कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक छेउ खाना खाने सावित्राको पीडा

रीना मोक्तान

काठमाडौँ — भक्तपुरको सूर्यविनायस्थित शभकामना पार्टी प्यालेस छेउमा २०/२५ जनाको समूहमा खाना खाँदै थिइन् सावित्रा बराल । ११ बजेको पारिलो घाममा समूहभन्दा केही पर बसेर उनी गिट्टीको थुप्रोमाथि बसेकी थिइन् । समूहका मानिसहरु भने सडक छेउको रुखको छाहारीमा बसेर खाँदै थिए । 

सडक छेउ खाना खाने सावित्राको पीडा

घाँटीमा सानो सल र आँखामा गाजल लगाएकी उनी असिनपसिन भएर खाँदै थिइन् । नजिकै गएर उनीसँग गफिन जाँदा सुरुमा झस्किएको थिइन् । कुरा गर्न थालेपछि उनलाई खुल्न त्यति गाह्रो परेन ।

१४ वर्षीया उनी लकडाउन सुरु भएदेखि नै परिवारसँगै त्यहाँ खाना जाने गरेकी रहिछन् । दैनिक ज्यालादारी गरेर छाक टार्ने उनको परिवारले लकडाउनको सुरुवातका दिनमा जसोतसो भोक मेटेका थिए । लकडाउन लम्बिएसँगै खाद्यान्‍नको अभाव हुन थालेपछि उनी आफ्‍ना बुवाआमासँग खाना खान आउन थालेकी रहिछन् ।

उनका बुवा आमा निर्माण क्षेत्रमा ढलानको काम गर्दा रहेछन् । घरमा खाद्यान्‍न अभाव भएपछि भोकै हुने अवस्था आइसकेको थियो । छिमेकी एकजनाले व्यक्तिले सूर्यविनायकमा मानव आश्रमले खाना खुवाउने गरेको थाहा पाउनसाथ उनीहरु स-परिवार त्यहाँ जान थाले । २ महिनासम्म उनीहरुले त्यही खाना खाए । आश्रमले बिहानको साढे १० देखि साढे ११ बजेको बीचमा खाना बाँड्ने काम गर्थ्यो ।

त्यसैले उनको परिवार १० बजे नै खाना खान सूर्यविनायकको दार्जलिङ हाइटबाट हिँड्थे । कहिले लामो समय कुर्थे । कहिले ११ बजे नै खाना खुवाउने समूह आउँथ्यो । अभावका बीच आश्रमले बाँडेको खानाले छोरीहरुको भोक मेटेको देख्दा सावित्रका बुवा नेत्रहरि र सविता खुसी हुन्थे ।

त्यहाँ सविताको परिवारसँगै भक्तपुरकै विभिन्न स्थानमा ज्याला मजदुरी गर्नेहरु खाना खान आउँथे । लकडाउनको ७३ दिनमा सावित्रासँग भेटहुँदा उनका बुवा आमा त्यहाँ थिएनन् ।

भक्तपुरमा चहलपहल बढ्न थालेसँगै सावित्रा बुवा आमा ढलानको काममा हिँड्न थालिसकेका थिए । उनी भने दुई बहिनी गीता(११) र कोपिला(७) लिएर खाना खान त्यहाँ आइपुगेकी थिइन् ।

गीता र कोपिला पनि समूहसँगै खाना खाँदै थिइन् । आमा बुवा खोइ त ? भन्‍ने प्रश्‍नमा सावित्राले भातको गाँस मुखमा लाँदै भनिन् 'अहिले उहाँहरु आउनुहुन्न ।'

उनीहरु आफैं आमा र बुवाका लागि त्यहीँबाट खान लगिदिन्थे । खाना खाएपछि सवित्राकी माइली बहिनी गीताले आमा र बुवाको लागि थालभरी खाना बोकिन् । त्यसै दिन आश्रमले खाना खानेहरुबीच घोषणा गर्‍यो, 'आजदेखि हामी यहाँ खाना बाँड्दैनौं । तपाईँहरु संयमित भइदिनु भएको भए अझै खाना खुवाउँथ्यो । अब हामी अर्कै ठाउँमा खाना खुवाउँछौं । तपाईंहरुलाई हामी त्यतै बोलाउँछौं ।'

आश्रमलाई खाना बाँड्न सहयोग गर्दै आएका सुर्यविनायककै नीरज भट्टुले यस्तो घोषणा गरेपछि खाना खानेहरुको अनुहारमा निराशा छाएको थियो । सावित्रालाई पनि चिन्ता भयो । 'अब भोलिदेखि कहाँ आउनु अंकल ?' सावित्राले प्रश्न गरिन् । निरजको समूहले भोलि जानकारी दिने भन्दै सम्पर्क नम्बर बटुले । सावित्राले पनि आमाको नम्बर टिपाइन् । खासमा त्यहाँ खाना खान आउनेहरु विभिन्‍न निहुँमा झगडा गरेर होहल्ला मचाउन थालेपछि स्थानियले नै आश्रमलाई खाना खुवाउन बन्द गर्न लगाएका थिए । त्यसैले उनीहरुले खाना बाँड्ने काम बन्द गर्ने निर्णय गरेको भट्टुले सुनाए ।

नम्बर टिपाएर हामी लाग्यौं सावित्रा बस्ने कोठातिर । बाटोमा हिँड्दै गर्दा बहिनी कोपिलाले सावित्रालाई भन्दै थिइन्, 'दिदी भोलिदेखि खान दिँदैनन् हो ? अब घरमै खाना बाँड्न आउँछन् हो अंकलहरु ?' सावित्राले बहिनीको प्रश्नमा 'हो' मात्रै भनिदिइन् । करिब आधा घण्टा हिँडेपछि सावित्राको कोठा आइपुग्यो ।

कोठाका भित्ताहरुमा कपडाहरु झुण्ड्याइएको थियो । चिसो भुईंमा सानो पातलो कपडा विच्छाइएको थियो । कुचुक्क परेको कोठामा पानीको जार, खेलौनाहरु र एउटा सानो ग्यास चुल्हो थियो । चारवटा थालहरु चुल्हो छेउ ढल्काएर राखिएको थियो । करिब दुई महिनादेखि बन्द भएको चुल्होमाथि धुलो जमेको प्रष्टै देखिन्थ्यो ।

आमा बुवाको काम पहिले झैं सुरु भए त्यो चुल्हो सजिलै बल्ने थियो । तर, लकडाउनले गर्दा सावित्राको आमा बुवाको काम अनिश्चित छ । अहिले त बल्ल तल्ल काम पाउँछन् । पहिला त ढलान गरेर उनको बुवा हजार त आमा सात सय भए कमाउँथें । अहिले काम अनिश्चित भएपछि खाना खान गाह्रो परेको सावित्राकी आमा सविताले सुनाइन् । 'अहिले त गाह्रो छ । काम पनि पाउन गाह्रो, खान पनि गाह्रो ।'

आश्रमबाट फोन आउने आशमा थियो उनका परिवार । तर नयाँ ठाउँमा खाना खुवाउने घोषणा गरेयता आश्रमले सावित्राको आमाको नम्बरमा फोन गरेन । आक्कल झुक्कल पाउने कामकै भरमा उनीहरुको परिवारको पेट भर्दै आएको थियो । तर, अहिले त खानलाई नै धौधौ परेको सावित्राकी आमाले सुनाइन्,'चामल पनि सिद्धियो । कतै राहत दिइयो भने सम्पर्क गरिहाल्नु है !'

प्रकाशित : असार ८, २०७७ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?