गरेका छन् उनले । मालती र मंगलेको अनुहारमा हामी कुनै बेलाको समयको प्रतिबिम्ब देख्न सक्छौं र अहिले पनि त्यसको बाछिटा महसुस गर्न सक्छौं ।

प्रकृति र जीवनमाथि उनले गरेको काव्य–सिर्जनाले भन्छ– शब्द र सौन्दर्यलाई सुन्दर बनाउनु उनको एक मात्र अभिष्ट हो । उनका काव्यिक बिम्बमा सौन्दर्यको ताजा सास भेटिन्छ ।

कवि घिमिरेले लेखे, ‘राष्ट्रको निर्माण एक अनन्त प्रक्रिया हो । आज यो भू–प्रदेशको विस्तारमा होइन, राष्ट्रिय आत्माको परिष्कारमा हुन्छ । राष्ट्रजन जीवित हुन्जेलसम्म यो प्रक्रिया कहिल्यै सकिँदैन ।’ सही हो, घिमिरेले आफ्ना कवितामा राष्ट्रनिर्माणका पक्षमा निकै लेखे तर मानवीय संवेदनासहित ‘गौरी’ शोककाव्यमा वियोग र विरह पनि लेखे ।

‘गौरी’ मा उनले लेखेका छन्, ‘व्यक्तिगत शोक, यसले अरूलाई पनि काम दिन्छ, म भन्न सक्दिनँ । आफ्ना आँसुलाई लिएर बजारमा म के मोल गरूँ ? तैपनि मानिसहरू भन्छन्– आँसुले हृदय धुन्छ रे । मैले पनि अरूको निम्ति यसै सम्झेको छु ।’

***

घिमिरेका रचना, कौशल, विराट् स्टाइलले पाठकलाई जकडिइहाल्छन् र कविताका पारखी उनका फ्यान बन्छन् । उनीप्रति जुन श्रद्धा पाठकको हुन्छ, त्यो कुनै अव्यावहारिक बोली होइन । त्यो त कैयौं पाठकको स्वच्छ मस्तिष्कबाट बाहिर निस्केको पूजा हो ।

समालोचक नेत्र एटम भन्छन्, ‘माधव घिमिरेका कविता घोक्नु पर्दैन, तिनका हरफ आफैं हृदयबाट कण्ठमा आउन हतारिन्छन् । असल कविता मञ्चमा कसैलाई धारेहात लगाउँदै पढ्नु पनि पर्दैन, आफैं तिनले पाठकका गुनगुनमा स्थान पाउँछन् ।’ कवितालाई लिएर कविवर घिमिरे अति स्पष्ट थिए । असल साहित्य के हो वा खराब साहित्य के हो भन्नेमा घिमिरेमा अस्पष्टता र अलमल थिएन । उनी बाँचेको समय भयानक अशान्त । अनेकबीच उनले लेखिरहे र हृदयस्पर्शी लेखे । घिमिरेलाई सम्झँदा आफ्ना सम्झनाहरू पनि आनन्दित हुन्छन् भन्छन्– कवि विप्लव प्रतीक । उनले भने, ‘माधव घिमिरे यस मुलुकका मात्रै होइनन्, यस ब्रह्माण्डकै कवि हुन् । भन्न मन लाग्छ उनलाई– ब्रह्माण्ड कवि । तर, जब जब कविवर भन्छु उनलाई सम्झिँदा लाग्छ, उनी करिब छन् मेरै वरिपरि । आज लागिरहेछ मैले समाउन सक्ने छन्दको एउटा मियो हरायो ।’

***

कवि मनु मञ्जिललाई कविवर घिमिरेको जीवनको उमंग उनको अनुहारमै देख्न सकिन्छ भन्ने लाग्छ । ‘हृदयको त्यो उमंग उनले लेखेका गीतमा, कवितामा छरिएर नै तिनले जगत्लाई कविको वरिपरि घुमाउने क्षमता राख्छन् । उनले कविता लेखेकै ८५ वर्ष नाघ्यो,’ मनुले भने, ‘यति समयमा त यौटा सानु यात्री कमिलाले पनि सयवटा पहाड नाघिसक्छ । यौटा उत्कृष्ट कविको साढे आठ दशकको काव्यिक यात्रामा भावनाका कति दुर्गम उचाइहरूमा उनी पुगे होलान्, हामी अवाक् भएर अन्दाज मात्र गर्न सक्छौं ।’

