कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसले दुर्व्यवहारबारे बोले

दुर्व्यवहारविरुद्ध बोल्ने अभिनेत्रीहरुको अनुभव- उल्टै प्रश्न उठाइन्छ, अविश्वास गरिन्छ
रीना मोक्तान

काठमाडौँ — अभिनेत्री स्यारोन श्रेष्ठले ३ वर्षअगाडि आफूलाई 'सायद २'का निर्माता सुनिल रावलले दुर्व्यवहार गरेको कुरा सार्वजनिक गरिन् । 'सायद २' ले औसत व्यापार गर्दा निर्माता रावलले फिल्म नचल्नुको पछाडि कलाकारले प्रचारमा समय नदिनुका कारण देखाएका थिए ।

जसले दुर्व्यवहारबारे बोले

रावलले आफ्नो करोडौं पैसामा कलाकारले रहर मात्र पूरा गरेको अभिव्यक्ति दिएपछि स्यारोनले पत्रकार सम्मेलन गर्दै आफूमाथि दुर्व्यवहार भएको कुरा खुलाएकी थिइन् ।

'सायद २' स्यारोनले अभियन गरेको पहिलो फिल्म थियो । उनले आफूलाई धेरै नयाँ कलाकारलाईजस्तै राम्रो व्यवहार नगरिएको पनि बताइन् । सुटिङको क्रममा रावलले मानसिक तनाव दिँदा सेट नै छोडेर जानु परेको दावी उनले गरिन् । रावलले 'म तिमीलाई मन पराउँछु । मेरो गर्लफ्रेन्ड बनिदेउ, एयरहोस्टेस बनाइदिन्छु' भन्नेसम्मको मेसेज गरेर पछि ठट्टा गरेको भन्दै माफीसमेत मागेको उनले सार्वजनिक गरिन् ।

२ वर्षअगाडि अभिनेत्री बेनिशा हमालले एक बैंकको मेनेजरले आफूलाई दुर्व्यवहार गरेको खुलासा गरिन् । 'भर्टेक्स एड एजेन्सी'को तर्फबाट फोटोसुट गरेपछि आफूलाई ती मेनेजरले नगरकोट जाने प्रस्ताव राखेको उनको दाबी थियो । उनले प्रस्ताव लिएर आउने मिडिया संयोजक मिडिया हवका हरि सुवेदीको नामसमेत लिइन् ।

आफूसँग दुर्व्यवहार भएको ७/८ वर्षपछाडि उनले यस विषयबारे बोल्ने आँट गरेकी थिइन् । दुर्व्यवहारको सामना गर्दा उनी १९ वर्षकी थिइन् । त्यसअघि अभिनेत्री बेनिशाले यस किसिमको दुर्व्यवहार सहेकी थिइनन् । भारतमा 'मिटु मुभमेन्ट' चर्किरहँदा बेनिशाले पनि यस क्षेत्रको खराब नियतका सवालमा कुरा उठाएकी थिइन् । यद्यपि दुर्व्यवहारबारे बोल्ने उनीमात्र भइन् । उनको पक्षमा बोल्ने अरु कोही भएन ।

हालै अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहले आफूमाथि भएको दुर्व्यवहारबारे बोलिन् । उनले हालै सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै दुर्व्यवहारबारे बोल्ने साहस गरेकी छन् । भिडियोमा तीन ठूला ब्यानरका फिल्मका व्यक्तिहरुले दुर्व्यवहार गरेको खुलाए पनि नाम सार्वजनिक गरिनन् । वर्कशपको क्रममा फिल्मसँग सम्बन्धित एक व्यक्तिले रोमान्टिक दृश्यको निहुँमा किस गर्न खोजेको कुरा द काठमाडौं पोस्टलाई बताएकी छन् । त्यतिबेला उनी १७ वर्षकी थिइन् ।

साम्राज्ञीले सार्वजनिक गरेको दोस्रो भिडियोमा त्यति नै बेला प्रहरी डाकेको भए मुद्दासमेत दर्ता भइसक्ने उनले दाबी गरेकी छन् । उनले यसरी दुर्व्यवहारबारे बोलेपछि अभिनेता एवं निर्माता भुवन केसीले प्रतिवादमा लागातार दुई स्टाटस लेखे । दोस्रो पटकको स्टाटसमा साम्राज्ञीले आफ्नो चरित्र हत्या गरेको भन्दै कलाकार संघमा छानबिनको माग गरे । आफ्नो मानहानी हुने भिडियो सार्वजनिक नगर्न साम्राज्ञीलाई चेतावनी पनि दिए ।

