कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दक्षिण ललितपुरका दुःख

पहिरोका कारण महांकाल रातोमाटेका १२ परिवार सार्ने तयारीमा
प्रशान्त माली

ललितपुर — दुई साताअघि वाग्मती गाउँपालिका–७ गिम्दीकी ६५ वर्षीया ठूलीमाया नेगीको शरीरमा अचानक रक्त सञ्चारमा समस्या आयो । उनलाई अस्पताल पुर्‍याउन खोज्दा एम्बुलेन्स गिम्दीसम्म पुग्‍न सकेन । अविरल वर्षाका कारणले बगुवा–प्युटार–आश्राङ–गिम्दी सडकमा ठाउँठाउँमा पहिरो झरेकाले सडक अवरुद्ध थियो ।

दक्षिण ललितपुरका दुःख

नेगीका छोरा राजेशले महांकाल गाउँपालिकाबाट भाडा तिरेर एम्बुलेन्सलाई कान्ति लोकपथबाट बोलाए । पहिरो छिचोल्दै आमालाई अस्पताल पुर्‍याउन ढिला भयो । गिम्दीबाट कान्ति लोकपथ हुँदै टीकाभैरवस्थित आनन्दवन अस्पताल ३० किमि दूरीमा पर्छ । तर, नेगी आमाछोराले ठुलादुर्लुङ–गोटिखेल घुम्नु पर्दा अस्पतालसम्म पुग्न ५० किमि बढी यात्रा गर्नुपर्‍यो ।

कष्टकर यात्रा गरेर बल्लतल्ल अस्पताल त पुगे । तर त्यहाँका चिकित्सकले स्वास्थ्यस्थिति जटिल बन्दै गएको भन्दै पाटन अस्पताल रिफर गरे । पाटनमा एक साता उपचारपछि शुक्रबार नेगी डिस्चार्ज भइन् । तर, घर जान भने पाएकी छैनन् । पहिरोले अवरुद्ध कान्ति लोकपथ अझै खुलेको छैन । चापागाउँ टाखेलमा भान्जीको कोठामा आमाछोराले शरण लिनु परेको राजेशले बताए ।

गिम्दीकै ५५ वर्षीया तारा स्याङतानलाई खुट्टाको समस्या छ । छोरी सुनिताका अनुसार आमालाई पाटन अस्पतालमा महिना दिन बिराएर चेकअप गराउनुपर्छ । तर, कान्ति लोकपथमा गएको पहिरोकै कारणले अस्पताल पुर्‍याउन नसकेको उनले सुनाइन् । ‘हिँडेर अस्पताल पुग्न आमाको खुट्टा पाक्ने चिलाउने रोगले गर्दा सम्भव भएन,’ उनले भनिन्, ‘घरै बसेर दुखाइ खप्नुको विकल्प भएन ।’

यी केही प्रतिनिधि पात्र मात्र हुन् । ललितपुर भन्नेबित्तिकै प्रायःले कुपन्डोल, जावलाखेल, लगनखेल सम्झन्छन् । पाटन दरबार क्षेत्र सम्झन्छन् । सबैतिर सफा फराकिला सडक, सहरी पूर्वाधार पुगेका बस्ती होलान् भन्ने लाग्न सक्छ । तर, काठमाडौं उपत्यकाको यो जिल्लाका दक्षिण दुर्गम पहाडी भेगका दुःख स्थानीयलाई मात्रै थाहा छ । कतिपय ठाउँमा मोटरबाटो पुगेको छैन । पुगेका भेगमा ट्र्याक खुल्दाकै अवस्था जस्तै छन् । गाउँले कृषि पेसाले धानिएका छन् ।

हेटौंडालाई काठमाडौं जोड्ने छोटो र पुरानो बाटो हो कान्ति लोकपथ । यो वर्षायाममा पनि ठाउँठाउँमा गएको पहिरो पन्छाउन सम्बन्धित निकायले ढिला गर्दा दक्षिणका बासिन्दा मर्कामा परेका छन् । पहिरो पन्छाउन उनीहरूले पटकपटक कान्ति लोकपथ योजना र ललितपुरका प्रमुख जिल्ला अधिकारीलगायतलाई ध्यानाकर्षण गराइसकेका छन् । शुक्रबार सांसदसहितको टोली योजनामा डेलिगेसन नै गए । पहिरो नपन्छाउँदा एम्बुलेन्स जस्ता अत्यावश्यक साधन ठप्प हुँदा बिरामीको अकालै मृत्यु हुने सम्भावना बढेको र १० लाख बराबरको दूध खेर गएको भन्दै ध्यानाकर्षण गराए ।