आफ्ना ‘प्रिय’ कविहरूबारे बोल्दा राष्ट्रकविले मसँगको अन्तर्वार्तामा भनेका थिए, ‘लेखनाथको कविता पढेर कविता लेख्न सिकेको हुँ ।’ उनले आफ्नो निबन्धसंग्रहमा लेखेका छन्, ‘जो बोल्दाबोल्दै वार्ता भैसकेको छ, जो सोच्तासोच्तै दर्शन भैसकेको छ, त्यो कविता हैन । ...एकै भाषा सबैको भाषा हुन्छ, त्यही काव्यमा बोलिन्छ, एकै मर्म सबैको मर्म हुन्छ, त्यही काव्यमा खोलिन्छ । कवि आफ्ना मुरलीमा यही भाषा सोच्छ, आफ्नो मधुमती भूमिकामा यही मर्मको मधुकोश रच्छ ।’

समीक्षक/समालोचकले उनलाई देवकोटा र पौड्यालकै स्तरको कवि मानेका छन् । ‘फुटकर समीक्षा’ मा ईश्वर बरालले लेखेका छन्, ‘लेखनाथ पौड्याल जुन ठाउँमा पुगेर अडिए, त्यहीं ठाउँमा घिमिरे अघि बढे । पौड्यालको शैली, भाव तथा व्याख्याले रूपायित भएर तथा प्रकृतिका कवि देवकोटाको सारा प्रभावले भिजेर पनि घिमिरे फरक भए ।’

***

‘गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली...’ गीत प्राथमिक कक्षाको पाठ्यपुस्तकमै थियो । यही गीतले नै हो त्यसबेलादेखिका अधिकांश नेपालीलाई बालककालबाटै घिमिरेको कवितासँग परिचित हुन पाउने अवसर जुरेको । आख्यानकार नारायण ढकालले पनि ‘गाउँछ गीत नेपाली’ मार्फत प्राथमिक कक्षाको पाठ्यपुस्तकबाटै उनलाई पढेका हुन् । ‘हामीलाई हाम्रा नेपाली विषयका गुरुले त्यो कविता कण्ठ पार्न लगाएका थिए’, ढकालले सम्झिए ।

कवि सीमा आभासको विचारमा कविको आवाज पाठकको ढुकढुकीमा कविताको लय बनेर सुनियो भने ऊ खास कवि हो । ‘एउटा कविका कवितामा उसको देश देखिनुपर्छ । सौन्दर्ययुक्त आभाले सिँगारिएको देशको नक्सा बोकेर उनका कविता ओर्लन्छन् । माधव घिमिरे महसुर कवि हुन्, जसलाई नेपाली काव्यिक आकाशमा चन्द्रसूर्य अंकित झन्डा समाएर श्रद्धाले गाउन सकिन्छ,’ सीमाले भनिन्, ‘जब एउटा नेपाली राष्ट्रिय झन्डा बोकेर उभिन्छ, उसको ढुकढुकीमा आफसेआफ उनको गीत गुन्जिन थाल्छ ।’