त्यसदिन यता अभिनेत्री शाहले दुर्व्यवहारको विषय उठाएर कुनै भिडियो सामाग्री बनाएकी छैनन् । केही फिल्मकर्मी कलाकारको साथ पाए पनि शाहलाई सामाजिक सञ्जालमा धेरैले दुर्व्यवहार गर्नेको नाम नखुलाएको भन्दै नकरात्मक टिप्पणी गरेका थिए । कतिले अवसरवादीका रुपमा टिप्पणी पनि गरे ।

यौन दुर्व्यवहार र उत्पिडनको विषयमा 'जिरो टोलोरेन्स' अभियान चलाइरहेकी अभिनेत्री निशा अधिकारीले केही दिनअघि साम्राज्ञीको विषयलाई जोड्दै स्टाटस लेखेकी थिइन्, 'यो समाजमा पीडितको आवाज दबाउन खोज्ने र जोकको रुपमा लिन खोज्ने कार्य बन्द गरिनुपर्छ ।' उनको स्टाटसको मर्म प्रष्टै बुझ्न सकिन्छ कि यहाँ पीडितको आवाज दबाउन खोजिन्छ । जसरी अभिनेत्री शाहलाई अहिले भुवन केसीले चुप गराइदिएको चर्चा फिल्म क्षेत्रमा सुनिन्छ ।

अभिनेत्री शाहलाई मात्र होइन यसअघि दुर्व्यवहारको विरुद्धमा बोल्ने अभिनेत्रीलाई पनि हतोत्साहित गर्ने प्रयास भएको पाइन्छ । स्यारोनलाई पनि पत्रकार सम्मेलनमा बोल्नुअघि रावलकी पत्नी दुर्गेश थापाले भनेकी थिइन्, 'सुनिलको विरुद्धमा गयौ भने राम्रो हुँदैन ।'

अभिनेत्री बेनिशाको अनुभवले पनि त्यही भन्छ । यहाँ पीडितको आवाज नसुन्ने गरिएको उनको भनाइ छ । 'मलाई त्यो विषयमा बोलें भन्ने त भयो । तर, त्यही कुरा एउटा छोरा मान्छेले भनेको भए धेरैले विश्वास गरिदिन्थे । छोरा मान्छेको स्वभाव कस्तो छ भनेर थाहा हुँदाहुँदै पनि हाम्रो समाजमा छोरी मान्छेले चाहिँ चर्चा पाउनलाई बोलिरहेको छ भनेर टिप्पणी गरिदिन्छन्,' उनले भनिन्, 'पहिल्यै चर्चामा आएको व्यक्तिलाई किन बोल्नुपर्थ्यो । त्यो संवेदनशील विषय हो ।'

अभिनेत्री केकी अधिकारी यस्तो दबाबलाई चिरेर अगाडि बढ्नुपर्ने धारणा राख्छिन् । 'समाज नै यस्तै छ । हामीलाई हरेक कुरामा दबाब छ । तर दबाबलाई चिरेर अगाडि बढ्नुपर्‍यो,' उनले भनिन् ।

अभिनेत्री शिल्पा पोखरेलले पनि आफूमाथि भएको हिंसाविरुद्ध बोल्ने साहस गरिन् । गत वर्ष निर्माता /पति छवि ओझाले आफूलाई घरेलु हिंसा गरेको भन्दै प्रहरीमा उजुरी पनि दिइन् । छविको कुटाइले कानको जाली फुटेको भन्दै मिडियामा आएकी थिइन् पोखरेल । दुईको विवाद मिडियामा छताछुल्ल हुनासाथ शिल्पाले जिल्ला अदालत काठमाडौंमा डिभोर्सको केस फाइल गरिन् । त्यसलगत्तै निर्माता छवि ओझाकी पहिली श्रीमतीले बहुविवाहको मुद्दा हालेपछि अहिले उनी एकसाथ बहुविवाह र डिभोर्सको मुद्दा लडिरहेकी छन् ।

हिंसाको विषयमा बोल्दा विभिन्न नम्बरबाट धम्काउने काम हुने गरेको उनी भनाइ छ । अहिले पनि मुद्दा फिर्ता गराउने दबाबसहितको फोन आइरहेको उनी बताउँछिन् । यो समाजले महिलालाई नै दोषी देख्ने गरेको उनको तर्क छ । 'त्यो कुरा पुरुषले निकालेको भए उसलाई नै सही देखाइन्थ्यो । तर, छोरी मान्छेको मामला ५० प्रतिशले सही ५० प्रतिशतले गलत भनिरहेको हुन्छ,' उनले आफ्नो अनुभव सुनाइन्, 'दुर्व्यवहार भएको रहेछ भनेर महिलामाथि दाग बस्छ । छोरी मान्छेले समाजले लगाउने त्यो दागको समेत ख्याल नराखी बोलेको छ भने त त्यो कुरा सहि हुन्छ ।'