सांसद चेतनाथ सञ्जेल भन्छन्, ‘कान्ति लोकपथ विस्तार गरी कालोपत्रे गर्न ठेक्कापट्टा भइसकेको छ । योजनाका इन्जिनियरले गरेको इस्टिमेटअनुसार भुक्तानी पाउने गरी पहिरो पन्छाउने जिम्मेवारी पनि सम्बन्धित ठेकेदारकै हो ।’ उनका अनुसार लोकपथमा बर्खामा मात्र नभई हिउँदमा पनि सुक्खा पहिरो झर्छ ।

‘पहिरो पन्छाउन भट्टेडाँडा, झाँक्रीडाँडा र छपेलीमा गरेर तीनवटा एक्स्काभेटर तयारी अवस्थामा राख्नुपर्छ,’ उनले भने, ‘वाग्मती प्रदेश सरकारबाट प्युटार–आश्राङ–गिम्दी सडक स्तरोन्नति गर्न गत वर्ष ५० लाख र यस वर्ष ५० लाख विनियोजित भएको छ ।’

लोकपथको ललितपुर खण्डअन्तर्गत बगुवादेखि टीकाभैरवसम्म सडक निर्माणको ठेक्का ०७५/७६ मा सूर्य–वाइबा जेभीले दुई वर्षमा सम्पन्न गर्ने गरी १४ करोड रुपैयाँमा पाएका थिए । उक्त निर्माण कम्पनीले भट्टेडाँडादेखि छपेली नजिकसम्मको सडकका पहिरो पन्छाइसकेको छ । लोकपथको सबभन्दा बढी पहिरो छपेली खण्डमा छ । सूर्य–वाइबा जेभीका सञ्चालक केदारनाथ तिमिल्सेनाले योजनाका इन्जिनियरले लगत इस्टिमेट गरिदिएमा तत्कालन हटाउन सुरु गर्ने बताए । कान्ति लोकपथ योजनाका इन्जिनियर दीपेश रजकका अनुसार छपेली क्षेत्रमा भौगर्भिक संरचना कमजोर छ । ‘पहाडी भेगमा पानी परिरहन्छ । एक पटक पन्छाइसकेपछि फेरि त्यही ठाउँमा पहिरो झरेमा दोहोरो खर्च हुन्छ,’ उनले भने ।

दक्षिणमा पहिरोका कारण ८१ घरधुरी जोखिममा छन् । सबभन्दा बढी महांकाल गाउँपालिकाको बुखेल, ठूलादुर्लुङ र चन्दनपुरमा गरेर ३५ घरधुरी, कोन्ज्योसोम गाउँपालिकाको शंखु, दलचोकी र चौघरेमा गरेर २५ र वाग्मती गाउँपालिकाको इकुडोल, घुसेल, माल्टाको माथिल्लो भागका गरेर २१ घरघुरी पहिरोको जोखिममा छन् । पहिरोका कारण गिम्दीका राज लोप्चन र बुद्ध रुम्बाका ११ परिवार विस्थापित भए । वाग्मती गाउँपालिका–७ का वडाध्यक्ष नवराज सञ्जेलले विस्थापित परिवारलाई छिमेकीको जग्गामा बसोबासको व्यवस्था मिलाइसकेको बताए ।

लेले–चन्दनपुर सडकअन्तर्गत टुटुवा साङवास र दारपाका क्षेत्रमा पनि पहिरो लडेर बाटो अवरुद्ध भएको छ । यहाँ स्थानीयवासी जोखिम मोलेर कच्ची साँघुरो गोटिखेल–मानिखेल–बुखेल–दलचोकी सडक भएर चापागाउँ पुग्न बाध्य छन् । वाग्मती नदीको बहाव क्षेत्र आश्राङको लुकनी बेसीमा पस्ने जोखिम पनि उत्तिकै छ । सांसद नवराज सिलवालले खोलाको कटानबाट बस्ती जोगाउन सिँचाइ मन्त्रालयबाट एक करोड बजेट रहेको बताए । ‘घुसेलमा पहिरो रोकथाम गर्न २ सय ५० वटा तारजाली र ठाउँठाउँमा ढलको व्यवस्था गरेका छौं,’ उनले भने, ‘पहिरोको जोखिममा परेका घरपरिवारलाई स्थानीय तहसँग समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको छ ।’

महांकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले पहिरोको जोखिममा परेका रातोमाटेका १२ घरपरिवारको सामान ओसार्ने काम भइरहेको बताए । ‘रातोमाटेमा ठूलो पहिरो खस्न लागेको देखिन्छ,’ उनले भने । सडक अवरुद्ध हुँदा किसानले दूध र तरकारी बेच्न समस्या भएको छ । माल्टाका ध्रुवप्रसाद तिमल्सेनाका ६ वटा भैंसी छन् । दैनिक २७ देखि ३० लिटर दूध हुन्छ । दुई साता यातायात ठप्प हुँदा दैनिक २ हजारका दरले घाटा भइरहेको उनले सुनाए ।

ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष कृष्ण बलका अनुसार कान्ति लोकपथ सडक भएर दैनिक ८ हजार लिटर दूध सहर पठाइन्छ । ‘सडक नखुल्दा माल्टा, प्युटार, गिम्दी, आश्राङलगायतका गरेर ४५ सय किसानलाई प्रत्यक्ष मर्का परेको छ,’ उनले भने । तरकारी खेती गर्नेहरूको समस्या पनि उस्तै छ । गिम्दीका शिवप्रसाद दाहालका अनुसार व्यावसायिक तरकारी खेती गर्नेहरूको पनि घाटा व्यहोरिरहेका छन् । भट्टेडाँडा, गिम्दी, आश्राङ, प्युटार, माल्टा, घुसेलबाट सिजनमा दैनिक तरकारी बजार पठाइन्थ्यो । लेले–चन्दनपुर सडक भएर गोटीखेल, शंखु, बुखेल, नल्लु, भारदेउ, चौघर, ठुर्लादुर्लङ, कालेश्वरबाट मौसमी तरकारी बजार पठाइन्छ ।

दक्षिणमा धेरैजसो घरपरिवार व्यावसायिक तरकारी खेती र पशुपालनमा छन् । वाग्मती गाउँपालिका प्रवक्ता विष्णु तिमल्सेनाले पहिरो हटाएर सडक खुलाउन ६० लाख बजेट छुट्याइएको बताए । ‘बजेट त संघले एक करोड र प्रदेशले पनि ५० लाख छुट्याएका छन् तर निकासा नआउँदा यहाँ काम लगाउन गाह्रो परेको छ ,’ उनले भने ।

गोदावरी नगरपालिका–१२ ठेचोमा पनि पहिरोका कारण तीन घर जोखिममा परेका छन् । जथाभावी गरिएको प्लटिङका कारण बस्ती जोखिममा परेको हो ।

मानिखेल भवन बन्यो, अस्पताल सञ्चालनमा आएन

मानिखेलमा अस्पतालका लागि ४ करोड ६ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको ७ वर्ष बित्यो । अस्पताल भने सञ्चालनमा आएको छैन । स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मी दरबन्दी नदिँदा सञ्चालन हुन नसकेको हो ।

अस्पतालमा रगत, खकार, ईसीजी, दिसा–पिसाब जाच्ने प्रयोगशालासहित एक्स–रेलगायतका उपकरण जडान भइसकेका छन् । उपकरण सञ्चालनमा आउन नसक्दा खिया लाग्ने र बिग्रने अवस्थामा पुगेको अस्पताल व्यवस्थापन समिति उपाध्यक्ष बुद्धबहादुर नेगीले बताए । ‘स्वास्थ्य मन्त्रालयमा पटक बजेट र दरबन्दीका लागि पत्र पठायौं, तर बेवास्ता गरियो,’ उपाध्यक्ष नेगीले भने, ‘अस्पताल सञ्चालनमा ल्याउन सकेमा आकस्मिक र दुर्घटनामा परेका बिरामीको अकालमा ज्यान हुनबाट जोगिनेछ ।’ मानिखेल अस्पताल सञ्चालनमा नआउँदा मकवानपुरको बेडिनी, इपा, काभ्रेको च्याम्राङबेसी, मिल्चे, धाम्बलेवासी मर्कामा परेका छन् । मानिखेल अस्पतालबाट गाटिखेल, बुखेल, भारदेउ, चौघरे, शंखु, दलचोकी, इकुडोल, ठुलादुर्लुङ, चन्दनपुर, कालेश्वरवासीलाई सेवा दिने उद्देश्यले निर्माण गरिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले यो प्रदेश सरकारले गर्ने काम भएको बताए ।

कान्तिलोक पथमा गएको पहिरोका कारणले घर फर्कन नसकेर चापागाउँस्थित आफन्तको कोठामा बस्न बाध्य बागमती गाउँपालिका– ७ गिम्दीका ६५ वर्षीय ठूलीमाया नेगी । उनी शुक्रबार पाटन अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

प्रकाशित : श्रावण १२, २०७७ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?