***

नेपाली कवितालाई एउटा मोड दिएका थिए घिमिरेले । ‘तुलनात्मक रूपमा कृतिको स्थान कहा हुन्छ भन्ने त समालोचकहरूले निर्धारण गर्ने हुन् । तथापि पाठकले लगाएको मूल्यले पनि ठूलै ठाउँ पाउँछ,’ काइँलाले भने, ‘मैले त घिमिरेको गौरी र अश्वत्थामालाई औधि मन पराएको छु ।’ काइँलाको विचारमा मन पर्नु पनि राम्रो वा माथिल्लो उच्चस्तरको ठानिएको हो । भने, ‘चीजबीज किन्दा राम्रो लागेर महँगो मूल्य हालेजस्तो ठान्ने हो भने ती सिर्जना वा कृतिहरू मेरा लागि धेरै राम्रा अथवा महत्त्वका हुन् ।’ शाही शासनमा ‘राष्ट्रकवि’ पदवी पाएपछि उनीमाथि आलोचना पनि बर्सिए । तर आलोचनाकै केन्द्रमा उनका कविता र व्यक्तित्वमाथि उठेको हो । काइँलाले थपे, ‘लोकप्रिय तथा गहन काव्य–रचनाकारका रूपमा नेपाली साहित्यको श्रीवृद्धिमा लागिरहनु घिमिरेको योगदान हो । निकृष्ट तवरले गरिने आलोचनाको अर्थ छैन ।’

छन्दमा उत्कृष्ट कविता लेख्ने घिमिरे छन्द र लयको दृष्टिकोणबाट नेपाली इतिहासकै अन्तिम विराट् कवि हुन् । तर यो धरतीमा नेपालीभाषी रहुन्जेल र कविताको महिमा रहुन्जेल उनका मन्त्ररूपी कविताहरू पाठकको पठन–आकाशमा टिमटिमाइरहनेछन् र तिनले कहिले रुवाउनेछन्, कहिले आनन्दको वर्षा गराउनेछन्, जिन्दगीको अर्थ पत्ता लगाउने नयाँ सोचको किरण छरिरहनेछन् ।

उनी गए तर उनी रहिरहनेछन्, उनका कविता त्यसको साक्षीस्वरूप रहिरहनेछन् ।

प्रकाशित : भाद्र ३, २०७७ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्

बझाङमा पहिरोले घर बगाउँदा ४ घाइते, २ बेपत्ता

वसन्तप्रताप सिंह

बझाङ — लगातारको वर्षासँगै बुङ्गल नगरपालिका वडा नम्बर ५ मिडीमा पहिरोले घर बगाउँदा ४ जना घाइते भएका छन् भने २ जना बेपत्ता भएका छन् । 

मंगलबार राति १:१५ बजेतिर पहिरो गएको जिल्ला प्रहरीका कार्यालय बझाङले जनाएको छ । घरमाथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर बगाएको हो । नेपाल प्रहरी र स्थानीयको सहयोगमा पहिरोमा पुरिएका ४ जनाको उद्धार गरिएको छ भने दुई जना बेपत्ता छन् ।

प्रताप ताम्राकार रोजगारीको सिलसिलामा भारतको बेङ्लोरमा छन । पहिरोमा परेर प्रतापकी श्रीमती ४० वर्षीया पिपला ताम्राकार, १८ वर्षीया छोरी सुनिता र १२ वर्षीया छोरी टिन्टी ताम्राकार र १६ वर्षीय छोरा अनिल ताम्राकार घाइते भयका छन । घाइते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । १४ वर्षीय छोरा सचिन ताम्राकार र बुङ्गल नगरपालिका वडा नम्बर ४ तिर्थबगर बस्ने दमन ओखेडाका ५ वर्षीय सुदीप ओखेडा बेपत्ता भयका छन् । सुदीप केही दिनअघि आफ्नो फुपूको घरमा आएका थिए ।

दुवै जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले बताएका छन। पहिरोका कारण १५ घर उच्च जोखिममा रहेको स्थानीय सुरेश कुँवरले जानकारी दिएका छन। एक हप्ताअघि मात्रै यहाँका स्थानीय बासिन्दाहरूले मुचुल्कासहित आफूहरु जोखिममा रहेको भन्दै वडा कार्यालय र नगरपालिकालाई जानकारीसमेत गराएका थिए। गाँउमाथि खोल्लेख-लुएटी सडकखण्डबाट पहिरो गएको स्थानीयले जनाएका छन् ।

प्रकाशित : भाद्र ३, २०७७ ०८:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×