अभिनेत्री लक्ष्मी बर्देवा यसलाई पितृसतात्मक मानसिकताको उपज बताउँछिन् । 'पितृसतात्मक सोच वर्षौंदेखि चलिरहेको छ । फिल्म क्षेत्रमा महिला कलाकारलाई पारिश्रमिक कम दिने कुराले जरामै समस्या छ भन्ने देखिन्छ,' उनले भनिन्, 'पुरुषवादी मानसिकता हो यो । कतिका लागि यो फाइदा भइदिन्छ । यतिका वर्षदेखि एकोहोरो रुपमा मानि आएको कुराको पर्खाल भत्किन समय लाग्छ ।'

वर्देवाले पनि फिल्म क्षेत्रमा नयाँ हुँदा फिल्मको अफर गर्दै एक निर्देशकले यौन दुर्व्यवहार गरेको कुरा सार्वजनिक गरेकी थिइन् । फिल्म क्षेत्रको नाम चलेकै निर्देशकले फिल्मको अफर गरेर बदलामा केही त पाउनुपर्छ भन्दै दुर्व्यवहार प्रयास गरेको उनले बताएकी थिइन् ।

ढिला बोल्नुको कारण

अहिले अधिकांशले अभिनेत्री साम्राज्ञीलाई दुर्व्यवहारबारे ढिला बोलेको भन्दै प्रश्न गरिरहेका छन् । यो प्रश्न स्यारोनले पनि सामना गर्नु परेको थियो । त्यतिबेला उनले भनेकी थिइन्, 'मैले बनावटी कुरा गरेको होइन । जे मलाई भएको थियो, त्यही भनेको हुँ । म मान्छु मैले ढिला बोलें । मलाई लाग्छ यो मेरो अधिकारको लागि पनि बोल्ने सहि समय हो ।' दुर्व्यवहार परेको बेला आफूलाई कसैको साथ नभएकोले प्रतिवाद गर्ने आँट नआएको उनको भनाइ थियो ।

अभिनेत्री साम्राज्ञीले पनि दुर्व्यवहार हुँदा आफू सानै रहेको बताउँदै आएकी छन् । 'म त्यतिबेला मात्र १७ वर्षकी थिएँ । मैले एकजनालाई भनेको पनि थिएँ । तर, उहाँले यो उद्योगमाथि तिनीहरुकै नियन्त्रण छ जोसँग शक्ति छ, उनीहरुकै गुटबन्दी छ । यदि उनीहरुले तिमीलाई मन पराउँदिनौं भने फिल्मको अफर पाउँदैनौं भनेर बोल्न दिनुभएन,' साम्राज्ञीमात्र होइन, पीडित अभिनेत्रीको साझा भोगाइ हो यो ।

यसरी ढिला बोल्नुको कारण खोतल्नु यस विषयबाट उम्कने बहानामात्रै रहेको लक्ष्मी बताउँछिन् । 'ढिला बोल्यौ भन्नु बहानामात्र हो । अहिले साम्राज्ञीले बोलेको कुरा सुनिन्छ । त्यतिबेला नै बोलेको भए सुनिन्थेन होला,' वर्देवा भन्छिन्, 'मलाई दुर्व्यवहार हुँदा यो क्षेत्रमा संघर्ष गर्दै थिएँ । त्यतिबेला यो विषयमा बोल्न कहाँ जानु । अहिले कति नयाँ अभिनेत्रीहरुलाई त्यस्तो भएको होला ।'

अभिनेत्री हमालको मत पनि उस्तै छ । 'त्यतिखेर आफूले कसैलाई त्यसबारे भन्न सकिदैन । परिवारले यो क्षेत्रमा जान नदिँदा कति संघर्ष गरेर परिवारसँग विद्रोह गरेर आएको व्यक्तिलाई यस्तो कुरा भन्न पनि अप्ठ्यारो हुन्छ । बोल्नु नै ठूलो कुरा हो । अहिले साम्राज्ञीले बोलिन्,' उनले भनिन् । अभिनेत्री स्यारोनको कुरा थियो, 'त्यतिबेला म नयाँ थिएँ । मैले कसैलाई पनि चिनेको थिइनँ । मलाई सहयोग थिएन । मलाई डर थियो ।'

कतिले अभिनेत्रीहरु चर्चा पाउनको लागि पनि यसरी बोल्ने गरेको आरोप लगाउँछन् । तर, बेनिशा नकरात्मक चर्चा कुनै अभिनेत्रीले पाउन नचाहने बताउँछिन् । 'एउटा छोरी मान्छेले आफूलाई भएको दुर्व्यवहारबारे बोल्नु नै साहसको कुरा हो । किनभने यहाँ आफ्नो मान सँगसँगै परिवार र सामाजिक प्रतिष्ठा जोडिएको हुन्छ । कोही पनि व्यक्तिले गलत हिसाबले आफू चर्चामा आउँ भन्ने चाहँदैन । सामाजिक डरले होस् या पारिवारिक डरले अझै कति धेरै आवाजहरु दबिएर बसेको छ,' हमाल बताउँछिन् ।

शिल्पाले भने आफूमाथि भएको हिंसाको विषयमा उत्ति नै खेर बोलेकी थिइन् । हुन त साम्राज्ञी र शिल्पाको मुद्दा फरक छ । 'दुर्व्यवहार हुँदा र बोलेको समयमा अन्तर छ भने मानिसले प्रश्न त गर्छन् नै,' शिल्पाले भनिन्, 'मैले पनि पिटेको बेलामा यसले मलाई पिट्दै छ भनेर फोटो खिच्ने कुरा भएन । भिडियो खिच्ने कुरा भएन । कसले कतिखेर दुर्व्यवहार गर्छ भनेर हाम्रो हातमा हुँदैन नि त । कसले कुन नजरले हेरिएको छ भन्ने हामीलाई थाहै हुँदैन । भविष्य थाहा भएको भए अडियो भिडियो लिन तयार भएर बस्थ्यौं होला ।'

दुर्व्यवहारको विषयमा बोल्दा अधिकांशलाई सोधिने अर्को प्रश्न हो- प्रमाण । अभिनेत्री केकी अनुभूतिको कुनै प्रमाण नहुने बताउँछिन् । 'अनुभूतिको कुनै प्रमाण हुँदैन । त्यो अनुभव गरेको कुरा हो । त्यो व्यक्तिले पनि भन्न सक्दैन । मलाई यो भेग विषय लाग्छ । ‍मानसिक तनावमा परेर विभिन्न कदम चाल्नुभन्दा त कुरा बाहिर ल्याएको राम्रो,' उनले भनिन् ।

स्यारोन त निर्माता रावलले गरेको मेसेज देखाउनसमेत तयार थिइन् । 'आवश्यक पर्‍यो भने म प्रमाण खोज्छु,' स्यारोनले यति भनिसक्दा रावलले आफूले दुर्व्यवहार गरेको कुरा स्वीकारेनन् । चलचित्र निर्माता संघ र कलाकार संघले दुईबीच सहमति गराइदिए । निर्माता संघका अध्यक्ष आकाश अधिकारीलगायतको उपस्थितिमा स्यारोन र सुनिलले एक वर्षअगाडि एकअर्काको व्यक्तिगत र व्यवसायीक जीवनलाई मानमर्दन हुने खालको अभिव्यक्ति नदिने सहमति गराएपछि त्यो विषय त्यही टुंगियो ।

अहिले कालाकार संघका अध्यक्ष रवीन्द्र खड्काले साम्राज्ञी र भुवनलाई सहमतिको प्रयास गरिरहेको बताइएको छ । संघमा भूवनले साम्राज्ञीले आफ्नो मानहानी गरेको भन्दै उजुरी दिएका छन् ।

विषय उठाएर मात्र हुन्छ त ?

पटक पटक अभिनेत्रीहरुले दुर्व्यवहारको विरुद्धमा बोल्दा त्यो विषय त्यतिमै सिमित भएको देखिन्छ । बेनिशा र लक्ष्मीले उठाएको विषय त्यतिकैमा सिमित भयो ।

यस्तो अवस्था नआओस् भनेर आफूले साम्राज्ञीको साथ दिइरहेको केकीले बताइन् । 'हामी कुरा सुरु गर्छौं । तर, त्यसको नतिजा नआइकन नै सकाइन्छ । फिनिस लाइनमा नपुगी अरुले नै त्यो गलत हो कि सत्य भनेर निर्णय लिइदिन्छन् । कुनै संघले त्यसमा भूमिका खेलिरहेको हुन्छ, ' अधिकारीले भनिन्, 'अहिले साम्राज्ञीले जुन कुरा उठाएकी छन् हामीले साथ दिइरहेका छौं । कुनै व्यक्तिको होइन कि सहि र गलत के हो भन्ने कुरामा हाम्रो साथ छ । तर, सुरुमा एउटा पीडितले आवाज उठाउँदा साथचाहिँ चाहिन्छ । पहिलाको जस्तो स्थिति नआओस् भनेर पीडितलाई साथ दिइरहेका छौं ।'

केकी पीडितको ईच्छा बुझेर मुद्दा अगाडि बढ्नुपर्ने बताउँछिन् । यस्ता मुद्दाले समाजको वर्तमान स्थिति देखाउने केकी बताउँछिन् । उनले भनिन्, 'हामी कलाको विधामा छौं । यहाँ त हामी स्वतन्त्र भएर आफ्नो कुरा अभिव्यक्त गर्न पाउछौं नि । यहाँसमेत यस्तो चिजहरु भोग्नु परेको छ भने समाजमा नै सहि दिशामा छैन भन्ने कुराको संकेत हो यो ।'

प्रकाशित : असार २३, २०७७ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?